[First published in Mysansar ]
कति वर्ष वा दशक मिलेर ‘एरा’ बन्छ, म जान्दिन, तर हामी बाँचिरहेको अहिलेको समयलाई सूचना-प्रविधिका मर्मज्ञहरु ‘फेसबुक एरा’ भन्छन् | ठ्याक्कै कुन साललाई ‘डिमार्केसन लाइन’ मान्ने भन्नेमा मतैक्य नभएपनि सोसल मिडियाका अधिकांश चल्तापुर्जा इतिहासविद्हरु सन् २००८ पूर्वको समयलाई ‘प्रि-फेसबुक एरा’ एवं रीतले २००८ पछिको समयलाई ‘फेसबुक एरा’ का रुपमा वर्गीकरण गर्नुपर्ने बताउँछन् | हाल चालू ‘जुकर्बर्गीयन फेसबुक एरा’ को विषय त सबैजनामा सर्वविदितै छ, जसले हामीलाई एकआपसमा जोड्ने र अन्तर्क्रिया गर्ने तरिकामै सधैंका निम्ति कसैले नसोचेको बदलाव ल्याइदियो ! तर फिल्मी हिरोइनहरुको फिल्मी-करिअरभन्दा पनि छोटो ‘अटेन्सन स्प्यान’ भएका हामीहरुको मानसपटलबाट ‘प्रि-फेसबुक एरा’ का धेरैजसो फोल्डरहरु चाँहि डिलिट भइसकेका छन् | यस हिसाबले त्यो स्वर्णिम एरालाई अर्काइभबाट उत्खनन गरेर भएपनि दुई मिनेटका लागि स्मरण गर्नु हाम्रो जिम्मेवारी हुन आउँछ |
त्यो स्वर्णिम प्रि-फेसबुक
एरा
१. छुट्टी मनाउन कतै
घुम्न गइन्थ्यो त आनन्दीमनले बिनाफिक्री घुमघाम गर्न पाइन्थ्यो ! कस्तो पोजमा फोटो
खिच्दा बढी कमेन्ट आर्जन होला, कुन एंगलमा खिच्दा बढी लाइक आउला, कस्तो
ब्याकग्राउण्ड राख्यो भने बढ्ता शेयर होला, कुनै टन्टा हुन्थेन | बस्,
आत्मसन्तुष्टि नाउँको चीज थियो, त्यसैका लागि साथीभाइसँग दुई-चार राउण्ड क्यामेरा
हल्लाइन्थ्यो, परिवारसँग तस्वीरहरु क्लिक-क्लिक पारिन्थ्यो ! पछि नोस्टाल्जिक हुन
पाइने लोभले रङ्गीविरंगी एल्बम सजाइन्थ्यो तर दुनियाँका सामू आत्मप्रदर्शनका लागि
फोटोसपका दोकान चाहरिरहनुपर्ने कुनै झन्झट थिएन |
२. ‘विद्युतीय कारोबार
ऐन’अन्तर्गत जेल परिने एकरत्ति त्रासबिना कुनै पनि गृहमन्त्री वा त्यस्तै उच्च ओहोदाधारीका
आचरणमा निस्फिक्री गफिन र ‘कमेन्ट’ मार्न सकिन्थ्यो, घन्टौं ! कुनै
व्यक्ति-विशेषका बचाउ/विरोधमा वर्ल्डवार त लडिन्थ्यो, तर ल्यापटप र स्मार्ट फोनका
स्क्रीनहरुमा होइन, चियापसल र पत्रिकापसलअगाडि तेर्सिएका बेन्चीमा ! त्यहाँ सबका
सब सर्वज्ञाता हुन्थे- पृथ्वीलोकदेखि अन्तरीक्षसम्मका हरेक घटना-परिघटनाहरुमाथि
घन्टौं भाषण छाँट्न सक्थे ! तर सबै गफाडीका स्पष्ट अनुहार हुन्थे, कुनै हुन्थेनन्
नकाबपोस हुँडारहरु, ‘एनोनिमस युजर’ हरु !
३. दिमाग अलिकति उर्वर
भयो र केही फुर्यो भने आइफोन होइन, सुटुक्क डायरी खोलिन्थ्यो, पहेंलपूर भइसकेका
पाना पल्टाइन्थ्यो, अलिकति केही कोरिन्थ्यो अनि ‘स्वान्त: सुखाय’ को अनुभूति लिँदै
डायरी थन्काइन्थ्यो, बस् ! प्रत्येक मिनेटजसो कुन केटीले त्यो कोरेको कुरामा
‘लाइक’ हानी र कुन महाशयले ‘कमेन्ट’ मार्यो भनेर कुनै छटपटी र हुटहुटी हुन्थेन !
यहाँसम्म कि कागजमा कोरिएका ती शब्दहरु अरुलाई देखाउनसम्म भयङ्कर लाज लागेर
आउँथ्यो !
४. डायरीका पहेंलपूर
पानाहरु सोध्दैनथे- ‘व्हाट्स इन योर माइन्ड ?’ भनेर ! त्यसैले दिमाग बाँझोको बाँझै
रहेको खण्डमा जबर्जस्ती कतैबाट चोरी-चकारी गरिकन भएपनि डायरीको ‘स्टाटस अपडेट’
गर्नैपर्ने बाध्यताबाट पूर्ण मुक्त थियो- ‘प्रि-फेसबुक एरा’ | गान्धी र अर्वेलका
‘कोट’ हरुलाई ‘अनकोट’ गरेर आफ्नै भनाइजस्तो भान पार्दै स्टाटस हालिरहनुपर्ने
मजबुरी थिएन | प्लेगियारिजमले यति भुइँतहसम्म यति दह्रो गरी जरो गाडिसकेको थिएन |
५. निसन्देह,
‘प्रि-फेसबुक एरा’ मा फेसबुक थिएन, पेपरबुक मात्रै थियो | परिणाम- अहिलेका खुंखार
फेसबुकरहरु पनि उबेला भयङ्कर पढन्ते थिए, पेपरबुकका ! र उनीहरुको पढ्नुको उद्देश्य
एउटै हुन्थ्यो- पढ्नुको मजा लुट्ने र सकिन्छ भने केही ज्ञान पनि बटुलीहाल्ने ! ‘फलानो
महान लेखकको चिलानो महान किताब पढ्दैछु म विद्वानले, तैले अहिलेसम्म के लछारिस्’
भन्दै संसारका सामू आफ्नो फेसबुके भित्ताबाट फलाक्दै हिंड्ने र बोक्रे ‘रिभ्यु’
पोस्ट गरेर महान समीक्षक बनिटोपल्ने स्थिति थिएन !
६. ‘मुभी’ हेर्न हल
छिर्दा ‘म यो नाउँको हलभित्र छिर्दै..अब फिल्म शुरु हुन यति सेकेन्ड बाँकी...उत्साहित!’
भन्दै सार्वजनिक घोषणा गरिरहनुपर्ने कुनै जरुरत थिएन | न त ‘प्लट’ अपडेट गर्दै
‘बबाल’ वा ‘झुर’ को ट्याग झुन्डाउनु नै आवश्यक थियो | बिन्दास तालले एकचित्त भएर
फिल्ममा एकोहोरिंदै हृदयानुभूति गर्ने अपूर्व सुविधा दिएको थियो- त्यो ‘एरा’ ले !
७. सयौंको संख्यामा
ओइरिने ‘ह्याप्पी बर्थडे टू यु’ रुपी ‘बर्थडे विस’ हरु
‘प्रि-फेसबुक एरा’ मा सपनाको सपनामा पनि चिताउन नसकिने कुरा थिए | कसको ‘बर्थडे’
कुन दिन भनेर जोकोहीले डायरीमा लेखिरहने र ठ्याक्कै त्यही दिन त्यो डायरीले
सम्झाइदिने अनि ‘ट्रीट’ माग्दै ‘विस’ गर्दिहाल्ने- उबेला यो सोच्न सकिने कुरा थिएन
| आफ्ना सीमित ‘बेस्ट फ्रेन्ड’ हरुको बर्थडे मात्रै दिमागको मेमोरी कार्डमा सेभ
रहन्थे | क्लासको पहिलो घन्टीमा सबै साथीहरुलाई एक रुपियाँ पर्ने चकलेट बाँडेर
टर्ने उबेलाको ‘बर्थडे सेलिब्रेसन’ ले ‘फेसबुक एरा’ मा आइपुग्दा ‘महान अग्रगामी
छलाङ’ हानिसकेको छ | गुरु दिवस, बुवा दिवस र मुवा दिवसका पार्टीहरु पनि त्यो बेला
यति ग्ल्यामरस कहाँ थिए र ?
८. ‘गोपनियताको हक’
मौलिक हकका रुपमा स्थापित थियो | मामा-काका, आमा-बाबा सबैका सामू आफ्ना सबै
गतिविधिहरु यति पारदर्शी रुपमा छरपष्ट हुन्थेनन् | हाम्रो आफ्नै निजी अफलाइन
जिन्दगी थियो |
९. क्रिकेट वा फुटबललाई
टीभीमा ‘लाइभ’ हेर्दा पूरै मजा लिएर हेरिन्थ्यो | ‘यो हेर्ने मै मात्र एक्लो
माइकालाल हुँ, त्यैभएर मिनेटमिनेटको स्कोर बाँकी बिचराहरुलाई कृपा गरी बताइदिने
गुरुत्तर दायित्व पनि मेरो र मेरोमात्रै हो’ भन्दै छिनछिनमा मोबाइलका किप्याड
थिचिरहनुपर्ने विवशता थिएन |
१०. केटाहरु ग्राउण्डमा
फुटबल खेल्न बोलाउँथे, क्रिकेट खेल्न निम्त्याउँथे तर ताईं न तुईंको
क्यान्डीक्रसको इन्भिटेसन पठाएर कसैलाई सताउँदैनथे !
0 comments:
Post a Comment