........................................................................with words, with issues!!!

Mar 31, 2015

अब पनि ऐक्यबद्धता नजनाउने हो भने...

First appeared in SwasthyaKhabar 

मेडिकल कलेजमा सँगै पढ्दाताका एकदमै ‘ब्राइट’ विद्यार्थीमा गनिने एकजना साथीले केहीअघि आफ्नो भावी योजना सुनायो- “अब नेपालमै ल्याङल्याङ गरिरहेर केही प्रगति हुनेवाला छैन यार् ! यता बरालिएर आफ्नो भविष्य अनिश्चित पार्नुभन्दा झट्टपट्ट ‘युएसएमएलइ’ गरेर अमेरिकाको बाटो तताउने हो ! तैंले पनि बेलैमा सोच्, नत्र पछि बेकारमा पछुताउनुपर्ला !”
त्यो साथी मात्रै किन, एमबीबीएस पास गरिसक्दानसक्दै अधिकांश त्यस्ता ‘ब्राइट’ डाक्टरको दिमागमा घुम्ने एउटै कुरा यही हो- युएसएमएलइ नामको लाइसेन्सिङ परीक्षा पास गर्ने र अमेरिकाको ढोका उघार्ने ! आखिर अमेरिका भनेपछि किन यसरी दुईहात उफ्रन्छन् त डाक्टरहरु ? धेरै दिमाग खियाइरहनै पर्दैन – सपनाको नगरी अमेरिकामा डाक्टरलाई दिइने तलब हेरे पुग्छ ! एमडी/एमएस गर्नको निम्ति संसारैभरबाट अमेरिकाकै मेडिकल स्कुलमा भर्ना हुन किन मरिहत्ते गर्छन् त डाक्टरहरु ? बस्, त्यहाँ दिइने शिक्षाको स्तर अन्तको सँग दाँजे पुग्छ | तर के नभुलौं भने त्यही अमेरिका हो, जहाँ ठ्याक्कै एक सय वर्षअघि नेपालको भन्दापनि गएगुज्रेको थियो मेडिकल शिक्षा | अपितु छोटो समयमै त्यसले कायापलट गर्न सक्यो र हिजोको नेपालभन्दा तन्नम क्षेत्र आजको ‘मेडिकल हब’ बन्यो | मेडिकल शिक्षाका तमाम विकृतिलाई बढार्न श्रद्धेय गुरु डा. गोविन्द केसी आमरण अनसन बसिरहनुभएको यो पृष्ठभूमिमा अमेरिकाले कसरी यो छलाङ हान्न सफल भयो, बुझ्नु सान्दर्भिक हुनेछ |

फ्लेक्स्नर रिपोर्ट

दोहोर्याएर भनौं- २० औं शताब्दीको शुरुतिर अमेरिकाको मेडिकल शिक्षा यहाँको भन्दा बढी भद्रगोल थियो | त्यसबेला देशभर जम्माजम्मी १५५ वटा मेडिकल स्कुल भनिने कारखानाहरु संचालनमा थिए जसबाट जन्मिनेलाई आवरणमा त डाक्टर भनिन्थ्यो तर आचरणमा हुन्थे पक्का कसाइ | विद्यार्थी हुल्न तिनलाई न कुनै विश्वविद्यालयसँग सम्बन्धन चाहिन्थ्यो, न पढाउनलाई कुनै स्पष्ट तोकिएको पाठ्यक्रम | विद्यार्थीलाई पनि त्यत्तिकै हाइसन्चो- न कुनै सीप सिक्नुपर्ने झन्झट, न ठेलीका ठेली किताब पढ्नुपर्ने झ्याउलो | १-२ वटा धनाढ्य डाक्टरको लगानीमा खुलेका त्यस्ता मेडिकल स्कुलमा २ वर्ष हल्लिनु मात्रै पर्यो, डाक्टरको डिग्री हातहातै पाइने पूर्ण ग्यारेण्टी हुन्थ्यो | यसरी ‘क्वाक’हरुले त्यहाँको स्वास्थ्यबजार कब्जा गरेपछि नीतिनिर्माताहरुका बीच ठूलै हल्लीखल्ली मच्चिन पुग्यो | परिणामत: १९०८ मा अब्राहम फ्लेक्स्नर नामका एक शिक्षाविद्लाई यससम्बन्धी वस्तुस्थितिको अध्ययन गर्न खटाइयो | ठूलो जिम्मेवारी बोकेर फ्लेक्स्नर निस्के, १५५ वटै मेडिकल स्कुल घुमे, एकएक कुराको निरीक्षण गरे, गहिरो अध्ययन गरे, रिपोर्ट तयार पारे र अन्ततः १९१० मा सरकारलाई रिपोर्ट सुम्पिदिए | रिपोर्टमा उनले लेखे- “शिक्षक भनिने पण्डितहरु विद्यार्थीलाई पढाउँदैनन्, पुराण सुनाउँछन् | बिरामी देखाउँदैनन्, उही बासी पुराण भट्याउँछन् | भाग्यवस् कुनै दिन अस्पताल छिराएछन् भने पनि त्यहाँ बिरामीलाई छुने, सिक्ने होइन, बस् ट्वाँ परेर हेरिरहन मात्रै अर्हाउँछन् |” त्यही रिपोर्टमा उनले मेडिकल शिक्षाको कायापलट गर्न नगरीनहुने केही कुराहरु भन्दै बुँदागत रुपमा सुझाव दिएका छन् | जस्तै:
१. मेडिकल स्कुलको भर्ना-क्राइटेरिया लर्तरो पाराको नहोस्; यति कडा क्राइटेरिया होओस् कि साँच्चिकै जेहेन्दार विद्यार्थीले मात्रै चिकित्सा क्षेत्रमा प्रवेश पाओस् | पैसा छ भन्दैमा जुनसुकै झार, पात र पत्कर पनि डाक्टर बनिहाल्ने प्रवृतिको अन्त्य होस् |    
२. विशुद्ध नाफाका लागि मात्रै भएभरका मेडिकल स्कुलहरु खोलिएकाले चिकित्सा शिक्षाको गुणस्तरमा सोच्नै नसकिने ह्रास आएको र यो कुरा सच्याउनका निम्ति मेडिकल स्कुलहरुको संख्या भारी मात्राले घटाइयोस् |   
३. मेडिकल लाइसेन्सलाई मोटरसाइकलको लाइसेन्सजसरी जथाभावी ढंगले नबाँडियोस् |
४. पुराण सुनाउने पार्ट-टाइम पण्डाहरु होइन, सीप सिकाउने फुल-टाइम प्रोफेसरहरु राखियोस् |
५. मेडिकल स्कुल भनेको प्राज्ञिक थलो हो | यसर्थ, फ्याकल्टीलाई पुराण भट्याउने कर्मकाण्डमा सीमित नराखी रिसर्चमा पनि लगाइयोस्, वैज्ञानिक ढंगको प्राक्टिसका निम्ति प्रोत्साहित गरियोस् |
मेडिकल शिक्षा सुधार अभियानमा कस्सेर लागेको त्यहाँको सरकारले त्यसपछि दायाँबायाँ कतै हेरेन, सिर्फ फ्लेक्स्नर रिपोर्टले देखाएको बाटोमा अघि बढ्ने निर्णय गर्यो | रिपोर्टले तय गरेको मापदण्डमा तौलिंदा अधिकांश मेडिकल स्कुलहरु झुर निस्के | परिणाम, कि त ती बन्द भए कि अरुसँग ‘मर्ज’ ! १५५ बाट घटेर एक्कासी ३१ पुग्यो अमेरिकाको चिकित्साशास्त्र पढाइने स्कुलको संख्या | जसै फ्लेक्स्नर रिपोर्टका सुझावहरु कार्यन्वयनमा ढल्दै गए, चर्को बद्नामी खेपेको स्वास्थ्यक्षेत्र पनि एकाएक सबैले आदर गर्ने प्रोफेसनमा बदलिँदै गयो | आज विश्वका एकसेएक मेडिकल स्कुल त्यहीं छन्, एकसेएक रिसर्चहरु त्यहीं हुन्छन्, विश्वकै गुणस्तरीय स्वास्थ्यसेवा त्यहीं पाइन्छ |

र गोविन्द केसी सर  

आइओएमबाट प्राक्टिकलको जाँच लिन आउनुभएका एकजना प्राध्यापकले भन्नुभएको थियो- “जाँचकै सिलसिलामा म जति पनि कलेजहरु गएँ, त्यहाँका नेपाली विद्यार्थीहरु उत्तरहरु त खरररै भन्छन्, तर त्यही भनेको कुरालाई गर्न लगायो, फिटिक्कै जान्दैनन् | नयाँ पुस्ताका डाक्टरहरु सीप सिक्ने कुरामा पछाडि छन् |” यस्तो कसरी हुन गयो त ? र आगामी वर्षहरुमा झन् के हुँदैछ ? च्याउसरी मेडिकल कलेजहरु उमार्ने, क्षमताभन्दा तेब्बर बढी विद्यार्थी हुल्ने, फ्याकल्टी नराख्ने, पठनपाठन र प्राज्ञिक वातावरण नबनाउने गरेपछि कसरी ती प्राध्यापकले चाहेजस्ता अब्बल डाक्टर निस्किउन् त ? सिस्नु रोपेको ठाउँमा तुलसी उम्रेन भनेर रोइलो गर्दैमा हुन्छ र ?  
हो, यिनै कुरालाई उठाएर गोविन्द केसी सर पाँचैपटक अनसनमा बस्नुभएको हो | मेडिकल शिक्षाको गुणस्तर राम्रो नहुँदासम्म देशको स्वास्थ्य क्षेत्रमा सुधार आउँदैन भनेर उहाँ निरन्तर लागिपर्नु भएको छ | जसरी अब्राहम फ्लेक्स्नर अमेरिकाको मेडिकल शिक्षामा एउटा ‘गेम-चेन्जर’ बने, झन्डैझन्डै त्यही बेहाल हुन थालेको हाम्रो मेडिकल शिक्षालाई सत्याग्रहको हतियारले अहिलेसम्म जोगाइराखेर डा. गोविन्द केसी पनि ‘गेम-चेन्जर’ कै भूमिकामा देखा पर्नुभएको छ | फरक के भने त्यहाँको सरकार आफैं प्रतिबद्ध थियो; फ्लेक्स्नरले यसोयसो गर भनेर भनेका मात्रै के थिए, सरकार खुरुखुरु मान्दै गयो | यहाँ भने यति चाम्रो सरकार छ कि पूरा देशले मानेको गोविन्द केसीजस्तो एउटा डाक्टर आफ्नो ज्यानको बाजी थापेर पाँचपाँचपटक आमरण अनशन बस्दा पनि कानमा तेल हालेर बस्छ | धोकाधडी गर्न पल्केको यहाँको सरकारलाई ‘क्वाक’ हरुले स्वास्थ्यबजार कब्जा गरेर मान्छेको जीवनसँग खेलबाड गरे के, कसाइहरुले अपरेसन गर्न थाले के ! भोलि ३ करोड जनताले कस्ता डाक्टरको हातमा आफूलाई सुम्पेर कस्तो जोखिम मोल्दैछन्, उसलाई रत्ति फिक्री छैन |
 केसी सरकै दबाबमा सही, सरकारले प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा स्वास्थ्य शिक्षा नीति तर्जुमा गर्न एउटा उच्चस्तरीय समिति गठन गरेको थियो | माथेमा समितिका लागि फ्लेक्स्नर रिपोर्ट पनि एउटा गतिलो अध्ययन सामग्री हुनसक्छ | त्यो रिपोर्टले जमानामा दिएका ती सुझावहरु आज पनि यो समितिले मनन नगरी नहुने खालका छन् | केन्द्रिय चिकित्सा विश्वविद्यालयको निर्माण, भौतिक पूर्वाधार, जनशक्ति अनि भौगोलिक मापदण्डका आधारमा नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन, विदेश पढ्न जाने विद्यार्थीको हकमा पनि उचित नियमन, स्नातक तथा स्नातकोत्तर दुवै तहका निम्ति लिन सकिने अधिकतम शुल्कको निर्धारण, चिकित्सकहरुले पाउने सरकारी सेवा-सुविधामा समयानुकूल परिमार्जन आदि यस्ता विषयहरु हुन् जो माथेमा समितिले सही ढंगले निर्क्यौल गरेमा नेपालको मेडिकल क्षेत्रले पनि त्योबेलाको अमेरिकाले झैं काँचुली फेर्न समय लाग्नेछैन |
अन्यथा, ‘ब्राइट’ डाक्टरहरु जति ‘युएसएमएलइ’को पुच्छर समातेर अमेरिका भासिने अनि यहाँका जनता चाँहि ‘क्वेक’ को रामभरोसामा बाँचिरहनुपर्ने विडम्बना नै हाम्रो सधैंको नियति बन्नेछ | त्यो भयावह अवस्था नआओस् भन्नका लागि जरुरी छ- सबै क्षेत्रबाट केसी सरको यो सत्याग्रहप्रति आ-आफ्नो ठाउँबाट ऐक्यबद्धता | किन भने अब पनि ऐक्यबद्धता जनाउन ढिलो गर्ने हो भने भोलि तपाईं-हाम्रा धेरै कुराहरु बाँकी रहनेछैनन् |



0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong