पहिलेपहिले मिडियाका विचार-पृष्ठमा एकथरि समुदायको मात्र वर्चश्व
रहन्थ्यो | र स्वाभाविक थियो- पहाडी समुदायका लेखक-विचारकहरुबाट पहाडकै कुराहरु
बढी आउँथे | यसप्रकार तराई-मधेशका बारे हामी झन्डैझन्डै बेखबर रहन्थ्यौं | यो
पृष्ठभूमिमा दीपक रौनियारजीले सेतोपाटीमा मधेशका कुराहरु निरन्तर लेखिरहेर
पाठकहरुका निम्ति मधेशका जनताको हृदयसम्म पुग्ने बाटो कोरिदिनुभएको छ | उसो त मधेशका
प्रवृति र विम्बहरुको छाप हाम्रो साहित्यमा पनि उतिसारो परेको छैन | स्थापित
साहित्यकारहरुमध्ये नयनराज पाण्डे र धच गोतामेबाहेक सबैजनाले आफ्ना
कथा-उपन्यासहरुमा पहाडकै ‘प्लट’ बुनेको मैले पाएको छु | तर दीपकजी आफैं पनि मधेशी
समुदायबाट आउनुभएकाले गैरमधेशीले लेखेको भन्दा उहाँले लेख्ने मधेशका कुराहरुलाई
बढी ‘अथेन्टिक’ मान्न सकिन्छ | हुनपनि एउटा खास विषयमा दृष्टिकोण निर्माण गर्न
पाठकले एक पक्षको मात्र कुरा सुनेर पुग्दैन | भिन्नभिन्न क्षेत्र, समुदाय र धर्मका
विचारलाई ठाउँ दिनुपर्छ, तिनलाई सम्मान गर्नुपर्छ र असहमति छ भने फेरि आफ्नो कुरा
राख्दै त्यो बहसलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्छ | बहसका दौरान दुवै पक्षले
एकअर्कालाई राम्ररी बुझ्न यति नगरी धरै छैन | ‘मैले भनेको मात्रै सही हो’ भन्ने
हिसाबले त कहिल्यै पनि गुढ कुरा निस्कन्न | व्यक्तिगत, लैंगिक, जातीयलगायत
अनेकखाले पूर्वाग्रह राखेर एउटा विचारले अर्कोलाई निषेध गर्न खोज्ने हाम्रोजस्तो
परम्पराले नै त हो हाम्रो बुझाई उन्नत हुन नसकेको | पछिल्लोचोटि दीपकजीले समृद्धि
राईको ‘तिमी को हो थाहा भएन, म चाँहि नेपाली’ गीतका बारे लेख्नुभयो | ‘मेलमिलापका
नाममा अर्कालाई अपमानित गर्न खोज्नु राम्रो भएन’ भन्दै ‘तिमी को हो थाहा भएन’
भन्ने प्रश्नप्रति दीपकजीले आक्रोश पोख्नुभयो र थप्नुभयो- यो सस्तो भावना भड्काएर
लोकप्रिय हुन खोज्ने काम हो | जबकि गीतमै प्रष्ट भनिएको छ- जातभात छुट्टयाउनेलाई
हो यो प्रश्न भनेर | कतिपयले आरोप लगाएजस्तो संकीर्ण राष्ट्रवादको गन्ध त्यहाँ
मैले कतै भेटिन |
गायिका समृद्धिजी आफैं जनजाति हुनुहुन्छ | जनजातिहरुले भोग्नुपरेको
उत्पीडनको उहाँ आफैं पनि भुक्तभोगी हुनुहोला, नभए पनि जानकार चाँहि पक्कै
हुनुहुन्छ | तर पनि ‘म आदिवासी, म जनजाति, म महिला, म पुरुष भनेर मात्रै नबसौं, के
मधेशी, के पहाडी, के दलित, के आर्य, के मंगोल हामी सबै नेपाली हौँ ‘ भन्ने भावमा
गीत ल्याउनुभयो, राजेश हमाल, लेक्स लिम्बु, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,
अब्दुस मियाँजस्ता चारैतिरका हस्तीलाई म्युजिक भिडियोमा खेलाएर | पुरानो कुरा अब
धेरै कोट्याइरहेर कसैलाई फाइदा छैन, संसारै एउटा साझा घर बनेको बेला मेलमिलापका
साथ अघि बढ्नुपर्छ भन्ने गीतको सारमा कसैको कुनै विमति नहुनुपर्ने हो | दीपकजी र
अरु कैयनको रहेछ, विमति राख्नुभयो | जेहोस् बहस अघि बढाउन सजिलो भयो |
मधेशीको राष्ट्रियतामाथि पहाडका सहरबजारमा बारबार प्रश्न उठाइने गरेको
मैले पनि थाहा पाएको छु | जतासुकै आफ्नो नेपालीपनको प्रमाण पेस गरिरहनुपर्दाको त्यो
पीडालाई म अनुभूत त गर्न सक्दिनँ, तर अलिकति बुझ्न चाँहि सक्छु | मधेशीहरु पनि तपाईं-हामीजस्तै
नेपाली नै हुन् भन्दा धेरै पहाडेले जिब्रो टोकेको मैले देखेको छु | कतिपय चाँहि ‘यी
भारतीय होइनन्, नेपाली नै हुन्’ भन्ने थाहा पाउँदापाउँदै पनि अनेक नाम काढेर
हेपिरहन्छन् | यो विभेद हटाउने काम मूलतः पहाडी समुदायका मान्छेकै हो | कुनै मधेशीलाई
‘भैया’ र ‘मर्स्या’ का नाममा एउटा पहाडेले हेप्दा अर्को पहाडे उसको बचाउमा अघि सर्नुपर्छ,
सम्झाइबुझाइ गरिकन उसको दृष्टिकोण परिवर्तन गराउन सक्नुपर्छ | सीके राउतहरु त्यसै
आकाशबाट फुत्त झरेका त होइनन् | यस्तै अन्यायपूर्ण व्यवस्थाले नै जन्माएको हो | तर
यसमा मधेशीहरुको पनि त जिम्मेवारी छ | दीपकजीजस्ता जनमत निर्माण गर्नसक्ने
अगुवाहरुको त झनै छ | एउटा जनजाति गायिकाले नै जातजातिका साँघुरा कुरामा नअल्झिउँ,
व्यापक क्षितिजतर्फ ध्यान लगाऔं भन्दा त उहाँले थपडी बजाएर स्वागत गर्नुपर्थ्यो |
हो, हामी सबै नेपाली हौँ, सामाजिक र जातीय सद्भाव कायम राख्दै सबैले एकआपसमा
मेलमिलापका हात बढाउनुपर्छ भनेर पो भन्नुपर्थ्यो | जातव्यवस्थालाई निमिट्यान्न
पार्ने गीतको सारतत्वलाई ग्रहण गर्नुको साटो किन उहाँ जानाजान प्रकारान्तरले
जातव्यवस्थालाई नै प्रश्रय दिऔं भन्दै हुनुहुन्छ ?
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन- देवकोटाको यो कालजयी पंक्ति सबभन्दा
बढी धर्म, जात र समुदायका नाममा भेदभाव गर्ने पुरातनपन्थी पुरेतहरुले बुझ्ने र मनन
गर्नुपर्ने हो | जसले बुझ्नुपर्ने हो, उनीहरुले त बुझेका छैनन् नै, तर विडम्बना के
भइदियो भने यो पंक्तिको मर्म स्वयम् दीपकजीजस्ता मधेशी समुदायबाट आएका
व्यक्तिहरुले पनि बुझ्ने चेष्टा गर्नुभएको छैन | जातियताको आगोले मुलुकमा डढेलो
लाग्न बेर लाग्दैन | यसलाई उच्च भनिएका जात र ठाउँबाट आएकाहरुले त बुझ्नुपर्छ नै,
उदार हुनुपर्छ नै, बाँकी पनि पन्छिन मिल्दैन | सबैले फराकिलो दृष्टिकोण राख्न
सक्नुपर्छ |
अर्को कुरा, दीपकजीजस्ता लेखकहरुले शोषक-शाषक वर्ग भनेर आरोपित गर्दै जम्मै
बाहुन-क्षेत्रीहरुलाई एउटै डालोमा हाल्ने गरेको कुरा पनि धेरैलाई
नपच्ने विषय भएको छ | आखिर भोकानांगाहरु त बाहुन-क्षेत्रीमै पनि बग्रेल्ती छन्
भन्ने कुरा त तथ्यहरुबाटै सिद्ध हुन्छ | दलितभित्रै उँचनिचको अर्को वर्णव्यवस्था
छ, मधेशीभित्रै तल्लो र माथिल्लो जातहरु छन् | त्यसैले यसको अन्त्य गर्नपट्टि
लाग्ने कि सधैं बाहुन क्षेत्रीको मात्रै खेदो खनिरहने ? ‘को मतवाली को बाहुन
क्षेत्री’ भन्दै जनजातिभित्रैबाट गीत गुन्जंदा एकथरीलाई आपत्तिजनक लाग्नुको
निहितार्थ मैले अझै बुझ्नसकेको छैन | दोश्रो जनआन्दोलनपछि जुर्मुराएर ब्युँझिएका
सीमान्तकृतहरुलाई भड्काउने होइन, इमान्दारिताका साथ मूलधारमा समाहित गराउन
समृद्धिजी र दीपकजीजस्ता सबै अगुवाहरु एकजुट हुनैपर्छ |
0 comments:
Post a Comment