कमरेड केपी शर्मा ओली,
सर्वप्रथम त लाखलाख बधाई छ | जतिजति माघ ८
को साइत नजिकिंदै छ, त्यतित्यति दिन दुइगुना, रात चौगुनाको दरले हजुरको ख्यातिको
ग्राफ जो उक्लँदै छ | पछिल्लोपटक ‘जानुस्, युपी/बिहार पनि मधेसमै मिसाउनुस्’ भनेर मधेशीका
गालामा दह्रो झापु हान्स्यो | त्यसको झट्काले कृतकृत हुँदै यो चिठी नलेखी बस्नै
सकिनँ |
ओली कमरेड, एमाले आज आएर बल्ल एउटा
निर्णायक पार्टी बन्न सकेको छ | माकुने र झलनाथको पालामा जहिले पनि मान्छेहरु
‘ढुलमुले’ र ‘पेन्डुलम’ भनेर बिल्ला गर्थे | त्यसको कुनै प्रत्युत्तर मसँग हुन्थेन
| पार्टी भनेको त कि काङ्ग्रेस हो कि चाँहि माओवादी नै हो- जुनसुकै चियापसल र
भट्टीपसल पुग्दा पनि मान्छेहरु यही भट्ट्याउँथे | एमाले भनेको त सिर्फ पुच्छर हो-
कहिले कसको पछि कहिले कसको पछि | एकमनले सोच्थें- ठीकै भन्दैछन् मान्छेहरु |
कमसेकम आफ्नो एउटा ‘स्ट्याण्ड’ त हुनुपर्छ | ‘मध्यमार्गी’ भनेर माकुनेले जति बचाव
गर्दापनि मेरो चित्त बुझ्थेन | हो, त्यसैबेला लागेको हो मलाई- एमालेमा जे हो,
कमरेड खड्गप्रसाद ओली नै हो | मेरो अनुमान आज सत्य सावित भएको छ | लौ हेर्स्योस्,
आज देशको निर्णायक शक्ति बनेर उभिएको छ एमाले | कांग्रेसलाई समेत भित्तैमा
धकेल्सेको छ हजुरले |
कोही माइकालालको हिम्मत छ आज एमालेलाई
ढुलमुले भन्न ? सक्छ कसैले हिंजडा भन्न ? म गर्वसाथ ठोकेर भन्छु- पार्टी अध्यक्षमा
हजुरको आशनग्रहणसँगै एमाले मर्दहरुको पार्टी भएको छ | एमाले चट्टानी अडान भएको
पार्टीमा फेरिएको छ | आज ढुलमुले कोही छ भने त्यो सिर्फ कांग्रेस हो, माकुनेको
पुरानो एमालेभन्दा पनि ढुलमुले | हजुरले जे भनिसिन्छ, सुको बा ले त्यसैमा खुरुखुरु
सही धस्दिनुहुन्छ | जे अर्हाउनुहुन्छ, लुरुलुरु आज्ञा शिरोपर गरिदिनुहुन्छ | अनि प्रचण्डलाई
भेट्दा उता पनि त्यसैगरी टाउको हल्लाउँदै ‘विन विन हुनुपर्छ’ भन्छन् रे बूढा | तर
ढुक्क होइसियोस्, कांग्रेस हाम्रै गोजीभित्र छ | अब देशको एकल सत्ता र भविष्य
एमाले नै हो र त्यो एमालेको एकल निर्विकल्प नेता हजुर मात्रै हो |
ओली कमरेड, भर्खरै मैले बजारको सानोतिनो
सर्भे गरेको थिएँ | पत्तो के लाग्यो भने बजारलाई ‘पहिचान’ शब्दसित एलर्जी छ र
‘पृथ्वीनारायण’ सँग चाँहि भयङ्कर प्यार छ | अब भन्स्योस्, ओली ब्राण्डको
राष्ट्रियता बिक्नलाई योजस्तो अनुकुल बजार अरु केही हुन्छ र कमरेड ? संविधानसभा- १
को म्यान्डेटलाई भाग २ को म्यान्डेटले पुरै ‘डाइल्युट’ गरिसकेको छ, माओवादी र
मधेशवादीजस्ता बादीहरु यो जुनीभरि उठ्नै नसक्नेगरी पछारिएका छन् | भन्ने नै हो भने
यो त हाम्रो स्वर्णयुग हो | फेरि सहरका युवा तान्ने सुत्र ज्यादै सजिलो छ कमरेड |
पृथ्वीनारायण शाहको गुणगान गाइदिनुस्, पृथ्वीनारायणमाथि औँलो ठड्याउनेहरु ठाडै
विखण्डनकारी हुन् भनेर आफ्नो ट्रेडमार्क शैलीमा उखान-टुक्का मिलाउँदै लय हालेर
भनिदिनुस्, एकछिनलाई भएपनि दौरा-सुरुवाल र ढाकाटोपी भिरेर हामी नेपाली हौँ भनेर
गीत गाइदिनुस्, बस् | फेसबुक र ट्विटरका भित्ताहरु हजुरको जयजयकारले रंगीएनछन् भने
मलाई भन्नुहोला | सारा सहर उर्लेर
थपडी बजाएनछ भने मलाई भन्नुहोला |
अब हजुरले अरु केही गर्नैपर्दैन, माघ ८
गते पेलेरै संविधानको किताब विमोचन गर्दिनुपर्छ | यहाँको एलिट वर्ग, जो हजुरको
जबर्जस्त फ्यान हो, संविधानको तिर्खाले काकाकुल छ | उसलाई पहिचान चाहिएको छैन, अल्पसंख्यकको
अधिकार उसको मुद्दा होइन, समावेशितासँग उसको सरोकारै छैन | उसलाई त सिर्फ माघ ८ मै
त्यो किताब चाहिएको छ | संविधानका ऋचाहरु, धारा-उपधाराहरु, त्यसका अक्षर, व्याकरण
र भावार्थ होइन, संविधान भन्ने किताबको खोल चाहिएको छ | जब हाम्रो ‘कोर
कन्स्टिच्युन्सी’ लाई नै बाल-मतलब छ भने त्यस्ता जैरे अन्तर्वस्तुका विषयमा हुने
वार्तामा किन गैसिन्छ हजुर ? ओठ-तालु सुकेको भोको जनता नै हाम्रो ‘कन्स्टिच्युन्सी’
हो जसरी नदुखेको कपाल किन दुखाइसिन्छ कमरेड ? त्यो भोको जनतालाई त खासमा मतलब पनि
छैन | उसलाई हजुर आए के, त्यो प्रचण्ड आए के | संविधान आए के, नआए के | ऊ त आखिर
भोकै जोतिने, भोकै खाने अनि भोकै सुत्ने जन्तु न हो | बस् आज खान पाए भोलिको छाक
कसरी टार्ने- तिनीहरुको चिन्ता त्यत्तिवरिपरी छ | त्यसैले आफ्नो ‘कोर
कन्स्टिच्युन्सी’ को चिन्तालाई सुन्स्योस् | उसलाई ‘डिक्टेटर’ सँग लगाव छ र हजुरको
अनुहारमा त्यो ‘डिक्टेटर’ खोज्दै छ | आशा छ, हजुर ‘रेडी’ होइसिन्छ |
सेना लगाएर माघ ८ गते त्यो किताब विमोचन गर्स्यो भने नि:सन्देह, जनताले सुकोलाई होइन हजुरलाई ‘क्रेडिट’ दिनेछन् | त्यसको भोलिपल्टै हजुरले बालुवाटारमा कालो बोको ढाले हुन्छ | अनि जो जो त्यो किताब जलाउने अक्षम्य अपराध गर्न आउँछन्, ती सबलाई जाक्न महेन्द्र पुलिस क्लब छँदैछ | उठेका मुट्ठीहरुलाई कसरी हत्कडी लगाउनुपर्छ, म बबुरोले सिकाइराख्नुपर्ने कुरो होइन | विस्तारै मुट्ठीहरु झर्नेछन् र सब आफसेआफ ठीक हुनेछ | हजुर त्यसपछि ‘डिक्टेटर’ नै होइबक्सिनुपर्छ, धरोधर्म |
जसरी सन् १९९० वरिपरी विश्व समाजवादी
धुरीमा आँधीबेहरी आयो, हजुरको शानदार आगमनसँगै यहाँका समाजवादीहरुमा पनि ठूलै
सुनामी आएको छ कमरेड | ‘यो इतिहासको अन्त्य हो’ भनेर घोषणा गर्नका निम्ति
फुकुयामाको भेषमा मै छँदैछु क्यारे, कि कसो कमरेड ? हाम्रो राजनीतिको ‘मेन हिरो’
आखिरमा कमरेड ओली नै हो भन्ने तत्वबोध आजका मितिसम्म आइपुग्दा सबैलाई भैसक्यो | हुनपनि
यस्तो कुनै ओली-डायलग छैन बजारमा जसले हिट नखाएको होस् | पहिलो संविधानसभा किन
विफल भएको थियो, जनताले बल्ल पत्तो पाउँदै छ | आखिर त्यहाँ यही हिरोको अभाव थियो |
हिरोबिनाको फिल्म सफल हुन्थेन, भएन | हिरोलाई हराएर भिलेनलाई जिताउँदाको दण्डस्वरूप
यत्रो वर्षसम्म संविधानको तिर्खाले छट्पटिनु पर्यो जनताले | बल्ल चेत फिरेको छ यो
ग्वाँच जनताको |
सुन्दैछु, बादीहरु आजकल सडक तताउँदैछन् के
के जाति मागेर | स्वाँठहरु बुझ्दैनन् कि ओली कमरेडको रजगजका बेला सडकमा उफ्रेर
केही हुनेवाला छैन | एक-तिहाई पनि नभएकाहरु बाटामा जति कराए कराउन्, हजुरको रौँ
पनि हल्लिनेवाला छैन | बाघसित झिंगाले टक्कर लिन खोजेर पनि कहीं हुन्छ र कमरेड ?
माफ गर्सिएला, हजुरलाई टुक्कामा भन्न खोज्नु इन्द्रका अगाडि स्वर्गको बयान जस्तै
हो, त्यैपनि आफूलाई रोक्न सकिएन |
वास्तवमा त्यो किताब-विमोचनको अधैर्य
प्रतिक्षा गरिरहेको हाम्रो कन्स्टिच्युन्सीले प्रतिक्षा गरिरहेको अर्को कुरा पनि
छ- माघ ८ पछि हजुरको बालुवाटार-प्रवेश | एमालेको कमाण्ड लिएको वर्षदिन नपुग्दै एमालेलाई
निर्णायक शक्ति बनाइदिने हजुरजस्तो बेजोडको राष्ट्रवादी अनि विरलाकोटी हिरोले पुरा
देशैको कमाण्ड सम्हालेपछि झन् यो देशलाई कहाँ पुर्याइसिने होला- सम्झेर मात्रै पनि
उनीहरु उत्तेजित छन् | सबैका आ-आफ्नै अपेक्षा होलान्, मेरो चाँहि यतिमात्र छ कि
कमरेड, कालो बोको ढालेपछि बालुवाटारबाट पहिलो काम मनमोहन मेडिकल कलेजलाई सम्बन्धन
दिने हुनुपर्छ | बहुलाहरु अनसन बस्लान् भनेर त पुरानो ढुलमुले एमाले डराउँथ्यो,
नयाँ एमाले डराउनुहुँदैन | आखिर अधिकारी बूढा अनसन बस्दाबस्दै जिप्टिए, आकाश खस्यो
र कतै ? त्यसैले कमरेड, मनमोहन मेडिकल कलेजमार्फत स्वास्थ्यक्षेत्रमा क्रान्ति
ल्याउनुपर्छ | बहुसंख्यक जनतालाई त्यहाँ पढ्न र उपचार गर्न लगाएर मुलुककै कायापलट
गर्नुपर्छ |
बितेको दशकमा भयानक दुर्घटनाहरु घटे कमरेड-
हजुर राजनीतिको ब्याकबेन्चमा बस्दिनाले | गणतन्त्र रे, संघीयता रे, समावेशिता रे,
शक्तिको केन्द्र सार्ने कुरा रे, धर्मनिरपेक्षता रे ! धत्, हजुरले उतिखेरै एमाले
हाँक्न पाइसेको भए यस्ता उट्पट्याङ चीज केही हुन्थेनन् | देशको ‘ड्राइभिङ सीट’ मा हजुर भइदिएको भए न त २०५२ मा गुलेली खेल्ने
केटाहरुले बन्दुक उठाउने दुस्साहस गर्थे, न त २०६३ मा बेकारको ‘वसन्त क्रान्ति’ नै
हुन्थ्यो | न २०६४ मा धुले-सिँगानेहरुले चुनाव जित्नसक्ने धृष्टता नै गर्न सक्थे |
माकुने र झल्लुप्रसादहरुले जङ्गलबाट आएका बादी अनि मधेशका बादीहरुलाई
पुल्पुल्याउनु पुल्पुल्याए | हो कमरेड, धेरैथोक बर्बाद भएको छ यसबीच | तर चिन्ता
नलिस्योस्, मधेशीहरुलाई युपी/बिहारसित जोडेर चीजहरुलाई ‘ब्याक’ गर्ने साहसिक कदम
थालिस्याछ | धेरै सहरियाहरुले भन्न चाहेको तर नसकेको मनको कुरालाई फ्याट्टै वाणी
दिएर उनीहरुको वाहवाही लुटिस्याछ | गर्नुपर्ने कुराहरु धेरै छन् | बस्, एकपटक
सत्ताको लगाम त हातमा आओस् ! दुलाबाट फुत्त निस्केर आफैंले आफैंलाई तिलस्मी नेता
ठानेका प्रचण्ड त सिर्फ एउटा जोकर हुन्, अबको भावी प्रधानमन्त्री हजुर नै हो, कम्तिमा
आगामी एक दशकसम्म |
0 comments:
Post a Comment