........................................................................with words, with issues!!!

Nov 27, 2014

मोदीको गोप्य काठमाण्डौं डायरी

उसो त प्रधानसेवकका हैसियतमा यो मेरो दोश्रो नेपाल भ्रमण हो | ४ महिनाअघि पनि यहाँ आएर जादुमयी रुपमा सबैलाई मन्त्रमुग्ध पार्देको थिएँ | संसद भवनमा दिएको भाषणमा बजेको तालीको गड्गडाहट त मैले अहिलेसम्म पनि अनुभव गर्दैछु  | तर मेरो पूजा हुन थालेको चाँहि म प्रधानसेवकमा नियुक्त भएदेखि नै हो | भन्ने नै हो भने मेरो अन्तस्करणमा लाग्छ, यो मेरो आफ्नै गुजरात राज्य हो | यहाँबाट मैले चुनाव लडें भने शतप्रतिशत मत पाउनेमा म शतप्रतिशत ढुक्क छु | बरु भारतमाताकै केही राज्यले धोका देलान्, यो नेपालले दिन्न | यसमा मलाई रत्ति शंका छैन |


त्यसैले नेपाल आउँदा केही न केही पाहुर ल्याइदिइरहन मन लाग्छ | के गर्नु, आफ्नै स्यानो भाइकोजस्तो माया लाग्छ | गएको पालि एक खर्बको सहुलियत ऋण दिएँ, यसपल्ट हेलिकप्टर ल्याइदिएको छु | खेलौना होइन, साँच्चैको | तर हरेकपटक म यहाँ आउँदा एउटा विद्रूप नाटक मन्चन हुन्छ | सिंगारपटार र बढारकुँडारको यो नाटक मलाई एउटा भयानक पाखण्ड लाग्छ | यस्ता नौटंकीसित म कत्ति अपरिचित छुइन | हिन्दुस्तानका पिछडिएका ठाउँमा म जाँदा पनि त्यहाँका ड्रामाबाजहरु यस्तै नौटंकी देखाउँछन् | नेपालको खास अवस्था कस्तो छ, मैले नदेखेको हो र ? धेरै वर्षपहिले म लाइमलाइटमा नआउँदै कैलाशसम्मको यात्रा गरेको थिएँ | त्यतिबेलै भरपूर प्राकृतिक सौन्दर्य भएर पनि सुन्दर हुन नसकेको यो देशको दुर्दान्त तस्वीर देखेको थिएँ | जतिसुकै मेकअप गरेर मलाई देखाउन खोजे पनि मलाई थाहा छ- यो देश त्योबेला मैले देखेभन्दा अलिकति पनि बदलिएको छैन | र मेरोजस्तो करिस्मेटिक नेतृत्व नउदाउन्जेल बदलिनेवाला पनि छैन | तर मैले सार्वजनिक रुपमा यसो भन्न मिल्दैन | मैले त समिटमा भाषण दिँदा यहाँका नेताहरुको तारिफ गर्दिनुपर्छ, नेपालले अचम्मै मोहनी लगाएको बखान गर्दिनुपर्छ | सत्य कुराहरु त मैले यही गोप्य डायरीमा मात्र खोल्न पाउँछु |

अँ, जति पनि नेता भनाउँदाहरु भेटें, एकाध अपवादबाहेक जम्मै चाकरी गर्ने र चुक्ली लाउनेहरु मात्रै रहेछन् | देशका बारे सोच्ने मजस्तो राष्ट्रवादी कोही भेट्टाइन | माओवादी नेतृत्वको २२ दलीय गठबन्धन चाँहि मक्ख थियो, भेट्नेबित्तिकै पाउलागी गरिहाल्यो | सहमतिबाटै संविधान बन्नुपर्छ भनेर ट्रमा सेन्टर हस्तान्तरणमा के भन्देको थिएँ, उनीहरुका खुट्टा भुइँमै छैनन् | कांग्रेस-एमाले अलि ठुस्केका देखिन्थे, बिन्ती जाहेर गरेका थिए- हजुरले किन त्यसो भन्सेको भन्दै ? धन्न त्यति भएपनि असन्तुष्टि पोख्ने हिम्मत गरे विचराहरुले | मलाई दायाँबायाँ थाहा छैन, सहमतिकै संविधानमा जोड दिनूस्- यति भन्दै आत्मविश्वास नभएका ती रोबोटहरुलाई आफ्नो ज्ञान-बुद्धि दान गर्देको थिएँ |

सबैलाई थाहा छ, पूरै संसारले मलाई विकासपुरुष मान्छ | मेरो धार्मिक कट्टरता पनि यही खोलभित्र ढाकिएको छ | विकासपुरुषको यो छविलाई अघि बढाउन नेपालमा पनि धमाधम विद्युत परियोजनाहरुका पिटीए र पिडीएहरु हस्ताक्षर गर्देको छु | जलश्रोतको क्षेत्रमा हानेको यो छलाङबाट मैले भारतमाताको भलैभलो गरेको छु | अलिकति भलो नेपालकै पनि हुन्छ भने मलाई के आपत्ति ? मलाई थाहा छ, जता पनि छिद्र खोज्ने केही चर्का राष्ट्रवादीहरु यहाँ पनि होलान् | राष्ट्रघाती सम्झौता भन्दै केही दिन चिच्याउलान् पनि तर यति ग्यारेन्टी छ, हिन्दुस्तानमा यसका निम्ति मेरो जयजयकार नै हुनेछ |

भारतमाथि नेपालीहरुको पनि पूरा अधिकार छ, ममाथि पनि तपाईंहरुको अधिकार छ भनेर पनि यसपालि मैले बोलें | गुह्य कुरा चाँहि नेपालमाथि मेरो अधिकार छ भन्ने थियो | यो कुरा बुझ्नेहरुले जरुर बुझे होलान् | नबुझ्नेका लागि यो डायरी छँदैछ | कुनै नयाँ कुरा भनेको होइन | चाचा नेहरुले पनि भनेका थिए- नेपालमाथिको आक्रमण भारतमाथि मानिनेछ र तुरुन्त प्रतिक्रिया दिइनेछ |  

नवाज सरिफसँग मैले हात मिलाइन भनेर पनि मिडिया मच्चियो क्यारे | यही डायरीमार्फत बुझे हुन्छ- म symbolism का खातिर गरिने कर्मकाण्डमा विश्वास गर्दिन | हात मिलाएरै समाधान हुनेभए म हजार चोटि पनि हात मिलाउन तयार छु | यसरी प्रचार हुँदैछ मानौं, मैले हात नमिलाएकै कारण हामी बीच ३-३ वटा युद्ध भएको थियो | Modi means business भन्ने थाहा छैन ? मलाई नतिजा चाहिन्छ | त्यहाँ दुनियाँका सामू हात मिलाएर भित्रभित्रै तुष पालिराख्नुको के अर्थ ? यही काठमाण्डौ हो जहाँ मुर्सरफले कुनै समय बाजपेयीजीसँग हात मिलाएका थिए | नतिजा केही निस्क्यो भने शुन्य निस्क्यो, अरु निस्केन | फेरि त्यही दिन मुम्बई हमलाको छ वर्ष पुगेको थियो | यस्तोमा सबैका मुखेन्जी हात मिलाउन मै अघि सर्नु भन्या सरन्डर हुन्थेन ? त्यैपनि कोइरालाजीले धेरै किचकिच गरिरहनु भो जसकारण द्वारिका रिसोर्टमा दुवैले गुड गरियो | गुड मात्रै हो र, wefie पनि खिच्न भ्याइयो | तर खोइ त, ङिच्च हाँसेर, हात मिलाएर अनि फोटो खिचेर कुनै आइसब्रेक त भएन आखिरमा |

लौ त, काठमाण्डौ डायरी योपालिलाई यत्तिमै टुंग्याउनुपर्ला जस्तो छ | अब एकछिन केही थान ट्विटहरु फुराउनुपर्यो, wefie पनि पोस्टिनु पर्यो अनि पल्टिनुपर्ला | जय हिन्द !


Read More

Nov 11, 2014

ढुक्कले दिनूस् गढीमाईमा बलि


राँगाको नेतृत्वमा बोका, सुँगुर, हाँस, परेवा र कुखुरालाई पछि लगाएर काठमाण्डौस्थित पशुहरुको एउटा प्रतिनिधिमण्डल सिंहदरबार छिर्यो |

नाइके राँगाले कड्किंदै भन्यो- अबको केही दिनमै बाराको बरियापुरमा गढीमाई मेला हुँदैछ, दुई दिनमै हाम्रा पाँच लाख दाजुभाइ दिदीबहिनीहरु रेटिदैछन्, रगतको नदी बग्दैछ ! यस्तो अवस्थामा हामीलाई थाहा चाहियो- सरकार के हेर्दैछ ?

सरकार- हाम्रो जातै केही नसुन्ने र केही नदेख्ने हुन्छ |

नाइके- उसोभए अब हामी धमाका देखाइदिन्छौं |
[पछाडिपट्टिबाट एक बथान सुँगुरले डाँको छाडे- हो, हो, धमाका देखाइदिन्छौं | ]

सरकार- त्यसो हो भने सरकारले तिमीहरुको समस्या के हो, अध्ययन गर्नेछ |

नाइके- मङ्सिर लाइसक्यो, बलिको दिन आइसक्यो | तपाईंलाई चाँहि ट्याम न कुट्याम अध्ययनको ढोंग रच्नुपर्ने ? सबै अध्ययन त अध्येयताले गरिसकेका छन् | तपाईंले त बस् यो मेलामा हुने क्रुर बलि रोक्नुपर्यो |
[बाहिरपट्टि पशुअधिकारवादीहरुको नाराजुलुस प्रष्टै सुनिन्थ्यो ]

सरकार- तर हामी मानिसले हाम्रो धर्म-संस्कृति, संस्कार र परम्पराको पनि त ख्याल गर्नुपर्यो | तिमीहरुलाई पो हाइसन्चो छ, धर्म-संस्कृति क्यै छैन | हामी त तिमीहरुजस्तो फुक्काफाल जन्तु होइनौं, परम्पराको दाम्लोले बाँधिएका हुन्छौं | तिमीहरुलाई ‘ल, पशुबलि ब्यान्ड भो’ भन्दिनेबित्तिकै हिन्दू प्रजातान्त्रिक नेपालका एकहुल कार्यकर्ताहरु मलाई घेर्न आइपुग्छन् |

नाइके- उता तपाईंहरु विश्वको सबैभन्दा धेरै पशुबली दिने शक्तिपीठ भनेर गढीमाइको गुणगानमा मग्न हुनुहुन्छ, के जाति बुकमा रेकर्ड राखेर विश्वले चिन्नेछ नेपाल भनेर फुलेल हुनुहुन्छ | यता, हाम्रा साथीहरु कस्तो मनोदशाबाट गुज्रिदैछन्, हेक्कासम्म छ तपाईंहरुलाई ? घृणा गर्छन् उनीहरु गढीमाइलाई | तपाईंहरुले त्यस्तो भक्तिभावले शीर निहुर्याउने यो मन्दिरलाई पशुहरुले पनि त्यत्तिकै श्रद्धा गरुन् भन्ने लाग्दैन तपाईंहरुलाई ? ए सरकार ! के साँच्चै लाग्दैन ?

सरकार (लामो सुस्केरा हाल्दै) - के गर्छौ त भाइ हो ? पशुबली नदिँदासम्म हाम्रा श्रद्धालु भक्तजनहरुको मनोकामना पूरा भएको एउटै रेकर्ड छैन | भगवानै यस्तो हुनुहुन्छ कि उहाँका समीपमा पशुहरुको आलो रगत नपरुन्जेल जतिसुकै ठूलो तपस्या गरेपनि आफ्ना भक्तको कुरा सुन्नुहुन्न | त्यसैले भगवानको दिलखुस पार्न यति त नगरी धरै छैन भाइ हो !

बोका (खुट्टा बजार्दै) - के कुरा गर्नुभा सरकार यस्तो ? पशुबलीलाई धार्मिक लेपन लगाउन खोजेर आफ्नो बेवकुफी नदेखाउनुहोस् | फेरि, धर्मसंस्कृतिमा त्यस्तो कतै रहेछ नै भने पनि त्यसलाई समयानुकूल परिवर्तन गर्न नसकिने हो र ? कि कुसंस्कारै भएपनि आँखा चिम्लीचिम्ली पछ्याउनैपर्छ भनेर शास्त्रमा लेखेको छ र ? एउटा भ्रामक जनविश्वासको बलमा राज्यस्तरबाटै पुठ दिएर यस्तो घीनलाग्दो ताण्डव नृत्य मच्चाउन तपाईंलाई अलिकति त लाज लाग्नुपर्ने हो | त्यैमाथि एक्काईसौं शताब्दीको दोश्रो दशकमा |

सरकार (अलि रन्किंदै) - लाज-शरम-घीन मानेर एक्काईसौं शताब्दीको सरकार चल्दैन भाइ | ‘एक लज्जा परित्यज्य सर्वत्र विजयी भवेत्’ भन्ने श्लोक तिमी पशुहरुलाई के थाहा ?

नाइके- थाहा पाउनुपर्ने कुराहरु धेरै छन् सरकार ! तर यति कुरा चाँहि तपाईं पनि थाहा पाइराख्नुस् कि तपाईंहरुको यो उन्मादी खेल अब धेरै समय टिक्दैन | एउटा पत्थरलाई निरीह पशुका रगत चढाएर देवता खुशी हुने होइन भन्दै जताततैबाट हाम्रा पक्षमा उभार आइरहेको छ | के भेज, के ननभेज; सोसल मिडियाका अधिकांश फेसबुके र ट्विटेले हाम्रा पक्षमा अभियानै छेडेका छन् | भारतको अदालतले मेलाका बेला पशु निर्यात नगर्नू भनेर ठाडो आदेश दिइसक्यो | जोना लुम्लेले बेलायत तताइरहेकी छिन् | युरोपेली राजदूतहरु पनि लागिपर्नुभाछ | देशविदेशबाट हस्ताक्षरहरु ओइरिइरहेका छन् | अबोध र निरीह पशुमाथिको अमानवीय अपराध रोक्न स्वयम् मानवहरु जुर्मुराएको देख्दा हामी भावविभोर भएका छौं | तर सरकार, तपाईं देखे नदेखेझैँ, सुने नसुनेझैं गर्नैमा मस्त हुनुहुन्छ | थाहा छैन, यसो गरेर तपाईंहरु पाप गर्दैहुनुहुन्छ कि पुण्य, तर यति चाँहि भन्न करै लाग्छ- मानवीयता र पाशविकताको अर्थ साटफेर गर्नुपर्ने दिन आएछ |

सरकार- पशु भएर मान्छेसँग मुखमुखै लाग्नु तिमीहरुलाई शोभा दिने कुरा होइन | फेरि, तिम्रो लम्बेतान भाषण सुन्ने फुर्सद पनि मसँग अहिले छैन | जरुरी मिटिंगहरु छन्, महत्वपूर्ण रिबनहरु काट्नु छ | मलाई यत्ति भन, के दशैंजस्ता चाडबाडमा पनि हामीले तिमीहरुलाई नखानु ? के जागिर पाएको खुशियालीमा, पास भएको अवसरमा, छोरो पाएको उपलक्ष्यमा पनि ‘निरीह प्राणी’ भन्दै भेजमै चित्त बुझाइरहनु ?

नाइके- निर्दोष पाठाहरुको शिकार नगर्नूस् ब्वाँसासाहेब भनेर त म कसरी भनूँ ? मन्दिरहरुमा हामीलाई होइन, नरिवललाई फुटाएर तपाईंको भगवानलाई चढाउनुहोस् भनेर पनि म भन्न सक्दिनँ | बरु काम, क्रोध, लोभ, मोहलाई बलि दिनूस् भन्नु पनि बेकारै छ | अहिंसा अनि शाकाहारी डाइटको फाइदाबारे प्रवचन सुनाउने मुर्खता त म झन् कसरी गरूँ र ? हाम्रो मासुबाटै तपाईंहरुको शरीरले प्रोटिन पाउँछ, तपाईंहरूको जिब्राले स्वाद पाउँछ | भन्ने नै हो भने, हाम्रो रगत र मासुबाट तपाईंहरु आफ्नो भोकतिर्खा मेट्न स्वतन्त्र हुनुहुन्छ | तपाईंले आफ्नो सजातीय मान्छेकै बाँच्ने अधिकार त सुनिश्चित गर्न नसकेका बेला हामी हाम्रो बाँच्ने अधिकार मागेर मजाकका पात्र बन्न चाँहदैनौं | हाम्रो बिन्ती त यत्ति हो- यति धेरै छटपटी र पीडा नदिनूस् | हामी हाँसीहाँसी शूलीमा झुन्डिन तयार छौं, तर यत्ति हो, त्यो झुन्ड्याई अलिक मर्यादित र व्यवस्थित होस् | भगवानको नाम जप्दै क्रुरताको यो हद ननाघ्नुहोस् | सारा संसारका अगाडि तड्पाई-तड्पाई आमसंहार नगरीदिनूस्; गढीमाईजस्तो हिरोशिमा र नागासाकी खडा नगरिदिनूस् | बर्बर हिंसालाई रोमान्टिसाइज नगरिदिनूस् | अनि अन्तिममा, बुद्ध वाज बर्न इन् नेपाल भनेर एकोहोरो चिच्याइरहनुभन्दा पशुबलिका बारे बुद्ध के भन्दा रहेछन्, यसो पढ्ने लेठो गरिदिनुहोला |

सरकार- हुन्छ, तिमीहरुको कुरा एकदमै जायज लाग्यो | गढीमाइले मलाई सद्बुद्धि दिनुभएको छ | यससम्बन्धी निर्णय म आजै क्याबिनेटको आकस्मिक बैठक बोलाएर गर्नेछु | प्रतिक्षा गर्नू | धन्यवाद !


भोलिपल्ट बिहानै सबै पशुहरु टुंडिखेलमा जम्मा भएर अखबारका हेडलाइनमा आँखा दौडाउने होडबाजीमा उत्रिए | त्यहाँ छापिएको थियो- गढीमाई मेलामा हुने बलिमा कुनै किसिमको अवरोध आउन नदिन २००० सुरक्षाकर्मी परिचालन गर्ने सरकारको निर्णय |
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong