........................................................................with words, with issues!!!

Oct 17, 2014

रुदाने र बिर्सिइएका नायकहरु

First Published in Mysansar 

रुदाने अर्थात् रुपचन्द्र विष्ट ! जसलाई पुरानो पुस्ताले चटक्कै बिर्सिसक्यो, नयाँ पुस्ताले चिनेकै छैन | इतिहासको अँध्यारो गर्तमा धकेलिएर बिर्सिएका एक होइन, अनेकौं रुदानेहरु छन् यो मुलुकमा | तिनलाई स्कुलका पाठ्यपुस्तकमा अनि पत्रिकाका पानाहरुमा कुनै ठाउँ छैन | हाम्रो इतिहासै यस्तो छ- कति रुदानेहरु गुमनाम पारिएका छन्, कति ऐरेगैरेहरु चाँहि ख्यातिको चुलीमा छन् | यो इतिहासको अब वृहत उत्खनन गर्दै तिनीहरुलाई फेरि सम्झने र नयाँ पुस्तालाई अवगत गराउने कामको थालनी गर्नुपर्छ | यसै सन्दर्भमा अमितकिशोर सुवेदी र विकास ढकालले ‘रुदाने: द मिस्टेरियस रिबेल’ नामको डकुमेन्ट्री निर्माण गर्दै गरेको समाचार प्रकाशमा आएको छ |
छिमेकी भारतमा भगत सिंहमाथि सन् २००२ मा एकैचोटि तीनवटा फिल्महरु बने | ती फिल्मले धेरै भारतीयहरुमा विस्मृतिको पर्दा उघारिदियो र भगत सिंहको स्मृतिलाई पुन: ताजा बनाएर ल्यायो | सन् २००६ मा बनेको ‘रङ्ग दे वसन्ती’ ले त युवापुस्तामाझ भगत सिंहलाई उनीहरुको ‘आइकन’ नै बनाइदिएको थियो | त्यस्तै, गत सालको ‘भाग मिल्खा भाग’ ले मिल्खा सिंह को हुन् भन्ने जानकारी संसारलाई दियो | भर्खरै रिलिज भएको ‘मेरी कोम’ ले पनि मेरी कोमका बारे ठूलो चर्चा फैल्याएको छ | उक्त फिल्मका निर्देशक उमंग कुमार स्वयंले स्वीकारेका छन् कि फिल्मको निर्माण थाल्नुअघिसम्म उनलाई थाहा थिएन- को हुन् मेरी कोम भनेर | फिल्म र डकुमेन्ट्रीहरुमा त्यो शक्ति हुन्छ | इतिहासले बिर्सेका, बाटैमा छोडेका वा चिन्दै नचिनेका नायकहरुलाई दर्शकसामु पस्किदिन्छ | अनि तिनका जीवनकहानीले मान्छेलाई प्रेरित गर्छन् | तर हाम्रोमा एक त यस्ता ‘बायोपिक’ हरु बन्दै बन्दैनन्, केही गरी बनिहालेछन् भनेपनि गुणस्तरका हुनेमा ठूलो प्रश्नाचिह्न रहन्छ | गुणस्तरकै रहेछन् भने पनि प्रचारप्रसारको अभावमा ती हलमा कहिले लागे, कहिले उत्रे, हलवालाबाहेक अरु कसैलाई थाहा हुँदैन | त्यसैले, पुस्तकहरुको प्रचारप्रसारमा अहिले जुन आक्रामकता देखिएको छ, गतिला फिल्म निर्माण गर्नेहरुले पनि अब त्यसको अनुशरण गर्ने हो कि ? नत्र, त्यत्रो मेहनत गरेर बनाएको फिल्म कसैले थाहै नपाई दर्शकका आँखाबाट ओझेलमा पर्छ भने त्यो बनाएको के सार ? केही वर्षअघि भजनशिरोमणि भक्तराज आचार्यमाथि ‘आचार्य’ फिल्म बन्यो, समीक्षकहरुले ताली पिटे, केही पत्रपत्रिकामा राम्रा ‘रिभ्यु’ हरु पनि छापिए | तर दर्शकका रुपमा हामीले, अझ हामीजस्तो मोफसलमा बस्ने दर्शकहरुले, त्यो फिल्म लागेको-नलागेको केही पत्तो पाएनौं | यसप्रकार भक्तराजबारेको हाम्रो कौतुहलता उनीमाथि फिल्मै बनिसक्दा पनि मेटिन सकेन | सहिद भीमदत्त पन्तको जीवन पनि चाँडै पर्दामा आउँदैछ | आखिर उनी पनि हाम्रो समाजले उतिसारो नचिनेका नायक हुन् | आशा गरौँ, यसले चाँहि ती ‘बायोपिक’ हरुको हविगत नबेहोरोस् |
रुपचन्द्र विष्टका बारे केटाकेटी छँदैदेखि फाट्टफुट्ट सुनिआएको र पढिआएको त हो | तर उनीबारे आधिकारिक सामग्रीहरु भने केही पाइँदैनन् | हरेक वर्ष जबजब उनको स्मृति दिवस आउँछ, तबतब अखबारका भित्री कुनामा केही संस्मरणहरु चाँहि पढ्न पाइन्छन् | तिनै छोटा संस्मरणमा पनि अनेक लोमहर्षक कथा र रोमाञ्चक गाथा हुन्छन् रुप्चनको व्यक्तित्वका | किम्वदन्तीजस्ता लाग्ने ती किस्साहरु पढ्दा उनी कुनै दन्त्यकथाका नायकझैं प्रतीत हुन्छन् | तर यत्तिकैमा रुप्चनको जीवनदर्शन सर्वसाधारणसम्म पुग्न सक्दैनथ्यो, पुगेन | आज पनि तन्नेरी पुस्ता बिल्कुलै अनभिज्ञ छ उनका बारे | यसलाई चिर्न उनका बारे ‘फिचर फिल्म’ वा ‘वृतचित्र’ बनाउनैपर्थ्यो, जुन प्रयास ढिलै भएपनि भएको छ | झारा टार्ने किसिमले होइन, बरु पर्याप्त अध्ययन-अनुसन्धान गरेर साँच्चिकै सार्थक वृतचित्र बन्न सकोस् यो- आमदर्शकको यही कामना छ | अनि धारिलो मार्केटिङ अपनाएर भएपनि ऐतिहासिक व्यक्तित्व वा विषयवस्तुमाथि बन्ने यस्ता फिल्महरु हरेक सर्वसाधारणको पहुँचसम्म पुर्याउनैपर्छ |  
एक समय सहरका भित्ता र पर्खालहरु ‘थाहा’ ले पोतिएका हुन्थे | मलाई नमान्नुस्, मेरा कुरा पनि नमान्नुस्, मेरा विरोधीका कुरा पनि नमान्नुस्, थाहा पाउनुस्, सप्रेका देश थाहा पाएर सप्रे, बिग्रेका देश भ्रम परेर बिग्रे, भ्रमैभ्रममा बाँचेर बिग्रेको यो देशको एउटा नागरिक तपाईं बस् थाहा पाउनुस्, देश सप्रिन थालिहाल्छ- यस्तो भन्थे रे ‘थाहा’ आन्दोलनका यी प्रणेता | जनताको यही ‘थाहा’ पाउने अधिकार कुण्ठित हुनेगरी अदालत अवहेलनासम्बन्धी कालो विधेयक ल्याउन लागिएको यो समयमा रुप्चन झनै सान्दर्भिक बनेका छन् | आफ्नो जीवनका अन्तिम दिनमा बिमारीले थलिंदा उनले भनेछन्- ‘छाप्रेहरु उपचार गर्न जाने वीर अस्पताल हो, मलाई त्यहीं लैजा | त्यहाँ भर्ना नै गर्नु परेमा जनरल वार्डमा गर्, क्याबिनमा नगर् | क्याबिनमा सर्वसाधारण नेपाली बस्न सक्दैनन् |’ सिंगापुर र न्यूयोर्कलाई पानीपँधेरो बनाएका हाम्रा बिरामी नेताहरुका निम्ति योभन्दा कठोर व्यंग्य के होला ? हुनेखाने घरानाको भएर पनि जनता जगाउने राजनीतिमा होमिएका रुप्चनले जीवनपर्यन्त छाप्रेहरुकै राजनीति गरेको थिए, झुत्रेझाम्रेकै  लागि लडेका थिए | २०३७ र २०४३ सालको पंचायती चुनाव जितेका रुप्चनले राष्ट्रिय पंचायतका बैठकहरुमा गर्ने खरा भाषणले पंचायतका ताबेदारहरुलाई हायलकायल पारेको सम्झनेहरु अझैं पनि जीवितै छन् | हामी कसैका होइनौं, कोही हाम्रा होइनन्, हामी सत्य र ठीकका, सत्य र ठीक हाम्रो- यही भन्दै डुलीरहन्थे मैलो मान्छेका झुप्राहरुमा उनी | सरल भाषामा जनतामा कुरा राख्ने उनको एउटै ध्येय थियो- जनजागरण ल्याउने | तर ५० को दशकमा आइपुग्दा उनले हरेस खाइसकेका थिए | भन्थे रे- ‘मान्छेहरु जाग्दै जागेनन्, जे जति जागे, ती पनि जालीफटाहालाई नै काम लागे | मान्छेभित्रको मान्छे जगाउने काममा म असफलै भएँ |’ २०६२/०६३ को वसन्त-विद्रोहपछि अभूतपूर्व रुपले जागेका मान्छेहरु उनले देख्न पाएनन् | देख्न पाएको भए रुप्चन पक्कै खुशी हुन्थे होलान् | तर रुप्चनले चाहेजस्तो चेतनाभन्दा उत्तेजना पो बढेको हो कि यो कालखण्डमा भन्ने प्रश्न चाँहि विचारणीय छ |  

हुन त उनलाई बौलाहा भन्नेहरु पनि धेरै निस्के | उनको अद्भुत व्यक्तित्वका धेरै पाटाहरु अझ पनि रहस्यमै लुकेकाले मानिसहरुलाई उनका बारे जे भन्न पनि छुटजस्तो छ | तर पनि, उनी ढोंगी र पाखण्डी थिएनन् | उनको वचन र चरित्रमा कुनै विरोधाभाष थिएन | भित्र जे छ, बाहिर पनि त्यही देखाउँथे उनी | जनताप्रति उनको निष्ठा र समर्पण साँच्चिकै अद्वितीय थियो | सामाजिक सुधारमा उनले ठूलो योगदान दिएका छन्, विशेषगरी उनको कर्मथलो मकवानपुरमा | कृतज्ञ हुनुपर्ने यस्ता नायकप्रति इतिहास कृतघ्न हुन सुहाउँदैन | ‘रुदाने: द मिस्टेरियस रिबेल’ ले इतिहासमा कतै विलुप्त यी रुप्चनलाई उत्खनन गरेर जस्ताको तस्तै दर्शकसामू पस्कन सकोस्- शुभकामना ! 

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong