........................................................................with words, with issues!!!

Aug 11, 2015

दुई पोका खुन

First published in Setopati 

‘जल्दी से जल्दी दुई पोका खुनके व्यवस्था करिए, नही तो आपके पत्नी और बच्चाके ज्यानको भी गम्भीर खतरा हे ! समझ्गए कि नही ?’ प्रसुति वार्डको सिस्टरबाट हकिउल्लाह खानले दिउँसै कडा चेतावनी पाइसकेको थियो | रेडक्रसको भवनबाहिर ठिंग उभिइरहेको उसलाई अहिले पनि सिस्टरको त्यही चेतावनीले लखेटिरहेको छ | लखेटिदा लखेटिदै ऊ कहिले कुन अस्पतालको ब्लड ब्यांक पुग्छ, कहिले कुन ठाउँको रेडक्रस ! जहाँ पुग्छ, देख्छ सिर्फ घारहरु जहाँ मौरीहरु झुम्मिइरहेका छन् | सबै  मौरीका हातमा एउटा एउटा कागज छन् र त्यही कागजले दिने दुई पोका खुनमा अडेका छन् तिनका प्रियसीका जीवन !

झन् उसका लागि त उसको हातमा थमाइएको कागजले एउटा होइन, दुई-दुईटा जीवनको कठालो समातिरहेको छ | गएको रातिदेखि नै बुढियालाई व्यथाले बेस्सरी च्यापेपछि उसले आज दिउँसो दुई बजे सरकारी अस्पताल ल्याइपुर्याएको थियो | तुरुन्तै प्रसूति वार्डमा बुढिया भर्ना भएकी थिई | जाँचपड्ताल गर्नेहरु भर्खरका देखिने डाक्टरहरु थिए | पालैपालो सबै डाक्टरले हकिउल्लाह र उसकी बुढियालाई एउटै प्रश्न सोधिरहे, बिग्रिएको रेकर्डले एउटै कुरा बारम्बार दोहोर्याएझैं | तर अहँ, उनीहरु जे सोधिरहेका हुन्थे, त्यो हकिउल्लाह बुझ्दैनथ्यो; अनि हकिउल्लाह जे भनिरहेको हुन्थ्यो, त्यो डाक्टरहरु बुझ्दैनथे | त्यो ‘कम्युनिकेसन ग्याप’ देखेपछि नेपाली र भोजपुरी दुवै बुझ्ने एक जना अर्कै बिरामीका कुरुवा दोभाषे बन्न राजी भए | तिनै दोभाषेमार्फत डाक्टरले सोधे-खुस्बु निशा, तिम्रो अन्तिम महिनावारी कहिले भएको थियो ? ऊ निरुत्तर थिई | उसलाई कुनै पनि मितिहरू याद छैन | उसलाई ऊ जन्मेको साल त थाहा छैन भने अरु झिनामसिना मितिहरू कहाँबाट याद होउन् ? तल्लो पेटमा बहुत दर्द भइरहेको छ भन्ने जनाउ दिन ऊ झन् जोडजोडले ऐया ऐयाको भाकामा कराइरही, तर सोधेका प्रश्नहरुलाई भने सुनेको नसुन्यै गरीरही | उसले मुख खोलिन भन्दैमा डाक्टरले खोजीनीति गर्न चाँहि छाडेनन् | अन्ततः अस्पतालमा आएपछि पहिलोचोटि खुस्बु निशाको बोली फुट्यो- होला त्यस्तै वैशाख जेठको आसपास ! यतिन्जेल सल्मा सिस्टरले सबै जाँच गरिसकेर खुस्बुलाई बताइसकेकी थिइन्- ओइ खुस्बु, धेरै नचिच्याउ, तिम्रो पाठेघरको मुख राम्ररी खुलिसकेकै छैन | बच्चा निस्कने बाटोको मुखै बन्द छ भने त्यो बाटो कहिलेसम्म खुल्ला र उसले यो दर्द कहिलेसम्म भोग्नु पर्ला भन्ने सवाल खुस्बुको मनमा त उठ्यो तर मनबाट बाहिर निस्कन सकेन | आखिर पाठेघरको मुखझैं उसको बोली झर्ने मुख पनि बन्दप्राय: नै छ | बाहिरिया मान्छेसँग सवालजवाफ गर्न उसलाई वर्जितझैं छ | 

सल्मा सिस्टर तिनै भर्खरका डाक्टरलाई ‘ब्रिफिङ’ गर्दैथिइन्- बच्चा पनि उल्टो बसेको छ | यत्तिकैमा बच्चाको धड्कन सुनिरहेकी आरती सिस्टरले सल्मालाई भनिन्- एकदमै कम छ, दिदी | त्यसको केहीबेरमै एकजना महिला डाक्टर आँधीझैं भित्र छिरिन् | हकिउल्लाहले हदै निहुरिएर ‘नमस्कार डाक्टरसाहेब’ पनि भन्न भ्याएको थिएन, महिला डाक्टरको फैसला आयो- तुरुन्तै अपरेसन गर्नुपर्छ, यहाँ साइन गर्देउ भैया | तर साइन गर्नु त परैको कुरा, उसलाई राम्रोसँग कलम समाउन पनि आउँदैन | ‘सुना कि नही, अब अपरेसन करना पडेगा’ हकिउल्लाहको हात समातेर मन्जुरीनामाको कागजमा औंठाछाप लगाइदिँदै आरती सिस्टरले सम्झाएकी थिइन्, ‘जल्दी से जल्दी दुई पोका खुनके व्यवस्था करिए, नही तो अपरेसन नही होपाएगा और आपके पत्नी और बच्चाके ज्यानको गम्भीर खतरा होगा !’
                    *****

हुनपनि उसका तीनवटा बच्चा यसअघि लगालग खेर गइसकेका थिए | के भएर यस्तो भएको हो, रामोसँग जाँच गरेर हेर्नुपर्छ- पछिल्लोचोटि डेढ महिनामै खेर गएपछि यही अस्पतालको डाक्टरले भनेकी थिइन् | खुस्बु पनि राम्रोसँग चेकजाँच गराउन चाहन्थी | सरकारले ‘डेलिभरी’ फ्रीमा गराइदिन्छ भन्ने सुनेको हकिउल्लाहलाई लागेथ्यो- यी जाँचहरु पनि बिनापैसा नै भइहाल्छन् | ऊ सबै चेकजाँच गराउन ‘रेडी’ थियो | तर ऊ ‘रेडी’ हुनु के थियो, डाक्टरले भनिन्- हेर भैया, यस्ता जाँचहरु सरकारी अस्पतालमा हुँदैनन्, बाहिर प्राइभेटमा जानुपर्छ | उसले उत्निखेरै आश मारेको थियो | प्राइभेटका किस्साहरु उसले देहातमा धेरै सुनेको छ | प्राइभेट भनेको मन्त्री र नेताका लागि मात्रै हो; गल्तीले एकचोटि प्राइभेटको ढोकाभित्र छिर्यो भने मान्छे निस्कने कङ्गाल भएपछि मात्रै हो | यस्तै यस्तै... अनि कति किस्साहरु त उसले सुनेर पनि भुलिसक्यो |

खुस्बुसँग अब आफ्नो मर्दसित थप भन्नलाई केही बाँकी थिएन किनकि त्यो मर्दले घोषणा गरिसक्यो- अहिले पैसा पुग्दैन, अब घर जाम्, अर्कोचोटि आएर गरौंला | यो साला पेटले मेरो मर्दलाई हुनसम्म दुख दिएको छ, खुस्बुले मनमनै मनोवाद गरी | ‘त्यही पेट पाल्न उसले बयालीस डिग्रीको घाममा रिक्सा ठेल्नुपरेको छ | आजकल त झन् उसको रुटमा माइक्रोभ्यान छिरेदेखि व्यापार पूरै चौपट भएको छ | १५ रुपियाँमा माइक्रो चढ्न पाएपछि कुन मुर्खले ६० रुपियाँ तिरेर रिक्सा चढोस् ? भएन भनेर सालैपिच्छे बढ्ने मेरो पेट अनि सालैपिच्छे तुहिने मेरो गर्भले बिचरा यो एक्लो मर्दलाई कति टेन्सन !’- खुस्बुले बाटैभरि आफैंसँग गन्थन गरिरही |

त्योचोटि त त्यस्तै भयो, योचोटि पनि कतै त्यस्तै नहोस् भनेर पूरै परिवारले रातदिन अल्लाहसँग प्रार्थना गरिरहेको थियो नौ महिनाभरि | तर योबीचमा त्यो परिवारले दुई घण्टाको बाटोमा रहेको हेल्थपोस्टमा गएर एकचोटि पनि देखाएन | देखाउँदै नदेखाएपछि आइरन क्याल्सियमका चक्की र टिटीका सुई पाउने पनि कुरै भएन |
                    *****

दुई पोका खुनको खोजीमा उसले दिनभरि गरेर लगभग आठ-दशचोटि चक्कर मारिसक्यो रेडक्रसको | चक्कर जति मारेपनि व्यवस्था भने एउटै पोकाको पनि भएको छैन | अस्पतालको ब्लड ब्यांकले एबी पोजिटिभ ग्रुपको रगत छैन भनेपछि त्यहाँको आश मारेर ऊ करिब ६ बजेतिर रेडक्रस पुगेको हो | रेडक्रस, जहाँ उसले एकैचोटि हर्ष र विस्मातका दुईवटा खबर पायो | हर्षको कुरा यो थियो कि त्यो ग्रुपको रगत त्यहाँ जति पनि उपलब्ध थियो | तर दुखको कुरा त्यो खुन लैजान पैसा तिरेर होइन, खुनै तिरेर मात्र सम्भव थियो | रेडक्रसको कर्मचारीले प्रष्टसँग भनेको थियो- खुनको बदला खुन; तिमीलाई हामी एबी ग्रुपको रगत दिन त दिन्छौं तर त्यसको लागि तिमीले आफ्नो रगत हामीलाई दिएर ‘रिप्लेस’ गर्नुपर्छ | ऊ छाँगाबाट खसेजस्तै भयो | खुन दियो भने त एक्कासि हड्डी कमजोर हुन्छ, दुई-चार हप्तामै सबै हड्डीहरु एकसाथ प्याट्टै भाँचिन्छन् अनि खुन सक्किंदै सक्किंदै एक महिनामै मान्छे सलाईको काँटीजत्रो हुन्छ र मर्छ, उसले देहातका बुज्रुकहरुको कुरा सम्झ्यो | सम्झेर बेस्सरी झस्क्यो | अहँ, खुन दिने काम त हरहालतमा नगर्ने | उदास अनुहार लिएर ऊ अस्पताल फर्क्यो |  

तिमी उसको मर्द हो कि होइन- फाइलहरुमा स्टिच मार्दै यताउता गरिरहेकी सल्मा सिस्टरले झपार्दै सोधिन् | हकिउल्लाहले मुन्टो हल्लायो | अनि तिम्रोलागि आफ्नो बुढिया र सन्तानको ज्यान प्यारो छ कि छैन ? उसले फेरि यन्त्रवत् मुन्टो हल्लायो | अनि आफ्नै बुढिया र आफ्नै सन्तानको ज्यानको लागि खुन दिँदा तिमी मर्छौ ? एकपछि अर्को प्रश्नहरु फायर हुँदै गए | यसपटक पनि उसले त्यसैगरी मुन्टो हल्लायो | खुन दिँदा म मर्छु भनेको हो कि मर्दिन भनेको, सल्माले खुट्याउन सकिनन् | खुस्बुको खुल्न नसकेको पाठेघरको मुखले हो या अरु केहीले, अरुबेला बहुतै ट्याउँ ट्याउँ गरिरहने हकिउल्लाहको मुख पनि आज खुल्नै सकेको छैन |     

‘बुढियाको लागि अहिले खुन दिएर के गर्ने, खुन दिनेबित्तिकै मेरा हातगोडा कमजोर भइजान्छन् | हातगोडा नचलेपछि के चलाएर काम गर्ने, परिवारलाई के खुवाएर पाल्ने ?’ आफ्नो बोलीमा दम दिंदै ऊ पहिलोचोटि कस्सियो, ‘खुन दिएको शरीरले रिक्सा चलाउन सकिन्छ ?’ सुनेर ती भर्खरका देखिने डाक्टरहरु पहिला त गलल्ल हाँसे | अनि एकैछिनमा घोर विस्मित् पनि भए | कस्तो अन्धविश्वास हो यो- एकआपसमा कानेखुशी गरे उनीहरुले | बटारिएका पाखुरा अनि खम्बाजस्ता बलिया तिघ्रा भएको हकिउल्लाहलाई खुन दिएमा पोलियो लागेको अपांग भइन्छ वा मरिन्छ भन्ने जब्बर विश्वास थियो | त्यसो होइन भैया भनेर सिस्टरहरुले लाख सम्झाए, झन् बेलाबेला रक्तदान गर्नाले आफ्नो शरीरलाई फाइदा पो हुन्छ भनेर डाक्टरहरुले उसको अन्धविश्वास चिर्न गर्नुसम्म प्रयास गरे, तर अहँ, ऊ मान्नेवाला थिएन | यता सबै मिलेर उसलाई रक्तदानबारे पुराण सुनाइरहेछन्, उता ऊ अर्कैतिर फर्केर टोलाइरहेको छ | मानौं उसलाई लागिरहेको छ- यिनीहरु सब मलाई फाल्तु गफ दिएर फकाउँदै छन्, तर थाहा त मलाई छ नि, आफ्नो जीउको खुन दिएर पनि कहीं राम्रो हुन्छ ?
                    *****

बाहिर शीत परिरहेको छ र घोर अँध्यारोले राज गरेको छ | अनि ऊ चियाइरहेको छ ‘लेबर वार्ड’ को ढोकाबाहिरबाट भित्रतिर | भित्र उज्यालो छ | तर उसलाई भित्र जान रोक छ | उसले बाह्रखरी जानोस् वा नजानोस्, ‘लेबर वार्ड’ को ढोकाबाहिर कालिगढले ढुंगामा खोपेको अक्षरसरह प्रष्ट लेखिएकै छ- पुरुषलाई प्रवेश निषेध | योपालि पनि अब गर्भ तुहिने नै भयो, सोचेर ऊ सिरिङग हुन्छ | हो नि, दुई पोका खुनले योपालिको आशामा पनि बाँध लाउन खोजिरहेको छ | एक्कासि बुढियालाई भेट्ने तीव्र लालसा जागेर आउँछ | उसलाई डरको आभाष भइसकेको छ- भित्र गएकी बुढिया कतै कहिल्यै नफर्किने गरी गएकी त होइन ? बेचैनी यति बढ्छ कि आँखै त्यहीं ओछ्याउँछ र क्वारक्वार्ती हेरिरहन्छ ढोकाको सिसाबाट, केहीगरी भित्र छिर्न दिई पो हाल्छन् कि भनेर | भित्र भने सिस्टरहरु एकआपसमा गफिँदै छन्- कस्ता निर्दयी मान्छेहरु हुन्छन् है संसारमा, आफ्नै स्वास्नीको लागि जाबो रगत पनि दिन नसक्ने !


खुस्बुको अवस्था थप बिग्रिँदै थियो | बच्चाको धड्कन अरु कम हुँदै थियो | अब अपरेसन थिएटरै लगेपनि ‘जे पनि हुनसक्ने’ चरणमा पुगिसकेको थियो स्थिति | यत्तिकैमा सुरुमा खुस्बुको ‘हिस्ट्री’ लिएको एकजना इन्टर्न डाक्टरले झट्ट सम्झ्यो- मेरो पनि त एबी पोजिटिभ हो नि | हकिउल्लाहलाई साथ लिएर ऊ सरासर ब्लड ब्यांक गयो, रगत जाँच गरायो र एक पोका खुन दान गर्यो | यसरी एकाएक खुस्बु निशाका लागि एक पोका खुनको व्यवस्था भयो | मन थाम्नै सकेन हकिउल्लाहले | गहभरि आँशु भरियो उसको | त्यो डाक्टरलाई ‘धन्यवाद डाक्टरसाहेब’ पनि भन्न सकेन | तर ठीक यही घडीमा उसले बुद्धत्व प्राप्त गर्यो | सर, मेरो पनि खुन झिकिदिनुस् – त्यो बटारिएको पाखुरा ब्लड ब्यांकको कर्मचारीतिर स्वतस्फूर्त तेर्सिन पुग्यो | तर खुन झिक्दैगर्दा उसलाई एउटा अनौठो डरले भने सताइरह्यो- बाइचान्स मेरो खुनको ग्रुप मिलेन भने ? 

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong