[सौरभ भर्सेज संजीव: एक प्यारोडी]
१८ मङ्सिरको अंकमा पंक्तिकारले ‘बरियापुर:
पश्चिमाको बकवास’ लेखेलगत्तै ट्वीटर संसारका स्वघोषित एक विद्वतशिरोमणिले ‘बकवास-
तर कसको’ शीर्षकमा रिज्वाइन्डर ठेलेकाले आवश्यकताको सिद्धान्तले उत्प्रेरित हुँदै
यो टिपोट लेख्ने कष्ट गर्नुपरेको हो |
ट्वेल्भ इयर्स अ स्लेभ
यो नाम २०१३ को एउटा पश्चिमा सिनेमाको हो
| यसमा छ- सोलोमन नर्थअप नाम गरेको एउटा मुक्त कालेको सत्यकथा | मुक्त भएर पनि ऊ
अपहरित हुन्छ र १२ वर्षसम्म एकपछि अर्को मालिककोमा कमारा बनेर दासताको चक्रमा
फनफनी घुमिरहन्छ | नभन्दै १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने नेपाली आहान बनेको
ठ्याक्कै १२०० वर्षपछि सोलोमन स्वतन्त्र हुन्छ र घर फर्केर आत्मकथा कोर्दछ | दासत्वको
कथामा पश्चिमाहरुले बनाएको यो सिनेमा फुर्कीफुर्की हेर्नेहरु, मजा लुट्नेहरु तर
आफ्नै घरआँगनमा मजासित दासप्रथा र सतीप्रथा चल्दा उन्मुलनको माग गर्छन्, तिनै
पश्चिमा र तिनका पिट्ठुहरुको इशारामा, बिल्कुलै निर्लज्जतापूर्वक | उसै पनि स्वदेशी
स्याउभन्दा विदेशी नासपाती मिठो मान्नेहरुको जमात ज्यादा छ यहाँ | त्यो सिनेमामा
देखाइएको सामग्रीको ठूलो हिस्सा छ- कसरी दासिनीलाई रेप गरिन्छ, दिनमा १०० केजी
कपास टिप्न नसक्दा कसरी बेहिसाब पाता फर्काइन्छ र गोली दाग्दै मासु चोक्टा-चोक्टा
पारिन्छ | अर्थात् पश्चिमा सोचाइको जिउँदोजाग्दो प्रतिविम्ब हो यो सिनेमा | हामीले
त्यही सिनेमा बनाए धेरै सम्भव छ- हामी देखाउथ्यौं, कसरी आइमाईहरु बैंसमै आगोमा
हामफालेर सती जान्थे, कसरी थरुनीहरु जमिन्दारका घरमा कमलहरी बस्थे र कसरी
बाउबाजेको ऋण चुक्ता गर्न दलितहरु हलिया बस्थे | उन्नाइसौं शताब्दीको कथालाई टिपेर
सिनेमा बनाउने पश्चिमाहरु एक्काइसौं शताब्दीको ओस्कार थाप्दैछन् | जबकि यस्ता
कथाको प्रमाण नेपालमा एघारौँ शताब्दीमै पाइन्छ | त्यसमाथि सती प्रथामाथि बनेको ‘झोला’
छँदैछ | यी त साना उदाहरणहरु मात्रै हुन्, पंक्तिकारले झट्ट सम्झेका | इन्टरनेटमा
सर्च गरे हुन्छ इच्छुकहरुले | तर यति कुरा चाँहि अहिल्यै बुझे राम्रो- १९८२ मा
चन्द्र शमशेरलाई दासप्रथा हटाउन बाध्य बनाउनेहरुकै रेप्लिका हुन् अहिलेका बरियापुर
विरोधीहरु, अपितु यो पालि कुनै पनि हालतमा यिनीहरु सफल हुनेछैनन् | योहाना
लुम्लेको औँलो समातेर परम्परागत मान्यतामाथि औँलो ठड्याउँदै विद्वान कहलिने फेसन
सम्वत् २०६३ पछि ह्वात्तै बढेको छ तर साधारण नेपालीहरुको चेतना यिनीहरुको दाँजोमा
कहाँ हो कहाँ पुगिसकेको छ | जेएनयुका उत्पादनहरु पश्चिमाका चेलाचपेटामा ‘मेटामर्फोज’
भएको सबैले देखेकै हुन्, तर बहुसंख्यकले पढ्ने त्रिवी बिकेको कसैले सुनेको छ
आजसम्म ?
ऐतिहासिक गाथा
पश्चिमको ‘गड’ नेपालीको
‘गढीमाई’ को अपभ्रंश हो | भलै त्यसलाई १६०० वर्षअघि जर्मनहरुले शुरु गरेको दाबी
चलिरहोस् | आदियुगदेखि बरियापुरमा खडा रहिरहेको यो गढीमाईको ख्याती र सौन्दर्य
मानदेवकै पालामा चारैतिर फैलिसकेको कुरा त कालिकोटका योगी नरहरिनाथले ३६ वर्ष
लगाएर लेखेको ‘बाराको प्रमाणिक इतिहास’ मा उहिल्यै उल्लेख भइसकेकै हो | पछि राजा
गणेश्वर सिंहका पालामा महाकवि विद्यापतिले हाल मन्दिर रहेकै ठाउँमा मैथिली भाषाको
कवितागोष्ठी गराए, भक्तिधाराका कविताहरु समेटेर भन्ने पनि भनाइ छ | अनि यही ठाउँ
हो, जहाँ भनाइ छ- साक्षात् गढीमाई देवी प्रकट भएर भन्नुभयो- मलाई पाँचपाँच वर्षमा
पशुबली चाहिन्छ, पाँच लाख घटीले चल्नेवाला छैन | ‘बरियापुरियन्स आर एनिमल एडिक्टस’-
एक समकालिन पश्चिमाले त कतै लेखेकै छन् | फेरि, पश्चिमासँग किन तुलना गर्छौ,
बरियापुर त निरपेक्ष हो भनेर लेख्नुअघि यी शिरोमणिले कमसेकम एकपटक उनकै गुरु
चैतन्य मिश्रलाई सम्झिदेको मात्रै भएपनि यो टिपोटको जरुरी हुन्थेन | ऐतिहासिक
चेतको कुरा गर्दै मिश्रले आफ्नो ‘डक्टरल डिजर्टेसन’ मा लेखेका छन्- नेपालको
इतिहासशास्त्र लगायत राजनीति समष्टिभन्दा धेरै बढी व्यष्टि, विश्वकीय र क्षेत्रीयभन्दा धेरै बढी राष्ट्रिय र
स्थानिक, जगत् र समाजका विशिष्टताभन्दा धेरै बढी व्यक्तिका
विशिष्टता र ऐतिहासिक प्रवाह र सम्पूर्ण संरचनाका विशिष्टताभन्दा धेरै बढी कर्ताको
विशिष्टतामा केन्दि्रत हुनपुगेको हो | आफ्नै गुरुको कुरा नपढ्ने यो कस्तो विद्वान
हो, बुझिनसक्नु छ | धेरैको हाल यही छ |
अरुन्धती र दीपा मेहता
यी ती दुई नामहरु हुन्
जसलाई ‘कोट’ गर्न भ्याएका छन् विद्वतशिरोमणिले आफ्नो रिजोइन्डरमा | अरुले माने
भन्दैमा बलिप्रथा, सतीप्रथा, दासप्रथा नेपालले मान्न जरुरी छैन भने यो जोडी चाँहि भारतीय
भएर मात्रै हामीले तिनका ‘कोट’ लाई मान्दिनुपर्ने हो ? शिरोमणिको विवेकलाई
पंक्तिकारको खुलाप्रश्न हो यो | नभन्दै तथ्यांक बोल्छ- यतिखेर १५ हजार नेपालीहरु
भारतीय ‘पेरोल’ मा छन् | चिनियाँहरू भन्छन् रे नै, 'तिम्रो देशमा कोचाहिँ बिकेको छैन ? कोसँग सहकार्य
गर्ने ?' निश्चय नै, बरियापुरमाथि धावा बोल्नेहरुको
फ्रन्टलाइनमा पश्चिमाहरु छन् | तर तिनै गोरा छालाले संचालन गरेको एउटा भारतीय
‘ग्यांग अफ फोर’ यसपाला बरियापुरमा खुल्लमखुल्ला क्रियाशील थियो | माथिका
पंक्तिहरु पढिसकेपछि बुझ्नेले बुझ्लान् नै- औपनिवेशिक सोच र नमिठो लघुताभाष भनेको
के हो !
रिप्लेज बिलिभ इट अर नट
जसले अति पुरानो नेपाल बुझेका छन्, तिनले २६औं शताब्दीमा टेकेको पनि ५८ वर्ष भयो | जसले आधुनिक नेपाल बुझेका छन्, तिनले २१औं शताब्दीमा टेकेको पनि ७२ वर्ष भयो | तर २१औं शताब्दीमा टेकेको भर्खर १४ वर्षमात्र भएका यी नवकिशोरहरु अहिलेको युगमा आएर पनि संस्कृति र परम्पराको बचाउ गर्ने ? भनेर थाक्दैनन् | हामी शुद्ध मांसाहारी हौँ भनेर पटकपटक 'कन्फेस' गरिरहन पनि यी बरियापुर विरोधी नवकिशोरहरु फिटिक्कै लजाउँदैनन् | रिप्लेको 'बिलिभ इट अर नट' मा उल्लेख गर्नलायक यस्तै विसंगतिलाई सायद हामी बेलाबेला नियति भन्ने गर्छौं | खासमा बरियापुर विरोधीहरुको खास तारो के हो, विरोधीहरु स्वयम्मै प्रष्ट छैनन् | आफू बाहेक अरु सबलाई मासु घिच्न प्रतिबन्ध लगाउनुपर्ने माग हो कि, बरियापुरमा बफ काट्दा काठमाण्डौमा म:मको अभाव हुन्छ भनेर हो कि ? वा मेलास्थल बरियापुरबाट काठमाण्डौ स्थानान्तरण गर्नुपर्ने हो कि, पा-पाँच वर्षलाई लम्ब्याएर बीस वर्ष बनाउनुपर्ने हो कि बलि दिइने पाँच हजार राँगालाई पाँच सयमा झार्नुपर्ने हो कि ? अरु किसिमले भन्न नसकेर मेला व्यवस्थापनका गन्जागोल नारा भट्टयाउनेहरु पनि भेट्टिए- प्रगतिशीलताको खोल ओढेका केही बुज्रुकहरु | इयू, डेनमार्क, नेदरल्याण्ड, नर्वेलगायत भ्याटिकन र प्रोटेस्टेन्टहरुले आफ्नो धर्मविस्तारका लागि हिन्दूधर्मभित्रको एउटा अनन्य प्रथामाथि यसरी धावा बोल्दा पनि अरुहरु मुखमा टेप टालेर बस्छन् भने बसून्, यो पंक्तिकार बस्दैन | आदियुगदेखि बरियापुरमा चलिआएको गढीमाई पर्व यथार्थमा धर्म नै होइन, प्रकृतिसम्बद्ध जीवनपद्धति र दर्शन हो |
पुछार-१
योपालि रामबहादुर बम्जन
स्टेजमा कतै देखा परेनन् तर मोदीको नेपाल भ्रमणका बेला पशुपतिनाथ नजान अनुरोध
गर्ने स्वामी अग्निवेश चाँहि अपेक्षितरुपमै बरियापुर विरोधीहरुको फ्रन्टलाइनमा थिए
| नेपाली जनताको हृदयमा पशुपतिनाथ र बरियापुर किन प्रिय छन्, यी गेरुवस्त्रधारीले
नबुझ्ने कुरा थिएन | सुनियोजित रुपमा मेलास्थलमै अनसन बस्न खोज्दा मेला भर्न आएका लाखौँ
श्रद्धालुहरुले लखेट्नु लखेटे यिनलाई | जुन दिन बाँकी बरियापुर विरोधी झुण्डहरुको
पनि पश्चिमा कनेक्सन सप्रमाण सडकमा छरपस्टिन्छ, तिनको हाडखोर अवश्यै रहनेछैन |
पुछार-२
नभन्दै पशुबलिको भोलिपल्टै
मन्त्रिपरिषद्को बैठकले बरियापुर गाविसलाई महागढीमाई नगरपालिकामा ‘प्रमोसन’
गरिदिएको छ |
1 comments:
Great Read.Thanks for writing.
Post a Comment