राँगाको
नेतृत्वमा बोका, सुँगुर, हाँस, परेवा र कुखुरालाई पछि लगाएर काठमाण्डौस्थित पशुहरुको
एउटा प्रतिनिधिमण्डल सिंहदरबार छिर्यो |
नाइके
राँगाले कड्किंदै भन्यो- अबको केही दिनमै बाराको बरियापुरमा गढीमाई मेला हुँदैछ, दुई
दिनमै हाम्रा पाँच लाख दाजुभाइ दिदीबहिनीहरु रेटिदैछन्, रगतको नदी बग्दैछ ! यस्तो
अवस्थामा हामीलाई थाहा चाहियो- सरकार के हेर्दैछ ?
सरकार-
हाम्रो जातै केही नसुन्ने र केही नदेख्ने हुन्छ |
नाइके- उसोभए
अब हामी धमाका देखाइदिन्छौं |
[पछाडिपट्टिबाट
एक बथान सुँगुरले डाँको छाडे- हो, हो, धमाका देखाइदिन्छौं | ]
सरकार-
त्यसो हो भने सरकारले तिमीहरुको समस्या के हो, अध्ययन गर्नेछ |
नाइके-
मङ्सिर लाइसक्यो, बलिको दिन आइसक्यो | तपाईंलाई चाँहि ट्याम न कुट्याम अध्ययनको
ढोंग रच्नुपर्ने ? सबै अध्ययन त अध्येयताले गरिसकेका छन् | तपाईंले त बस् यो
मेलामा हुने क्रुर बलि रोक्नुपर्यो |
[बाहिरपट्टि
पशुअधिकारवादीहरुको नाराजुलुस प्रष्टै सुनिन्थ्यो ]
सरकार- तर
हामी मानिसले हाम्रो धर्म-संस्कृति, संस्कार र परम्पराको पनि त ख्याल गर्नुपर्यो |
तिमीहरुलाई पो हाइसन्चो छ, धर्म-संस्कृति क्यै छैन | हामी त तिमीहरुजस्तो
फुक्काफाल जन्तु होइनौं, परम्पराको दाम्लोले बाँधिएका हुन्छौं | तिमीहरुलाई ‘ल,
पशुबलि ब्यान्ड भो’ भन्दिनेबित्तिकै हिन्दू प्रजातान्त्रिक नेपालका एकहुल
कार्यकर्ताहरु मलाई घेर्न आइपुग्छन् |
नाइके- उता
तपाईंहरु विश्वको सबैभन्दा धेरै पशुबली दिने शक्तिपीठ भनेर गढीमाइको गुणगानमा मग्न
हुनुहुन्छ, के जाति बुकमा रेकर्ड राखेर विश्वले चिन्नेछ नेपाल भनेर फुलेल
हुनुहुन्छ | यता, हाम्रा साथीहरु कस्तो मनोदशाबाट गुज्रिदैछन्, हेक्कासम्म छ
तपाईंहरुलाई ? घृणा गर्छन् उनीहरु गढीमाइलाई | तपाईंहरुले त्यस्तो भक्तिभावले शीर
निहुर्याउने यो मन्दिरलाई पशुहरुले पनि त्यत्तिकै श्रद्धा गरुन् भन्ने लाग्दैन
तपाईंहरुलाई ? ए सरकार ! के साँच्चै लाग्दैन ?
सरकार
(लामो सुस्केरा हाल्दै) - के गर्छौ त भाइ हो ? पशुबली नदिँदासम्म हाम्रा श्रद्धालु
भक्तजनहरुको मनोकामना पूरा भएको एउटै रेकर्ड छैन | भगवानै यस्तो हुनुहुन्छ कि
उहाँका समीपमा पशुहरुको आलो रगत नपरुन्जेल जतिसुकै ठूलो तपस्या गरेपनि आफ्ना
भक्तको कुरा सुन्नुहुन्न | त्यसैले भगवानको दिलखुस पार्न यति त नगरी धरै छैन भाइ
हो !
बोका
(खुट्टा बजार्दै) - के कुरा गर्नुभा सरकार यस्तो ? पशुबलीलाई धार्मिक लेपन लगाउन
खोजेर आफ्नो बेवकुफी नदेखाउनुहोस् | फेरि, धर्मसंस्कृतिमा त्यस्तो कतै रहेछ नै भने
पनि त्यसलाई समयानुकूल परिवर्तन गर्न नसकिने हो र ? कि कुसंस्कारै भएपनि आँखा
चिम्लीचिम्ली पछ्याउनैपर्छ भनेर शास्त्रमा लेखेको छ र ? एउटा भ्रामक जनविश्वासको
बलमा राज्यस्तरबाटै पुठ दिएर यस्तो घीनलाग्दो ताण्डव नृत्य मच्चाउन तपाईंलाई
अलिकति त लाज लाग्नुपर्ने हो | त्यैमाथि एक्काईसौं शताब्दीको दोश्रो दशकमा |
सरकार (अलि
रन्किंदै) - लाज-शरम-घीन मानेर एक्काईसौं शताब्दीको सरकार चल्दैन भाइ | ‘एक लज्जा
परित्यज्य सर्वत्र विजयी भवेत्’ भन्ने श्लोक तिमी पशुहरुलाई के थाहा ?
नाइके-
थाहा पाउनुपर्ने कुराहरु धेरै छन् सरकार ! तर यति कुरा चाँहि तपाईं पनि थाहा
पाइराख्नुस् कि तपाईंहरुको यो उन्मादी खेल अब धेरै समय टिक्दैन | एउटा पत्थरलाई
निरीह पशुका रगत चढाएर देवता खुशी हुने होइन भन्दै जताततैबाट हाम्रा पक्षमा उभार
आइरहेको छ | के भेज, के ननभेज; सोसल मिडियाका अधिकांश फेसबुके र ट्विटेले हाम्रा
पक्षमा अभियानै छेडेका छन् | भारतको अदालतले मेलाका बेला पशु निर्यात नगर्नू भनेर
ठाडो आदेश दिइसक्यो | जोना लुम्लेले बेलायत तताइरहेकी छिन् | युरोपेली राजदूतहरु
पनि लागिपर्नुभाछ | देशविदेशबाट हस्ताक्षरहरु ओइरिइरहेका छन् | अबोध र निरीह पशुमाथिको
अमानवीय अपराध रोक्न स्वयम् मानवहरु जुर्मुराएको देख्दा हामी भावविभोर भएका छौं |
तर सरकार, तपाईं देखे नदेखेझैँ, सुने नसुनेझैं गर्नैमा मस्त हुनुहुन्छ | थाहा छैन,
यसो गरेर तपाईंहरु पाप गर्दैहुनुहुन्छ कि पुण्य, तर यति चाँहि भन्न करै लाग्छ- मानवीयता
र पाशविकताको अर्थ साटफेर गर्नुपर्ने दिन आएछ |
सरकार- पशु
भएर मान्छेसँग मुखमुखै लाग्नु तिमीहरुलाई शोभा दिने कुरा होइन | फेरि, तिम्रो
लम्बेतान भाषण सुन्ने फुर्सद पनि मसँग अहिले छैन | जरुरी मिटिंगहरु छन्,
महत्वपूर्ण रिबनहरु काट्नु छ | मलाई यत्ति भन, के दशैंजस्ता चाडबाडमा पनि हामीले
तिमीहरुलाई नखानु ? के जागिर पाएको खुशियालीमा, पास भएको अवसरमा, छोरो पाएको
उपलक्ष्यमा पनि ‘निरीह प्राणी’ भन्दै भेजमै चित्त बुझाइरहनु ?
नाइके-
निर्दोष पाठाहरुको शिकार नगर्नूस् ब्वाँसासाहेब भनेर त म कसरी भनूँ ? मन्दिरहरुमा
हामीलाई होइन, नरिवललाई फुटाएर तपाईंको भगवानलाई चढाउनुहोस् भनेर पनि म भन्न
सक्दिनँ | बरु काम, क्रोध, लोभ, मोहलाई बलि दिनूस् भन्नु पनि बेकारै छ | अहिंसा
अनि शाकाहारी डाइटको फाइदाबारे प्रवचन सुनाउने मुर्खता त म झन् कसरी गरूँ र ? हाम्रो
मासुबाटै तपाईंहरुको शरीरले प्रोटिन पाउँछ, तपाईंहरूको जिब्राले स्वाद पाउँछ | भन्ने
नै हो भने, हाम्रो रगत र मासुबाट तपाईंहरु आफ्नो भोकतिर्खा मेट्न स्वतन्त्र
हुनुहुन्छ | तपाईंले आफ्नो सजातीय मान्छेकै बाँच्ने अधिकार त सुनिश्चित गर्न
नसकेका बेला हामी हाम्रो बाँच्ने अधिकार मागेर मजाकका पात्र बन्न चाँहदैनौं | हाम्रो
बिन्ती त यत्ति हो- यति धेरै छटपटी र पीडा नदिनूस् | हामी हाँसीहाँसी शूलीमा
झुन्डिन तयार छौं, तर यत्ति हो, त्यो झुन्ड्याई अलिक मर्यादित र व्यवस्थित होस् | भगवानको
नाम जप्दै क्रुरताको यो हद ननाघ्नुहोस् | सारा संसारका अगाडि तड्पाई-तड्पाई
आमसंहार नगरीदिनूस्; गढीमाईजस्तो हिरोशिमा र नागासाकी खडा नगरिदिनूस् | बर्बर
हिंसालाई रोमान्टिसाइज नगरिदिनूस् | अनि अन्तिममा, बुद्ध वाज बर्न इन् नेपाल भनेर
एकोहोरो चिच्याइरहनुभन्दा पशुबलिका बारे बुद्ध के भन्दा रहेछन्, यसो पढ्ने लेठो
गरिदिनुहोला |
सरकार-
हुन्छ, तिमीहरुको कुरा एकदमै जायज लाग्यो | गढीमाइले मलाई सद्बुद्धि दिनुभएको छ | यससम्बन्धी
निर्णय म आजै क्याबिनेटको आकस्मिक बैठक बोलाएर गर्नेछु | प्रतिक्षा गर्नू | धन्यवाद
!
भोलिपल्ट
बिहानै सबै पशुहरु टुंडिखेलमा जम्मा भएर अखबारका हेडलाइनमा आँखा दौडाउने होडबाजीमा
उत्रिए | त्यहाँ छापिएको थियो- गढीमाई मेलामा हुने बलिमा कुनै किसिमको अवरोध
आउन नदिन २००० सुरक्षाकर्मी परिचालन गर्ने सरकारको निर्णय |
2 comments:
हे हे । सरकारले राम्ररी सुनेछ ।
Nice..
Post a Comment