........................................................................with words, with issues!!!

Jul 28, 2017

सहकर्मीको आँखामा अछाम अस्पतालको मुहार फेर्ने डा. बराल

First published in SwasthyaKhabar
करीब अढाई वर्ष अछामवासीको सेवा गरेर हिजोमात्रै (साउन ८ गते) डा. शरदचन्द्र बराल अछाम जिल्लाबाट बिदा हुनुभयो | वीर अस्पतालमा इन्टरनल मेडिसिन विषयमा एमडी गर्न तीन वर्षका लागि उहाँ अध्ययन बिदामा जानुभएको हो | यो लेखिरहँदा म बिदाइ समारोहको त्यो भावुक क्षण सम्झिरहेको छु जहाँ अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका सबै कर्मचारीहरुका आँखाका चेपहरु रसाइरहेका थिए | वास्तवमा हरेक कर्मचारीको बिदाइ हुँदा सम्बन्धित कार्यालय दुख अनि विछोडको पीडामा डुब्छ, त्यो स्वाभाविक पनि हो ! किनकि त्यो कार्यालय अनि कार्यालयका हरेक कर्मचारीसँग बिदाइ भइ जाने कर्मचारीको भावना जोडिएको हुन्छ, स्मृति गाँसिएको हुन्छ अनि बनेको हुन्छ एकप्रकारको अटुट सम्बन्ध ! तर डा. बरालको बिदाइमा हामी सबैले अतिरिक्त दुखको महसुस गर्यौं | त्यो सायद उहाँले वर्षौंवर्षका लागि सम्झनलायक कामहरु गरेर गएकाले, यहाँको माटोमा आफ्नो विशिष्ट पदचाप छाडेर गएकाले अनि समग्र जिल्लालाई स्वास्थ्यको क्षेत्रमा राष्ट्रिय मानचित्रमा अगाडि ल्याइदिनुभएकोले नै हो कि?
डा. बराल अर्थात् जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुखको बारेमा धेरैथोक यसअघि नै लेखिइसकेको छ | कसरी उहाँको नेतृत्वक्षमताको बलमा छोटो समयमै अछामले छलाङ हान्न सक्यो अनि जिल्ला अस्पताल मात्र होइन, जिल्ला स्वास्थ्य कार्यालय पनि देशभरमै उत्कृष्ट सावित भयो भन्ने कथा साँच्चै नै प्रेरणादायी छ |
व्यक्तिगत रुपमा मैले पनि करिब दुईवर्ष अछाम जिल्ला अस्पतालमा उहाँसँगै रहेर काम गर्ने मौका पाएँ | म गौरवान्वित छु कि यो अवधिमा उहाँबाट थुप्रै कुराहरु सिक्न सकें | क्लिनिकल कुराहरु त भइहाले, संगसंगै दुर्गमको स्वास्थ्यप्रणालीका व्यवस्थापकीय पाटोसम्बन्धि अमूल्य पाठहरु सिकाएर जानुभएको छ | उहाँको सबैभन्दा महत्वपूर्ण सन्देश थियो- ‘भद्रगोल सिस्टममा कम्प्लेन गरिरहन र समस्या देखाइरहन सजिलो छ, त्यो जसले पनि गर्न सक्छ ! त्यसैले हाम्रो काम यो भएन र त्यो भएन भन्ने होइन, आफ्नो बलबुताले भ्याएसम्म सकारात्मक सोचाइ राखेर समाधान खोज्ने हो !’ र हो पनि, यो सोचाइ उहाँको व्यवहारमा ठ्याक्कै प्रतिविम्बित हुन्थ्यो | उहाँले काम गर्ने दौरान कति बाधा-व्यवधानहरु आए, तर कहिल्यै पनि उहाँले हार मान्नुभएन | ह्या, यो सिस्टममा रहेर काम गर्ने वातवरण नै छैन भनेर बहानाबाजी गर्नुभएन बरु नयाँ नयाँ रचनात्मक आइडियाहरु फुराउँदै जानुभयो | हामीलाई सधैं भन्नुहुन्थ्यो- हामी पनि भागेर गयौं भने यो देशमा गर्ने कसले ? त्योबेला मलाई सधैं लाग्थ्यो- देशको भविष्य हामीजस्तै युवापुस्ताको हातमा छ; गर्ने हामीले नै हो ! गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण डा. बराल हाम्रैअगाडि हुनुहुन्थ्यो |
सामान्यत: सरकारी अस्पताल भन्नेबित्तिकै हाम्रो मानसमा एक किसिमको नकारात्मक छाप परेको हुन्छ | फोहोर, दुर्गन्ध, घन्टौको लाइन, डाक्टर नभेटिनु, औषधि नपाइनु- झट्ट सम्झिंदा आम मानिसको मनमा आउने चित्र यस्तै हो | तर डा. बरालले अछाम जिल्ला अस्पतालको नेतृत्व सम्हालेयता आम मानिसले सोच्ने यो चित्रमा भारी बदलाव आयो | स्थानीयहरुले सरकारी निकायमा पनि काम हुँदोरहेछ, गुणस्तरीय सेवा प्रवाह हुँदोरहेछ भनी विश्वास गर्न थाले | म स्वयंलाई यहाँ आउनुअघि लागेको थियो- ‘दुर्गमको सरकारी अस्पताल भनेपछि के नै गतिलो होला र ? दिउँसो बिरामी हेर्ने अनि बिहानसाँझ पीपी (प्राइभेट प्राक्टिस) गर्ने, यसरी नै १ वर्ष काट्ने अनि घरपायक मिलाएर सरुवा गर्ने !’ तर यहाँ आएको १ महिनामै डा. बरालको सोच र कामगराइ देखेर मैले आफ्नो सोच र योजना बदलें | सरकारी स्वास्थ्य संस्थालाई जनताले विश्वास गर्नलायकको भरोसायोग्य ठाउँ बनाउनुपर्छ भन्ने डा. बरालको सोचले मलाई प्रभावित गर्यो र मैले पनि उहाँकै पाइला पछ्याउंदै आफ्नो पूरै समय जिल्ला अस्पताललाई नै समर्पित गरें |
पक्कै पनि अछामले पाएको सफलताको हकदार जिल्ला स्वास्थ्य कार्यालयको पूरै टीम हो | एकजना व्यक्तिको एकल प्रयासले मात्र त यो सम्भव हुने कुरा होइन | तर नेतृत्वमा को छ भन्ने कुराले धेरै कुरा फरक पार्ने रहेछ | काम गरेर देखाउने स्पिरिट भएको जुझारु टीम हुँदाहुँदै पनि नेतृत्वमा रहेको ‘म्यानेजर’ गतिलो भएन भने त्यो जुझारु टीमको परिचालन राम्रोसँग हुनसक्दैन, समन्यव सही ढंगले हुनसक्दैन अनि फलस्वरूप परिणाम राम्रो हात लाग्दैन |
इमान्दारिता, नेतृत्वक्षमता र काम गर्ने भिजन- यी तीन कुराको त्रिवेणी हुनुहुन्थ्यो उहाँ | बिहान सबेरै कोठाबाट निस्केपछि दिनभरि अस्पतालकै काममा खटिने र एकैचोटि राति अबेर मात्रै कोठा फर्कने उहाँको यो खट्न सक्ने क्षमता देखेर म धेरैचोटि छक खाएको छु | आर्थिक मामिलामा पनि उहाँ यति पारदर्शी र ‘क्लिन’ निस्किनुभयो कि कसैले पनि उहाँलाई योबीचमा यो विषयमा औंलो ठड्याउन सकेन | समन्वयात्मक ढंगले काम गर्ने शैली र सामूहिक लक्ष्यप्राप्तिको भावनाका कारण नै उहाँ अस्पताल व्यवस्थापनको कुनै औपचारिक शिक्षाबिना पनि यस क्षेत्रमा अब्बल सावित हुनुभयो |

तर हामीकहाँ कुनै एक विन्दुमा एकजना गतिलो म्यानेजर आइपुग्दा संस्थाले फड्को मार्ने अनि केही समयपछि ऊ अन्तै जाँदा संस्था पुरानै हालतमा फर्केका उदाहरणहरु पनि छन् | एउटा कुशल म्यानेजरको विशेषता भने के पनि हो भने उसले आफ्नो कार्यकालमा एउटा यस्तो प्रणालीको विकास गर्नुपर्छ जसअनुसार उसको पदमा व्यक्ति जोसुकै आओस् त्यसले संस्थाको कामगराइमा कुनै फरक नपारोस् ! ऊ हुँदा राम्रो हुने र उसले छोडेर जानेबित्तिकै संस्था चौपट हुनथाल्यो भने ऊ कुशल म्यानेजरमा गनिदैन | यसप्रकार डा. बरालले यो अढाई वर्षमा त्यस्तो प्रणालीको विकास गर्नसक्नुभयो या भएन, त्यो आगामी दिनमा अछामको ‘पर्फर्मेन्स’ ले बताउने नै छ | अहिलेलाई भने हामीले उहाँलाई यति आश्वास्त पार्न चाहन्छौं कि तपाईंले छोडेर जानुभएको विरासतलाई हामीले पक्कैपनि अझ उन्नत ढंगले अघि बढाउने नै छौं ! र आशा छ- एमडीको अध्ययनपछि पनि विशेषज्ञ सेवा दिन यस्तै दूरदराजका ठाउँ आउनुहुनेछ, विकटका बिरामीको सेवामा समर्पित हुनुहुनेछ र मजस्तै युवापुस्ताका भाइहरुलाई प्रेरणा र हौसला दिँदै थप डा. बरालहरु जन्माइरहनुहुनेछ !

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong