........................................................................with words, with issues!!!

Dec 30, 2015

डेटलाइन अछाम

(First published in सेतोपाटी )

जब म घुम्दै गाउँको पाठशालामा पुगें
त्यहाँ देखें घामले पोलेर
छहारी खोज्दै
पाठशालाभित्र पसेर
मौनवाचन गरिरहेका गाई-बाख्रा र गोठालाहरु
र पाठशालाका कोठाभित्र बस्न नसकेर
बाहिर रुखको सियालमुनि
चर्न लागेका मास्टर र विद्यार्थीहरु

‘साला पहाडमे क्या है’ जस्तो चर्चित कविता लेखेका शिक्षाविद् मीनबहादुर विष्टको उस्तै दमदार कविता ‘गाउँको स्कुल’ का हरफहरु हुन् यी तर वर्षौंअघि लेखिएका यी हरफहरुबाट पाठशालालाई हटाएर स्वास्थ्यकेन्द्र अनि मास्टर र विद्यार्थीलाई हटाएर स्वास्थ्यकर्मी र बिरामी बनाउँदा पनि कविताको भावमा भने कुनै तात्विक फरक पर्ने रहेनछ बरु गाउँको अर्को दुर्दान्त पाटो पनि उस्तै शक्तिशाली ढंगले उजागर हुने रहेछ बिरामीको उपचार गर्ने ठाउँहरु कसरी आफैं बिरामी परेर थला परेका छन् र उपचारको पर्खाइमा छन् भन्ने देखाउँदो रहेछ  

गाउँको अस्पताल

हेल्थपोस्ट भन्नुस् वा प्राथमिक स्वास्थ्य केन्द्र, उही वर्षौं पुराना र जीर्ण संरचना छन् जनसंख्या छरिएर रहेको छ एक ठाउँबाट अर्को ठाउँ पुग्नै घन्टौं लाग्छ त्यहीमाथि मोटरबाटो छैन हड्डी अलिकति भाँचिएको तर भाँचिएको टुक्रा यथास्थानमै रहेको बिरामी छ भने पनि ल्याउँदाल्याउँदै त्यो ‘डिस्प्लेस्ड फ्र्याक्चर’ भइसकेको हुन्छ। पूरै एक दिनको बाटो हिंडेर स्वास्थ्यसंस्था ल्याउनुपर्ने बाध्यताका माझ थाहा छैन, कति ‘इमर्जेन्सी केस’ हरुको बाटामै प्राणहरण हुन्छ अनि कतिलाई गम्भीर ‘कम्प्लिकेसन’ हरुले छोपेर जीवनभर अपाङ्गताको पीडा सहनुपर्छ।

जसोतसो गरेर बिरामीलाई बल्लतल्ल स्वास्थ्यसंस्था त पुर्यायो, स्वास्थ्यसंस्थामा भने डाक्टर नै हुँदैनन्। यो सधैंको अर्को जनगुनासो हो। तर सौभाग्यवस्, सरकारी छात्रवृत्ति पाएर डाक्टरी पढेकाहरुले दुई वर्षको निम्ति खटाएको ठाउँमा अनिवार्य काम गर्नुपर्ने प्रावधानले आजभोलि कतिपय अति दुर्गम ठाउँहरुमा पनि डाक्टरहरु देख्न पाइन्छ ‘फलानो स्वास्थ्य केन्द्रमा पहिलोपटक डाक्टर’ खाले जतिपनि समाचारहरु आएका छन्, तीमध्ये धेरैजसो यही प्रावधानअनुसार खटिएका छात्रवृत्ति डाक्टरहरु हुन् तर पनि, गाउँमा डाक्टर पुग्नेबित्तिकै सबैथोक आफसेआफ छुमन्तर गरेजसरी ठीक हुने त अवश्यै होइन काँधमा एउटा झोला बोकेर जोकोहीको घरमा छिर्नासाथै उसले सबै रोगहरु ठीक पार्दिहाल्ने वा मर्नैलागेको बिरामीलाई जीवनदान दिइहाल्ने पनि होइन एउटा डाक्टरलाई पनि काम गर्न उपकरण र औजारहरु चाहिन्छ, सहयोगी अरु स्टाफहरु चाहिन्छ, यथेष्ट औषधिहरु चाहिन्छ। उसलाई पनि आफ्नो काममा निक्खारता ल्याउन पर्याप्त सुविधा अनि अवसरहरु चाहिन्छ। गाउँले त ढिलोचाँडो यो कुरा बुझ्ला पनि, तर सहरको मन्त्रालयले चाँहि खोइ कहिले बुझ्ने हो कुन्नि ?

यही अछाममा ‘न्याय हेल्थ’ नाम गरेको आइएनजीओले चलाएको बयलपाटा अस्पताल छ अछाम र आसपासका जिल्लावासीको लागि साँच्चै नै ‘न्याय’ गरेको छ यो अस्पतालले। सबै प्रकारका औषधि अनि सेवासुविधाहरु निशुल्क छन्। यहाँसम्म कि विशेषज्ञ सेवा समेत निशुल्कै उपलब्ध छ। अनि बिरामीहरु नओइरियुन् पनि किन? तर मिलियन डलरको प्रश्न के भने त्यो अस्पतालको बराबरीमा हाम्रो सरकारी जिल्ला अस्पताल चाँहि उभिन किन सक्दैन ? एउटा अर्कै आइएनजीओका प्रतिनिधिले भन्थे- ‘उनीहरुसँग जति पनि बजेट छ तपाईंहरुसँग छैन फरक त्यसले पार्छ सेवासुविधाहरु प्रशस्त दिएर राखेको छ, त्यसैले बसेका छन्, टिकेका छन् डाक्टर र विशेषज्ञ डाक्टरहरु तर यता त्यस्तो छैन, अनि कोही किन मन गरोस् ?’

होला, थोरबहुत फरक पैसाले अवश्य पार्ला तर सबै फरक पैसाले मात्र पार्ने होइन रहेछ हो, जिल्ला अस्पतालमा हाम्रो राष्ट्रिय रोग ‘ग्यास्ट्राइटिस’ का लागि हामी अलिक पुरानो औषधि ‘एसिलक’ दिन्छौं, उता बयलपाटाले नयाँ र बढी प्रभावकारी ‘ओमेप्राजोल’ दिन्छ तर सरकारी अस्पतालमा औषधि नै नहुने वा सुको बजेट नआउने भन्ने त होइन पैसा त यहाँ पनि आउँछ तर मिलियन डलरको कुरा के भने, त्यो पैसाको, अन्य साधनस्रोतको र मानव जनशक्तिको कति समुचित प्रयोग/दुरुपयोग हुँदैछ, खास फरक त्यसले पार्दोरहेछ अछाम जिल्ला अस्पतालमा डा. शरदचन्द्र बरालको टिमले कमाण्ड सम्हालेयता यो जिल्लाको समग्र स्वास्थ्यमा के कति सुधार हुन सक्यो, यहींका स्थानीय वासिन्दाहरुको मुखबाट त्यो सुधारकथा सुनिसक्दा प्रष्ट हुन्छ- गर्न चाहने हुटहुटी हुने हो र त्यहीअनुसारको नेतृत्वक्षमता र इमान्दारिता हुने हो भने सरकारी स्वास्थ्य सेवामा पनि कायापलट ल्याउन सकिन्छ र बयलपाटाको दाँजोमा जरुर पुग्न सकिन्छ

गाउँका बिरामी

पुषको कठ्याङ्ग्रिने जाडोमा पनि दैनिक ७०-८० जना बिरामीहरु आफ्ना समस्या लिएर ओपिडीमा आइरहेकै छन् मेरो एक्सरा गराइदिनुस् हजुर, लादो (पेटलाई यताको स्थानीय भाषामा लादो भनिन्छ) मस्तै दुख्दछ, मेरो भिडियो गराइदिनुस् हजुर भन्दै टाढाटाढाबाट एक्लै आउँछन् बूढीआमाहरु कुक्रुक्किएर एउटै डल्लो परेका यी बूढीआमाहरुलाई दिनका लागि हामीसँग सबै औषधि छैनन् सरकारले उपलब्ध गराउने सीमित औषधिहरु हुन्छन्, जो हामी यी बूढीआमाहरुलाई निशुल्क दिन सक्छौं सीमित जाँचहरु हुन्छन्, ‘सिजारियन’लगायतका केही सीमित अपरेशनहरु पनि हुन्छन् अस्पतालमै आएर सुत्केरी गराए प्रोत्साहनस्वरूप पैसा पनि दिइन्छ गर्भवतीको अल्ट्रासाउण्ड पनि निशुल्कै हुन्छ गाउँगाउँमा क्याम्पहरु पनि भइ नै रहेको हुन्छ, कहिले भ्यासेक्टोमी क्याम्प त कहिले ‘पेल्भिक अर्गन प्रोल्याप्स’ क्याम्प। दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने सेवा मात्रै होइन, सुरक्षित गर्भपतनको सुविधा पनि अब त गाउँगाउँमै पुगिसकेको छ। तर दुखको कुरा, यिनै सीमित सुविधाहरुमा पनि मान्छेहरुको पहुँच छैन न त मान्छेहरुमा चेतना नै छ। रुखबाट लडेर खुट्टा भाँचियोस् वा भीरबाट खसेर करङ भाँचियोस्, उनीहरु लापरबाही गर्न रुचाउँछन् र तत्काल अस्पताल जाँदैनन्। जब व्यथाले बेस्सरी च्याप्छ र सहनै नसक्ने पीडा हुन थाल्छ, अनिमात्र अस्पतालको याद आउँछ। सरसफाईमा उस्तै बेपर्वाह छन् मान्छेहरु। छालाका अनेकथरि रोगहरु पालेर बस्नु यिनको नियति बनेको छ। दर्जनौं गैरसरकारी संस्थाले चलाएका चेतनामूलक कार्यक्रमहरु बालुवामा पानी खन्याएजस्तो मात्र किन भएका हुन्, प्रश्न गम्भीर छ। 
    
महिलाहरु त झन् फगत बच्चा जन्माउने मेसिनजस्ता मात्र प्रतीत हुन्छन् ७ महिने बच्चा काखमा खेलाउँदै गर्दा अर्को गर्भ बसिसकेको हुन्छ अनि ‘बच्चा फाल्नुपड्यो सर, औषधि लेख्द्यौ’ भन्दै आइपुग्छन् परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ भनेर सम्झाउँदा ‘बूढा अब इन्डिया गइहाल्ने हुन् हजुर’ भन्दै हिच्किचाउँछन्। खोइ, कुन अजासुले भरिदिएको छ यिनका दिमागमा, कपरटी जस्ता साधन राख्यो भने पाठेघर फुटीजान्छ भनेर ! अनि, इन्डियालाई पानीपँधेरो बनाएका तिनै बूढाहरु हुन् जो फर्किंदा एचआईभीको कोसेली लिएर आउँछन् र जाँदाजाँदै आफ्ना श्रीमतीलाई मात्र होइन, नजन्मिएका सन्तानलाई पनि सारेर जान्छन्।

तर पनि सबैथोक ‘डिप्रेसिङ’ मात्रै छैनन् गाउँगाउँका महिला स्वास्थ्य कार्यकर्ता र अन्य स्वास्थ्यकर्मीहरुले जसरी ‘फिल्ड’ मै खटेर काम गरेका छन्, त्यसका देखिने परिणामहरु पनि आएका छन्। मातृ मृत्युदर र बाल मृत्युदरमा आएको द्रुत गतिको सुधार अन्तराष्ट्रिय रुपमै उदाहरणीय रहेको छ। कम्तीमा बच्चा पाउन नसकेर अबदेखि आमाले ज्यान गुमाउनुपर्ने छैन भन्ने एककिसिमको आत्मविश्वास छ जिल्लामा। 
 
यति हुँदाहुँदै पनि प्रश्न त उठी नै हाल्छ- स्वास्थ्य, शिक्षा र यातायात तीनवटै कुरामा अपेक्षित गतिले अघि बढ्न नसकिरहँदा कसरी चलेका छन् त गाउँहरु र यहाँका गाउँलेहरु? सायद मीनबहादुर विष्टले त्यही कवितामा लेखेझैं-
जब म फर्किरहेको थिएँ
कसैले सोध्यो:
‘कसरी चलिरहेछ गाउँको पाठशाला?’
मैले भनें:
‘जसरी चलिरहेछ यो देश!’ 
Read More

Sep 19, 2015

माथेमा प्रतिवेदन कार्यान्वयन गर !

First published in Nagarik 

करिब एक महिनाअघि उपत्यकाबाहिरको एउटा निजी मेडिकल कलेजमा मेडिकल काउन्सिलको अनुगमन टोली आउन लागेको हल्ला चल्यो | हल्लाको स्रोत के थियो, कहाँ थियो, कलेज व्यवस्थापनलाई बाहेक कसैलाई पनि थाहा थिएन | तर त्यहाँका डाक्टर, नर्सलगायत सबैजसो स्टाफहरुलाई ‘स्ट्याण्ड बाइ’ बस्न निर्देशन आइसकेको थियो | रातारात सीमापारिबाट ‘खडेबाबा’ भनिने डाक्टरहरु झिकाइसकिएका थिए | सुन्दा अतिरन्जित सुनिएला, तर ठीक त्यहीबेला मेरो दिमागमा चाँहि बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ को एउटा कमेडी दृश्य फनफनी घुमिरहेको थियो जहाँ मुन्नाभाइको चरित्र निभाएका संजय दत्तले गाउँबाट आफ्ना बाआमा आउँदा उनीहरुलाई झुक्याउन केहीबेरमै एउटा बडेमाको हस्पिटल ठड्याइदिन्छन् |

हेर्दा रमाइलो देखिने पर्दाको त्यो दृश्यले ‘क्लिक’ गर्नुका खास कारणहरु थिए | उताको रमाइलो दृश्यमा छोराको अनुगमन गर्न बाआमा आउँदा सहरको कहलिएको डन छोराले नक्कली डाक्टर बनेर आफ्नै बाआमालाई ठगिरहेको हुन्छ | यता मेडिकल कलेजको ‘ट्रयाजिक’ दृश्यमा भने देशकै कहलिएका साहुजीहरु मेडिकल काउन्सिललाई ठगिरहेका छन् | फरक यत्ति कि उता ठगिनेहरुलाई ठगिएको पत्तै छैन, यता ठगिनेहरु ठगिएको चाल पाउँदापाउँदै पनि ठगिनुमै आनन्द मानेर बसिरहेका छन् |

त्यसको भोलिपल्ट सम्भावित अनुगमनको दिन थियो | सबै ‘खडेबाबा’ हरु सेतो कोट भिरेर अनुगमन नामको त्यो नाटकमा आ-आफ्नो भूमिका कुशलतापूर्वक निभाउन तयारी हालतमा थिए | एकाधजना बिहानको वार्ड-राउण्डमा सहभागी भए | केहीले विद्यार्थीलाई पढाए, तिनै विद्यार्थीलाई जसले ती खडेबाबाको नाम त सधैंभरि ओपिडी छेउको नेमप्लेटमा देख्दथे, तर ‘दर्शन’ भने कहिल्यै पाउँदैनथे | अनि बाँकी एकाधजना ओपिडीमा बसे | बस्नु के थियो, कतिबेला त्यो अनुगमन आउला र आफ्नो अभिनय प्रस्तुत गरौंला भनेर प्रतिक्षामा थिए | तर अहँ, उनीहरु कुरिरहे मात्रै, अनुगमन आएन | पर्सिपल्ट पनि आज चाँहि पक्कै आउला भनी दिनभरि प्रतिक्षामै दिन गुजारे | तर अहँ, त्यसदिन पनि ‘धोकेबाज’ अनुगमन आएन | व्यवस्थापनलाई लाग्यो- हाम्रो स्रोतले झुक्याएछ क्यार ! झुक्याउनका लागि ल्याइएका ‘खडेबाबा’ हरु अर्काको झुक्याइमा परेर चौथो दिनमा अन्ततः घर फर्के |

ढाँटछलको यो खेलमा सबैभन्दा पीडित कोही थिए भने ती सोझासाझा बिरामीहरु थिए | ‘खडेबाबा’ का लागि त के थियो र, दुई दिनका लागि आए, गए | सीमापारि ‘रिटायर्ड लाइफ’ बाँचिरहेका थिए | यता आए, घुमे, ‘इन्जोय’ गरे, फ्रेस भए अनि खर्चपानी उठाएर फर्के | तर दुख पाए ती बिरामीहरुले जो त्यसदिन डिस्चार्ज हुने तय भइसकेर पनि अनुगमनको यही चक्करमा व्यवस्थापनले थप तीनतीन दिनसम्म अस्पतालमै रहन बाध्य पार्यो | अर्को शब्दमा भन्दा अनुगमनमा बढी बिरामीचाप देखियोस् भनेर अस्पतालमै बन्धक बनायो |

यस्ता अनुगमनका बेला इन्टर्न डाक्टरहरुको पनि आफ्नै दुख छ | डिस्चार्ज हुनलागेका बिरामीहरुको डिस्चार्ज कागज बनाइदिनु यिनको दैनिकको काम हो | तर यो कामको आयातन ह्वात्तै बढ्छ अनुगमनको पूर्वसन्ध्यामा | इन्टर्नहरुलाई एकाएक आदेश आउँछ- दर्जनौंको संख्यामा ‘नक्कली डिस्चार्ज’ का कागज बनाउने, ताकि हाम्रो कलेजमा थेगिनसक्नुको बिरामीचाप छ, सीट बढाइदे भनेर माग गर्न सजिलो होस् | बिरामी नक्कली, रोग नक्कली, उपचार नक्कली अनि कागज नक्कली | हुनत अलिक ध्यान दिएर हेर्यो भने कुन ‘डिस्चार्ज कागज’ नक्कली, कुन सक्कली, छुट्याउन नसकिने कुरै छैन | तर अनुगमनकर्ताहरु नै नक्कली अनुगमन गर्न आएपछि कसको के लाग्छ ?

पूर्वसूचना दिएर आउने अनुगमन सक्कली अनुगमन हुनैसक्दैन | तँसँग यो पूर्वाधार रहेनछ, फ्याकल्टी रहेनछ, यति दिन्छस् कि सीट घटाइदिउँ भनेर बार्गेनिङ गर्ने अनुगमन सक्कली अनुगमन हुनैसक्दैन | यो त उही काले काले मिलेर खाउँ भालेको कुरूप ठगीधन्दा मात्रै हो |

यसरी विधार्थीको पढाइभन्दा अनुगमनको कर्मकाण्डतिर बढी ध्यान गएपछि त्यो कलेजले कसरी राम्रा डाक्टरहरु उत्पादन गर्ला ? सक्कली बिरामीको उपचारभन्दा नक्कली बिरामीको ‘डिस्चार्ज कागज’ बनाउनतिर बढी हतारो भएपछि त्यहाँको सेवाको स्तर कस्तो होला ? नियमन गर्ने जिम्मेवारी बोकेको काउन्सिल नै कसैले पानसुपारी टक्र्याउनेबित्तिकै पथभ्रष्ट भइदिएपछि उसले गर्ने अनुगमन कस्तो होला ? अनि सम्बन्धन दिने विश्वविद्यालय नै नेताजीका प्राइभेट प्राज्ञहरुको भर्तीकेन्द्र बन्न थालेपछि समग्र देशकै चिकित्साशिक्षा र स्वास्थ्यसेवा कहाँ जाला ?

डा. गोविन्द केसीको जीर्ण शरीरले पटकपटक अनसन बस्नुपरिरहेको यस्तै ठगीधन्दाका मालिकहरु र तिनलाई खुल्लमखुल्ला प्रश्रय दिने सरकारले गर्दा हो | विगतमा उहाँकै संघर्षको बलमा माथेमा आयोग बन्यो र गहिरो अध्ययनपछि सरकारलाई आफ्नो प्रतिवेदन बुझायो | जसरी १०० वर्षभन्दा अघि अमेरिकामा बनेको फ्लेक्स्नर आयोगको रिपोर्ट कार्यन्वयनले त्यहाँको चिकित्सा क्षेत्रमा कायापलट भयो, नेपाली फ्लेक्स्नर आयोगको यो रिपोर्ट कार्यान्वयनले पनि त्यस्तै कायापलटको क्षमता राख्दछ | तर यो रिपोर्ट नै तुहाउन भइरहेका जालसाझीहरु सतहमै प्रकट भइरहेका छन् |

निसन्देह यी जालसाझीहरु तिनै ठगीधन्दाका मालिकहरुबाट भइरहेको छ भनेर बुझ्न कुनै अप्ठ्यारो छैन | किनकि यो लागू भयो भने फ्याकल्टीहरु ओपिडीको अगाडि नाम झुन्ड्याउने बोर्डमा मात्रै राखेर पुग्नेछैन | मौसमी अनुगमनका बेला सीमापारिबाट खडेबाबाहरु झिकाएर पार लाग्नेछैन | बरु विद्यार्थीलाई पढाउने र सीप सिकाउने पूर्णकालिन शिक्षकहरु राख्नुपर्नेछ | बस र माइक्रोहरुले जति सकिन्छ, त्यति प्यासेन्जर कोचेर चलाएजस्तो कक्षामा जति सकिन्छ त्यति विद्यार्थी कोचेर मेडिकल कलेज चलाउन पाइनेछैन | वार्षिक रुपमा एमबीबीएस कार्यक्रममा बढीमा १०० जना अनि बिडीएसमा बढीमा ५० जना मात्रै लिन पाइनेछ | अनि बेनीदेखि उपल्लो मुस्ताङसम्मको बाटोमा त्यहाँको संगठित गिरोहले मनलाग्दी पैसा असुलेर यात्रु लुटेजस्तो यी कलेजहरुले मनलाग्दी शुल्क लिएर विद्यार्थी लुट्न पाइनेछैन | एमबीबीएसको अधिकतम शुल्क ३५ लाख र बिडीएसको १८ लाख मात्रै लिन पाइनेछ | लिलाम बढाबढमा जसले धेरै बोल्यो, उसैलाई सीट बेचेर जेहेन्दारलाई पाखा लाउन पाइनेछैन | एकचोटि पैसा तिरेर विद्यार्थी भर्ना भइसकेपछि उसलाई भर्सेला परोस् भन्न पाइनेछैन | सिकाइमैत्री वातावरणको निर्माण गरेर उच्च उत्तीर्ण दर कायम गर्नुपर्नेछ | नगरे विश्वविद्यालयबाट सम्बन्धनको खारेजी हुनेछ |

तर यी सब तब हुनेछन् जब हामी सबैको संगठित प्रयासमा यो ठगीधन्दाका मालिकहरुको जालसाझी असफल हुनेछ र माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन हुनेछ | नत्र भने चिकित्साशिक्षा पढ्न आउने आगामी पुस्ता पनि अरु कैयौं वर्षसम्म यही ठगीधन्दाको सिकार भइरहने छ |

माथि भनिएकै कलेजमा हाल तेस्रो वर्ष एमबीबीएसमा अध्ययनरत एक विद्यार्थीले केहीअघि साथीभाइसँग आफ्नो फ्रस्टेसन पोख्दै थिए | भएछ के भने प्लस टूमा छँदा जुलोजीको ल्याबमा भ्यागुता डाइसेक्सन गरेका उनलाई एमबीबीएस पहिलो वर्षमा मानव लास अर्थात् क्याडाभर डाइसेक्ट गरेर हेर्ने उत्पात रहर थियो | १५० जनाको कक्षालाई १ ग्रुपमा २५ जना पर्नेगरी ६ ग्रुपमा बाँडिएको थियो | पहिलो ग्रुपका विद्यार्थीले त त्यो धेरथोर गर्ने र हेर्ने मौका पाएछन् | अफसोच उनी पाँचौ ग्रुपका थिए | पाँच दिनपछि उनको ग्रुपको पालो आउँदा त पूरै डाइसेक्ट भइसकेको त्यो क्याडाभरको उनीहरुले फगत दर्शन गरेजस्तो मात्र भयो | रहर मारेर बस्नुपर्दा निकै फ्रस्टु भए उनी | तैपनि ठीकै छ नि त, दोश्रो वर्षमा गरौंला भनेर जसोतसो चित्त बुझाउने बाटो पाए | तर दोश्रो वर्षको पहिलो दिन नै तब तीनछक परे जब ठूलो उमंगका साथ एनाटोमी प्राक्टिकल ल्याब छिर्दा उही पुरानै डाइसेक्ट भइसकेको क्याडाभर देखे | अहिले उनी तेस्रो वर्षमा फरेन्सिक साइन्स पढिरहेका छन् | र उनलाई थाहा छ यो पनि किताब मात्रै पढेर पास गर्नुछ | आजसम्म उनका कुनै पनि सिनियर ब्याचहरुलाई पोस्टमार्टम गरेको देखाउन, सिकाउन नजिकैको जिल्ला अस्पताल लागिएको छैन भने उनको ब्याच कुन विशेष ब्याच हो र कलेजले लगोस् ? अब त उनी यस्तै शैक्षिक वातावरणमा अभ्यस्त भइसकेका छन् | यहाँबाट पास भएर निस्केपछि मेडिकल अफिसर भएर जिल्लाहरुमा काम गर्न जाँदा कसरी पोस्टमार्टम गरिने हो, त्यो त्यसैबेला देखाजायगा भनेर ढुक्कसँग बसेका छन् |

आज गोविन्द केसीको नाम मात्रैले पनि मानिसको जीवनमरणसँग जोडिएका यी यावत कुराहरुमा एक हदसम्म जनताको अभिरुचि जागृत गरेको छ | यसलाई अरु व्यापक र गहिरो पार्नुपर्छ | देखाजायगा भनेर ढुक्कसँग बस्ने अवस्था छैन | आशाको यो दीपलाई कसैगरी पनि निभ्न दिनुहुन्न |





Read More

Sep 6, 2015

गोविन्द सरको सत्याग्रह: पहिलोदेखि छैठौंसम्म, एक तुलनात्मक अध्ययन !


पहिलो आमरण अनशन

२१ असार, २०६९ देखि २४ असार २०६९ सम्म
पृष्ठभूमि: 
तत्कालिन डीन डा. अरुण सायमीको पदावधि सकिएको तर त्रिविले भने भ्रष्टाचारमा मुछिएका उनै अरुण सायमीलाई निमित्तको जिम्मेवारी दिइरहेको ! जेठ ११ मा डा. केसीबाट अनशनको चेतावनी आएपछि सोही दिन अरुण पदमुक्त भइ डा. रतीन्द्र श्रेष्ठ नयाँ डीन नियुक्त तथा असार २० भित्र पदाधिकारी नियुक्तिको प्रतिबद्धता ! प्रतिबद्धता लागू नभएपछि २१ असार देखि अनशन शुरु !
माग:
राजनीतिक भागबण्डामा नभई वरिष्ठता, योग्यता र क्षमताका आधारमा नयाँ डीनलगायतका पदाधिकारी नियुक्त हुनुपर्ने !
परिणाम:
वरिष्ठतम् चिकित्सक डा. कुमुद काफ्ले डीनमा नियुक्त !
४० दिनमात्र सेवाअवधि बाँकी रहेका चिकित्सकलाई नियुक्त गरेर त्रिविले जालझेल गर्न खोजेकोमा आपत्ति जनाउँदाजनाउँदै पनि सबैको आग्रहमा अस्पतालका कुचीकार मोहन नेपालीको हातबाट जुस खाएर अनसनको चौथो दिनमा डा. केसीद्वारा अनसन तोडिएको !

(नियुक्त भएको ४० औं दिनमा उमेरहदका कारण डा. काफ्लेको अवकाश ! )


दोश्रो आमरण अनशन: 

२९ साउन, २०६९ देखि २ भदौ, २०६९ सम्म !
पृष्ठभूमि: 
डीन डा. काफ्लेद्वारा अन्य पदाधिकारीका लागि गरेको सिफारिस त्रिविद्वारा अस्वीकार ! डा. काफ्लेको पनि अवकाश !
माग: 
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डीनलगायत पदाधिकारी नियुक्ति वरिष्ठताका आधारमा हुनुपर्ने !
अनशनका दौरान: डा. केसीको उपहास गर्दै त्रिवि उपकुलपति हीराबहादुर महर्जनद्वारा एकलौटी निर्णयका आधारमा वरिष्ठता सूचीमा निकै पछाडि रहेका डा. धर्मकान्त बाँस्कोटालाई डीनमा नियुक्त !
परिणाम: 
छ दिनसम्मको अनशनपछि वरिष्ठ चिकित्सक डा. प्रकाश सायमी डीनमा नियुक्त !
डा. केसीकै विभागमा भर्ना भएर उपचार गराइरहेका दुई बिरामी इन्द्र चेपाङ र पृथ्वी विकद्वारा जुस खुवाएर अनशन तोडिएको !


तेस्रो आमरण अनशन: 

पुष २७, २०७० देखि माघ १०, २०७० सम्म !
पृष्ठभूमि: 
मेडिकल कलेजको सम्बन्धनलाई लिएर तीव्र दबाब आएपछि डीन डा. प्रकाश सायमीद्वारा राजीनामा ! त्यसपछि सरकारले ‘तत्काल नयाँ नियुक्ति अघि नबढाउनु’ भन्दाभन्दै पनि त्रिविद्वारा विवादास्पद छविका डा. शशी शर्मा नयाँ डीन नियुक्त !
मागहरु: 
सबै शिक्षण तथा स्वास्थ्य संस्थामा राजनीतिक हस्तक्षेप बन्द गरियोस् !
सरकारले चुस्त अनुगमनको व्यवस्था नगरी भकाभक निजी मेडिकल कलेज खोल्ने अनुमति नदेओस् ! र अनुमति दिन लागिएको प्रकृया बन्द गरी छानविन थालियोस् !
डा. प्रकाश सायमीको राजीनामा फिर्ता गरी उनलाई पुनर्बहाली गरियोस् !
त्रिविका तिनैजना पदाधिकारी (उपकुलपति, रेक्टर र रजिस्टार) लाई पदमुक्त गरी कारबाही होस् !
आइओएमलाई स्वायत्त विश्वविद्यालय बनाइयोस् र अन्य संस्थामा पनि स्वच्छ र पारदर्शी प्रकृयाबाट पदाधिकारी नियुक्त होस् !
ग्रामीण भेगमा सरकारी मेडिकल कलेज खोल्ने नीति ल्याइयोस् !
परिणाम:
आइओएमलाई छुट्टै मेडिकल विश्वविद्यालयका रुपमा स्थापना गर्नेबारे सम्भाव्यता अध्ययन गरी प्रारूप तयार गरिने !
अध्ययन गरी सरकारलाई सुझाव दिन आइओएमकै पूर्वडीन डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन ! प्रतिवेदन बुझाउन तीन महिनाको म्याद !
तत्काललाई सम्बन्धन बन्द गर्ने र अबका दिनमा नयाँ मेडिकल कलेज खोल्न आवश्यक छ कि छैन भन्नेबारे राष्ट्रिय नीति तयार गर्ने !
नवनियुक्त डीन डा. शशी शर्माको बर्खास्तगी तथा आइओएममा वरिष्ठताका आधारमा नयाँ डीन नियुक्त गर्ने !
चौध दिनपछि ७ वर्षिया बिरामी एलिसा थापाको हातबाट जुस खाएर अनसन तोडियो !


चौथो आमरण अनशन: 

२५ माघ, २०७० देखि ३ फागुन २०७० सम्म !
पृष्ठभूमि: 
सहमति गरेको १५ दिन बितिसक्दा पनि वरिष्ठताका आधारमा नयाँ डीन नियुक्त नगरेको !
माग: 
तत्काल वरिष्ठताका आधारमा नयाँ डीन नियुक्त होस् !
यसअघि भएका सबै सहमतिहरु कार्यान्वयन होस् !
त्रिविका तिनैजना पदाधिकारीहरुको राजीनामा वा बर्खास्तगी !
परिणाम: 
वरिष्ठताका आधारमा डा. राकेश श्रीवास्तव डीनमा नियुक्त ! आगामी दिनमा त्रिवि पदाधिकारी समेत वरिष्ठता र कार्यदक्षताकै आधारमा नियुक्त गर्ने नीति लिने प्रतिबद्धता !
ग्रामीण क्षेत्रमा सरकारी लगानीमा थप मेडिकल कलेज खोल्ने नीति बनाउने !
राष्ट्रिय नीति बनाएर मात्रै आगामी दिनमा मेडिकल कलेजलाई सम्बन्धन दिने !
२१ दिनभित्र त्रिवि सभा बोलाइने र त्यसमा डीनले आइओएमलाई स्वायत्तता दिनेबारे प्रस्ताव प्रस्तुत गर्ने !
सम्बन्धन प्रकरण छानबिन गर्न अख्तियारलाई पत्राचार गर्ने, त्रिवि पदाधिकारीसँग स्पष्टीकरण सोध्ने !
आठौँ दिनमा आफ्ना विधार्थीद्वय डा. सुवर्ण अधिकारी र विपिन घिमिरेको हातबाट जुस पिएर अनशन तोडियो !


पाँचौ आमरण अनशन: 

चैत ८, २०७१ देखि चैत १९, २०७१ सम्म
पृष्ठभूमि: 
माथेमा आयोगले प्रतिवेदन लेख्दै गरेको अवस्थामा प्रधानमन्त्री सुशील कोइरालाले ‘प्रचलित कानूनअनुसार सम्बन्धन प्रकृया जारी राख्न’ शिक्षा मन्त्रालयलाई पत्र पठाएको ! यही पत्रका आधारमा शिक्षामन्त्रीद्वारा त्रिविलाई र त्रिविद्वारा आइओएमलाई पत्राचार गरी सम्बन्धन प्रकृया अघि बढाउन निर्देशन ! उता केयु सिनेटद्वारा विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको स्थिति !
मागहरु:
राष्ट्रिय स्वास्थ्य शिक्षा नीति नबनेसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने !
त्रिवि र मेडिकल काउन्सिलका पदाधिकारीलाई कारबाही हुनुपर्ने !
अख्तियार र अदालतमाथि समेत छानविन गर्नुपर्ने !
परिणाम:
स्वास्थ्य शिक्षा नीति बनेपछि कानून नबनेसम्म मेडिकल कलेजको सम्बन्धन र विस्तारसम्बन्धी कुनै निर्णय नगर्ने !
त्रिवि, केयु र मेडिकल काउन्सिलका कामकारबाही छानबिन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने !
चिकित्सा विश्वविद्यालय विधेयक तीन महिनाभित्र संसदमा पेश गर्ने !
स्वास्थ्य शिक्षा नीति निर्माणका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने !
चिकित्सा क्षेत्रका पदाधिकारी विशिष्ट र वस्तुनिष्ठ आधारमा नियुक्त गर्न चार महिनाभित्र कानूनी व्यवस्था गर्ने !
सरकारी शिक्षणसंस्थामा एमडी, एमएस, डिएम र एमसीएच तहमा आगामी शैक्षिक सत्रदेखि पढाई निशुल्क !
पाँचै विकास क्षेत्रमा आगामी पाँच वर्षमा कम्तिमा एकएक सरकारी मेडिकल कलेज ! आगामी आर्थिक वर्षमा मध्यपश्चिमान्चलमा एक मेडिकल कलेज स्थापना गर्ने !
केयुबाट दिइएको विस्तारित कार्यक्रमबारे कानूनी प्रकृया पुर्याई स्थगन गर्नेतर्फ कारबाही चलाउने !
बाह्र दिनपछि शिक्षण अस्पतालको गेटमा जुत्ता सिलाउँदै आएका सत्यनारायण राम र धादिङका सुवाद अधिकारीका हातबाट जुस खाएर अनशन तोडियो !


र यसपालिको छैठौं अनशन:

७ भदौ, २०७२ देखि २० भदौ २०७२ सम्म !
पृष्ठभूमि: 
आफैंले गठन गरेको माथेमा आयोग अनि आफैंले प्रतिबद्धता व्यक्त गरेको त्यसको प्रतिवेदन कार्यान्वयन पक्षलाई लात हानेर माथेमा प्रतिवेदन तुहाउन सरकार लागिपरेको अवस्था !
माग: 
माथेमा प्रतिवेदन कार्यान्वयन होस् !
यसअघिका सहमतिहरु कार्यान्वयन होउन् !
विश्वविद्यालयमा उपकुलपतिलगायतका पदाधिकारीको नियुक्ति राजनीतिक भागबण्डाबाट मुक्त होस् !
परिणाम: 
माथेमा आयोगको सुझाव अनुसार अब बस्ने पहिलो मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षा आयोग गठन गर्ने र सोही आयोगले चिकित्सा शिक्षा नीति सम्बन्धि गरिएका निर्णयहरुको सहजीकरण र अनुगमन गर्ने !
विराट र देवदहको हकमा सरकारले छानविन गरी दोषी पाइएमा भर्ना प्रकृया स्थगन गर्ने !
बिरामीद्वय १८ महिनाकी सुवानी उप्रेती र डोल्पाका पूर्ण लामाको हातबाट जुस पिएर अनशन तोडियो !

निष्कर्ष:

२१ असार, २०६९ को पहिलो अनशन देखि २० भदौ, २०७२ को छैठौं अनशनसम्म के कति उपलब्धि हासिल भयो, माथिको विवरणले धेरैहदसम्म बुझ्न सहयोग गर्छ !
गोविन्द सरका यी शृंखलाबद्ध अनशन नहुँदाहुन् त अहिले राजधानीभित्र मात्रै नजाने कति मेडिकल कलेजका दोकानहरु खुलिसकेका हुन्थे ! हुनत अनशनकै दौरान पनि केयुबाट विस्तारित कार्यक्रमको बहाना बनाएर देवदह र विराट मेडिकल कलेजहरु खुलिछाडे र विधार्थी भर्ना पनि गरीछाडे | यिनका हकमा पाँचौ अनशनकै बेला कानूनी प्रकृया पुर्याएर स्थगन गर्नेतर्फ कारबाही चलाउने भन्ने सहमति भएको थियो | अहिलेको सहमतिमा त झन् त्यही सहमतिबाट पनि पछि हटेको जस्तो देखिन्छ |
छानबिन गर्ने रे, अनि दोषी पाइएमा भर्ना प्रकृया स्थगन गर्ने रे ! 
अनि, राकेश श्रीवास्तव सरको पदावधि नसकिन्जेल त डीनको कुरा फेरि नउठ्ला ! तर अहिले भर्खरै त्रिवि उपकुलपतिमा ‘प्लेगियारिजम्’ मा मुछिएका डा. तीर्थ खनियाँलाई नियुक्त गरिएको छ, दलीय भागबन्डाका आधारमा ! चौथो अनसनकै बेला ‘आगामी दिनमा त्रिवि पदाधिकारी समेत वरिष्ठता र कार्यदक्षताकै आधारमा नियुक्त गर्ने नीति लिने’ भनी गरिएको प्रतिबद्धता कहाँनेर लागू भयो, खोइ ?
त्यस्तै, माथेमा प्रतिवेदन लागू होस् भनेर छैठौंपटक अनशन नै बस्नुपर्दैनथ्यो यदि पाँचौ अनशनका बेला सहमति भएको ‘स्वास्थ्य शिक्षा नीति निर्माणका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने’ भन्ने बुँदामा सरकार इमान्दार रहन सकेको भए !
यस्तै हो, के गर्नु ? विगत पाँचपटकका सहमतिहरु हेर्ने हो भने, कार्यान्वयन भएका भन्दा नभएका बुँदाहरु ज्यादा भेट्टाउन सकिन्छ ! कुनै एकजना मात्रै त्रिवि पदाधिकारीलाई पनि कारबाही भयो त ? अदालत र अख्तियारमाथि छानबिन भयो त ? त्यत्रो दारीवाला अडियो प्रकरण बाहिर आयो, केही भयो त ? राजनीतिक भागबण्डाको अन्त्य भयो त ? छुट्टै मेडिकल विश्वविद्यालयको कुरो कहाँ पुग्यो ? तैपनि निराश भएर काम छैन | हामीसँग डा. गोविन्द केसीजस्ता एक जुगमा एक चोटि जन्मने अद्वितीय मानव हुनुहुन्छ | पृथक रुपमा हाम्रो आन्दोलन जारी राख्नुपर्छ, निरन्तर खबरदारी गरिराख्नुपर्छ | माथेमा प्रतिवेदन लागू गराएर देशको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई बदलेरै छाड्नुपर्छ |   




Read More

Aug 11, 2015

दुई पोका खुन

First published in Setopati 

‘जल्दी से जल्दी दुई पोका खुनके व्यवस्था करिए, नही तो आपके पत्नी और बच्चाके ज्यानको भी गम्भीर खतरा हे ! समझ्गए कि नही ?’ प्रसुति वार्डको सिस्टरबाट हकिउल्लाह खानले दिउँसै कडा चेतावनी पाइसकेको थियो | रेडक्रसको भवनबाहिर ठिंग उभिइरहेको उसलाई अहिले पनि सिस्टरको त्यही चेतावनीले लखेटिरहेको छ | लखेटिदा लखेटिदै ऊ कहिले कुन अस्पतालको ब्लड ब्यांक पुग्छ, कहिले कुन ठाउँको रेडक्रस ! जहाँ पुग्छ, देख्छ सिर्फ घारहरु जहाँ मौरीहरु झुम्मिइरहेका छन् | सबै  मौरीका हातमा एउटा एउटा कागज छन् र त्यही कागजले दिने दुई पोका खुनमा अडेका छन् तिनका प्रियसीका जीवन !

झन् उसका लागि त उसको हातमा थमाइएको कागजले एउटा होइन, दुई-दुईटा जीवनको कठालो समातिरहेको छ | गएको रातिदेखि नै बुढियालाई व्यथाले बेस्सरी च्यापेपछि उसले आज दिउँसो दुई बजे सरकारी अस्पताल ल्याइपुर्याएको थियो | तुरुन्तै प्रसूति वार्डमा बुढिया भर्ना भएकी थिई | जाँचपड्ताल गर्नेहरु भर्खरका देखिने डाक्टरहरु थिए | पालैपालो सबै डाक्टरले हकिउल्लाह र उसकी बुढियालाई एउटै प्रश्न सोधिरहे, बिग्रिएको रेकर्डले एउटै कुरा बारम्बार दोहोर्याएझैं | तर अहँ, उनीहरु जे सोधिरहेका हुन्थे, त्यो हकिउल्लाह बुझ्दैनथ्यो; अनि हकिउल्लाह जे भनिरहेको हुन्थ्यो, त्यो डाक्टरहरु बुझ्दैनथे | त्यो ‘कम्युनिकेसन ग्याप’ देखेपछि नेपाली र भोजपुरी दुवै बुझ्ने एक जना अर्कै बिरामीका कुरुवा दोभाषे बन्न राजी भए | तिनै दोभाषेमार्फत डाक्टरले सोधे-खुस्बु निशा, तिम्रो अन्तिम महिनावारी कहिले भएको थियो ? ऊ निरुत्तर थिई | उसलाई कुनै पनि मितिहरू याद छैन | उसलाई ऊ जन्मेको साल त थाहा छैन भने अरु झिनामसिना मितिहरू कहाँबाट याद होउन् ? तल्लो पेटमा बहुत दर्द भइरहेको छ भन्ने जनाउ दिन ऊ झन् जोडजोडले ऐया ऐयाको भाकामा कराइरही, तर सोधेका प्रश्नहरुलाई भने सुनेको नसुन्यै गरीरही | उसले मुख खोलिन भन्दैमा डाक्टरले खोजीनीति गर्न चाँहि छाडेनन् | अन्ततः अस्पतालमा आएपछि पहिलोचोटि खुस्बु निशाको बोली फुट्यो- होला त्यस्तै वैशाख जेठको आसपास ! यतिन्जेल सल्मा सिस्टरले सबै जाँच गरिसकेर खुस्बुलाई बताइसकेकी थिइन्- ओइ खुस्बु, धेरै नचिच्याउ, तिम्रो पाठेघरको मुख राम्ररी खुलिसकेकै छैन | बच्चा निस्कने बाटोको मुखै बन्द छ भने त्यो बाटो कहिलेसम्म खुल्ला र उसले यो दर्द कहिलेसम्म भोग्नु पर्ला भन्ने सवाल खुस्बुको मनमा त उठ्यो तर मनबाट बाहिर निस्कन सकेन | आखिर पाठेघरको मुखझैं उसको बोली झर्ने मुख पनि बन्दप्राय: नै छ | बाहिरिया मान्छेसँग सवालजवाफ गर्न उसलाई वर्जितझैं छ | 

सल्मा सिस्टर तिनै भर्खरका डाक्टरलाई ‘ब्रिफिङ’ गर्दैथिइन्- बच्चा पनि उल्टो बसेको छ | यत्तिकैमा बच्चाको धड्कन सुनिरहेकी आरती सिस्टरले सल्मालाई भनिन्- एकदमै कम छ, दिदी | त्यसको केहीबेरमै एकजना महिला डाक्टर आँधीझैं भित्र छिरिन् | हकिउल्लाहले हदै निहुरिएर ‘नमस्कार डाक्टरसाहेब’ पनि भन्न भ्याएको थिएन, महिला डाक्टरको फैसला आयो- तुरुन्तै अपरेसन गर्नुपर्छ, यहाँ साइन गर्देउ भैया | तर साइन गर्नु त परैको कुरा, उसलाई राम्रोसँग कलम समाउन पनि आउँदैन | ‘सुना कि नही, अब अपरेसन करना पडेगा’ हकिउल्लाहको हात समातेर मन्जुरीनामाको कागजमा औंठाछाप लगाइदिँदै आरती सिस्टरले सम्झाएकी थिइन्, ‘जल्दी से जल्दी दुई पोका खुनके व्यवस्था करिए, नही तो अपरेसन नही होपाएगा और आपके पत्नी और बच्चाके ज्यानको गम्भीर खतरा होगा !’
                    *****

हुनपनि उसका तीनवटा बच्चा यसअघि लगालग खेर गइसकेका थिए | के भएर यस्तो भएको हो, रामोसँग जाँच गरेर हेर्नुपर्छ- पछिल्लोचोटि डेढ महिनामै खेर गएपछि यही अस्पतालको डाक्टरले भनेकी थिइन् | खुस्बु पनि राम्रोसँग चेकजाँच गराउन चाहन्थी | सरकारले ‘डेलिभरी’ फ्रीमा गराइदिन्छ भन्ने सुनेको हकिउल्लाहलाई लागेथ्यो- यी जाँचहरु पनि बिनापैसा नै भइहाल्छन् | ऊ सबै चेकजाँच गराउन ‘रेडी’ थियो | तर ऊ ‘रेडी’ हुनु के थियो, डाक्टरले भनिन्- हेर भैया, यस्ता जाँचहरु सरकारी अस्पतालमा हुँदैनन्, बाहिर प्राइभेटमा जानुपर्छ | उसले उत्निखेरै आश मारेको थियो | प्राइभेटका किस्साहरु उसले देहातमा धेरै सुनेको छ | प्राइभेट भनेको मन्त्री र नेताका लागि मात्रै हो; गल्तीले एकचोटि प्राइभेटको ढोकाभित्र छिर्यो भने मान्छे निस्कने कङ्गाल भएपछि मात्रै हो | यस्तै यस्तै... अनि कति किस्साहरु त उसले सुनेर पनि भुलिसक्यो |

खुस्बुसँग अब आफ्नो मर्दसित थप भन्नलाई केही बाँकी थिएन किनकि त्यो मर्दले घोषणा गरिसक्यो- अहिले पैसा पुग्दैन, अब घर जाम्, अर्कोचोटि आएर गरौंला | यो साला पेटले मेरो मर्दलाई हुनसम्म दुख दिएको छ, खुस्बुले मनमनै मनोवाद गरी | ‘त्यही पेट पाल्न उसले बयालीस डिग्रीको घाममा रिक्सा ठेल्नुपरेको छ | आजकल त झन् उसको रुटमा माइक्रोभ्यान छिरेदेखि व्यापार पूरै चौपट भएको छ | १५ रुपियाँमा माइक्रो चढ्न पाएपछि कुन मुर्खले ६० रुपियाँ तिरेर रिक्सा चढोस् ? भएन भनेर सालैपिच्छे बढ्ने मेरो पेट अनि सालैपिच्छे तुहिने मेरो गर्भले बिचरा यो एक्लो मर्दलाई कति टेन्सन !’- खुस्बुले बाटैभरि आफैंसँग गन्थन गरिरही |

त्योचोटि त त्यस्तै भयो, योचोटि पनि कतै त्यस्तै नहोस् भनेर पूरै परिवारले रातदिन अल्लाहसँग प्रार्थना गरिरहेको थियो नौ महिनाभरि | तर योबीचमा त्यो परिवारले दुई घण्टाको बाटोमा रहेको हेल्थपोस्टमा गएर एकचोटि पनि देखाएन | देखाउँदै नदेखाएपछि आइरन क्याल्सियमका चक्की र टिटीका सुई पाउने पनि कुरै भएन |
                    *****

दुई पोका खुनको खोजीमा उसले दिनभरि गरेर लगभग आठ-दशचोटि चक्कर मारिसक्यो रेडक्रसको | चक्कर जति मारेपनि व्यवस्था भने एउटै पोकाको पनि भएको छैन | अस्पतालको ब्लड ब्यांकले एबी पोजिटिभ ग्रुपको रगत छैन भनेपछि त्यहाँको आश मारेर ऊ करिब ६ बजेतिर रेडक्रस पुगेको हो | रेडक्रस, जहाँ उसले एकैचोटि हर्ष र विस्मातका दुईवटा खबर पायो | हर्षको कुरा यो थियो कि त्यो ग्रुपको रगत त्यहाँ जति पनि उपलब्ध थियो | तर दुखको कुरा त्यो खुन लैजान पैसा तिरेर होइन, खुनै तिरेर मात्र सम्भव थियो | रेडक्रसको कर्मचारीले प्रष्टसँग भनेको थियो- खुनको बदला खुन; तिमीलाई हामी एबी ग्रुपको रगत दिन त दिन्छौं तर त्यसको लागि तिमीले आफ्नो रगत हामीलाई दिएर ‘रिप्लेस’ गर्नुपर्छ | ऊ छाँगाबाट खसेजस्तै भयो | खुन दियो भने त एक्कासि हड्डी कमजोर हुन्छ, दुई-चार हप्तामै सबै हड्डीहरु एकसाथ प्याट्टै भाँचिन्छन् अनि खुन सक्किंदै सक्किंदै एक महिनामै मान्छे सलाईको काँटीजत्रो हुन्छ र मर्छ, उसले देहातका बुज्रुकहरुको कुरा सम्झ्यो | सम्झेर बेस्सरी झस्क्यो | अहँ, खुन दिने काम त हरहालतमा नगर्ने | उदास अनुहार लिएर ऊ अस्पताल फर्क्यो |  

तिमी उसको मर्द हो कि होइन- फाइलहरुमा स्टिच मार्दै यताउता गरिरहेकी सल्मा सिस्टरले झपार्दै सोधिन् | हकिउल्लाहले मुन्टो हल्लायो | अनि तिम्रोलागि आफ्नो बुढिया र सन्तानको ज्यान प्यारो छ कि छैन ? उसले फेरि यन्त्रवत् मुन्टो हल्लायो | अनि आफ्नै बुढिया र आफ्नै सन्तानको ज्यानको लागि खुन दिँदा तिमी मर्छौ ? एकपछि अर्को प्रश्नहरु फायर हुँदै गए | यसपटक पनि उसले त्यसैगरी मुन्टो हल्लायो | खुन दिँदा म मर्छु भनेको हो कि मर्दिन भनेको, सल्माले खुट्याउन सकिनन् | खुस्बुको खुल्न नसकेको पाठेघरको मुखले हो या अरु केहीले, अरुबेला बहुतै ट्याउँ ट्याउँ गरिरहने हकिउल्लाहको मुख पनि आज खुल्नै सकेको छैन |     

‘बुढियाको लागि अहिले खुन दिएर के गर्ने, खुन दिनेबित्तिकै मेरा हातगोडा कमजोर भइजान्छन् | हातगोडा नचलेपछि के चलाएर काम गर्ने, परिवारलाई के खुवाएर पाल्ने ?’ आफ्नो बोलीमा दम दिंदै ऊ पहिलोचोटि कस्सियो, ‘खुन दिएको शरीरले रिक्सा चलाउन सकिन्छ ?’ सुनेर ती भर्खरका देखिने डाक्टरहरु पहिला त गलल्ल हाँसे | अनि एकैछिनमा घोर विस्मित् पनि भए | कस्तो अन्धविश्वास हो यो- एकआपसमा कानेखुशी गरे उनीहरुले | बटारिएका पाखुरा अनि खम्बाजस्ता बलिया तिघ्रा भएको हकिउल्लाहलाई खुन दिएमा पोलियो लागेको अपांग भइन्छ वा मरिन्छ भन्ने जब्बर विश्वास थियो | त्यसो होइन भैया भनेर सिस्टरहरुले लाख सम्झाए, झन् बेलाबेला रक्तदान गर्नाले आफ्नो शरीरलाई फाइदा पो हुन्छ भनेर डाक्टरहरुले उसको अन्धविश्वास चिर्न गर्नुसम्म प्रयास गरे, तर अहँ, ऊ मान्नेवाला थिएन | यता सबै मिलेर उसलाई रक्तदानबारे पुराण सुनाइरहेछन्, उता ऊ अर्कैतिर फर्केर टोलाइरहेको छ | मानौं उसलाई लागिरहेको छ- यिनीहरु सब मलाई फाल्तु गफ दिएर फकाउँदै छन्, तर थाहा त मलाई छ नि, आफ्नो जीउको खुन दिएर पनि कहीं राम्रो हुन्छ ?
                    *****

बाहिर शीत परिरहेको छ र घोर अँध्यारोले राज गरेको छ | अनि ऊ चियाइरहेको छ ‘लेबर वार्ड’ को ढोकाबाहिरबाट भित्रतिर | भित्र उज्यालो छ | तर उसलाई भित्र जान रोक छ | उसले बाह्रखरी जानोस् वा नजानोस्, ‘लेबर वार्ड’ को ढोकाबाहिर कालिगढले ढुंगामा खोपेको अक्षरसरह प्रष्ट लेखिएकै छ- पुरुषलाई प्रवेश निषेध | योपालि पनि अब गर्भ तुहिने नै भयो, सोचेर ऊ सिरिङग हुन्छ | हो नि, दुई पोका खुनले योपालिको आशामा पनि बाँध लाउन खोजिरहेको छ | एक्कासि बुढियालाई भेट्ने तीव्र लालसा जागेर आउँछ | उसलाई डरको आभाष भइसकेको छ- भित्र गएकी बुढिया कतै कहिल्यै नफर्किने गरी गएकी त होइन ? बेचैनी यति बढ्छ कि आँखै त्यहीं ओछ्याउँछ र क्वारक्वार्ती हेरिरहन्छ ढोकाको सिसाबाट, केहीगरी भित्र छिर्न दिई पो हाल्छन् कि भनेर | भित्र भने सिस्टरहरु एकआपसमा गफिँदै छन्- कस्ता निर्दयी मान्छेहरु हुन्छन् है संसारमा, आफ्नै स्वास्नीको लागि जाबो रगत पनि दिन नसक्ने !


खुस्बुको अवस्था थप बिग्रिँदै थियो | बच्चाको धड्कन अरु कम हुँदै थियो | अब अपरेसन थिएटरै लगेपनि ‘जे पनि हुनसक्ने’ चरणमा पुगिसकेको थियो स्थिति | यत्तिकैमा सुरुमा खुस्बुको ‘हिस्ट्री’ लिएको एकजना इन्टर्न डाक्टरले झट्ट सम्झ्यो- मेरो पनि त एबी पोजिटिभ हो नि | हकिउल्लाहलाई साथ लिएर ऊ सरासर ब्लड ब्यांक गयो, रगत जाँच गरायो र एक पोका खुन दान गर्यो | यसरी एकाएक खुस्बु निशाका लागि एक पोका खुनको व्यवस्था भयो | मन थाम्नै सकेन हकिउल्लाहले | गहभरि आँशु भरियो उसको | त्यो डाक्टरलाई ‘धन्यवाद डाक्टरसाहेब’ पनि भन्न सकेन | तर ठीक यही घडीमा उसले बुद्धत्व प्राप्त गर्यो | सर, मेरो पनि खुन झिकिदिनुस् – त्यो बटारिएको पाखुरा ब्लड ब्यांकको कर्मचारीतिर स्वतस्फूर्त तेर्सिन पुग्यो | तर खुन झिक्दैगर्दा उसलाई एउटा अनौठो डरले भने सताइरह्यो- बाइचान्स मेरो खुनको ग्रुप मिलेन भने ? 
Read More

Jul 2, 2015

भतिज दीपेन्द्र ! मलाई माफ गर


                                                             - खगेन्द्र संग्रौला 
युवराज दीपेन्द्र बाँचिबर्ती रहँदा उनी मेरा कोही थिएनन् र म उनको कोही थिइनँ | उनी श्री ५ थिए, म थिएँ श्री एक | उनी धकलाग्दो गगनचुम्बी पर्खालले घेरिएको नारायणहिटी राजदरबारको चक्रव्यूहको एक टापूमा कतै बस्थे, म बस्थें चाबेलको आफ्नो खुला रामझुपडीमा | छन त नारायणहिटी राजदरबार घना बस्ती भएको राजधानी काठमाडौंको नाभीस्थलमै छ | तर पृथ्वी र मङ्गल ग्रहबीचको दूरी जति छ, श्री ५ र श्री १ का बीचको सामाजिक दूरी त्योभन्दा पनि कता हो कता धेरै छ | त्यसैले त्यति लामो दूरीमा बसेका श्री ५ दीपेन्द्र र म श्री १ खगेन्द्रको भेटघाट र बातचित हुने कुरै भएन |

दीपेन्द्र निरङ्कुश राजालाई संवैधानिक राजाको दर्जामा ओरालिएको राजतन्त्रका पहिला युवराज थिए | उनलाई नेपाली जनताले पुग्दो भत्ता, मान र सुरक्षा दिएका थिए | छल र बलले बढ्ता हात पार्ने लालसाको छनक मैले उनमा देखेको थिइनँ | उनलाई नयाँ ताबेदार र चाटुकारको खाँचो सायद थिएन, न त मलाई उनको कृपा, उनका हातको टीका र गोदबाको नै चाहना थियो | उनी मङ्गल ग्रहदेखि उता बसेका थिए, म बसेको थिएँ यता तल धरतीमा | त्यसैले हामी दुईका संसार विशाल नदीका कहिल्यै भेट नहुने दुई सुदुर किनारजस्ता लाग्थे |

तैपनि संचारको संसारमा मैले दीपेन्द्रलाई बारम्बार भेटेको थिएँ र टाढैबाट सही मैले उनलाई केही न केही चिनेको थिएँ | इतिहासको गति सोझो र सुस्त रहेमा दीपेन्द्र भोलि यस मुलुकको राजा हुन्थे | त्यसैले आजका युवराजमा भोलिका कस्ता राजा हुने लक्षण होलान् भनी मेरा आँखामा पर्नेजति उनका कार्यकलाप, उनका विचार, उनको रुचि र उनको सामाजिक सम्बन्धलाई एक नागरिकको हैसियतले म चनाखो भई नियालिरहन्थें |
मझौलो कद, ल्याक्टोजिनले पुष्टिएजस्तो भुतमुने शरीर, प्राय:जसो अनौपचारिक लवाइ, प्रसन्न अनुहार, ठट्याइलो मिजास र मौका पाउँदा जनसाधारणसँग घुलमिल हुन खोज्ने सहज व्यवहार- मलाई दीपेन्द्र असामान्य घरानाका अपवाद मानिसजस्तो लाग्थे | असामान्यबाट सामान्यमा फेरिंदै जान जमर्को गरिरहेका मानिस | मङ्गल ग्रहपारिको असीमित दूरीबाट धरतीको नजिक आउन रहर गरिरहेका, शासक खलक र जनसाधारणबीचका औपचारिकता, सुरक्षा र अहंकारका पर्खालहरुलाई होच्याउँदै जनसाधारणको बस्तीतिर आउन तत्पर भइरहेका, शान्त मनोभाव र शिष्ट मिजासका सभ्यजस्ता देखिने मानिस | जनताका छातीमा बुट टेकेर र जनताका मुखमा संगीन कोचेर निरङ्कुश राज चलाउने क्रुर सपनाबाट विस्तार-विस्तारै मुक्त हुँदै गएका समझदारजस्ता लाग्ने मानिस | देशप्रति गहिरो माया र जीवनप्रति गहिरो मोह भएका भावुक, सरस र केही रोमान्टिक चरित्रका तन्नेरी |

दीपेन्द्र कालगतिले स्वाभाविक मरण मरेका भए र त्यस घडीमा म बाँचिरहेको भए उनीबारे मैले बोल्नु वा लेख्नुपर्ने केही हुने थिएन | त्यो मेरो अनिवार्य कर्तव्यको अंश नै हुँदैनथ्यो | आखिर मर्त्यलोकको एक दिन मर्ने चोला हो, कोही मर्यो, कथा सकियो | तर जेठ १९ गते राति राजदरबारमा भएको सुन्दैमा आङ सिरिङ्ग हुने र दिमाग रन्थनिने हत्याकाण्डपछि दीपेन्द्रको अर्कै रुप मेरा आँखाअगाडि आइलाग्यो | उनी पहिले जस्ता देखिएका थिए, त्योभन्दा एकदम बेग्लै दीपेन्द्र | मानसिक रोगी, परपीडक र आत्मपीडक, पागल प्रेमी, अचम्मै क्रूर र कल्पनै गर्न नसकिने अपराधी दानव | बाबुमारा, आमामारा, बहिनी र भाइमारा, फुपू र फुपाजुमारा, काकामारा र सारामारा |

सपनामा पनि चिताउँदै नचिताएको त्यो खबर सुनेर पत्याउन नसकी सन्न भएको मेरो दिमागले मेरो अन्तस्करणलाई सोध्यो- त्यो दीपेन्द्र र यो दीपेन्द्र एउटै मानिस हुनसक्छ ? १९ गतेपछिको दीपेन्द्रको विम्ब त्यसअघि दीपेन्द्रको सुन्दर आवरणभित्र लुकिबसेको दानव दीपेन्द्रकै प्रकट रुप हुनसक्छ ? के मानिसको बाहिरी अभिनय र उसका चरित्रको भित्री सारमा यत्रो विकराल अन्तर हुनसक्छ ? के मानिस हिजोको आजै नाटकीय ढंगले यसरी फेरिन सक्छ ? के मानिसको स्वभाव र उसको मनोविज्ञान अनुभव र ज्ञानका कुनै पनि सूत्रहरुले अर्थ्याउनै नसकिने, पूर्वानुमान गर्नै नसकिने गूढ रहस्य हो ? मेरा मनमा प्रश्नहरुको अनन्त तरेली उठिरह्यो | उता सत्य बुझ्ने र सत्य देख्ने ज्ञानीहरु बाँस झ्याङका डाङरेहरुझैं उछिनपाछिन गर्दै देशदेशावरका संचारमाध्यमहरुमा कराइरहे- हो, पहिलो र अन्तिम सत्य यही हो | आफ्नो वंश विनाश गर्ने एकल पात्र दीपेन्द्र हो | केवल दीपेन्द्र, मात्र दीपेन्द्र, फगत दीपेन्द्र !!

हो, हिजोसम्म दीपेन्द्र मेरा कोही थिएनन् | तर अब उनी पलपल मेरो वरिपरि झुम्मिन थाले- उदास सुस्केरासाथ केही भन्दै, असहाय स्वरमा केही बिन्ती बिसाउँदै | म जहाँ जाउँ, दीपेन्द्र मलाई पछ्याउन छाड्दैनन् | मेरा विपनामा उनै, मेरा सपनामा उनै | मेरो तन्द्रामा उनै, मेरो निन्द्रामा उनै | हरघडी, हरपल आँसुमा डुबेको चित्कारमा उनी मसँग पुकारा गरिराहेछ- अंकल ! एकबारको जुनीमा मेरो बाँच्ने अधिकार हरण गरियो | सत्य बोल्छु भन्ने तपाईंको बाचा स्वाँगे होइन भने अंकल, मेरो इतिहासबारे दुई शब्द बोलिदिन मिल्छ ? मलाई मानव इतिहासभरिको सबैभन्दा ठूलो हत्याराको रुपमा प्रस्तुत गरेर अंकल, मानव इतिहासभरिको सबैभन्दा ठूलो अन्याय ममाथि थोपरियो | अंकल, नगरेको पापको कलंकबाट मैले मुक्ति पाउने मेरो अधिकार....!

मृत्युले श्री ५ र श्री १ बीचको दूरीलाई सनक्कै मेटिदियो | हिजो दीपेन्द्र सत्ता, दौलत र इज्जत छेलोखेलो भएका युवराज थिए र म थिएँ गरिखाने एक साधारण नागरिक | अहिले उनै दीपेन्द्र न्यायको याचना गर्न मेरो मुख र मेरो कलम वरिपरि फन्फनी घुमिरहेका छन् | हिजोसम्म जो उनका आफन्तहरु थिए, आज ती सबै उनलाई अपराधी सावित गर्न आतुर छन् | हिजोसम्म म जो उनको कोही पनि थिइनँ, आज उसैकहाँ हात पसार्न उनी आइलागेका छन् | जीवनको नाटक सम्झेर ल्याउँदा मलाई उदेक लाग्छ |

सत्यकथाको उद्घोष गृहमन्त्री रामचन्द पौडेलको सधैं सत्य बोल्ने मुखबाट भयो- हत्याकाण्डका स्रष्टा दीपेन्द्र हुन् | त्यसपछि बर्खामासका गड्यौंलाझैं ‘पौडेल सिद्धान्त’ का अनुगामीहरु जताततै स्याउँस्याउँती देखिए | ‘माथि’ बाट तल आउने वचनहरु सधैं सत्य हुन्छन् भनी अस्ति संस्कृत भाषामा र हिजो नेपाली भाषामा पुर्पच्छे गर्ने पुरेतहरुले आज अंग्रेजी भाषामा पुर्पच्छे गरे- हो, दीपेन्द्रै हुन् | मानौं त्यो दृश्य तिनले आफ्नै आँखाले प्रत्यक्ष देखेका थिए | तिनले यति जोश र उमंगसाथ यस कुराको प्रचार गरे मानौं यो तिनबाट भएको एउटा बिरल सत्यको आविष्कार हो | ग्यालिलियो बूढाले खोजी गरेको पृथ्वी सूर्य वरिपरि घुम्छ भन्ने सत्यभन्दा पनि अकाट्य सत्य !

अनि आयो भूतलमा कहिल्यै कतै नभएको छानबिन टोली | पहिले ‘पौडेल सिद्धान्त’ का प्रचारक डा. राजीव शाहीले सुन्न पाइने तर सोध्न नपाइने शर्तमा पत्रकार सम्मेलन गरे | अनि बुनिए, जासुसी कथाको सिङ्गो कथानकका तानाबानाहरू | सबै पहेलीका उत्तर शाहीले दिइसकेकै थिए, छानबिन टोलीले औपचारिकता पूरा गरी तिनै उत्तर टिप्यो र लेखिदियो एउटा जासुसी कथा | टोलीलाई जम्मा दुई घण्टाभित्रका घटनाको विवरण मात्र बटुल्न अह्राइएको थियो | बफादार टोली खटन बमोजिम विवरण बटुल्न लुखुरलुखुर हिंड्यो | अनि आयो दुई घण्टे भरियाको मुर्कट्टा प्रतिवेदन !

किन मुर्कट्टा ? किनभने भरिया टोलीले हत्याको कारण खोजेन, त्यसैले प्रतिवेदनको टाउको हुने कुरै भएन | टोलीले खोजतलासको निचोड निकालेन, त्यसैले त्यसका खुट्टा हुने कुरा पनि भएन | खुट्टा नभएको प्रतिवेदन न हो, धरातल टेकेर आखिर त्यो कसरी पो उभिन सकोस् र ? तैपनि प्रतिवेदन देखेर पौडेल सिद्धान्तका चेलाचपेटाहरु मक्ख परे | किनभने शासनतन्त्र र संचारका बलबानहरु जे भनिरहेका थिए, प्रतिवेदनले मुक मुद्रामा त्यही व्यहोरामा औंठाको ल्याप्चे सही ठोकिदियो- दीपेन्द्र, दीपेन्द्र र फेरि पनि दीपेन्द्र !

अंकल ! अंकल !! अंकल !!!- दीपेन्द्रको मौन चित्कार मेरा अशान्त कानमा अविराम गुन्जिरहन्छ | म आहत हुन्छु, छट्पटिन्छु र सन्देह गर्न खोज्छु | मेरा हृदयका आँखामा अनुहारमा कलंकको टीका लागेको मानवताको दयनीय तस्वीर नाच्न थाल्छ | तर पैसा, पहुँच र बन्दुक सबैथोक भएका शक्तिशालीहरुको बीचमा म आफूलाई असहाय पाउँछु | तिम्रो इतिहासमाथि न्याय गर्न म खै के पो गर्न सक्छु र दीपेन्द्र ? मृत्युपछि तिमी हात पसार्दै मेरो दैलोमा आएका छौ | तर यो अवाइ जोगीका घरमा भिक्षा माग्न सन्यासी आएजस्तो पो भयो बा !

यस्तो लाग्छ मानौं मेरो बस्ती स्यालहरुको हुइयाँमा डुबेको छ | त्यस हुइयाँले रटना गरिरहेछ- त्यो उसैले हो, माने दीपेन्द्रले | अनि यस रहस्यको जासुसी उत्तरलाई साँचो ठहर्याउन दीपेन्द्रको अतीतका पानाहरु पल्टाउन थालिन्छ | ब्रिटेनको इटन कलेजमा पढ्दाताका ऊ भन्सारमुक्त रक्सी किनेर बेच्थ्यो | त्यसकारण ऊ दुष्टमति हो | ब्रिटेनमा गृहकार्य नबुझाउँदा सम्झाउने गुरुलाई उसले हात छाडेको थियो | त्यसकारण ऊ उद्दण्ड हो | उसले ठिमीमा दिउँसै एक गिलास लोकल रक्सी खाएको थियो | त्यसकारण ऊ मूडी हो, लहडी हो | उसले सुप्रिया राणा र देवयानी राणासँग प्रणय सम्बन्ध एकसाथ चालु राखेको थियो | त्यसकारण ऊ गुण्डो हो | ऊ लागू बिखादि खान्थ्यो | उसमा जीवनप्रति माया-ममता छँदै थिएन, आदि इत्यादि | यसरी दीपेन्द्रको एउटा यस्तो विम्बको रचना गर्न खोजिन्छ, मानौं ऊ जन्मजात नालायक हो, सन्काहा हो, अमानव हो | मानौं उसको खून नै विकारग्रस्त थियो |

दीपेन्द्रको चरित्रबारे किटानीसाथ भन्न सकिने सत्य के हो, त्यो मलाई थाहा छैन | तर म लख काट्छु, दरबारभित्रका पात्रहरुमध्ये दीपेन्द विशेष दुष्टमति, दुष्चरित्रवान् र सन्काहा पक्कै थिएनन् | शायद दरबारभित्र धेरै वा थोरै, सधैं वा कहिलेकाहीं लागू बिखादि नखाने कोही पनि हुँदैन | अहंकार र सनक त त्यहाँको सनातन संस्कृति नै भइहाल्यो | दरबारभित्रको हरेक पात्र औपचारिकता, सुरक्षा र अहंकारका पर्दाहरुका पर्खालभित्रको आफ्नो छुट्टै टापुमा बस्छ | त्यहाँ कुन लोग्नेमानिसको कतिजना आइमाईसँग लसपस हुन्छ, कुन स्वास्नीमानिसको कतिजना लोग्नेमानिससँग उठबस हुन्छ, त्यो देख्ने कसले ? त्यसको हिसाब राखिदिने कसले ? तैपनि जासुसी कथाका रचनाकारहरु समवेत स्वरमा भनिरहेछन्- हो, दीपेन्द्र हर दृष्टिले खत्तम थियो !
यतिखेर नेपालमा भोलिको हाजिरी-जवाफको एउटा प्रश्नोत्तर तयार पारिंदैछ | भोलि मेरा नातिनातिनाहरुलाई सोधिएला- नेपालको इतिहासभरि सबैभन्दा ठूलो अपराधी को हो ? इतिहासका पुरेतहरुले रटाएको उत्तर सम्झिँदै मेरा अबोध नातिनातिनाहरुले भन्नुपर्ने छ- दीपेन्द्र | यस कुराको कल्पना मात्रले पनि म लज्जित हुन्छु |
जासुसी कथाका रचनाकारहरु सबै सिकारु परेछन् | म देख्छु, तिनले कथेको कथा हाँडीघोप्टेका लुगाजस्तै प्वालैप्वालले भरिपूर्ण छ | पहिले तिनले दीपेन्द्रलाई रक्सी खुवाए | त्यसपछि गाँजा | अनि त्यसपछि ‘नाम नखुलेको कालो पदार्थ’ | त्यसपछि तिनले उनलाई लुगा फुकाउनै नसक्ने गरी भुइँमा लडाए | अनि छदाए बाथरुममा लगेर | अनि लगत्तै तिनले रक्सीले मातेका, गाँजाले गलेका र ‘नाम नखुलेको कालो पदार्थ’ ले ढलेका दीपेन्द्रलाई फौजी पोसाक लगाइदिई पच्चीस-तीस किलो वजन भएका पाँचवटा हतियार बोकाएर रंगमञ्चमा प्रस्तुत गरे | पछि फिङ्गरप्रिन्टले सत्यको पोल नखोलिदियोस् भनेर होला, तिनले उनलाई पहिल्यै छालाका पन्जा लगाइदिएका थिए | अनि तिनले दीपेन्द्रका हातबाट गोली हनाएर वीरेन्द्र परिवारका जम्मैलाई ताकीताकी अचुक निशाना लगाए | जासुसी कथाका कल्पनाशील रचनाकारहरुले दीपेन्द्रलाई रावणको नयाँ संस्करणको रुप दिन गर्नु कोसिस गरे | पाँचवटा टाउका, दशवटा आँखा र दशवटा हात भएको एकसाथ पाँचवटा हतियार बोक्न र चलाउन सक्ने रावणरुपी दीपेन्द्र !

जासुसी कथाका देखिजान्ने र सुनिजान्ने रचनाकारहरु एक मुख भएर भनिरहेछन्- यो कथा ध्रुवसत्य हो | यसमा सन्देह नगर, यसमा प्रश्न नगर, यसमा तर्क नगर | सन्देह गर्ने, प्रश्न गर्ने र तर्क गर्नेहरुतिर तिनले सत्ताका अस्त्र सोझ्याएका छन् | त्यसैले यतिखेर चारै दिशा आतंकित छन्, मौन छन्, उदास छन् | तर दीपेन्द्र मेरो अन्तस्करणलाई पछ्याउन छाड्दैनन्- अंकल ! खाएको बिख लाग्छ, नखाएको बिख लाग्छ र अंकल ? तर ममाथि....

आतंकको छायाँमुनि धेरै मुखहरु थुनिएका छन् | धेरै कलमहरुले मौनव्रत धारण गरेका छन् | अंग्रेजी भाषा जान्ने कतिपय उत्तरआधुनिक सामन्तहरु जीतबाजीको उन्मादका साथ संसारभरि सम्चार पठाइरहेछन्- देख्यौ ? आखिर हामीले भनेको सत्य त प्रमाणित भएरै छाड्यो नि | दीपेन्द्र, दीपेन्द्र र केवल दीपेन्द्र !

यतिखेर म आफुलाई एक्लो अनुभव गर्छु | चारैतिर भय छ, त्रास छ र कोलाहलमय सन्नाटा छ | सन्नाटामाझ कुनै छिद्रबाट सत्यलाई नियाल्न खोज्दै म जासुसी प्रतिवेदन पल्टाउँछु | दुई पोखरीबीचको पुलको दक्षिण-पूर्वी कुनामा दीपेन्द्र उत्तानो परेर ढली ‘घ्यारघ्यार’ गरिरहेको देखें भनी उनका शाही पार्श्ववती गजेन्द्र बोहरा बताउँछन् | छानबिन टोली सोध्छ- दीपेन्द्र ढलेपछि पनि गोली चल्या सुन्नुभाथ्यो कि ? बोहरा भन्छन्- “ हो, म फर्केर डोर-वेमा आइपुग्दासम्म पनि गोली चल्दै थियो |” बस्, पुग्यो | जासुसी प्रतिवेदनको छिद्रबाट सत्यको स्यानो झिल्को देखियो | यता एकजना दीपेन्द्र ढलिसके, उता दीपेन्द्रको अर्को औतार गोली चलाइरहेको छ | पहिले डाक्टर शाहीले दीपेन्द्रले शान्त भावमा, एकदम चुपचाप आफ्ना पिताजीमाथि गोली दागेका हुन् भनी पत्रकारहरुलाई सुनाएका थिए | बबुरो हत्याकाण्डको कर्तालाई आफ्नो मुख जाम गर्न कर लागेको हुँदो हो | किनभने उसले मुख खोलिहालेको भए दीपेन्द्रको नकाबभित्रबाट वास्तविक पराक्रमीको पहिचान प्रकट भइहाल्थ्यो |

मेरो मुख थुन्न सहस्र अस्त्रहरु मतिर ताकिएका छन् | तर दीपेन्द्रको करुण क्रन्दन मेरा घाइते कानमा गुन्जिन छाडेको छैन- अंकल....| जानिफकारहरु भन्दछन्- दीपेन्द्र सन्काहा थियो | हत्याकाण्ड उसको यही सनकको आकस्मिक नतिजा हो | सनक, केवल सनक, मात्र सनक | सनक सिद्धान्तका पण्डितहरु भद्दा जासुसी कथालाई सत्य ठहर्याउन त्यसमा प्रेम प्रकरणको छलकारी गातो हालिरहेका छन् |

मेरो अन्तस्करणमा एउटा पीडादायी प्रश्नले शिर उठाउँछ- के दीपेन्द्रमा साँच्ची नै असामान्य सन्काहापन थियो ? के घटना घटेको दिनको उनको व्यवहारमा कहीं कतै मनोविकार र मानसिक असन्तुलनको छनक प्रकट भएको थियो ? यी प्रश्नका उत्तर खोज्न म जेठ १९ गतेका दीपेन्द्रका पाइला पछ्याउँदै उनलाई नजिकबाट नियाल्न खोज्छु | त्यस दिन दिउँसो उनी वीरेन्द्र अन्तराष्ट्रिय खेलकुद परिसरमा पुगेका थिए आफैं गाडी हाँकेर | त्यहाँ पौडी पोखरीमा आँखा लगाउँदै उनले अनेक प्रश्न सोधेका थिए | पाँचौ राष्ट्रिय खेलकुदमा पौडी खेल सकिन कति दिन लाग्छ ? खेलको सूचीमा कुन कुन खेल परेका छन् ? खेलाडीलाई बस्ने बन्दोबस्त के कस्तो छ ? त्यो अनौपचारिक र मित्रवत् कुराकानीमा उनले दरबारको पौडी पोखरीमा हिटिङ सिस्टम छ, यहाँ पनि हुनुपर्छ भन्न पनि भ्याए | अनि स्टेडियमलाई ठीकठाक राख्नुपर्ने सुझाव दिन पनि उनी चुकेनन् | फुटबलमा हुलदंगा हुनसक्ने कुराप्रति चंख हुँदै छेउछाउका ढुंगा-इँटा राम्रोसँग पन्छाउनु भनी उनले सल्लाह पनि दिए |

अहँ, उनको व्यवहारमा त्यस्तो कुनै विकार छैन | सब ठीकठाक छ | देशको प्रधानमन्त्री वा कुनै मन्त्री त्यहाँ गएको भए शायद ऊ दौराको फेर हल्लाउँदै जान्थ्यो र नमस्कार थापेर गजक्क पर्दै फर्किन्थ्यो होला | तर दीपेन्द्र एकदम मानवीय रुपमा प्रस्तुत भए | उनको व्यवहारमा शासकीय ठाँटबाँटको कुनै लक्षण थिएन | कहाँसम्म भने खेलाडी र दर्शकको जीउज्यानको पीर गर्दै उनले ढुंगा-इँटा पन्छाउनुसम्म पनि भने | दीपेन्द्रलाई बालककालदेखि अहिलेसम्म पढाउँदै आएका उनका गुरुहरुले उनमा सनक, अभद्रता वा अपराधिक प्रवृतिको संकेत कहिल्यै देखेनौं भनी हामीलाई आफ्ना थुप्रै संस्मरणहरु सुनाएका छन् | तर जासुसी कथाकारहरुको मलिलो कल्पनाले दीपेन्द्रको अर्कै विम्ब निर्माण गरिदियो | सन्काहा, जीवनद्रोही र सर्वनाशक ! आखिर स्वार्थको तुलोमा तौलेर आ-आफ्नो स्वार्थ सुहाउँदो तस्वीर खिच्ने कुरा न हो !

दीपेन्द्रलाई छक्याएर म कुनै एकलास कुनामा लुक्न खोज्छु | तर म जहाँ जाउँ, उनी मलाई पछ्याउँदै त्यहीं नआई छाड्दैनन् | र, उही करुण स्वरमा उनी मसँग उही दुखपुकारा गरिरहन्छन्- अंकल....|
हिजो दीपेन्द्र बलेको आगो थिए, त्यसैले उनलाई ताप्नेहरुको भीड ठूलो थियो | आज उनी आगो निभेर खरानी भएका छन् र आगो ताप्नेहरु बलेको आगोतिर सरक्क सरेका छन् | हातहातमा पुष्पगुच्छा बोकेर उनीहरु कलाकार प्रवीण गुरुङको लासमाथि पारस शाहलाई युवराज घोषित गरिएको सुखद् समाचार सुन्न आतुर छन् | बुझ्यौ दीपेन्द्र ? अहँ, दीपेन्द्र बोल्दैनन् | केवल उनको चिसो सुस्केरा आएर मेरो अनुहारमा मडारिन्छ |
म दीपेन्द्रको छेउमा उभिएर इतिहासको विभत्स नाटक हेरिरहेको छु | र दीपेन्द्रलाई भनिरहेको छु- भतिज दीपेन्द्र ! तिमी र तिम्रा पिताजीको अन्त्यसँगै नेपालको परम्परागत राजतन्त्र खरानी भयो | अबको राजतन्त्र कि त मङ्गल ग्रहबाट धरतीमा ओर्लेर जनताको छेउमा जनतासँगै सुखदुख बाँडचुँड गरेर बाँच्छ, कि त्यो इतिहासका पानामा बास बस्न जान्छ | बन्दुकको आडमा राजतन्त्र बाँच्ने दिन अब गए | कसो दीपेन्द्र ? गहभरि आँसु लिएर मूक मुद्रामा मलाई हेर्दै दीपेन्द्र एकनासले टोलाइरहन्छन्, एकदम निरुत्तर |

अनि मौन सुस्केरामा दीपेन्द्रको छियाछिया भएको हृदयबाट दारुण चित्कार प्रकट हुन्छ- अंकल ! मेरो बाँच्ने अधिकार, मेरो सत्य-साँचो इतिहास...| दीपेन्द्र ! म जो आफैं असहाय छु, तिमीलाई म खै के भनूँ ? जे होस्, यो इमानमा बाँझो पल्टेको देश होइन, दीपेन्द्र | सत्यका उपासकहरुले एक न एक दिन दुनियाँलाई तिम्रो सत्यकथा सुनाएरै छाड्नेछन् | हो, तिमी मारिएका छौ र म हराइएको छु | भतिज दीपेन्द्र ! अहिलेलाई तिमी मलाई माफ गर |
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong