बजारमा 'लू' कै चर्चा सेलाइसक्यो....यहाँ मलाई भने डेढ दसक बुढो उलार रिभिजिट गर्ने जाँगर चल्यो....
मध्यपश्चिमको एउटा प्रमुख केन्द्र नेपालगञ्ज म सिर्फ एकचोटि गएको छु । त्यो पनि धेरै सानो छँदा, सायद ०५५ सालतिर । घनघोर रात परेको बेला थियो त्यो र अहिले जोड लगाएर सम्झँदा पनि कानैभरि भुन्भुनाएका लामखुट्टेसिवाय केही याद आउँदैन । 'उलार' त्यसै समय निस्केको कृति हो । नयनराज पाण्डेले लेखेको यो लघुउपन्यास नेपालगञ्जकै एकजना रिक्साचालक प्रेमललवाको दैनन्दिनको संघर्षको सेरोफेरोमा छ ।
'सबाल्टर्न' भन्ने शब्दले आजभोलि एकेडेमिक डिस्कोर्सको घेरा छिचोलिवरी सामान्यजनमा स्थापितै भइसक्यो । सञ्जीव उप्रेती, अभि सुवेदी, तारालाल श्रेष्ठहरु यो शब्दको खुबै प्रयोग गर्छन् भने उता शरदचन्द्र वस्तीजस्ता भाषाविज्ञानका हस्तीहरु ठ्याक्कै त्यही अर्थ आउने अनेकन् नेपाली शब्द हुँदाहुँदै सबाल्र्टन नै किन चाहियो भनेर औंलो ठड्याउँछन् । खैर, उलारमा प्रेमललवा पनि सबाल्टर्न पात्रका रुपमा प्रस्तुत छ र उसका लागि बोलिदिएका छन् पाण्डेले । नेपालगञ्जतिरै बोलिने खाँटी रिक्सावाल भाषाले संवादमा मिठास र मौलिकता थपेको छ, जुन बुझ्न उतिसारो गाह्रो पनि पर्दैन । दांग र महेन्द्रनगरतिरका थारु भाषाहरुको स्वाद लिइसकेकाले मेरा लागि पनि ती संवादहरु अबोधगम्य फिटिक्कै थिएनन् । बरु छुट्टै मजा र स्वादका थिए । यद्यपि भाषिक मिठासका लागि मात्रै पढिनुपर्ने किताब होइन यो ।
२०४६ सालपछि देशमा प्रजातन्त्र फिरेपनि तल्लो तहका जनताको भाग्य नफिरेको दुखद यथार्थको अभिलेख हो यो । सोझासिधा प्रेमललवाहरुले आफ्नै बाआमालाई जसरी विश्वास गरेर राजेन्द्रराजहरुलाई चुनावमा जिताउन ज्यान फालेर लाग्नेगरेको कथा हो यो । तिनै राजेन्द्रराजहरुले प्रेमललवाको सोझोपनको फाइदा उठाँउदै क्षतिपूर्ति दिलाइदिने नाममा भएको सानो झुप्रो पनि बेचिदिने र ९० हजारको कागजमा सही गराएर ३० हजार मात्रै हात लगाइदिने अत्यन्तै कमिना प्रवृतिको वृतान्त हो यो । बाँकी ६० हजार बीचैमा कसले झ्वाम पार्यो भनी कुनै खोजीनीति नगर्ने बरु त्यही ३० हजार पनि बल्लतल्ल दिलाइदिएकोमा अनुग्रही हुने निरीह प्रेमललवाको चरित्रचित्रण हो यो । दुई छाक टार्न र एकसरो लाउन आफ्नो शरीर गिजोल्नदिनुपर्ने द्रौपदीको विवशता हो यो । आफूलाई त्यत्रो भोट दिएर पावर सेन्टर बनाइदिने तिनै मतदाताहरुलाई सिहदरबार र बालुवाटारको गोलचक्करमा फसाएर हत्तुहैरान पार्ने शान्तिराजाहरुको कृतघ्नताको दस्ताबेज हो यो । परेको बेला पे्रमललवालाई साथी कलुवाले स्वास्नीसँग लुकाएर दिएको २५ रुपैंया अनि कलुवासँग लुकाएर स्वास्नीले दिएको २५ रुपैंया भूमिका लेख्ने श्यामलकै भाषामा वर्गीय प्रेमको अनुपम अभिव्यक्ति हो यो । प्रजातन्त्रका निम्ति भनेर भूमिगतकालमा अनेकौं हण्डर बेहोरेका एकजना बूढा मान्छे पार्टी अफिसको कुनामा थेच्रिएर आक्रोशका भाषा बोल्नु भुईफुट्टा वर्गको कब्जामा पार्टी परेको दसी हो यो । भूईंमान्छेहरुमाथि लेख्ने कथाकार हुँ भनी गफ दिने अनि तिनै मान्छे ठगेर टाप्दिने लेखकहरुको चुतियापनको पराकाष्ठा हो यो । हातमुख जोर्नैका निम्ति जोसँगै सुतिदने द्रौपदीले नै प्रेमललवाको गाडीभाडा जुटाइदिन आफ्ना कानका गहना फुकालेर दिनसक्ने उदारताले मानवीय संवेदना अझै मरिनसकेको प्रमाण हो यो । र साथै हो, दुइटा नितान्त फरक पार्टीका राजेन्द्रराज र शान्तिराजाको विचित्र चुनावी गठबन्धन हुने नैतिक मूल्यविहीन राजनीतिको दृश्टान्त यो ।
उपन्यासको केन्द्रीय कथानकमा छ- शान्तिराजाको विजय जुलुसमा हदभन्दा धेरै गुना कार्यकर्ताहरु चढिदिएर भएको टाँगाको उलार र वसन्तीको हत्या । ठीक त्यसैगरि नेपाली राजनीतिको केन्द्रमा फगत नेताहरुकै जयका निम्ति जुत्ता भइदिने जनताहरु छन् जसभित्र छिर्न तँछाडमछाड गरिरहेका छन् अनगिन्ति राजसी खुट्टाहरु । परिणामतः जुत्ता बारम्बार उलार भइरहेको छ र हत्या भइरहेको छ देशको । प्रेमललवाले अन्तिममा आएर सांकेतिक विद्रोहको गर्जन त गरेको छ, तर ठूल्ठूला विद्रोहहरु सफल भएर पनि परिवर्तन जरासम्म अनुभव हुन नसकेको तीतो यथार्थका सामु त्यसले पाठकसामु खासै उत्साह भित्र्याउन सक्दैन । जे होस्, भोग्नु भोगिसकेपछि प्रेमललवामा थोरै भएपनि चेतना र उत्तेजना भने बढेकै मान्न सकिन्छ ।
यति सानो उपन्यास यसअघि कहिल्यै पढेको थिइनँ । तर सवाल आकारको नभई गुदीको हो भन्ने तथ्यलाई यसले पुष्टि गरेको छ । ०५५ सालमा कुन प्रकाशनले यसलाई निकालेको थियो, थाहा भएन, तर आक्रामक बजार प्रवर्द्धन गर्ने गरेको फाइनप्रिन्टले यसलाई फेरि निकालेपछि भने पाउनुपर्ने जति चर्चा यसले बटुलेकै छ । अन्त्यमा भन्दा, एउटा रिक्सावाल, एउटी वेश्या र एउटा फिल्मी पोस्टर टाँस्दै हिंड्ने ठेलावालका जीवनमाथि कुरुप राजनीतिले थोपरेको प्रताडनालाई यसले सजीव ढंगले उधिन्न सफल भएको छ ।
1 comments:
i m a regular viewer of ur blog, u r an awesome writer.
Post a Comment