........................................................................with words, with issues!!!

Showing posts with label व्यक्तिचित्र. Show all posts
Showing posts with label व्यक्तिचित्र. Show all posts

Jul 2, 2015

भतिज दीपेन्द्र ! मलाई माफ गर


                                                             - खगेन्द्र संग्रौला 
युवराज दीपेन्द्र बाँचिबर्ती रहँदा उनी मेरा कोही थिएनन् र म उनको कोही थिइनँ | उनी श्री ५ थिए, म थिएँ श्री एक | उनी धकलाग्दो गगनचुम्बी पर्खालले घेरिएको नारायणहिटी राजदरबारको चक्रव्यूहको एक टापूमा कतै बस्थे, म बस्थें चाबेलको आफ्नो खुला रामझुपडीमा | छन त नारायणहिटी राजदरबार घना बस्ती भएको राजधानी काठमाडौंको नाभीस्थलमै छ | तर पृथ्वी र मङ्गल ग्रहबीचको दूरी जति छ, श्री ५ र श्री १ का बीचको सामाजिक दूरी त्योभन्दा पनि कता हो कता धेरै छ | त्यसैले त्यति लामो दूरीमा बसेका श्री ५ दीपेन्द्र र म श्री १ खगेन्द्रको भेटघाट र बातचित हुने कुरै भएन |

दीपेन्द्र निरङ्कुश राजालाई संवैधानिक राजाको दर्जामा ओरालिएको राजतन्त्रका पहिला युवराज थिए | उनलाई नेपाली जनताले पुग्दो भत्ता, मान र सुरक्षा दिएका थिए | छल र बलले बढ्ता हात पार्ने लालसाको छनक मैले उनमा देखेको थिइनँ | उनलाई नयाँ ताबेदार र चाटुकारको खाँचो सायद थिएन, न त मलाई उनको कृपा, उनका हातको टीका र गोदबाको नै चाहना थियो | उनी मङ्गल ग्रहदेखि उता बसेका थिए, म बसेको थिएँ यता तल धरतीमा | त्यसैले हामी दुईका संसार विशाल नदीका कहिल्यै भेट नहुने दुई सुदुर किनारजस्ता लाग्थे |

तैपनि संचारको संसारमा मैले दीपेन्द्रलाई बारम्बार भेटेको थिएँ र टाढैबाट सही मैले उनलाई केही न केही चिनेको थिएँ | इतिहासको गति सोझो र सुस्त रहेमा दीपेन्द्र भोलि यस मुलुकको राजा हुन्थे | त्यसैले आजका युवराजमा भोलिका कस्ता राजा हुने लक्षण होलान् भनी मेरा आँखामा पर्नेजति उनका कार्यकलाप, उनका विचार, उनको रुचि र उनको सामाजिक सम्बन्धलाई एक नागरिकको हैसियतले म चनाखो भई नियालिरहन्थें |
मझौलो कद, ल्याक्टोजिनले पुष्टिएजस्तो भुतमुने शरीर, प्राय:जसो अनौपचारिक लवाइ, प्रसन्न अनुहार, ठट्याइलो मिजास र मौका पाउँदा जनसाधारणसँग घुलमिल हुन खोज्ने सहज व्यवहार- मलाई दीपेन्द्र असामान्य घरानाका अपवाद मानिसजस्तो लाग्थे | असामान्यबाट सामान्यमा फेरिंदै जान जमर्को गरिरहेका मानिस | मङ्गल ग्रहपारिको असीमित दूरीबाट धरतीको नजिक आउन रहर गरिरहेका, शासक खलक र जनसाधारणबीचका औपचारिकता, सुरक्षा र अहंकारका पर्खालहरुलाई होच्याउँदै जनसाधारणको बस्तीतिर आउन तत्पर भइरहेका, शान्त मनोभाव र शिष्ट मिजासका सभ्यजस्ता देखिने मानिस | जनताका छातीमा बुट टेकेर र जनताका मुखमा संगीन कोचेर निरङ्कुश राज चलाउने क्रुर सपनाबाट विस्तार-विस्तारै मुक्त हुँदै गएका समझदारजस्ता लाग्ने मानिस | देशप्रति गहिरो माया र जीवनप्रति गहिरो मोह भएका भावुक, सरस र केही रोमान्टिक चरित्रका तन्नेरी |

दीपेन्द्र कालगतिले स्वाभाविक मरण मरेका भए र त्यस घडीमा म बाँचिरहेको भए उनीबारे मैले बोल्नु वा लेख्नुपर्ने केही हुने थिएन | त्यो मेरो अनिवार्य कर्तव्यको अंश नै हुँदैनथ्यो | आखिर मर्त्यलोकको एक दिन मर्ने चोला हो, कोही मर्यो, कथा सकियो | तर जेठ १९ गते राति राजदरबारमा भएको सुन्दैमा आङ सिरिङ्ग हुने र दिमाग रन्थनिने हत्याकाण्डपछि दीपेन्द्रको अर्कै रुप मेरा आँखाअगाडि आइलाग्यो | उनी पहिले जस्ता देखिएका थिए, त्योभन्दा एकदम बेग्लै दीपेन्द्र | मानसिक रोगी, परपीडक र आत्मपीडक, पागल प्रेमी, अचम्मै क्रूर र कल्पनै गर्न नसकिने अपराधी दानव | बाबुमारा, आमामारा, बहिनी र भाइमारा, फुपू र फुपाजुमारा, काकामारा र सारामारा |

सपनामा पनि चिताउँदै नचिताएको त्यो खबर सुनेर पत्याउन नसकी सन्न भएको मेरो दिमागले मेरो अन्तस्करणलाई सोध्यो- त्यो दीपेन्द्र र यो दीपेन्द्र एउटै मानिस हुनसक्छ ? १९ गतेपछिको दीपेन्द्रको विम्ब त्यसअघि दीपेन्द्रको सुन्दर आवरणभित्र लुकिबसेको दानव दीपेन्द्रकै प्रकट रुप हुनसक्छ ? के मानिसको बाहिरी अभिनय र उसका चरित्रको भित्री सारमा यत्रो विकराल अन्तर हुनसक्छ ? के मानिस हिजोको आजै नाटकीय ढंगले यसरी फेरिन सक्छ ? के मानिसको स्वभाव र उसको मनोविज्ञान अनुभव र ज्ञानका कुनै पनि सूत्रहरुले अर्थ्याउनै नसकिने, पूर्वानुमान गर्नै नसकिने गूढ रहस्य हो ? मेरा मनमा प्रश्नहरुको अनन्त तरेली उठिरह्यो | उता सत्य बुझ्ने र सत्य देख्ने ज्ञानीहरु बाँस झ्याङका डाङरेहरुझैं उछिनपाछिन गर्दै देशदेशावरका संचारमाध्यमहरुमा कराइरहे- हो, पहिलो र अन्तिम सत्य यही हो | आफ्नो वंश विनाश गर्ने एकल पात्र दीपेन्द्र हो | केवल दीपेन्द्र, मात्र दीपेन्द्र, फगत दीपेन्द्र !!

हो, हिजोसम्म दीपेन्द्र मेरा कोही थिएनन् | तर अब उनी पलपल मेरो वरिपरि झुम्मिन थाले- उदास सुस्केरासाथ केही भन्दै, असहाय स्वरमा केही बिन्ती बिसाउँदै | म जहाँ जाउँ, दीपेन्द्र मलाई पछ्याउन छाड्दैनन् | मेरा विपनामा उनै, मेरा सपनामा उनै | मेरो तन्द्रामा उनै, मेरो निन्द्रामा उनै | हरघडी, हरपल आँसुमा डुबेको चित्कारमा उनी मसँग पुकारा गरिराहेछ- अंकल ! एकबारको जुनीमा मेरो बाँच्ने अधिकार हरण गरियो | सत्य बोल्छु भन्ने तपाईंको बाचा स्वाँगे होइन भने अंकल, मेरो इतिहासबारे दुई शब्द बोलिदिन मिल्छ ? मलाई मानव इतिहासभरिको सबैभन्दा ठूलो हत्याराको रुपमा प्रस्तुत गरेर अंकल, मानव इतिहासभरिको सबैभन्दा ठूलो अन्याय ममाथि थोपरियो | अंकल, नगरेको पापको कलंकबाट मैले मुक्ति पाउने मेरो अधिकार....!

मृत्युले श्री ५ र श्री १ बीचको दूरीलाई सनक्कै मेटिदियो | हिजो दीपेन्द्र सत्ता, दौलत र इज्जत छेलोखेलो भएका युवराज थिए र म थिएँ गरिखाने एक साधारण नागरिक | अहिले उनै दीपेन्द्र न्यायको याचना गर्न मेरो मुख र मेरो कलम वरिपरि फन्फनी घुमिरहेका छन् | हिजोसम्म जो उनका आफन्तहरु थिए, आज ती सबै उनलाई अपराधी सावित गर्न आतुर छन् | हिजोसम्म म जो उनको कोही पनि थिइनँ, आज उसैकहाँ हात पसार्न उनी आइलागेका छन् | जीवनको नाटक सम्झेर ल्याउँदा मलाई उदेक लाग्छ |

सत्यकथाको उद्घोष गृहमन्त्री रामचन्द पौडेलको सधैं सत्य बोल्ने मुखबाट भयो- हत्याकाण्डका स्रष्टा दीपेन्द्र हुन् | त्यसपछि बर्खामासका गड्यौंलाझैं ‘पौडेल सिद्धान्त’ का अनुगामीहरु जताततै स्याउँस्याउँती देखिए | ‘माथि’ बाट तल आउने वचनहरु सधैं सत्य हुन्छन् भनी अस्ति संस्कृत भाषामा र हिजो नेपाली भाषामा पुर्पच्छे गर्ने पुरेतहरुले आज अंग्रेजी भाषामा पुर्पच्छे गरे- हो, दीपेन्द्रै हुन् | मानौं त्यो दृश्य तिनले आफ्नै आँखाले प्रत्यक्ष देखेका थिए | तिनले यति जोश र उमंगसाथ यस कुराको प्रचार गरे मानौं यो तिनबाट भएको एउटा बिरल सत्यको आविष्कार हो | ग्यालिलियो बूढाले खोजी गरेको पृथ्वी सूर्य वरिपरि घुम्छ भन्ने सत्यभन्दा पनि अकाट्य सत्य !

अनि आयो भूतलमा कहिल्यै कतै नभएको छानबिन टोली | पहिले ‘पौडेल सिद्धान्त’ का प्रचारक डा. राजीव शाहीले सुन्न पाइने तर सोध्न नपाइने शर्तमा पत्रकार सम्मेलन गरे | अनि बुनिए, जासुसी कथाको सिङ्गो कथानकका तानाबानाहरू | सबै पहेलीका उत्तर शाहीले दिइसकेकै थिए, छानबिन टोलीले औपचारिकता पूरा गरी तिनै उत्तर टिप्यो र लेखिदियो एउटा जासुसी कथा | टोलीलाई जम्मा दुई घण्टाभित्रका घटनाको विवरण मात्र बटुल्न अह्राइएको थियो | बफादार टोली खटन बमोजिम विवरण बटुल्न लुखुरलुखुर हिंड्यो | अनि आयो दुई घण्टे भरियाको मुर्कट्टा प्रतिवेदन !

किन मुर्कट्टा ? किनभने भरिया टोलीले हत्याको कारण खोजेन, त्यसैले प्रतिवेदनको टाउको हुने कुरै भएन | टोलीले खोजतलासको निचोड निकालेन, त्यसैले त्यसका खुट्टा हुने कुरा पनि भएन | खुट्टा नभएको प्रतिवेदन न हो, धरातल टेकेर आखिर त्यो कसरी पो उभिन सकोस् र ? तैपनि प्रतिवेदन देखेर पौडेल सिद्धान्तका चेलाचपेटाहरु मक्ख परे | किनभने शासनतन्त्र र संचारका बलबानहरु जे भनिरहेका थिए, प्रतिवेदनले मुक मुद्रामा त्यही व्यहोरामा औंठाको ल्याप्चे सही ठोकिदियो- दीपेन्द्र, दीपेन्द्र र फेरि पनि दीपेन्द्र !

अंकल ! अंकल !! अंकल !!!- दीपेन्द्रको मौन चित्कार मेरा अशान्त कानमा अविराम गुन्जिरहन्छ | म आहत हुन्छु, छट्पटिन्छु र सन्देह गर्न खोज्छु | मेरा हृदयका आँखामा अनुहारमा कलंकको टीका लागेको मानवताको दयनीय तस्वीर नाच्न थाल्छ | तर पैसा, पहुँच र बन्दुक सबैथोक भएका शक्तिशालीहरुको बीचमा म आफूलाई असहाय पाउँछु | तिम्रो इतिहासमाथि न्याय गर्न म खै के पो गर्न सक्छु र दीपेन्द्र ? मृत्युपछि तिमी हात पसार्दै मेरो दैलोमा आएका छौ | तर यो अवाइ जोगीका घरमा भिक्षा माग्न सन्यासी आएजस्तो पो भयो बा !

यस्तो लाग्छ मानौं मेरो बस्ती स्यालहरुको हुइयाँमा डुबेको छ | त्यस हुइयाँले रटना गरिरहेछ- त्यो उसैले हो, माने दीपेन्द्रले | अनि यस रहस्यको जासुसी उत्तरलाई साँचो ठहर्याउन दीपेन्द्रको अतीतका पानाहरु पल्टाउन थालिन्छ | ब्रिटेनको इटन कलेजमा पढ्दाताका ऊ भन्सारमुक्त रक्सी किनेर बेच्थ्यो | त्यसकारण ऊ दुष्टमति हो | ब्रिटेनमा गृहकार्य नबुझाउँदा सम्झाउने गुरुलाई उसले हात छाडेको थियो | त्यसकारण ऊ उद्दण्ड हो | उसले ठिमीमा दिउँसै एक गिलास लोकल रक्सी खाएको थियो | त्यसकारण ऊ मूडी हो, लहडी हो | उसले सुप्रिया राणा र देवयानी राणासँग प्रणय सम्बन्ध एकसाथ चालु राखेको थियो | त्यसकारण ऊ गुण्डो हो | ऊ लागू बिखादि खान्थ्यो | उसमा जीवनप्रति माया-ममता छँदै थिएन, आदि इत्यादि | यसरी दीपेन्द्रको एउटा यस्तो विम्बको रचना गर्न खोजिन्छ, मानौं ऊ जन्मजात नालायक हो, सन्काहा हो, अमानव हो | मानौं उसको खून नै विकारग्रस्त थियो |

दीपेन्द्रको चरित्रबारे किटानीसाथ भन्न सकिने सत्य के हो, त्यो मलाई थाहा छैन | तर म लख काट्छु, दरबारभित्रका पात्रहरुमध्ये दीपेन्द विशेष दुष्टमति, दुष्चरित्रवान् र सन्काहा पक्कै थिएनन् | शायद दरबारभित्र धेरै वा थोरै, सधैं वा कहिलेकाहीं लागू बिखादि नखाने कोही पनि हुँदैन | अहंकार र सनक त त्यहाँको सनातन संस्कृति नै भइहाल्यो | दरबारभित्रको हरेक पात्र औपचारिकता, सुरक्षा र अहंकारका पर्दाहरुका पर्खालभित्रको आफ्नो छुट्टै टापुमा बस्छ | त्यहाँ कुन लोग्नेमानिसको कतिजना आइमाईसँग लसपस हुन्छ, कुन स्वास्नीमानिसको कतिजना लोग्नेमानिससँग उठबस हुन्छ, त्यो देख्ने कसले ? त्यसको हिसाब राखिदिने कसले ? तैपनि जासुसी कथाका रचनाकारहरु समवेत स्वरमा भनिरहेछन्- हो, दीपेन्द्र हर दृष्टिले खत्तम थियो !
यतिखेर नेपालमा भोलिको हाजिरी-जवाफको एउटा प्रश्नोत्तर तयार पारिंदैछ | भोलि मेरा नातिनातिनाहरुलाई सोधिएला- नेपालको इतिहासभरि सबैभन्दा ठूलो अपराधी को हो ? इतिहासका पुरेतहरुले रटाएको उत्तर सम्झिँदै मेरा अबोध नातिनातिनाहरुले भन्नुपर्ने छ- दीपेन्द्र | यस कुराको कल्पना मात्रले पनि म लज्जित हुन्छु |
जासुसी कथाका रचनाकारहरु सबै सिकारु परेछन् | म देख्छु, तिनले कथेको कथा हाँडीघोप्टेका लुगाजस्तै प्वालैप्वालले भरिपूर्ण छ | पहिले तिनले दीपेन्द्रलाई रक्सी खुवाए | त्यसपछि गाँजा | अनि त्यसपछि ‘नाम नखुलेको कालो पदार्थ’ | त्यसपछि तिनले उनलाई लुगा फुकाउनै नसक्ने गरी भुइँमा लडाए | अनि छदाए बाथरुममा लगेर | अनि लगत्तै तिनले रक्सीले मातेका, गाँजाले गलेका र ‘नाम नखुलेको कालो पदार्थ’ ले ढलेका दीपेन्द्रलाई फौजी पोसाक लगाइदिई पच्चीस-तीस किलो वजन भएका पाँचवटा हतियार बोकाएर रंगमञ्चमा प्रस्तुत गरे | पछि फिङ्गरप्रिन्टले सत्यको पोल नखोलिदियोस् भनेर होला, तिनले उनलाई पहिल्यै छालाका पन्जा लगाइदिएका थिए | अनि तिनले दीपेन्द्रका हातबाट गोली हनाएर वीरेन्द्र परिवारका जम्मैलाई ताकीताकी अचुक निशाना लगाए | जासुसी कथाका कल्पनाशील रचनाकारहरुले दीपेन्द्रलाई रावणको नयाँ संस्करणको रुप दिन गर्नु कोसिस गरे | पाँचवटा टाउका, दशवटा आँखा र दशवटा हात भएको एकसाथ पाँचवटा हतियार बोक्न र चलाउन सक्ने रावणरुपी दीपेन्द्र !

जासुसी कथाका देखिजान्ने र सुनिजान्ने रचनाकारहरु एक मुख भएर भनिरहेछन्- यो कथा ध्रुवसत्य हो | यसमा सन्देह नगर, यसमा प्रश्न नगर, यसमा तर्क नगर | सन्देह गर्ने, प्रश्न गर्ने र तर्क गर्नेहरुतिर तिनले सत्ताका अस्त्र सोझ्याएका छन् | त्यसैले यतिखेर चारै दिशा आतंकित छन्, मौन छन्, उदास छन् | तर दीपेन्द्र मेरो अन्तस्करणलाई पछ्याउन छाड्दैनन्- अंकल ! खाएको बिख लाग्छ, नखाएको बिख लाग्छ र अंकल ? तर ममाथि....

आतंकको छायाँमुनि धेरै मुखहरु थुनिएका छन् | धेरै कलमहरुले मौनव्रत धारण गरेका छन् | अंग्रेजी भाषा जान्ने कतिपय उत्तरआधुनिक सामन्तहरु जीतबाजीको उन्मादका साथ संसारभरि सम्चार पठाइरहेछन्- देख्यौ ? आखिर हामीले भनेको सत्य त प्रमाणित भएरै छाड्यो नि | दीपेन्द्र, दीपेन्द्र र केवल दीपेन्द्र !

यतिखेर म आफुलाई एक्लो अनुभव गर्छु | चारैतिर भय छ, त्रास छ र कोलाहलमय सन्नाटा छ | सन्नाटामाझ कुनै छिद्रबाट सत्यलाई नियाल्न खोज्दै म जासुसी प्रतिवेदन पल्टाउँछु | दुई पोखरीबीचको पुलको दक्षिण-पूर्वी कुनामा दीपेन्द्र उत्तानो परेर ढली ‘घ्यारघ्यार’ गरिरहेको देखें भनी उनका शाही पार्श्ववती गजेन्द्र बोहरा बताउँछन् | छानबिन टोली सोध्छ- दीपेन्द्र ढलेपछि पनि गोली चल्या सुन्नुभाथ्यो कि ? बोहरा भन्छन्- “ हो, म फर्केर डोर-वेमा आइपुग्दासम्म पनि गोली चल्दै थियो |” बस्, पुग्यो | जासुसी प्रतिवेदनको छिद्रबाट सत्यको स्यानो झिल्को देखियो | यता एकजना दीपेन्द्र ढलिसके, उता दीपेन्द्रको अर्को औतार गोली चलाइरहेको छ | पहिले डाक्टर शाहीले दीपेन्द्रले शान्त भावमा, एकदम चुपचाप आफ्ना पिताजीमाथि गोली दागेका हुन् भनी पत्रकारहरुलाई सुनाएका थिए | बबुरो हत्याकाण्डको कर्तालाई आफ्नो मुख जाम गर्न कर लागेको हुँदो हो | किनभने उसले मुख खोलिहालेको भए दीपेन्द्रको नकाबभित्रबाट वास्तविक पराक्रमीको पहिचान प्रकट भइहाल्थ्यो |

मेरो मुख थुन्न सहस्र अस्त्रहरु मतिर ताकिएका छन् | तर दीपेन्द्रको करुण क्रन्दन मेरा घाइते कानमा गुन्जिन छाडेको छैन- अंकल....| जानिफकारहरु भन्दछन्- दीपेन्द्र सन्काहा थियो | हत्याकाण्ड उसको यही सनकको आकस्मिक नतिजा हो | सनक, केवल सनक, मात्र सनक | सनक सिद्धान्तका पण्डितहरु भद्दा जासुसी कथालाई सत्य ठहर्याउन त्यसमा प्रेम प्रकरणको छलकारी गातो हालिरहेका छन् |

मेरो अन्तस्करणमा एउटा पीडादायी प्रश्नले शिर उठाउँछ- के दीपेन्द्रमा साँच्ची नै असामान्य सन्काहापन थियो ? के घटना घटेको दिनको उनको व्यवहारमा कहीं कतै मनोविकार र मानसिक असन्तुलनको छनक प्रकट भएको थियो ? यी प्रश्नका उत्तर खोज्न म जेठ १९ गतेका दीपेन्द्रका पाइला पछ्याउँदै उनलाई नजिकबाट नियाल्न खोज्छु | त्यस दिन दिउँसो उनी वीरेन्द्र अन्तराष्ट्रिय खेलकुद परिसरमा पुगेका थिए आफैं गाडी हाँकेर | त्यहाँ पौडी पोखरीमा आँखा लगाउँदै उनले अनेक प्रश्न सोधेका थिए | पाँचौ राष्ट्रिय खेलकुदमा पौडी खेल सकिन कति दिन लाग्छ ? खेलको सूचीमा कुन कुन खेल परेका छन् ? खेलाडीलाई बस्ने बन्दोबस्त के कस्तो छ ? त्यो अनौपचारिक र मित्रवत् कुराकानीमा उनले दरबारको पौडी पोखरीमा हिटिङ सिस्टम छ, यहाँ पनि हुनुपर्छ भन्न पनि भ्याए | अनि स्टेडियमलाई ठीकठाक राख्नुपर्ने सुझाव दिन पनि उनी चुकेनन् | फुटबलमा हुलदंगा हुनसक्ने कुराप्रति चंख हुँदै छेउछाउका ढुंगा-इँटा राम्रोसँग पन्छाउनु भनी उनले सल्लाह पनि दिए |

अहँ, उनको व्यवहारमा त्यस्तो कुनै विकार छैन | सब ठीकठाक छ | देशको प्रधानमन्त्री वा कुनै मन्त्री त्यहाँ गएको भए शायद ऊ दौराको फेर हल्लाउँदै जान्थ्यो र नमस्कार थापेर गजक्क पर्दै फर्किन्थ्यो होला | तर दीपेन्द्र एकदम मानवीय रुपमा प्रस्तुत भए | उनको व्यवहारमा शासकीय ठाँटबाँटको कुनै लक्षण थिएन | कहाँसम्म भने खेलाडी र दर्शकको जीउज्यानको पीर गर्दै उनले ढुंगा-इँटा पन्छाउनुसम्म पनि भने | दीपेन्द्रलाई बालककालदेखि अहिलेसम्म पढाउँदै आएका उनका गुरुहरुले उनमा सनक, अभद्रता वा अपराधिक प्रवृतिको संकेत कहिल्यै देखेनौं भनी हामीलाई आफ्ना थुप्रै संस्मरणहरु सुनाएका छन् | तर जासुसी कथाकारहरुको मलिलो कल्पनाले दीपेन्द्रको अर्कै विम्ब निर्माण गरिदियो | सन्काहा, जीवनद्रोही र सर्वनाशक ! आखिर स्वार्थको तुलोमा तौलेर आ-आफ्नो स्वार्थ सुहाउँदो तस्वीर खिच्ने कुरा न हो !

दीपेन्द्रलाई छक्याएर म कुनै एकलास कुनामा लुक्न खोज्छु | तर म जहाँ जाउँ, उनी मलाई पछ्याउँदै त्यहीं नआई छाड्दैनन् | र, उही करुण स्वरमा उनी मसँग उही दुखपुकारा गरिरहन्छन्- अंकल....|
हिजो दीपेन्द्र बलेको आगो थिए, त्यसैले उनलाई ताप्नेहरुको भीड ठूलो थियो | आज उनी आगो निभेर खरानी भएका छन् र आगो ताप्नेहरु बलेको आगोतिर सरक्क सरेका छन् | हातहातमा पुष्पगुच्छा बोकेर उनीहरु कलाकार प्रवीण गुरुङको लासमाथि पारस शाहलाई युवराज घोषित गरिएको सुखद् समाचार सुन्न आतुर छन् | बुझ्यौ दीपेन्द्र ? अहँ, दीपेन्द्र बोल्दैनन् | केवल उनको चिसो सुस्केरा आएर मेरो अनुहारमा मडारिन्छ |
म दीपेन्द्रको छेउमा उभिएर इतिहासको विभत्स नाटक हेरिरहेको छु | र दीपेन्द्रलाई भनिरहेको छु- भतिज दीपेन्द्र ! तिमी र तिम्रा पिताजीको अन्त्यसँगै नेपालको परम्परागत राजतन्त्र खरानी भयो | अबको राजतन्त्र कि त मङ्गल ग्रहबाट धरतीमा ओर्लेर जनताको छेउमा जनतासँगै सुखदुख बाँडचुँड गरेर बाँच्छ, कि त्यो इतिहासका पानामा बास बस्न जान्छ | बन्दुकको आडमा राजतन्त्र बाँच्ने दिन अब गए | कसो दीपेन्द्र ? गहभरि आँसु लिएर मूक मुद्रामा मलाई हेर्दै दीपेन्द्र एकनासले टोलाइरहन्छन्, एकदम निरुत्तर |

अनि मौन सुस्केरामा दीपेन्द्रको छियाछिया भएको हृदयबाट दारुण चित्कार प्रकट हुन्छ- अंकल ! मेरो बाँच्ने अधिकार, मेरो सत्य-साँचो इतिहास...| दीपेन्द्र ! म जो आफैं असहाय छु, तिमीलाई म खै के भनूँ ? जे होस्, यो इमानमा बाँझो पल्टेको देश होइन, दीपेन्द्र | सत्यका उपासकहरुले एक न एक दिन दुनियाँलाई तिम्रो सत्यकथा सुनाएरै छाड्नेछन् | हो, तिमी मारिएका छौ र म हराइएको छु | भतिज दीपेन्द्र ! अहिलेलाई तिमी मलाई माफ गर |
Read More

Jun 12, 2015

सुशील कोइरालाको विनिर्माण

सञ्चारमाध्यममा निरन्तर नालायकी, निरीहता र निकम्मापन नै सुशील कोइरालाको प्रतिकसरह छाइरहेका बेला अमित ढकाललगायतका केही सञ्चारकर्मीहरुले कोइरालाको व्यक्तित्वको विनिर्माण गर्ने प्रयास गरेका छन् | ‘जस्तोसुकै होस् तर एक थान संविधान अब आउने नै भयो’ भन्ने आशा सञ्चार हुँदै गरेको यो बेला भइरहेको यो प्रयासलाई भद्दा गुणगान गाएको भनेर कतिपयले गरेको आलोचनाभन्दा फराकिलो फ्रेममा हेरिनुपर्छ |

सुरुदेखि नै कोइरालाको छवि एउटा कमजोर नेताका रुपमा बनाइयो | तर अहिले आएर प्रष्टसँग भन्न सकिन्छ- दिल्लीका देउता नगुहारिकनै स्वदेशी तागतका भरमा संविधान निर्माणमा निर्णायक सहमति गर्नसक्ने नेतालाई कमजोर अनि नेतृत्वक्षमता नभएको नेताका रुपमा परिभाषा गरिन्छ भने उनी कमजोरै नेता हुन् | हुनत २०६९ जेठमा पहिलो संविधानसभा विघटनको वरिपरी भएको एसडी मेहता प्रकरणताका नै भारतीय राजदूतलाई झपारेर परेको बेला निर्णय लिनसक्ने आँट उनले देखाइसकेका थिए | तर हामी भने मिडियाले निर्माण गरेको उनको छविबाट यति वशीभूत भयौं कि ‘निर्णय नलिनु पनि त निर्णय नै हो’ भन्दै उनलाई लगातार गिज्याइरह्यौं | हामीले बडो आरामदायी ढंगले यो पनि भुल्यौं कि उनकै नेतृव एवं व्यवस्थापनमा काङ्ग्रेस देशको सबैभन्दा ठूलो दल बन्न सफल भयो |

उनको सादगीपूर्ण जिन्दगी र पदप्रतिको अनाशक्ति पहिल्यैदेखि प्रचारमा त थियो तर त्यसलाई उनको फगत व्यक्तिगत गुण ठानेर सफल नेतृत्वका लागि त्यो गौण पक्ष रहेकोमा जोड दिइयो | सन्तनेता किसुनजीको सादगीपनको चर्चा हुँदा छाता, सुराही र ट्यांका सम्झिने नेपालीहरु सुशीलदाको स्मरण गर्दा तीनवटा मोबाइल सेट सम्झन थालेका थिए | तैपनि मानिसहरु भन्थे- सादा जीवन भएर मात्रै के गर्नु, देश चलाउने कुनै विचार र भिजन नै छैन | तर आज आएर देखियो- संविधान लेखिसकेपछि छोडिदिन्छु भनेर आफैंले सीमा तोक्दै बालुवाटार छिरेका कोइरालाको यही गुण नै सहमतिको वातावरण तयार गर्ने प्रधान पक्ष बन्यो | ‘क्रोनिक किड्नी डिजिज’ का बिरामी केपी ओलीलाई सिंहदरबारमा फोटो झुन्ड्याउने रहर पूरा गर्ने हतारो जो थियो |

संसदीय कालका दिव्य बाह्र वर्षमा सांसद किनबेच र प्राडो-पजेरोका हदै बदनाम अभ्यास देखेका जनतामा प्रत्यक्ष निर्वाचित कार्यकारीप्रतिको आकर्षण बुझ्न सकिने कुरा हो | तर संसदीय प्रणालीको सम्पूर्ण शक्ति संसदभित्र भ्यागुताको धार्नी पुर्याउनैमा ठीक्क हुने कुरा भलिभाँती देखेभोगेका कोइराला संसदीय प्रणालीको सबैभन्दा उग्र पक्षधर रहिरहे | उसो त उनलाई वामपन्थीहरुले गर्नेजस्तो दर्शन र सिद्धान्तका लम्बेतान व्याख्याहरुमा कुनै रुचि छैन | तर संसदीय व्यवस्था नै लोकतन्त्रको मुटु हो भनेजसरी उनी त्यसका पक्षमा सतिसालझैं ठिंग उभिइरहे | फेरि चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लेखेर जनतासित भोट मागेको एमालेले यो मुद्धा छोडिसकेको र एमाओवादीले पनि शासनप्रणालीभन्दा संघीयतामा मोलमोलाई गर्ने इच्छा देखाएपछि न त जनतासँग कुनै विकल्प बाँकी रह्यो, न त सुशील कोइरालाले आफ्नो त्यो आस्थाका लागि लड्नु नै पर्यो | उसै पनि माओवादीहरुले बाँडेका आकर्षक आश्वासनहरु फोस्रा ठहरिएपछि जन्मिएको विकर्षण र विरक्तिले जनतालाई यो वा त्यो शासनप्रणाली भनेर भिडिराख्न खासै जाँगर चलेन | यही परिस्थितिलाई ‘क्यास’ गर्दै संविधानमा पुरानै असफल व्यवस्था थोपरेर सहमति गर्न उनी सफल भएका हुन् | संघीयताको सवालमा भने यो धेरैलाई अब घाँडो नै लागेको भएपनि यसलाई तिलाञ्जली नै दिने साहस भने भावी प्रधानमन्त्री केपी ओलीले पनि गर्न सक्दैनन् | अन्तरिम संविधानमा उल्लेखित संघीयतालाई संस्थागत गरेर कोइरालाले स्पष्ट सन्देश दिइसके- त्रिशुली अब भैरवकुण्डतिर फर्किन सक्दैन |

खानदानी रोगका रुपमा गुटबन्दी भएको दलमा उनीमाथि लगाइएको फत्तुर थियो- भोजनमण्डली र भजनमण्डलीको घेराभन्दा माथि उठ्न यी कहिल्यै सकेनन् | आज उनको मन्त्रीमण्डलका काङ्ग्रेसी अनुहारहरु हेरिसक्दा पनि त्यो फत्तुरमाथि हामीले पुनर्विचार सम्म गर्न सक्दैनौं भने अरु थप केही नसोचौं, मिडियाले निर्माण गरिदिएको छविलाई नै बोकेर हिंडिराखौं |  

संसदीय कालमा हदै बदनाम भएका गिरिजाप्रसाद कोइरालालाई भावी पुस्ताले भने अनेकौं जोखिम मोलेर ऐतिहासिक शान्तिप्रक्रियाको थालनी गर्ने र देशलाई गणतन्त्रमा लैजाने ऐतिहासिक नेताका रुपमा उच्च मुल्यांकन गर्ने निश्चित छ | तिनै गिरिजाप्रसादको छत्रछाँयामा हुर्केका सुशील कोइराला पनि संविधान लेखनको महत्वपूर्ण कार्यभार पूरा गर्ने नेताका रुपमा इतिहासमा अब सम्झिइरहने छन् | भनिरहनु परोइन, इतिहासको अदालत ऐतिहासिक काम फत्ते गर्ने नेताहरुका कमी-कमजोरी केलाउनपट्टि खासै रुचि राख्दैन | नरेन्द्र मोदी, नितिश कुमार, ली क्वान यु वा देङ सियाओ पिङजस्तो ‘विकास पुरुष’ बन्न अरु कोही आउला/नआउला, तर भीमराव अम्बेडकरकै तहमा ‘संविधान पुरुष’ मा भने उक्लिसके उनी |

अक्सर परिस्थिति निर्णायक हुने भएपनि पात्रको भूमिकाले केही प्रभाव पारेन भन्नु आफैंले आफैंलाई ढाँट्नु मात्रै हो | भुकम्पपछिको वातावरणमा सुशील कोइरालाको राजनीतिक परिपक्वताले सहमति सम्भव भएको हो भनेर भन्न केही कालका लागि विसंगत सुनिएपनि अब लजाउनु भने फिटिक्कै पर्दैन | हो, प्रचण्डले पनि त्याग गरेकै हुन्, उनको भूमिकालाई कम आँक्न पक्कै मिल्दैन |  
निष्ठा, त्याग र समर्पण मात्रै सुशीलदाका पुँजी होइनन् भन्ने कुरा सायद हामीले आज पहिलोपटक विचार गर्दैछौं | खासमा उनको क्षमता परिक्षण नहुँदै ‘कमजोर’ को पगरी गुथाइदिन हामीले हतारो गरेछौं | जुन पृष्ठभूमिमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए, त्यसले उनलाई स्पष्ट कार्यादेश दिएको थियो | हलिउडको हिरो हुने सपना बुनेका यिनले रत्ति बाटो नबिराई अर्जुनदृष्टिका साथ लागे र त डेढ वर्ष नहुँदै संविधान निर्माणका हिरो भएर निस्कन सके | यसबाट उनको बाहिर बनेको व्यक्तित्वले यथार्थसँग कति मेल खाँदो रहेछ भन्ने कुरा घामभन्दा पनि छर्लंग भएको छ |

राज्यसञ्चालनमा कहिल्यै कुनै भूमिका नखेलेका सुशीलले पहिलोचोटिमै देखाएको ‘खतरनाक पर्फर्मेन्स’ लाई सलाम नगरी सुखै छैन | र यो पनि नसोची सुख छैन कि वृद्ध र अशक्त नेताले यति गर्न सक्छ भने गगन थापा र उज्ज्वल थापाजस्ता लायकका युवाहरुबाट झन् कति हुनसक्ला ?


अरु कुराहरु जति नै लुकाएपनि राजनीतिज्ञहरुले आफ्नो ‘पोलिटिकल एम्बिसन’ भने हम्मेसी लुकाएर राख्न सक्दैनन् | केपी ओली अबको प्रधानमन्त्री बन्ने दाउमा छन् | बाबुराम भट्टराईका आँखा पुनर्निर्माण प्राधिकरणतिर सोझिएका छन् | प्रचण्ड जसरी भएपनि आफ्नो पार्टीलाई सरकारमा छिराउन लागिपरेका छन् | विजय गच्छदार सधैंझैं उपप्रधानमन्त्री त मेरै हो भनेर मुख बाउँदै बसेका छन् | संविधानमा जुटेको सहमतिका पछिल्तिर सबैका स्वार्थहरुको यही मिलन पनि एउटा कारण थियो | तर सुशील कोइरालाका लागि चाँहि के छ त ? के फाइदा देखेर उनी सहमतितिर लम्किए ? सुशीलको विनिर्माण गर्ने प्रयासलाई चाटुकारिता देख्नेहरुबाट उत्तरको अपेक्षा छ |
Read More

Oct 17, 2014

रुदाने र बिर्सिइएका नायकहरु

First Published in Mysansar 

रुदाने अर्थात् रुपचन्द्र विष्ट ! जसलाई पुरानो पुस्ताले चटक्कै बिर्सिसक्यो, नयाँ पुस्ताले चिनेकै छैन | इतिहासको अँध्यारो गर्तमा धकेलिएर बिर्सिएका एक होइन, अनेकौं रुदानेहरु छन् यो मुलुकमा | तिनलाई स्कुलका पाठ्यपुस्तकमा अनि पत्रिकाका पानाहरुमा कुनै ठाउँ छैन | हाम्रो इतिहासै यस्तो छ- कति रुदानेहरु गुमनाम पारिएका छन्, कति ऐरेगैरेहरु चाँहि ख्यातिको चुलीमा छन् | यो इतिहासको अब वृहत उत्खनन गर्दै तिनीहरुलाई फेरि सम्झने र नयाँ पुस्तालाई अवगत गराउने कामको थालनी गर्नुपर्छ | यसै सन्दर्भमा अमितकिशोर सुवेदी र विकास ढकालले ‘रुदाने: द मिस्टेरियस रिबेल’ नामको डकुमेन्ट्री निर्माण गर्दै गरेको समाचार प्रकाशमा आएको छ |
छिमेकी भारतमा भगत सिंहमाथि सन् २००२ मा एकैचोटि तीनवटा फिल्महरु बने | ती फिल्मले धेरै भारतीयहरुमा विस्मृतिको पर्दा उघारिदियो र भगत सिंहको स्मृतिलाई पुन: ताजा बनाएर ल्यायो | सन् २००६ मा बनेको ‘रङ्ग दे वसन्ती’ ले त युवापुस्तामाझ भगत सिंहलाई उनीहरुको ‘आइकन’ नै बनाइदिएको थियो | त्यस्तै, गत सालको ‘भाग मिल्खा भाग’ ले मिल्खा सिंह को हुन् भन्ने जानकारी संसारलाई दियो | भर्खरै रिलिज भएको ‘मेरी कोम’ ले पनि मेरी कोमका बारे ठूलो चर्चा फैल्याएको छ | उक्त फिल्मका निर्देशक उमंग कुमार स्वयंले स्वीकारेका छन् कि फिल्मको निर्माण थाल्नुअघिसम्म उनलाई थाहा थिएन- को हुन् मेरी कोम भनेर | फिल्म र डकुमेन्ट्रीहरुमा त्यो शक्ति हुन्छ | इतिहासले बिर्सेका, बाटैमा छोडेका वा चिन्दै नचिनेका नायकहरुलाई दर्शकसामु पस्किदिन्छ | अनि तिनका जीवनकहानीले मान्छेलाई प्रेरित गर्छन् | तर हाम्रोमा एक त यस्ता ‘बायोपिक’ हरु बन्दै बन्दैनन्, केही गरी बनिहालेछन् भनेपनि गुणस्तरका हुनेमा ठूलो प्रश्नाचिह्न रहन्छ | गुणस्तरकै रहेछन् भने पनि प्रचारप्रसारको अभावमा ती हलमा कहिले लागे, कहिले उत्रे, हलवालाबाहेक अरु कसैलाई थाहा हुँदैन | त्यसैले, पुस्तकहरुको प्रचारप्रसारमा अहिले जुन आक्रामकता देखिएको छ, गतिला फिल्म निर्माण गर्नेहरुले पनि अब त्यसको अनुशरण गर्ने हो कि ? नत्र, त्यत्रो मेहनत गरेर बनाएको फिल्म कसैले थाहै नपाई दर्शकका आँखाबाट ओझेलमा पर्छ भने त्यो बनाएको के सार ? केही वर्षअघि भजनशिरोमणि भक्तराज आचार्यमाथि ‘आचार्य’ फिल्म बन्यो, समीक्षकहरुले ताली पिटे, केही पत्रपत्रिकामा राम्रा ‘रिभ्यु’ हरु पनि छापिए | तर दर्शकका रुपमा हामीले, अझ हामीजस्तो मोफसलमा बस्ने दर्शकहरुले, त्यो फिल्म लागेको-नलागेको केही पत्तो पाएनौं | यसप्रकार भक्तराजबारेको हाम्रो कौतुहलता उनीमाथि फिल्मै बनिसक्दा पनि मेटिन सकेन | सहिद भीमदत्त पन्तको जीवन पनि चाँडै पर्दामा आउँदैछ | आखिर उनी पनि हाम्रो समाजले उतिसारो नचिनेका नायक हुन् | आशा गरौँ, यसले चाँहि ती ‘बायोपिक’ हरुको हविगत नबेहोरोस् |
रुपचन्द्र विष्टका बारे केटाकेटी छँदैदेखि फाट्टफुट्ट सुनिआएको र पढिआएको त हो | तर उनीबारे आधिकारिक सामग्रीहरु भने केही पाइँदैनन् | हरेक वर्ष जबजब उनको स्मृति दिवस आउँछ, तबतब अखबारका भित्री कुनामा केही संस्मरणहरु चाँहि पढ्न पाइन्छन् | तिनै छोटा संस्मरणमा पनि अनेक लोमहर्षक कथा र रोमाञ्चक गाथा हुन्छन् रुप्चनको व्यक्तित्वका | किम्वदन्तीजस्ता लाग्ने ती किस्साहरु पढ्दा उनी कुनै दन्त्यकथाका नायकझैं प्रतीत हुन्छन् | तर यत्तिकैमा रुप्चनको जीवनदर्शन सर्वसाधारणसम्म पुग्न सक्दैनथ्यो, पुगेन | आज पनि तन्नेरी पुस्ता बिल्कुलै अनभिज्ञ छ उनका बारे | यसलाई चिर्न उनका बारे ‘फिचर फिल्म’ वा ‘वृतचित्र’ बनाउनैपर्थ्यो, जुन प्रयास ढिलै भएपनि भएको छ | झारा टार्ने किसिमले होइन, बरु पर्याप्त अध्ययन-अनुसन्धान गरेर साँच्चिकै सार्थक वृतचित्र बन्न सकोस् यो- आमदर्शकको यही कामना छ | अनि धारिलो मार्केटिङ अपनाएर भएपनि ऐतिहासिक व्यक्तित्व वा विषयवस्तुमाथि बन्ने यस्ता फिल्महरु हरेक सर्वसाधारणको पहुँचसम्म पुर्याउनैपर्छ |  
एक समय सहरका भित्ता र पर्खालहरु ‘थाहा’ ले पोतिएका हुन्थे | मलाई नमान्नुस्, मेरा कुरा पनि नमान्नुस्, मेरा विरोधीका कुरा पनि नमान्नुस्, थाहा पाउनुस्, सप्रेका देश थाहा पाएर सप्रे, बिग्रेका देश भ्रम परेर बिग्रे, भ्रमैभ्रममा बाँचेर बिग्रेको यो देशको एउटा नागरिक तपाईं बस् थाहा पाउनुस्, देश सप्रिन थालिहाल्छ- यस्तो भन्थे रे ‘थाहा’ आन्दोलनका यी प्रणेता | जनताको यही ‘थाहा’ पाउने अधिकार कुण्ठित हुनेगरी अदालत अवहेलनासम्बन्धी कालो विधेयक ल्याउन लागिएको यो समयमा रुप्चन झनै सान्दर्भिक बनेका छन् | आफ्नो जीवनका अन्तिम दिनमा बिमारीले थलिंदा उनले भनेछन्- ‘छाप्रेहरु उपचार गर्न जाने वीर अस्पताल हो, मलाई त्यहीं लैजा | त्यहाँ भर्ना नै गर्नु परेमा जनरल वार्डमा गर्, क्याबिनमा नगर् | क्याबिनमा सर्वसाधारण नेपाली बस्न सक्दैनन् |’ सिंगापुर र न्यूयोर्कलाई पानीपँधेरो बनाएका हाम्रा बिरामी नेताहरुका निम्ति योभन्दा कठोर व्यंग्य के होला ? हुनेखाने घरानाको भएर पनि जनता जगाउने राजनीतिमा होमिएका रुप्चनले जीवनपर्यन्त छाप्रेहरुकै राजनीति गरेको थिए, झुत्रेझाम्रेकै  लागि लडेका थिए | २०३७ र २०४३ सालको पंचायती चुनाव जितेका रुप्चनले राष्ट्रिय पंचायतका बैठकहरुमा गर्ने खरा भाषणले पंचायतका ताबेदारहरुलाई हायलकायल पारेको सम्झनेहरु अझैं पनि जीवितै छन् | हामी कसैका होइनौं, कोही हाम्रा होइनन्, हामी सत्य र ठीकका, सत्य र ठीक हाम्रो- यही भन्दै डुलीरहन्थे मैलो मान्छेका झुप्राहरुमा उनी | सरल भाषामा जनतामा कुरा राख्ने उनको एउटै ध्येय थियो- जनजागरण ल्याउने | तर ५० को दशकमा आइपुग्दा उनले हरेस खाइसकेका थिए | भन्थे रे- ‘मान्छेहरु जाग्दै जागेनन्, जे जति जागे, ती पनि जालीफटाहालाई नै काम लागे | मान्छेभित्रको मान्छे जगाउने काममा म असफलै भएँ |’ २०६२/०६३ को वसन्त-विद्रोहपछि अभूतपूर्व रुपले जागेका मान्छेहरु उनले देख्न पाएनन् | देख्न पाएको भए रुप्चन पक्कै खुशी हुन्थे होलान् | तर रुप्चनले चाहेजस्तो चेतनाभन्दा उत्तेजना पो बढेको हो कि यो कालखण्डमा भन्ने प्रश्न चाँहि विचारणीय छ |  

हुन त उनलाई बौलाहा भन्नेहरु पनि धेरै निस्के | उनको अद्भुत व्यक्तित्वका धेरै पाटाहरु अझ पनि रहस्यमै लुकेकाले मानिसहरुलाई उनका बारे जे भन्न पनि छुटजस्तो छ | तर पनि, उनी ढोंगी र पाखण्डी थिएनन् | उनको वचन र चरित्रमा कुनै विरोधाभाष थिएन | भित्र जे छ, बाहिर पनि त्यही देखाउँथे उनी | जनताप्रति उनको निष्ठा र समर्पण साँच्चिकै अद्वितीय थियो | सामाजिक सुधारमा उनले ठूलो योगदान दिएका छन्, विशेषगरी उनको कर्मथलो मकवानपुरमा | कृतज्ञ हुनुपर्ने यस्ता नायकप्रति इतिहास कृतघ्न हुन सुहाउँदैन | ‘रुदाने: द मिस्टेरियस रिबेल’ ले इतिहासमा कतै विलुप्त यी रुप्चनलाई उत्खनन गरेर जस्ताको तस्तै दर्शकसामू पस्कन सकोस्- शुभकामना ! 
Read More

Jun 27, 2013

Propagating the Mandelian trait


While the whole world has become one in wishing Nelson Mandela a speedy recovery, many know deep within that the time has finally come to let him have his final walk to freedom. Madiba, as he is lovingly called, is said to be under life support and is expected, sadly, to be declared dead anytime soon. Hope people won’t be foolish enough to label a death at 94 ‘an untimely death’!

As far as I remember, we had one chapter in our Grade 9 English book which carried a newspaper report “Mandela walks a free man”. It was stunning for us to read that a mortal can go to the lengths of being ready to get behind the bars for an astounding 27 years for the sake of his damn convictions! Then, we had not the slightest of idea about what values those convictions and principles held for the leaders like Mandela. Nonetheless, that chapter instilled in us a sense of respect to this legend. The same year perhaps, we had one short biography of him in our Nepali textbook. This used to be a recurring question in our exams, so we had no way but to mug it up. Hence grew our acquaintance with him a little further. And as a third and last event in the same year itself, I happened to read his autobiography ‘Long Walk to Freedom’. It was in fact recommended and given to me to read by my Social Studies teacher Narayan Sharma sir. I am not sure how much could I understand and grasp from that phenomenal book at that tender age, but what I am sure of is that it left the indelible mark in my heart. 

Of course, I had heard of him since my early childhood, but it was long before I could understand him in detail. For many years, I thought him merely as a valiant fighter against the racist Whites in South Africa. Merely, because I had seen many a freedom fighter back at home putting up a disappointingly dismal performance once ascended to power. During their struggle days against the despotic monarchs, our now-tainted leaders too were no less than Mandela. Their unflinching courage and determination were unquestionable. But no sooner did they assume the reins of power than their true colors revealed. In the same vein, I had revered Mandela for his personal sacrifice, but had little idea about how he fared as a ruler in post-apartheid South Africa. Now that I’ve got the idea, I can proudly say: Mandela is a hero for all the struggles he did to dismantle the racial segregation, but even more heroic is his courageous leadership that created the ‘rainbow nation’ during his stint as president. Though many leaders, here and elsewhere, seem like Mandela during struggles, they fail the crucial acid test as rulers. This is where the path starts to diverge from the real Mandela.

Mandela adopted a reconciliatory approach to his erstwhile perpetrators and formed the government in collaboration with them. His magnanimity averted the imminent civil war and rather created an environment where the blacks and whites could increasingly intermingle in the society with increased level of trust. That he chose not to seek vengeance but forgive the ones who kept him confined to the dark cells for three decades was the measure of his greatness. How he managed to address the crimes committed under apartheid through the formation of the 'Truth and reconciliation commission' is a lesson to be learned by post-conflict nations like Nepal. Add to that his unwillingness to run for a second term as president. He paved the path for the younger generation and showed this rare trait of a politician: unselfishness. He proved through his deeds, he was no power-hunger. Plus, even as an octogenarian, he didn’t afford to become a mute spectator to the ghastly social ills grappling the world. Through the Nelson Mandela Foundation, he was engaging himself in activism like in combating HIV/AIDS which is endemic in the African continent.


The current generation of African National Congress (ANC) leaders is facing the wrath of its people for all the mesh S. Africa is in today. Not only the ANC leaders, but leaders across the globe would do well to remember Mandela at this point and carry on his legacy by trying at least to emulate the Mandelian traits.
Read More

Dec 6, 2012

अम्बेडकरका तीन कुरा



               संदर्भ: ५७औं अम्बेडकर पुण्यतिथि 

सन् १९४९ नोभेम्बर २५ । भारतीय संविधानका जनक भीमराव अम्बेडकर तत्कालिन संविधानसभालाई आफ्नो अन्तिम सम्बोधन गर्दै थिए । त्यस अवसरमा उनले गरेका थुप्रै अर्थपूर्ण कुराहरुमध्ये मुख्यतः तीन कुराहरुको चर्चा लामो समयसम्म भइरहेको र भइरहने छ । आजको नेपालमा धेरै अघिका ती अम्बेडकर कुराहरु झन् बढी प्रासांगिक बनीआएका छन् ।


पहिलो, उनले हिंसात्मक राजनीतिलाई परित्याग गर्न आह्वान गरे । फिरंगीहरुको उपनिवेश बनेर रहनुपर्दा सडकमा निस्कने हाम्रो अधिकार थियो, अम्बेडकरले भनेथे, सायद बन्दूकै भिर्नु पनि हाम्रो अधिकार थियो । तर आज जमाना फेरिएको छ । स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक आजको भारतमा कुनै पनि गैरसंवैधानिक बाटाहरु सर्वथा अस्वीकार्य छन् । न्यायका निम्ति कानूनका बाटाहरु चौडा भएका बेला कानून हातमा लिन खोज्नु अराजकता हो, स्वतन्त्रता होइन- उनले स्पष्ट भनिदिए । अरुन्धती रोयहरुलाई असहमति जनाउने ठाउँ जति पनि छ । जमाना फेरिएको हाम्रोमा पनि उहिल्यै हो । तर तरुण दल, स्वयंसेवक ब्यूरो र यूथ फोर्सजस्ता अर्धसैनिक दस्ताहरु उमार्न हाम्रा नागरिक दलहरुलाई भ्याईनभ्याई छ । छापामा तिनका हर्कतहरु आजभोलि धेरै भो छापिएका छैनन् र ती सुस्ताएका झैं सुनिन्छन्, तर ढुक्क भए हुन्छ तिनका हर्कतहरु मिडियाका आँखामा छारो हाल्दै अविराम जारी छन् । मूल राजनीतिक नेतृत्वले नै हिंसालाई आफू फैलने अस्त्र बनाएर गुण्डाराज स्थापना गर्नपट्टि लागेपछि 'नयाँ नेपाल' जन्मेको हो । कुनै टाउके नेता छैन यहाँ, जसको उठबस कुनै डनसँग नहोस्, कुनै हतियार माफियासँग नहोस्, कुनै तस्कर गिरोहसँग नहोस् । परिणाम छोटा राजनहरुको क्रिडाभूमि बनेको छ मुलुक । मिलन चक्रे र दिपक मनांगेहरुको गोजीमा अटाएको छ सुरक्षा संयन्त्र । जोरी खोज्यो कि त रमेश खरेलको हाल ।

अम्बेडकरको दोस्रो घतलाग्दो कुरो थियोः व्यक्तिपूजाको । धर्मकर्ममा लागेकाहरुले त मूर्तिपूजा गर्छन्, आआफ्ना भगवानलाई ढोग्छन्; यो धर्ती छोडेपछि मोक्ष प्राप्त गर्ने लालसा हुन्छ उनेरुको । अम्बेडकर भन्छन्- तर राजनीतिमा भक्ति भनेको पतनको बाटो हो जसले अन्ततः अधिनायकवादमा पुर्याउँछ । यति भनिसक्दा नेपाली राजनीतिका शक्तिपुरुष प्रचण्डको याद किन नआओस् । उनको जति देवत्वकरण सायदै अरु कसैको भएको होला यो मुलुकमा । एक त कम्युनिष्ट पार्टीको लेपन, त्यसमाथि 'भूमिगत काल' भन्दै नेतृत्वको केन्द्रीकरणका नाममा हुनुसम्मको प्रचण्डपूजा गर्न लगाइयो त्यहाँ । जुनसुकै कार्यक्रम होस्, माक्र्स, लेनिनकै तहमा प्रचण्डको फोटो झुण्ड्याउनुपर्ने, लेख लेख्दा पनि प्रचण्डको कोटेसन उद्धरण गर्नुपर्नेदेखि लिएर मार्गनिर्देशक सिद्धान्तका रुपमा प्रचण्डपथ बनाउनुपर्नेसम्मका घटनाहरु प्रचण्डको उग्रव्यक्तिवादका द्योतक  हुन् । खुला राजनीतिमा आइसकेपछि त झन् प्रचण्डको सत्ता र शक्तिमोह बच्चाले पनि बुझेको कुरा हो । भैंसीपूजा गर्ने 'नास्तिक' प्रचण्डले आफूलाई हरतरहमा देवताका रुपमा प्रोजेक्ट गर्न रहर गर्नु उनले समातेको पतनको बाटो हो । जेरीझैं जेलिएको राजनीतिका गाँठा सुल्झाउन उनको भूमिकाको केन्द्रियतालाई नकार्न सकिन्न, तर हरेक संगीन मुद्धालाई आफ्नो व्यक्तिगत नाफाघाटाको आलोकमा हेर्ने प्रचण्ड चस्मा चाँडै नफेरिने हो भने त्यो अन्ततः सर्वहाराको अधिनायकत्वका नाममा प्रचण्डको हिटलरीकरण हुने असफल प्रयत्नमा टुंगिने छ । युद्धको ज्वालामुखीबाट निस्केको प्रचण्डले त्यो हदको मूर्खता गर्लान् भनेर मलाई पत्याउन भने मन लाग्दैन । बाबुराम भट्टराइको देवत्वकरणले सिकाएको पाठ प्रचण्डले मात्रै किन, हामी सबैले आत्मसात गर्नुछ ।

अम्बेडकरको अन्तिम कुरा थियो: राजनीतिक प्रजातन्त्रको आधार भनेकै सामाजिक प्रजातन्त्र हो । अर्थात् सामाजिक प्रजातन्त्रको बलियो जगबिना राजनीतिक प्रजातन्त्रको जग बलियो हुनसक्दैन । आजको नेपालमा पनि भोट हाल्न पाउने, बोल्नलेख्न पाउने राजनीतिक प्रजातन्त्र त छ । तर जनतामैत्री सामाजिक प्रजातन्त्र छैन । स्क्यान्डिनेभियन मोडेलको लोककल्याणकारी राज्य त परैको कुरा भो, बीपीले परिकल्पना गरेको 'प्रत्येक नेपालीलाई कम्तीमा आफ्नोजत्तिको हैसियतमा पुर्याउने' सपना पनि मेलम्चीजस्तै अलपत्र पर्यो । भारतमै पनि अकबेडकरको भाषणले ६ दशक कटाइसक्दा पनि सामाजिक प्रजातन्त्रको जग बस्न सकेको छैन । आर्थिक विकास चरमचुलीमा पुगिसक्दापनि नक्सलवादीहरु घटेका छैनन् । बेलाबेला दन्तेवाडाहरु जलिरहेका छन्, जन्तरमन्तरले आक्रोस पोख्न छाडेको छैन । नेहरु र बीपीको  समाजवाद विश्वबैंकसँग सट्टापट्टा भएको छ । औपचारिक प्रजातन्त्र फस्टाएको छ, त्यसको ठेक्का लिएका टाउकेहरुलाई हिउँदमा पनि दशैं नै लागेको छ । उता सामाजिक प्रजातन्त्र भने खोक्रिएको खोक्रिएकै छ, निम्न र मध्यमवर्गीय गरिखानेहरु ख्याउटिएको ख्याउटियै छन् ।  
     


Read More

Dec 4, 2012

पुष्पा मामुका नाममा



भताभुंग राजनीतिका कारण चारैतिर विरक्तिमात्रै छाएका बेला पुष्पा बस्नेतले सीएनएन हिरोको उपाधि जितेको सम्बन्धी समाचार पढ्न पाउनु गौरवको विषय हो । विविध कारणवश कारागारमा परेका आफ्ना बाबु वा आमासँगै जेलको कष्टकर जीवन भोग्न बाध्य पारिएका निरापराध केटाकेटीहरुलाई त्यहाँबाट निकालेर सहारा र माया दिदैं हुर्काउनेबढाउने पुष्पाको कामको जति नै तारिफ गरेपनि कमै हुन्छ । सधैं नकारात्मक खबरहरु सुन्न अभ्यस्त हाम्रालागि देशमा केही पनि राम्रा कामहरु भएकै छैनन् भन्ने लाग्छ तर धिमा गतिमै सही, यहाँ थुप्रै नेपालीहरु छन् जो चुपचाप आ-आफ्नो कर्मक्षेत्रमा निस्वार्थ तवरले दत्तचित्त भई खटिरहेका छन् । यसअघि पनि मानव बेचबिखनका विरुद्ध क्रियाशील अनुराधा कोइरालाले सोही उपाधि पाउँदा अन्र्तराष्ट्रिय मञ्चमा नेपालको शीर ठडिएको थियो । अहिले पनि अर्की चेलीले नेपालको नाम चम्काउँदैगर्दा भन्न मन लागेको छ -गतिला मान्छेहरु पनि प्रशस्तै छन् यो देशमा । जतिखेरसुकै राजनीतिलाई सत्तोसराप गरेर ‘यो देशमा कहिल्यै केही हुनेवाला छैन’ भनेर बम्कनुभन्दा आफ्नो क्षेत्रबाट जेजति सकिन्छ, इमान्दारीपूर्ण ढंगले गर्ने हो भने ‘गरेर के हुँदैन र’ भन्ने कुराको ज्वलन्त प्रमाण बनेकी छिन् पुष्पा ।
आफ्नो व्यक्तिगत लाभहानीको हिसाबकिताब नगरी अप्ठ्यारामा परेकाहरुको सेवामा जुट्नुजत्तिको पुण्य अरु केही छैन । पुष्पाले यही पुण्य कमाइन् । मात्र २१ वर्षकै खाउँखाउँ लाउँलाउँको उमेरमा उनले समाजसेवाको यो पवित्र क्षेत्रमा हामफालिन् । उनको जस्तो असाधारण निष्ठा, त्याग र लगन हामीजस्ता साधारण मनुवाहरुमा भेट्न गाह्रै होला, तैपनि जुन ढंगबाट संभव हुन्छ, आफू थोरै रित्तिएर अभावमा पिल्सिएकाहरुको भाँडो भरिदिन हामी तम्तयार हुनैपर्छ । ऐयासी जीवन जिउनसक्ने हैसियत भएको पारिवारिक पृष्टभूमिबाट आएका अनुराधा कोइराला वा पुष्पा बस्नेतहरु त्यसप्रकारको मोजमस्ती त्यागेर बिचल्लीमा परेका दीनदुखी मानिसहरुको सेवामा होमिन आइपुग्छन् भने हामी पनि आफूले सकेजति अरुको सेवामा आफूलाई पोख्न किन नसक्ने ? खाँचो छ त केबल इच्छाशक्तिको ।


सीएनएन हिरोका रुपमा उनले पाएको प्रसिद्धिले उनको कामको संसारैभरि प्रचार मात्रै भएको छैन, उनको बाटो पछ्याउन चाहनेहरुलाई पनि पुठ मिलेको छ । पुरस्कारस्वरुप उनले पाएको ठूलो रकमले उनको काममा पनि थप टेवा पुग्नेछ । अरु धेरै नानीहरु जेलको अन्धकारबाट पुष्पा मामुको उज्यालो छहारीमा भविष्य कोर्न आउनेछन् । यस मानेमा हामी सबै नेपालीहरु, जसजसले भोट गरेर पुष्पा मामुलाई सीएनएन हिरोको उपाधि चुम्न सघायौं, पनि बधाईका पात्र बनेका छौं । यो खुशीको पलमा यत्ति कामना गरौं- पुष्पा मामुको सेवाभाव टाढाटाढासम्म फैलिरहोस् ।        

Read More

Sep 20, 2012

तेन्जिंगलाई नबिर्सौं


                              
हालैका दिनमा केही विदेशी संचारमाध्यमहरुले एकजना बेलायती लेखकको प्रकाशोन्मुख कृतिको हवाला दिंदै सगरमाथाको चुचुरोमा तेन्जिंग नोर्गे नभई हिलारीले पहिले पाइला राखेका थिए भनी समाचार प्रकाशित गरेपछि ‘को पहिले’ भन्ने निरर्थक विवाद फेरि ब्युंतिएको छ । कृतिका अनुसार तत्कालिन समयमा नेपालमा बढ्दो औपनिवेशवादविरोधी भावनालाई साम्य पार्न मात्र तेन्जिंगलाई हिलारीको समकक्षमा उभ्याइएको हो । यसबाट तेन्जिंगको योगदानको नजरअन्दाज त भएको छ नै, ठुलो जोखिम मोलेर विदेशी पर्वतारोहीहरुलाई साथ-सहयोग दिने गरेका शेर्पाहरुप्रतिको पूर्वाग्रही दृष्टिकोण पनि प्रकट भएको छ ।
वास्तवमा, संसारकै सर्वोच्च शिखरमा टेकेर मानव विजयको झण्डा फहराउन यी दुवैजना सन् १९५३ मा जोन हन्ट नेतृत्वको आरोहण दलमा संगै सरिक भए र संगै पाइला टेके । उनीहरुका लागि त्यो ऐतिहासिक आरोहण पहिलो, दोस्रो वा तेस्रो हुनका लागि खेलिएको दौड प्रतियोगिताजस्तो थिएन, त्यसैकारण पत्रकारहरुले सोधेर कहिल्यै नअघाएको त्यही ‘को पहिले’ भन्ने प्रश्न उनीहरुले सकेसम्म पन्छाइरहे । एउटा टीमका रुपमा त्यो हाम्रो संयुक्त आरोहण थियो भनेर दुवैजनाले भनिरहे, तर मान्छेहरुले जिज्ञासा राख्न नछाडेपछि अन्तत: तेन्जिंगले मुख फोरे-मभन्दा अगाडि हिलारी थिए । त्यो बहसको अन्त्य त्यहीं हुनुपथ्र्यो, तर आजसम्म पनि मान्छेहरुलाई त्यही विषय उचालिरहन मन पर्छ ।
आखिर, दुई चार सेकेण्ड अन्तरालको त्यो विषयका पछाडि हात धोएर लाग्नुभन्दा तेन्जिंगको बारेमा सही सूचना सम्प्रेषण गर्नतिर मिडिया लाग्नुपर्ने हो । बाहिरी जगत्मा सगरमाथा भन्ने बित्तिकै हिलारीलाई नै सम्झने गरिन्छ, तेन्जिंगबारे कि त उनीहरुलाई थाहै हुंदैन, थाहा भइहाले पनि एउटा शेर्पा भरियाका रुपमा मात्र लिने गर्छन् उनीहरु । उत्तिकै हकदार हुंदाहुंदै पनि हिलारी र जोन हन्टलाई मात्र बेलायती महारानीबाट नाइटहुड प्रदान गर्ने काम भयो, तेन्जिंग यसबाट वञ्चित भए । नेपालले पनि उनलाई सम्मान दिएर यहां राख्न सकेन । उल्टो भारतीयहरुले हाम्रो तेन्जिंग भन्दै गर्व गरे, प्रशस्त सुविधाहरु दिएर त्यतै राखे र अन्त्यमा तेन्जिंग भारतका जस्तै भए ।
हामीले तेन्जिंगलाई आफ्नो बनाउन त सकेनौं, कम्तीमा उनको योगदानको अवमूल्यन गर्न खोज्ने हर्कतहरु त रोक्नसक्छौं । तेन्जिंगका साथै यहांका अन्य साहसी शेर्पाहरुलाई सहयात्री नभई भरिया र गाइड मात्र ठान्ने मनोवृतिलाई झापड त दिन सक्छौं ।
                                                  
                                                   


Read More

Aug 9, 2012

सलाम डा. गोविन्द केसी


                        
गत साता कान्तिपुर टेलिभिजनमा प्रसारित दिशानिर्देश कार्यक्रममा डा. गोविन्द केसीलाई सुनिसकेपछि मनमा विभिन्न किसिमका तरंगहरु सृजना भए । लाग्यो, आजको युगमा पनि यस्ता मान्छेहरु रहेछन् जसले कहिल्यै पनि आफ्नो केही भनेन बरु हरदम अरुकै लागि खटिरह्यो । बिरामीहरुको निस्वार्थ सेवामा जति आत्मसन्तुष्टि अरु केहीमा हुंदैन चिकित्सकहरुका निम्ति । तथापि अक्सर चिकित्सकहरुका निम्ति सन्तुष्टिको अन्त्य त्यहीं हुंदैन । मिठो खाने, राम्रो लाउने, आफ्नो बारेमा पनि सोच्ने, सक्दो मोजमस्ती गर्ने यी सबै सन्तुष्टिका अरु स्रोतहरु हुन् । यस मानेमा डा. केसी अरुभन्दा भिन्न छन् किनकि उनको जीवनदर्शन नै भिन्न छ । बिहान भालेको डाकोसंगै बिरामीको सेवामा हाजिर हुनु र निष्पट्ट रात नपर्दासम्म अविराम डटिरहनु उनको दैनिकी हो र यसैमा उनलाई गहिरो आत्मसन्तुष्टि छ । आइप्याड र आइफोनमा अभ्यस्त आजको पुस्तालाई पत्याउनै मुस्किल पर्छ, उनीसंग एउटा सामान्य मोबाइल पनि छैन । महिनैपिच्छे सपिंग मल चाहारिरहनुपर्ने यो समयमा उनी पांच वर्ष पुरानो सर्ट प्यान्टले काम चलाइरहेका छन् । सादा जीवन उच्च विचार भनेर हामीले पढ्यौं मात्र, उनले चरितार्थ गरेर देखाइदिए । विजयकुमारसंगको त्यो कार्यक्रममा छर्लंगिएको उनको नम्रता, विनयशीलता, सादापन अनि सेवाभाव देखेर कोही पनि प्रभावित नभइरहन सक्दैन । उनी क्लिीनिक धाउंदैनन्, बरु वर्षको दुईपटक जिल्ला दौडाहामा निस्कन्छन् र जिल्लाका गरिब गुरुवाहरुको जांचपड्ताल र उपचार गर्छन् । त्यहांका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने र आफ्नो ज्ञान बांड्ने काम पनि त्यसैबेला गर्छन् उनी । कतै बाढीपहिरो वा भूकम्प आउन पाएको हुंदैन, उनी दौडिहाल्छन् र स्वयंसेवी बनेर पीडितहरुको घाउमा मल्हम लगाइदिन्छन् । पैसालाई नै सबथोक ठान्ने हाम्रो समाजमा उनी यस्ता अपवाद हुन् जसले जीवनभर अरुको निस्वार्थभावले सेवा गरेरै जिन्दगीको मजा लुट्न जानेको छ । तर दुखको कुरा यस्ता निस्वार्थी, कर्मठ रहेको त्रिवी शिक्षण अस्पताल भने सीमित लोभीपापीहरुको कारण भद्रगोल अवस्थामा छ । जनताको सेवामा होइन, पैसाको बिटोमा विश्वास राख्ने नेताहरुले अन्य क्षेत्रहरुमाझैं त्रिवी शिक्षण अस्पतालमा पनि राजनीतिक भागबण्डाको कुसंस्कार छिराएर यसलाई थिलथिलो बनाइसकेका छन् । राजनीतिक भागबण्डाको यही घृणित संस्कारको अन्त्य गर्नका लागि केहीअघि डा. केसी अनसन पनि बसेका थिए । उनीजस्तो स्वच्छ छवि र अग्लो कद भएको मानिस नै आमरण अनसन बसेपछि बल्लतल्ल सरकारले वरिष्ठताका आधारमा नयां डीन नियुक्त गरेको हो । 
                                             डा. केसी जसको अनसनले अन्तत: झुक्यो त्रिवी

जेहोस्, डा. केसी कतिपयका लागि मिथक लाग्नसक्छन् । तर पनि उनको व्यक्तित्वको थोरै अंश मात्रै पनि अनुशरण गर्न सके हाम्रो जीवन धेरै सार्थक हुनेथियो । भीआइपीका नाममा कानूनै बनाएर जीवनपर्यन्त भएभरका सुविधा हसुर्न खोज्ने नेताहरु भएको देशमा डा. गोविन्द केसीजस्ता मान्छे पनि छन्- गर्व गर्न लायक कुरा हो यो । सलाम डा. गोविन्द केसीलाई ।

                                                   

Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong