........................................................................with words, with issues!!!

Dec 24, 2014

लाहुर

[First published in Yougbodh ]

गाउँभरि लोके दाइ एकाएक ‘सेलिब्रेटी’ भएका थिए | हरेकका मुखमा लोके दाइ नै झुन्डिएका हुन्थे | चौतारोमा गएर नेताजी स्टाइलमा गफ छाँट्नु लोके दाइको दैनिकी जस्तै भएको थियो | बाफरे बाफ, तिनलाई सुन्ने भीड पनि कत्रो हो ! लंगौटिया यार नरेसँगै भीडको रमिते बन्न म पनि चौतारोमै कैयौंपटक हाजिर भएँ | हुन पनि चिनिंदै नचिनिने भएर फर्केका थिए लाहुरबाट | टाउकामा क्यापटोपी, जीउमा जिन्सको पाइन्ट र लाम्बाहुले रातो सर्ट, काँधमा गीत बज्ने रेडियो, नाडीमा सिको फाइब अनि गोडामा गोल्डस्टार ! उनलाई देख्नेमध्ये छक नखाने कोही थिएन | कहाँका जानेबेलाका तिनी झुत्रे लोके, कहाँका यिनी झिलिमतोर लोके ! सुनाउनलाई उनीसँग जतिपनि किस्सा थिए- कालापारका, बम्बैका, लाहुरका, लखनउका | साबुन, मिठाई, बिजुली, घर, गाडी, रेल, फिलिम, हिरो, हिरोनीका बयान गरेर उनी कहिल्यै थाकेनन् | उनी सुनाउँदै जान्थे, हामी कल्पिंदै जान्थ्यौं | आखिर धक्कु लगाउनलाई उनीसित संसार थियो, हामीसित शुन्ना | नरे भन्थ्यो- बुझिस्, एकदिन हामी पनि लाहुर जानुपर्छ | 

गाउँका बुज्रुकहरू चाँहि लोकेदाइ अनि ठिटाहरुले गरेको उनको वाहवाहीले खिन्न थिए | “प-पाँच वर्षसम्म अर्काको देशमा गएर जुठा भाडा माँझ्नु छ, गोरुझैं जोतिनु छ, वचन सहनु छ अनि घर आउने बेला पैसाको नाममा नाथे डेढ हजार ! अझ उसकै फूर्ति ज्यादा ! यतै केही नोकरी खोजेको भए आजसम्म कति प्रगति हुँदो हो !”- पल्लाघरे काकाले एकदिन बासँग गफैगफमा भनेको सुनेको थिएँ | लोकेदाइ त जम्मा पन्ध्र दिनको छुट्टीमा आएका थिए, फर्किहाले | तर उनको चर्चा भने गाउँमा लामै समय चलिरह्यो | नरे घरीघरी भन्थ्यो- बुझिस्, फिलिममा खेल्ने हिरोहरु ठ्याक्कै यस्तै हुन्छन्; दुरुस्तै हाम्रा लोकेदाइजस्ता |

“हेर् केटा हो ! त्यहाँ त नूनबिनाको तिहुन पनि नुनिलै हुन्छ | छोड्दे यस्ता खेतबारी जोत्न !”- लोकेदाइले गरेका कुराले सपनामा पनि पछ्याउन थालेका थिए | हुन पनि गाउँमा दिक्दार लाइसकेको थियो | सधैंको त्यही दालभात, त्यही तिउन, त्यही गोरस ! मेरो स्वादे जिब्रो वाक्कै भएको थियो | ग्वाला गयो, खेत जोत्यो, खोलामा माछा मार्यो, गाउँ चाहार्यो, किस्सा खत्तम ! उही लयमा बिहान हुन्थ्यो, उही तालमा साँझ बित्थ्यो | गोठका वस्तुभाउ हुर्काउँदैमा आफू त कहिले हुर्किसकेछु, पत्तै भएनछ | पढाइ हापेको पनि वर्षदिन भइसकेको थियो | दुई-दुई घण्टाको उकालो हिंडेर पनि को स्कुल जाँदो हो ? त्यो पनि बिनाकारण मुर्गा बनाउने बाउँठा सरहरु भएको स्कुल ! बाह्रखरी कण्ठै थियो, त्योभन्दा बढ्ता जानेर के नै नापिन्थ्यो र ? हात्ती थोडै पढेर ठूलो भाको हो ?

एकदिनको कुरा हो, एक्कासी हनहनी ज्वरो आयो | दिनभरि घरमै सुतें | आमै माइत गएकी थिइन्, बा पनि घोडामा अलि टाढै जानुभाथ्यो | सुत्दासुत्दै मनमा नानावली कुरा खेल्न थाले- साला, यस्तो चुत्थो जिन्नगी पनि के जिन्नगी ! तीनचार दिनसम्म त्यस्तै भइरह्यो- अर्थात् अथाह औडाहा | न राम्रोसँग भोकप्यास लाग्यो, न गतिलो निद्रै पर्यो | बेचैनीसंगै मुटुको धड्कन पनि एकतमासले बढेको थियो | एककिसिमले होपलेस भइसकेको थिएँ म | त्यसैत्यसै आलस्य लागेर आउँथ्यो, केही गर्ने जाँगर चल्दैनथ्यो | उता दिमागमा मिठाई, बिस्कुट, चाउचाउ, फिलिम, हिरो, हिरोनी, लोके खेल्थे, यता मुखभरि पानी रसाइरहन्थ्यो | कुनै ‘साइकियाट्रिस्ट’ कहाँ लगेको भए ‘डिप्रेसन’ भन्दिदो हो |

बा-आमा फर्किंदा ज्वरो त ह्वात्तै घटेको थियो; तर बेचैनीको पारो चाँहि उक्लेको उक्ल्यै थियो | कसलाई सुनाउनु यो छटपटीको पीडा ? बासँग भन्न आँट थिएन | आमैलाई भनूँ, उल्टै उनलाई पनि पीर बोकाउनु मात्रै हो | साना भाइबहिनीलाई भनेर झन् के काम ? आखिरमा नरेकै शरण पर्ने निधो गरियो | तर उसलाई मेरो कुरा सुनाउनुअघि नै ऊ मेरो घर आयो र सुस्तरी भन्यो- तसँग एउटा जरुरी कुरा गर्नुछ | कुरा त तसँग पनि मैले जरुरी नै गर्नुथ्यो, ठीकै छ पैले तैं सूना- मैले भनें | साँझपख राम्दी खोलाकिनारमा जरुरी बैठक रहेको र त्यहाँ म आउनैपर्ने उर्दी जारी गरेर ऊ टाप कस्यो | के, किन, कसरी कुनै सवाल गर्ने मौकै दिएन बज्याले | केही जरुरी चीज नै होला भन्ठानी भनेकै टाइममा भनेकै ठाउँ पुगें | मलाई नै कुरेर बसिरहेको थियो नरे | हत्त न पत्त दुईजनाको संयुक्त बैठक बस्यो, गोप्यरुपमा | हुनत यस्ता बैठक हामी बेलाबेला बसी नै रहन्थ्यौं तर यो बैठक अलि गम्भीर हुँदैथियो | नरेले अति गम्भीर प्रस्ताव फ्याँकेको थियो- लोकेदाइ बन्ने अर्थात् लाहुर जाने |

प्रस्ताव सुन्नासाथ के जादू भयो कुन्नि, अघिसम्मको त्यो मेरो बेचैनी, हैरानी, छटपटी सबै आफसेआफ गायब भए | प्रस्तावमा बिना कुनै छलफल मैले लालमोहर लगाइदिएँ | एकहिसाबमा मैले ‘डिप्रेसन’ बाट ‘मेनिया’ मा छलांग हानिसकेको थिएँ | गाउँबाट फरार हुने योजना सर्वसम्मतले पारित भइसकेको थियो | आखिरमा मेरो बिमारीको ओखती भेट्टिएको थियो | म खुशीको चरम उन्मादमा थिएँ | सम्हालिन आग्रह गर्दै नरेले भन्यो- धेरै नफुर्की, बरु योजना सफल पार्न रणनीति तय गर् ! मैले एकै सासमा भनें- धन्दा नमान्, दुइटैले घरबाट एकएक हजार चोर्ने ! भोलिपल्टै रणनीति कार्यन्वयन गर्ने एकबुँदे सहमति गर्दै बैठक सक्कियो |

मेनियाकै तालमा ‘कर्डन एण्ड सर्च’ अपरेसन थालियो भोलिपल्ट | घरका दराज, खोपा, बाकस- अहँ खानतलासी लिनलाई कहीं बाँकी राखिएन | जहाँ जति भेट्टियो, टिपीहाल्ने नीति थियो ! पाँचपैसे ढ्याकदेखि पचास रूप्पेसम्म मिलाएर गन्दा आखिरमा एक हजार चार रूप्पे पुर्याएरै छाडें | उता नरेले नौ सय पचासी पुर्याएछ |

बिहान चार बजे झिसमिसेमै टाप कस्यौं | गफ लडाउँदालडाउँदै बाटो कटेको पत्तै भएन | तुलसीपुर बजार आइपुग्दा पूरै रात परिसकेको थियो | तुलसीपुर अर्थात् गाडीहरुको बजार, पसलहरुको बजार, मान्छेहरुको बजार | बसका हेडलाइट र ब्याकलाइटका रङ्गीविरंगी प्रकाशले राति पनि उज्यालै देखिन्थ्यो | कहाँको सम्साँझै चकमन्न अँध्यारो हुने त्यो गाउँ, कहाँको मध्यरातमा पनि उज्यालै हुने यो ठाउँ |

रात त काट्नै पर्थ्यो | अप्ठ्यारो नाउँ गरेको एउटा लजमा छिर्यौँ | हो यहीं हो मैले पहिलोपल्ट कुखुराको मासु मुखमा हालेको | खान्की त काइदाको थियो तर पुरेतको छोराले जात फालेको यो काण्ड थाहा पाए घरमा बाले के गर्दा हुन् ? आमै कति रुँदीहुन् ? घर छोडेपछि पहिलोपल्ट झल्झली घर सम्झिँदै थिएँ | सायद यतिन्जेल त हामी बेपत्ता भएको खबर पनि गाउँभरि फैलिसक्यो होला | आमैले कति खोजिरहेकी होलिन् !

भोलिपल्ट सबेरैदेखि बजारमा गर्नुसम्म मस्ती गरियो | ओम हलमा शिव श्रेष्ठको ठुल्दाईको भव्य प्रदर्शन भइरहेको कुरा त गाउँका बच्चाबच्चालाई थाहा थियो | बिहानीको ‘शो’ संगै मस्तीयात्राको शुरुवात यही हलबाट गरियो | पेटमा हुल्न बिर्सेर आँखामा सिनेमा हुल्न थाल्यौं | शिव श्रेष्ठले हानेको कुनै पनि फाइटमा सिट्ठी मार्न बिर्सेनौं | भन्ने नै हो भने प्रत्येक सेकेन्ड ‘फुल इन्जोय’ गरियो | फिल्म सक्किसक्दा ३ घण्टा बितिसकेछ, नरे चाँहि बेस्कन कराउँदै थियो- बाइ गड, ३ मिनेट पनि भाछैन; साला हलवालाले सिधै ठग्दियो | उसोभए अर्को शो पनि हेरम् न त- मैले प्रस्ताव राखें | छोड्दे, दुईचोटि एउटै फिल्म हेर्न त झुरै हुन्छ- उसले सिधै अस्वीकार गर्दियो | नचाहँदा नचाहँदै पनि हलबाट निस्कनु त छँदै थियो | त्यहाँबाट निस्केर हिंडियो बजार घुम्न | पूरै तीन राउण्ड मार्यौं | ठेलाका चटपटे, चाट, बरफ, कुल्फी, समोसा केही बाँकी राखेनौं | लाग्दैथ्यो- हाम्रो भुँडीजति इलास्टिक संसारमै अरु कसैको छैन | हसुर्नु हसुरिसकेपछि नरेले अर्को आइडिया फुरायो | भन्यो- बुझिस्, हिरो हुनलाई ‘मेकअप’ मा पनि ध्यान दिनुपर्छ | अनि यसप्रकार उसको पछिपछि लाग्दै तुलसीपुरको एकमात्र सैलुन छिरियो, जहाँ सलमान खानदेखि सन्नी देवलसम्मका हेयरकटहरु सर्वत्र उपलब्ध थिए |

लोकेपथ भएर लाहुर हिंडेका हामी तुलसीपुरमा धेरैबेर अल्झिनु ठीक थिएन | फटाफट बसपार्क गएर दुइटा टिकट किन्यौं | बस छुट्न अझैं सवा एक घण्टा बाँकी थियो | गफ मार्दै प्रतिक्षालयमा कुरीबस्यौं | छेउमा थिए, केही न केहीको प्रतीक्षामा कुरिबसेका हामीजस्तै अरु ठिटाहरु | ‘ओइ जेठा’- पछाडिबाट चिरपरिचित आवाज आयो | आबुई, काका पो रैछन् | मेरो सातोपुत्लो उड्यो | अब के भन्ने हुन् भन्ने डरले हंस ठाउँमा थिएन | तर निन्याउरो अनुहार लगाउँदै काकाले मुख फोरे- ‘तेरी आमै सिकिस्त छिन्, जेठा ! तैंले घर छाडेदेखि बेहोस भएकी, अहिलेसम्म होस फिरेको छैन | बेलाबेला जेठा, जेठा भन्दै बर्बराउँछिन् | अन्न त परै जाओस्, मुखमा एक थोपा पानी पनि परेको छैन | जसरी हुन्छ एकचोटिलाई फर्के, जेठा | तेरी आमै सिकिस्त छिन् |’ म छाँगाबाट खसेजस्तै भएँ | धेरै बेरसम्म ट्वाँ परिरहें, केही सोच्नै सकिरहेको थिइनँ | एक्कासी सुनें- मैले टिकट काटेको बसले लगातार हर्न बजाइरहेको छ | सवा एक घण्टा बितिसकेछ | आँखा पिलपिल पार्दै नरेले भन्यो- ‘तँ काकासित घर फर्के, दोस्त ! आमैलाई राम्ररी स्याहारसुसार गरेस् | म त नगइ हुन्न | २-४ वर्षपछि लोकेदाइ बनेर आउँला |’


म केही बोल्नसक्ने अवस्थामा थिइनँ | आँखाबाट एकतमासले आँसु चुहिरहेका थिए | थाहा छैन, आमैको शोकमा ती आँसु झरेका थिए वा मेरो लाहुर-सपनाको हत्या भएकामा | 
Read More

Dec 5, 2014

बरियापुरमाथि एउटा अर्को बकवास

[सौरभ भर्सेज संजीव: एक प्यारोडी] 

१८ मङ्सिरको अंकमा पंक्तिकारले ‘बरियापुर: पश्चिमाको बकवास’ लेखेलगत्तै ट्वीटर संसारका स्वघोषित एक विद्वतशिरोमणिले ‘बकवास- तर कसको’ शीर्षकमा रिज्वाइन्डर ठेलेकाले आवश्यकताको सिद्धान्तले उत्प्रेरित हुँदै यो टिपोट लेख्ने कष्ट गर्नुपरेको हो |

ट्वेल्भ इयर्स अ स्लेभ
यो नाम २०१३ को एउटा पश्चिमा सिनेमाको हो | यसमा छ- सोलोमन नर्थअप नाम गरेको एउटा मुक्त कालेको सत्यकथा | मुक्त भएर पनि ऊ अपहरित हुन्छ र १२ वर्षसम्म एकपछि अर्को मालिककोमा कमारा बनेर दासताको चक्रमा फनफनी घुमिरहन्छ | नभन्दै १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने नेपाली आहान बनेको ठ्याक्कै १२०० वर्षपछि सोलोमन स्वतन्त्र हुन्छ र घर फर्केर आत्मकथा कोर्दछ | दासत्वको कथामा पश्चिमाहरुले बनाएको यो सिनेमा फुर्कीफुर्की हेर्नेहरु, मजा लुट्नेहरु तर आफ्नै घरआँगनमा मजासित दासप्रथा र सतीप्रथा चल्दा उन्मुलनको माग गर्छन्, तिनै पश्चिमा र तिनका पिट्ठुहरुको इशारामा, बिल्कुलै निर्लज्जतापूर्वक | उसै पनि स्वदेशी स्याउभन्दा विदेशी नासपाती मिठो मान्नेहरुको जमात ज्यादा छ यहाँ | त्यो सिनेमामा देखाइएको सामग्रीको ठूलो हिस्सा छ- कसरी दासिनीलाई रेप गरिन्छ, दिनमा १०० केजी कपास टिप्न नसक्दा कसरी बेहिसाब पाता फर्काइन्छ र गोली दाग्दै मासु चोक्टा-चोक्टा पारिन्छ | अर्थात् पश्चिमा सोचाइको जिउँदोजाग्दो प्रतिविम्ब हो यो सिनेमा | हामीले त्यही सिनेमा बनाए धेरै सम्भव छ- हामी देखाउथ्यौं, कसरी आइमाईहरु बैंसमै आगोमा हामफालेर सती जान्थे, कसरी थरुनीहरु जमिन्दारका घरमा कमलहरी बस्थे र कसरी बाउबाजेको ऋण चुक्ता गर्न दलितहरु हलिया बस्थे | उन्नाइसौं शताब्दीको कथालाई टिपेर सिनेमा बनाउने पश्चिमाहरु एक्काइसौं शताब्दीको ओस्कार थाप्दैछन् | जबकि यस्ता कथाको प्रमाण नेपालमा एघारौँ शताब्दीमै पाइन्छ | त्यसमाथि सती प्रथामाथि बनेको ‘झोला’ छँदैछ | यी त साना उदाहरणहरु मात्रै हुन्, पंक्तिकारले झट्ट सम्झेका | इन्टरनेटमा सर्च गरे हुन्छ इच्छुकहरुले | तर यति कुरा चाँहि अहिल्यै बुझे राम्रो- १९८२ मा चन्द्र शमशेरलाई दासप्रथा हटाउन बाध्य बनाउनेहरुकै रेप्लिका हुन् अहिलेका बरियापुर विरोधीहरु, अपितु यो पालि कुनै पनि हालतमा यिनीहरु सफल हुनेछैनन् | योहाना लुम्लेको औँलो समातेर परम्परागत मान्यतामाथि औँलो ठड्याउँदै विद्वान कहलिने फेसन सम्वत् २०६३ पछि ह्वात्तै बढेको छ तर साधारण नेपालीहरुको चेतना यिनीहरुको दाँजोमा कहाँ हो कहाँ पुगिसकेको छ | जेएनयुका उत्पादनहरु पश्चिमाका चेलाचपेटामा ‘मेटामर्फोज’ भएको सबैले देखेकै हुन्, तर बहुसंख्यकले पढ्ने त्रिवी बिकेको कसैले सुनेको छ आजसम्म ?

ऐतिहासिक गाथा
पश्चिमको ‘गड’ नेपालीको ‘गढीमाई’ को अपभ्रंश हो | भलै त्यसलाई १६०० वर्षअघि जर्मनहरुले शुरु गरेको दाबी चलिरहोस् | आदियुगदेखि बरियापुरमा खडा रहिरहेको यो गढीमाईको ख्याती र सौन्दर्य मानदेवकै पालामा चारैतिर फैलिसकेको कुरा त कालिकोटका योगी नरहरिनाथले ३६ वर्ष लगाएर लेखेको ‘बाराको प्रमाणिक इतिहास’ मा उहिल्यै उल्लेख भइसकेकै हो | पछि राजा गणेश्वर सिंहका पालामा महाकवि विद्यापतिले हाल मन्दिर रहेकै ठाउँमा मैथिली भाषाको कवितागोष्ठी गराए, भक्तिधाराका कविताहरु समेटेर भन्ने पनि भनाइ छ | अनि यही ठाउँ हो, जहाँ भनाइ छ- साक्षात् गढीमाई देवी प्रकट भएर भन्नुभयो- मलाई पाँचपाँच वर्षमा पशुबली चाहिन्छ, पाँच लाख घटीले चल्नेवाला छैन | ‘बरियापुरियन्स आर एनिमल एडिक्टस’- एक समकालिन पश्चिमाले त कतै लेखेकै छन् | फेरि, पश्चिमासँग किन तुलना गर्छौ, बरियापुर त निरपेक्ष हो भनेर लेख्नुअघि यी शिरोमणिले कमसेकम एकपटक उनकै गुरु चैतन्य मिश्रलाई सम्झिदेको मात्रै भएपनि यो टिपोटको जरुरी हुन्थेन | ऐतिहासिक चेतको कुरा गर्दै मिश्रले आफ्नो ‘डक्टरल डिजर्टेसन’ मा लेखेका छन्- नेपालको इतिहासशास्त्र लगायत राजनीति समष्टिभन्दा धेरै बढी व्यष्टि, विश्वकीय र क्षेत्रीयभन्दा धेरै बढी राष्ट्रिय र स्थानिक, जगत् र समाजका विशिष्टताभन्दा धेरै बढी व्यक्तिका विशिष्टता र ऐतिहासिक प्रवाह र सम्पूर्ण संरचनाका विशिष्टताभन्दा धेरै बढी कर्ताको विशिष्टतामा केन्दि्रत हुनपुगेको हो | आफ्नै गुरुको कुरा नपढ्ने यो कस्तो विद्वान हो, बुझिनसक्नु छ | धेरैको हाल यही छ |

अरुन्धती र दीपा मेहता
यी ती दुई नामहरु हुन् जसलाई ‘कोट’ गर्न भ्याएका छन् विद्वतशिरोमणिले आफ्नो रिजोइन्डरमा | अरुले माने भन्दैमा बलिप्रथा, सतीप्रथा, दासप्रथा नेपालले मान्न जरुरी छैन भने यो जोडी चाँहि भारतीय भएर मात्रै हामीले तिनका ‘कोट’ लाई मान्दिनुपर्ने हो ? शिरोमणिको विवेकलाई पंक्तिकारको खुलाप्रश्न हो यो | नभन्दै तथ्यांक बोल्छ- यतिखेर १५ हजार नेपालीहरु भारतीय ‘पेरोल’ मा छन् | चिनियाँहरू भन्छन् रे नै, 'तिम्रो देशमा कोचाहिँ बिकेको छैन ? कोसँग सहकार्य गर्ने ?'  निश्चय नै, बरियापुरमाथि धावा बोल्नेहरुको फ्रन्टलाइनमा पश्चिमाहरु छन् | तर तिनै गोरा छालाले संचालन गरेको एउटा भारतीय ‘ग्यांग अफ फोर’ यसपाला बरियापुरमा खुल्लमखुल्ला क्रियाशील थियो | माथिका पंक्तिहरु पढिसकेपछि बुझ्नेले बुझ्लान् नै- औपनिवेशिक सोच र नमिठो लघुताभाष भनेको के हो !

रिप्लेज बिलिभ इट अर नट 
जसले अति पुरानो नेपाल बुझेका छन्, तिनले २६औं शताब्दीमा टेकेको पनि ५८ वर्ष भयो | जसले आधुनिक नेपाल बुझेका छन्, तिनले २१औं शताब्दीमा टेकेको पनि ७२ वर्ष भयो | तर २१औं शताब्दीमा टेकेको भर्खर १४ वर्षमात्र भएका यी नवकिशोरहरु अहिलेको युगमा आएर पनि संस्कृति र परम्पराको बचाउ गर्ने ? भनेर थाक्दैनन् | हामी शुद्ध मांसाहारी हौँ भनेर पटकपटक 'कन्फेस' गरिरहन पनि यी बरियापुर विरोधी नवकिशोरहरु फिटिक्कै लजाउँदैनन् | रिप्लेको 'बिलिभ इट अर नट' मा उल्लेख गर्नलायक यस्तै विसंगतिलाई सायद हामी बेलाबेला नियति भन्ने गर्छौं | खासमा बरियापुर विरोधीहरुको खास तारो के हो, विरोधीहरु स्वयम्मै प्रष्ट छैनन् | आफू बाहेक अरु सबलाई मासु घिच्न प्रतिबन्ध लगाउनुपर्ने माग हो कि, बरियापुरमा बफ काट्दा काठमाण्डौमा म:मको अभाव हुन्छ भनेर हो कि ? वा मेलास्थल बरियापुरबाट काठमाण्डौ स्थानान्तरण गर्नुपर्ने हो कि, पा-पाँच वर्षलाई लम्ब्याएर बीस वर्ष बनाउनुपर्ने हो कि बलि दिइने पाँच हजार राँगालाई पाँच सयमा झार्नुपर्ने हो कि ? अरु किसिमले भन्न नसकेर मेला व्यवस्थापनका गन्जागोल नारा भट्टयाउनेहरु पनि भेट्टिए- प्रगतिशीलताको खोल ओढेका केही बुज्रुकहरु | इयू, डेनमार्क, नेदरल्याण्ड, नर्वेलगायत भ्याटिकन र प्रोटेस्टेन्टहरुले आफ्नो धर्मविस्तारका लागि हिन्दूधर्मभित्रको एउटा अनन्य प्रथामाथि यसरी धावा बोल्दा पनि अरुहरु मुखमा टेप टालेर बस्छन् भने बसून्, यो पंक्तिकार बस्दैन | आदियुगदेखि बरियापुरमा चलिआएको गढीमाई पर्व यथार्थमा धर्म नै होइन, प्रकृतिसम्बद्ध जीवनपद्धति र दर्शन हो |  

पुछार-१  
योपालि रामबहादुर बम्जन स्टेजमा कतै देखा परेनन् तर मोदीको नेपाल भ्रमणका बेला पशुपतिनाथ नजान अनुरोध गर्ने स्वामी अग्निवेश चाँहि अपेक्षितरुपमै बरियापुर विरोधीहरुको फ्रन्टलाइनमा थिए | नेपाली जनताको हृदयमा पशुपतिनाथ र बरियापुर किन प्रिय छन्, यी गेरुवस्त्रधारीले नबुझ्ने कुरा थिएन | सुनियोजित रुपमा मेलास्थलमै अनसन बस्न खोज्दा मेला भर्न आएका लाखौँ श्रद्धालुहरुले लखेट्नु लखेटे यिनलाई | जुन दिन बाँकी बरियापुर विरोधी झुण्डहरुको पनि पश्चिमा कनेक्सन सप्रमाण सडकमा छरपस्टिन्छ, तिनको हाडखोर अवश्यै रहनेछैन |

पुछार-२
नभन्दै पशुबलिको भोलिपल्टै मन्त्रिपरिषद्को बैठकले बरियापुर गाविसलाई महागढीमाई नगरपालिकामा ‘प्रमोसन’ गरिदिएको छ |









Read More

Dec 3, 2014

True religion

First appeared in The Kathmandu Post, 2009-03-17 

At a time when the original meanings and significance of things are eroding at an ever increasing pace, the fate of religion has been no different. Observe closely around you and you'll have to wait for no Sunday to find the self-styled religious men and women. Yes, they wake up early in the morning, take baths, go to temples, perform prayers and meditation, but my question is: Do these alone suffice for one to be an truly religious person? Are karmakandas and rituals sole prerequisites to certify oneself as a religious being? Certainly not, and if you further scrutinise our self-styled religious fellows, you'll find that they are vain, boastful and have no qualms promoting deplorable social evils like untouchability, gender discrimination and a host of other ills falsely associated with religion. They are not interested in following the good that their religion teaches. 

Little wonder, then, the the youths of today are exhibiting the legacy they got from the older generation, especially during festivals like Shivaratri and Holi. The festivals are supposed to be an occasion when all enmity is forgiven and forgotten and friendship is renewed, but the modern day youths behave the other way round. They take these occasions to take ganja and bhang and tease young girls, which consequently lead to brawls and gang-fights. What is the point of celebrating festivals if it is only to trouble others and end up spoiling your own mood?

Indeed, there is no need to visit temples and pay lip-service to god, for god is within you if you have the ability to feel it. God is, as William Blake says, in a grain of sand and in a flower. And as S. Radhakrishnan puts it in another context, "Religion is seeing God face to face. If anyone achieves that, he is an authentically religious man." But in order to achieve that, or say, to catch a glimpse of that Supreme Being, one has to go through self purification and sacrifice. Prayer and meditation may be necessary at one point, but they should not be merely for outward display, as is the case with us today. It ought to rather serve to discipline our body, mind and heart. Above all, we must learn to discard the vile deeds we commit in the name of religion. 

I want to plead one and all to follow what Paulo Coelho says, that religion is a way of having discipline and collective worship with persons who share the same mystery. Let us all embrace true religion by strengthening our spirit and learning to love and forgive those around us.
Read More

Nov 27, 2014

मोदीको गोप्य काठमाण्डौं डायरी

उसो त प्रधानसेवकका हैसियतमा यो मेरो दोश्रो नेपाल भ्रमण हो | ४ महिनाअघि पनि यहाँ आएर जादुमयी रुपमा सबैलाई मन्त्रमुग्ध पार्देको थिएँ | संसद भवनमा दिएको भाषणमा बजेको तालीको गड्गडाहट त मैले अहिलेसम्म पनि अनुभव गर्दैछु  | तर मेरो पूजा हुन थालेको चाँहि म प्रधानसेवकमा नियुक्त भएदेखि नै हो | भन्ने नै हो भने मेरो अन्तस्करणमा लाग्छ, यो मेरो आफ्नै गुजरात राज्य हो | यहाँबाट मैले चुनाव लडें भने शतप्रतिशत मत पाउनेमा म शतप्रतिशत ढुक्क छु | बरु भारतमाताकै केही राज्यले धोका देलान्, यो नेपालले दिन्न | यसमा मलाई रत्ति शंका छैन |


त्यसैले नेपाल आउँदा केही न केही पाहुर ल्याइदिइरहन मन लाग्छ | के गर्नु, आफ्नै स्यानो भाइकोजस्तो माया लाग्छ | गएको पालि एक खर्बको सहुलियत ऋण दिएँ, यसपल्ट हेलिकप्टर ल्याइदिएको छु | खेलौना होइन, साँच्चैको | तर हरेकपटक म यहाँ आउँदा एउटा विद्रूप नाटक मन्चन हुन्छ | सिंगारपटार र बढारकुँडारको यो नाटक मलाई एउटा भयानक पाखण्ड लाग्छ | यस्ता नौटंकीसित म कत्ति अपरिचित छुइन | हिन्दुस्तानका पिछडिएका ठाउँमा म जाँदा पनि त्यहाँका ड्रामाबाजहरु यस्तै नौटंकी देखाउँछन् | नेपालको खास अवस्था कस्तो छ, मैले नदेखेको हो र ? धेरै वर्षपहिले म लाइमलाइटमा नआउँदै कैलाशसम्मको यात्रा गरेको थिएँ | त्यतिबेलै भरपूर प्राकृतिक सौन्दर्य भएर पनि सुन्दर हुन नसकेको यो देशको दुर्दान्त तस्वीर देखेको थिएँ | जतिसुकै मेकअप गरेर मलाई देखाउन खोजे पनि मलाई थाहा छ- यो देश त्योबेला मैले देखेभन्दा अलिकति पनि बदलिएको छैन | र मेरोजस्तो करिस्मेटिक नेतृत्व नउदाउन्जेल बदलिनेवाला पनि छैन | तर मैले सार्वजनिक रुपमा यसो भन्न मिल्दैन | मैले त समिटमा भाषण दिँदा यहाँका नेताहरुको तारिफ गर्दिनुपर्छ, नेपालले अचम्मै मोहनी लगाएको बखान गर्दिनुपर्छ | सत्य कुराहरु त मैले यही गोप्य डायरीमा मात्र खोल्न पाउँछु |

अँ, जति पनि नेता भनाउँदाहरु भेटें, एकाध अपवादबाहेक जम्मै चाकरी गर्ने र चुक्ली लाउनेहरु मात्रै रहेछन् | देशका बारे सोच्ने मजस्तो राष्ट्रवादी कोही भेट्टाइन | माओवादी नेतृत्वको २२ दलीय गठबन्धन चाँहि मक्ख थियो, भेट्नेबित्तिकै पाउलागी गरिहाल्यो | सहमतिबाटै संविधान बन्नुपर्छ भनेर ट्रमा सेन्टर हस्तान्तरणमा के भन्देको थिएँ, उनीहरुका खुट्टा भुइँमै छैनन् | कांग्रेस-एमाले अलि ठुस्केका देखिन्थे, बिन्ती जाहेर गरेका थिए- हजुरले किन त्यसो भन्सेको भन्दै ? धन्न त्यति भएपनि असन्तुष्टि पोख्ने हिम्मत गरे विचराहरुले | मलाई दायाँबायाँ थाहा छैन, सहमतिकै संविधानमा जोड दिनूस्- यति भन्दै आत्मविश्वास नभएका ती रोबोटहरुलाई आफ्नो ज्ञान-बुद्धि दान गर्देको थिएँ |

सबैलाई थाहा छ, पूरै संसारले मलाई विकासपुरुष मान्छ | मेरो धार्मिक कट्टरता पनि यही खोलभित्र ढाकिएको छ | विकासपुरुषको यो छविलाई अघि बढाउन नेपालमा पनि धमाधम विद्युत परियोजनाहरुका पिटीए र पिडीएहरु हस्ताक्षर गर्देको छु | जलश्रोतको क्षेत्रमा हानेको यो छलाङबाट मैले भारतमाताको भलैभलो गरेको छु | अलिकति भलो नेपालकै पनि हुन्छ भने मलाई के आपत्ति ? मलाई थाहा छ, जता पनि छिद्र खोज्ने केही चर्का राष्ट्रवादीहरु यहाँ पनि होलान् | राष्ट्रघाती सम्झौता भन्दै केही दिन चिच्याउलान् पनि तर यति ग्यारेन्टी छ, हिन्दुस्तानमा यसका निम्ति मेरो जयजयकार नै हुनेछ |

भारतमाथि नेपालीहरुको पनि पूरा अधिकार छ, ममाथि पनि तपाईंहरुको अधिकार छ भनेर पनि यसपालि मैले बोलें | गुह्य कुरा चाँहि नेपालमाथि मेरो अधिकार छ भन्ने थियो | यो कुरा बुझ्नेहरुले जरुर बुझे होलान् | नबुझ्नेका लागि यो डायरी छँदैछ | कुनै नयाँ कुरा भनेको होइन | चाचा नेहरुले पनि भनेका थिए- नेपालमाथिको आक्रमण भारतमाथि मानिनेछ र तुरुन्त प्रतिक्रिया दिइनेछ |  

नवाज सरिफसँग मैले हात मिलाइन भनेर पनि मिडिया मच्चियो क्यारे | यही डायरीमार्फत बुझे हुन्छ- म symbolism का खातिर गरिने कर्मकाण्डमा विश्वास गर्दिन | हात मिलाएरै समाधान हुनेभए म हजार चोटि पनि हात मिलाउन तयार छु | यसरी प्रचार हुँदैछ मानौं, मैले हात नमिलाएकै कारण हामी बीच ३-३ वटा युद्ध भएको थियो | Modi means business भन्ने थाहा छैन ? मलाई नतिजा चाहिन्छ | त्यहाँ दुनियाँका सामू हात मिलाएर भित्रभित्रै तुष पालिराख्नुको के अर्थ ? यही काठमाण्डौ हो जहाँ मुर्सरफले कुनै समय बाजपेयीजीसँग हात मिलाएका थिए | नतिजा केही निस्क्यो भने शुन्य निस्क्यो, अरु निस्केन | फेरि त्यही दिन मुम्बई हमलाको छ वर्ष पुगेको थियो | यस्तोमा सबैका मुखेन्जी हात मिलाउन मै अघि सर्नु भन्या सरन्डर हुन्थेन ? त्यैपनि कोइरालाजीले धेरै किचकिच गरिरहनु भो जसकारण द्वारिका रिसोर्टमा दुवैले गुड गरियो | गुड मात्रै हो र, wefie पनि खिच्न भ्याइयो | तर खोइ त, ङिच्च हाँसेर, हात मिलाएर अनि फोटो खिचेर कुनै आइसब्रेक त भएन आखिरमा |

लौ त, काठमाण्डौ डायरी योपालिलाई यत्तिमै टुंग्याउनुपर्ला जस्तो छ | अब एकछिन केही थान ट्विटहरु फुराउनुपर्यो, wefie पनि पोस्टिनु पर्यो अनि पल्टिनुपर्ला | जय हिन्द !


Read More

Nov 11, 2014

ढुक्कले दिनूस् गढीमाईमा बलि


राँगाको नेतृत्वमा बोका, सुँगुर, हाँस, परेवा र कुखुरालाई पछि लगाएर काठमाण्डौस्थित पशुहरुको एउटा प्रतिनिधिमण्डल सिंहदरबार छिर्यो |

नाइके राँगाले कड्किंदै भन्यो- अबको केही दिनमै बाराको बरियापुरमा गढीमाई मेला हुँदैछ, दुई दिनमै हाम्रा पाँच लाख दाजुभाइ दिदीबहिनीहरु रेटिदैछन्, रगतको नदी बग्दैछ ! यस्तो अवस्थामा हामीलाई थाहा चाहियो- सरकार के हेर्दैछ ?

सरकार- हाम्रो जातै केही नसुन्ने र केही नदेख्ने हुन्छ |

नाइके- उसोभए अब हामी धमाका देखाइदिन्छौं |
[पछाडिपट्टिबाट एक बथान सुँगुरले डाँको छाडे- हो, हो, धमाका देखाइदिन्छौं | ]

सरकार- त्यसो हो भने सरकारले तिमीहरुको समस्या के हो, अध्ययन गर्नेछ |

नाइके- मङ्सिर लाइसक्यो, बलिको दिन आइसक्यो | तपाईंलाई चाँहि ट्याम न कुट्याम अध्ययनको ढोंग रच्नुपर्ने ? सबै अध्ययन त अध्येयताले गरिसकेका छन् | तपाईंले त बस् यो मेलामा हुने क्रुर बलि रोक्नुपर्यो |
[बाहिरपट्टि पशुअधिकारवादीहरुको नाराजुलुस प्रष्टै सुनिन्थ्यो ]

सरकार- तर हामी मानिसले हाम्रो धर्म-संस्कृति, संस्कार र परम्पराको पनि त ख्याल गर्नुपर्यो | तिमीहरुलाई पो हाइसन्चो छ, धर्म-संस्कृति क्यै छैन | हामी त तिमीहरुजस्तो फुक्काफाल जन्तु होइनौं, परम्पराको दाम्लोले बाँधिएका हुन्छौं | तिमीहरुलाई ‘ल, पशुबलि ब्यान्ड भो’ भन्दिनेबित्तिकै हिन्दू प्रजातान्त्रिक नेपालका एकहुल कार्यकर्ताहरु मलाई घेर्न आइपुग्छन् |

नाइके- उता तपाईंहरु विश्वको सबैभन्दा धेरै पशुबली दिने शक्तिपीठ भनेर गढीमाइको गुणगानमा मग्न हुनुहुन्छ, के जाति बुकमा रेकर्ड राखेर विश्वले चिन्नेछ नेपाल भनेर फुलेल हुनुहुन्छ | यता, हाम्रा साथीहरु कस्तो मनोदशाबाट गुज्रिदैछन्, हेक्कासम्म छ तपाईंहरुलाई ? घृणा गर्छन् उनीहरु गढीमाइलाई | तपाईंहरुले त्यस्तो भक्तिभावले शीर निहुर्याउने यो मन्दिरलाई पशुहरुले पनि त्यत्तिकै श्रद्धा गरुन् भन्ने लाग्दैन तपाईंहरुलाई ? ए सरकार ! के साँच्चै लाग्दैन ?

सरकार (लामो सुस्केरा हाल्दै) - के गर्छौ त भाइ हो ? पशुबली नदिँदासम्म हाम्रा श्रद्धालु भक्तजनहरुको मनोकामना पूरा भएको एउटै रेकर्ड छैन | भगवानै यस्तो हुनुहुन्छ कि उहाँका समीपमा पशुहरुको आलो रगत नपरुन्जेल जतिसुकै ठूलो तपस्या गरेपनि आफ्ना भक्तको कुरा सुन्नुहुन्न | त्यसैले भगवानको दिलखुस पार्न यति त नगरी धरै छैन भाइ हो !

बोका (खुट्टा बजार्दै) - के कुरा गर्नुभा सरकार यस्तो ? पशुबलीलाई धार्मिक लेपन लगाउन खोजेर आफ्नो बेवकुफी नदेखाउनुहोस् | फेरि, धर्मसंस्कृतिमा त्यस्तो कतै रहेछ नै भने पनि त्यसलाई समयानुकूल परिवर्तन गर्न नसकिने हो र ? कि कुसंस्कारै भएपनि आँखा चिम्लीचिम्ली पछ्याउनैपर्छ भनेर शास्त्रमा लेखेको छ र ? एउटा भ्रामक जनविश्वासको बलमा राज्यस्तरबाटै पुठ दिएर यस्तो घीनलाग्दो ताण्डव नृत्य मच्चाउन तपाईंलाई अलिकति त लाज लाग्नुपर्ने हो | त्यैमाथि एक्काईसौं शताब्दीको दोश्रो दशकमा |

सरकार (अलि रन्किंदै) - लाज-शरम-घीन मानेर एक्काईसौं शताब्दीको सरकार चल्दैन भाइ | ‘एक लज्जा परित्यज्य सर्वत्र विजयी भवेत्’ भन्ने श्लोक तिमी पशुहरुलाई के थाहा ?

नाइके- थाहा पाउनुपर्ने कुराहरु धेरै छन् सरकार ! तर यति कुरा चाँहि तपाईं पनि थाहा पाइराख्नुस् कि तपाईंहरुको यो उन्मादी खेल अब धेरै समय टिक्दैन | एउटा पत्थरलाई निरीह पशुका रगत चढाएर देवता खुशी हुने होइन भन्दै जताततैबाट हाम्रा पक्षमा उभार आइरहेको छ | के भेज, के ननभेज; सोसल मिडियाका अधिकांश फेसबुके र ट्विटेले हाम्रा पक्षमा अभियानै छेडेका छन् | भारतको अदालतले मेलाका बेला पशु निर्यात नगर्नू भनेर ठाडो आदेश दिइसक्यो | जोना लुम्लेले बेलायत तताइरहेकी छिन् | युरोपेली राजदूतहरु पनि लागिपर्नुभाछ | देशविदेशबाट हस्ताक्षरहरु ओइरिइरहेका छन् | अबोध र निरीह पशुमाथिको अमानवीय अपराध रोक्न स्वयम् मानवहरु जुर्मुराएको देख्दा हामी भावविभोर भएका छौं | तर सरकार, तपाईं देखे नदेखेझैँ, सुने नसुनेझैं गर्नैमा मस्त हुनुहुन्छ | थाहा छैन, यसो गरेर तपाईंहरु पाप गर्दैहुनुहुन्छ कि पुण्य, तर यति चाँहि भन्न करै लाग्छ- मानवीयता र पाशविकताको अर्थ साटफेर गर्नुपर्ने दिन आएछ |

सरकार- पशु भएर मान्छेसँग मुखमुखै लाग्नु तिमीहरुलाई शोभा दिने कुरा होइन | फेरि, तिम्रो लम्बेतान भाषण सुन्ने फुर्सद पनि मसँग अहिले छैन | जरुरी मिटिंगहरु छन्, महत्वपूर्ण रिबनहरु काट्नु छ | मलाई यत्ति भन, के दशैंजस्ता चाडबाडमा पनि हामीले तिमीहरुलाई नखानु ? के जागिर पाएको खुशियालीमा, पास भएको अवसरमा, छोरो पाएको उपलक्ष्यमा पनि ‘निरीह प्राणी’ भन्दै भेजमै चित्त बुझाइरहनु ?

नाइके- निर्दोष पाठाहरुको शिकार नगर्नूस् ब्वाँसासाहेब भनेर त म कसरी भनूँ ? मन्दिरहरुमा हामीलाई होइन, नरिवललाई फुटाएर तपाईंको भगवानलाई चढाउनुहोस् भनेर पनि म भन्न सक्दिनँ | बरु काम, क्रोध, लोभ, मोहलाई बलि दिनूस् भन्नु पनि बेकारै छ | अहिंसा अनि शाकाहारी डाइटको फाइदाबारे प्रवचन सुनाउने मुर्खता त म झन् कसरी गरूँ र ? हाम्रो मासुबाटै तपाईंहरुको शरीरले प्रोटिन पाउँछ, तपाईंहरूको जिब्राले स्वाद पाउँछ | भन्ने नै हो भने, हाम्रो रगत र मासुबाट तपाईंहरु आफ्नो भोकतिर्खा मेट्न स्वतन्त्र हुनुहुन्छ | तपाईंले आफ्नो सजातीय मान्छेकै बाँच्ने अधिकार त सुनिश्चित गर्न नसकेका बेला हामी हाम्रो बाँच्ने अधिकार मागेर मजाकका पात्र बन्न चाँहदैनौं | हाम्रो बिन्ती त यत्ति हो- यति धेरै छटपटी र पीडा नदिनूस् | हामी हाँसीहाँसी शूलीमा झुन्डिन तयार छौं, तर यत्ति हो, त्यो झुन्ड्याई अलिक मर्यादित र व्यवस्थित होस् | भगवानको नाम जप्दै क्रुरताको यो हद ननाघ्नुहोस् | सारा संसारका अगाडि तड्पाई-तड्पाई आमसंहार नगरीदिनूस्; गढीमाईजस्तो हिरोशिमा र नागासाकी खडा नगरिदिनूस् | बर्बर हिंसालाई रोमान्टिसाइज नगरिदिनूस् | अनि अन्तिममा, बुद्ध वाज बर्न इन् नेपाल भनेर एकोहोरो चिच्याइरहनुभन्दा पशुबलिका बारे बुद्ध के भन्दा रहेछन्, यसो पढ्ने लेठो गरिदिनुहोला |

सरकार- हुन्छ, तिमीहरुको कुरा एकदमै जायज लाग्यो | गढीमाइले मलाई सद्बुद्धि दिनुभएको छ | यससम्बन्धी निर्णय म आजै क्याबिनेटको आकस्मिक बैठक बोलाएर गर्नेछु | प्रतिक्षा गर्नू | धन्यवाद !


भोलिपल्ट बिहानै सबै पशुहरु टुंडिखेलमा जम्मा भएर अखबारका हेडलाइनमा आँखा दौडाउने होडबाजीमा उत्रिए | त्यहाँ छापिएको थियो- गढीमाई मेलामा हुने बलिमा कुनै किसिमको अवरोध आउन नदिन २००० सुरक्षाकर्मी परिचालन गर्ने सरकारको निर्णय |
Read More

Oct 26, 2014

आइसीयुबाट स्वास्थ्यक्षेत्रको चिठी- भगवान कोइराला कि अमितकुमार ?

First appeared in South Asia and Beyond 

प्यारा साथीभाइहरु,

 तपाईंहरुको अमूल्य जीवनको ठेक्का लिएर बसेको मैले सधैं तपाईंहरुको हालखबर सोधेर पत्रको सुरुवात गर्थें | आज चाँहि आफ्नै बेहाल सुनाएर गर्न चाहन्छु | उसै त पोहोर-परारदेखि अनेकन् रोगव्याधिले गाँजेर थलिएको थिएँ, त्यसमाथि मन्त्रालयको घुम्ने मेचमा अहिलेका मन्त्री आएदेखि स्थिति गम्भीर भएर गएको छ | बाढीले बढार्नै लागेको आँगन भएको छु म | भर्खरै आइसीयुमा ‘सिफ्ट’ गरेको छ | अनुहार कच्याककुचुक र जीउ लल्याकलुलुक भइसकेको छ | एकदमै हतास र निराश छु, भाइबहिनी हो | दुखको कुरो, यस्तो हुँदा समेत सान्त्वना र सहानुभूतिका एक शब्द कतैबाट आएको छैन, स्वास्थ्यलाभको कामना त परैको कुरा | कुनै मानवअधिकारवादीले मेरो प्राणरक्षाका निम्ति विज्ञप्ति निकालेको छैन | अखबारका पानामा पनि मेरो कुनै समाचार छैन | 

साँच्चै नै साथी हो, तपाईंहरुको मौनता मलाई बिझिरहेको छ | लाग्दैछ- बरु ढुंगा बोल्ला, तपाईंहरू बोल्नुहुन्न ! तर पनि, सुकेर दाउरा भइसकेको यो ज्यान कतै फेरि तंग्रिहाल्छ कि भन्ने आशाको त्यान्द्रो मर्दोरहेनछ | मेरो यो बिलौना सुन्ने कोही हुनुहुन्छ भने कृपया बोलिदिनुस् ! मेरो सास जानु भनेको खासमा मेरो होइन, तपाईंहरुको जीवनको बलि चढ्नु हो | आखिर कहिलेसम्म मूकदर्शक बन्न सक्नुहुन्छ ? मुख फोर्नुस् साथी हो, मुख फोर्नुस् !  म मरिसकेपछि आँशु चुहाउनुभन्दा अगावै मुख फोर्नुस् ! 

आफ्नो निहित स्वार्थका लागि पौने तीन करोड नेपालीहरुको जीवन धरौटीमा राख्नसक्ने दुस्साहसीहरु मेरो मन्त्री बनेर ममाथि रजाईं गर्न आउँछन् यहाँ | अब भन्नुस्, कहिलेसम्म थेग्न सक्छु म तिनीहरुलाई ? नठान्नुस् कि यस्ता झिनामसिना विषयमा सोच्न तपाईंसँग समय छैन | नसोच्नुस् कि यस्ता खुद्रा कुरामा छलफल गर्दा ‘संविधान’ जस्ता ओजपूर्ण विषयहरु ओझेलमा पर्छन् | आफ्नो सोचको दायरा अलिकति फराकिलो पार्नुस् र सिर्फ एकचोटि यो प्रश्नमाथि घोत्लिनुस् - तपाईंलाई भोलि तलमाथि हुँदा उपचार गर्न कस्ता डाक्टर चाहिन्छन् ? थाहा छ, तपाईंको रोजाइमा भगवान कोइरालाहरु नै पर्छन् | बुझ्नुस्- भगवान कोइरालाहरु न त ब्रह्माले आकाशबाट फुत्त झार्दिनेवाला छन् न त धर्तीमुनिबाट स्वाट्टै प्रकट हुनेछन् | 


भगवान कोइरालाहरु उत्पादन हुन त सर्वप्रथम भगवान कोइरालाहरुले पढ्ने र सिक्ने मेडिकल कलेजहरु स्तरीय हुनुपर्छ | मेडिकल काउन्सिलबाट तिनका फ्याकल्टी, पूर्वाधार र बिरामी चापको नियमित अनुगमन अनि नियमन हुनुपर्छ र त्यसैअनुसार त्यहाँ पढाइ हुने कोर्सहरुको सीटसंख्यामा थपघट हुनुपर्छ | साहुजीहरुले च्याउझैं नयाँ मेडिकल कलेजका ‘दुकान’ हरु उमार्दा सम्बन्धित विश्वविद्यालयले आर्थिक लेनदेनलाई होइन, तोकिएको मापदण्डलाई आधार बनाएर सम्बन्धन दिने/नदिने निर्णय गर्नुपर्छ | शिक्षण र स्वास्थ्य संस्थालाई राजनीतिको खोल ओढेका अपराधीहरुको नाङ्गो हस्तक्षेपबाट पूर्णत: मुक्त राख्नुपर्छ | सत्ताको डाडुपन्यु समाएका भ्रष्ट राजनीतिज्ञको आसेपासे हुनु नै अस्पतालको पदाधिकारी बन्ने योग्यता ठहरिने परम्पराको अन्त्य हुनुपर्छ | कसाइको सट्टा डाक्टर उत्पादन गर्ने एउटै बाटो यही हो | तर जसरी स्वास्थ्यमन्त्रीले मेडिकल काउन्सिललाई ‘कि त फलानो-फलानो कलेजको घटाएको सीट बढा, नत्र तँलाई नै विघटन गर्दिन्छु’ भनेर धम्क्याएका छन्- यो के हो ? म ठोकेर भन्छु- यो भनेको नेपालको चिकित्सा शिक्षालाई थप थिलथिलो पार्दै मेरो प्राणहत्या गर्नु हो | सरल भाषामा यो भनेको भगवान कोइरालाहरुको कोखैमा भ्रुणहत्या गर्नु हो र ‘किड्नी र्याकेट’ चलाउने डा. अमितकुमारहरुलाई भटाभट जन्माउने ‘फ्लडगेट’ खोल्दिनु हो | के तपाईं अमितकुमारबाट उपचार लिन तयार हुनुहुन्छ ? सुनेथें- मान्छे भनेको आफूलाई नपर्दासम्म चेत्दै नचेत्ने जात हो, तर नमिठो सुनिए पनि यति चाँहि भन्न करै लाग्छ- तपाईंहरुले साँधिरहेको यो डरलाग्दो मौनताले तपाईं र तपाईंको सन्ततिको भविष्य कसाइ र अमितकुमारको हातमा सुम्पिरहेको छ | झाडापखालाको उपचार नपाएर ज्यान जाने देशमा उपचारले पनि मान्छे मार्ने अवस्थाको बीउ रोपिरहेको छ ! ठण्डा दिमागले सोच्नुस् अब- अमितकुमारहरुका नर्सिंगहोम तोडफोड र आगजनी गर्ने परिस्थिति निम्त्याउनु बुद्धिमानी हो कि ती अमितकुमारहरु जन्माउँदै नजन्माउनु ?

एकताका आइ.ओ.एमलाई देख्दा आँखाभरि सप्तरंगी सपना थिए मेरा, अब केही बाँकी छैनन्, रित्तारित्ता छन् | सपना कसैका छन् त नेताजीका छन्- तपाईंहरुको जीवनलाई दाउमा थापेर भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्ने सपना | ‘भिटामिन डी’ को कमी हुनेबित्तिकै सिंगापुर, बैंकक र न्यूयोर्क उड्ने सपना | नेताजीका ती सपनाहरु विपनामा परिणत हुँदैगर्दा ‘सबैका लागि स्वास्थ्य’ को नारा चाँहि ‘फगत नेताका लागि स्वास्थ्य’ मा अनुवाद हुँदैछ, क्रुरतापूर्वक ! मलाई थाहा छ- यो पढ्दै गर्दा तपाईंहरुमध्ये कतिको छातीमा पनि शूल बल्किन्छ बेस्सरी | तर निरुपाय हुनुहुन्छ, तपाईंहरुको नाकैमुनि मेरो जीवनदायिनी धारा बन्द हुन लाग्दा पनि कठैबाहेक केही भन्न सक्नुहुन्न | धन्न मसँग गोविन्द केसीजस्ता विरलाकोटी मान्छे छन् जो मेरो प्राणरक्षाका निम्ति आफ्नो जीवन आहुति गर्न तयार छन् | जबजब म आइसीयुमा पुग्छु र भेन्टिलेटरमा राखिन्छु, तबतब यी केसी सत्याग्रहको शक्तिशाली हतियार लिएर अरिंगालको गोलोमा हात हाल्न आइपुग्छन्, एक्लै ! तर बूढा एक्लैले अनसन बसेर ड्राइभिङ सिटमा स्टेरिंग समाइरहेका ती लोभीपापीहरु पराजित होलान् भन्नेमा मलाई रत्ति विश्वास छैन | अब यति भनिसक्दा पनि ब्यूँझिनुहुन्न भने आगे तपाईंहरुकै मर्जी !
                                                          
                                                           -रुग्ण स्वास्थ्यक्षेत्र
                                                            आइसीयु, शिक्षण अस्पताल
Read More

Oct 17, 2014

रुदाने र बिर्सिइएका नायकहरु

First Published in Mysansar 

रुदाने अर्थात् रुपचन्द्र विष्ट ! जसलाई पुरानो पुस्ताले चटक्कै बिर्सिसक्यो, नयाँ पुस्ताले चिनेकै छैन | इतिहासको अँध्यारो गर्तमा धकेलिएर बिर्सिएका एक होइन, अनेकौं रुदानेहरु छन् यो मुलुकमा | तिनलाई स्कुलका पाठ्यपुस्तकमा अनि पत्रिकाका पानाहरुमा कुनै ठाउँ छैन | हाम्रो इतिहासै यस्तो छ- कति रुदानेहरु गुमनाम पारिएका छन्, कति ऐरेगैरेहरु चाँहि ख्यातिको चुलीमा छन् | यो इतिहासको अब वृहत उत्खनन गर्दै तिनीहरुलाई फेरि सम्झने र नयाँ पुस्तालाई अवगत गराउने कामको थालनी गर्नुपर्छ | यसै सन्दर्भमा अमितकिशोर सुवेदी र विकास ढकालले ‘रुदाने: द मिस्टेरियस रिबेल’ नामको डकुमेन्ट्री निर्माण गर्दै गरेको समाचार प्रकाशमा आएको छ |
छिमेकी भारतमा भगत सिंहमाथि सन् २००२ मा एकैचोटि तीनवटा फिल्महरु बने | ती फिल्मले धेरै भारतीयहरुमा विस्मृतिको पर्दा उघारिदियो र भगत सिंहको स्मृतिलाई पुन: ताजा बनाएर ल्यायो | सन् २००६ मा बनेको ‘रङ्ग दे वसन्ती’ ले त युवापुस्तामाझ भगत सिंहलाई उनीहरुको ‘आइकन’ नै बनाइदिएको थियो | त्यस्तै, गत सालको ‘भाग मिल्खा भाग’ ले मिल्खा सिंह को हुन् भन्ने जानकारी संसारलाई दियो | भर्खरै रिलिज भएको ‘मेरी कोम’ ले पनि मेरी कोमका बारे ठूलो चर्चा फैल्याएको छ | उक्त फिल्मका निर्देशक उमंग कुमार स्वयंले स्वीकारेका छन् कि फिल्मको निर्माण थाल्नुअघिसम्म उनलाई थाहा थिएन- को हुन् मेरी कोम भनेर | फिल्म र डकुमेन्ट्रीहरुमा त्यो शक्ति हुन्छ | इतिहासले बिर्सेका, बाटैमा छोडेका वा चिन्दै नचिनेका नायकहरुलाई दर्शकसामु पस्किदिन्छ | अनि तिनका जीवनकहानीले मान्छेलाई प्रेरित गर्छन् | तर हाम्रोमा एक त यस्ता ‘बायोपिक’ हरु बन्दै बन्दैनन्, केही गरी बनिहालेछन् भनेपनि गुणस्तरका हुनेमा ठूलो प्रश्नाचिह्न रहन्छ | गुणस्तरकै रहेछन् भने पनि प्रचारप्रसारको अभावमा ती हलमा कहिले लागे, कहिले उत्रे, हलवालाबाहेक अरु कसैलाई थाहा हुँदैन | त्यसैले, पुस्तकहरुको प्रचारप्रसारमा अहिले जुन आक्रामकता देखिएको छ, गतिला फिल्म निर्माण गर्नेहरुले पनि अब त्यसको अनुशरण गर्ने हो कि ? नत्र, त्यत्रो मेहनत गरेर बनाएको फिल्म कसैले थाहै नपाई दर्शकका आँखाबाट ओझेलमा पर्छ भने त्यो बनाएको के सार ? केही वर्षअघि भजनशिरोमणि भक्तराज आचार्यमाथि ‘आचार्य’ फिल्म बन्यो, समीक्षकहरुले ताली पिटे, केही पत्रपत्रिकामा राम्रा ‘रिभ्यु’ हरु पनि छापिए | तर दर्शकका रुपमा हामीले, अझ हामीजस्तो मोफसलमा बस्ने दर्शकहरुले, त्यो फिल्म लागेको-नलागेको केही पत्तो पाएनौं | यसप्रकार भक्तराजबारेको हाम्रो कौतुहलता उनीमाथि फिल्मै बनिसक्दा पनि मेटिन सकेन | सहिद भीमदत्त पन्तको जीवन पनि चाँडै पर्दामा आउँदैछ | आखिर उनी पनि हाम्रो समाजले उतिसारो नचिनेका नायक हुन् | आशा गरौँ, यसले चाँहि ती ‘बायोपिक’ हरुको हविगत नबेहोरोस् |
रुपचन्द्र विष्टका बारे केटाकेटी छँदैदेखि फाट्टफुट्ट सुनिआएको र पढिआएको त हो | तर उनीबारे आधिकारिक सामग्रीहरु भने केही पाइँदैनन् | हरेक वर्ष जबजब उनको स्मृति दिवस आउँछ, तबतब अखबारका भित्री कुनामा केही संस्मरणहरु चाँहि पढ्न पाइन्छन् | तिनै छोटा संस्मरणमा पनि अनेक लोमहर्षक कथा र रोमाञ्चक गाथा हुन्छन् रुप्चनको व्यक्तित्वका | किम्वदन्तीजस्ता लाग्ने ती किस्साहरु पढ्दा उनी कुनै दन्त्यकथाका नायकझैं प्रतीत हुन्छन् | तर यत्तिकैमा रुप्चनको जीवनदर्शन सर्वसाधारणसम्म पुग्न सक्दैनथ्यो, पुगेन | आज पनि तन्नेरी पुस्ता बिल्कुलै अनभिज्ञ छ उनका बारे | यसलाई चिर्न उनका बारे ‘फिचर फिल्म’ वा ‘वृतचित्र’ बनाउनैपर्थ्यो, जुन प्रयास ढिलै भएपनि भएको छ | झारा टार्ने किसिमले होइन, बरु पर्याप्त अध्ययन-अनुसन्धान गरेर साँच्चिकै सार्थक वृतचित्र बन्न सकोस् यो- आमदर्शकको यही कामना छ | अनि धारिलो मार्केटिङ अपनाएर भएपनि ऐतिहासिक व्यक्तित्व वा विषयवस्तुमाथि बन्ने यस्ता फिल्महरु हरेक सर्वसाधारणको पहुँचसम्म पुर्याउनैपर्छ |  
एक समय सहरका भित्ता र पर्खालहरु ‘थाहा’ ले पोतिएका हुन्थे | मलाई नमान्नुस्, मेरा कुरा पनि नमान्नुस्, मेरा विरोधीका कुरा पनि नमान्नुस्, थाहा पाउनुस्, सप्रेका देश थाहा पाएर सप्रे, बिग्रेका देश भ्रम परेर बिग्रे, भ्रमैभ्रममा बाँचेर बिग्रेको यो देशको एउटा नागरिक तपाईं बस् थाहा पाउनुस्, देश सप्रिन थालिहाल्छ- यस्तो भन्थे रे ‘थाहा’ आन्दोलनका यी प्रणेता | जनताको यही ‘थाहा’ पाउने अधिकार कुण्ठित हुनेगरी अदालत अवहेलनासम्बन्धी कालो विधेयक ल्याउन लागिएको यो समयमा रुप्चन झनै सान्दर्भिक बनेका छन् | आफ्नो जीवनका अन्तिम दिनमा बिमारीले थलिंदा उनले भनेछन्- ‘छाप्रेहरु उपचार गर्न जाने वीर अस्पताल हो, मलाई त्यहीं लैजा | त्यहाँ भर्ना नै गर्नु परेमा जनरल वार्डमा गर्, क्याबिनमा नगर् | क्याबिनमा सर्वसाधारण नेपाली बस्न सक्दैनन् |’ सिंगापुर र न्यूयोर्कलाई पानीपँधेरो बनाएका हाम्रा बिरामी नेताहरुका निम्ति योभन्दा कठोर व्यंग्य के होला ? हुनेखाने घरानाको भएर पनि जनता जगाउने राजनीतिमा होमिएका रुप्चनले जीवनपर्यन्त छाप्रेहरुकै राजनीति गरेको थिए, झुत्रेझाम्रेकै  लागि लडेका थिए | २०३७ र २०४३ सालको पंचायती चुनाव जितेका रुप्चनले राष्ट्रिय पंचायतका बैठकहरुमा गर्ने खरा भाषणले पंचायतका ताबेदारहरुलाई हायलकायल पारेको सम्झनेहरु अझैं पनि जीवितै छन् | हामी कसैका होइनौं, कोही हाम्रा होइनन्, हामी सत्य र ठीकका, सत्य र ठीक हाम्रो- यही भन्दै डुलीरहन्थे मैलो मान्छेका झुप्राहरुमा उनी | सरल भाषामा जनतामा कुरा राख्ने उनको एउटै ध्येय थियो- जनजागरण ल्याउने | तर ५० को दशकमा आइपुग्दा उनले हरेस खाइसकेका थिए | भन्थे रे- ‘मान्छेहरु जाग्दै जागेनन्, जे जति जागे, ती पनि जालीफटाहालाई नै काम लागे | मान्छेभित्रको मान्छे जगाउने काममा म असफलै भएँ |’ २०६२/०६३ को वसन्त-विद्रोहपछि अभूतपूर्व रुपले जागेका मान्छेहरु उनले देख्न पाएनन् | देख्न पाएको भए रुप्चन पक्कै खुशी हुन्थे होलान् | तर रुप्चनले चाहेजस्तो चेतनाभन्दा उत्तेजना पो बढेको हो कि यो कालखण्डमा भन्ने प्रश्न चाँहि विचारणीय छ |  

हुन त उनलाई बौलाहा भन्नेहरु पनि धेरै निस्के | उनको अद्भुत व्यक्तित्वका धेरै पाटाहरु अझ पनि रहस्यमै लुकेकाले मानिसहरुलाई उनका बारे जे भन्न पनि छुटजस्तो छ | तर पनि, उनी ढोंगी र पाखण्डी थिएनन् | उनको वचन र चरित्रमा कुनै विरोधाभाष थिएन | भित्र जे छ, बाहिर पनि त्यही देखाउँथे उनी | जनताप्रति उनको निष्ठा र समर्पण साँच्चिकै अद्वितीय थियो | सामाजिक सुधारमा उनले ठूलो योगदान दिएका छन्, विशेषगरी उनको कर्मथलो मकवानपुरमा | कृतज्ञ हुनुपर्ने यस्ता नायकप्रति इतिहास कृतघ्न हुन सुहाउँदैन | ‘रुदाने: द मिस्टेरियस रिबेल’ ले इतिहासमा कतै विलुप्त यी रुप्चनलाई उत्खनन गरेर जस्ताको तस्तै दर्शकसामू पस्कन सकोस्- शुभकामना ! 
Read More

Oct 10, 2014

कायाकल्प

First Published in Setopati 

आकाशमा काला बादलहरु देखिंदै थिए | साँझ ढल्किसकेको थियो | जूनको टहटह उज्यालोमा हामी चाँहि अविराम अघि बढ्दै थियौं | यो घनघोर जङ्गल कतिबेला सक्केला र मान्छेको वस्ती आइपुग्ला, फगत यत्ति सोच्दै लमकलमक हाम्रा पाइला चलिरहेका थिए, यन्त्रवत | बिहान सखारै हिंडेका थियौं हामी आमैका औंला समाउँदै | आमै, दुइटी दिदी अनि हामी तीन भाइ कम्ता आत्तिएका थिएनौं घर छोड्दै हिंडेको त्योबेला | बलिन्द्रधारा आँसु बगाएकी थिइन् आमैले | भाइहरु बालखै भएपनि दिदीहरु अनि म चाँहि बुझ्ने भइसकेका थियौं | टाँकघर उध्रिएको सर्ट अनि रङ खुइलिएको जाँघे भिरेर निस्केका थियौं हामी तीन भाइ, हापुरेबाट ! फ्रक र सर्टमा सजिएका हुँदाहुन् दिदीहरु पनि ! बिचरो कान्छो भाइ त बल्लतल्ल दुई वर्षको हुँदो हो, ऊ के आत्तिनु के नआत्तिनु ! कहिले एउटाको काँधमा बोकिन्थ्यो, कहिले अर्कोकोमा | बरा कति हैरान हुँदो हो ! त्यैपनि त्यो चकचके दुईवर्षे बालक त्यो दिन कत्ति रोएको थिएन !
कहिल्यै नहिंडेको बाटो थियो त्यो मेरालागि | भैरेसित खेतका आलीआली हुँदै रानीखोलाको किनारैकिनार हिँडेको जस्तो कहाँ हुनु ? शान्त थियो वातावरण तर मनभरि हुन्डरी त चलिरहेकै थियो | चप्पल त लगाएकै थिएँ, तर पनि पाइला-पाइलामा बिझाइरहेकै थियो | आमै पनि त्यत्रो बाटाभरि एक शब्द बोलिनन् | हामी भोकको आक्रमणमा परिसकेका थियौं | हुनत दिउँसो बाटैभरि भेटिएका बेलौती खाँदै भोक मारेका थियौं, पधेंराबाट तिर्खा मेटेका थियौं | तर दिउँसोका ती आहारले अब अरु धान्नेवाला थिएनन् | त्यहीमाथि अब डर पनि थपिएको थियो- बाघभालुको ! यही डरले होला, थकानले लखतरान भएर पनि हाम्रा गोडाहरु झनै फटाफट लम्किन थाले | खोल्सा, गौंडा र गल्छेडाहरु पार गर्दैगर्दै बल्लतल्ल एउटा कुटीजस्तो स्यानो झुपडी भेट्टियो | हाम्रो हर्षको सीमा रहेन | आखिरमा हामीले मान्छेको वस्ती भेट्टाएका थियौं |
झट्ट न पट्ट आफ्ना केटाकेटीमाथि भोकले गरेको निर्मम आक्रमणको प्रतिकार गरिन् आमैले | दुइटै हात जोड्दै बिन्ती गरिन्- ‘यिनी लालाबाला बिहानैदेखिका भोका छन् दिदी ! बरु मलाई क्यै नदिएपनि हुन्छ, कृपा गरी यिनी केटाकेटीलाई यहाँ जे छ, त्यै दिनुस् | तपाईंलाई ठूलो धर्म हुनेछ |’ कुटीकी आमैले अनि चुल्होमा घुसारिन् आगो र पकाइदिन् हाम्रालागि मकैका रोटी | पेटभरि खान नपाएको धेरै पो भइसकेको थियो, अघाउन्जी खायौं स्वाद मानीमानी ती रोटीहरु | अनि निकाल्यौं साथै बोकेर ल्याएका ओढ्ने-बिछ्याउने कम्बल-डसनाहरु र तन्द्रंग पल्टियौं दैलोनेर त्यही भताभुंग ओछ्यानमाथि, सवार हुँदै सपनाको वायुपंखी घोडामा ! राति स्यालहरुको हवाँहवाँले पनि बिथोल्न सकेन सपना तर के आमै पनि सुत्न सकिन् होला र त्यस्तै घोर निद्रा ?    
                            ******************

बुद्ध भन्थे रे- दुख छ, दुखको कारण छ, दुखको विनाश सम्भव छ, दुख विनाश गर्ने बाटो छ ! त्यही दुख विनाश गर्ने बाटो खोज्दै हाम्रो परिवार आफ्नो थातथलो छोडेर हिंडेको थियो | दुइटी श्रीमतीको रातदिनको रडाकोले बा हुनसम्म हैरान भइसक्नुभएको थियो ! हामी कान्छीपट्टिका थियौं | हाम्री आमै गाउँघरका अरु अबला स्वास्नीमान्छेहरुको दाँजोमा निक्कै टाँठी थिइन् | फुर्तिली, तेजिली अनि जाँगरिली थिइन् | अक्षर नचिने पनि हिसाबकिताब मिलाउनमा उनलाई अक्षर चिनेकै लोग्नेमान्छेले पनि भेट्टाउन सक्दैनथ्यो | उता जेठीआमै चाँहि त्यति ढंगकी थिइनन् | त्यैभएर होला, गाउँमा रहेको हाम्रो त्यत्रो इन्धन-मिलको सप्पै जिम्मेवारी बाले हाम्री आमैको काँधमा छाडेर जानुहुन्थ्यो ! तोरी पेल्न र धान कुट्न आउने मान्छेहरु धानिसाध्य हुन्थेनन् | तर पनि आमै भयङ्कर डटेर खट्थिन् र त त्यत्रो ठूलो मिल, त्यत्राविधि मिस्त्रीहरु अनि त्यतिका धेरै ग्राहकहरुलाई पनि त्यति कुशलतापूर्वक सम्हाल्न सकेकी थिइन् | हुनपनि त्यो मिलबाट अचम्मै राम्रो आम्दानी हुन्थ्यो | पश्चिम दाङका नामी व्यापारीहरुमा बाको नाउँ अग्रपंक्तिमा आउँथ्यो | एकदमै रफ्तारसित बाले व्यापार फैल्याइसक्नुभएको थियो- घोराही, तुलसीपुरका बजारहरूसम्म | एकएक सिंढी र खुड्किलाहरु चढेर धेरै माथि उक्लिसक्नुभएका बाले बरोबर भन्नुहुन्थ्यो- जेठा, खेतीकिसानी मात्रै गरेर कैल्यै उँभो लागिदैन | तर जेठीआमैले त्यो प्रगति पचाउन सकिरहेकी थिइनन् | सौताको जातै निठुरी- त्यत्रो मिल आमैले एक्लो बलबुतामा धान्न सकेकोमा उनी इर्ष्या गर्थिन्, बाकी प्यारी कान्छी हुँदै गएकामा भित्रभित्रै मुर्मुरिन्थिन् | यसले मिलको सप्पै कमाइ माइतीमा लगेर बुझाउँछे- उनी गाउँभरि आमैका विषयमा यस्तै नचाहिंदा हल्ला फैल्याउँथिन् | कन्नापछाडि हाम्री आमैका बाह्रसत्ताइस कुरा लाउनु र सराप्नु उनको दिनचर्या नै भएको थियो | तर पछिपछि त आमनेसामने नै विश्वयुद्ध पर्न थाल्यो | आमैहरु कपाल लुछालुछ र घाँटी च्यापाच्याप गरेको देख्दा हामी भुराहरु नजिकैको झाडीमा लुक्न जान्थ्यौं | एक रात त मेरी आम्मै, तिनले ठूलो षड्यन्त्र बुनिछन् | राति हामी सबै सुतेको मौका पारी बालाई छोडेर आमैसहित हामी पाँचै केटाकेटीलाई एकै चिहान पार्ने तानाबाना पो रचिछन् | तर धन्न हाम्रो बाँच्ने भाग्य रैछ ! खुकुरी बोकेर जसै उनी हाम्रो वध गर्न अघि बढ्दैथिइन्, दैवसंजोगले हजुरआमा झल्याँस्स ब्युँझिइछन् | रिसले आगो बनेकी जेठीआमैले त्यसपछि त्यो खुकुरी त्यतैको घैंटोमा हान्न पुगिन् | यसरी एउटा कोतपर्व टरेको थियो त्यो रात हाम्रो घरमा |
कोतपर्व त टर्यो, तर महाभारत चाँहि झनै चर्किंदै थियो | सौता-सौताबीचको जन्ड अहंको टक्कर दिनप्रतिदिन अरु भीषण हुँदै गएको थियो | रातदिनको घरझगडाले दिक्दार हुनुभएका बा अब दुइटीलाई सँगै राख्न नसकिने निष्कर्षमा पुग्नुभएको थियो | बाको कुरा पनि कान्छीसँगै बढी मिल्थ्यो | जेठीआमैलाई त्यतै छोडेर बा अब हामीसँगै टाढा कतै बसाईं सर्दै हुनुहुन्छ भन्ने सुइँको मैले पाइसकेको थिएँ | तर यत्तिकैमा बाका झन् खराब दिनहरु शुरु भए |  
                                  ******************        

पैसाको अहंकारबाट वशीभूत भएर बा जुवातासतिर लहसिएनु भएको थियो | दाङका गन्यमान्य सनातन सम्भ्रान्तहरुसँग जुवातासका महलमा बाको डेरा जमेको थियो | हरेकदिनजसो जानैपर्थ्यो बालाई त्यहाँ र रम्नुपर्थ्यो जुवाको खालमा | फर्केर घर आउँदा एकदमै कालोनिलो अनुहार पारेर दाह्रा किट्दै अनि आँखा तर्दै आउनुभयो भने बुझे हुन्थ्यो- बाले आज धेरै हार्नुभएछ | त्यसदिन हामी केटाकेटी बाको सामुन्ने नै पर्दैनथ्यौं | देख्यो कि त सातो लिने गरी हप्की लाउने र गाला चड्काउने गर्नुहुन्थ्यो बा | आमैहरुसित पनि उस्तै रुखो व्यवहार हुन्थ्यो | हुनपनि आँखा चिम्लेर सप्पै कुरा दाउमा हाल्नुहुन्थ्यो बा | कति अज्ञानी हुन् हाम्रा बा- सप्पै भाइबैना यस्तै सोच्थ्यौं | तर जितेर आउँदाका दिन चाँहि बाको अर्कै रोब-रवाफ हुन्थ्यो | हाम्रा लागि केही न केही त ल्याएरै आउनुहुन्थ्यो | चिउँडोमा समात्दै एक एक गरी सप्पैका निधारमा म्वाई खानुहुन्थ्यो र दश-बीस रुपियाँ हातहातै बाँड्नुहुन्थ्यो | कति जाती हुन् हाम्रा बा- सप्पै भाइबैना यस्तै सोच्थ्यौं |   
मान्छेमा एकपटक जुवाको नशा चढेपछि त्यो त्यतिबेलासम्म उत्रिन्न जबसम्म ऊ सम्पूर्ण रुपले भुट्टीदैन- पल्लाघरे काका बरोबर भन्नुहुन्थ्यो | आखिर बालाई पनि त्यही हुनु रहेछ | बाको त्यो चमकधमक पूरै धूलिसात् भइसकेको थियो | भएभरको रुपियाँपैसा, सुनचाँदी, गरगहना, मिल, खेतबारी अनि हामी बसिरहेको त्यो घर- सप्पैसप्पै स्वाहा भएको थियो | दशौँ हजारको ऋण पनि लाइसकेको थियो | गाउँका कहलिएका भूपति भएर पनि हाम्रा बाको उठिबास हुने स्थिति आइसकेको थियो | बर्बाद हुनलाई अब त्यहाँ केही बाँकी थिएन | दैव लाग्यो बाबु हो- आमै भन्थिन् | एकसमय प्रधानपञ्चसम्म हुनुभएका बाको यति नाटकीय रुपमा कायाकल्प होला भनेर कसैले सोचेकोसम्म थिएन | बालाई अब कसैले नमस्तेसम्म गर्दैनथे | तन्नम हालत भएपछि अब हापुरे विरानो भएको थियो, त्यसैत्यसै उराठ लाग्न थालेको थियो | बलेको आगो ताप्ने मान्छेहरुको भीडमा छरछिमेकी र इष्टमित्रहरु पनि पराई भएका थिए | कोही थिएनन् सहानुभूति देखाउने, सहयोग त परैको कुरा | मान्छेहरुको धुइरो लाग्ने हाम्रो घर मसानघाटमा परिणत भएको थियो | हाम्रो स्कुल पनि छुटेको थियो | जबकि पहिले घरमै आउँथे मास्टरहरु पढाउन | यिनै आँखाले त्यो वैभव देखेको थिएँ, तर अब हाम्रो अभागी जीवनमा अभाव र उपेक्षा मात्रै बाँकी थिए |
‘हापुरे छोड्ने दिन आयो कान्छी, भोलि बिहान भाले बास्न नपाउँदै तिमीहरु बाटो लाग्नुपर्छ, म दुई-चार दिनपछि आउँछु’- लाचार अनुहार पारेर एकदिन काँपेको आवाजमा बाले भन्नुभयो | यति भन्दै निस्सासिएका बा त्यसपछि शुन्यमा टोलाउनुभयो | असोजको महिनामा पनि बाका चिटचिट पसिना आएका थिए | हे हरि, बा त भित्तातिर अनुहार फर्काएर धुरुधुरु रुन पो थाल्नुभयो | लोग्नेमान्छे रोएको मैले पहिलोचोटि देखें | ढोकाको कापोबाट एकतमासले चिहाइरहेको मैले के पनि देखें भने बा त सुकेर दाउराझैं हुनुभएको रहेछ | खै त्यो गठिलो जीउडाल भएका मेरा बा ? मसँग उत्तर थिएन | आमै चाँहि नुन खाएको कुखुराझैँ निस्तेज देखिन्थिन् | झोक्र्याएर बसेकी थिइन्, बेलाबेला सुँक्सुँक्याउँथिन् पनि | अनुहारमा विषादको कालो बादल थियो | बाको आदेशमा हुन्छ, हुन्न केही पनि भनिनन् | दिदीहरुका आँखामा पनि प्रष्टै सन्त्रास देखिन्थ्यो, त्यही सन्त्रास जुन चितुवाको अगाडि परेको पाठाका आँखामा हुन्छ |

त्यसको भोलिपल्ट बिहानै हामीले गाउँ छाड्यौँ | तर दुखिया बा हुनुहुन्नथ्यो हाम्रो साथ | र त्यति टाँठी आमैसँग पनि थिएन नक्सा र गन्तव्य |   
Read More

Oct 5, 2014

जातभात छुट्याउनेलाई हो यो प्रश्न- तिमी को हो, म चाँहि नेपाली !


पहिलेपहिले मिडियाका विचार-पृष्ठमा एकथरि समुदायको मात्र वर्चश्व रहन्थ्यो | र स्वाभाविक थियो- पहाडी समुदायका लेखक-विचारकहरुबाट पहाडकै कुराहरु बढी आउँथे | यसप्रकार तराई-मधेशका बारे हामी झन्डैझन्डै बेखबर रहन्थ्यौं | यो पृष्ठभूमिमा दीपक रौनियारजीले सेतोपाटीमा मधेशका कुराहरु निरन्तर लेखिरहेर पाठकहरुका निम्ति मधेशका जनताको हृदयसम्म पुग्ने बाटो कोरिदिनुभएको छ | उसो त मधेशका प्रवृति र विम्बहरुको छाप हाम्रो साहित्यमा पनि उतिसारो परेको छैन | स्थापित साहित्यकारहरुमध्ये नयनराज पाण्डे र धच गोतामेबाहेक सबैजनाले आफ्ना कथा-उपन्यासहरुमा पहाडकै ‘प्लट’ बुनेको मैले पाएको छु | तर दीपकजी आफैं पनि मधेशी समुदायबाट आउनुभएकाले गैरमधेशीले लेखेको भन्दा उहाँले लेख्ने मधेशका कुराहरुलाई बढी ‘अथेन्टिक’ मान्न सकिन्छ | हुनपनि एउटा खास विषयमा दृष्टिकोण निर्माण गर्न पाठकले एक पक्षको मात्र कुरा सुनेर पुग्दैन | भिन्नभिन्न क्षेत्र, समुदाय र धर्मका विचारलाई ठाउँ दिनुपर्छ, तिनलाई सम्मान गर्नुपर्छ र असहमति छ भने फेरि आफ्नो कुरा राख्दै त्यो बहसलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्छ | बहसका दौरान दुवै पक्षले एकअर्कालाई राम्ररी बुझ्न यति नगरी धरै छैन | ‘मैले भनेको मात्रै सही हो’ भन्ने हिसाबले त कहिल्यै पनि गुढ कुरा निस्कन्न | व्यक्तिगत, लैंगिक, जातीयलगायत अनेकखाले पूर्वाग्रह राखेर एउटा विचारले अर्कोलाई निषेध गर्न खोज्ने हाम्रोजस्तो परम्पराले नै त हो हाम्रो बुझाई उन्नत हुन नसकेको | पछिल्लोचोटि  दीपकजीले समृद्धि राईको ‘तिमी को हो थाहा भएन, म चाँहि नेपाली’ गीतका बारे लेख्नुभयो | ‘मेलमिलापका नाममा अर्कालाई अपमानित गर्न खोज्नु राम्रो भएन’ भन्दै ‘तिमी को हो थाहा भएन’ भन्ने प्रश्नप्रति दीपकजीले आक्रोश पोख्नुभयो र थप्नुभयो- यो सस्तो भावना भड्काएर लोकप्रिय हुन खोज्ने काम हो | जबकि गीतमै प्रष्ट भनिएको छ- जातभात छुट्टयाउनेलाई हो यो प्रश्न भनेर | कतिपयले आरोप लगाएजस्तो संकीर्ण राष्ट्रवादको गन्ध त्यहाँ मैले कतै भेटिन |

गायिका समृद्धिजी आफैं जनजाति हुनुहुन्छ | जनजातिहरुले भोग्नुपरेको उत्पीडनको उहाँ आफैं पनि भुक्तभोगी हुनुहोला, नभए पनि जानकार चाँहि पक्कै हुनुहुन्छ | तर पनि ‘म आदिवासी, म जनजाति, म महिला, म पुरुष भनेर मात्रै नबसौं, के मधेशी, के पहाडी, के दलित, के आर्य, के मंगोल हामी सबै नेपाली हौँ ‘ भन्ने भावमा गीत ल्याउनुभयो, राजेश हमाल, लेक्स लिम्बु, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अब्दुस मियाँजस्ता चारैतिरका हस्तीलाई म्युजिक भिडियोमा खेलाएर | पुरानो कुरा अब धेरै कोट्याइरहेर कसैलाई फाइदा छैन, संसारै एउटा साझा घर बनेको बेला मेलमिलापका साथ अघि बढ्नुपर्छ भन्ने गीतको सारमा कसैको कुनै विमति नहुनुपर्ने हो | दीपकजी र अरु कैयनको रहेछ, विमति राख्नुभयो | जेहोस् बहस अघि बढाउन सजिलो भयो |

मधेशीको राष्ट्रियतामाथि पहाडका सहरबजारमा बारबार प्रश्न उठाइने गरेको मैले पनि थाहा पाएको छु | जतासुकै आफ्नो नेपालीपनको प्रमाण पेस गरिरहनुपर्दाको त्यो पीडालाई म अनुभूत त गर्न सक्दिनँ, तर अलिकति बुझ्न चाँहि सक्छु | मधेशीहरु पनि तपाईं-हामीजस्तै नेपाली नै हुन् भन्दा धेरै पहाडेले जिब्रो टोकेको मैले देखेको छु | कतिपय चाँहि ‘यी भारतीय होइनन्, नेपाली नै हुन्’ भन्ने थाहा पाउँदापाउँदै पनि अनेक नाम काढेर हेपिरहन्छन् | यो विभेद हटाउने काम मूलतः पहाडी समुदायका मान्छेकै हो | कुनै मधेशीलाई ‘भैया’ र ‘मर्स्या’ का नाममा एउटा पहाडेले हेप्दा अर्को पहाडे उसको बचाउमा अघि सर्नुपर्छ, सम्झाइबुझाइ गरिकन उसको दृष्टिकोण परिवर्तन गराउन सक्नुपर्छ | सीके राउतहरु त्यसै आकाशबाट फुत्त झरेका त होइनन् | यस्तै अन्यायपूर्ण व्यवस्थाले नै जन्माएको हो | तर यसमा मधेशीहरुको पनि त जिम्मेवारी छ | दीपकजीजस्ता जनमत निर्माण गर्नसक्ने अगुवाहरुको त झनै छ | एउटा जनजाति गायिकाले नै जातजातिका साँघुरा कुरामा नअल्झिउँ, व्यापक क्षितिजतर्फ ध्यान लगाऔं भन्दा त उहाँले थपडी बजाएर स्वागत गर्नुपर्थ्यो | हो, हामी सबै नेपाली हौँ, सामाजिक र जातीय सद्भाव कायम राख्दै सबैले एकआपसमा मेलमिलापका हात बढाउनुपर्छ भनेर पो भन्नुपर्थ्यो | जातव्यवस्थालाई निमिट्यान्न पार्ने गीतको सारतत्वलाई ग्रहण गर्नुको साटो किन उहाँ जानाजान प्रकारान्तरले जातव्यवस्थालाई नै प्रश्रय दिऔं भन्दै हुनुहुन्छ ?

मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन- देवकोटाको यो कालजयी पंक्ति सबभन्दा बढी धर्म, जात र समुदायका नाममा भेदभाव गर्ने पुरातनपन्थी पुरेतहरुले बुझ्ने र मनन गर्नुपर्ने हो | जसले बुझ्नुपर्ने हो, उनीहरुले त बुझेका छैनन् नै, तर विडम्बना के भइदियो भने यो पंक्तिको मर्म स्वयम् दीपकजीजस्ता मधेशी समुदायबाट आएका व्यक्तिहरुले पनि बुझ्ने चेष्टा गर्नुभएको छैन | जातियताको आगोले मुलुकमा डढेलो लाग्न बेर लाग्दैन | यसलाई उच्च भनिएका जात र ठाउँबाट आएकाहरुले त बुझ्नुपर्छ नै, उदार हुनुपर्छ नै, बाँकी पनि पन्छिन मिल्दैन | सबैले फराकिलो दृष्टिकोण राख्न सक्नुपर्छ |

अर्को कुरा, दीपकजीजस्ता लेखकहरुले शोषक-शाषक वर्ग भनेर आरोपित गर्दै जम्मै बाहुन-क्षेत्रीहरुलाई एउटै डालोमा हाल्ने गरेको कुरा पनि धेरैलाई नपच्ने विषय भएको छ | आखिर भोकानांगाहरु त बाहुन-क्षेत्रीमै पनि बग्रेल्ती छन् भन्ने कुरा त तथ्यहरुबाटै सिद्ध हुन्छ | दलितभित्रै उँचनिचको अर्को वर्णव्यवस्था छ, मधेशीभित्रै तल्लो र माथिल्लो जातहरु छन् | त्यसैले यसको अन्त्य गर्नपट्टि लाग्ने कि सधैं बाहुन क्षेत्रीको मात्रै खेदो खनिरहने ? ‘को मतवाली को बाहुन क्षेत्री’ भन्दै जनजातिभित्रैबाट गीत गुन्जंदा एकथरीलाई आपत्तिजनक लाग्नुको निहितार्थ मैले अझै बुझ्नसकेको छैन | दोश्रो जनआन्दोलनपछि जुर्मुराएर ब्युँझिएका सीमान्तकृतहरुलाई भड्काउने होइन, इमान्दारिताका साथ मूलधारमा समाहित गराउन समृद्धिजी र दीपकजीजस्ता सबै अगुवाहरु एकजुट हुनैपर्छ | 
Read More

Sep 19, 2014

‘प्रि-फेसबुक एरा’ लाई मिस गर्नुपर्ने टप टेन कारणहरु


[First published in Mysansar ]

कति वर्ष वा दशक मिलेर ‘एरा’ बन्छ, म जान्दिन, तर हामी बाँचिरहेको अहिलेको समयलाई सूचना-प्रविधिका मर्मज्ञहरु ‘फेसबुक एरा’ भन्छन् | ठ्याक्कै कुन साललाई ‘डिमार्केसन लाइन’ मान्ने भन्नेमा मतैक्य नभएपनि सोसल मिडियाका अधिकांश चल्तापुर्जा इतिहासविद्हरु सन् २००८ पूर्वको समयलाई ‘प्रि-फेसबुक एरा’ एवं रीतले २००८ पछिको समयलाई ‘फेसबुक एरा’ का रुपमा वर्गीकरण गर्नुपर्ने बताउँछन् | हाल चालू ‘जुकर्बर्गीयन फेसबुक एरा’ को विषय त सबैजनामा सर्वविदितै छ, जसले हामीलाई एकआपसमा जोड्ने र अन्तर्क्रिया गर्ने तरिकामै सधैंका निम्ति कसैले नसोचेको बदलाव ल्याइदियो ! तर फिल्मी हिरोइनहरुको फिल्मी-करिअरभन्दा पनि छोटो ‘अटेन्सन स्प्यान’ भएका हामीहरुको मानसपटलबाट ‘प्रि-फेसबुक एरा’ का धेरैजसो फोल्डरहरु चाँहि डिलिट भइसकेका छन् | यस हिसाबले त्यो स्वर्णिम एरालाई अर्काइभबाट उत्खनन गरेर भएपनि दुई मिनेटका लागि स्मरण गर्नु हाम्रो जिम्मेवारी हुन आउँछ |  

त्यो स्वर्णिम प्रि-फेसबुक एरा

१.       छुट्टी मनाउन कतै घुम्न गइन्थ्यो त आनन्दीमनले बिनाफिक्री घुमघाम गर्न पाइन्थ्यो ! कस्तो पोजमा फोटो खिच्दा बढी कमेन्ट आर्जन होला, कुन एंगलमा खिच्दा बढी लाइक आउला, कस्तो ब्याकग्राउण्ड राख्यो भने बढ्ता शेयर होला, कुनै टन्टा हुन्थेन | बस्, आत्मसन्तुष्टि नाउँको चीज थियो, त्यसैका लागि साथीभाइसँग दुई-चार राउण्ड क्यामेरा हल्लाइन्थ्यो, परिवारसँग तस्वीरहरु क्लिक-क्लिक पारिन्थ्यो ! पछि नोस्टाल्जिक हुन पाइने लोभले रङ्गीविरंगी एल्बम सजाइन्थ्यो तर दुनियाँका सामू आत्मप्रदर्शनका लागि फोटोसपका दोकान चाहरिरहनुपर्ने कुनै झन्झट थिएन |

२.       ‘विद्युतीय कारोबार ऐन’अन्तर्गत जेल परिने एकरत्ति त्रासबिना कुनै पनि गृहमन्त्री वा त्यस्तै उच्च ओहोदाधारीका आचरणमा निस्फिक्री गफिन र ‘कमेन्ट’ मार्न सकिन्थ्यो, घन्टौं ! कुनै व्यक्ति-विशेषका बचाउ/विरोधमा वर्ल्डवार त लडिन्थ्यो, तर ल्यापटप र स्मार्ट फोनका स्क्रीनहरुमा होइन, चियापसल र पत्रिकापसलअगाडि तेर्सिएका बेन्चीमा ! त्यहाँ सबका सब सर्वज्ञाता हुन्थे- पृथ्वीलोकदेखि अन्तरीक्षसम्मका हरेक घटना-परिघटनाहरुमाथि घन्टौं भाषण छाँट्न सक्थे ! तर सबै गफाडीका स्पष्ट अनुहार हुन्थे, कुनै हुन्थेनन् नकाबपोस हुँडारहरु, ‘एनोनिमस युजर’ हरु !
 
३.       दिमाग अलिकति उर्वर भयो र केही फुर्यो भने आइफोन होइन, सुटुक्क डायरी खोलिन्थ्यो, पहेंलपूर भइसकेका पाना पल्टाइन्थ्यो, अलिकति केही कोरिन्थ्यो अनि ‘स्वान्त: सुखाय’ को अनुभूति लिँदै डायरी थन्काइन्थ्यो, बस् ! प्रत्येक मिनेटजसो कुन केटीले त्यो कोरेको कुरामा ‘लाइक’ हानी र कुन महाशयले ‘कमेन्ट’ मार्यो भनेर कुनै छटपटी र हुटहुटी हुन्थेन ! यहाँसम्म कि कागजमा कोरिएका ती शब्दहरु अरुलाई देखाउनसम्म भयङ्कर लाज लागेर आउँथ्यो !

४.       डायरीका पहेंलपूर पानाहरु सोध्दैनथे- ‘व्हाट्स इन योर माइन्ड ?’ भनेर ! त्यसैले दिमाग बाँझोको बाँझै रहेको खण्डमा जबर्जस्ती कतैबाट चोरी-चकारी गरिकन भएपनि डायरीको ‘स्टाटस अपडेट’ गर्नैपर्ने बाध्यताबाट पूर्ण मुक्त थियो- ‘प्रि-फेसबुक एरा’ | गान्धी र अर्वेलका ‘कोट’ हरुलाई ‘अनकोट’ गरेर आफ्नै भनाइजस्तो भान पार्दै स्टाटस हालिरहनुपर्ने मजबुरी थिएन | प्लेगियारिजमले यति भुइँतहसम्म यति दह्रो गरी जरो गाडिसकेको थिएन | 

५.       निसन्देह, ‘प्रि-फेसबुक एरा’ मा फेसबुक थिएन, पेपरबुक मात्रै थियो | परिणाम- अहिलेका खुंखार फेसबुकरहरु पनि उबेला भयङ्कर पढन्ते थिए, पेपरबुकका ! र उनीहरुको पढ्नुको उद्देश्य एउटै हुन्थ्यो- पढ्नुको मजा लुट्ने र सकिन्छ भने केही ज्ञान पनि बटुलीहाल्ने ! ‘फलानो महान लेखकको चिलानो महान किताब पढ्दैछु म विद्वानले, तैले अहिलेसम्म के लछारिस्’ भन्दै संसारका सामू आफ्नो फेसबुके भित्ताबाट फलाक्दै हिंड्ने र बोक्रे ‘रिभ्यु’ पोस्ट गरेर महान समीक्षक बनिटोपल्ने स्थिति थिएन ! 

६.       ‘मुभी’ हेर्न हल छिर्दा ‘म यो नाउँको हलभित्र छिर्दै..अब फिल्म शुरु हुन यति सेकेन्ड बाँकी...उत्साहित!’ भन्दै सार्वजनिक घोषणा गरिरहनुपर्ने कुनै जरुरत थिएन | न त ‘प्लट’ अपडेट गर्दै ‘बबाल’ वा ‘झुर’ को ट्याग झुन्डाउनु नै आवश्यक थियो | बिन्दास तालले एकचित्त भएर फिल्ममा एकोहोरिंदै हृदयानुभूति गर्ने अपूर्व सुविधा दिएको थियो- त्यो ‘एरा’ ले ! 

७.       सयौंको संख्यामा ओइरिने ‘ह्याप्पी बर्थडे टू यु’ रुपी ‘बर्थडे विस’ हरु ‘प्रि-फेसबुक एरा’ मा सपनाको सपनामा पनि चिताउन नसकिने कुरा थिए | कसको ‘बर्थडे’ कुन दिन भनेर जोकोहीले डायरीमा लेखिरहने र ठ्याक्कै त्यही दिन त्यो डायरीले सम्झाइदिने अनि ‘ट्रीट’ माग्दै ‘विस’ गर्दिहाल्ने- उबेला यो सोच्न सकिने कुरा थिएन | आफ्ना सीमित ‘बेस्ट फ्रेन्ड’ हरुको बर्थडे मात्रै दिमागको मेमोरी कार्डमा सेभ रहन्थे | क्लासको पहिलो घन्टीमा सबै साथीहरुलाई एक रुपियाँ पर्ने चकलेट बाँडेर टर्ने उबेलाको ‘बर्थडे सेलिब्रेसन’ ले ‘फेसबुक एरा’ मा आइपुग्दा ‘महान अग्रगामी छलाङ’ हानिसकेको छ | गुरु दिवस, बुवा दिवस र मुवा दिवसका पार्टीहरु पनि त्यो बेला यति ग्ल्यामरस कहाँ थिए र ? 

८.       ‘गोपनियताको हक’ मौलिक हकका रुपमा स्थापित थियो | मामा-काका, आमा-बाबा सबैका सामू आफ्ना सबै गतिविधिहरु यति पारदर्शी रुपमा छरपष्ट हुन्थेनन् | हाम्रो आफ्नै निजी अफलाइन जिन्दगी थियो |

९.       क्रिकेट वा फुटबललाई टीभीमा ‘लाइभ’ हेर्दा पूरै मजा लिएर हेरिन्थ्यो | ‘यो हेर्ने मै मात्र एक्लो माइकालाल हुँ, त्यैभएर मिनेटमिनेटको स्कोर बाँकी बिचराहरुलाई कृपा गरी बताइदिने गुरुत्तर दायित्व पनि मेरो र मेरोमात्रै हो’ भन्दै छिनछिनमा मोबाइलका किप्याड थिचिरहनुपर्ने विवशता थिएन |

१०.   केटाहरु ग्राउण्डमा फुटबल खेल्न बोलाउँथे, क्रिकेट खेल्न निम्त्याउँथे तर ताईं न तुईंको क्यान्डीक्रसको इन्भिटेसन पठाएर कसैलाई सताउँदैनथे !




  
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong