........................................................................with words, with issues!!!

May 6, 2013

ट्वीटे र फेसबूकेका नाममा लोकमानको खुलापत्र


ट्विटर र फेसबुकका आलाकाँचा ठिटाठिटी हो,

केही दिनदेखि तिमेरु मसित बेस्कनै ठुस्केका छौ । म बुझ्छु तिमेरुका मनोभावना । चौबीसैघण्टा प्रविधिसित खेल्ने तिमेरुको पुस्ता नै यो देशको भविष्य हो भन्ने कुरामा मलाई कत्ति पनि शंका छैन, त्यसैले त तिमेरुको यो जुझारु पुस्तासँग मलाई निरन्तर communicate गरिरहन मन लाग्छ । विचार आदानप्रदान गरिरहन रहर लाग्छ । तर आजकाल तिमेरु मसँग अलि बढी नै आक्रोशित छौ झैँ लाग्यो । ट्विटर र फेसबुकका टाइमलाइनहरु हेर्दा थाहा पाएँ । बडो नमज्जा लाग्यो र नै भ्रम निवारणका निम्ति यो पत्र कोर्दैछु ।

तिमेरु मलाई आरोप लगाउछौ होइन, जनआन्दोलनको दोषी भनेर! मलाई पत्यार लाग्दैन, रातविरात इन्टरनेटमा खेल्नेहरुको पुस्ताको आरोप हो यो भनेर । वास्तवमा तिमेरु एजेण्डा होइन, एउटा व्यक्तिको पक्ष-विपक्षमा मिडियाबाजी गर्नेहरुको सम्मोहनमा पर्यौ । कान्तिपुर र सेतोपाटीजस्ता पीतपत्रकारिता गर्नेहरुले जे छाप्छन्, त्यसलाई तिमेरुजस्तो skeptic र critical mass ले बिना कुनै सोचविचार face value मा लेउला भन्ने मलाई एकरत्ति लागेको थिएन । विश्वसनीयतामा निखारिएको पत्रिका त लोकमानपूर्ण पोस्ट पो हो । सायद तिमेरुले त्यो पढ्न भ्याएनौ र कान्तिपुरको लहलहैमा आएर मविरुद्ध तथानाम अनर्गल प्रचारबाजीमा उत्रियौ । अलेक्जेन्डर पोपले लेखेको ‘A little learning is a dangerous thing’ सम्झेर आइन्दादेखि हरेक इस्स्युमा आफ्नो अपिनियन बनाउनुअघि लोकमानपूर्ण पोस्टका गहकिला समाचार टिप्पणीहरु पढ्न तिमेरुले नभ्याउने छैनौ भन्ने विश्वास लिएको छु । अहिले म अख्तियारको हाकिम भाको विषयमा पनि तिमेरुले कान्तिपुरलाई लात मारेर लोकमानपूर्ण पोस्टतिर डेरा सर्यौ भने सबै कुरा छर्लंग हुनेछ । म कति निर्दोष रहेछु, कति उच्च नैतिकवान रहेछु, तिमेरुले पत्तो पाउनेछौ । सर्वोच्च अदालतका न्यायाधीश माननीय श्रीमान गिरिशचन्द्रलालले त्यो कान्तिपुरे ठिटोलाई अदालतबाटै गलहत्याउनु भाको हो कि होइन भन त ? तिमेरु त न्यायपालिकाको सर्वोच्चता चाहनेहरुको उदात्त पुस्ता! अदालतले नै गलहत्याएको पत्रिका पढेर भ्रष्टाचारविरुद्द आधिबेहेरी ल्याउन तम्तयार भएर बसेको एउटा राष्ट्रसेवकमाथि यति निर्मम ढंगले प्रहार गर्न सुहाउँछ तिमेरुलाई ? ए, भन त सुहाउँछ तिमेरुलाई ? हो, हन्ड्रेड पर्सेन्ट सुहाउँदैन र त म बारम्बार रेकमेण्ड गरिरहेछु- तिमीहरुलाई सुहाउँदो पत्रिका लोकमानपूर्ण पोस्ट नै हो भनेर । तिमेरुका खेर जाने ट्वीट पनि फोकटमै छाप्छ क्यारे त्यसले । खैर, सबै कुरा तिमेरुले लोकमानपूर्ण पोस्ट सविस्तार पढेपछि बुझ्ने नै छौ, अहिलेलाई भने म छोटकरीमा तिमेरुका आरोपमा केन्द्रित हुन चाहन्छु ।
    
आरोप नम्बर एक: उही महान जनआन्दोलनको दोषी, होइन त ? ओए जनआन्दोलनका निर्दोषीहरु हो, तिमेरुको जनआन्दोलनको धोति फुस्केको आज हो र ? जनआन्दोलन, जनआन्दोलन भन्दै फुइँ लाउन छोडे हुन्छ । लोकतन्त्र र गणतन्त्रका राग अलाप्न अब त लाज माने पनि हुने हो । परिवर्तन परिवर्तन भन्दै घोक्रो सुकेन्जी चिच्याएर जीउलाई दुख दिन पनि कति मजा आको हो ? तिमी मुर्खहरु !! बिनाकामको जनआन्दोलनको घाँडो देशमा भित्र्याएर कति न ठूलो पल्टेका !  के थाहा छैन तिमीहरुलाई कति ठूलो मूल्य चुकाइरहेछ देशले त्यो बाह्रबुँदे नामको खोस्टाबाट ? देखेका छैनौ कि नदेखेको स्वांग पारिरहेछौ ए केटा हो, यो नाङ्गो विदेशी प्रभुहरुको रासलीला ? लुटतन्त्र, भ्रष्टतन्त्र र भागबण्डातन्त्र नै लोकतन्त्र हो भन्ने तिमेरुको बुझाइ हो कि के हो ? होइन भने त मजस्तो उच्च नैतिकवान, जोकसैसंग पनि सहकार्य गरेर अघि बढ्न सक्ने, पंचायत र प्रजातन्त्र दुवै कालखण्डको प्रचुर अनुभव संगालेको अनि यो सबै भद्रगोलबाट पार लगाउन अख्तियार प्रमुख भएको मान्छेलाई यसरी विवादमा तान्ने दुस्साहस तिमेरुबाट नहुनुपर्ने हो । खासमा जनआन्दोलनका दोषी त यी दलहरु पो हुन् । खोई, कुरो बुझ्या ? यिनेरुकै महान जनआन्दोलन होइन, यो सबै भाँडभैलोको जननी ? म विचरोले त सकुन्जी यसलाई avert गर्नै खोजेको हो नि । त्यो पाजी रायमाझी कि केजाते आयोगले डाम्यो भन्दैमा यत्रो कोकोहोलो गर्नु कहाँको न्याय हो, हँ फेसबुके र ट्वीटे हो ? के हैसियत छ यार त्यसको ? मल्लिक आयोगले केही लछार्न सकेन भने रायामाझी आयोगले जोरी खोज्न मिल्छ, त्यैमाथि लोकमानजस्तो सबैले बोक्नुपर्ने मान्छेसित ?

My dear Tweeples, पितपत्रिकासितको साँठगाँठमा तिमेरुले लाको आरोप नम्बर दुई: सुनकाण्डमा मुछिएको, होइन त ? अरे बाबा, यसमा पनि त तत्कालिन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले २०५६ सालमै म निर्दोष भएको फैसला सुनाइसकेका छन् नि यार् । हुन त फैसला भाको समय भनेको तिमेरु केटाकेटी हुदै हो, त्यैभएर तिमेरुलाई थाहा नभाको हुन सक्छ । त्यैभएर मैले अघि quote गरेको 'A little learning is a dangerous thing'।  फेरि गोयबल्सजस्ता सयचोटि दोहोर्याएर सफेद झुटलाई पनि सत्य बनाउने पितपत्रिकाहरुको फन्दामा छौ तिमेरु । तर अब आशा छ, समष्टिगत रुपमा कुरो बुझिसकेपछि मात्रै तिमेरुले ट्वीटनेछौ, फेसबुक्नेछौ ।

तिमेरुका ट्वीट र स्टाटस पढ्दा आरोप नम्बर ३ मैले भेटिन । स्वाभाविकै हो, किनकि पितपत्रिकाले प्रचार गरेकै यी दुइटा कुरा हुन् । प्रचार पनि यसरी गरेका छन्, मानौँ तिनेरुको गीता ‘रायमाझी प्रतिवेदन’ ले डामेको भयङ्कर अपराधी मैमात्र हुँ । राजु बस्नेतजस्तो जण्ड आर्मी अफिसरको बढुवा हुँदा पित्कोजति पनि नदुखेको तिनीहरुको लोकतन्त्र एउटा लोकमानको नियुक्ति हुँदा कसरी सामूहिक बलात्कारमा पर्यो, मैले जति दिमाग लाउँदा पनि बुझ्न सकेको छैन । कसैले बुझेको भए बुझाइदिने कष्ट गर्नू ल । अनि, काण्डमा मुछिने बित्तिकै अयोग्य ठहरिने भए त त्यो सुनकाण्डको बेला विमानस्थल भन्सारको प्रमुख भगवती काफ्ले थिए । मुछ्न त उनी पनि मुछिए तर पछि अख्तियारको सचिव हुन रोक्यो र कसैले उनलाई ? अरे बाबा, ठुलोबडो मान्छे भएपछि यस्ता काण्डसाण्डमा त routinely मुछिरहिन्छ नि । ठुलोबडो हुनुको अर्थ के हो, माने के हो, महत्व के हो, केही नबुझेका स्वाँठहरुको हालीमुहाली भएको पितपत्रिकाहरु के बुझुन यस्ता कुरा ?

१४० अक्षरमा ट्वीट्न बानी परेकाहरुलाई यत्रो लम्बेतान पत्र देखेर बोर लागिसक्यो होला । तर, फेसबुकेहरुका नाममा पनि यो पत्र लक्षित रहेकाले थप केही कुरा राख्न चाहन्छु । कसरी केही कुरामा मिल्न नसक्ने, कुकुरबिराला झैँ झगडा गरिरहने दलहरु मेरो कुरामा चैं एकजुट हुनसके भन्ने खुल्दुली होला तिमेरुका मनमा । तर यत्ति जाबो बुझ्न कुनै सिके लाल भैरहनुपर्दैन । बुझ्नेलाई कुरो सरल छ- जहाँ स्वार्थहरुको मिलन हुन्छ, त्यहाँ बाँकी सब खुद्रा विमतीहरु आफैँ पाखा लाग्छन् । सबै दललाई आफूले गरेका भयानक भ्रष्टाचार समाजसामू ओपन सेक्रेटका रुपमा रहेको छ भन्ने थाहा छ । तर लोकलाज नभएपनि जेपी गुप्ता वा खुमबहादुरहरुको हाल हुने हो कि भन्ने थोरै त्रास चैं छ । त्यसैले अख्तियार नपसोस् भन्ने हेतुले उनीहरु मलाई त्यहाँ लग्न हतारिएका हुन् । म पनि परें एउटा गौप्राणी, एउटा उच्च नैतिकवान्, सबैसँग सहकार्य गरेर अघि बढ्न सक्ने मिलनसार, सबैलाई रिझाउन सक्ने सर्वस्वीकार्य पात्र । सबैले हात जोडेर विन्ती गरेपछि नाइँ भन्न सकिन । यसमा मेरो के दोष, ट्वीटेगण ?

तर मेरो अगाडिको रोडम्याप बडा क्लिएर छ । मलाई यी दलहरुसँग कृतज्ञ हुनुछैन । भ्रष्टाचारविरोधी जेहाद छेड्नकै निम्ति मैले यो अख्तियार रोजेको हुँ । मेरो नियुक्तिसंगै यसको सुरुवात भएको छ । तिमेरु हेर्दै जाओ, अब कोको जान्छन् मामाघर ? मैले मुद्दा चलाउनेछु, सम्माननीय न्यायाधिस श्रीमान गिरीशचन्द्रलाल तु फैसला गर्दै जाक्नुहुनेछ सालाहरुलाई । पितपत्रकारिता गर्ने कान्तिपुरबाट यसको श्रीगणेश हुनेछ । मलाई विश्वास छ, भ्रष्टाचारमुक्त देश बनाउने मेरो यो पहलकदमीमा तिमी ट्वीटे र फेसबुकेहरुबाट अभूतपूर्व सहयोग हुनेछ । मेरो यो सन्देशलाई आफ्ना ट्वीट र स्टाटसबाट संसारैभरि फेलाओ केटा हो !

श्री लोकमानले तिमीहरु सबैको रक्षा गर्नेछन् !        


0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong