........................................................................with words, with issues!!!

Apr 27, 2013

यमलोकका आत्माहरु

      [करीब दुई वर्षअघि किशुनजीको स्वर्गवास हुँदा लेखिएको कथा हो यो ।]

 रात छिप्पिदै जाँदा ट्वाँकेहरु झन् बढी झ्याप हुँदै गइरहेका थिए । मात्तिनेहरु अरु बेसी मात्तिइरहेका थिए । चिच्याउनेहरु साउन्ड बक्सबाट घन्किरहेको रकलाई माथ गर्न अरु जोडले चिच्याइरहेका थिए । स्वर्ग पार्टी प्यालेसको झिलीमिलीमा सबैजना आ-आफ्नै तालमा मस्त थिए । उनीहरु यसरी एकसुरले कम्मर हल्लाइरहेका थिए, मानौँ कसैलाई कसैको पर्वाह थिएन ।
Source: Flickr.com
सन्देह छैन, त्यो पार्टी नै थियो । तर सबैजना त्यो नाँचोको भीडमा एक्ला देखिन्थे । कारण, त्यहाँ स्त्रीजाति पूरै गयल थियो । सन्देह छैन, त्यो पूरापूर डान्स पार्टी नै थियो । तर घडीको सुइले दश नहान्दै सबैका जीउ गलेर लखतरान परिसकेका थिए । कारण, त्यहाँ GenNext को सहभागितै थिएन । सन्देह छैन, त्यो एन्टर्टेनिंग साँझ नै थियो । तर सबैका गफमा ह्वास्सै गन्हाउने राजनीतिको गन्ध थियो । कारण, त्यो गेट टुगेदरमा त मरेका नेताको प्रेत पो थियो ।
                                                  ····
स्वर्गवासीहरु आज आफ्नो लोकमा एउटा नयाँ पाहुना भित्रिएकामा खुशीले फुलेल थिए । ‘सन्तनेतालाई यमलोकमा हार्दिक स्वागत छ’- ठाउँठाउँमा तुलहरु टाँगिएका थिए । स्वर्गवासीहरुको तर्फबाट किशुनजीको भव्य अभिनन्दन गरिँदै थियो । सम्राट इन्द्रले पनि कुरोको सुइँको पाइहाले । झट्टपट्ट  आफ्ना दूतहरुलाई स्वर्ग पार्टी प्यालेस पठाएर आफ्नो तर्फबाट किशुनजीको सम्मानमा एउटा बृहत कार्यक्रम गर्ने तारतम्य मिलाउन अह्राए । बस्, अब के चाहियो ? पार्टी प्यालेसमा चहलपहल बढ्दै गयो । पार्टीभित्रै अन्र्तघात गरी उनलाई एक्ल्याउने गिरिजा सबभन्दा अगाडि आइपुगे । नेपाली राजनीतिको क्षितिजमा एक्कासी उदाएका र किशुनजी प्रधानमन्त्री रहेकै अवस्थामा उनलाई चुनावमा पछारेर ख्याति कमाएका मदन भण्डारी दोस्रो नम्बरमा हाजिर भए । अनि क्रमैसँग आए बीपी कोइराला, गणेशमान सिंह र सम्मानित हुने पात्र किशुनजी । यतिञ्जेल रैथाने स्वर्गवासीहरुले पार्टी प्यालेसको कार्यक्रम कक्ष भरिभराउ भइसकेको थियो । उद्घोषक कार्यक्रम शुरु गर्न तम्तयार भइबसेको थियो, त्यतिखेरै चार सहिदहरु पनि कार्यक्रमस्थल आउन लागेको गाइँगुइँ सुनियो । चार सहिदको प्रवेश भयो, मान्छेहरु श्रद्धापूर्वक निहुरिए । अब कार्यक्रम शुरु भयो । प्रमुख अतिथि थिए सम्राट इन्द्र । सम्मानित हुन लागेका किशुनजीलाई यो सब देखेर उल्का लागिरहेको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा किशुनजीलाई बोल्न निम्त्याइयो । उनी बोले –“सम्राट इन्द्रबाबु, म किन पहिल्यै मरिनँ ?”
                                          ····
यी भूतपूर्व नेताहरु एक नम्बरका ट्वाँके परेछन् क्यार । मात्तिने, चिच्याउने अनि कम्मर हल्लाउने क्रम शुरु भयो । यिनीहरु अचम्मसँग कम्मर हल्लाउँथे, मानौँ त्यहाँ साक्षात सकिरा आएर “Hips Don't Lie” भनिरहिछे । यिनीहरु अजिवसित कपाल नभएको तालु हल्लाउँदै डाको छाडेर चिच्याउँथे, मानौँ त्यहाँ साक्षात ब्रायन एडम्स् हाजिर भएर "Lets Make a Night to Remember" गाइरहेछ ।  यिनीहरु यस्तरी मात्तिँदै रुन्चे स्वरमा “एक्लै तिमी नआउ म मात्तिएका बेला” भन्थे, मानौँ तिनीहरुका अगाडि परीका परी लाइन लागेर उनीहरुलाई आमन्त्रण गरिरहेछन् ।
                                         ····
 गलेर लखतरान परेपछि भूतपूर्व नेताहरुको डफ्फा पार्टी प्यालेसको शयनकक्षतिर हान्नियो । गिरिजा, बी.पी, गणेशमान, मदन भण्डारी र किशुनजी पाँचै आत्माका लागि एउटा Attached bathroom सहितको Common Room बुक थियो । ग्वारग्वार्ती आत्माहरु कोठाभित्र छिरे र पाएको पलंगमा विन्दास पल्टिए । तर गिरिजाबूढाको मुहारमा अघिदेखि एकतमासको औडाहा देखिरहेका थिए बीपीले । बीपी वाणी निस्क्यो –“हैन, तँलाई के भा छ हँ ?” कसले सोध्ला र भनूँला भन्दै पर्खिरहेका गिरिजाबूढाले कुरोको चुरो चुहाए "हेर्नूस् न सान्दाजु, यताको लोकमा आएको पनि एक-डेढ वर्ष भइसक्यो । चाइने के भने कुनै प्रगति गर्न सकेको होइन । यसो कतै लाउडा साउडा खान पाइँदैन भन्या ?" बूढाले जोड दिएर थपे –“सुज्जुले पनि लास्टै रहर गर्थी क्या ! घरीघरी चाइने सपनामा पनि घच्घचाइरहन्छे भन्या !”  बूढाको नानीदेखि लागेको बानी न हो, त्यसै त के जान्थ्यो ? बीपी जंगीहाले "इस् खालास् लाउडा! पृथ्वीलोकमा भएभरका लाउडाहरु घिचेर तँ अझैँ अघाइनस् ? रैछस् अगस्ति !" बूढाले बीपीका रापिला आँखासँग आँखा जुधाउन सकेनन् । निउरीमुन्टी न बने । बीपीको पारो अझै घटेको थिएन  “यो तेरो पृथ्वीलोक होइन बज्या । यहाँ कुनै लाउडाहरु उड्दैनन् । यमराजको भैँसी छ सलाउडा भन् या चाइना साउथ वेस्ट ससबै त्यही वाहन हो ।” बूढामाथि बीपी अझैँ खनिए “के सम्म खाइनस् यार तैँले पाएसम्म ? त्यत्रो अथक दुख गरेर प्रजातन्त्र, राष्ट्रियता र समाजवादको जगमा रोपेको हाम्रो प्राणप्यारो पार्टीलाई त चुसीचुसी खोक्रो पारिछाडिस् भने अरु त झन् के बाँकी राख्थिस् ?” रिसले मुर्मुरिँदै गिरिजाबूढा पलंगको अर्कोतिर फर्किए । बीपी भने अबेरसम्म नानाथरि भन्दै फत्फताइरहे । बाँकी तीन आत्मा त बेहोसीमै निदाइसकेका थिए ..............बिन्दास् ।
                                           ····
 बिहान भालेको डाँकसँगै किशुनजी बिउँझिहाले । फटाफट नित्यकर्म सके र गीतापाठ गर्न बसिहाले । “अष्टादश पुराणेसु, व्यासस्य बचनद्धयम्” शुरु के गरेका हुँदा हुन्, टिनिन्न टिनिन्न डोरबेल बजिहाल्यो । एकाबिहानै कुन देवता मुन्टिएछन् यार मलाई डिस्टर्ब हान्न, गीतापाठ गर्दागर्दै सन्तनेता मुर्मुरिए । “यत्रैसिति ! देउता आए भन्दैमा सुरुवालमै मुत्नुपर्छ र ?” उनले डोरबेललाई बाल दिएनन् । बाल नदिएको झोंकमा टिनिन्न टिनिन्न बज्न छोडे पो ? मदन भण्डरीको कानै खाएछ क्यारे, पलंगबाट जुरुक्क उठे, छोटो हाई काढे, आंग तन्काए अनि सरासर ढोकातिर लम्के । ढोका उघार्दा त चार आत्माहरु लहरैसँग ठिंग उभिएका ।

‘अभिवादन कमरेड’- चारवटैले एकैसाथ हावामा मुठ्ठी कसे । कमरेडले पनि जवाफी मुठ्ठी फर्काए । “किशुनजीसँग हिजो बात मार्न पाएनौँ, त्यसैले....” आफूहरु त्यसरी झिसमिसेमै आउनुको कारण खुलाए चार सहिदले । चार सहिदलाई ढोकामा देख्नासाथै किशुनजी हातमा गीता बोकेरै दौडिहाले :“ओहो! How are you, My dear Martyrs?” “सञ्चै छौं” पनि भन्न नपाउँदै कमरेडले चारै आत्मालाई भित्र ल्याए र पलंगमा बसाले । कांग्रेसी त्रिमूर्तिहरु पलंगमै आँखा चिम्लिरहेका थिए । त्यहाँको कल्यांगमल्यांगमा पनि बिन्दास पल्टेका थिए, ह्यांगवभर सायद उत्रेको थिएन । ‘ट्वाँकेहरु सूतिराखून्’ कमरेडले यथास्थितिकै पक्षमा बोले ।

दशरथ चन्द गम्भीर भावभंगिमामा थिए । किशुनजीतिर फर्केर उनले कुरोको श्रीगणेश गरेः “हैन किशुनजी, देशको अवस्था यो के भा हो ? सोचेका थियौं, हामीहरु देश माथि उकाल्ने भर्यांग बन्यौं, तर के थाहा, हामी त नेताजीलाई कुर्सीमा उकाल्ने एकौटा भर्यांग यो बनेछौं । लाग्याथ्यो, हाम्रो बलिदानले देशका दुःखहरु मेटिनेछन्, तर हाम्रै रगतको आहालमा पौडेर नेताजीले सुस्ता, कालापानी र टनकपुरमा देशलाई झन्झन् पो दुखाइरहेछन् । लाग्याथ्यो, हाम्ले हाम्रो आजलाई सुम्पेर देशको भोलि शान्त र समृद्ध पार्दैछौं, तर दिन दुइगुना रात चौगुनाको दरले देश ओरालो लागिरहेको साक्षी पनि हामी नै पो बनिरहेका छौं । जता हेर्यो उतै अशान्ति, झगडा, लुटपाट, कुटपीट, मारकाट, भ्रष्टाचार, महंगी, तस्करी, कालोबजारी, नातावाद, कृपावाद......ओहो, के के हो के के!” बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो । त्यत्रो अनन्य साहस र निष्ठाका खानी शुक्रराजका आँखामा पनि आँशु छचल्किरहेका थिए । “बचेखुचेको त्याग, इकान्दारी र समर्पण पनि, लाग्छ, तपाईंको प्राणपखेरुसँगै उड्यो किशुनजी”-धर्माभक्तले मुख फोरे । गंगालाल चुपचाप आत्मालापमा लीन थिए ।
                                               ····
बीपी, जीपी र जीएमले पलंग छोडिसकेका थिए । किशुनजीको गीतापाठ पनि सकिइसकेको थियो । बाक्ला चस्माभित्रबाट “टाइम्स अफ यमलोक”का अक्षरहरु छिचोल्दै थिए अहिले । मदन भण्डारी चाहिं अघिदेखि लापत्ता थिए । “कहाँ हराएछ यो बहुदलीय जनवादी कामरेड”- बीपीले खोजीमा भुइँपाताल कतै बाँकी राखेनन् । “कहाँ भागेछ कामरेड ?”- यमराजका दूतहरु पनि स्वर्ग पार्टी प्यालेसको त्यो शयनकक्षमा तरबार घुमाउँदै हाजिर भए । फेरि भुइँपाताल खोजी अभियान शुरु भो । खोज्दाखोज्दै कोठामा फुत्त टुप्लुकिए कामरेड । कान्छी औंला देखाएर पिस हान्न गएको संकेत गरे कामरेडले । “यत्रोबेर ?” बीपी ट्वाँ परे । बाँकीले पनि जिल खाए ।
                                           ····
“हैन मदनजी, म त क्यान्सरले थलिएरै यहाँ आएको हुँ । त्यो लोकका निम्ति केही न केही गरुँला भन्दाभन्दै यमराजले झ्याप्प कठालो समातिहाल्यो ।” खुइय सुस्केरा छोड्दै बीपी मदनसँग गफिइरहे-  “पाएको जीवन जम्मै संघर्षमा बिताएँ ।” आफ्नो कुरालाई अरु जोड दिंदै बीपीवाणी निस्किरह्यो, “तपाईंबाट बहुत ठूलो आशा र भरोसा गरेको थियो त्यो लोकले । कस्तरी उदाउनुभाथ्यो त्यहाँको क्षितिजमा, क्यासँग गर्जनुहुन्थ्यो यार भाषणहरुमा । राजालाई श्रीपेच फुकालेर चुनावी मैदानमा ओर्लन दिएको हाँक हिजै हो कि जस्तो लाग्छ । तपाईंको त्यो करिश्मादार व्यक्तित्वले नै त हो, Newsweek ले Karl Marx Lives in Nepal लेखेको ।” बीपीवाणीमा ती दिनहरु एकएक गर्दै रिप्ले हुँदै थिए- “साँच्ची मदनजी, ती सिधा मान्छेका सोझा मनमा ‘यो ठिटोले हाम्रो मुहार फेर्छ है’ भन्ने चैं बेस्सरी लाग्याथ्यो । यो लोकबाट निहारिरहेका अभागी सहिदका हृदयमा पनि ‘यो केटोले त हाम्रा सपना साकार पार्छ है’ भन्ने बेस्मारी छाप पर्याथ्यो । तर कठै!” बीपीवाणीमा एकछिन त्रासद ब्रेक लाग्यो । भक्कानिंदो स्वरमा ब्रेक खुल्यो-“आयो टप्प टिप्यो टारेर टरेन त्यो । थुइक्क त्रिशुली ।” भएभरको थुक निकालेर बीपीले पृथ्वीलोकतिर हुत्याइदिए । थाहा छैन, त्यो बीपीथुक त्रिशुलीमा पर्यो वा परेन । तर कमरेडको देहसँगै जनताको बहुदलीय जनवादलाई पनि आफूसँगै निल्ने त्यो त्रिशुलीलाई थुक्नु भने बीपीको कुनै अपराध थिएन ।
                                               ····
जति पिएपनि फाल्तु नबोल्नुलाई यो लोकमा गणेशमानीय विशेषता भनिन्थ्यो । हुन पनि उनी हिजैदेखि चुँसम्म गरेका थिएनन् । केही न केही त बोल्न लगाउनै पर्यो भन्ने ठानेर बीपी गणेशमानतिर फर्किए: “हेर गणेशमान, तिमीलाई बालुवाटार छिर्ने योग कहिल्यै जुरेन । २०४६ पछि वीरेन्द्रले अफर गर्दा पनि तिमीले नाइँनास्ती गर्यौ । आजभोलि ‘गणेशमान त सोनिया गान्धी नै हो यार्’ भनेको सुन्छु । तर गणेशमानभन्दा धेरै पछि सोनियाले त्यागको त्यो कीर्तिमान राखेकी हुन् । त्यसैले ‘सोनिया त गणेशमान नै हो यार्’ भन्नुपर्छ । तर त्यो स्तरको सर्वमान्य नेताले पछि गएर आफैंले कत्रो कष्ट सहेर हुर्काएबढाएको पार्टीसँग कट्टी गरेर चुपचाप पर्दापछाडि छेलिन खोज्नु मलाई त एकरत्ति पनि निको लागेको थिएन यार् ।” बीपीले टुंग्याए । जति पिएको भएपनि छुँदै नछुने गणेशमानलाई अन्तत: बोल्न करै लाग्यो । भनिदिए –“हेर्नूस् दाजु, तपाईंको महाप्रस्थानपछि पार्टीलाई भुइँफुट्टा वर्गको कब्जामा पर्नबाट मैलै रोक्न सकिनँ । तपाईंको प्राणसँगै पार्टीको प्राण ‘समाजवाद’ त उड्यो उड्यो, २०४६ पछि मैले जोडतोडले उठाएको आर्थिक क्रान्तिको कुरा पनि जोक बन्यो । जुन जनताका नाममा जीवनभर लडाइँ छेडियो, लडाइँ सफल भएर फल चाख्ने बेला तिनै जनता पाखा पारिए । केन्द्रमा खेल खेल्नेहरु आफूआफू मोटाउने र आफ्नाआफ्ना पोस्ने दाउपेचमा मात्रै अल्झिरहे । पञ्चायत हुँदा के थियो र प्रजातन्त्र आएपछि के भयो, भेद छुट्याउन नसकेर विचरा जनता नामको जन्तु कुहिरोको काग बनिरह्यो ।” लगभग स्पष्टिकरणकै शैलीमा गणेशमानले भनिदिए-“यही गाईजात्राले वाक्कदिक्क भएर पार्टीसँग कट्टी गरेको हुँ ।” कट्टी गर्ने अर्का पनि त्यहीं थिए, नवआगन्तुक सन्तनेता । “टाइम्स अफ यमलोक” का अक्षरहरु यतिञ्जेल छिचोलिसकेका थिए । पीडा ओकल्ने पालो यिनको थियो-“त्यत्रो अव्यवस्था र अराजकताको साम्राज्य थियो । तर पनि हामीले टुलुटुलु हेरिरह्यौं । कुनै तरुनीलाई हेरेको भा छोराछोरी जन्मन्थे, अस्तव्यस्तता हेरेको, नयाँ नेपाल जन्म्यो ।” सन्तनेता बोलिरहे-“अहँ, मात्र हेरिरह्यौं, कुनै निर्णायक हस्तक्षेप गर्न सकेनौं ।” यो लोकमा आएर त्यो लोकका धुरन्धर नेताहरु स्टेट्स्म्यानको तहमा उक्लन नसक्नुको दुख बिसाइरहेका थिए ।”
                                             ····
फेरि गिरिजाबूढातिर फर्किएर बीपी वर्षन शुरु गरेः “त्यहाँको राजनीति यतिविधि घिनलाग्दो हुनुमा सबभन्दा ठूलो तेरो हात छ, बुझिस्?” अब त अत्ति भो, गिरिजा फायर भए । वर्षदिन अघि आफू यता आउँदा त्यहाँ ओर्लेको मान्छेको सागर देखाइदिए बूढाले यूट्युबमा । बीपी दोस्रोचोटि ट्वाँ परे । बाँकीले पनि जील खाए । र समवेत् स्वरमा कराए-“यत्रो सागर त मेरो पालिमा पनि थिएन यार् ।” किसुनजी चाहिं गिरिजामाथि बीपीको आरोपमा केन्द्रित भएर भन्दै थिए-“जानुस् गिर्जाउ, हात धोएर आउनुस् ।”
                                           ····
घडीको सुइले दश हानिसकेको थियो । पार्टी प्यालेसबाहिर सूर्यदेव चम्किदैं थिए । चहलपहल बढ्दै थियो । आत्माहरु ठूलै हतारमा भएझैं यताउति दगुरिरहेका थिए । बीपीले बोलिहाले- “जाउँ अब त, हतार भइसक्यो ।” स्वर्ग पार्टी प्यालेसको रमाइलो रातलाई स्मृतिमा राख्दै पाँच आत्माहरु फटाफट बाहिर निस्के ।


   
             



0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong