........................................................................with words, with issues!!!

Sep 4, 2012

शिक्षा व्यापार होइन


                   
शिक्षाविद् डा. मनप्रसाद वाग्लेको केही अघिको कान्तिपुरको लेखले नेपालको शिक्षाक्षेत्रमा निर्बाधरुपमा चलिरहेको शैक्षिक माफियाहरुको हालीमुहालीका बारे थप प्रष्ट्याएको छ । आजको प्रतिस्पर्धी युगमा आफ्ना नानीहरुलाई प्राइभेट बोर्डिंग स्कुलमा भर्ना नगर्दासम्म भविष्यको सुनिश्चितता हुंदैन भन्ने आम मनोविज्ञान रहेको छ । एकदमै दयनीय अवस्थामा रहेका सरकारी विद्यालयका कारण सकीनसकी प्राइभेटकै शरण पर्नु अभिभावकहरुको विवशता बनेको छ । तर यो विवशतालाई बुझेर अभिभावकहरुको अपेक्षाअनुरुपको स्तरीय शिक्षा प्रदान गर्ने आफ्नो जिम्मेवारीमा निजी शैक्षिक क्षेत्र नराम्ररी चुकेको छ । शिक्षालाई नाफामुखी सेवा होइन, नाफामुलक व्यापार ठान्नुको परिणती हो यो । सरकारले लागू गर्न खोजेको शिक्षाकर तिर्न नमान्नेदेखि लिएर हुंदाहुंदा सम्मानित अदालतको आदेश समेत अवज्ञा गर्न खोज्ने हर्कतहरुले निजी शैक्षिक क्षेत्रका मालिकहरु शिक्षालाई केबल कमाउने र कुम्ल्याउने धन्दा ठान्छन् र यसका निम्ति सरकारदेखि लिएर अभिभावकसम्मको सक्दो दोहन गर्न कुनै कसर बांकी राख्दैनन् भन्ने तर्कहरुलाई झनै बलशाली बनाइदिएका छन् ।
यो वर्षको प्रवेशिका परीक्षा आउन अझै करीब ७ महिना पूरै बांकी छ, तर शैक्षिक सत्रको सुरुको महिनादेखि नै हरेकजसो निजी विद्यालयमा ट्युसन र कोचिंग कक्षाका व्यापार धमाधम चलिरहेका छन् । दिउंसोको नियमित कक्षा त छंदैछ, बिहान र बेलुकी चल्ने त्यस्ता ट्युसन नामधारी विद्यार्थीका टाउकामा झुण्डिएका ड्यामोकल्सका तरबारले उनीहरुलाई थप तनाव मात्रै दिएको छ । तर नाफाखोर शिक्षा व्यापारीहरु यसमै घनघोर फाइदा हुने हिसाब निकाल्छन्, किनकि ट्युसन भनेपछि जतिसुकै चर्को शुल्क तिर्न पनि अभिभावकहरु यहां तयार छन् । वास्तवमा अन्य देशहरुको शैक्षिक कार्यक्रमसंग दांज्ने हो भने बिहान १० बजे देखि बेलुकी ४ बजेसम्मको कक्षासमय नै विद्यार्थीका निम्ति चाहिनेभन्दा बढी हो । अन्तराष्ट्रिय स्तरको शिक्षा दिन्छौं भनी नाक फुलाउने यहांका विद्यालय सञ्चालकहरु यसबारे पक्कै अनभिज्ञ छैनन् । अपितू, स्तरीय शिक्षा प्रदान गर्नेबारे रत्ति चासो नभएजसरी उनीहरु बस् कताबाट शुल्क झार्न सकिन्छ भन्ने एकसुत्रीय ध्याउन्नमा छन् । अभिभावकहरु पनि नियमित कक्षामा पढाएरै पूरा गर्न सकिने कोर्सका लागि किन ट्युसनको अनावश्यक भार लाद्नुपर्यो भनी प्रश्न गर्न सकेका छैनन्, बरु उल्टै आफ्ना केटाकेटीले ट्युसन पढेकामा गर्व गरी बसेका छन् ।
ट्युसन प्रसंग त एउटा सानो दृष्टान्त मात्रै हो, खुला रुपमा भइरहेको शिक्षाको व्यापारीकरण डा. वाग्लेले औंल्याएझैं कापी, कलम, युनिफर्म, फारम, शिक्षकको तलबदेखि लिएर हरेक कुरामा व्याप्त छ । यसको अन्त्यबिना निजी विद्यालयहरु अभिभावकहरुले सोचेजस्तो गुणस्तरीय शिक्षाको अजस्र स्रोत रहन संभव हुंदैन । तसर्थ, यससम्बन्धमा गत जेठमा सर्वोच्च अदालतबाट जुन फैसला भएको छ, त्यो कार्यन्वयन नगर्न भइरहेका बहानाबाजीहरु अब रोकिनैपर्छ ।
                                                     
                                 
                                                         

 

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong