........................................................................with words, with issues!!!

Oct 10, 2014

कायाकल्प

First Published in Setopati 

आकाशमा काला बादलहरु देखिंदै थिए | साँझ ढल्किसकेको थियो | जूनको टहटह उज्यालोमा हामी चाँहि अविराम अघि बढ्दै थियौं | यो घनघोर जङ्गल कतिबेला सक्केला र मान्छेको वस्ती आइपुग्ला, फगत यत्ति सोच्दै लमकलमक हाम्रा पाइला चलिरहेका थिए, यन्त्रवत | बिहान सखारै हिंडेका थियौं हामी आमैका औंला समाउँदै | आमै, दुइटी दिदी अनि हामी तीन भाइ कम्ता आत्तिएका थिएनौं घर छोड्दै हिंडेको त्योबेला | बलिन्द्रधारा आँसु बगाएकी थिइन् आमैले | भाइहरु बालखै भएपनि दिदीहरु अनि म चाँहि बुझ्ने भइसकेका थियौं | टाँकघर उध्रिएको सर्ट अनि रङ खुइलिएको जाँघे भिरेर निस्केका थियौं हामी तीन भाइ, हापुरेबाट ! फ्रक र सर्टमा सजिएका हुँदाहुन् दिदीहरु पनि ! बिचरो कान्छो भाइ त बल्लतल्ल दुई वर्षको हुँदो हो, ऊ के आत्तिनु के नआत्तिनु ! कहिले एउटाको काँधमा बोकिन्थ्यो, कहिले अर्कोकोमा | बरा कति हैरान हुँदो हो ! त्यैपनि त्यो चकचके दुईवर्षे बालक त्यो दिन कत्ति रोएको थिएन !
कहिल्यै नहिंडेको बाटो थियो त्यो मेरालागि | भैरेसित खेतका आलीआली हुँदै रानीखोलाको किनारैकिनार हिँडेको जस्तो कहाँ हुनु ? शान्त थियो वातावरण तर मनभरि हुन्डरी त चलिरहेकै थियो | चप्पल त लगाएकै थिएँ, तर पनि पाइला-पाइलामा बिझाइरहेकै थियो | आमै पनि त्यत्रो बाटाभरि एक शब्द बोलिनन् | हामी भोकको आक्रमणमा परिसकेका थियौं | हुनत दिउँसो बाटैभरि भेटिएका बेलौती खाँदै भोक मारेका थियौं, पधेंराबाट तिर्खा मेटेका थियौं | तर दिउँसोका ती आहारले अब अरु धान्नेवाला थिएनन् | त्यहीमाथि अब डर पनि थपिएको थियो- बाघभालुको ! यही डरले होला, थकानले लखतरान भएर पनि हाम्रा गोडाहरु झनै फटाफट लम्किन थाले | खोल्सा, गौंडा र गल्छेडाहरु पार गर्दैगर्दै बल्लतल्ल एउटा कुटीजस्तो स्यानो झुपडी भेट्टियो | हाम्रो हर्षको सीमा रहेन | आखिरमा हामीले मान्छेको वस्ती भेट्टाएका थियौं |
झट्ट न पट्ट आफ्ना केटाकेटीमाथि भोकले गरेको निर्मम आक्रमणको प्रतिकार गरिन् आमैले | दुइटै हात जोड्दै बिन्ती गरिन्- ‘यिनी लालाबाला बिहानैदेखिका भोका छन् दिदी ! बरु मलाई क्यै नदिएपनि हुन्छ, कृपा गरी यिनी केटाकेटीलाई यहाँ जे छ, त्यै दिनुस् | तपाईंलाई ठूलो धर्म हुनेछ |’ कुटीकी आमैले अनि चुल्होमा घुसारिन् आगो र पकाइदिन् हाम्रालागि मकैका रोटी | पेटभरि खान नपाएको धेरै पो भइसकेको थियो, अघाउन्जी खायौं स्वाद मानीमानी ती रोटीहरु | अनि निकाल्यौं साथै बोकेर ल्याएका ओढ्ने-बिछ्याउने कम्बल-डसनाहरु र तन्द्रंग पल्टियौं दैलोनेर त्यही भताभुंग ओछ्यानमाथि, सवार हुँदै सपनाको वायुपंखी घोडामा ! राति स्यालहरुको हवाँहवाँले पनि बिथोल्न सकेन सपना तर के आमै पनि सुत्न सकिन् होला र त्यस्तै घोर निद्रा ?    
                            ******************

बुद्ध भन्थे रे- दुख छ, दुखको कारण छ, दुखको विनाश सम्भव छ, दुख विनाश गर्ने बाटो छ ! त्यही दुख विनाश गर्ने बाटो खोज्दै हाम्रो परिवार आफ्नो थातथलो छोडेर हिंडेको थियो | दुइटी श्रीमतीको रातदिनको रडाकोले बा हुनसम्म हैरान भइसक्नुभएको थियो ! हामी कान्छीपट्टिका थियौं | हाम्री आमै गाउँघरका अरु अबला स्वास्नीमान्छेहरुको दाँजोमा निक्कै टाँठी थिइन् | फुर्तिली, तेजिली अनि जाँगरिली थिइन् | अक्षर नचिने पनि हिसाबकिताब मिलाउनमा उनलाई अक्षर चिनेकै लोग्नेमान्छेले पनि भेट्टाउन सक्दैनथ्यो | उता जेठीआमै चाँहि त्यति ढंगकी थिइनन् | त्यैभएर होला, गाउँमा रहेको हाम्रो त्यत्रो इन्धन-मिलको सप्पै जिम्मेवारी बाले हाम्री आमैको काँधमा छाडेर जानुहुन्थ्यो ! तोरी पेल्न र धान कुट्न आउने मान्छेहरु धानिसाध्य हुन्थेनन् | तर पनि आमै भयङ्कर डटेर खट्थिन् र त त्यत्रो ठूलो मिल, त्यत्राविधि मिस्त्रीहरु अनि त्यतिका धेरै ग्राहकहरुलाई पनि त्यति कुशलतापूर्वक सम्हाल्न सकेकी थिइन् | हुनपनि त्यो मिलबाट अचम्मै राम्रो आम्दानी हुन्थ्यो | पश्चिम दाङका नामी व्यापारीहरुमा बाको नाउँ अग्रपंक्तिमा आउँथ्यो | एकदमै रफ्तारसित बाले व्यापार फैल्याइसक्नुभएको थियो- घोराही, तुलसीपुरका बजारहरूसम्म | एकएक सिंढी र खुड्किलाहरु चढेर धेरै माथि उक्लिसक्नुभएका बाले बरोबर भन्नुहुन्थ्यो- जेठा, खेतीकिसानी मात्रै गरेर कैल्यै उँभो लागिदैन | तर जेठीआमैले त्यो प्रगति पचाउन सकिरहेकी थिइनन् | सौताको जातै निठुरी- त्यत्रो मिल आमैले एक्लो बलबुतामा धान्न सकेकोमा उनी इर्ष्या गर्थिन्, बाकी प्यारी कान्छी हुँदै गएकामा भित्रभित्रै मुर्मुरिन्थिन् | यसले मिलको सप्पै कमाइ माइतीमा लगेर बुझाउँछे- उनी गाउँभरि आमैका विषयमा यस्तै नचाहिंदा हल्ला फैल्याउँथिन् | कन्नापछाडि हाम्री आमैका बाह्रसत्ताइस कुरा लाउनु र सराप्नु उनको दिनचर्या नै भएको थियो | तर पछिपछि त आमनेसामने नै विश्वयुद्ध पर्न थाल्यो | आमैहरु कपाल लुछालुछ र घाँटी च्यापाच्याप गरेको देख्दा हामी भुराहरु नजिकैको झाडीमा लुक्न जान्थ्यौं | एक रात त मेरी आम्मै, तिनले ठूलो षड्यन्त्र बुनिछन् | राति हामी सबै सुतेको मौका पारी बालाई छोडेर आमैसहित हामी पाँचै केटाकेटीलाई एकै चिहान पार्ने तानाबाना पो रचिछन् | तर धन्न हाम्रो बाँच्ने भाग्य रैछ ! खुकुरी बोकेर जसै उनी हाम्रो वध गर्न अघि बढ्दैथिइन्, दैवसंजोगले हजुरआमा झल्याँस्स ब्युँझिइछन् | रिसले आगो बनेकी जेठीआमैले त्यसपछि त्यो खुकुरी त्यतैको घैंटोमा हान्न पुगिन् | यसरी एउटा कोतपर्व टरेको थियो त्यो रात हाम्रो घरमा |
कोतपर्व त टर्यो, तर महाभारत चाँहि झनै चर्किंदै थियो | सौता-सौताबीचको जन्ड अहंको टक्कर दिनप्रतिदिन अरु भीषण हुँदै गएको थियो | रातदिनको घरझगडाले दिक्दार हुनुभएका बा अब दुइटीलाई सँगै राख्न नसकिने निष्कर्षमा पुग्नुभएको थियो | बाको कुरा पनि कान्छीसँगै बढी मिल्थ्यो | जेठीआमैलाई त्यतै छोडेर बा अब हामीसँगै टाढा कतै बसाईं सर्दै हुनुहुन्छ भन्ने सुइँको मैले पाइसकेको थिएँ | तर यत्तिकैमा बाका झन् खराब दिनहरु शुरु भए |  
                                  ******************        

पैसाको अहंकारबाट वशीभूत भएर बा जुवातासतिर लहसिएनु भएको थियो | दाङका गन्यमान्य सनातन सम्भ्रान्तहरुसँग जुवातासका महलमा बाको डेरा जमेको थियो | हरेकदिनजसो जानैपर्थ्यो बालाई त्यहाँ र रम्नुपर्थ्यो जुवाको खालमा | फर्केर घर आउँदा एकदमै कालोनिलो अनुहार पारेर दाह्रा किट्दै अनि आँखा तर्दै आउनुभयो भने बुझे हुन्थ्यो- बाले आज धेरै हार्नुभएछ | त्यसदिन हामी केटाकेटी बाको सामुन्ने नै पर्दैनथ्यौं | देख्यो कि त सातो लिने गरी हप्की लाउने र गाला चड्काउने गर्नुहुन्थ्यो बा | आमैहरुसित पनि उस्तै रुखो व्यवहार हुन्थ्यो | हुनपनि आँखा चिम्लेर सप्पै कुरा दाउमा हाल्नुहुन्थ्यो बा | कति अज्ञानी हुन् हाम्रा बा- सप्पै भाइबैना यस्तै सोच्थ्यौं | तर जितेर आउँदाका दिन चाँहि बाको अर्कै रोब-रवाफ हुन्थ्यो | हाम्रा लागि केही न केही त ल्याएरै आउनुहुन्थ्यो | चिउँडोमा समात्दै एक एक गरी सप्पैका निधारमा म्वाई खानुहुन्थ्यो र दश-बीस रुपियाँ हातहातै बाँड्नुहुन्थ्यो | कति जाती हुन् हाम्रा बा- सप्पै भाइबैना यस्तै सोच्थ्यौं |   
मान्छेमा एकपटक जुवाको नशा चढेपछि त्यो त्यतिबेलासम्म उत्रिन्न जबसम्म ऊ सम्पूर्ण रुपले भुट्टीदैन- पल्लाघरे काका बरोबर भन्नुहुन्थ्यो | आखिर बालाई पनि त्यही हुनु रहेछ | बाको त्यो चमकधमक पूरै धूलिसात् भइसकेको थियो | भएभरको रुपियाँपैसा, सुनचाँदी, गरगहना, मिल, खेतबारी अनि हामी बसिरहेको त्यो घर- सप्पैसप्पै स्वाहा भएको थियो | दशौँ हजारको ऋण पनि लाइसकेको थियो | गाउँका कहलिएका भूपति भएर पनि हाम्रा बाको उठिबास हुने स्थिति आइसकेको थियो | बर्बाद हुनलाई अब त्यहाँ केही बाँकी थिएन | दैव लाग्यो बाबु हो- आमै भन्थिन् | एकसमय प्रधानपञ्चसम्म हुनुभएका बाको यति नाटकीय रुपमा कायाकल्प होला भनेर कसैले सोचेकोसम्म थिएन | बालाई अब कसैले नमस्तेसम्म गर्दैनथे | तन्नम हालत भएपछि अब हापुरे विरानो भएको थियो, त्यसैत्यसै उराठ लाग्न थालेको थियो | बलेको आगो ताप्ने मान्छेहरुको भीडमा छरछिमेकी र इष्टमित्रहरु पनि पराई भएका थिए | कोही थिएनन् सहानुभूति देखाउने, सहयोग त परैको कुरा | मान्छेहरुको धुइरो लाग्ने हाम्रो घर मसानघाटमा परिणत भएको थियो | हाम्रो स्कुल पनि छुटेको थियो | जबकि पहिले घरमै आउँथे मास्टरहरु पढाउन | यिनै आँखाले त्यो वैभव देखेको थिएँ, तर अब हाम्रो अभागी जीवनमा अभाव र उपेक्षा मात्रै बाँकी थिए |
‘हापुरे छोड्ने दिन आयो कान्छी, भोलि बिहान भाले बास्न नपाउँदै तिमीहरु बाटो लाग्नुपर्छ, म दुई-चार दिनपछि आउँछु’- लाचार अनुहार पारेर एकदिन काँपेको आवाजमा बाले भन्नुभयो | यति भन्दै निस्सासिएका बा त्यसपछि शुन्यमा टोलाउनुभयो | असोजको महिनामा पनि बाका चिटचिट पसिना आएका थिए | हे हरि, बा त भित्तातिर अनुहार फर्काएर धुरुधुरु रुन पो थाल्नुभयो | लोग्नेमान्छे रोएको मैले पहिलोचोटि देखें | ढोकाको कापोबाट एकतमासले चिहाइरहेको मैले के पनि देखें भने बा त सुकेर दाउराझैं हुनुभएको रहेछ | खै त्यो गठिलो जीउडाल भएका मेरा बा ? मसँग उत्तर थिएन | आमै चाँहि नुन खाएको कुखुराझैँ निस्तेज देखिन्थिन् | झोक्र्याएर बसेकी थिइन्, बेलाबेला सुँक्सुँक्याउँथिन् पनि | अनुहारमा विषादको कालो बादल थियो | बाको आदेशमा हुन्छ, हुन्न केही पनि भनिनन् | दिदीहरुका आँखामा पनि प्रष्टै सन्त्रास देखिन्थ्यो, त्यही सन्त्रास जुन चितुवाको अगाडि परेको पाठाका आँखामा हुन्छ |

त्यसको भोलिपल्ट बिहानै हामीले गाउँ छाड्यौँ | तर दुखिया बा हुनुहुन्नथ्यो हाम्रो साथ | र त्यति टाँठी आमैसँग पनि थिएन नक्सा र गन्तव्य |   

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong