........................................................................with words, with issues!!!

Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

Aug 30, 2025

जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!


First published in SwasthyaKhabar

पछिल्लो समय देशका विभिन्न भागमा मूलतः ग्रामीण भेगमा विभिन्न संघसंस्थाको आयोजनामा स्वास्थ्य शिविर (हेल्थ क्याम्प) गर्ने प्रचलन बढ्दो छ | एकजना चिकित्सकको नाताले मैले पनि यस्ता शिविरहरुमा सहभागी भएर बिरामीहरुको कुरा सुन्ने, काउन्सेलिङ गर्ने र औषधि बाँड्ने मौका पाएको छु | करिब दर्जन यस्ता शिविरहरुको अनुभवपछि भने मेरो मनमा प्रश्न उठेको छ- के यी स्वास्थ्य शिविरहरुले साँच्चिकै ती बिरामीहरुको स्वास्थ्यमा, स्वास्थ्य-चेतनामा र आनीबानीमा कुनै सकारात्मक परिवर्तन ल्याउन सकेका छन् त ? कि कतै त्यत्रो खर्च र तामझामका साथ गरिने चीजले उल्टै नकारात्मक असर पो पारिरहेको छ ? मेरो अनुभवले भन्छ- स्वास्थ्य शिविर भन्दै संचालन गरिएका अधिकांश एकदिने क्याम्पहरु हतार हतार सम्पन्न गरिने अनुष्ठानजस्तै हुन् | तिनले मानिसका स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुनसक्ने मेरो ठम्याई छ |

इतिहासमा हेल्थ क्याम्प

नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि शुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ | तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक लेखमा लेखेअनुसार ‘बर्ड्स अफ नेपाल’ पुस्तकका लेखक रबर्ट फ्लेमिङले सन् १९५१/५२ मा आफ्नी श्रीमती डा. बेथेल र अर्का डाक्टर कार्ल फ्रेडरिक्ससँग नेपाल आएका बखत पाल्पाको तानसेनमा ६ हप्तासम्म हेल्थ क्याम्प संचालन गरेका थिए | करीब २ हजारको उपचार तथा केहीको शल्यक्रिया गरिएको सो क्याम्प नै सम्भवतः नेपालमा गरिएको पहिलो हेल्थ क्याम्प थियो | त्यस्तै सन् १९६५ ताका संयुक्त राज्य अमेरिकाको प्राविधिक सहयोगमा परिवार नियोजनका सेवा शुरु भएपछि भने ७० कै दशकभरि पुरुषका लागि स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ र महिलाका लागि ‘मिनिल्याप’ का क्याम्पहरु प्रचुरमात्रामा चलेको बुझिन्छ | त्यसैगरी सन् १९७२ मा ‘एसोसिएसन फर अफ्थ्याल्मिक कोअपरेसन इन एसिया’ नामक एक जापानी एनजीओले पहिलो आँखा क्याम्प गरी ७४५ वटा मोतिविन्दुको शल्यक्रिया गरेको देखिन्छ | विदेशी चिकित्सकहरुले यसरी शुरु गरेको हेल्थ क्याम्पमा आजपर्यन्त उनीहरुको उल्लेखनीय संलग्नता पाइन्छ | विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय संस्थाहरुमार्फत विदेशी डाक्टरहरु यहाँ आएर यस्ता क्याम्पमा सहभागी हुने गरेका छन् भने विभिन्न फार्मास्युटिकल कम्पनीहरु, एनजीओ/आइएनजीओ, सामाजिक संस्था, निजी अस्पताल/मेडिकल कलेज र क्लबहरुदेखि लिएर गाउँपालिका/नगरपालिकाजस्ता स्थानीय निकायहरु सम्म यसका आयोजक रहने गरेका छन् |

अनुभव १: अछाम

अछामको जिल्ला अस्पतालमा कार्यरत रहँदा त्यहाँस्थित एक गैरसरकारी संस्थाले एकपटक एउटा स्वास्थ्य शिविर आयोजना गरेको थियो | एचआईभी/एड्सको महामारी रहेको अछाममा एड्सकै विषयमा काम गर्ने दर्जनौं एनजीओहरु छन् र यो शिविरको आयोजक एनजीओले काम गर्ने विषय पनि त्यही थियो | सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको एउटा गाउँमा आयोजना गरिएको त्यो शिविरमा मुख्य गरी यौनजन्य संक्रमणका बिरामीहरुको जाँच गर्ने उद्देश्य राखिएको थियो | गाउँको स्थानीय स्कुलमा राखिएको सो शिविरमा बिरामी चेकजाँच गर्न म एकजना र एकजना हेल्थ असिस्टेन्ट थियौं | शिविरकै लागि भनेर आयोजक संस्थाले करिब एक लाख रुपैयाँबराबरको औषधि खरिद गरेर ल्याएको थियो |

निशुल्क शिविर भनेर गाउँमा रेडियोले राम्रै प्रचार गरेको थियो, भएभरका मानिस ओइरिएर आए | भन्नलाई त ‘यौनजन्य संक्रमणका बिरामीको निम्ति स्वास्थ्य शिविर’ भनिएको थियो, तर गर्नेबेला त्यो ‘जनरल हेल्थ क्याम्प’ नै हुन गयो जहाँ शरीरका विभिन्न भाग दुख्ने र चड्किनेदेखि स्वाँस्वाँ र फ्वाँफ्वाँ हुने सम्मका हरेक प्रकृतिका बिरामीहरु भेटिए | कतिपय चाँहि कुनै समस्या नभइकन पनि आएका थिए जसबारे सोध्दा उनीहरुको उत्तर हुन्थ्यो- औषधि मिल्छ कि भनेर आएको हजुर ! सित्तैमा हाम्रोलागि औषधि आएको हुन्छ, त्यो लिनुपर्छ भन्ने मूल ध्येय हुँदोरहेछ मानिसहरुको | स्वास्थ्य शिविरलाई उनीहरुले आफ्नो शरीर चेकजाँच गर्ने अवसर भन्दा पनि औषधि वितरण कार्यक्रमका रुपमा बढी लिएको पाएँ | ‘खोइ आमा, तपाईंको छाती जाँच गरौँ’ भन्दै आला लगाउन खोज्दा एउटी वृद्धाले भनेकी थिइन्: ‘भो बाबु, मलाई दबाई देउ ! चेक त मलाई यहींको हेल्थपोस्टमा पनि गर्छन् !’ यसरी कुनै खास रोगका बिरामीहरु पत्ता लगाउने र उपचार गर्ने भन्ने उद्देश्य राखेर क्याम्प गर्दा पनि स्थानीयस्तरमा त्यसखाले सम्भावित बिरामीहरु पहिल्यै पहिचान गरेर मात्रै क्याम्पमा ल्याउने संयन्त्र नहुँदा अन्ततः त्यो जनरल हेल्थ क्याम्प नै हुनपुग्दो रहेछ | जसकारण क्याम्पको उद्देश्य नै अपूरो रहन जान्छ |

अर्कोतिर, शिविरमा आउने हरेक मानिस औषधि नै चलाउनुपर्ने स्तरको समस्या बोकेर आएका हुन्छन् भन्ने हुँदैन | कतिपय हुन्छन् आफ्नो जीवनशैली परिवर्तन गरेमा सुधार हुनेहरु, कतिपय हुन्छन् खानपिनका कुरामा ध्यान दिनुपर्नेहरु अनि अन्य कतिपय मनोसामाजिक परामर्शद्वारा ठीक हुनेहरु | औषधि चलाउनुपर्नेलाई त औषधि दिन्थ्यौं नै | तर जसलाई हामी भन्थ्यौं कि तपाईंलाई औषधिको जरुरत छैन, ती मानिसहरु आक्रोशका साथ भन्थे: ‘औषधि नै नदिने भएपछि किन क्याम्प चलाएको? त्यति टाढाको गाउँबाट यही क्याम्पका लागि भनेर घन्टौंको बाटो हिंडेर हामी आउने, तपाईंले चाँहि औषधि पर्दैन भन्ने?’ मानौं, हामीले लिएर आएका औषधिहरु हरेक कुराको रामवाण हुन् र ती औषधिबाहेक उपचारका अन्य विधिहरुको कुनै काम छैन |

औषधिको जथाभावी प्रयोग राम्रो होइन, बिनाकारण औषधि सेवन गर्दा अन्तत: हाम्रै शरीरलाई हानी गर्छ अनि उपचार गर्ने भनेको औषधि बाँड्ने मात्रै होइन भनेर सम्झाउने यत्न नगरेको होइन तर त्यो भीडभाडमा कुरा सुनिदिने कसले, बुझिदिने कसले ! फेरि सयौंको संख्यामा बिरामी दर्ता भएका छन्, दिनभरिमा सबैलाई हेरिभ्याउनुपर्ने बाध्यता छ, राम्रोसँग सम्झाउने बुझाउने फुर्सद पनि कहाँ होस् हामीलाई ! अन्ततः अन्यत्रको झैं त्यो किचकिच र झमेलाबाट पार पाउन सजिलो बाटो रोज्यौं हामीले- ग्यासट्राइटिस (चलनचल्तीको ग्यास्टिक) का लागि चलाइने गोली (एसिलक) अनि भिटामिनको क्याप्सुल हातहातै बाँड्ने र उम्किने |  यसरी एकातिर हामी औषधिको समुचित प्रयोगको रट लगाउँदैगर्दा अर्कातिर क्याम्पहरुमा अनावश्यक रुपले औषधि बाँडिहिंडेर विरोधाभाषपूर्ण व्यवहार देखाइरहेका थियौं |

औषधिको समुचित/अनुचित प्रयोग

विश्व स्वास्थ्य संगठनले ‘औषधिको समुचित प्रयोग’ लाई यसरी परिभाषित गरेको छ: ‘बिरामीलाई आफ्नो रोगअनुसारको उपयुक्त औषधि आफू र आफ्नो समुदायका निम्ति न्युनतम मुल्यमा उपलब्ध भइ उपयुक्त मात्रामा उपयुक्त समयसम्म प्रयोग गर्नु नै औषधिको समुचित प्रयोग हो |’ यो परिभाषालाई मान्ने हो भने हाम्रा अधिकांश स्वास्थ्य शिविरहरुले औषधिको अनुचित प्रयोगलाई बढावा दिइरहेका छन् भन्न हिच्किचाउनुपर्ने कुनै कारण छैन |

औषधिको समुचित प्रयोग गर्नुपर्ने चिकित्सकहरुबाट नै स्वास्थ्य शिविरमा उल्टो काम कसरी भइरहेको छ त?

माथि नै भनियो, आफ्नै गाउँघरमा निशुल्क शिविर भनेपछि त्यो गाउँ मात्रै नभएर वरिपरिका गाउँहरुबाट पनि थेगिनसक्नुको भीड उर्लेर आउँछ | सहरबाट ठूला डाक्टर आएका छन्, सबैजना चेकजाँच गर्न आउनु, औषधि लैजानु भनेर आयोजक संस्थाले गर्ने आक्रामक प्रचारबाजीले गर्दा पनि ठूलो संख्यामा मानिसहरु आउने गर्छन्, ठूलै आशा बोकेर | जगजाहेर कुरा हो, संख्या बढ्दा गुणस्तर खस्किन्छ; संख्या कम भएमा गुणस्तर उकास्न सकिन्छ |

सयौंको संख्यामा मानिस आउँदा उनीहरुलाई दिनुपर्ने जति समय दिन सकिंदैन | सात-आठ घण्टाको अवधिभित्रै जम्मैलाई सेवा दिइसक्नुपर्ने पावन्दी जो हुन्छ | गुणस्तरीय सेवा दिनका निम्ति अन्तर्राष्ट्रिय मापदण्ड हेर्ने हो भने एउटा बिरामीलाई औसतमा दस मिनेट समय दिनुपर्छ डाक्टरले | त्यो भनेको एक घन्टामा ६ जना बिरामी अर्थात् एक दिने क्याम्पमा लगातार आठ घण्टा (बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म) हेर्ने हो भने पनि मुस्किलले ४५ देखि ५० बिरामीसम्म हेर्न सकिन्छ | त्यसमाथि केही समय खानानास्ता र केहीबेर ‘फ्रेस’ हुनका निम्ति पनि छुट्याउनुपर्यो | राष्ट्रियस्तरका ठूला संस्थाले आयोजना गरेको शिविरबाहेक स्थानीय स्तरमा गरिने अधिकांश शिविरमा बढीमा दुइजना स्वास्थ्यकर्मी खटाइएका हुन्छन् | यसहिसाबले एकदिने क्याम्पमा अधिकतम् हेर्न सकिने बिरामीको संख्या हो सय | तर यथार्थ के हो भने बिरामीहरु ३०० देखि ५०० को संख्यामा हुन्छन् | त्यसमध्ये खास बिरामीको संख्या केही थोरै नै हुन्छ तर आएका जतिलाई नजाँची धरै हुँदैन | आयोजक संस्थालाई पनि कत्तिको स्तरीय सेवा प्रवाह हुनसक्यो भन्नेमा कुनै मतलब हुँदैन | कति धेरै मानिसहरु दर्ताकिताबमा दर्ता भए- बस् उनीहरुको चासो त्यत्तिमै सीमित देखें | जतिसक्दो फटाफट धेरैभन्दा धेरै बिरामी भ्याउनुहोस् डाक्साप-उनीहरुको सल्लाह यत्ति पाएँ मैले | यस्तो परिस्थितिमा सबै बिरामी हेरिसक्नुपर्ने दबाबका बीच नचाहँदानचाहँदै पनि हामीले दिने सेवाको गुणस्तर कायम राख्न सक्दैनौं | क्याम्पमा जसै दिन ढल्दै जान्छ, थकानले हामीलाई छोप्दै जान्छ अनि अब त छिटो भ्याउनुपर्यो भन्ने हतारोले हाम्रो चेकजाँच पनि झारा टार्ने हिसाबको हुँदै जान्छ | बिरामीसँग मीठामीठा बात मार्न झिँजो लाग्दै जान्छ अनि उही भिटामिन र एसिलकका गोली दिँदै ‘लौ हजुर, यो खानुहोला, निको हुन्छ’ भन्दै पठाउन सजिलो लाग्न थाल्छ | औषधिको अनुचित प्रयोगको बन्दी बनाइछोड्छ शिविरले यसरी |

अनुभव २ : डडेल्धुरा

डडेल्धुराको अनुभव पनि त्यति प्रीतिकर रहेन | उही भीडभाड, उही औषधिको माग, उही सबथोक फूमन्तर गरेर ठीक हुने आशा ! हामीहरुसँग भने आला र रक्तचाप जाँच गर्ने मेसिनबाहेक अन्य आवश्यक उपकरणहरुको व्यवस्था थिएन | कान दुखेर आउने बिरामीको ओटोस्कोपले कान हेर्नुपर्ने हुन्थ्यो जुन त्यहाँ थिएन | योनीबाट सेतो पानी बगेर आएको बिरामीको स्पेकुलमबाट जाँच गर्नुपर्थ्यो; त्यो पनि त्यहाँ थिएन | यसरी स्वास्थ्य चौकीमा समेत पाइने सामान्य उपकरणहरु नहुँदा अन्दाजकै भरमा औषधि चलाउनुपर्ने विवशता हाम्रासामु थियो | अनि त्यहाँ चलाइएका ती औषधिहरुले कस्तो रेस्पोन्स गरे, बिरामी ठीक भए या भएनन्- फलोअप नहुने हुनाले हामीलाई ती कुरा थाहा हुने भएन | फलोअपबिनाको उपचार पनि के उपचार- उपचार गरिरहँदा मेरो मनमा यस्तै केही खेल्दै थियो |

त्यसमाथि त्यो दिन गाउँमा एकजना २२ वर्षीय पुरुषले झुण्डिएर आत्महत्या गरेको खबर आयो | पोस्टमार्टम गर्न सदरमुकामस्थित म कार्यरत अस्पताल लग्नुपर्ने भयो | प्रहरीले त्यसैको तयारी गर्दै थियो तर गाउँपालिकाको अध्यक्षले एक्कासी अचम्मको प्रस्ताव राख्नुभयो | ‘अस्पतालको डाक्साप यतै हुनुहुन्छ क्यारे, यहीं पोस्टमार्टम गरे कसो होला ! गाउँमै पहिलोपल्ट पोस्टमार्टम भएको रेकर्ड पनि रहने थियो !’- उहाँले मसँग भन्नुभयो | विस्मित् हुँदै मैले भने- ‘अध्यक्षज्यू, यो नमिल्ने कुरो हो | पोस्टमार्टम भनेको चौरमा सबैका अगाडि लास चिर्ने कुरा होइन | यसका आफ्नै नियम छन् | यहाँ खोइ कहाँ छ पोस्टमार्टम घर, कहाँ छन् चिर्ने औजारहरु, कहाँ छन् चिर्न सघाउने सहयोगीहरु ? त्यसैले कृपा गरेर अस्पतालमै लैजानुस् र त्यहाँ ड्युटीमा रहनुभएका डाक्टरलाई भनेर प्रकृयाअनुसार पोस्टमार्टम गराउनुहोस् |’ अलिक बुझ्ने खालकै अध्यक्ष हुनुहुँदो रहेछ क्यार, एकचोटीमै कुरा मान्नुभयो र लासलाई गाडीमा अस्पताल पठाउनुभयो | प्रश्न उठ्यो, उहाँ अलि एकोहोरो खालको मानिस भएको भए मैले दबाब थेग्न सक्थें त ? आफ्नो क्षेत्रको जनतालाई ‘हेर मैले तिमीहरुको लागि रेकर्ड राखेर देखाएँ’ भन्नका खातिर हुँदै नहुने कुरा शिविरमा गराउन खोजेर पनि हुन्छ त ? बरु त्यो ठाउँमा अस्पताल खोल्न पहल गरुन्, डाक्टर र स्वास्थ्यकर्मीहरुलाई बस्ने वातावरण मिलाइदिउन्, उपकरण र औजारहरुको प्रबन्ध गरिदिउन् ! तब पो रेकर्ड रहन्छ, नकि एक दिने क्याम्पमै सबैथोक गराइदिन खोज्ने स्टन्टबाजीले !

यसो भन्दै गर्दा सबैखाले क्याम्पहरु खत्तमै हुन् भन्न खोजेको होइन | डडेल्धुरा अस्पतालमै भएको दुइदिने हाडजोर्नी क्याम्पले थुप्रै बिरामीहरु लाभान्वित भएका थिए | कतिको भाँचिएको हाडको अपरेसन भयो भने कतिको हाडमा राखिएका रडहरु निकालिए | धनगढी वा नेपालगंज जानुपर्ने बिरामीहरुले, दुई दिनकै लागि सही, आफ्नै घरआँगनको अस्पतालबाट विशेषज्ञ सेवा पाए | यसैगरी पाठेघर खसेका महिलाका निम्ति पाठेघरको अपरेसन गर्ने क्याम्प, मोतिविन्दुका बिरामीका निम्ति अपरेसन गर्ने क्याम्पजस्ता विशेषज्ञ सेवा दिने क्याम्पहरु भइरहनु जरुरी छ | एउटा खास रोगका निम्ति भनेर गरिने क्याम्पमा त्यहीअनुसारको विशेषज्ञ जनशक्ति आएको हुन्छ, त्यहीअनुसारका उपकरणहरुको जोहो गरिएको हुन्छ र बिरामी पनि त्यहीअनुसारका लक्षणहरु भएकालाई ल्याइएको हुन्छ | यसर्थ जनरल क्याम्पको जस्तो गन्जागोल त्यहाँ रहँदैन जसकारण यो प्रभावकारी छ | तर फेरि पनि मुख्य कुरो भनेको मैले माथि अछामको अनुभवमा लेखेजस्तो विशेषज्ञ सेवा दिने क्याम्पहरुलाई जनरल क्याम्पमा ‘डीजेनेरेट’ हुन नदिने कसरी भन्ने नै हो | दुर्गमका यी अस्पतालमा काम गर्दा मैले देखेको छु, यहाँ कति यस्ता आमाहरु छन् जो आङ खसेको पीडा लिएर बसिरहेका छन् र व्यग्र प्रतिक्षामा सोधिरहेका छन्- ‘बाबु, त्यो शिविर कहिले आउँछ?’ कति यस्ता बाहरु छन् जो बादल लागेको आँखा लिएर घुमिरहेका छन् र व्यग्र प्रतिक्षामा सोधिरहेका छन्- ‘बाबु, त्यो शिविर कहिले आउँछ ?’ विशिष्टकृत सेवा दिने भनेर संचालन गरिएका क्याम्पहरु जनरल क्याम्पमा झर्न थाले भने यी बा र आमाहरुले सेवा पाउँदैनन् | पाए पनि त्यही मल्टीभिटामिनका क्याप्सुल पाउँछन्, पाउँदैनन् आङ खसेको अपरेसन अनि आँखाको ज्योति !

सहरका ठूला अस्पतालमा सीमित विशेषज्ञ सेवाहरुमध्ये क्याम्प गरेर दिन सकिने सीमित यस्ता सेवाहरु दुर्गम ठाउँमा कसरी राम्रो ढंगले प्रवाह गर्न सकिन्छ, त्यसप्रति सबैले ध्यान दिनुपर्छ | यो लेखमा चर्चा गरिएको भने जनरल हेल्थ क्याम्पको हो |

एन्टीमाइक्रोबियल रेजिस्टेन्सका कुरा

शरीरमा हुने विभिन्न किसिमका ब्याक्टेरियाका संक्रमणविरुद्ध काम गर्ने एन्टीबायोटिक भनिने औषधिहरुले ब्याक्टेरियासँग लड्ने आफ्नो त्यो क्षमता द्रुतगतिमा गुमाउँदै गएको कुरा स्थापित भइसक्यो | पहिले त्यही एन्टिबायोटिकले कुनै ब्याक्टेरियाविरुद्ध राम्रोसँग काम गर्थ्यो भने आज आएर त्यो ब्याक्टेरियाले प्रतिरोधी क्षमताको विकास गरेको छ जसकारण कडाभन्दा कडा एन्टिबायोटिकहरु पनि निकम्मा सावित हुँदैछन् | विश्व स्वास्थ्य संगठनले भनिसक्यो: अब सामान्यभन्दा सामान्य संक्रमण र घाउचोटहरुले पनि ज्यान जाने ‘पोस्ट-एन्टीबायोटिक एरा’ हाम्रो सन्निकट आइसक्यो | आखिर यस्तो भयावह अवस्था निम्त्यो कसरी ? एकै शब्दमा भन्दा- एन्टीबायोटिकको जथाभावी प्रयोगले |

चाहे अस्पतालमा होस् या क्लिनिकहरुमा, चाहे स्वास्थ्यकर्मीले ‘प्रेस्क्राइब’ गरेर होस् या बिरामी आफैंले किनेर, हचुवाको भरमा एन्टीबायोटिक खाने/खुवाउने ट्रेन्ड दिनानुदिन बढ्दो छ | यो ट्रेन्डमा हेल्थ क्याम्पहरुको पनि सहायक भूमिका छ | बाँड्ने औषधिको लिस्टमा सेफिक्सिम र ओफ्लोक्सासिनजस्ता एन्टीबायोटिकहरु प्राय: कुनै शिविरमा छुटेका हुँदैनन् | जबकि यी एन्टीबायोटिक कुन अंगको कस्तोखाले संक्रमण हो, यकिन गरेर निदान गरेपछि मात्रै चलाउनुपर्ने हो | तर शिविरमा ल्याब जाँचहरु नहुनेहुँदा यकिन निदान गर्न गाह्रो हुन्छ | यकिन निदान नहुँदा लक्षणका आधारमा मात्रै पनि एन्टीबायोटिक चलाउनुपर्ने हुनसक्छ, किनकि थप जाँचका निम्ति अनेकन् कारणहरुले त्यो बिरामीको सदरमुकामस्थित अस्पतालसम्म पहुँच नहुन सक्छ | व्यक्तिगत रुपमा भन्दा, शिविरमा मैले अपवादबाहेक (क्लिनिकल जजमेन्टका आधारमा) एन्टीबायोटिक लेखेको छैन, बरु तिनै एसिलक र भिटामिन दिएर पठाएको छु | तर सायद यो एन्टीबायोटिक रेजिस्टेन्सको भयावहताको जानकारी नभएकाले होला, कतिपय अन्य स्वास्थ्यकर्मी साथीहरु एन्टीबायोटिकजस्तो औषधिलाई पनि बिना सोचीसम्झी भिटामिन लेखेजसरी नै लेख्नुहुन्छ | कसैगरी शिविर सम्पन्न हुँदा औषधिको पोकोमा एन्टीबायोटिक पनि बचेका छन् भने आयोजक संस्थाका साथीहरुले बिरामीलाई बोलाउँदै भनेको सुनेको छु: ‘लिएर जानुस् यो पनि, हामीले फिर्ता लग्ने कुरा हुँदैन क्यारे !’ मानौं एन्टीबायोटिकहरु गाउँमा बाँडिने चाउचाउ/ बिस्कुट हुन् | तर खासमा यी एन्टीबायोटिक त दुईधारे तरबार जस्ता पो हुन् जसलाई चलाउन जान्यो भने जीवन दिने बुटी सावित हुन सक्छन् भने चलाउन नजान्दा जीवन लिने विष !

यसरी क्याम्पहरुमा देखिएको एन्टीबायोटिक बाँड्ने प्रवृतिले एन्टीमाइक्रोबियल रेजिस्टेन्स बढाउनमा र पोस्ट-एन्टीबायोटिक एरातिर धकेल्नमा केही न केही भूमिका खेलिरहेकै छ |

आयोजकका स्वार्थ

मेरो अनुभवमा आयोजक संस्थाको हामी क्याम्पमा बिरामी हेर्ने स्वास्थ्यकर्मीहरुसँग त्यस्तो कुनै खास सम्बन्ध रहेको हुँदैन | धेरैको स्वार्थ भनेकै आ-आफ्नो संस्थाको मार्केटिङ बढाउने नै रहेको पाएँ | कुनै औषधि कम्पनीले गरेको रहेछ भने नि:सन्देह उसले आफ्ना औषधिहरुको प्रचारप्रसार गर्ने अवसरका रुपमा यसलाई लिन्छ | कुनै निजी अस्पताल/क्लिनिकले गरेको रहेछ भने सोहीअनुसार उसले पनि आफ्नो व्यापारिक माहौल बनाउने मौका छोप्छ | स्थानीय गाउँपालिका/नगरपालिकाहरु पनि यो होडबाजीमा पछि छैनन् | आखिर जनप्रतिनिधिहरुलाई पनि देखाउनु छ- हेर जनता हो, मैले तिम्रो घरआँगनमै डाक्टरहरु ल्याएर देखाइदिएँ | यही दुनियाँका अगाडि देखाइदिने प्रयोजनमा आयोजकहरु सफल छन् तर यी क्याम्पहरुको झूर ‘क्वालिटी अफ सर्भिस’ भने आजसम्म पनि ढाकछोप हुँदै आएको विषय हो | अखबारका पाना र आयोजकका रिपोर्टमा यति हजार बिरामीले सेवा पाए भन्ने गौरवपूर्ण बखान पढ्दै गर्दा त्यो सेवाको गुणस्तरमा गहिरिएको खोइ ? कस्तो संस्थाले कस्ता स्वास्थ्यकर्मी ल्याएर कस्तो खाले क्याम्प गरिरहेको छ, यसले समुदायमा कस्तो असर पारिरहेको छ; यसबारे अनुगमन र निरीक्षण खोइ ? मिडियाले पनि आयोजक संस्थाले दिएको विवरण जस्ताको तस्तै छाप्नेभन्दा अरु काम गर्नसकेको छैन | ‘निशुल्क स्वास्थ्य शिविर सम्पन्न, हजारौं बिरामी लाभान्वित’- हरेकजसो मिडियाको साझा हेडलाइन यही हुन्छ, जुन ती आयोजकले टिपाएका हुन्छन् | त्योभन्दा गहिरिएर कस्तो सेवा, कसले दिएको सेवा, कुन गुणस्तरको सेवा भनेर खोज्ने जाँगर कुनै मिडियाले देखाएको मलाई थाहा छैन | हालसम्म गरिएका क्याम्पहरुले आफ्ना जनताको स्वास्थ्य स्थितिमा कस्तो प्रभाव पारेको छ भनेर सरकारका तर्फबाट पनि न त अध्ययन भएको छ न त त्यो नाप्ने सूचकहरु नै बनाइएको छ |

अन्य अध्ययनका कुरा

Medical Camps and their Usefulness शीर्षकमा काठमाडौं युनिभर्सिटी मेडिकल जर्नलमा Karki DB, Dixit H Neopane A को एउटा लेख छापिएको छ | त्यसमा उहाँहरु लेख्नुहुन्छ- ‘उच्च रक्तचाप, मधुमेह, मृगौला रोगजस्ता नसर्ने रोगहरुको प्रकोप बढिरहेका बेला ती रोग लाग्नसक्ने वा लागेका मानिसको जतिसक्दो चाँडो पहिचान गर्न जरुरी हुन्छ र यसरी ‘स्क्रिन’ गर्न राम्रो ढंगले चलाइने हेल्थ क्याम्पहरु सहायकसिद्ध हुन्छन् |’ म सहमत छु यो वाक्यमा किनकि यसमा भनिएको हेल्थ क्याम्प फगत मैले अनुभव गरेको जस्तो देखावटी हेल्थ क्याम्प होइन, राम्रो ढंगले चलाइने हेल्थ क्याम्प हो | तर हाम्रोजस्तो सेटअपमा राम्रो ढंगले चलाउन असम्भव नै त छैन, मुस्किल जरुर छ | देखावटी क्याम्प गर्न सजिलो छ, र हामीकहाँ बढी मात्रामा हुने गरेको पनि त्यही नै हो | कति जना बिरामी दर्ता भए भन्नेसँग मात्रै मतलब हुने भएपछि आयोजकलाई पनि कति ढंग पुर्याएर गरियो भनी सोधखोज गर्ने जरुरत हुँदैन | स्वास्थ्यकर्मीलाई पनि एक दिन क्याम्प गरेर तीन दिनको भत्ता खान पाएपछि अरु कुराको टन्टा लिनुपरेन | बस्, आयोजकसँग ‘हो’ मा ‘हो’ मिलायो, क्याम्प सफल भयो भन्दै फोटोसुट गर्यो, किस्सा खत्तम ! त्यसैले ‘उच्च रक्तचाप भएका बिरामीहरुको पहिचान गर्ने’ भन्ने उद्देश्य राखेर मात्रै के गर्ने ! जब बिरामीको अत्यधिक चाप अनि त्योअनुसार स्वास्थ्यकर्मीको संख्या नपुग्नाले आएका सबैको ब्लडप्रेसर नै नापिदैन भने उच्च रक्तचाप भएका बिरामीको कसरी गर्न सकिन्छ पहिचान? यसर्थ हामीकहाँ झारा टार्न गरिने कर्मकाण्डी पाराको क्याम्पहरुबाट उक्त लेखमा भनिएजस्तो बिरामीहरु ‘स्क्रिन’ गर्न सफल हौंला भन्ने कुरामा मलाई विश्वास छैन |

त्यस्तै The Anatomy Of Ephemeral Health Care: “Health Camps” and Short-term Medical Volunteerism In Remote Nepal शीर्षकमा डेभिड सिट्रीनले सिन्हासको २०१० अंकमा एउटा महत्वपूर्ण लेख छपाएका छन् | यसमा उनले नेपालका दुर्गम ठाउँमा गरिने हेल्थ क्याम्पहरुको आलोचनात्मक चिरफार गर्दै दुर्गमका जनताको आधारभूत आवश्यकता र उनीहरुलाई चाहिएको प्राथमिक स्वास्थ्य त्यहाँ आयोजना गरिने केही दिनका स्वास्थ्य शिविरले पूरा गर्न सक्दैनन् भन्ने विचार राखेका छन् | एक ठाउँमा उनी लेख्छन्: “औषधिप्रतिको जादुमयी आकर्षणलाई हेल्थ क्याम्पहरुले थप बढावा दिइरहेका छन् | गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता नै पूरा गर्न हम्मेहम्मे पर्ने मानिसहरुलाई जथाभावी औषधि बाँड्नु अनि अनावश्यक शल्यक्रियाको भारी बोकाउनु उचित होइन | भिटामिन, ब्रुफेन र एन्टीबायोटिकजस्ता औषधिहरु हचुवाको भरमा भिडाउनाले उनीहरुमा उल्टै थप स्वास्थ्य समस्या निम्तिने खतरा छ | विदेशी डाक्टरका हकमा भाषाको समस्या हुने हुँदा अर्काले उल्था गरिदिएको भरमा रोगको निदान गर्नुपर्ने अवस्था पनि पक्कै राम्रो होइन | त्यसैगरी क्याम्पमै गरिने शल्यक्रियाहरुमा संक्रमण रोकथामका उपायहरु राम्रोसँग अपनाउन नसकिने तथा शल्यक्रियापश्चात् फलोअप गर्न नसकिने अवस्थाले पनि बिरामीहरुमा थप जोखिम निम्त्याउन सक्ने खतरा देखिन्छ |” हो पनि, स्थायी बन्ध्याकरणका अपरेशनहरु क्याम्पमा गर्दा संक्रमण रोकथामका उपायहरु सही ढंगले अपनाउन नसकेर थुप्रैको ज्यान गएको उदाहरण छिमेकी भारतमा प्रशस्त छन् | उदाहरणका निम्ति सन् २०१४ को नोभेम्बरमा छत्तीसगढ राज्यमा गरिएको एउटा ‘स्टरलाइजेसन क्याम्प’मा अपरेशनपश्चात १५ महिलाको ज्यान गयो भने ७० जना गम्भीर अवस्थामा अस्पताल भर्ना भए | एउटा अपरेसनलाई कम्तिमा १५ मिनेट समय लगाउने र एक दिनमा ३० वटा भन्दा बढी गर्न नमिल्ने ‘प्रोटोकल’ हुँदाहुँदै ‘टार्गेट’ पूरा गर्ने नाममा ९० वटासम्म गर्ने गरिदो रहेछ | हतपतको काम लतपत भनेझैं मेडिकल क्षेत्रमा यस्तो हतपत गर्दा परिणाम मान्छेको ज्यानैसम्म जानसक्छ | अत: सिट्रीनको लेखका उल्लेखित पङ्क्तिहरुमा मेरो पूर्ण सहमति छ र साथै लेखकले स्वास्थ्य सेवा दिने एउटा उपायका रुपमा क्याम्पलाई लिइरहेको अवस्थामाथि पुनर्विचार गर्नुपर्ने जुन निचोड प्रस्तुत गरेका छन्, त्यसमा पनि मेरो समर्थन रहेको छ | यसमा सबैको ध्यानाकर्षण हुनु जरुरी छ |     

  

निष्कर्ष:

स्वास्थ्य शिविर गर्नुको मुख्य उद्देश्य स्वास्थ्य सेवामा पहुँच नभएका दूरदराजका जनतासम्म एकै दिनका लागि सही, त्यो पहुँच स्थापित गर्नु हो | तर गाउँगाउँमा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरु संचालन भइरहेको परिप्रेक्ष्यमा पहुँच मुख्य सवाल होइन | हाल देशभरिमा ३,७७८ स्वास्थ्यचौकी र १८७ प्राथमिक स्वास्थ्य केन्द्रहरु छन् | गाउँगाउँका यिनै स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुमार्फत मानिसहरुको स्वास्थ्यसेवामा पहुँच छ | मुख्य सवाल त भएका यी स्वास्थ्य केन्द्रहरुलाई कसरी सबल बनाउने भन्ने हो | दरबन्दीअनुसारको जनशक्ति कसरी राख्ने र टिकाउने भन्ने हो | त्यहाँबाट प्रवाह हुने सेवालाई कसरी उन्नत र गुणस्तरीय बनाउने भन्ने हो | आममानिसलाई यिनै केन्द्रहरुबाट कसरी बढीभन्दा बढी सेवा दिने भन्ने हो | यी सवालहरुको उत्तर एक दिने ‘जनरल हेल्थ क्याम्प’ किमार्थ हुन सक्दैन | भन्नेहरुले ‘केही नहुनुभन्दा त अलिकति भएपनि यी क्याम्पहरुले सेवा दिएकै छन् नि’ पनि भनेको सुनें | तर स्वास्थ्य जस्तो संवेदनशील कुरामा हेलचेक्र्याइँ गर्न मिल्दैन | केही न केही सेवा त दिएकै छन् नि भन्दै गर्दा त्यो सेवा कस्तो छ भनेर विचार पुर्याउने कि नपुर्याउने? एन्टीमाइक्रोबियल रेजिस्टेन्सले सबैलाई खतरामा पारेको बेला अझै कहिलेसम्म जथाभावी एन्टीबायोटिकको प्रयोग गरिरहने ?

सयौंको भीडभाड हुने जनरल हेल्थ क्याम्पमा यी कुराहरुमा सुक्ष्म विचार पुर्याइ गुणस्तरीय सेवा दिन असम्भवप्राय: हुनेहुँदा यस्ता क्याम्पहरु गर्न बन्द गरौँ भन्ने मेरो राय छ | सरकारले नै क्याम्पलाई पनि स्वास्थ्य सेवा दिने एउटा माध्यमका रुपमा मानेको र सोहीअनुसार स्थानीय निकायहरुले विभिन्न ठाउँमा क्याम्पहरु संचालन गरिरहेकोमा यसमा पुनर्विचार गर्नुपर्ने देखिन्छ |


Read More

Aug 3, 2025

एउटा अस्पतालको बकपत्र

 म अर्थात् एउटा सरकारी अस्पताल | राप्ती प्रादेशिक अस्पतालको नामले पुकार्छन् मलाई | लुम्बिनी प्रदेशको साँधसीमाभित्र पर्ने भएर मात्रै हो कि अरु केही अतिरिक्त कारण पनि छन्- म जान्दिन | जनजिब्रोमा भने ‘अंचल अस्पताल’ शब्द बढी झुण्डिएको पाउँछु |

दाङका स्थानीय मिडियामा म दैनिकजसो छाइरहेकै हुन्छु | (अ)सामाजिक सञ्जालका भाइरल पोस्ट र रिलहरुमा पनि म कतै न कतै ‘कन्टेन्ट’ बनिरहेकै हुन्छु | कति संचारकर्मी साथीहरु आउनुहुन्छ, सर्पदंशको बिरामीलाई इमर्जेन्सीमा उपचार गर्दैगर्दाको भिडियो खिच्नुहुन्छ, वाह भन्नुहुन्छ | म गद्गद् हुन्छु | अनि फेरि अर्को आउनुहुन्छ, ओपिडीमा डाक्टर नभएको मौका छोप्नुहुन्छ र आक्रोशित भावमा सोध्नुहुन्छ – यो कुन हदको लापरबाही ! म खिन्न हुन्छु | अपरेसन थियटरमा सफल अपरेसनपश्चात् खुसीखुसी अस्पतालबाट डिस्चार्ज भइगएका अनुग्रहित अनुहारहरु पनि पढेको छु र सँगै देखेको छु विशेषज्ञ अभावमा सामान्य प्रसुती सेवा पनि लिन नपाइ डेलिभरीका लागि मेरो प्राङ्गणबाट रेफर भएका अभागी आमाहरु पनि ! सकिनसकी पसिना काढ्दै बिल काउन्टरको लाइनमा उभिएका असी काटेका बा पनि देखेको छु अनि नियालेको छु नजिकबाट, नौ नम्बर कोठाबाट पन्ध्रमा अनि पन्ध्रबाट बीसमा अनि बीसबाट बाइसमा हतारिंदै दौडिइरहेका वृद्धा आमाहरु ! हनहनी ज्वरोले आलसतालस परेर वार्डको बेडमा छट्पटाइरहेको बच्चो अनि त्यो बच्चोलाई मायाले मुसार्दै औषधिमुलो गर्दैगरेकी नर्स बहिनीको सेवाभावको साक्षी पनि हुँ म | परिस्थितिको बन्दी बनेर आफ्नो एकबारको इहलीला समाप्त पार्न विषसेवन गरी इमर्जेन्सी आएको एक तरुणको दारुणिक अवस्था अनि त्यो तरुणलाई बचाउन हरसम्भव यत्न गरिरहेका मेडिकल अफिसर भाइको तत्परताले पनि मलाई भित्रैसम्म छोइरहन्छ | जेहोस्, आफ्नो बिमारीको इलाज हुने आशमा मकहाँ आउने धेरैजसोलाई मेरा स्वास्थ्यकर्मीले सन्तुष्ट नै पारी पठाएको मैले अनुभव गरेको छु | यत्रो कोलाहलमा कोहीकोहीलाई भने चित्त नबुझेको पनि हुन्छ, तर सीमित संख्याको त्यो असन्तुष्टि कहिलेकाहीं अतिरन्जित बनाइ मिडियामा ‘म्याग्निफाई’ हुन्छ भन्ने मेरो बुझाइ छ | जेहोस्, मानिस जातिको अनुहारका हर रङ्गहरु देख्न-बुझ्न पाएको छु मेरो हाताभित्र |

मलाई थाहा छ, म अस्पताल पनि धेरैथोक अवयवहरु मिलेर बनेको हुँ | सबैको सामूहिक प्रयासबाट मेरो मुटु धड्किने हो, अपितु मसँग हुनुपर्ने सबै अवयवहरु अहिले मसँग छैनन्; र भएका पनि चुस्तदुरुस्त छैनन् | हालै मेरो मेसुले राजीनामा दिनुभयो, अर्को प्रमुख आउनुभएको छैन नेतृत्व लिन | मेरो शिरोच्छेदन नै भएको भान परेको छ | कहिले एउटा विभाग बिरामी पर्छ, म थलिन्छु | कहिले अर्को विभाग थला पर्छ, म थेच्चारिन्छु | म ढल्न लागें भने सम्हाल्नलाई मेरो सामूहिक नेतृत्व छ, एकमनले यस्तो सोच्छु | साथ दिनलाई यति धेरै विभाग र शाखाहरु अनि त्यहाँभित्रका यति धेरै प्राविधिक/प्रशासनिक साथीहरु ! अर्को मनले भन्छ- खोइ त मलाई भरथेग गर्नेहरु, कसरी यस्तो लथालिङ्ग छोड्न सकेका ! समग्रमा मेरो ‘ग्रोथ’ सकारात्मक दिशामै भैरहेको छ; केही वर्षअघिको मेरो अवस्थासँग दाँज्दा म राम्रै ‘पोजिसन’मा उभिइरहेको छु | एक जमाना थियो, कसैलाई ‘एपेन्डीसाइटिस्’ हुँदा नेपालगंज वा बुटवल दौडिनुपर्थ्यो र कतिको हकमा त्यहाँ पुग्दासम्म एपेन्डिक्स फुटिसकेको हुन्थ्यो | आज पित्तथैलीको पत्थरी, हर्निया, स्तनको समस्यालगायत अधिकांश सर्जरीहरु मेरो अपरेशनकक्षमै हुन्छ, कतै भौतारिनु पर्दैन | तर, यक्षप्रश्न यो छ कि- के यतिले मात्रै पुग्छ ? सब ठीकठाक भन्दै हामीले यत्रो गर्यौं भनेर धक्कु लाएरै बस्ने कि समयको बेगसँग द्रुत गतिमा अगाडि बढ्ने?

मसँग समयमै गुणस्तरीय रिपोर्ट दिने अत्याधुनिक ल्याब सेवा छ | उस्तै चुस्त रेडियोलोजी विभाग छ | प्रशासन, स्टोर, लेखाले मलाई पूर्णता दिएका छन् | विशेषज्ञ डाक्टर, मेडिकल अफिसर, नर्सलगायत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु मेरो मेरुदण्ड हुनुहुन्छ | उहाँहरुको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ | तर जम्मैजसो क्लिनिकल विभागहरु संचालनमा भएपनि यहाँ यथेष्ट जनशक्ति नै छैन | प्रसूति तथा स्त्रीरोग विभागजस्तो संवेदनशील विभाग सिर्फ एकजना डाक्टरको भरमा चलेको धेरै भइसक्यो | एकजना त कहिले बिरामी पर्छ, कहिले आकस्मिक बिदा लिनुपर्ने हुन्छ; आखिर मानिस न हो, उसलाई पनि आरामको जरुरत हुन्छ | अनि एकजना डाक्टरको भरमा ‘डेलिभरी’ र ‘सिजरियन’ जस्तो अत्यावश्यक र आधारभूत सेवा कसरी बेरोकटोक चलाइराख्न सम्भव छ- माथिका नीतिनिर्माताहरुले ध्यान दिने कि ! कम्तीमा पनि दुईजना अरु गाइनेकोलोजिस्ट मकहाँ पठाउन सके म अलिकति बौरिन सक्थें | दंगाली दिदीबहिनीहरुले सुत्केरी हुन नेपालगञ्ज र घोराहीको बाटो हेर्नुपर्दैनथ्यो | अर्को अत्यावश्यक र बिरामीको बहुतै भीड लाग्ने विभाग हो- मेडिसिन | त्यहाँ बस्ने फिजिसियन डाक्टरका आफ्नै दुख छन् | डेढ सय बिरामीको लामो न लामो लाइन र ओपिडीमा तिनलाई हेर्ने दुइजना फिजिसियनबीच संख्यामा कतै पनि तादात्म्यता छैन | आठदेखि दस मिनेट समय दिएर समग्रमा जाँच्नुपर्ने एउटा बिरामीलाई एक-दुई मिनेटमा यसरी सर्सर्ती मात्रै जाँच्दा कस्तो गुणस्तर कायम होला- यसमा पनि माथिका नीतिनिर्माताहरु अब त घोत्लिने कि ! कम्तिमा पाँचजना फिजिसियन ओपिडीमा र दुइजना वार्डहरुमा हुँदा बिरामीलाई पूर्ण सन्तुष्टिका साथ गुणस्तरीय सेवा प्रवाह हुँदो हो- मेरो आँकलनले त्यसै भन्छ | त्यसैले जनशक्तिको अभावलाई जसरी हुन्छ, तत्काल परिपूर्ति गरौँ, मेरो बिन्ति छ | मलाई बिरामीहरुले मन्दिर पनि भन्छन्, यो मन्दिरको यत्ति पुकार तपाईंहरुले पक्कै सुन्नुहुनेछ |

हुन त भएकै जनशक्तिबाट पनि अधिकतम् काम लिन त कहाँ नै सकिएको छ र ? इमान्दारीपूर्वक आफ्नो काममा दत्तचित्त भइ खट्ने साथीहरु हुनुहुन्छ, उहाँहरुलाई केही न केही प्रोत्साहनको व्यवस्था होस् | कामचोर प्रवृत्तिका पनि एकाध हुनुहुन्छ भन्ने गाइगुई नसुनिएको होइन, त्यस्तालाई सचेत पार्ने काम होस् | मेरा कर्मचारीहरु स्वअनुशासित भइदिउन् र आ-आफ्नो ठाउँबाट इमानदार प्रयत्न गरुन् भन्ने मेरो पवित्र इच्छा पालना हुन्थ्यो भने नियम-कानूनको डण्डा नै किन बन्थ्यो होला र !

यसैपनि मेरा इच्छा धेरै छैनन् | प्रादेशिक अस्पतालमा डाक्टर नै भेटिन्नन् भन्ने हौवा छ, पर्याप्त जनशक्ति भित्र्याएर यसलाई हौवामै सीमित पारौं ! बिलकाउन्टरको संख्यालाई बढाएर भीड व्यवस्थापन गर्दै समयभित्रै बिरामीलाई सहज र सुलभ सेवा दिन सकौं | मेरा समस्त सेवाप्रदायक स्वास्थ्यकर्मी साथीहरुलाई कामको लागि ‘मोटिभेट’ गरिराख्न सकौं | मेरो आर्थिक सुशासन कायम राखिराख्न सकौं | कागजमा मात्रै होइन, व्यवहारमै दुईसय बेडमा स्तरोन्नति गर्न सकौं ताकि विशिष्टीकृत सेवाहरु पनि मेरै आँगनबाट प्रवाह होस् | अनि नजिकै घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नामको हुर्कंदै गरेको प्राज्ञिक संस्था छ | योसँग सहकार्य गर्दै ‘पढ्ने-पढाउने-सिक्ने’ र प्राज्ञिक विमर्शको थलो बनाउन सकौं जसले हाम्रो सेवालाई थप विश्वासिलो र गुणस्तरीय बनाउनेछ | स्वास्थ्योपचार तपाईंहरुको नैसर्गिक अधिकार त हुँदै हो, तर त्यो अधिकार सुनिश्चित गरिदिने म अर्थात् यो अस्पताललाई उकास्ने जिम्मेवारी पनि तपाईंहरु सबैको हो |

First published in Swasthyakhabar

 

Read More

Jan 27, 2016

छाउपडीले निम्त्याएको मानसिक विक्षिप्तता

(First published in सेतोपाटी)

अछाम जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका बस्ने १४ वर्षकी कमला ढुंगाना (नाम परिवर्तन) स्थानीय स्कुलमा कक्षा ८ मा पढ्दैछिन् | हालैको एक दिन दिउँसो १ बजेतिर कमला मंगलसेनस्थित जिल्ला अस्पताल ल्याइएकी थिइन् | एक्कासी पेट दुख्ने, हातखुट्टा बाउँडिने, घाँटी थिचिएजस्तो हुने, घरीघरी मुर्छा परेजस्तो हुने भएपछि आत्तिएर सोही स्कुलमा कक्षा १० मा पढ्ने उनकी दिदीले ल्याएकी थिइन् उनलाई अस्पताल | हामीले समस्या बुझ्न खोज्दा उनी केही पनि बोलिनन् तर हाम्रो कुरा भने बडो ध्यानपूर्वक सुनिरहेकी थिइन् | स्वास्थ्य परीक्षणका साथै अस्पतालमा उपलब्ध सामान्य ल्याब जाँचहरु गर्दा कुनै खराबी पाइएन | अन्ततः अंग्रेजीमा ‘कन्भर्सन डिसअर्डर’ भनिने एक प्रकारको मानसिक समस्याबाट उनी पीडित रहेको बुझ्न खासै समय लागेन |


कारण छाउपडी गोठ

कमलालाई अस्पताल ल्याइपुर्याउने उनकी दिदीलाई सोध्दा उनको अहिले रजस्वला  भइरहेको भन्ने कुरा थाहा पाइयो | हुनत रजस्वला आफैंमा प्राकृतिक कुरा हो, जुन प्रजनन उमेर समूहका हरेक महिलामा हर्मोनहरुको उतारचढावका कारण हरेक महिना हुने गर्छ | तर अछामलगायत सुदूरपश्चिममका पहाडी भेगमा योसँग जोडिएर आउने छाउपडी गोठले यसलाई अस्वाभाविक ढंगले त्रासदीपूर्ण बनाएको छ |
छाउपडी गोठमा बस्दा महिलाहरु बलात्कारलगायत विभिन्न खाले हिंसाको सिकार भएका, सर्प र अन्य जंगली जनावरको आक्रमणमा परेका, चिसोले कठ्याङ्ग्रिएर मरेका समाचारहरु नौला होइनन् | छाउपडीमा बस्दा भोग्नुपर्ने सम्भावित यही त्रासदीबाट कमलामा तीव्र डर, चिन्ता अनि तनाव उत्पन्न भयो जसको विष्फोट भयो- ‘कन्भर्सन डिसअर्डर’ का रुपमा | उनकी दिदीका अनुसार अविवाहित किशोरीलाई रजस्वला शुरु भएको सात दिनसम्म अनि विवाहित ‘आइमाई’ लाई पाँच दिनसम्म घरभित्र छिर्न सख्त मनाही छ – यही हो रे यहाँको अघोषित नियम | यसप्रकार कमला सात दिनसम्म आफ्नै घरभित्र छिर्न अयोग्य थिईन् | माघको यो कठ्यांग्रिदो जाडोमा छाउ भएकै कारण गोठमा बन्दी हुनुपर्ने नियतिले यी भर्खरकी किशोरीको आत्मसम्मानमा हुनसम्म ठेस पुग्यो | तर ‘म गोठमा बन्दी बन्दिन’ भन्नसक्ने हिम्मत उनमा थिएन | उनकी दिदी पनि छाउ भएको बेला त्यसैगरी गोठमा बसेको उनले देखेकी थिइन् | उनकी आमाको कथा पनि भिन्न थिएन |
भन्न वा गर्न चाहेको कुरा अभिव्यक्त गर्न नसकेपछि गुम्सिरहेको कुरा कतै न कतैबाट बाहिर आउनु त थियो नै | कमलाका हकमा त्यो यही एकप्रकारको मानसिक विकारका रुपमा बाहिर आयो | हामीले उनलाई सोध्यौं- ‘बहिनी, तिम्रो छाउ शुरु भएको हो ?’ उनी मुन्टोसम्म हल्लाउँथिन्, तर बोल्ती भने बन्दप्राय: नै थियो | हामीले उनलाई सात दिनसम्म अस्पतालमै भर्ना गर्ने निर्णय गर्यौं ताकि उनी गोठमा बस्नु नपरोस् अनि गोठमा बस्नुपर्ला भन्ने तनाव र त्यो तनावबाट सिर्जित हुने ‘कन्भर्सन डिसअर्डर’ बाट मुक्त हुन सकून् | अस्तिमात्र सात दिन पुगेसँगै उनी अस्पतालबाट ‘डिस्चार्ज’ भइन् | सातौँ दिनका दिन उनी आफैंले हामीसँग डिस्चार्जका लागि अनुरोध गरेकी थिइन् | तर त्यो दिन पनि उनी हामीसँग धेरै खुलिनन् |   
कमलाकी दिदीसँग कुरा गर्दा एउटा कुरामा भने ढुक्क भइयो- स्कुल जाने यी किशोरीहरुलाई राम्रोसँग थाहा छ कि रजस्वाला भएको बेला यस्तो गोठमा बस्नुहुन्न भनेर | उनीहरुलाई भलिभाँती यो पनि थाहा छ कि यस्तो बेलामा सरसफाईमा बढी ध्यान पुर्याउनुपर्छ अनि प्रशस्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ भनेर | तर थाहा हुँदाहुँदै पनि उनीहरुलाई गोठमा नगई सुखै छैन | समाजले मात्रै होइन, आफ्नै घरपरिवारले जबर्जस्ती गर्छ | त्यसैले जहाँ देउता रिसाउँछन् र अनिष्ट हुन्छ, त्यसैले परापूर्वकालदेखि मान्दै आएको कुरालाई सहरका मान्छेले भाषण गर्दैमा रोक्न मिल्दैन भन्ने जबर्जस्त मान्यताले घर गरेको समाज छ, त्यहाँ कमलाकी दिदी र उनको पुस्ताका किशोरीहरुले बुझेर मात्रै पुगेको छैन, कमलाको आमा र हजुरआमा पुस्तालाई पनि बुझाउनु छ |
घोषणाहरुमा त धेरै गाविसहरु समेत छाउपडी गोठमुक्त भइसकेका छन् | तर सदरमुकामकै एक स्कुले किशोरीको यो हाल देखेपछि हामीले अस्पतालमा भर्ना भएका अरु सबै महिलाहरुलाई एकै प्रश्न सोध्यौं- ‘के तपाईं रजस्वलाको बेला छाउपडी गोठमा बस्नुहुन्छ ?’ उत्तर पनि सबैको एकै थियो- ‘डाक्टरलाई के ढाँट्नु, हामी त बस्छौं हजुर’ ! किन बस्नुहुन्छ त त्यस्तो नारकीय खोरमा भनी प्रतिप्रश्न गर्दा सबैसँग केही न केही बहाना थियो | एउटीले भनिन्- एकचोटी त म ‘आ, जे पर्ला’ भनेर छाउ भएको बेला पनि घरमै बसें | तर त्यसको दुई दिनमै बाघ आएर हाम्रो बाख्रो लग्यो | अनि सासु रिसाएर ‘तँ गोठमा नबस्दा देउता रिसाएर यस्तो भएको हो’ भनेपछि म पनि डराएर अरु के के अनिष्ट हुने हो भन्दै अर्कोपालिदेखि फेरि गोठमै बस्न थालें | यस्तै (कु)तर्क सबैसँग थिए | स्यालले कुखुरो खाइदेको, बच्चा बिरामी परेको आदि | फलानोले नमान्दा उसको यो दुर्गति भयो, ढिस्कानोले नमान्दा त्यसको यो बेहाल भयो, उनीहरुसँग सुनाउनलाई किस्साहरुको कमी थिएन |
पूर्वका ठाउँहरुमा त यस्तो मान्दैनन् क्यारे, त्यहाँका देउता पनि रिसाएका छैनन्, झन् तिनै ठाउँहरु कहाँ पुगिसके, तपाईंहरु भने देउता रिसाउलान् भन्दै बस्नुस् भन्दै हामी केही झोक्किंदा एकजना अधबैंसे महिला धारे हातले छ्याक्क हावा तास्दै कुर्लिन् - अरुले घोडा चढे भन्दैमा हामीले धुरी चढ्न सुहाउँछ कहीं, नहुने कुरा गर्छौ तमी पनि ! म बक्क परें | मेरो ताल देखेर उनले मलाई सम्झाइथिन् - देउतालाई रिसाउन दिनुहुन्न | देउता रिसाइहाले भने त तमी पनि फुस्स मर्न के बेर ?
हरे देउता ! देउता पनि कतै माथिबाट यो सब देखेर बक्क परिरहेका होलान् |

समाधान के ?

निसन्देह मान्छेको सोचमा परिवर्तन | हो, यो समयसँगै हुने कुरा हो | नयाँपुस्ताका किशोर-किशोरीहरुमा यो भइसकेको पनि छ | तर शनै:शनै हुने प्रक्रिया हो, आफैं भइहाल्छ नि भनेर हामीलाई हात बाँधेर बस्ने सुविधा भने पक्कै पनि छैन | आ-आफ्नो ठाउँबाट मानिसको त्यो पुरानो सोच बदल्ने काममा लाग्नुपर्छ | उदाहरणका लागि मिडियाले जनचेतना फैल्याउने काम गरेकै छ, यसलाई अझ घनिभूत ढंगले अघि बढाउनुपर्छ | हाम्रो बुवा पुस्ताले पनि कुरोको चुरो बुझेको त छ तर कहिलेकाहीं बाघ कराउनु र बाख्रा हराउनुको संयोगलाई नबुझेर ‘होइन, साँच्चै देउता रिसाएकै हुन् कि, कतै यो मान्नैपर्ने रिती पो हो कि’ भनेर उनीहरुको मनमा पनि डरको बादल मडारिन्छ | बाजेपुस्ताको त कुरै नगरौं, यो हाम्रो धर्मसंस्कृति हो, यसलाई हरहालतमा मान्नुपर्छ भन्नेमा उनीहरु दृढ छन् | तर खुसीको कुरा- कमलाको पुस्ता प्रष्ट छ | उसलाई यो कुरीति नै हो भन्नेमा कुनै सन्देह छैन | यो प्रथाले गर्दा महिलाहरु पछि परेका छन् त्यसैले यसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ र यसो गर्दा कुनै देउता रिसाउँदैनन् भन्नेमा उनीहरु एकदमै सचेत छन् | कमलाकी दिदीलाई उदाहरण बनाएर भन्न सकिन्छ- छोरीलाई शिक्षा दिएर मात्रै यो मानसिकतामा पुरा परिवर्तन ल्याउन सकिन्छ |
अर्को उदाहरणका रुपमा कमलाका आमाबुवा ठीक त्यहीबेला ज्वरोले थला परेर घरबाट अलिक टाढाको गाउँमा धामीलाई देखाउन गएका रहेछन्, नकि नजिकैको अस्पतालमा | उनीहरु घरमै भएको भए त देउता लाग्यो भनेर कमलालाई पनि उतै लग्ने थिए, अस्पताल ल्याउन दिने थिएनन् | १० कक्षामा पढ्ने दिदी थिइन् र त अस्पताल ल्याइन् |

अब आउने पुस्ता गोठमा बस्न जानेछैन भन्नेमा ढुक्क हुन सकिएपनि अहिले कमलाको पुस्ता अनि कमलाका आमाको पुस्तालाई छाउपडीबाट कसरी मुक्त पार्ने- समस्या त्यहाँ छ | तर घोषणाहरुमा रमाउने बानी परेको सरकारले समस्या जति एनजीओ र आइएनजीओका थाप्लामा सुम्पेको छ र आफू कुम्भकर्णको पारामा मस्त निदाएको छ | छ महिनापछि बिउँझेछ भने पनि बिउँझेको बेला उसले गर्ने काम एउटै छ- अर्को एउटा गाविसलाई छाउपडी गोठमुक्त घोषणा | रुढीवाद र अन्धविश्वासको जगमा उभिएको पुरानो मानसिकताको यो समाजमा कमलाजस्ता किशोरीहरुलाई अर्कोपटकको छाउको बेला ‘कन्भर्सन डिसअर्डर’ हुनबाट कसरी जोगाउने, हामीसँग कुनै योजना छैन | 
Read More

Dec 30, 2015

डेटलाइन अछाम

(First published in सेतोपाटी )

जब म घुम्दै गाउँको पाठशालामा पुगें
त्यहाँ देखें घामले पोलेर
छहारी खोज्दै
पाठशालाभित्र पसेर
मौनवाचन गरिरहेका गाई-बाख्रा र गोठालाहरु
र पाठशालाका कोठाभित्र बस्न नसकेर
बाहिर रुखको सियालमुनि
चर्न लागेका मास्टर र विद्यार्थीहरु

‘साला पहाडमे क्या है’ जस्तो चर्चित कविता लेखेका शिक्षाविद् मीनबहादुर विष्टको उस्तै दमदार कविता ‘गाउँको स्कुल’ का हरफहरु हुन् यी तर वर्षौंअघि लेखिएका यी हरफहरुबाट पाठशालालाई हटाएर स्वास्थ्यकेन्द्र अनि मास्टर र विद्यार्थीलाई हटाएर स्वास्थ्यकर्मी र बिरामी बनाउँदा पनि कविताको भावमा भने कुनै तात्विक फरक पर्ने रहेनछ बरु गाउँको अर्को दुर्दान्त पाटो पनि उस्तै शक्तिशाली ढंगले उजागर हुने रहेछ बिरामीको उपचार गर्ने ठाउँहरु कसरी आफैं बिरामी परेर थला परेका छन् र उपचारको पर्खाइमा छन् भन्ने देखाउँदो रहेछ  

गाउँको अस्पताल

हेल्थपोस्ट भन्नुस् वा प्राथमिक स्वास्थ्य केन्द्र, उही वर्षौं पुराना र जीर्ण संरचना छन् जनसंख्या छरिएर रहेको छ एक ठाउँबाट अर्को ठाउँ पुग्नै घन्टौं लाग्छ त्यहीमाथि मोटरबाटो छैन हड्डी अलिकति भाँचिएको तर भाँचिएको टुक्रा यथास्थानमै रहेको बिरामी छ भने पनि ल्याउँदाल्याउँदै त्यो ‘डिस्प्लेस्ड फ्र्याक्चर’ भइसकेको हुन्छ। पूरै एक दिनको बाटो हिंडेर स्वास्थ्यसंस्था ल्याउनुपर्ने बाध्यताका माझ थाहा छैन, कति ‘इमर्जेन्सी केस’ हरुको बाटामै प्राणहरण हुन्छ अनि कतिलाई गम्भीर ‘कम्प्लिकेसन’ हरुले छोपेर जीवनभर अपाङ्गताको पीडा सहनुपर्छ।

जसोतसो गरेर बिरामीलाई बल्लतल्ल स्वास्थ्यसंस्था त पुर्यायो, स्वास्थ्यसंस्थामा भने डाक्टर नै हुँदैनन्। यो सधैंको अर्को जनगुनासो हो। तर सौभाग्यवस्, सरकारी छात्रवृत्ति पाएर डाक्टरी पढेकाहरुले दुई वर्षको निम्ति खटाएको ठाउँमा अनिवार्य काम गर्नुपर्ने प्रावधानले आजभोलि कतिपय अति दुर्गम ठाउँहरुमा पनि डाक्टरहरु देख्न पाइन्छ ‘फलानो स्वास्थ्य केन्द्रमा पहिलोपटक डाक्टर’ खाले जतिपनि समाचारहरु आएका छन्, तीमध्ये धेरैजसो यही प्रावधानअनुसार खटिएका छात्रवृत्ति डाक्टरहरु हुन् तर पनि, गाउँमा डाक्टर पुग्नेबित्तिकै सबैथोक आफसेआफ छुमन्तर गरेजसरी ठीक हुने त अवश्यै होइन काँधमा एउटा झोला बोकेर जोकोहीको घरमा छिर्नासाथै उसले सबै रोगहरु ठीक पार्दिहाल्ने वा मर्नैलागेको बिरामीलाई जीवनदान दिइहाल्ने पनि होइन एउटा डाक्टरलाई पनि काम गर्न उपकरण र औजारहरु चाहिन्छ, सहयोगी अरु स्टाफहरु चाहिन्छ, यथेष्ट औषधिहरु चाहिन्छ। उसलाई पनि आफ्नो काममा निक्खारता ल्याउन पर्याप्त सुविधा अनि अवसरहरु चाहिन्छ। गाउँले त ढिलोचाँडो यो कुरा बुझ्ला पनि, तर सहरको मन्त्रालयले चाँहि खोइ कहिले बुझ्ने हो कुन्नि ?

यही अछाममा ‘न्याय हेल्थ’ नाम गरेको आइएनजीओले चलाएको बयलपाटा अस्पताल छ अछाम र आसपासका जिल्लावासीको लागि साँच्चै नै ‘न्याय’ गरेको छ यो अस्पतालले। सबै प्रकारका औषधि अनि सेवासुविधाहरु निशुल्क छन्। यहाँसम्म कि विशेषज्ञ सेवा समेत निशुल्कै उपलब्ध छ। अनि बिरामीहरु नओइरियुन् पनि किन? तर मिलियन डलरको प्रश्न के भने त्यो अस्पतालको बराबरीमा हाम्रो सरकारी जिल्ला अस्पताल चाँहि उभिन किन सक्दैन ? एउटा अर्कै आइएनजीओका प्रतिनिधिले भन्थे- ‘उनीहरुसँग जति पनि बजेट छ तपाईंहरुसँग छैन फरक त्यसले पार्छ सेवासुविधाहरु प्रशस्त दिएर राखेको छ, त्यसैले बसेका छन्, टिकेका छन् डाक्टर र विशेषज्ञ डाक्टरहरु तर यता त्यस्तो छैन, अनि कोही किन मन गरोस् ?’

होला, थोरबहुत फरक पैसाले अवश्य पार्ला तर सबै फरक पैसाले मात्र पार्ने होइन रहेछ हो, जिल्ला अस्पतालमा हाम्रो राष्ट्रिय रोग ‘ग्यास्ट्राइटिस’ का लागि हामी अलिक पुरानो औषधि ‘एसिलक’ दिन्छौं, उता बयलपाटाले नयाँ र बढी प्रभावकारी ‘ओमेप्राजोल’ दिन्छ तर सरकारी अस्पतालमा औषधि नै नहुने वा सुको बजेट नआउने भन्ने त होइन पैसा त यहाँ पनि आउँछ तर मिलियन डलरको कुरा के भने, त्यो पैसाको, अन्य साधनस्रोतको र मानव जनशक्तिको कति समुचित प्रयोग/दुरुपयोग हुँदैछ, खास फरक त्यसले पार्दोरहेछ अछाम जिल्ला अस्पतालमा डा. शरदचन्द्र बरालको टिमले कमाण्ड सम्हालेयता यो जिल्लाको समग्र स्वास्थ्यमा के कति सुधार हुन सक्यो, यहींका स्थानीय वासिन्दाहरुको मुखबाट त्यो सुधारकथा सुनिसक्दा प्रष्ट हुन्छ- गर्न चाहने हुटहुटी हुने हो र त्यहीअनुसारको नेतृत्वक्षमता र इमान्दारिता हुने हो भने सरकारी स्वास्थ्य सेवामा पनि कायापलट ल्याउन सकिन्छ र बयलपाटाको दाँजोमा जरुर पुग्न सकिन्छ

गाउँका बिरामी

पुषको कठ्याङ्ग्रिने जाडोमा पनि दैनिक ७०-८० जना बिरामीहरु आफ्ना समस्या लिएर ओपिडीमा आइरहेकै छन् मेरो एक्सरा गराइदिनुस् हजुर, लादो (पेटलाई यताको स्थानीय भाषामा लादो भनिन्छ) मस्तै दुख्दछ, मेरो भिडियो गराइदिनुस् हजुर भन्दै टाढाटाढाबाट एक्लै आउँछन् बूढीआमाहरु कुक्रुक्किएर एउटै डल्लो परेका यी बूढीआमाहरुलाई दिनका लागि हामीसँग सबै औषधि छैनन् सरकारले उपलब्ध गराउने सीमित औषधिहरु हुन्छन्, जो हामी यी बूढीआमाहरुलाई निशुल्क दिन सक्छौं सीमित जाँचहरु हुन्छन्, ‘सिजारियन’लगायतका केही सीमित अपरेशनहरु पनि हुन्छन् अस्पतालमै आएर सुत्केरी गराए प्रोत्साहनस्वरूप पैसा पनि दिइन्छ गर्भवतीको अल्ट्रासाउण्ड पनि निशुल्कै हुन्छ गाउँगाउँमा क्याम्पहरु पनि भइ नै रहेको हुन्छ, कहिले भ्यासेक्टोमी क्याम्प त कहिले ‘पेल्भिक अर्गन प्रोल्याप्स’ क्याम्प। दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने सेवा मात्रै होइन, सुरक्षित गर्भपतनको सुविधा पनि अब त गाउँगाउँमै पुगिसकेको छ। तर दुखको कुरा, यिनै सीमित सुविधाहरुमा पनि मान्छेहरुको पहुँच छैन न त मान्छेहरुमा चेतना नै छ। रुखबाट लडेर खुट्टा भाँचियोस् वा भीरबाट खसेर करङ भाँचियोस्, उनीहरु लापरबाही गर्न रुचाउँछन् र तत्काल अस्पताल जाँदैनन्। जब व्यथाले बेस्सरी च्याप्छ र सहनै नसक्ने पीडा हुन थाल्छ, अनिमात्र अस्पतालको याद आउँछ। सरसफाईमा उस्तै बेपर्वाह छन् मान्छेहरु। छालाका अनेकथरि रोगहरु पालेर बस्नु यिनको नियति बनेको छ। दर्जनौं गैरसरकारी संस्थाले चलाएका चेतनामूलक कार्यक्रमहरु बालुवामा पानी खन्याएजस्तो मात्र किन भएका हुन्, प्रश्न गम्भीर छ। 
    
महिलाहरु त झन् फगत बच्चा जन्माउने मेसिनजस्ता मात्र प्रतीत हुन्छन् ७ महिने बच्चा काखमा खेलाउँदै गर्दा अर्को गर्भ बसिसकेको हुन्छ अनि ‘बच्चा फाल्नुपड्यो सर, औषधि लेख्द्यौ’ भन्दै आइपुग्छन् परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ भनेर सम्झाउँदा ‘बूढा अब इन्डिया गइहाल्ने हुन् हजुर’ भन्दै हिच्किचाउँछन्। खोइ, कुन अजासुले भरिदिएको छ यिनका दिमागमा, कपरटी जस्ता साधन राख्यो भने पाठेघर फुटीजान्छ भनेर ! अनि, इन्डियालाई पानीपँधेरो बनाएका तिनै बूढाहरु हुन् जो फर्किंदा एचआईभीको कोसेली लिएर आउँछन् र जाँदाजाँदै आफ्ना श्रीमतीलाई मात्र होइन, नजन्मिएका सन्तानलाई पनि सारेर जान्छन्।

तर पनि सबैथोक ‘डिप्रेसिङ’ मात्रै छैनन् गाउँगाउँका महिला स्वास्थ्य कार्यकर्ता र अन्य स्वास्थ्यकर्मीहरुले जसरी ‘फिल्ड’ मै खटेर काम गरेका छन्, त्यसका देखिने परिणामहरु पनि आएका छन्। मातृ मृत्युदर र बाल मृत्युदरमा आएको द्रुत गतिको सुधार अन्तराष्ट्रिय रुपमै उदाहरणीय रहेको छ। कम्तीमा बच्चा पाउन नसकेर अबदेखि आमाले ज्यान गुमाउनुपर्ने छैन भन्ने एककिसिमको आत्मविश्वास छ जिल्लामा। 
 
यति हुँदाहुँदै पनि प्रश्न त उठी नै हाल्छ- स्वास्थ्य, शिक्षा र यातायात तीनवटै कुरामा अपेक्षित गतिले अघि बढ्न नसकिरहँदा कसरी चलेका छन् त गाउँहरु र यहाँका गाउँलेहरु? सायद मीनबहादुर विष्टले त्यही कवितामा लेखेझैं-
जब म फर्किरहेको थिएँ
कसैले सोध्यो:
‘कसरी चलिरहेछ गाउँको पाठशाला?’
मैले भनें:
‘जसरी चलिरहेछ यो देश!’ 
Read More

Mar 13, 2015

बनाउनु नपरोस् 'नेपाल्स डटर' !


संचारमाध्यममा निरन्तर ‘इन्डिया साइनिङ’ का लोमहर्षक कथाहरु छाइरहँदा बेलाबेला प्रकाशमा आउँछन्- २०१२ को डिसेम्बरमा दिल्लीमा भएजस्ता नृशंस घटना पनि | यिनले संसारकै ठूलो लोकतन्त्रको अर्को पाटो उजागर गर्ने गरेका छन् | दिल्लीको सार्वजनिक बसमा एउटी २३ वर्षीया छात्रामाथि भएको उक्त विभत्स सामूहिक बलात्कार तथा हत्याका विषयमाथि हालै ‘इन्डियाज डटर’ नामक एउटा डकुमेन्ट्री त बन्यो तर प्रदर्शनमा नआउँदै प्रतिबन्ध झेल्न पुग्यो | भारत सरकार भन्छ- चार बलात्कारीहरु मध्येका एक मुकेश सिंहले यसमा महिलाहरुका बारेमा बोलेका कुराहरु घोर आपत्तिजनक छन्, त्यसैले यसलाई रोक्नुपर्छ | हुनत हाम्रो सरकारले जस्तो लाज नपचाइसकेको भए पक्कै पनि भारतीय सरकारले विश्वमंचमा यो डकुमेन्ट्रीबाट लज्जित महशुस गरेको होला | तर फेरि पनि यो डकुमेन्ट्री भारत र नेपालजस्ता देशको ऐना हो | समाजले एउटी नारीलाई कसरी हेर्छ- चिहाउने आँखीझ्याल हो यो | यसमा तपाईं-हाम्रै प्रतिविम्ब देख्न सकिन्छ | तर के त्यो ऐनाले हाम्रो अनुहार कुरूप देखायो भन्दैमा ऐना नै फोड्दिने ? निश्चय पनि बलात्कारीद्वारा गरिएका आपत्तिजनक कुराहरु त्यहाँ छन् | तर तिनलाई कान थापेर नसुनेसम्म समस्याको गहिराईमा हामी पुग्नसक्नेछैनौं | बरु ‘सबै ठीकठाक छ’ भनेर बस्नेछौं र आखिरमा जुध्न सक्नेछैनौं समस्यासँग | 

महिलाप्रति बलात्कारीको दृष्टिकोण मात्रै बुझ्न त डकुमेन्ट्री नै हेरिरहनुपर्ने आवश्यकता किन पर्थ्यो र ? तर समाजका कतिपय शिक्षित भनाउँदाहरुको सोचाइको स्तर चाँहि कहाँ छ, घामझैं प्रष्ट हुनेगरी थाहा पाउनुछ भने एकचोटि अवश्यै हेर्नुपर्छ | बलात्कारीका पक्षमा बहस गरेका तिनका वकिलहरुको कुरागराइ हेर्दा लाग्छ- हामी अझैं पनि सत्रौ-अठारौँ शताब्दीतिरै छौं | तर त्यहाँको सरकार भने यसको उपचार खोज्न नलागेर रोग लुकाउने काममा तल्लीन छ | परेवाको बथानमा एउटा बिरालो छिराइदिने हो भने जम्मै परेवाले आँखा चिम्लिन्छन् रे | मैले देखिन भने बिरालोले पनि मलाई देख्नन सक्दैन भन्ने सोच्दाहुन् बिचरा परेवा | तर बिरालोले आँखा चिम्लिदैन र पुरै परेवाहरु खाइदिन्छ | त्यसैले गरी सरकारले पनि ‘आँखा चिम्लिन्छु र पो बलात्कारले पनि आँखा चिम्लेला’ भन्ने परेवा सोच राख्ने हो भने सामूहिक बलात्कारको यो बिरालोले एकदिन पुरै समाज खाइदिनेछ | यसर्थ, डकुमेन्ट्रीले भन्दा बरु डकुमेन्ट्रीमाथि प्रतिबन्ध लगाउने कामले भारतको छविलाई बढी विद्रूप बनाएको छ | 

नेपालमा पनि यस्ता घटनाहरुको कुनै कमी छैन |  पूजा बोहरा नेपालकी त्यस्तै प्रतिनिधि छोरी हुन् | फरक के भने उता भारतमा बलात्कारीलाई मृत्युदण्डको सजाय सुनाइयो तर यता पुनरावेदन अदालत महेन्द्रनगरले बलात्कारीलाई सफाई दियो | कानुनमन्त्री नरहरि आचार्यलाई सम्बोधन गर्दै ‘मेरो जीवन निमोठ्नेहरु निर्दोष हुन्?’ भन्दै कान्तिपुर दैनिकमा पत्र लेखेपछि मात्रै यो केस राष्ट्रिय मुद्दा बन्यो | उनको भोगाइ यति मार्मिक थियो कि पूरै देशले केही बेरसम्म विश्वासै गर्न सकेन | अहिले बिर्सिसकेका भए बेग्लै कुरा, नत्र मन्त्रीज्यूले पनि ‘तपाईंलाई न्याय दिलाउँछु’ भन्दै जवाफी पत्र लेखेको धेरै भएको छैन | तर अफसोच, अहिले आएर सर्वोच्च अदालतले उनको मुद्धा नै स्थगित गरिदिएको छ | न्यायको एकपटक फेरि बलात्कार भएको छ | थप अन्याय गर्नका लागि अब केही बाँकी छैन |
सबैथोक उल्टो चलिरहेका बेला यही अन्याय नै न्यायमन्त्रीले भनेको न्याय होला | पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘तिम्रो न्यायका लागि म लड्छु’ भनेको पनि यही नै होला | तर न्यायलयलाई हेक्का रहोस्- बलात्कारी छाती खोलेर हिंड्ने, बलात्कृत लुकीलुकी हिंड्ने स्थितिको निर्माणमा अदालतका यस्तै फैसलाहरु जिम्मेवार छन् | न्यायमुर्तिहरुलाई ज्ञात होस्- यस्तो अदालत न्यायलयका नाममा कलंक हो भनेर भन्न अब हामीलाई रत्ति संकोच छैन | आखिर, सर्वोच्च अदालतभन्दा माथि पनि एउटा अदालत हुन्छ- जनताको विवेकको अदालत | र बहुसंख्यक नेपालीहरुको विवेकको अदालतले फैसला गरिसकेको छ- को को हुन् दोषी भनेर |

हुन त सोच्नै नसकिनेगरी बढेको बलात्कारको घटनामा को दोषी भनेर देखाउनलाई एकथरी पुरातनवादीहरुसँग लामै लिस्ट छ | तिनका वकिलसँग जति पनि कुतर्कहरु आविष्कार गर्न सक्ने बेजोडको प्रतिभा छ | तिनका आँखामा कहिले छोटा कपडा दोषी देखिन्छन्, कहिले त्यो केटीको चरित्र | तिनका विचारमा केटीमान्छे भएर जन्मिसकेपछि घरबाट रातविरात एक्लैदुक्लै निस्किनु बलात्कारलाई आमन्त्रण गर्नु हो | त्यसमा केटाको कुनै गल्ती हुँदैन, जम्मै दोषको भागीदार त्यही केटी हो | तिनका विचारमा कुनै केटाले बलात्कार गर्दैछ भने केटीले कि त चुपचाप त्यो बलात्कारमा सरिक भइदिनुपर्छ, नभए निर्भयाको नियतिका लागि तयार रहनुपर्छ | ती सोच्छन्- ‘मात्तेकी’, ‘संस्कार बिर्सेकी’ केटीहरुलाई बलात्कार गरेर पाठ सिकाइएको हो | ती ठान्छन्- ‘नैतिकता’ र ‘मर्यादा’ को सम्पूर्ण ठेक्का स्वास्नीमान्छेले लिएर आफूहरुलाई फुक्काफाल छोडिनुपर्छ | समाजमा जबर्जस्त जकडिएर रहेका यस्ता मान्यता एउटा-दुइटा डकुमेन्ट्री वा एक दुई हप्ताको मैनबत्ती जुलुसले समाप्त नहोला, तर केही परिवर्तन चाँहि जरुर हुन्छ | 


तीतो सत्य के हो भने न त निर्भया बलात्कार काण्ड भारतका निम्ति अन्तिम हुन सक्यो, न त पूजा बोहराको केस नै नेपालको अन्तिम | दैनिकजसो समाचारहरु आएकै छन्, कहिले ६० वर्षीय हजुरबाद्वारा १५ वर्षीया नातिनीको बलात्कार भनेर त कहिले स्वयं बुवाद्वारा छोरीको करणी भनेर | सुन्दै आङ जिरिंग पार्छन् यस्ता घटनाले | त्यतिले नपुगेर उल्टै बलात्कृतमाथि नै दोष थुपार्छ समाज | प्रहरीले अनुसन्धान गर्ने कुरा त परै छोड्दिउँ, मुद्दा दर्ता गर्नै आनाकानी गर्छ | बलात्कारीसँग बिहे गर्न बाध्य पार्छ परिवार र प्रशासन | कति त कलंकको भारी बोक्न नसकी आत्महत्या रोज्छन् | ‘नेपाल्स डटर’ बनाउनु नपरोस् भनेर जति नै चोखो कामना गरे पनि यसरी अन्यायको नाङ्गो नाच चलिरहँदा बाँकी संसार चाँहि मूकदर्शक भएर हेरिरहन मिल्छ र ?   
Read More

Dec 5, 2014

बरियापुरमाथि एउटा अर्को बकवास

[सौरभ भर्सेज संजीव: एक प्यारोडी] 

१८ मङ्सिरको अंकमा पंक्तिकारले ‘बरियापुर: पश्चिमाको बकवास’ लेखेलगत्तै ट्वीटर संसारका स्वघोषित एक विद्वतशिरोमणिले ‘बकवास- तर कसको’ शीर्षकमा रिज्वाइन्डर ठेलेकाले आवश्यकताको सिद्धान्तले उत्प्रेरित हुँदै यो टिपोट लेख्ने कष्ट गर्नुपरेको हो |

ट्वेल्भ इयर्स अ स्लेभ
यो नाम २०१३ को एउटा पश्चिमा सिनेमाको हो | यसमा छ- सोलोमन नर्थअप नाम गरेको एउटा मुक्त कालेको सत्यकथा | मुक्त भएर पनि ऊ अपहरित हुन्छ र १२ वर्षसम्म एकपछि अर्को मालिककोमा कमारा बनेर दासताको चक्रमा फनफनी घुमिरहन्छ | नभन्दै १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने नेपाली आहान बनेको ठ्याक्कै १२०० वर्षपछि सोलोमन स्वतन्त्र हुन्छ र घर फर्केर आत्मकथा कोर्दछ | दासत्वको कथामा पश्चिमाहरुले बनाएको यो सिनेमा फुर्कीफुर्की हेर्नेहरु, मजा लुट्नेहरु तर आफ्नै घरआँगनमा मजासित दासप्रथा र सतीप्रथा चल्दा उन्मुलनको माग गर्छन्, तिनै पश्चिमा र तिनका पिट्ठुहरुको इशारामा, बिल्कुलै निर्लज्जतापूर्वक | उसै पनि स्वदेशी स्याउभन्दा विदेशी नासपाती मिठो मान्नेहरुको जमात ज्यादा छ यहाँ | त्यो सिनेमामा देखाइएको सामग्रीको ठूलो हिस्सा छ- कसरी दासिनीलाई रेप गरिन्छ, दिनमा १०० केजी कपास टिप्न नसक्दा कसरी बेहिसाब पाता फर्काइन्छ र गोली दाग्दै मासु चोक्टा-चोक्टा पारिन्छ | अर्थात् पश्चिमा सोचाइको जिउँदोजाग्दो प्रतिविम्ब हो यो सिनेमा | हामीले त्यही सिनेमा बनाए धेरै सम्भव छ- हामी देखाउथ्यौं, कसरी आइमाईहरु बैंसमै आगोमा हामफालेर सती जान्थे, कसरी थरुनीहरु जमिन्दारका घरमा कमलहरी बस्थे र कसरी बाउबाजेको ऋण चुक्ता गर्न दलितहरु हलिया बस्थे | उन्नाइसौं शताब्दीको कथालाई टिपेर सिनेमा बनाउने पश्चिमाहरु एक्काइसौं शताब्दीको ओस्कार थाप्दैछन् | जबकि यस्ता कथाको प्रमाण नेपालमा एघारौँ शताब्दीमै पाइन्छ | त्यसमाथि सती प्रथामाथि बनेको ‘झोला’ छँदैछ | यी त साना उदाहरणहरु मात्रै हुन्, पंक्तिकारले झट्ट सम्झेका | इन्टरनेटमा सर्च गरे हुन्छ इच्छुकहरुले | तर यति कुरा चाँहि अहिल्यै बुझे राम्रो- १९८२ मा चन्द्र शमशेरलाई दासप्रथा हटाउन बाध्य बनाउनेहरुकै रेप्लिका हुन् अहिलेका बरियापुर विरोधीहरु, अपितु यो पालि कुनै पनि हालतमा यिनीहरु सफल हुनेछैनन् | योहाना लुम्लेको औँलो समातेर परम्परागत मान्यतामाथि औँलो ठड्याउँदै विद्वान कहलिने फेसन सम्वत् २०६३ पछि ह्वात्तै बढेको छ तर साधारण नेपालीहरुको चेतना यिनीहरुको दाँजोमा कहाँ हो कहाँ पुगिसकेको छ | जेएनयुका उत्पादनहरु पश्चिमाका चेलाचपेटामा ‘मेटामर्फोज’ भएको सबैले देखेकै हुन्, तर बहुसंख्यकले पढ्ने त्रिवी बिकेको कसैले सुनेको छ आजसम्म ?

ऐतिहासिक गाथा
पश्चिमको ‘गड’ नेपालीको ‘गढीमाई’ को अपभ्रंश हो | भलै त्यसलाई १६०० वर्षअघि जर्मनहरुले शुरु गरेको दाबी चलिरहोस् | आदियुगदेखि बरियापुरमा खडा रहिरहेको यो गढीमाईको ख्याती र सौन्दर्य मानदेवकै पालामा चारैतिर फैलिसकेको कुरा त कालिकोटका योगी नरहरिनाथले ३६ वर्ष लगाएर लेखेको ‘बाराको प्रमाणिक इतिहास’ मा उहिल्यै उल्लेख भइसकेकै हो | पछि राजा गणेश्वर सिंहका पालामा महाकवि विद्यापतिले हाल मन्दिर रहेकै ठाउँमा मैथिली भाषाको कवितागोष्ठी गराए, भक्तिधाराका कविताहरु समेटेर भन्ने पनि भनाइ छ | अनि यही ठाउँ हो, जहाँ भनाइ छ- साक्षात् गढीमाई देवी प्रकट भएर भन्नुभयो- मलाई पाँचपाँच वर्षमा पशुबली चाहिन्छ, पाँच लाख घटीले चल्नेवाला छैन | ‘बरियापुरियन्स आर एनिमल एडिक्टस’- एक समकालिन पश्चिमाले त कतै लेखेकै छन् | फेरि, पश्चिमासँग किन तुलना गर्छौ, बरियापुर त निरपेक्ष हो भनेर लेख्नुअघि यी शिरोमणिले कमसेकम एकपटक उनकै गुरु चैतन्य मिश्रलाई सम्झिदेको मात्रै भएपनि यो टिपोटको जरुरी हुन्थेन | ऐतिहासिक चेतको कुरा गर्दै मिश्रले आफ्नो ‘डक्टरल डिजर्टेसन’ मा लेखेका छन्- नेपालको इतिहासशास्त्र लगायत राजनीति समष्टिभन्दा धेरै बढी व्यष्टि, विश्वकीय र क्षेत्रीयभन्दा धेरै बढी राष्ट्रिय र स्थानिक, जगत् र समाजका विशिष्टताभन्दा धेरै बढी व्यक्तिका विशिष्टता र ऐतिहासिक प्रवाह र सम्पूर्ण संरचनाका विशिष्टताभन्दा धेरै बढी कर्ताको विशिष्टतामा केन्दि्रत हुनपुगेको हो | आफ्नै गुरुको कुरा नपढ्ने यो कस्तो विद्वान हो, बुझिनसक्नु छ | धेरैको हाल यही छ |

अरुन्धती र दीपा मेहता
यी ती दुई नामहरु हुन् जसलाई ‘कोट’ गर्न भ्याएका छन् विद्वतशिरोमणिले आफ्नो रिजोइन्डरमा | अरुले माने भन्दैमा बलिप्रथा, सतीप्रथा, दासप्रथा नेपालले मान्न जरुरी छैन भने यो जोडी चाँहि भारतीय भएर मात्रै हामीले तिनका ‘कोट’ लाई मान्दिनुपर्ने हो ? शिरोमणिको विवेकलाई पंक्तिकारको खुलाप्रश्न हो यो | नभन्दै तथ्यांक बोल्छ- यतिखेर १५ हजार नेपालीहरु भारतीय ‘पेरोल’ मा छन् | चिनियाँहरू भन्छन् रे नै, 'तिम्रो देशमा कोचाहिँ बिकेको छैन ? कोसँग सहकार्य गर्ने ?'  निश्चय नै, बरियापुरमाथि धावा बोल्नेहरुको फ्रन्टलाइनमा पश्चिमाहरु छन् | तर तिनै गोरा छालाले संचालन गरेको एउटा भारतीय ‘ग्यांग अफ फोर’ यसपाला बरियापुरमा खुल्लमखुल्ला क्रियाशील थियो | माथिका पंक्तिहरु पढिसकेपछि बुझ्नेले बुझ्लान् नै- औपनिवेशिक सोच र नमिठो लघुताभाष भनेको के हो !

रिप्लेज बिलिभ इट अर नट 
जसले अति पुरानो नेपाल बुझेका छन्, तिनले २६औं शताब्दीमा टेकेको पनि ५८ वर्ष भयो | जसले आधुनिक नेपाल बुझेका छन्, तिनले २१औं शताब्दीमा टेकेको पनि ७२ वर्ष भयो | तर २१औं शताब्दीमा टेकेको भर्खर १४ वर्षमात्र भएका यी नवकिशोरहरु अहिलेको युगमा आएर पनि संस्कृति र परम्पराको बचाउ गर्ने ? भनेर थाक्दैनन् | हामी शुद्ध मांसाहारी हौँ भनेर पटकपटक 'कन्फेस' गरिरहन पनि यी बरियापुर विरोधी नवकिशोरहरु फिटिक्कै लजाउँदैनन् | रिप्लेको 'बिलिभ इट अर नट' मा उल्लेख गर्नलायक यस्तै विसंगतिलाई सायद हामी बेलाबेला नियति भन्ने गर्छौं | खासमा बरियापुर विरोधीहरुको खास तारो के हो, विरोधीहरु स्वयम्मै प्रष्ट छैनन् | आफू बाहेक अरु सबलाई मासु घिच्न प्रतिबन्ध लगाउनुपर्ने माग हो कि, बरियापुरमा बफ काट्दा काठमाण्डौमा म:मको अभाव हुन्छ भनेर हो कि ? वा मेलास्थल बरियापुरबाट काठमाण्डौ स्थानान्तरण गर्नुपर्ने हो कि, पा-पाँच वर्षलाई लम्ब्याएर बीस वर्ष बनाउनुपर्ने हो कि बलि दिइने पाँच हजार राँगालाई पाँच सयमा झार्नुपर्ने हो कि ? अरु किसिमले भन्न नसकेर मेला व्यवस्थापनका गन्जागोल नारा भट्टयाउनेहरु पनि भेट्टिए- प्रगतिशीलताको खोल ओढेका केही बुज्रुकहरु | इयू, डेनमार्क, नेदरल्याण्ड, नर्वेलगायत भ्याटिकन र प्रोटेस्टेन्टहरुले आफ्नो धर्मविस्तारका लागि हिन्दूधर्मभित्रको एउटा अनन्य प्रथामाथि यसरी धावा बोल्दा पनि अरुहरु मुखमा टेप टालेर बस्छन् भने बसून्, यो पंक्तिकार बस्दैन | आदियुगदेखि बरियापुरमा चलिआएको गढीमाई पर्व यथार्थमा धर्म नै होइन, प्रकृतिसम्बद्ध जीवनपद्धति र दर्शन हो |  

पुछार-१  
योपालि रामबहादुर बम्जन स्टेजमा कतै देखा परेनन् तर मोदीको नेपाल भ्रमणका बेला पशुपतिनाथ नजान अनुरोध गर्ने स्वामी अग्निवेश चाँहि अपेक्षितरुपमै बरियापुर विरोधीहरुको फ्रन्टलाइनमा थिए | नेपाली जनताको हृदयमा पशुपतिनाथ र बरियापुर किन प्रिय छन्, यी गेरुवस्त्रधारीले नबुझ्ने कुरा थिएन | सुनियोजित रुपमा मेलास्थलमै अनसन बस्न खोज्दा मेला भर्न आएका लाखौँ श्रद्धालुहरुले लखेट्नु लखेटे यिनलाई | जुन दिन बाँकी बरियापुर विरोधी झुण्डहरुको पनि पश्चिमा कनेक्सन सप्रमाण सडकमा छरपस्टिन्छ, तिनको हाडखोर अवश्यै रहनेछैन |

पुछार-२
नभन्दै पशुबलिको भोलिपल्टै मन्त्रिपरिषद्को बैठकले बरियापुर गाविसलाई महागढीमाई नगरपालिकामा ‘प्रमोसन’ गरिदिएको छ |









Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong