संचारमाध्यममा निरन्तर ‘इन्डिया साइनिङ’
का लोमहर्षक कथाहरु छाइरहँदा बेलाबेला प्रकाशमा आउँछन्- २०१२ को डिसेम्बरमा दिल्लीमा
भएजस्ता नृशंस घटना पनि | यिनले संसारकै ठूलो लोकतन्त्रको अर्को पाटो उजागर गर्ने
गरेका छन् | दिल्लीको सार्वजनिक बसमा एउटी २३ वर्षीया छात्रामाथि भएको उक्त विभत्स
सामूहिक बलात्कार तथा हत्याका विषयमाथि हालै ‘इन्डियाज डटर’ नामक एउटा डकुमेन्ट्री
त बन्यो तर प्रदर्शनमा नआउँदै प्रतिबन्ध झेल्न पुग्यो | भारत सरकार भन्छ- चार
बलात्कारीहरु मध्येका एक मुकेश सिंहले यसमा महिलाहरुका बारेमा बोलेका कुराहरु घोर
आपत्तिजनक छन्, त्यसैले यसलाई रोक्नुपर्छ | हुनत हाम्रो सरकारले जस्तो लाज नपचाइसकेको
भए पक्कै पनि भारतीय सरकारले विश्वमंचमा यो डकुमेन्ट्रीबाट लज्जित महशुस गरेको
होला | तर फेरि पनि यो डकुमेन्ट्री भारत र नेपालजस्ता देशको ऐना हो | समाजले एउटी
नारीलाई कसरी हेर्छ- चिहाउने आँखीझ्याल हो यो | यसमा तपाईं-हाम्रै प्रतिविम्ब
देख्न सकिन्छ | तर के त्यो ऐनाले हाम्रो अनुहार कुरूप देखायो भन्दैमा ऐना नै
फोड्दिने ? निश्चय पनि बलात्कारीद्वारा गरिएका आपत्तिजनक कुराहरु त्यहाँ छन् | तर
तिनलाई कान थापेर नसुनेसम्म समस्याको गहिराईमा हामी पुग्नसक्नेछैनौं | बरु ‘सबै
ठीकठाक छ’ भनेर बस्नेछौं र आखिरमा जुध्न सक्नेछैनौं समस्यासँग |
महिलाप्रति बलात्कारीको दृष्टिकोण मात्रै
बुझ्न त डकुमेन्ट्री नै हेरिरहनुपर्ने आवश्यकता किन पर्थ्यो र ? तर समाजका कतिपय शिक्षित
भनाउँदाहरुको सोचाइको स्तर चाँहि कहाँ छ, घामझैं प्रष्ट हुनेगरी थाहा पाउनुछ भने
एकचोटि अवश्यै हेर्नुपर्छ | बलात्कारीका पक्षमा बहस गरेका तिनका वकिलहरुको
कुरागराइ हेर्दा लाग्छ- हामी अझैं पनि सत्रौ-अठारौँ शताब्दीतिरै छौं | तर त्यहाँको
सरकार भने यसको उपचार खोज्न नलागेर रोग लुकाउने काममा तल्लीन छ | परेवाको बथानमा
एउटा बिरालो छिराइदिने हो भने जम्मै परेवाले आँखा चिम्लिन्छन् रे | मैले देखिन भने
बिरालोले पनि मलाई देख्नन सक्दैन भन्ने सोच्दाहुन् बिचरा परेवा | तर बिरालोले आँखा
चिम्लिदैन र पुरै परेवाहरु खाइदिन्छ | त्यसैले गरी सरकारले पनि ‘आँखा चिम्लिन्छु र
पो बलात्कारले पनि आँखा चिम्लेला’ भन्ने परेवा सोच राख्ने हो भने सामूहिक
बलात्कारको यो बिरालोले एकदिन पुरै समाज खाइदिनेछ | यसर्थ, डकुमेन्ट्रीले भन्दा
बरु डकुमेन्ट्रीमाथि प्रतिबन्ध लगाउने कामले भारतको छविलाई बढी विद्रूप बनाएको छ |
नेपालमा पनि यस्ता घटनाहरुको कुनै कमी छैन
| पूजा बोहरा नेपालकी
त्यस्तै प्रतिनिधि छोरी हुन् | फरक के भने उता भारतमा बलात्कारीलाई मृत्युदण्डको
सजाय सुनाइयो तर यता पुनरावेदन अदालत महेन्द्रनगरले बलात्कारीलाई सफाई दियो |
कानुनमन्त्री नरहरि आचार्यलाई सम्बोधन गर्दै ‘मेरो जीवन निमोठ्नेहरु निर्दोष
हुन्?’ भन्दै कान्तिपुर दैनिकमा पत्र लेखेपछि मात्रै यो केस राष्ट्रिय मुद्दा
बन्यो | उनको भोगाइ यति मार्मिक थियो कि पूरै देशले केही बेरसम्म विश्वासै गर्न
सकेन | अहिले बिर्सिसकेका भए बेग्लै कुरा, नत्र मन्त्रीज्यूले पनि ‘तपाईंलाई न्याय
दिलाउँछु’ भन्दै जवाफी पत्र लेखेको धेरै भएको छैन | तर अफसोच, अहिले आएर सर्वोच्च
अदालतले उनको मुद्धा नै स्थगित गरिदिएको छ | न्यायको एकपटक फेरि बलात्कार भएको छ |
थप अन्याय गर्नका लागि अब केही बाँकी छैन |
सबैथोक उल्टो चलिरहेका बेला यही अन्याय नै
न्यायमन्त्रीले भनेको न्याय होला | पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘तिम्रो
न्यायका लागि म लड्छु’ भनेको पनि यही नै होला | तर न्यायलयलाई हेक्का रहोस्-
बलात्कारी छाती खोलेर हिंड्ने, बलात्कृत लुकीलुकी हिंड्ने स्थितिको निर्माणमा
अदालतका यस्तै फैसलाहरु जिम्मेवार छन् | न्यायमुर्तिहरुलाई ज्ञात होस्- यस्तो
अदालत न्यायलयका नाममा कलंक हो भनेर भन्न अब हामीलाई रत्ति संकोच छैन | आखिर, सर्वोच्च
अदालतभन्दा माथि पनि एउटा अदालत हुन्छ- जनताको विवेकको अदालत | र बहुसंख्यक नेपालीहरुको
विवेकको अदालतले फैसला गरिसकेको छ- को को हुन् दोषी भनेर |
हुन त सोच्नै नसकिनेगरी बढेको बलात्कारको
घटनामा को दोषी भनेर देखाउनलाई एकथरी पुरातनवादीहरुसँग लामै लिस्ट छ | तिनका
वकिलसँग जति पनि कुतर्कहरु आविष्कार गर्न सक्ने बेजोडको प्रतिभा छ | तिनका आँखामा
कहिले छोटा कपडा दोषी देखिन्छन्, कहिले त्यो केटीको चरित्र | तिनका विचारमा
केटीमान्छे भएर जन्मिसकेपछि घरबाट रातविरात एक्लैदुक्लै निस्किनु बलात्कारलाई
आमन्त्रण गर्नु हो | त्यसमा केटाको कुनै गल्ती हुँदैन, जम्मै दोषको भागीदार त्यही
केटी हो | तिनका विचारमा कुनै केटाले बलात्कार गर्दैछ भने केटीले कि त चुपचाप त्यो
बलात्कारमा सरिक भइदिनुपर्छ, नभए निर्भयाको नियतिका लागि तयार रहनुपर्छ | ती
सोच्छन्- ‘मात्तेकी’, ‘संस्कार बिर्सेकी’ केटीहरुलाई बलात्कार गरेर पाठ सिकाइएको
हो | ती ठान्छन्- ‘नैतिकता’ र ‘मर्यादा’ को सम्पूर्ण ठेक्का स्वास्नीमान्छेले लिएर
आफूहरुलाई फुक्काफाल छोडिनुपर्छ | समाजमा जबर्जस्त जकडिएर रहेका यस्ता मान्यता
एउटा-दुइटा डकुमेन्ट्री वा एक दुई हप्ताको मैनबत्ती जुलुसले समाप्त नहोला, तर केही
परिवर्तन चाँहि जरुर हुन्छ |
तीतो सत्य के हो भने न त निर्भया बलात्कार
काण्ड भारतका निम्ति अन्तिम हुन सक्यो, न त पूजा बोहराको केस नै नेपालको अन्तिम |
दैनिकजसो समाचारहरु आएकै छन्, कहिले ६० वर्षीय हजुरबाद्वारा १५ वर्षीया नातिनीको
बलात्कार भनेर त कहिले स्वयं बुवाद्वारा छोरीको करणी भनेर | सुन्दै आङ जिरिंग
पार्छन् यस्ता घटनाले | त्यतिले नपुगेर उल्टै बलात्कृतमाथि नै दोष थुपार्छ समाज | प्रहरीले
अनुसन्धान गर्ने कुरा त परै छोड्दिउँ, मुद्दा दर्ता गर्नै आनाकानी गर्छ | बलात्कारीसँग
बिहे गर्न बाध्य पार्छ परिवार र प्रशासन | कति त कलंकको भारी बोक्न नसकी आत्महत्या
रोज्छन् | ‘नेपाल्स डटर’ बनाउनु नपरोस् भनेर जति नै चोखो कामना गरे पनि यसरी अन्यायको
नाङ्गो नाच चलिरहँदा बाँकी संसार चाँहि मूकदर्शक भएर हेरिरहन मिल्छ र ?
0 comments:
Post a Comment