........................................................................with words, with issues!!!

Sep 30, 2012

अब त पाठ सिक्ने कि ?





                           
गत केही महिनायता ह्वात्तै बढेको सडक दुर्घटनाको श्रंखलामा पछिल्लोपटक कहालीलाग्दो विमान दुर्घटना पनि जोडिएपछि नेपालको यातायात सेवाको त्रासद चित्र संसारभरि नै प्रेषित हुनगएको छ । काठमाडौंबाट लुक्ला जान लागेको सीता एयरको जहाज उडेको केही मिनेटमै दुर्घटित भएर सबै यात्रुहरुले ज्यान गुमाउन पुगेको यो भयावह घटनाले यहांको सडक मात्र होइन, आकाश समेत ज्यादै असुरक्षित रहेको देखाएको छ । दुर्घटना भनेको त छिटपुट ढंगबाट कुनै प्राकृतिक प्रतिकूलता वा त्यस्तै भवितव्यले गर्दा कहिलेकाहीं मात्रै हुनुपर्ने हो तर नेपालमा भने दुर्घटनाहरु नियमितता बनेका छन् । यसका कारण खोतल्न र समाधानको बाटो पहिल्याउन जति ढिला हुंदै जान्छ, यस्ता दुर्घटनाहरुको सूचि उति नै लम्बिदैं जाने निश्चित छ । यस्ता हवाई दुर्घटनाहरुमा पर्वतारोहणका लागि विदेशबाट आउने पर्यटकहरु धेरै मात्रामा पर्ने गरेको तथ्यांक नेपाली पर्यटन व्यवसायका निम्ति पनि दुखद छ । हवाई सुरक्षाको डरलाग्दो चित्र प्रस्तुत गर्ने यस्तो घटना बढ्दै जानुले पर्यटकहरुलाई आश्वास्त पार्न झनै गाह्रो हुंदै जाने देखिन्छ ।
सरकारले छानबिनका निम्ति आयोग गठन त गरेको छ, तर यत्तिकैमा उसको दायित्व पूरा हुंदैन । यसअघि पनि पटकपटक हवाइ दुर्घटनाहरु हुंदा दुर्घटनैपिच्छे आयोगहरु नबनेका होइनन् । यद्यपि तिनका प्रतिवेदनहरु कतै कुनामा थन्किए, सुझावहरु बेवास्ता गरिए । नभए हवाई सुरक्षाजस्तो संवेदनशील कुरामा यतिविधि लापरबाही भएको भयै नहुनुपर्ने हो । अहिले बनेको आयोगले तयार पार्ने प्रतिवेदनको नियति पनि त्यै धूलोको गाता ओढेर थन्किने नहोला भन्ने कुनै आधार छैन ।



कहिले प्रकृतिको धोका, कहिले पाइलटको गल्ती त कहिले प्राविधिक गडबढी, विभिन्न बहानामा देशका होनहार सपूतहरुले अकालमै मृत्युवरण गरिरहेका छन् । वि.सं २०६३ मा डा.हर्क गुरुंगलगायतका थुप्रै विख्यात संरक्षणविद्हरुलाई पनि यस्तै दुर्घटनामा हामीले गुमाएका थियौं । नहुनु भइसकेपछि अब सरोकारवालाहरुको ध्यान आगामी दिनमा यस्ता त्रासदी कसरी रोक्न सकिन्छ भन्नेतर्फ नै केन्द्रित हुनुपर्छ । जस्तो कि शुक्रबारको घटनामा विमान चरासंग ठोक्किएर घटना भएको भनिएको छ । अन्यत्र पनि चराका कारण विमान दुर्घटनाहरु हुने गरेको सुनिन्छ जुन या त टेकअफका बेला वा ल्यान्डिंगका बेला नै धेरैजसो हुनेगर्छ । यसर्थ, विमानस्थलवरीपरीको आकाशबाट चराहरुलाई हटाउने कार्यक्रम ल्याएर हुन्छ वा विमानहरुको डिजाइन नै चराहरुको ठोक्काइसंग बढी प्रतिरोधात्मक हुने खालको बनाएर हुन्छ, सरकार र एयरलाइन्स कम्पनीहरु अब जुर्मुराउनैपर्छ । साथै पूराना आयोगहरुले निकालेका निष्कर्ष र सुझावहरु के कस्ता छन् र तिनीहरुको कार्यान्वयन गर्न सकियो भने कतिसम्म यसखाले घटनाहरु रोक्न सकिन्छ भन्नेतर्फ पनि अधिकारीहरु घोत्लनैपर्छ । त्यसैगरि हवाइ सुरक्षासम्बन्धी कडा मापदण्ड बनाउने र बढ्दो संख्यामा रहेका एयरलाइन्स कम्पनीहरुले पालना गरेनगरेको अनुगमन गर्ने कार्य पनि प्रभावकारी बनाउनुपर्छ । भवितव्यभन्दा ज्यादा लापरबाहीका कारण हुने यहांका पटकपटकका दुर्घटना अनि त्यसबाट हुने व्यापक मानवीय र भौतिक क्षतिबाट अहिले पनि पाठ नसिके कहिले सिक्ने ?
                                         

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong