........................................................................with words, with issues!!!

Apr 9, 2013

इतिहासको उत्खनन्



ग्याब्रियल गार्सिया मार्खेजले '२० औं शताब्दीका महानतम् कवि' ठहर्याएका चिलीका विश्वविख्यात कवि पाब्लो नेरुदाको शवको केही दिन अघिमात्रै अवशेष उत्खनन गरियो, मृत्युको चालिस वर्षपछि।  सन् १९७३ मा तानाशाह अगस्टो पिनोसेले सैनिक ‘कू’ गरी सत्ता हत्याउनु र साहित्यतर्फको नोबेल पुरस्कार जित्ने वामपन्थी कवि नेरूदा अनि समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको मृत्यु संगसंगै हुनु संयोग मात्र होइन भन्दै मृत्यु (वा हत्या ?) बारे थप अनुसन्धान गर्न शव उत्खनन गरिएको थियो।  मरेको २ महिनासम्म पनि शवयात्रा गर्न आलटाल गरेको पिनोसेको सत्ता नै उनको हत्यारा थियो भन्ने आमआशंकालाई शव उत्खनन कार्यले केही हदसम्म सम्बोधन गर्नेछ । करिब २ वर्षअघि एलेन्डेको पनि शव उत्खनन गरी उनको मृत्युबारे निष्कर्ष निकाल्दै भनिएको थियो कि- उनले आत्महत्या गरेका थिए ।

संदिग्ध मृत्यु बेहोरेका अर्का नोबेल पुरस्कार विजेता प्यालेस्टानी नेता यासेर अराफतको पनि केही महिनापहिले शव उत्खनन गरी फरेन्सिक विशेषज्ञहरुले अनुसन्धान गरिरहेका छन् जसको रिपोर्ट बाहिर आउन अझै केही महिना कुर्नुपर्ने बताइएको छ । उनका व्यक्तिगत सामानहरुमा रेडियोएक्टिभ तत्व पोलोनियम-२१० को मात्रा पाइएपछि इजरायलले विष खुवाएर मारेको ‘कन्सपिरेसी थ्योरी’ ले बढी बजार पिटेको थियो ।

त्यस्तै, ५० वर्ष भैसक्यो, जोन एफ. केनेडीको हत्याले पनि एउटा खास टुंगो पाउन सकेको छैन । हत्यालगत्तै गठन गरिएको ‘वारेन कमिशन’ ले लि हार्वे ओस्वाल्डलाई हत्यारा ठहर गरेपनि बहुमत अमेरिकी जनता त्यसलाई एउटा व्यक्तिको लहड नभई ठुलै षड्यन्त्र ठान्दछन् । अरु त अरु, २ शताव्दीअघिका नेपोलियन बोनापार्टको मृत्युबारे पनि बाझिने मतहरु थिए, जुन लामो समयको अनुसन्धानपछि बल्लतल्ल टुंगिएजस्तो देखिएको छ । पेटको क्यान्सरलाई नै उनको मृत्युको आधिकारिक कारण मानिएको छ अब ।

यी विषय उठाउनुको कारण के भने जति नै समय लागेपनि इतिहासको गर्भभित्रका रहस्यहरु एक न एक दिन खुल्छन् नै । बस् त्यसका आन्द्राभुँडी केलाउनेगरी गम्भीर अनुसन्धान र छानबिन हुनुपर्यो। तर भनिरहनु पर्दैन, ‘गम्भीर अनुसन्धान र छानबिन’ भनेको कुन चरीको नामझैँ हो नेपालमा । विडम्वना, रहस्यका अनेकौं पोका-पन्तुराले भरिएका घटनाहरु यहीँ छन् बग्रेल्ती। धेरै पर किन जानु, जेठ १९ को दरबार हत्याकाण्ड नै लिउँ न। इतिहासमा त्यत्रो महत्व राख्ने त्यस घटनाबारे छानबिन गर्न आजसम्म तारानाथ रानाभाटको ‘भटटटट’ आयोगबाहेक कुनै अर्थपूर्ण आयोग बनेन र आएनन् त्यसैले कुनै राय र ठहर सहितका तार्किक रिपोर्ट पनि। न त बने कुनै फिल्म वा वृतचित्र जसले समातेका होउन् कुरोको चुरो। त्यसैले सबैसबैजना कि त गनिनसक्नुका विरोधाभाषले ग्रस्त उही ‘भटटटट’ प्रतिवेदनमा भर पर्नुपर्यो, होइन भने बजारमा जति पनि पाइने ‘कन्सपिरेसी थ्योरी’ जिन्दावाद ! बचेको विकल्प एउटै छ – फेरि अनुसन्धान, अनुसन्धान, अनुसन्धान। पहिलेको जस्तो नाममात्रको अनुसन्धान होइन, जसले उत्तर दिनुको साटो छोडेको थियो थुप्रै प्रश्नका चांगहरु जो अद्यापि अनुत्तरित छन् ।

प्रविधिको अभूतपूर्व विकासले शताव्दीऔं पुराना पहेली त सुल्झाउन सकिन्छ भने यो त जाबो एक दसक पहिलेको कुरा न हो । पोस्टमार्टम नगरिएको, हतारहतारमा लास जलाइएकोले गर्दा त्योबेला सही अनुसन्धान गर्ने नियत त थिएन नै, भविष्यमा हुनसक्ने अनुसन्धानमा पनि तगाराहरु बिछ्याइएका थिए । झन् पछि त्रिभुवन सदन पनि भत्क्याएकाले  स्पष्ट छ –अनुसन्धान गर्ने आँट भएकाका लागि पनि फलामको च्युरा चपाउनुसरह नै हुनेछ।  तर त्यो नै अनुसन्धान नगर्ने बहाना हुनसक्दैन। आखिर राजतन्त्र मिल्किएको अवस्था छ, यसर्थ वातावरण सहज र अनुकुल छ छानविनका निम्ति। प्रत्यक्षदर्शीहरु जिवितै छन् । ‘वीरेन्द्रसँग हाम्रो कार्यगत एकता थियो’ भन्दै भावुक हुने प्रचण्ड र ‘नयाँ कोतपर्वलाई मान्यता दिनु हुदैन’ भनेर लेख लेख्ने बाबुरामहरु सरकारमा आउँदा यसबारे केही ठोस पहलकदमी लिन्छन् कि भन्ने आशाको त्यान्द्रो थियो, मर्यो। बरा प्रचण्ड कमरेड, भ्रष्टाचारमा आफैँमाथि छानविन होला भन्ने पिरले लोकमानको बुई चढ्दैछन्, त्यो मूला जेठ १९ को लीलामाथि छानविनको टन्टा किन लिउन् ! तर, जेहोस् ‘द ग्रेटर नेपाल’ र ‘दासढुंगा’ जस्ता ऐतिहासिक सिनेमा बनाउने जुझारु फिल्मकर्मी मनोज पण्डितले नै जेठ १९ का बारे पनि फिल्म बनाउने समाचारहरु बाहिर आएका छन्।  यो सकारात्मक कुरो हो ।

अर्को नसुल्झिएको पहेंली छ –दासढुंगा काण्ड। विडम्बना के छ भने ऊबेला सडकमा अहिलेको वैद्यलाई उछिन्ने गरी उफ्रिने एमाले त्यसयता थुप्रोपटक सत्ताको तर चाख्न भ्याइसक्यो, तर निकाल्न सकेन कहिल्यै फुर्सद दासढुंगा सम्झन। जेठ ३ का दिन कर्मकाण्ड पुर्याउन चाहिँ फूलमालासहित हाजिर भएकै हुन्छ त्यहाँ । आफ्ना अग्रज विचारकलाई सम्झने भनेकै यस्तै कर्मकाण्ड न हो उसका निम्ति। तर एमालेलाई मतलव भएन भन्दैमा अरुले पनि दासढुंगालाई बिर्सन मिल्दैन। मदन भण्डारी वामपन्थी शक्तिहरुलाई मूलधारमा ल्याउने देशभक्त चिन्तक भएकाले मात्रै होइन, घटना इतिहासको महत्वपूर्ण अध्याय भएको नाताले पनि यसको घनिभूत खोजबीन हुनुपर्छ। दासढुंगा दुर्घटना मात्रै हो कि नियोजित षड्यन्त्र ? त्यसबेला बनेका अनेक आयोगहरुमध्ये तुलाधर आयोग र ओली आयोगले षड्यन्त्र ठहर गर्यो, बाँकी केहीले दुर्घटना। चालक अमर लामाले पनि दुर्घटनै भने । तर पछि दिनदहाडै उनको पनि हत्या भएपछि दासढुंगा अरु रहस्यमय बन्यो ।अनुमानको खेती गर्नेहरुले औंलो सी.आई.ए सम्म सोझ्याए। तर जनता नामको जन्तु कुहिरोको कागै बनेर रूमल्लिरहेको छ आजपर्यन्त। किनकि राप र तापका बेला ‘दासढुंगा हत्याकाण्डको छानवीन गर’ भन्दै मान्छेका ज्यान लिनेगरी चलाइएका आन्दोलनहरु आजकाल धेरै भो, ‘मलाई कुर्सी दे’ तिर सोझिएका छन् ।अनि त्यसबेला बनेका अनेकौं आयोगहरुका प्रतिवेदन नजाने कुन कुनामा धुलो र माकुरोको गाता ओढेर बसेका छन् वा कुन परलोक पुर्याइसकिएका छन् !

यसबीचमा छानविन प्रतिवेदनहरुमै आधारित मनोज पण्डित निर्देशित ‘दासढुंगा’ नामको डकुड्रामाले केही बहस र छलफल निम्त्यायो । मजस्ता नयाँ पुस्ताका ठिटाठिटीलाई नयाँ शिराबाट घटनालाई बुझ्न मद्दत गर्यो । यस्ता प्रयासहरु टिठलाग्दो पाराले एकाध मात्र भएका छन् । जतिसक्दो प्रोत्साहन गर्दै फैल्याउनुपर्छ इतिहास खोतल्ने यस्ता सत्प्रयासहरु ।

जेहोस्, माथि दिइएका अन्य देशका दृष्टान्तबाट पनि प्रस्ट हुन्छ – इच्छाशक्ति हुने हो भने दशकौंअघि गाडेका लाशका अवशेष उत्खनन् गरेर भएपनि इतिहासमाथि न्याय गर्न सकिन्छ । हाम्रोमा लाश जलाइन्छन्, त्यसैले अप्ठ्याराहरू होलान्। तर फेरि पनि मुख्य कुरो अनुसन्धान गर्ने इच्छाशक्ति नै हो। यदि त्यो नै छैन भने अवशेष त के, लाशै ज्यूँदेर किटानी जाहेरी दिएपनि केही फरक पर्नेवाला छैन !
     
                 

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong