........................................................................with words, with issues!!!

Sep 19, 2015

माथेमा प्रतिवेदन कार्यान्वयन गर !

First published in Nagarik 

करिब एक महिनाअघि उपत्यकाबाहिरको एउटा निजी मेडिकल कलेजमा मेडिकल काउन्सिलको अनुगमन टोली आउन लागेको हल्ला चल्यो | हल्लाको स्रोत के थियो, कहाँ थियो, कलेज व्यवस्थापनलाई बाहेक कसैलाई पनि थाहा थिएन | तर त्यहाँका डाक्टर, नर्सलगायत सबैजसो स्टाफहरुलाई ‘स्ट्याण्ड बाइ’ बस्न निर्देशन आइसकेको थियो | रातारात सीमापारिबाट ‘खडेबाबा’ भनिने डाक्टरहरु झिकाइसकिएका थिए | सुन्दा अतिरन्जित सुनिएला, तर ठीक त्यहीबेला मेरो दिमागमा चाँहि बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ को एउटा कमेडी दृश्य फनफनी घुमिरहेको थियो जहाँ मुन्नाभाइको चरित्र निभाएका संजय दत्तले गाउँबाट आफ्ना बाआमा आउँदा उनीहरुलाई झुक्याउन केहीबेरमै एउटा बडेमाको हस्पिटल ठड्याइदिन्छन् |

हेर्दा रमाइलो देखिने पर्दाको त्यो दृश्यले ‘क्लिक’ गर्नुका खास कारणहरु थिए | उताको रमाइलो दृश्यमा छोराको अनुगमन गर्न बाआमा आउँदा सहरको कहलिएको डन छोराले नक्कली डाक्टर बनेर आफ्नै बाआमालाई ठगिरहेको हुन्छ | यता मेडिकल कलेजको ‘ट्रयाजिक’ दृश्यमा भने देशकै कहलिएका साहुजीहरु मेडिकल काउन्सिललाई ठगिरहेका छन् | फरक यत्ति कि उता ठगिनेहरुलाई ठगिएको पत्तै छैन, यता ठगिनेहरु ठगिएको चाल पाउँदापाउँदै पनि ठगिनुमै आनन्द मानेर बसिरहेका छन् |

त्यसको भोलिपल्ट सम्भावित अनुगमनको दिन थियो | सबै ‘खडेबाबा’ हरु सेतो कोट भिरेर अनुगमन नामको त्यो नाटकमा आ-आफ्नो भूमिका कुशलतापूर्वक निभाउन तयारी हालतमा थिए | एकाधजना बिहानको वार्ड-राउण्डमा सहभागी भए | केहीले विद्यार्थीलाई पढाए, तिनै विद्यार्थीलाई जसले ती खडेबाबाको नाम त सधैंभरि ओपिडी छेउको नेमप्लेटमा देख्दथे, तर ‘दर्शन’ भने कहिल्यै पाउँदैनथे | अनि बाँकी एकाधजना ओपिडीमा बसे | बस्नु के थियो, कतिबेला त्यो अनुगमन आउला र आफ्नो अभिनय प्रस्तुत गरौंला भनेर प्रतिक्षामा थिए | तर अहँ, उनीहरु कुरिरहे मात्रै, अनुगमन आएन | पर्सिपल्ट पनि आज चाँहि पक्कै आउला भनी दिनभरि प्रतिक्षामै दिन गुजारे | तर अहँ, त्यसदिन पनि ‘धोकेबाज’ अनुगमन आएन | व्यवस्थापनलाई लाग्यो- हाम्रो स्रोतले झुक्याएछ क्यार ! झुक्याउनका लागि ल्याइएका ‘खडेबाबा’ हरु अर्काको झुक्याइमा परेर चौथो दिनमा अन्ततः घर फर्के |

ढाँटछलको यो खेलमा सबैभन्दा पीडित कोही थिए भने ती सोझासाझा बिरामीहरु थिए | ‘खडेबाबा’ का लागि त के थियो र, दुई दिनका लागि आए, गए | सीमापारि ‘रिटायर्ड लाइफ’ बाँचिरहेका थिए | यता आए, घुमे, ‘इन्जोय’ गरे, फ्रेस भए अनि खर्चपानी उठाएर फर्के | तर दुख पाए ती बिरामीहरुले जो त्यसदिन डिस्चार्ज हुने तय भइसकेर पनि अनुगमनको यही चक्करमा व्यवस्थापनले थप तीनतीन दिनसम्म अस्पतालमै रहन बाध्य पार्यो | अर्को शब्दमा भन्दा अनुगमनमा बढी बिरामीचाप देखियोस् भनेर अस्पतालमै बन्धक बनायो |

यस्ता अनुगमनका बेला इन्टर्न डाक्टरहरुको पनि आफ्नै दुख छ | डिस्चार्ज हुनलागेका बिरामीहरुको डिस्चार्ज कागज बनाइदिनु यिनको दैनिकको काम हो | तर यो कामको आयातन ह्वात्तै बढ्छ अनुगमनको पूर्वसन्ध्यामा | इन्टर्नहरुलाई एकाएक आदेश आउँछ- दर्जनौंको संख्यामा ‘नक्कली डिस्चार्ज’ का कागज बनाउने, ताकि हाम्रो कलेजमा थेगिनसक्नुको बिरामीचाप छ, सीट बढाइदे भनेर माग गर्न सजिलो होस् | बिरामी नक्कली, रोग नक्कली, उपचार नक्कली अनि कागज नक्कली | हुनत अलिक ध्यान दिएर हेर्यो भने कुन ‘डिस्चार्ज कागज’ नक्कली, कुन सक्कली, छुट्याउन नसकिने कुरै छैन | तर अनुगमनकर्ताहरु नै नक्कली अनुगमन गर्न आएपछि कसको के लाग्छ ?

पूर्वसूचना दिएर आउने अनुगमन सक्कली अनुगमन हुनैसक्दैन | तँसँग यो पूर्वाधार रहेनछ, फ्याकल्टी रहेनछ, यति दिन्छस् कि सीट घटाइदिउँ भनेर बार्गेनिङ गर्ने अनुगमन सक्कली अनुगमन हुनैसक्दैन | यो त उही काले काले मिलेर खाउँ भालेको कुरूप ठगीधन्दा मात्रै हो |

यसरी विधार्थीको पढाइभन्दा अनुगमनको कर्मकाण्डतिर बढी ध्यान गएपछि त्यो कलेजले कसरी राम्रा डाक्टरहरु उत्पादन गर्ला ? सक्कली बिरामीको उपचारभन्दा नक्कली बिरामीको ‘डिस्चार्ज कागज’ बनाउनतिर बढी हतारो भएपछि त्यहाँको सेवाको स्तर कस्तो होला ? नियमन गर्ने जिम्मेवारी बोकेको काउन्सिल नै कसैले पानसुपारी टक्र्याउनेबित्तिकै पथभ्रष्ट भइदिएपछि उसले गर्ने अनुगमन कस्तो होला ? अनि सम्बन्धन दिने विश्वविद्यालय नै नेताजीका प्राइभेट प्राज्ञहरुको भर्तीकेन्द्र बन्न थालेपछि समग्र देशकै चिकित्साशिक्षा र स्वास्थ्यसेवा कहाँ जाला ?

डा. गोविन्द केसीको जीर्ण शरीरले पटकपटक अनसन बस्नुपरिरहेको यस्तै ठगीधन्दाका मालिकहरु र तिनलाई खुल्लमखुल्ला प्रश्रय दिने सरकारले गर्दा हो | विगतमा उहाँकै संघर्षको बलमा माथेमा आयोग बन्यो र गहिरो अध्ययनपछि सरकारलाई आफ्नो प्रतिवेदन बुझायो | जसरी १०० वर्षभन्दा अघि अमेरिकामा बनेको फ्लेक्स्नर आयोगको रिपोर्ट कार्यन्वयनले त्यहाँको चिकित्सा क्षेत्रमा कायापलट भयो, नेपाली फ्लेक्स्नर आयोगको यो रिपोर्ट कार्यान्वयनले पनि त्यस्तै कायापलटको क्षमता राख्दछ | तर यो रिपोर्ट नै तुहाउन भइरहेका जालसाझीहरु सतहमै प्रकट भइरहेका छन् |

निसन्देह यी जालसाझीहरु तिनै ठगीधन्दाका मालिकहरुबाट भइरहेको छ भनेर बुझ्न कुनै अप्ठ्यारो छैन | किनकि यो लागू भयो भने फ्याकल्टीहरु ओपिडीको अगाडि नाम झुन्ड्याउने बोर्डमा मात्रै राखेर पुग्नेछैन | मौसमी अनुगमनका बेला सीमापारिबाट खडेबाबाहरु झिकाएर पार लाग्नेछैन | बरु विद्यार्थीलाई पढाउने र सीप सिकाउने पूर्णकालिन शिक्षकहरु राख्नुपर्नेछ | बस र माइक्रोहरुले जति सकिन्छ, त्यति प्यासेन्जर कोचेर चलाएजस्तो कक्षामा जति सकिन्छ त्यति विद्यार्थी कोचेर मेडिकल कलेज चलाउन पाइनेछैन | वार्षिक रुपमा एमबीबीएस कार्यक्रममा बढीमा १०० जना अनि बिडीएसमा बढीमा ५० जना मात्रै लिन पाइनेछ | अनि बेनीदेखि उपल्लो मुस्ताङसम्मको बाटोमा त्यहाँको संगठित गिरोहले मनलाग्दी पैसा असुलेर यात्रु लुटेजस्तो यी कलेजहरुले मनलाग्दी शुल्क लिएर विद्यार्थी लुट्न पाइनेछैन | एमबीबीएसको अधिकतम शुल्क ३५ लाख र बिडीएसको १८ लाख मात्रै लिन पाइनेछ | लिलाम बढाबढमा जसले धेरै बोल्यो, उसैलाई सीट बेचेर जेहेन्दारलाई पाखा लाउन पाइनेछैन | एकचोटि पैसा तिरेर विद्यार्थी भर्ना भइसकेपछि उसलाई भर्सेला परोस् भन्न पाइनेछैन | सिकाइमैत्री वातावरणको निर्माण गरेर उच्च उत्तीर्ण दर कायम गर्नुपर्नेछ | नगरे विश्वविद्यालयबाट सम्बन्धनको खारेजी हुनेछ |

तर यी सब तब हुनेछन् जब हामी सबैको संगठित प्रयासमा यो ठगीधन्दाका मालिकहरुको जालसाझी असफल हुनेछ र माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन हुनेछ | नत्र भने चिकित्साशिक्षा पढ्न आउने आगामी पुस्ता पनि अरु कैयौं वर्षसम्म यही ठगीधन्दाको सिकार भइरहने छ |

माथि भनिएकै कलेजमा हाल तेस्रो वर्ष एमबीबीएसमा अध्ययनरत एक विद्यार्थीले केहीअघि साथीभाइसँग आफ्नो फ्रस्टेसन पोख्दै थिए | भएछ के भने प्लस टूमा छँदा जुलोजीको ल्याबमा भ्यागुता डाइसेक्सन गरेका उनलाई एमबीबीएस पहिलो वर्षमा मानव लास अर्थात् क्याडाभर डाइसेक्ट गरेर हेर्ने उत्पात रहर थियो | १५० जनाको कक्षालाई १ ग्रुपमा २५ जना पर्नेगरी ६ ग्रुपमा बाँडिएको थियो | पहिलो ग्रुपका विद्यार्थीले त त्यो धेरथोर गर्ने र हेर्ने मौका पाएछन् | अफसोच उनी पाँचौ ग्रुपका थिए | पाँच दिनपछि उनको ग्रुपको पालो आउँदा त पूरै डाइसेक्ट भइसकेको त्यो क्याडाभरको उनीहरुले फगत दर्शन गरेजस्तो मात्र भयो | रहर मारेर बस्नुपर्दा निकै फ्रस्टु भए उनी | तैपनि ठीकै छ नि त, दोश्रो वर्षमा गरौंला भनेर जसोतसो चित्त बुझाउने बाटो पाए | तर दोश्रो वर्षको पहिलो दिन नै तब तीनछक परे जब ठूलो उमंगका साथ एनाटोमी प्राक्टिकल ल्याब छिर्दा उही पुरानै डाइसेक्ट भइसकेको क्याडाभर देखे | अहिले उनी तेस्रो वर्षमा फरेन्सिक साइन्स पढिरहेका छन् | र उनलाई थाहा छ यो पनि किताब मात्रै पढेर पास गर्नुछ | आजसम्म उनका कुनै पनि सिनियर ब्याचहरुलाई पोस्टमार्टम गरेको देखाउन, सिकाउन नजिकैको जिल्ला अस्पताल लागिएको छैन भने उनको ब्याच कुन विशेष ब्याच हो र कलेजले लगोस् ? अब त उनी यस्तै शैक्षिक वातावरणमा अभ्यस्त भइसकेका छन् | यहाँबाट पास भएर निस्केपछि मेडिकल अफिसर भएर जिल्लाहरुमा काम गर्न जाँदा कसरी पोस्टमार्टम गरिने हो, त्यो त्यसैबेला देखाजायगा भनेर ढुक्कसँग बसेका छन् |

आज गोविन्द केसीको नाम मात्रैले पनि मानिसको जीवनमरणसँग जोडिएका यी यावत कुराहरुमा एक हदसम्म जनताको अभिरुचि जागृत गरेको छ | यसलाई अरु व्यापक र गहिरो पार्नुपर्छ | देखाजायगा भनेर ढुक्कसँग बस्ने अवस्था छैन | आशाको यो दीपलाई कसैगरी पनि निभ्न दिनुहुन्न |





0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong