........................................................................with words, with issues!!!

Sep 9, 2012

बधाई शक्तिलाई


                           
जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ मा  शक्ति गौचनले देखाएको जादूमयी बलिंगले यतिबेला चारैतिर वाहावाही पाइरहेको छ । मलेशियाविरुद्ध १० ओभरमा ८ मेडन सहित जम्मा २ रन खर्चेर ३ विकेट हात पारेका शक्तिले दुर्लभ कीर्तिमान खडा गरिदिएका छन् । खेल क्षेत्रमा लाग्नेको भविष्य छैन भन्ने हामीहरुलाई यतिबेला शक्तिले गौरवान्वित पारेका छन् । यसअघि पनि, चाहे उनी आइपीएल टीम राजास्थान रोयल्सले बोलाएर ट्राएल दिन जयपुर जांदा होस् वा गतवर्ष आइसीसी वल्र्ड ट्वान्टी ट्वान्टी छनौटमा डेनमार्कविरुद्ध ह्याट्रीक गर्दा होस्, पूरै नेपालले उनको हरेक उपलब्धिमा शीर ठाडो पार्दै आएको छ । किनकि उनी देशका लागि खेल्छन् र उनले बनाएका कीर्तिमानहरु फगत व्यक्तिगत उपलब्धि रहंदैनन्, ती देशकै सम्पति बन्दछन् ।
शक्तिको यो सफलतासंगै नेपाली आम जनमानसमा रहेको ‘खेलेर के हुन्छ र’ भन्ने मानसिकता थोरै भए पनि परिवर्तन हुनेछ भनेर आस गर्न सकिन्छ । सबै सचिन तेन्दुल्कर वा मेसी हुन नसक्लान्, तर कीर्तिमान खडा गर्न सक्ने स्तरीय खेलाडीहरु नेपालमा उत्पादन हुनै सक्दैनन् भन्ने भ्रमलाई शक्तिले च्यातिदिएका छन् । खेल क्षेत्रप्रति पूर्वाग्रह नराखी अभिभावकहरुले सानैदेखि आफ्ना बच्चाहरुलाई जसको जेमा लगाव छ, त्यसैमा अघि बढ्न प्रोत्साहन मात्र गरिदिने हो भने पनि हाम्रो खेल क्षेत्र धेरै अघि बढीसक्ने थियो । यति थोरै लगानी अनि प्रतिकुल वातावरणमा त हाम्रो क्रिकेट टीमले यति राम्रो नतिजा निकाल्न सफल हुनसक्छ भने सरकारका तर्फबाट प्रशस्त लगानी र खेलकुदप्रति सकारात्मक दृष्टिकोण राख्न सकेको खण्डमा यो क्षेत्रले पनि ठूलै फड्को मार्ने कुरामा कुनै शंका छैन ।
थम्स् अप् शक्ति
तर जब मानिसहरु बैकुण्ठ मानन्धर वा भूपेन्द्र सिलवालजस्ता दिग्गज खेलाडीहरुले के कस्तो हविगत बेहोरिरहेका छन् भन्ने कुरा आंखैअगाडि सचित्र देख्दछन्, तब उनीहरु बल समातेर मैदानमा बेपर्वाह कुदिरहेको आफ्नो बच्चोलाई बोलाउंछन् र कोठाभित्र थचार्दै उर्दी जारी गर्छन्- तं भोलि डाक्टर बन्नुपर्छ । त्यसैले जबसम्म खेलक्षेत्रमा लाग्न चाहनेहरु त्यसैमा आफ्नो भविष्य सुनिश्चित देख्दैनन्, तबसम्म जतिसुकै खेल्ने हुटहुटी भएकाहरु पनि आफ्नो रहर मारेर अर्कै क्षेत्रमा लाग्न अभिशप्त हुन्छन् । प्रतिभाहरु नफक्रदैं मर्दा अन्तत: घाटा हुने भनेको देशलाई नै हो । यसर्थ, खेलकुद पनि नाम, दाम र प्रतिष्ठाको केन्द्रका रुपमा ग्ल्यामरस क्षेत्र हुनसक्छ भन्ने कुरा स्थापित गर्न सरोकारवालाहरु सबै जुर्मुराउनुपर्छ ।
                               
                         
                 

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong