........................................................................with words, with issues!!!

Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts

Jun 12, 2015

सुशील कोइरालाको विनिर्माण

सञ्चारमाध्यममा निरन्तर नालायकी, निरीहता र निकम्मापन नै सुशील कोइरालाको प्रतिकसरह छाइरहेका बेला अमित ढकाललगायतका केही सञ्चारकर्मीहरुले कोइरालाको व्यक्तित्वको विनिर्माण गर्ने प्रयास गरेका छन् | ‘जस्तोसुकै होस् तर एक थान संविधान अब आउने नै भयो’ भन्ने आशा सञ्चार हुँदै गरेको यो बेला भइरहेको यो प्रयासलाई भद्दा गुणगान गाएको भनेर कतिपयले गरेको आलोचनाभन्दा फराकिलो फ्रेममा हेरिनुपर्छ |

सुरुदेखि नै कोइरालाको छवि एउटा कमजोर नेताका रुपमा बनाइयो | तर अहिले आएर प्रष्टसँग भन्न सकिन्छ- दिल्लीका देउता नगुहारिकनै स्वदेशी तागतका भरमा संविधान निर्माणमा निर्णायक सहमति गर्नसक्ने नेतालाई कमजोर अनि नेतृत्वक्षमता नभएको नेताका रुपमा परिभाषा गरिन्छ भने उनी कमजोरै नेता हुन् | हुनत २०६९ जेठमा पहिलो संविधानसभा विघटनको वरिपरी भएको एसडी मेहता प्रकरणताका नै भारतीय राजदूतलाई झपारेर परेको बेला निर्णय लिनसक्ने आँट उनले देखाइसकेका थिए | तर हामी भने मिडियाले निर्माण गरेको उनको छविबाट यति वशीभूत भयौं कि ‘निर्णय नलिनु पनि त निर्णय नै हो’ भन्दै उनलाई लगातार गिज्याइरह्यौं | हामीले बडो आरामदायी ढंगले यो पनि भुल्यौं कि उनकै नेतृव एवं व्यवस्थापनमा काङ्ग्रेस देशको सबैभन्दा ठूलो दल बन्न सफल भयो |

उनको सादगीपूर्ण जिन्दगी र पदप्रतिको अनाशक्ति पहिल्यैदेखि प्रचारमा त थियो तर त्यसलाई उनको फगत व्यक्तिगत गुण ठानेर सफल नेतृत्वका लागि त्यो गौण पक्ष रहेकोमा जोड दिइयो | सन्तनेता किसुनजीको सादगीपनको चर्चा हुँदा छाता, सुराही र ट्यांका सम्झिने नेपालीहरु सुशीलदाको स्मरण गर्दा तीनवटा मोबाइल सेट सम्झन थालेका थिए | तैपनि मानिसहरु भन्थे- सादा जीवन भएर मात्रै के गर्नु, देश चलाउने कुनै विचार र भिजन नै छैन | तर आज आएर देखियो- संविधान लेखिसकेपछि छोडिदिन्छु भनेर आफैंले सीमा तोक्दै बालुवाटार छिरेका कोइरालाको यही गुण नै सहमतिको वातावरण तयार गर्ने प्रधान पक्ष बन्यो | ‘क्रोनिक किड्नी डिजिज’ का बिरामी केपी ओलीलाई सिंहदरबारमा फोटो झुन्ड्याउने रहर पूरा गर्ने हतारो जो थियो |

संसदीय कालका दिव्य बाह्र वर्षमा सांसद किनबेच र प्राडो-पजेरोका हदै बदनाम अभ्यास देखेका जनतामा प्रत्यक्ष निर्वाचित कार्यकारीप्रतिको आकर्षण बुझ्न सकिने कुरा हो | तर संसदीय प्रणालीको सम्पूर्ण शक्ति संसदभित्र भ्यागुताको धार्नी पुर्याउनैमा ठीक्क हुने कुरा भलिभाँती देखेभोगेका कोइराला संसदीय प्रणालीको सबैभन्दा उग्र पक्षधर रहिरहे | उसो त उनलाई वामपन्थीहरुले गर्नेजस्तो दर्शन र सिद्धान्तका लम्बेतान व्याख्याहरुमा कुनै रुचि छैन | तर संसदीय व्यवस्था नै लोकतन्त्रको मुटु हो भनेजसरी उनी त्यसका पक्षमा सतिसालझैं ठिंग उभिइरहे | फेरि चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लेखेर जनतासित भोट मागेको एमालेले यो मुद्धा छोडिसकेको र एमाओवादीले पनि शासनप्रणालीभन्दा संघीयतामा मोलमोलाई गर्ने इच्छा देखाएपछि न त जनतासँग कुनै विकल्प बाँकी रह्यो, न त सुशील कोइरालाले आफ्नो त्यो आस्थाका लागि लड्नु नै पर्यो | उसै पनि माओवादीहरुले बाँडेका आकर्षक आश्वासनहरु फोस्रा ठहरिएपछि जन्मिएको विकर्षण र विरक्तिले जनतालाई यो वा त्यो शासनप्रणाली भनेर भिडिराख्न खासै जाँगर चलेन | यही परिस्थितिलाई ‘क्यास’ गर्दै संविधानमा पुरानै असफल व्यवस्था थोपरेर सहमति गर्न उनी सफल भएका हुन् | संघीयताको सवालमा भने यो धेरैलाई अब घाँडो नै लागेको भएपनि यसलाई तिलाञ्जली नै दिने साहस भने भावी प्रधानमन्त्री केपी ओलीले पनि गर्न सक्दैनन् | अन्तरिम संविधानमा उल्लेखित संघीयतालाई संस्थागत गरेर कोइरालाले स्पष्ट सन्देश दिइसके- त्रिशुली अब भैरवकुण्डतिर फर्किन सक्दैन |

खानदानी रोगका रुपमा गुटबन्दी भएको दलमा उनीमाथि लगाइएको फत्तुर थियो- भोजनमण्डली र भजनमण्डलीको घेराभन्दा माथि उठ्न यी कहिल्यै सकेनन् | आज उनको मन्त्रीमण्डलका काङ्ग्रेसी अनुहारहरु हेरिसक्दा पनि त्यो फत्तुरमाथि हामीले पुनर्विचार सम्म गर्न सक्दैनौं भने अरु थप केही नसोचौं, मिडियाले निर्माण गरिदिएको छविलाई नै बोकेर हिंडिराखौं |  

संसदीय कालमा हदै बदनाम भएका गिरिजाप्रसाद कोइरालालाई भावी पुस्ताले भने अनेकौं जोखिम मोलेर ऐतिहासिक शान्तिप्रक्रियाको थालनी गर्ने र देशलाई गणतन्त्रमा लैजाने ऐतिहासिक नेताका रुपमा उच्च मुल्यांकन गर्ने निश्चित छ | तिनै गिरिजाप्रसादको छत्रछाँयामा हुर्केका सुशील कोइराला पनि संविधान लेखनको महत्वपूर्ण कार्यभार पूरा गर्ने नेताका रुपमा इतिहासमा अब सम्झिइरहने छन् | भनिरहनु परोइन, इतिहासको अदालत ऐतिहासिक काम फत्ते गर्ने नेताहरुका कमी-कमजोरी केलाउनपट्टि खासै रुचि राख्दैन | नरेन्द्र मोदी, नितिश कुमार, ली क्वान यु वा देङ सियाओ पिङजस्तो ‘विकास पुरुष’ बन्न अरु कोही आउला/नआउला, तर भीमराव अम्बेडकरकै तहमा ‘संविधान पुरुष’ मा भने उक्लिसके उनी |

अक्सर परिस्थिति निर्णायक हुने भएपनि पात्रको भूमिकाले केही प्रभाव पारेन भन्नु आफैंले आफैंलाई ढाँट्नु मात्रै हो | भुकम्पपछिको वातावरणमा सुशील कोइरालाको राजनीतिक परिपक्वताले सहमति सम्भव भएको हो भनेर भन्न केही कालका लागि विसंगत सुनिएपनि अब लजाउनु भने फिटिक्कै पर्दैन | हो, प्रचण्डले पनि त्याग गरेकै हुन्, उनको भूमिकालाई कम आँक्न पक्कै मिल्दैन |  
निष्ठा, त्याग र समर्पण मात्रै सुशीलदाका पुँजी होइनन् भन्ने कुरा सायद हामीले आज पहिलोपटक विचार गर्दैछौं | खासमा उनको क्षमता परिक्षण नहुँदै ‘कमजोर’ को पगरी गुथाइदिन हामीले हतारो गरेछौं | जुन पृष्ठभूमिमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए, त्यसले उनलाई स्पष्ट कार्यादेश दिएको थियो | हलिउडको हिरो हुने सपना बुनेका यिनले रत्ति बाटो नबिराई अर्जुनदृष्टिका साथ लागे र त डेढ वर्ष नहुँदै संविधान निर्माणका हिरो भएर निस्कन सके | यसबाट उनको बाहिर बनेको व्यक्तित्वले यथार्थसँग कति मेल खाँदो रहेछ भन्ने कुरा घामभन्दा पनि छर्लंग भएको छ |

राज्यसञ्चालनमा कहिल्यै कुनै भूमिका नखेलेका सुशीलले पहिलोचोटिमै देखाएको ‘खतरनाक पर्फर्मेन्स’ लाई सलाम नगरी सुखै छैन | र यो पनि नसोची सुख छैन कि वृद्ध र अशक्त नेताले यति गर्न सक्छ भने गगन थापा र उज्ज्वल थापाजस्ता लायकका युवाहरुबाट झन् कति हुनसक्ला ?


अरु कुराहरु जति नै लुकाएपनि राजनीतिज्ञहरुले आफ्नो ‘पोलिटिकल एम्बिसन’ भने हम्मेसी लुकाएर राख्न सक्दैनन् | केपी ओली अबको प्रधानमन्त्री बन्ने दाउमा छन् | बाबुराम भट्टराईका आँखा पुनर्निर्माण प्राधिकरणतिर सोझिएका छन् | प्रचण्ड जसरी भएपनि आफ्नो पार्टीलाई सरकारमा छिराउन लागिपरेका छन् | विजय गच्छदार सधैंझैं उपप्रधानमन्त्री त मेरै हो भनेर मुख बाउँदै बसेका छन् | संविधानमा जुटेको सहमतिका पछिल्तिर सबैका स्वार्थहरुको यही मिलन पनि एउटा कारण थियो | तर सुशील कोइरालाका लागि चाँहि के छ त ? के फाइदा देखेर उनी सहमतितिर लम्किए ? सुशीलको विनिर्माण गर्ने प्रयासलाई चाटुकारिता देख्नेहरुबाट उत्तरको अपेक्षा छ |
Read More

Jan 12, 2015

कमरेड ओलीका नाममा नेपाली फुकुयामाको पत्र


कमरेड केपी शर्मा ओली,
सर्वप्रथम त लाखलाख बधाई छ | जतिजति माघ ८ को साइत नजिकिंदै छ, त्यतित्यति दिन दुइगुना, रात चौगुनाको दरले हजुरको ख्यातिको ग्राफ जो उक्लँदै छ | पछिल्लोपटक ‘जानुस्, युपी/बिहार पनि मधेसमै मिसाउनुस्’ भनेर मधेशीका गालामा दह्रो झापु हान्स्यो | त्यसको झट्काले कृतकृत हुँदै यो चिठी नलेखी बस्नै सकिनँ |

ओली कमरेड, एमाले आज आएर बल्ल एउटा निर्णायक पार्टी बन्न सकेको छ | माकुने र झलनाथको पालामा जहिले पनि मान्छेहरु ‘ढुलमुले’ र ‘पेन्डुलम’ भनेर बिल्ला गर्थे | त्यसको कुनै प्रत्युत्तर मसँग हुन्थेन | पार्टी भनेको त कि काङ्ग्रेस हो कि चाँहि माओवादी नै हो- जुनसुकै चियापसल र भट्टीपसल पुग्दा पनि मान्छेहरु यही भट्ट्याउँथे | एमाले भनेको त सिर्फ पुच्छर हो- कहिले कसको पछि कहिले कसको पछि | एकमनले सोच्थें- ठीकै भन्दैछन् मान्छेहरु | कमसेकम आफ्नो एउटा ‘स्ट्याण्ड’ त हुनुपर्छ | ‘मध्यमार्गी’ भनेर माकुनेले जति बचाव गर्दापनि मेरो चित्त बुझ्थेन | हो, त्यसैबेला लागेको हो मलाई- एमालेमा जे हो, कमरेड खड्गप्रसाद ओली नै हो | मेरो अनुमान आज सत्य सावित भएको छ | लौ हेर्स्योस्, आज देशको निर्णायक शक्ति बनेर उभिएको छ एमाले | कांग्रेसलाई समेत भित्तैमा धकेल्सेको छ हजुरले |

कोही माइकालालको हिम्मत छ आज एमालेलाई ढुलमुले भन्न ? सक्छ कसैले हिंजडा भन्न ? म गर्वसाथ ठोकेर भन्छु- पार्टी अध्यक्षमा हजुरको आशनग्रहणसँगै एमाले मर्दहरुको पार्टी भएको छ | एमाले चट्टानी अडान भएको पार्टीमा फेरिएको छ | आज ढुलमुले कोही छ भने त्यो सिर्फ कांग्रेस हो, माकुनेको पुरानो एमालेभन्दा पनि ढुलमुले | हजुरले जे भनिसिन्छ, सुको बा ले त्यसैमा खुरुखुरु सही धस्दिनुहुन्छ | जे अर्हाउनुहुन्छ, लुरुलुरु आज्ञा शिरोपर गरिदिनुहुन्छ | अनि प्रचण्डलाई भेट्दा उता पनि त्यसैगरी टाउको हल्लाउँदै ‘विन विन हुनुपर्छ’ भन्छन् रे बूढा | तर ढुक्क होइसियोस्, कांग्रेस हाम्रै गोजीभित्र छ | अब देशको एकल सत्ता र भविष्य एमाले नै हो र त्यो एमालेको एकल निर्विकल्प नेता हजुर मात्रै हो |

ओली कमरेड, भर्खरै मैले बजारको सानोतिनो सर्भे गरेको थिएँ | पत्तो के लाग्यो भने बजारलाई ‘पहिचान’ शब्दसित एलर्जी छ र ‘पृथ्वीनारायण’ सँग चाँहि भयङ्कर प्यार छ | अब भन्स्योस्, ओली ब्राण्डको राष्ट्रियता बिक्नलाई योजस्तो अनुकुल बजार अरु केही हुन्छ र कमरेड ? संविधानसभा- १ को म्यान्डेटलाई भाग २ को म्यान्डेटले पुरै ‘डाइल्युट’ गरिसकेको छ, माओवादी र मधेशवादीजस्ता बादीहरु यो जुनीभरि उठ्नै नसक्नेगरी पछारिएका छन् | भन्ने नै हो भने यो त हाम्रो स्वर्णयुग हो | फेरि सहरका युवा तान्ने सुत्र ज्यादै सजिलो छ कमरेड | पृथ्वीनारायण शाहको गुणगान गाइदिनुस्, पृथ्वीनारायणमाथि औँलो ठड्याउनेहरु ठाडै विखण्डनकारी हुन् भनेर आफ्नो ट्रेडमार्क शैलीमा उखान-टुक्का मिलाउँदै लय हालेर भनिदिनुस्, एकछिनलाई भएपनि दौरा-सुरुवाल र ढाकाटोपी भिरेर हामी नेपाली हौँ भनेर गीत गाइदिनुस्, बस् | फेसबुक र ट्विटरका भित्ताहरु हजुरको जयजयकारले रंगीएनछन् भने मलाई भन्नुहोला | सारा सहर उर्लेर थपडी बजाएनछ भने मलाई भन्नुहोला |

अब हजुरले अरु केही गर्नैपर्दैन, माघ ८ गते पेलेरै संविधानको किताब विमोचन गर्दिनुपर्छ | यहाँको एलिट वर्ग, जो हजुरको जबर्जस्त फ्यान हो, संविधानको तिर्खाले काकाकुल छ | उसलाई पहिचान चाहिएको छैन, अल्पसंख्यकको अधिकार उसको मुद्दा होइन, समावेशितासँग उसको सरोकारै छैन | उसलाई त सिर्फ माघ ८ मै त्यो किताब चाहिएको छ | संविधानका ऋचाहरु, धारा-उपधाराहरु, त्यसका अक्षर, व्याकरण र भावार्थ होइन, संविधान भन्ने किताबको खोल चाहिएको छ | जब हाम्रो ‘कोर कन्स्टिच्युन्सी’ लाई नै बाल-मतलब छ भने त्यस्ता जैरे अन्तर्वस्तुका विषयमा हुने वार्तामा किन गैसिन्छ हजुर ? ओठ-तालु सुकेको भोको जनता नै हाम्रो ‘कन्स्टिच्युन्सी’ हो जसरी नदुखेको कपाल किन दुखाइसिन्छ कमरेड ? त्यो भोको जनतालाई त खासमा मतलब पनि छैन | उसलाई हजुर आए के, त्यो प्रचण्ड आए के | संविधान आए के, नआए के | ऊ त आखिर भोकै जोतिने, भोकै खाने अनि भोकै सुत्ने जन्तु न हो | बस् आज खान पाए भोलिको छाक कसरी टार्ने- तिनीहरुको चिन्ता त्यत्तिवरिपरी छ | त्यसैले आफ्नो ‘कोर कन्स्टिच्युन्सी’ को चिन्तालाई सुन्स्योस् | उसलाई ‘डिक्टेटर’ सँग लगाव छ र हजुरको अनुहारमा त्यो ‘डिक्टेटर’ खोज्दै छ | आशा छ, हजुर ‘रेडी’ होइसिन्छ |  

सेना लगाएर माघ ८ गते त्यो किताब विमोचन गर्स्यो भने नि:सन्देह, जनताले सुकोलाई होइन हजुरलाई ‘क्रेडिट’ दिनेछन् | त्यसको भोलिपल्टै हजुरले बालुवाटारमा कालो बोको ढाले हुन्छ | अनि जो जो त्यो किताब जलाउने अक्षम्य अपराध गर्न आउँछन्, ती सबलाई जाक्न महेन्द्र पुलिस क्लब छँदैछ | उठेका मुट्ठीहरुलाई कसरी हत्कडी लगाउनुपर्छ, म बबुरोले सिकाइराख्नुपर्ने कुरो होइन | विस्तारै मुट्ठीहरु झर्नेछन् र सब आफसेआफ ठीक हुनेछ | हजुर त्यसपछि ‘डिक्टेटर’ नै होइबक्सिनुपर्छ, धरोधर्म |

जसरी सन् १९९० वरिपरी विश्व समाजवादी धुरीमा आँधीबेहरी आयो, हजुरको शानदार आगमनसँगै यहाँका समाजवादीहरुमा पनि ठूलै सुनामी आएको छ कमरेड | ‘यो इतिहासको अन्त्य हो’ भनेर घोषणा गर्नका निम्ति फुकुयामाको भेषमा मै छँदैछु क्यारे, कि कसो कमरेड ? हाम्रो राजनीतिको ‘मेन हिरो’ आखिरमा कमरेड ओली नै हो भन्ने तत्वबोध आजका मितिसम्म आइपुग्दा सबैलाई भैसक्यो | हुनपनि यस्तो कुनै ओली-डायलग छैन बजारमा जसले हिट नखाएको होस् | पहिलो संविधानसभा किन विफल भएको थियो, जनताले बल्ल पत्तो पाउँदै छ | आखिर त्यहाँ यही हिरोको अभाव थियो | हिरोबिनाको फिल्म सफल हुन्थेन, भएन | हिरोलाई हराएर भिलेनलाई जिताउँदाको दण्डस्वरूप यत्रो वर्षसम्म संविधानको तिर्खाले छट्पटिनु पर्यो जनताले | बल्ल चेत फिरेको छ यो ग्वाँच जनताको |
सुन्दैछु, बादीहरु आजकल सडक तताउँदैछन् के के जाति मागेर | स्वाँठहरु बुझ्दैनन् कि ओली कमरेडको रजगजका बेला सडकमा उफ्रेर केही हुनेवाला छैन | एक-तिहाई पनि नभएकाहरु बाटामा जति कराए कराउन्, हजुरको रौँ पनि हल्लिनेवाला छैन | बाघसित झिंगाले टक्कर लिन खोजेर पनि कहीं हुन्छ र कमरेड ? माफ गर्सिएला, हजुरलाई टुक्कामा भन्न खोज्नु इन्द्रका अगाडि स्वर्गको बयान जस्तै हो, त्यैपनि आफूलाई रोक्न सकिएन | 

वास्तवमा त्यो किताब-विमोचनको अधैर्य प्रतिक्षा गरिरहेको हाम्रो कन्स्टिच्युन्सीले प्रतिक्षा गरिरहेको अर्को कुरा पनि छ- माघ ८ पछि हजुरको बालुवाटार-प्रवेश | एमालेको कमाण्ड लिएको वर्षदिन नपुग्दै एमालेलाई निर्णायक शक्ति बनाइदिने हजुरजस्तो बेजोडको राष्ट्रवादी अनि विरलाकोटी हिरोले पुरा देशैको कमाण्ड सम्हालेपछि झन् यो देशलाई कहाँ पुर्याइसिने होला- सम्झेर मात्रै पनि उनीहरु उत्तेजित छन् | सबैका आ-आफ्नै अपेक्षा होलान्, मेरो चाँहि यतिमात्र छ कि कमरेड, कालो बोको ढालेपछि बालुवाटारबाट पहिलो काम मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिने हुनुपर्छ | बहुलाहरु अनसन बस्लान् भनेर त पुरानो ढुलमुले एमाले डराउँथ्यो, नयाँ एमाले डराउनुहुँदैन | आखिर अधिकारी बूढा अनसन बस्दाबस्दै जिप्टिए, आकाश खस्यो र कतै ? त्यसैले कमरेड, मनमोहन मेडिकल कलेजमार्फत स्वास्थ्यक्षेत्रमा क्रान्ति ल्याउनुपर्छ | बहुसंख्यक जनतालाई त्यहाँ पढ्न र उपचार गर्न लगाएर मुलुककै कायापलट गर्नुपर्छ |


बितेको दशकमा भयानक दुर्घटनाहरु घटे कमरेड- हजुर राजनीतिको ब्याकबेन्चमा बस्दिनाले | गणतन्त्र रे, संघीयता रे, समावेशिता रे, शक्तिको केन्द्र सार्ने कुरा रे, धर्मनिरपेक्षता रे ! धत्, हजुरले उतिखेरै एमाले हाँक्न पाइसेको भए यस्ता उट्पट्याङ चीज केही हुन्थेनन् | देशको ‘ड्राइभिङ सीट’ मा हजुर भइदिएको भए न त २०५२ मा गुलेली खेल्ने केटाहरुले बन्दुक उठाउने दुस्साहस गर्थे, न त २०६३ मा बेकारको ‘वसन्त क्रान्ति’ नै हुन्थ्यो | न २०६४ मा धुले-सिँगानेहरुले चुनाव जित्नसक्ने धृष्टता नै गर्न सक्थे | माकुने र झल्लुप्रसादहरुले जङ्गलबाट आएका बादी अनि मधेशका बादीहरुलाई पुल्पुल्याउनु पुल्पुल्याए | हो कमरेड, धेरैथोक बर्बाद भएको छ यसबीच | तर चिन्ता नलिस्योस्, मधेशीहरुलाई युपी/बिहारसित जोडेर चीजहरुलाई ‘ब्याक’ गर्ने साहसिक कदम थालिस्याछ | धेरै सहरियाहरुले भन्न चाहेको तर नसकेको मनको कुरालाई फ्याट्टै वाणी दिएर उनीहरुको वाहवाही लुटिस्याछ | गर्नुपर्ने कुराहरु धेरै छन् | बस्, एकपटक सत्ताको लगाम त हातमा आओस् ! दुलाबाट फुत्त निस्केर आफैंले आफैंलाई तिलस्मी नेता ठानेका प्रचण्ड त सिर्फ एउटा जोकर हुन्, अबको भावी प्रधानमन्त्री हजुर नै हो, कम्तिमा आगामी एक दशकसम्म | 
Read More

Nov 27, 2014

मोदीको गोप्य काठमाण्डौं डायरी

उसो त प्रधानसेवकका हैसियतमा यो मेरो दोश्रो नेपाल भ्रमण हो | ४ महिनाअघि पनि यहाँ आएर जादुमयी रुपमा सबैलाई मन्त्रमुग्ध पार्देको थिएँ | संसद भवनमा दिएको भाषणमा बजेको तालीको गड्गडाहट त मैले अहिलेसम्म पनि अनुभव गर्दैछु  | तर मेरो पूजा हुन थालेको चाँहि म प्रधानसेवकमा नियुक्त भएदेखि नै हो | भन्ने नै हो भने मेरो अन्तस्करणमा लाग्छ, यो मेरो आफ्नै गुजरात राज्य हो | यहाँबाट मैले चुनाव लडें भने शतप्रतिशत मत पाउनेमा म शतप्रतिशत ढुक्क छु | बरु भारतमाताकै केही राज्यले धोका देलान्, यो नेपालले दिन्न | यसमा मलाई रत्ति शंका छैन |


त्यसैले नेपाल आउँदा केही न केही पाहुर ल्याइदिइरहन मन लाग्छ | के गर्नु, आफ्नै स्यानो भाइकोजस्तो माया लाग्छ | गएको पालि एक खर्बको सहुलियत ऋण दिएँ, यसपल्ट हेलिकप्टर ल्याइदिएको छु | खेलौना होइन, साँच्चैको | तर हरेकपटक म यहाँ आउँदा एउटा विद्रूप नाटक मन्चन हुन्छ | सिंगारपटार र बढारकुँडारको यो नाटक मलाई एउटा भयानक पाखण्ड लाग्छ | यस्ता नौटंकीसित म कत्ति अपरिचित छुइन | हिन्दुस्तानका पिछडिएका ठाउँमा म जाँदा पनि त्यहाँका ड्रामाबाजहरु यस्तै नौटंकी देखाउँछन् | नेपालको खास अवस्था कस्तो छ, मैले नदेखेको हो र ? धेरै वर्षपहिले म लाइमलाइटमा नआउँदै कैलाशसम्मको यात्रा गरेको थिएँ | त्यतिबेलै भरपूर प्राकृतिक सौन्दर्य भएर पनि सुन्दर हुन नसकेको यो देशको दुर्दान्त तस्वीर देखेको थिएँ | जतिसुकै मेकअप गरेर मलाई देखाउन खोजे पनि मलाई थाहा छ- यो देश त्योबेला मैले देखेभन्दा अलिकति पनि बदलिएको छैन | र मेरोजस्तो करिस्मेटिक नेतृत्व नउदाउन्जेल बदलिनेवाला पनि छैन | तर मैले सार्वजनिक रुपमा यसो भन्न मिल्दैन | मैले त समिटमा भाषण दिँदा यहाँका नेताहरुको तारिफ गर्दिनुपर्छ, नेपालले अचम्मै मोहनी लगाएको बखान गर्दिनुपर्छ | सत्य कुराहरु त मैले यही गोप्य डायरीमा मात्र खोल्न पाउँछु |

अँ, जति पनि नेता भनाउँदाहरु भेटें, एकाध अपवादबाहेक जम्मै चाकरी गर्ने र चुक्ली लाउनेहरु मात्रै रहेछन् | देशका बारे सोच्ने मजस्तो राष्ट्रवादी कोही भेट्टाइन | माओवादी नेतृत्वको २२ दलीय गठबन्धन चाँहि मक्ख थियो, भेट्नेबित्तिकै पाउलागी गरिहाल्यो | सहमतिबाटै संविधान बन्नुपर्छ भनेर ट्रमा सेन्टर हस्तान्तरणमा के भन्देको थिएँ, उनीहरुका खुट्टा भुइँमै छैनन् | कांग्रेस-एमाले अलि ठुस्केका देखिन्थे, बिन्ती जाहेर गरेका थिए- हजुरले किन त्यसो भन्सेको भन्दै ? धन्न त्यति भएपनि असन्तुष्टि पोख्ने हिम्मत गरे विचराहरुले | मलाई दायाँबायाँ थाहा छैन, सहमतिकै संविधानमा जोड दिनूस्- यति भन्दै आत्मविश्वास नभएका ती रोबोटहरुलाई आफ्नो ज्ञान-बुद्धि दान गर्देको थिएँ |

सबैलाई थाहा छ, पूरै संसारले मलाई विकासपुरुष मान्छ | मेरो धार्मिक कट्टरता पनि यही खोलभित्र ढाकिएको छ | विकासपुरुषको यो छविलाई अघि बढाउन नेपालमा पनि धमाधम विद्युत परियोजनाहरुका पिटीए र पिडीएहरु हस्ताक्षर गर्देको छु | जलश्रोतको क्षेत्रमा हानेको यो छलाङबाट मैले भारतमाताको भलैभलो गरेको छु | अलिकति भलो नेपालकै पनि हुन्छ भने मलाई के आपत्ति ? मलाई थाहा छ, जता पनि छिद्र खोज्ने केही चर्का राष्ट्रवादीहरु यहाँ पनि होलान् | राष्ट्रघाती सम्झौता भन्दै केही दिन चिच्याउलान् पनि तर यति ग्यारेन्टी छ, हिन्दुस्तानमा यसका निम्ति मेरो जयजयकार नै हुनेछ |

भारतमाथि नेपालीहरुको पनि पूरा अधिकार छ, ममाथि पनि तपाईंहरुको अधिकार छ भनेर पनि यसपालि मैले बोलें | गुह्य कुरा चाँहि नेपालमाथि मेरो अधिकार छ भन्ने थियो | यो कुरा बुझ्नेहरुले जरुर बुझे होलान् | नबुझ्नेका लागि यो डायरी छँदैछ | कुनै नयाँ कुरा भनेको होइन | चाचा नेहरुले पनि भनेका थिए- नेपालमाथिको आक्रमण भारतमाथि मानिनेछ र तुरुन्त प्रतिक्रिया दिइनेछ |  

नवाज सरिफसँग मैले हात मिलाइन भनेर पनि मिडिया मच्चियो क्यारे | यही डायरीमार्फत बुझे हुन्छ- म symbolism का खातिर गरिने कर्मकाण्डमा विश्वास गर्दिन | हात मिलाएरै समाधान हुनेभए म हजार चोटि पनि हात मिलाउन तयार छु | यसरी प्रचार हुँदैछ मानौं, मैले हात नमिलाएकै कारण हामी बीच ३-३ वटा युद्ध भएको थियो | Modi means business भन्ने थाहा छैन ? मलाई नतिजा चाहिन्छ | त्यहाँ दुनियाँका सामू हात मिलाएर भित्रभित्रै तुष पालिराख्नुको के अर्थ ? यही काठमाण्डौ हो जहाँ मुर्सरफले कुनै समय बाजपेयीजीसँग हात मिलाएका थिए | नतिजा केही निस्क्यो भने शुन्य निस्क्यो, अरु निस्केन | फेरि त्यही दिन मुम्बई हमलाको छ वर्ष पुगेको थियो | यस्तोमा सबैका मुखेन्जी हात मिलाउन मै अघि सर्नु भन्या सरन्डर हुन्थेन ? त्यैपनि कोइरालाजीले धेरै किचकिच गरिरहनु भो जसकारण द्वारिका रिसोर्टमा दुवैले गुड गरियो | गुड मात्रै हो र, wefie पनि खिच्न भ्याइयो | तर खोइ त, ङिच्च हाँसेर, हात मिलाएर अनि फोटो खिचेर कुनै आइसब्रेक त भएन आखिरमा |

लौ त, काठमाण्डौ डायरी योपालिलाई यत्तिमै टुंग्याउनुपर्ला जस्तो छ | अब एकछिन केही थान ट्विटहरु फुराउनुपर्यो, wefie पनि पोस्टिनु पर्यो अनि पल्टिनुपर्ला | जय हिन्द !


Read More

Jul 27, 2014

मोदी-आगमन र प्रश्नैप्रश्नका पन्तुरो

                
(First published in Mysansar ) 

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण अनि त्यसलगत्तै हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण- ब्याक-टु-ब्याक हुने यी ‘हाईप्रोफाइल’ भ्रमणले नेपाल-भारत सम्बन्धका अनेक आयाममध्येको एक जलस्रोत सम्बन्धलाई पनि बहसको सतहमा ल्याइदिएको छ | बहसको उठान भारतले प्रस्ताव गरेको ‘नेपाल-भारत विद्युत व्यापार सम्झौता’ (पी.टी.ए) लाई उर्जामन्त्रीले लुकाउँदालुकाउँदै पनि नेपाली मिडियामा चुहिएपछि भएको थियो | ‘नेपालका जलविद्युत योजनाहरुको विकासमा शतप्रतिशत भारतीय लगानी वा भारतीय लगानीकर्तासँगको संयुक्त लगानी रहने’ उक्त भारतीय प्रस्तावले फेरि एकपटक नेपालीहरुलाई झस्काइदिएको छ | विगतमा भारतसँग जति पनि नदीनालाका सन्धि-सम्झौताहरु भए, नेपालीहरुको मनमा लागेको छ- ती पुरै एकपक्षीय भए | मतलब भारतपक्षीय भए | कोशी, गण्डकी र टनकपुर आजपर्यन्त नेपालीका मनमा बिझिराखेकै छ | भैंसालोटन, खुर्दलोटन र लक्ष्मणपुर बाँध पनि भारतीय बलमिच्याइँको साक्षीका रुपमा उभिइरहेका छन् | हो, महाशक्तिका रुपमा उदाउने महत्वाकांक्षा राखेको भारत एक विशाल भूखण्ड भएको देश हो र छिमेकमा आफ्नो प्रभुत्व जमाउन उसले राम्ररी जानेको छ | तर प्रश्न यो हो- जहिलेसुकै आफ्नो दादागिरी मात्रै लादेर नेपालमा ‘उग्रराष्ट्रवाद’ अर्थात् भारतविरोधी भावनालाई मलजल पुर्याइरहनु उसको आफ्नै स्वार्थका लागि पनि कत्तिको बुद्धिमत्ता हो ? आफ्नो दीर्घकालीन हित हेर्ने हो भने उसले आफ्नो हृदय फराकिलो पारेर आपसी सम्बन्धमा रहेको तिक्ततालाई मेट्नैपर्छ | त्यसैले प्रश्न यो हो कि- छिमेकलाई प्राथमिकतामा राखेको ठानिएको मोदी सरकार नेपालप्रति अलिकति उदारमना हुन सक्ला कि नसक्ला, ‘उदार चरितानामं तु वसुधैव कुटुम्बकम्’ मोदीको मूलमन्त्र बन्न सक्ला कि नसक्ला ? मोदीको आगमनसँगै सायद यस्ता प्रश्नहरुको उत्तर मिल्दै जानेछ | भलै भारतको उक्त प्रस्तावले संशय चाहिं उब्जाइसकेको छ कि- मोदीको उदयका बाबजुद पनि चीजहरुमा कुनै तात्विक फेरबदल नहुने पो हो कि |

हाम्रो नीति चाँहि के ?
अर्कोतर्फ, हाम्रो आफ्नै ‘भारत-नीति’ चाहिं के हो, संयोगले त्यो कतै बनेको रहेछ भने बनाउनेलाई चाँहि पक्कै थाहा होला | सत्तामा रहँदा गुलामी र दलाली गर्ने अनि सडकमा पछारिनेबित्तिकै उसैलाई नानाथरी गाली गर्ने- हामीले बुझेको हाम्रो भारत-नीति त यत्ति न हो | जब उताबाट कुनै ‘हाइप्रोफाइल भ्रमण’ हुन्छ (चाहे त्यो दश वर्षमा एकपल्ट नै किन नहोस्), द्वीपक्षीय कुराकानीका दौरान हामीले उठाउने एजेण्डाहरु के के हुन्, हाम्रा प्राथमिकताहरु के हुन्, हामीलाई कुनै भेउ हुँदैन | तँछाडमछाड गर्दै भेट्न होटेलहरुमा जाने हाम्रा नेताहरु आफ्ना तुच्छ व्यक्तिगत स्वार्थका कुरा, वा बढीमा आफ्नो पार्टीगत स्वार्थका कुरा राखेर फर्किन्छन् भन्ने एकथरिको दाबीमा दम नभएको होइन | त्यत्रो महत्वको मुलुकसँग कसरी ‘डिल’ गर्ने भन्नेमा कुनै वृहत राजनैतिक सहमति छैन हामीकहाँ, कत्रो लाजमर्दो कुरा !
नेपाललाई आर्थिक रुपले भारत-आश्रित बनाउने अनि यहाँको राजनैतिक मामिलामा पनि ‘माइक्रो-म्यानेज’ गरिरहने उसको पूर्ववत् नीतिमा बदलाव ल्याउन नेपाली पक्षको झनै महत्वपूर्ण भूमिका हुन्छ | तर उनीहरुका अगाडि पर्नेबित्तिकै ‘निउरीमुन्टी न’ हुने हाम्रा नेताहरु त्यो भूमिका निभाउन समर्थ होलान् भनेर विश्वास गर्ने अलिकति पनि ठाउँ छैन | कम्तीमा अहिले कृष्णप्रसाद भट्टराईजस्तो नेता (जसले भारतकै भूमिमा उभिएर चिनियाँ हतियार भारतको भन्दा ५ गुणा सस्तो भएकाले किनेको अडान राखे) भएको भए चाहिं त्यो आश गर्ने ठाउँ रहन्थ्यो |

विद्युत किनबेच र सार्वभौमिकताको प्रश्न
हो, भनिरहनुपर्दैन कि यहाँको जलस्रोतको विकासको निम्ति र बजारको निम्ति मुख्य विकल्प भारत नै हो | आखिर, खेर गइरहेको जलस्रोतलाई पुँजीकृत गर्नुपर्छ भन्नेमा कसको आपत्ति छ र ? आर्थिक विकासको हाम्रो कछुवा गतिलाई अलिकति भएपनि दौडाउन हामीसँग भएको एउटै मुख्य स्रोत यही त हो | लोडसेडिङको अन्धकारमा बानी परेका हामीलाई यस्ता कुरा हावा लाग्लान्, तर जलस्रोतको उपयोग गर्ने र विद्युत निर्यात गरी डरलाग्दो व्यापार असन्तुलन सुधार्ने नै हाम्रो राष्ट्रिय मिसन हुनुपर्छ | त्यसैले ऊसँग ‘विद्युत व्यापार सम्झौता’ गर्नुपर्नेमा दुइमत हुनै सक्दैन | तर त्यो स्रोतमा निर्णायक प्रभुत्व कसको रहने ? सम्झौतामा हाम्रो राष्ट्रिय हितको ख्याल राख्नुपर्ने कि नपर्ने ? यी संगीन प्रश्नलाई पनि त्यसै बेवास्ता गर्न मिल्दैन | नेपाली कांग्रेसका लक्ष्मण घिमिरेले ‘देशकै अपमान’ भनेको उक्त प्रस्तावित सम्झौतालाई हप्तौंसम्म गोप्य राख्ने उर्जामन्त्री राधा ज्ञवालीको चर्तिकलाले पर्दापछाडि कुनै राष्ट्रघाती खेल त खेलिंदैछैन भन्ने प्रश्न स्वाभाविक रुपले उब्जिएको छ | दुवै देशका ‘लेजिटिमेट इन्ट्रेस्ट’ हरुलाई केन्द्रमा राखेर मात्रै सम्झौता दीर्घकालीन बन्न सक्छ, एउटाको मात्रै हात माथि पर्नेगरी गरिने सम्झौता विग्रहको बीउ हो |

मोदी-आगमन
सत्ताको हनिमुन मनाइनसक्दै यही साउन १८ गते प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डौ आउँदैछन् | राजनीतिक नेतृत्वसँग सम्बन्ध पुनस्थापित गर्ने यो अवसरलाई हाम्रो नेतृत्वले कसरी उपयोग गर्ला- मानिसहरु मिहिन ढंगले अवलोकन गर्दैछन् | त्यहाँको कर्मचारीतन्त्रको वृतमा सीमित हाम्रो सम्बन्ध र पहुँचलाई अब सिधा राजनीतिक तहसम्म विस्तारित गर्न यो भ्रमण कोशेढुंगा हुने अपेक्षा धेरैको छ | त्यसबाहेक, १९५० को असमान शान्ति तथा मैत्री सन्धि खारेजी या पुनरावलोकनको कुरा फेरि ब्युँतेला ? कि यसको उच्चारणसम्म नहोला ? कि सुस्त स्वरमा उच्चारण गरेजस्तो गर्दै बिरालो बाँधेर श्राद्ध गर्ने कर्मकाण्डमा सीमित पारिएला ? अनि ९८ प्रतिशत सीमा समस्या सकिएको गुड्डी हाँक्ने ऊसँग सुस्ता र कालापानी मात्रै होइन अतिक्रमित अरु थुप्रै भूभागबारे नेपाली पक्ष जमेर प्रस्तुत होला ? सीमाका एसएसबी जवानले नेपालीमाथि गर्ने ज्यादतीको विषय भेटवार्तामा दह्रो गरी उठ्ला कि नउठ्ला ? समग्रमा नेपाल-भारत सम्बन्धले नयाँ दिशा लेला कि नलेला ? प्रश्नैप्रश्नका पन्तुरो बोकेकाहरु व्यग्र छन् उत्तर थाहा पाउनका लागि |


Read More

May 6, 2013

ट्वीटे र फेसबूकेका नाममा लोकमानको खुलापत्र


ट्विटर र फेसबुकका आलाकाँचा ठिटाठिटी हो,

केही दिनदेखि तिमेरु मसित बेस्कनै ठुस्केका छौ । म बुझ्छु तिमेरुका मनोभावना । चौबीसैघण्टा प्रविधिसित खेल्ने तिमेरुको पुस्ता नै यो देशको भविष्य हो भन्ने कुरामा मलाई कत्ति पनि शंका छैन, त्यसैले त तिमेरुको यो जुझारु पुस्तासँग मलाई निरन्तर communicate गरिरहन मन लाग्छ । विचार आदानप्रदान गरिरहन रहर लाग्छ । तर आजकाल तिमेरु मसँग अलि बढी नै आक्रोशित छौ झैँ लाग्यो । ट्विटर र फेसबुकका टाइमलाइनहरु हेर्दा थाहा पाएँ । बडो नमज्जा लाग्यो र नै भ्रम निवारणका निम्ति यो पत्र कोर्दैछु ।

तिमेरु मलाई आरोप लगाउछौ होइन, जनआन्दोलनको दोषी भनेर! मलाई पत्यार लाग्दैन, रातविरात इन्टरनेटमा खेल्नेहरुको पुस्ताको आरोप हो यो भनेर । वास्तवमा तिमेरु एजेण्डा होइन, एउटा व्यक्तिको पक्ष-विपक्षमा मिडियाबाजी गर्नेहरुको सम्मोहनमा पर्यौ । कान्तिपुर र सेतोपाटीजस्ता पीतपत्रकारिता गर्नेहरुले जे छाप्छन्, त्यसलाई तिमेरुजस्तो skeptic र critical mass ले बिना कुनै सोचविचार face value मा लेउला भन्ने मलाई एकरत्ति लागेको थिएन । विश्वसनीयतामा निखारिएको पत्रिका त लोकमानपूर्ण पोस्ट पो हो । सायद तिमेरुले त्यो पढ्न भ्याएनौ र कान्तिपुरको लहलहैमा आएर मविरुद्ध तथानाम अनर्गल प्रचारबाजीमा उत्रियौ । अलेक्जेन्डर पोपले लेखेको ‘A little learning is a dangerous thing’ सम्झेर आइन्दादेखि हरेक इस्स्युमा आफ्नो अपिनियन बनाउनुअघि लोकमानपूर्ण पोस्टका गहकिला समाचार टिप्पणीहरु पढ्न तिमेरुले नभ्याउने छैनौ भन्ने विश्वास लिएको छु । अहिले म अख्तियारको हाकिम भाको विषयमा पनि तिमेरुले कान्तिपुरलाई लात मारेर लोकमानपूर्ण पोस्टतिर डेरा सर्यौ भने सबै कुरा छर्लंग हुनेछ । म कति निर्दोष रहेछु, कति उच्च नैतिकवान रहेछु, तिमेरुले पत्तो पाउनेछौ । सर्वोच्च अदालतका न्यायाधीश माननीय श्रीमान गिरिशचन्द्रलालले त्यो कान्तिपुरे ठिटोलाई अदालतबाटै गलहत्याउनु भाको हो कि होइन भन त ? तिमेरु त न्यायपालिकाको सर्वोच्चता चाहनेहरुको उदात्त पुस्ता! अदालतले नै गलहत्याएको पत्रिका पढेर भ्रष्टाचारविरुद्द आधिबेहेरी ल्याउन तम्तयार भएर बसेको एउटा राष्ट्रसेवकमाथि यति निर्मम ढंगले प्रहार गर्न सुहाउँछ तिमेरुलाई ? ए, भन त सुहाउँछ तिमेरुलाई ? हो, हन्ड्रेड पर्सेन्ट सुहाउँदैन र त म बारम्बार रेकमेण्ड गरिरहेछु- तिमीहरुलाई सुहाउँदो पत्रिका लोकमानपूर्ण पोस्ट नै हो भनेर । तिमेरुका खेर जाने ट्वीट पनि फोकटमै छाप्छ क्यारे त्यसले । खैर, सबै कुरा तिमेरुले लोकमानपूर्ण पोस्ट सविस्तार पढेपछि बुझ्ने नै छौ, अहिलेलाई भने म छोटकरीमा तिमेरुका आरोपमा केन्द्रित हुन चाहन्छु ।
    
आरोप नम्बर एक: उही महान जनआन्दोलनको दोषी, होइन त ? ओए जनआन्दोलनका निर्दोषीहरु हो, तिमेरुको जनआन्दोलनको धोति फुस्केको आज हो र ? जनआन्दोलन, जनआन्दोलन भन्दै फुइँ लाउन छोडे हुन्छ । लोकतन्त्र र गणतन्त्रका राग अलाप्न अब त लाज माने पनि हुने हो । परिवर्तन परिवर्तन भन्दै घोक्रो सुकेन्जी चिच्याएर जीउलाई दुख दिन पनि कति मजा आको हो ? तिमी मुर्खहरु !! बिनाकामको जनआन्दोलनको घाँडो देशमा भित्र्याएर कति न ठूलो पल्टेका !  के थाहा छैन तिमीहरुलाई कति ठूलो मूल्य चुकाइरहेछ देशले त्यो बाह्रबुँदे नामको खोस्टाबाट ? देखेका छैनौ कि नदेखेको स्वांग पारिरहेछौ ए केटा हो, यो नाङ्गो विदेशी प्रभुहरुको रासलीला ? लुटतन्त्र, भ्रष्टतन्त्र र भागबण्डातन्त्र नै लोकतन्त्र हो भन्ने तिमेरुको बुझाइ हो कि के हो ? होइन भने त मजस्तो उच्च नैतिकवान, जोकसैसंग पनि सहकार्य गरेर अघि बढ्न सक्ने, पंचायत र प्रजातन्त्र दुवै कालखण्डको प्रचुर अनुभव संगालेको अनि यो सबै भद्रगोलबाट पार लगाउन अख्तियार प्रमुख भएको मान्छेलाई यसरी विवादमा तान्ने दुस्साहस तिमेरुबाट नहुनुपर्ने हो । खासमा जनआन्दोलनका दोषी त यी दलहरु पो हुन् । खोई, कुरो बुझ्या ? यिनेरुकै महान जनआन्दोलन होइन, यो सबै भाँडभैलोको जननी ? म विचरोले त सकुन्जी यसलाई avert गर्नै खोजेको हो नि । त्यो पाजी रायमाझी कि केजाते आयोगले डाम्यो भन्दैमा यत्रो कोकोहोलो गर्नु कहाँको न्याय हो, हँ फेसबुके र ट्वीटे हो ? के हैसियत छ यार त्यसको ? मल्लिक आयोगले केही लछार्न सकेन भने रायामाझी आयोगले जोरी खोज्न मिल्छ, त्यैमाथि लोकमानजस्तो सबैले बोक्नुपर्ने मान्छेसित ?

My dear Tweeples, पितपत्रिकासितको साँठगाँठमा तिमेरुले लाको आरोप नम्बर दुई: सुनकाण्डमा मुछिएको, होइन त ? अरे बाबा, यसमा पनि त तत्कालिन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले २०५६ सालमै म निर्दोष भएको फैसला सुनाइसकेका छन् नि यार् । हुन त फैसला भाको समय भनेको तिमेरु केटाकेटी हुदै हो, त्यैभएर तिमेरुलाई थाहा नभाको हुन सक्छ । त्यैभएर मैले अघि quote गरेको 'A little learning is a dangerous thing'।  फेरि गोयबल्सजस्ता सयचोटि दोहोर्याएर सफेद झुटलाई पनि सत्य बनाउने पितपत्रिकाहरुको फन्दामा छौ तिमेरु । तर अब आशा छ, समष्टिगत रुपमा कुरो बुझिसकेपछि मात्रै तिमेरुले ट्वीटनेछौ, फेसबुक्नेछौ ।

तिमेरुका ट्वीट र स्टाटस पढ्दा आरोप नम्बर ३ मैले भेटिन । स्वाभाविकै हो, किनकि पितपत्रिकाले प्रचार गरेकै यी दुइटा कुरा हुन् । प्रचार पनि यसरी गरेका छन्, मानौँ तिनेरुको गीता ‘रायमाझी प्रतिवेदन’ ले डामेको भयङ्कर अपराधी मैमात्र हुँ । राजु बस्नेतजस्तो जण्ड आर्मी अफिसरको बढुवा हुँदा पित्कोजति पनि नदुखेको तिनीहरुको लोकतन्त्र एउटा लोकमानको नियुक्ति हुँदा कसरी सामूहिक बलात्कारमा पर्यो, मैले जति दिमाग लाउँदा पनि बुझ्न सकेको छैन । कसैले बुझेको भए बुझाइदिने कष्ट गर्नू ल । अनि, काण्डमा मुछिने बित्तिकै अयोग्य ठहरिने भए त त्यो सुनकाण्डको बेला विमानस्थल भन्सारको प्रमुख भगवती काफ्ले थिए । मुछ्न त उनी पनि मुछिए तर पछि अख्तियारको सचिव हुन रोक्यो र कसैले उनलाई ? अरे बाबा, ठुलोबडो मान्छे भएपछि यस्ता काण्डसाण्डमा त routinely मुछिरहिन्छ नि । ठुलोबडो हुनुको अर्थ के हो, माने के हो, महत्व के हो, केही नबुझेका स्वाँठहरुको हालीमुहाली भएको पितपत्रिकाहरु के बुझुन यस्ता कुरा ?

१४० अक्षरमा ट्वीट्न बानी परेकाहरुलाई यत्रो लम्बेतान पत्र देखेर बोर लागिसक्यो होला । तर, फेसबुकेहरुका नाममा पनि यो पत्र लक्षित रहेकाले थप केही कुरा राख्न चाहन्छु । कसरी केही कुरामा मिल्न नसक्ने, कुकुरबिराला झैँ झगडा गरिरहने दलहरु मेरो कुरामा चैं एकजुट हुनसके भन्ने खुल्दुली होला तिमेरुका मनमा । तर यत्ति जाबो बुझ्न कुनै सिके लाल भैरहनुपर्दैन । बुझ्नेलाई कुरो सरल छ- जहाँ स्वार्थहरुको मिलन हुन्छ, त्यहाँ बाँकी सब खुद्रा विमतीहरु आफैँ पाखा लाग्छन् । सबै दललाई आफूले गरेका भयानक भ्रष्टाचार समाजसामू ओपन सेक्रेटका रुपमा रहेको छ भन्ने थाहा छ । तर लोकलाज नभएपनि जेपी गुप्ता वा खुमबहादुरहरुको हाल हुने हो कि भन्ने थोरै त्रास चैं छ । त्यसैले अख्तियार नपसोस् भन्ने हेतुले उनीहरु मलाई त्यहाँ लग्न हतारिएका हुन् । म पनि परें एउटा गौप्राणी, एउटा उच्च नैतिकवान्, सबैसँग सहकार्य गरेर अघि बढ्न सक्ने मिलनसार, सबैलाई रिझाउन सक्ने सर्वस्वीकार्य पात्र । सबैले हात जोडेर विन्ती गरेपछि नाइँ भन्न सकिन । यसमा मेरो के दोष, ट्वीटेगण ?

तर मेरो अगाडिको रोडम्याप बडा क्लिएर छ । मलाई यी दलहरुसँग कृतज्ञ हुनुछैन । भ्रष्टाचारविरोधी जेहाद छेड्नकै निम्ति मैले यो अख्तियार रोजेको हुँ । मेरो नियुक्तिसंगै यसको सुरुवात भएको छ । तिमेरु हेर्दै जाओ, अब कोको जान्छन् मामाघर ? मैले मुद्दा चलाउनेछु, सम्माननीय न्यायाधिस श्रीमान गिरीशचन्द्रलाल तु फैसला गर्दै जाक्नुहुनेछ सालाहरुलाई । पितपत्रकारिता गर्ने कान्तिपुरबाट यसको श्रीगणेश हुनेछ । मलाई विश्वास छ, भ्रष्टाचारमुक्त देश बनाउने मेरो यो पहलकदमीमा तिमी ट्वीटे र फेसबुकेहरुबाट अभूतपूर्व सहयोग हुनेछ । मेरो यो सन्देशलाई आफ्ना ट्वीट र स्टाटसबाट संसारैभरि फेलाओ केटा हो !

श्री लोकमानले तिमीहरु सबैको रक्षा गर्नेछन् !        


Read More

Nov 24, 2012

पालो कांग्रेसकै तर छ के साहस ?


                       
विगत केही महिनायता कतिपय क्षेत्रबाट अपेक्षा गरिएबमोजिम नै राष्ट्रपतिले शुक्रबार नयाँ प्रधानमन्त्रीका निम्ति साझा उम्मेदवार आह्वान गरेर पोखरीको पानीझैं जमेर बसेको राजनीतिलाई गतिशीलता दिने जमर्को गरेका छन् । तर कति गर्दा पनि अहिलेसम्म मिल्न नसकेको कुरो राष्ट्रपतिको आह्वान आउनेबित्तिकै सातादिनको समयसीमाभित्र फ्याट्टै टुंगो लागिहाल्नेछ र राजनीतिक दलहरुबीच मिलापत्र भई नयाँ सहमतीय सरकारको गठन हुनेछ भन्नेमा जनतालाई एकरत्ति विश्वास छैन । किनकि लुट्न पाइने कुराहरुजति जम्मैमा एकढिक्का भएर राष्ट्रिय ढुकुटी रित्याउने तर राष्ट्रिय महत्वका विषयहरुमा भने मेरो गोरुको बाह्रै टक्का गर्दै खोंचे थापिरहेर देशलाई बन्धक बनाइरहने यी आत्मघाती खेलाडीहरुले प्रधानमन्त्रीको कुर्सीलाई त्यति सजिलै आ-आफ्ना हातबाट उम्कन देलान् भनी कसरी पत्याउनु ? हाम्रा दलहरु यतिसम्म निकम्मा देखिएका छन् कि, सबै राजनीतिक दलहरुबीचको सहमति त परैको कुरा भयो, उनीहरुभित्र नै बग्रेल्ती उम्मेदवारहरु दौरासुरुवाल सिलाएर ठिक्क परीबसेका छन् र कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा दलगत गुटहरुभित्रै सम्म रस्साकस्सी छ ।

यस्तो दुर्दान्त अवस्थामा म्यादभित्रै सहमति गरी दलहरुले नयाँ सरकार गठन गर्न सक्षम भए त्यसबाट नयाँ चुनावका निम्ति वातावरण बन्ने मात्र नभई जनतामा पनि एकखालको उत्साहको संचार हुनेथियो । यद्यपि यसतर्फ सम्भावना ज्यादै कम देखिन्छ । तोकिएको समयभित्र पार्टीहरुबीच सहमति नभए राष्ट्रपतिले निर्वाह गर्नसक्ने भूमिका पनि त्यसपछि संविधानतः बाँकी रहनेछैन, जुन कामचलाउ बाबुराम सरकारका निम्ति संजिवनीको बुटी ठहर्नेछ । विपक्षीका भागमा त्यतिबेला हुनैनसक्ने आन्दोलनको राग अलापिरहनुको विकल्प हुनेछैन । यसतर्फ पनि सोचविचार गरी अघि बढ्ने हो भने राष्ट्रपतिले दिएको यो मौकाको विपक्षीहरुले सही उपयोग गर्न सक्नुपर्छ जसका निम्ति कुर्सीलाई नै केन्द्रविन्दु बनाएर बैठक बस्ने प्रथाको अन्त्य पहिलो सर्त हो ।

आलोपालो सत्ता भागबण्डाको थिति बसेको मुलुकमा पालो अब कांग्रेसकै हो, तर प्रश्न छ- के उसले म्यादभित्र आफ्नोतर्फबाट सर्वसम्मत उम्मेदवार पेश गर्नसक्छ ? सक्छ भने माओवादीलगायत सबैले उसलाई स्वीकार्नुपर्छ र ढिलो नगरी चुनावको बाटो तय गर्नुपर्छ । आखिर सवाल निष्पक्ष चुनाव गराउनसक्ने सरकार बनाउनेसित हो भने यसमा कांग्रेसको ट्रयाक रेकर्ड राम्रै देखिन्छ । तर यदि म्यादभित्र सर्वसम्मत उम्मेदवार दिननसक्ने हो भने त्यो दलहरुको नालायकीको थप परिचय हुनेछ र यही सरकारको निरन्तरता र यही सरकारअन्तर्गतको चुनावको विकल्प रहनेछैन ।  
                                                 
                                                                                                         
                                                                                                       
Read More

Sep 25, 2012

अर्थहीन आन्दोलन


                           
विपक्षी दलहरुले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट घोक्रेट्याक लगाउने एकसुत्रीय माग बोकेर सडक आन्दोलनमा उत्रने घोषणा त गरेका छन्, तर घोषणा गर्दैमा जनसागर उर्लने दिनहरु अब गए । कुनै अमूक नेतालाई सिंहदरबारबाट गलहत्याउने अनि अर्को त्यस्तै तोरीलाहूरेलाई भित्र्याउने अन्तहीन खेलबाट जनताहरु आजित भइसकेका छन् । सरकार परिवर्तनको मुद्दाबाहेक कुनै एजेण्डा नभएको आन्दोलनसंग जनताको मोहभंग भइसकेको छ, तसर्थ यसढंगले घोषणा गरिदिंदैमा जनताहरु सडकमा आर्लेलान्, बाबुरामले छाड्लान् र हाम्रो पालो आउला भनी विपक्षीहरुले मुख बाएर बस्नु सरासर मूर्खतासिवाय केही होइन । बाबुराम भट्टराईजत्तिको मान्छेले नसकेको कुरा शेरबहादुर, रामचन्द्र वा केपी ओलीले गर्न सक्छ भन्दै जनतालाई आफूहरुका पछाडि लाम लगाउन अब त्यति सजिलो पक्कै छैन । जनताको त कुरै छाडौं, पार्टीकै कार्यकर्ताहरु समेत वाक्कदिक्क भएर पूर्वराजा ज्ञानेन्द्रसामू विन्ति बिसाउन थालेका दृश्यहरु देखापरिसके ।
वास्तवमा संविधानसभा भंग भइसकेपछिको अन्यौलपूर्ण राजनीतिक परिदृश्यले साधारण जनतालाई कुहिराको काग बनाएको छ र उनीहरुलाई सत्ताको शिखरमा यो वा त्यो हुनुसंग खासै सरोकार नै छैन । राज्य पुर्नसंरचनाका जुन जटिल मुद्दाहरुमा कुरा नमिलेर संविधानसभा भंग भएको थियो, तिनै विषयमा छलफल गर्ने निहुंमा अर्को सय दिन व्यर्थै फालेर बल्लतल्ल ताजा जनादेश लिने कुरामा दलहरुबीच सहमती त भयो तर सहमतीको मसी सुक्न नपाउंदै हुनैनसक्ने आन्दोलनका चर्काचर्का कुराहरु फलाक्न थाल्नुले दलहरु कतिसम्म गैरजिम्मेवार छन् भन्ने कुरा फेरि प्रष्ट पारिदिएको छ । नयां चुनावमा जानलाई त पहिला त्योसंग जोडिएका राजनैतिक र संवैधानिक गांठाहरु फुकाउनतिर पो केन्द्रित हुनुपर्ने हो । निर्वाचनको वातावरण बनाउन सत्तापक्ष मात्र नभइ प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार हुनुपर्छ, तर प्रधानमन्त्रीको कुर्सीमा रहेका बाबुराम नै निर्वाचानका एकमात्र अवरोधक भएजसरी विपक्षीहरुले सहमति एकातिर, कामकुरो अर्कातिर गर्नुले उनीहरुको सत्तालिप्सा मात्र उदांगो भइरहेको छ ।
शंका छैन, नयां चुनाव सहमतीय सरकारले नै गर्नुपर्छ । तर त्यो सरकार गठनअघि दलहरुबीच विश्वासको संकट त मेटिनुपर्यो, अन्तरिम संविधानमा रहेका अड्चनहरुको त हल खोज्नुपर्यो । कुन प्रणालीअन्तर्गत चुनावमा जाने, कति संख्याको सभा बनाउने, स्थानीय निकायको चुनाव कहिले गर्ने आदि यावत् विषयमा मोटामोटी सहमति त गर्नुपर्यो । यी सबै काम सिध्याएर निर्वाचनको सुनिश्चितता गरिसकेपछि मात्रै चुनावी सरकारको विषयप्रवेश हुनसक्छ । यसर्थ, अर्थहीन आन्दोलनको रट लगाएर दुनियांलाई तमासा देखाउनुभन्दा चुनावको लागि वातावरण बनाउनतिर सबै दलहरु गृहकार्यमा जुट्नुपर्छ ।
                                             
                                             
                                             


Read More

Aug 28, 2012

काम कुरो एकातिर कुम्लो बोकी इरानतिर




                       
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं देश गहिरो राजनीतिक र संवैधानिक जटिलतामा अल्झेका बेला प्रधानमन्त्रीले भने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा जान मरिहत्ते गरेका छन् । शीतयुद्धको उत्कर्षका बेला जन्मेको असंलग्न आन्दोलनको यो समयमा कुनै उपादेयता छैन भन्ने जान्दाजान्दै पनि त्यहां जान जिद्धी गर्नुले उनीमाथि थप प्रश्नहरु उब्जाएका छन् ।  के एकसमयको ‘जनताको हिरो’ यतिसम्म गैरजिम्मेवार भइसक्यो कि उसलाई लथालिंग घरको एकरत्ति पनि मतलब छैन ? के मनमोहन सिंहको दर्शन पाउने मोहले नै हो त उनलाई तेहरान डोर्याएको ?
वास्तवमा असंलग्न आन्दोलनले आफ्नो औचित्य गुमाएको उहिल्यै हो । एकातिर सोभियत संघको एउटा ध्रुव र अर्कातिर संयुक्त राज्य अमेरिकाको अर्को ध्रुवमा विभक्त तत्कालीन विश्वमा उपनिवेशवादको जोडदार विरोध गर्दै राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षार्थ यसको गठन भएको थियो । दुई महाशक्तिमध्ये कुनैको पनि पिछलग्गु नबन्ने बरु पञ्चशीलको सिद्धान्तअनुरुप प्रत्येक राष्ट्रले परराष्ट्र नीति तर्जुमा गर्दै अघि बढ्ने यसको घोषित लक्ष्य थियो । तर शीतयुद्ध सकिएकै दुई दशकभन्दा बढी भइसकेको छ र यसबीचमा विश्व परिस्थितिले ठूलै कोल्टो फेरेको छ । आन्तरिक राष्ट्रियता सुदृढ नभइकन बाह्य राष्ट्रियता मजबुत हुनसक्दैन भनी यिनै प्रमले कान्तिपुरमा लेखेको केही साताअघि मात्रै हो । तसर्थ, आफ्नो सान्दर्भिकता जोगाइराख्ने हो भने असंलग्न आन्दोलनले आफ्ना विकाससील र कम विकसित सदस्य राष्ट्रहरुको आर्थिक सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने हो तर दुर्भाग्यवश शक्ति राष्ट्रहरुले जुहारी खेल्ने अखडा बनेको छ यो । इरान र इजरायलबीच हाल चलिरहेको ‘एकले अर्काको अस्तित्व सखाप पारिदिने’ धम्कीहरुको पृष्टभूमिमा हुन गइरहेको यो सम्मेलन पूरै इरानमाथि केन्द्रित हुनेछ । गरिबीले थिलथिलो बनेका नेपालजस्ता देशहरुलाई इरानको आणविक कार्यक्रममाथिको दोहोरी सुन्न केको चासो छ ? जसरी भारत पाकिस्तानबीचको तनावले सार्क आफ्ना उद्देश्यहरुमा निष्प्रभावी सावित भएको छ, ठीक त्यसैगरी शक्ति राष्ट्रहरुको दबदबाले असंलग्न आन्दोलन पनि गन्तव्यविहीन बनेको छ । नेपालजस्ता विकाससील देशहरु पनि यसका सदस्य हुन् र यिनीहरुका हितमा पनि कामहरु हुनुपर्छ भन्ने मान्ने हो भने असंलग्न आन्दोलनका प्राथमिकताहरु फेरिनैपर्छ । शीतयुद्धकालीन एजेण्डाबाट एक्काइसौं शताब्दीको अर्थ-राजनीति हांक्न सकिंदैन ।
यसर्थ देशको संकटलाई निकास दिन घोत्लिनुपर्ने बेला बिनाकाममा कहिले ब्राजिल त कहिले इरान शयर गर्न विद्धान प्रमलाई नसुहाउनुपर्ने हो, तर भन्नेहरु भन्छन् - त्यही एउटा लाज नै हराइसकेपछि जे पनि सुहाउन थाल्छ ।
                                                 
                               
                       

Read More

Jun 6, 2012

फुट्नुमै भलो छ


                 

बाहिरबाट हेर्दा प्रचण्ड र किरण पक्षबीच पुर्नै नसकिने सैद्धान्तिक खाडल छ  जस्तो देखिन्छ । तर विवादको भित्री चुरो सत्ता र पदको लेनदेन नै हो भन्ने बुझ्न कुनै घागडान विश्लेषक भइरहन पर्दैन । प्रचण्डले अध्यक्ष छाड्नुपर्छ भन्ने हारगुहार अनि बाबुरामलाई गलहत्याइपाउँ   भनी केपी ओलीकहां गएर गरिने नम्र निवेदन कुन रातो किताबको सूत्र अन्तर्गत पर्छ, त्यो उनै जानुन् । तर जनवादी संविधान र साम्यवादको रुमानी सपना देख्ने, देखाउने उनको सनातनी व्यवसाय अब धेरै दिन टिक्नेवाला छैन । पद, पैसा र शक्तिलाई केन्द्रमा राखेर भइराखेको कलहलाई वैचारिक जामा पहिर्‍याउने जतिसुकै दुष्प्रयास गरे पनि वैद्यहरूले बुझ्नुपर्ने हो-तिनीहरूका बासी विचारका पछाडि जनता कुद्नेवाला छैनन् । हिम्मत भए मतसर्वेक्षण गरेर हेरे हुन्छ, जनताका आँखामा सबैभन्दा बढी बिझाएका नेताहरू वैद्य खेमाकै हुन् ।

वास्तवमा वैचारिक मतभिन्नता भनी प्रचार गरिएको त चुनवाङ बैठकदेखि नै हो, तर यत्रो वर्षसम्म ती विवाद ज्युँकात्युँ रहँदा पनि कुन धातुले यिनीहरूलाई एउटै पार्टीमा टाँसेर राख्न सक्यो रु त्यो चिज के थियो, जसले जतिसुकै पुत्लादहन गरे पनि प्रचण्ड बाबुरामकै शीतल छहारीमुनि उफ्रिरहन अह्रायो रु त्यो अरु केही होइन, प्रचण्डबाट निःशृत हुने शक्तिको आश र लोभ हो । त्यसैले जतिसुकै बाघ गर्जन गरे पनि वैद्य खेमाले अहिले नै पार्टी फुटाउने जोखिम सम्भवतः मोल्ने छैन । यद्यपि कृत्रिम एकताभन्दा फुट नै जाती हुन्छ । माओवादीभित्रको यो बखेडाले राष्ट्रिय राजनीतिलाई नै प्रभावित गरिरहेको सन्दर्भमा बरु संस्थापन पक्ष नै अघि सरेर वैद्य खेमामाथि अनुशासनको डन्डा बजार्नु उचित हुन्छ । आखिर पार्टी भनेको विपरीत ध्रुवीय विचार बीचको कृत्रिम एकता होइन, नत आफ्नै नेताको पुत्लादहन गर्ने अराजक झुन्डको समूह नै हो । जसरी पनि मिल्नैपर्छ भन्ने यान्त्रिक सोचले पार्टी चल्दैन, किनभने पार्टी चल्नका निम्ति कमसेकम एउटा स्पष्ट वैचारिक र सांगठनिक आधार हुनैपर्छ ।
Read More

Jun 1, 2012

औचित्य छैन नयां चुनावको





     
२००७ सालदेखि थांती रहेको नेपाली जनताको सपना हो संविधानसभा, नेताहरु भन्थे, यहांका जनताका युगीन पीडाहरुको अचूक ओखती हो यो । आफ्नो भाग्यरेखा आफैं कोर्ने, आफ्नो संविधान आफैं बनाउने - अहो, कति सजिलै पत्याएका हामीले ती चिल्ला शब्दजालहरु । संविधानसभाको हामी आमा हौं, यो बच्चोलाई बरु हामी आफू मरेरै भएपनि बचाउंछौं भन्नेहरुबाटै त्यो सपनाको हत्या भएर त्यसको मलामी जांदैगर्दा सोचिरहेको छु - भयो के आखिर यो चार वर्षमा ? आफूले चुनेर पठाएका प्रतिनिधिमार्फत संविधान निर्माण प्रक्रियामा स्वामित्व ग्रहण गर्न हामी कति सफल रह्यौ ? धेरैभन्दा धेरै समुदायले यो प्रक्रियाप्रति अपनत्व महसुस गर्न सकून् भन्ने संविधानसभाको सिद्धान्त कति कामयावी हुन सक्यो ? यी प्रश्नहरुको उत्तर खाज्ने लेठो नगरिकनै नयां चुनावको कुरा गर्नु दुर्भाग्यपूर्ण छ । वास्तवमा संविधानसभाको सर्वोच्चतालाई लत्याएर होटल, रिसोर्ट र बंगलाका वातानुकुलित कक्षहरुमा गुपचुप लेनदेन गर्दै संविधान लेख्ने अभ्यास गर्नेहरु को हुन् दुनियांलाई थाहा छ । फगत रबरस्ट्याम्पमा सीमित पारेर जनप्रतिनिधि संस्थाको हुर्मत लिने अनि निर्णयजति जम्मै टाउकेहरुले गर्दैजाने वा निर्णय लिन नसके भंग गर्ने यही विकृत परम्परा कायम राखिराख्ने हो भने नयां संविधानसभाको बोझ किन उठाउने जनताले ?
भंग भएको यो संविधानसभाका लागि अर्बौं रुपैंया, अमूल्य समय अनि कीर्तिमानी बलिदानको मूल्य चुकाइएको छ । अभूतपूर्व आशा गरिएको यस्तो संस्था नै जब सीमित नेताहरुको व्यक्तिगत, जातिगत र पार्टीगत स्वार्थको टकरावमा परेर टुक्राटुक्रा हुन्छ, तब स्वाभाविक छ राजनीति र यसका संचालकहरु जनताको घृणा र वितृष्णाको केन्द्र बन्छन् । त्यसैले चार वर्षअघि चुनाव हुंदाताकाको उत्साह, सपना अनि विश्वासलाई अबको चुनावमा फ्रस्ट्र्रेसनले प्रतिस्थापित गर्ने निश्चित छ । बाबुरामजस्ता केही गर्छु भन्ने हुटहुटी भएका र चारैतिरबाट आश गरिएका मान्छेको त यो हविगत हुन्छ भने गर्ने कसले यो देशमा - चौतर्फी यही चरम निराशा व्याप्त छ । अन्यौलताको यो विषाक्त वातावरणमा फेरि अर्को ६०१को जम्बोरी खडा गरेर देशलाई नै सिजोफ्रेनिकहरुको भर्तीकेन्द्र बनाउन किन खोज्दैछन् हुतीहाराहरु रु नालायक नेताहरुका कारण संविधानसभाको प्रयोग यो देशमा असफल भएको देखियो । यसर्थ, २०४७ सालकोझैं बुद्धिजिवी सम्मिलित संविधान निर्माण आयोग गठन गरेर संविधान जारी गर्नु नै अहिलेको समाधान हुनसक्छ ।

Read More

Apr 22, 2012

बोल्ड डेसिजन लिने पालो कांग्रेसको





परम्परागत संसदीय शासनप्रणालीको हदै तीतो अनुभव बोकेको नेपालले फेरि त्यही असफल व्यवस्था बोक्ने मूर्खता कदापि गर्न सक्दैन । यो आममनोविज्ञानलाई नेपाली कांग्रेसले समेत राम्रै बुझेको छ । त्यही बुझेरै बाहिर संसदीय झण्डा बोकेर जतिसुकै कुर्लेपनि ऊ कम्प्रोमाइज गर्न उद्यत छ । यद्यपि अधिनायकवादको हौवा खडा गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थालाई ठाडै इन्कार गर्नुमा उसको दलीय प्रतिष्ठाले पनि धेरथोर भूमिका खेलेको होला । मिश्रित व्यवस्थामा सहमति हुने पछिल्लो खबर इतिहासका संगीन मुद्दाहरुलाई पनि यसैगरी दलीय प्रतिष्ठाको विषय बनाउनुको उपज हो । वास्तवमा दलहरुलाई आफ्ना अडान त्यागेर मिश्रित व्यवस्थालाई मिलनविन्दु बनाउन सजिलो त भएको छ, तर बुझ्नुपर्ने कुरा के हो भने टिकाउ व्यवस्था चाहिं यो हुंदै होइन ।
  राष्ट्रको भविष्यका निम्ति शासकीय स्वरुपको चरित्रभन्दा पनि शासकहरुको चरित्र महत्वपूर्ण हुन्छ भन्ने एकथरि तर्क छ । ठीकै सुनिए पनि यो तर्क किन अपुरो छ भने धेरै अवस्थामा शासकको चरित्र निर्धारणमा शासकीय स्वरुपकै भूमिका अहं देखिएको छ । २०४६ पछि शासनको केन्द्रमा रहेका नेताहरु चानचुने  थिएनन्, ती सबै लामो संघर्षको पृष्ठभूमिबाट निखारिएर आएका थिए । कठोर जेलनेल खेपेका, चरम यातना सहेका अनि देशका लागि केही गरौं भन्ने हुटहुटी भएका तिनै नेताहरु पछि कसरी पतित भए, घटनाक्रमको बेलिविस्तार यहां जरुरी छैन । सरकार टिकाउनैका लागि अंकगणितका भद्दा खेलहरुमा निर्लिप्त भएर कसरी सांसद खरिदविक्रीका खेलहरु पटाक्षेप भए, ती पनि हाम्रो स्मृतिबाट हराईसकेका छैनन् । आखिरमा जति सकिन्छ मोलमोलाई गरेर, जोसंग हुन्छ त्यहीसंग गठजोड गरेर जसरी हुन्छ टिकिराख्नु नै संसदीय व्यवस्थाको बेन्चमार्क बन्न पुग्यो । मूल्यहीनता र अस्थिरताको पर्याय बनेर बद्नाम भएको व्यवस्था हो यो । यसर्थ, बोकिरहेको संसदीय झण्डा बिसाउनु त छंदैछ, परिवर्तित जनआकांक्षालाई सम्बोधन गर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा बोल्ड डेसिजन गर्ने जिम्मेवारी समेत कांग्रेसकै कांधमा आएको छ । स्थिरता र मूल्यको राजनीतिका निम्ति अब संसदीय व्यवस्थाको विकल्प नखोजी नहुने भएको छ ।
  विकल्पहरुमध्ये सर्वोत्तम अहिलेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी, चाहे त्यो माओवादीले भनेजस्तो राष्ट्रपति होस् वा एमालेले वकालत गरेजस्तो प्रधानमन्त्री,नै हो । ६०१ को जम्बो विधायिकालाई बेहोरिरहेका जनताहरु जम्मा दुईचार सीट मात्रै हुने भुरेटाकुरे दलले पनि संसदलाई बन्धक बनाएको देखेर वाक्कदिक्क भएका छन् । नैतिक मूल्ययुक्त स्थिर शासनप्रणाली अनि आर्थिक समृद्धिको सपनालाई साकार तुल्याउन बलियो कार्यकारीको आवश्यकता देखेका छन् जनताहरुले । अमेरिकाको राष्ट्रपति चुन्ने सिस्टमबाट लोभिएका उनीहरु यहां पनि आफ्नै हातले शक्तिशाली कार्यकारी चुनेर निश्चित अवधिका लागि निष्कण्टक शासन चलाउन दिने मनस्थितिमा छन् । त्यसो भएमा सिधै जनताप्रति उत्तरदायी हुने सो कार्यकारीलाई आफू कसरी टिकिराख्ने भन्ने टन्टा नै हुनेछैन र आफ्नो हिसाबले काम गर्न पाउनेछ ।
  तर दुर्भाग्य नै भन्नुपर्छ, दलहरुको सहमति मिश्रित प्रणालीतिर सोझिएको छ । एउटा गल्तीलाई अर्को गल्तीले किमार्थ सच्याउन सक्दैन । मिश्रित प्रणालीअन्तर्गत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीमा जाने हो भने निश्चित छ, हामी अस्थिरता र गतिहीनताको अर्को भुमरीमा फस्नेछौं । दुइटा कार्यकारीका बीच   कार्यक्षेत्र र अधिकार बंँडफाडका विषयले मात्रै होइन, व्यक्तित्वको टकरावले पनि ठूलै समस्या पैदा गर्न सक्छ । के हाम्रो संविधान यात्रा एउटा अस्थिरताबाट अर्को अस्थिरतामा गोलचक्कर मार्नकै लागि हो, नेता महोदय? नभए जानाजान किन यो आत्मघाती कदम? विवाद मिलाउने नाममा झारा टार्ने हिसाबले सुल्झाउने सवाल होइन यो । शासनप्रणाली भनेको राष्ट्रको भविष्यका निम्ति ज्यादै ठूलो महत्वको विषय हो भन्ने कुरा दलहरुले मनन गर्न सकेमात्रै पनि तिनीहरुबीचको आपसी मतभेद धेरै हदसम्म सुल्झन सक्नेछ । यसकारण, माओवादी र एमालेले आफ्ना अडान त्यागेर मिश्रिततिर घिस्रिने होइन कि,बरु कांग्रेसलाई प्रत्यक्ष निर्वाचित कार्यकारीमा मनाउन सक्नुपर्छ । शान्तिप्रक्रिया टुंग्याउन माओवादीले बोल्ड निर्णय लिएजसरी संविधान निर्माणका लागि बोल्ड निर्णय लिने पालो अब कांग्रेसको हो ।
                                                                                             
                                                                                           
                                                                   
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong