First Published in SwasthyaKhabar
प्रसंग गत अषाढ महिनाको हो ! पेट दुख्ने
समस्या लिएर एक अधबैंसे महिला मेरो ओपिडीमा आइन् | हातमा एक झोला कागजात पनि साथै
बोकेकी थिइन् | ‘हिस्ट्री’ लिँदै जाँदा थाहा भयो- केही महिनाअघि मात्रै ‘बम्बै’ मा
उनको पाठेघर निकाल्ने अपरेसन भएको रहेछ र यी कागजातहरु त्यही अपरेसनसँग सम्बन्धित
थिए | यहाँका हरेक बिरामीलाई लाग्छ- मेरो त १० वर्षअघि फलानो अपरेसन भएको थियो,
कतै त्यही अपरेसन बिग्रेर त आज मलाई यस्तो भएको होइन? स्वाभाविक हो, यी अधबैंसे महिलालाई पनि लागेछ- कतै मेरो अपरेसन
बिग्रेर पो......
अनि म लागें ‘हिस्ट्री’भित्र पनि त्यो
अपरेसनको ‘हिस्ट्री’ लिन ! उनको योनीबाट बाक्लो सेतो पानी बग्ने, तल्लो पेटको
दायाँबायाँ दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने भएको एक-दुई महिनाजसो भएको रहेछ |
गाउँको स्वास्थ्य केन्द्र गएर औषधि सेवन पनि गरिछन् | केही समय त ठीक भएछ तर फेरि
बल्झेपछि बम्बै बस्ने श्रीमानले उतै बोलाए अरे | एक पन्थ दुई काज भनेझैं
श्रीमानसँग भेटघाट पनि हुने र उपचार पनि हुने सोचेर उनी बम्बै लागिन् | बम्बैको एक
अस्पतालमा देखाइन् जहाँ उनलाई पाठेघरमा ठूलो घाउ भएको र तुरुन्त अपरेसन गरी पाठेघर
निकाल्नुपर्ने नत्र ज्यानै जानसक्ने त्रास देखाइयो | अन्ततः अपरेसनका लागि उनीहरु
राजी भए र उनको पाठेघर निकालियो |
अनि मैले उनको त्यो रिपोर्टवाला झोला
खोतल्न थालेँ | ‘ठूलो घाउ’ भनेको के रहेछ भनेर अल्ट्रासाउण्ड रिपोर्ट पनि हेरें |
तर त्योलगायत सबै रिपोर्टहरु नर्मल लिमिटभित्रै थिए | Diagnosis मा PID (Pelvic
Inflammatory Disease) लेखिएको थियो | लक्षण तथा जाँचका आधारमा उनको रोग PID नै
थियो सम्भवतः ! तर प्रश्न यो छ कि, त्यत्तिकै आधारमा पाठेघर नै निकाल्नुपर्ने
आवश्यकता थियो त ?
PID अर्थात् स्त्री प्रजनन प्रणाली
(Female reproductive tract) को माथिल्लो भागको संक्रमण ! अझैं बुझिनेगरी भन्दा
Neisseria gonorrhea र Chlamydia trachomatis जस्ता ब्याक्टेरियाको संक्रमणबाट
पाठेघर, डिम्बबाहिनी नली र अण्डासयजस्ता अंग प्रभावित हुने रोग ! यति लेखिसकेपछि
यो पनि थपिहालौं, यस्तो संक्रमणको उपचार एन्टिबायोटिकद्वारा गरिन्छ, नकि त्रास
देखाएर तत्काल अपरेसनद्वारा |
यहाँनेर पाठेघर निकालिएकोप्रति मैले किन अतिरिक्त
शंका गरेको भने यस्ता केसहरु मैले अछामको दुई वर्षे बसाइँमा धेरै देखिसकेको छु |
कसैका मृगौला झिकिएका हुन्छन्, कसैका पाठेघर अनि कसैका पित्तथैली | Indications
भएर अपरेसन गरिँदो हो त यहाँ प्रश्नै उठ्ने थिएन | त्यो बिरामी बचाउने महान् काम
ठहरिन्थ्यो र त्यसको सराहना गरिन्थ्यो | तर एकथोक समस्या लिएर आएको बिरामीलाई बिनाकारण
नै तिम्रो फलानो अंग बिग्रेको छ, निकाल्नुपर्छ भनेर त्रास देखाउने अनि मोटो रकम
असुलेर अपरेसन गरिदिने....बम्बैमा धेरै सोझासिधा सुदूरपश्चिमेलीको नियति नै यही बनेको
छ | मृगौला तस्करीहरुको समाचार सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेलगायतका जिल्लाहरुमा
सीमित भइरहेको बेला कतै बम्बैका ती अस्पतालमा पनि यस्ता गिरोहको जालो त छैन, शंका
गर्नुपर्ने भएको छ |
हालै एकजना दिदीसँग यसै विषयमा कुरा चल्दा
आफ्नो दुखद अनुभव सुनाउँदै हुनुहुन्थ्यो | भन्नुहुन्थ्यो- ‘मेरो एकजना अंकललाई
मृगौलामा ट्युमर छ भनी मृगौला निकालियो भारतको एक अस्पतालमा | तर अपरेसनपश्चात
उहाँ बाँच्नुभएन |’ हुनत हरेक सर्जरीका केही न केही जटिलताहरु पक्कै हुन्छन्; जतिसुकै
नाम कमाएको सर्जनले अपरेट गर्दा पनि कहिलेकाहीँ मृत्यु नै हुनसक्ने सम्मको जोखिम त
रहन्छ नै | तर जब यस्ता घटनाहरु निश्चित ठाउँमा नियमित दोहोरिरहन्छन्, तब
सोच्नुपर्छ- दालमे कुछ काला है !
म कार्यरत जिल्ला अस्पताल अछामबाट कुनै
केस रिफर गर्नुपर्यो भने कि धनगढी, नभए नेपालगंज पठाउँछु | तपाईंको रोगको नेपालगंजमा
राम्रोसँग उपचार हुन्छ भनेर आश्वास्त पार्न खोज्छु | तर धेरैले मरेकाटे मान्दैनन् |
मान्दैनन्, किनभने बम्बैभन्दा धनगढी र नेपालगंज उनीहरुका लागि बिरानो छ | उनीहरुका
इष्टमित्रजति सबै बम्बै छन्, त्यसकारण बस्न, खान, बिरामी कुर्नदेखि लिएर यावत
कुराहरुमा उनीहरुलाई त्यता सजिलो पर्छ | अप्ठ्यारो त तब शुरु हुन्छ जब त्यही सजिलो
बम्बैमा ढुकेर बसेको एउटा गिरोहले बनाउन थाल्छ उनीहरुलाई मुर्गा | भएभरका
चाँहिदा-नचाँहिदा जाँचहरु गराउने र कुनै एउटा मेजर/माइनर शल्यक्रिया पनि सँगै गरेर
लाखौँ असुल्ने अनि बिरामीलाई ल अब तिम्रो रोग चट् भयो भनी घर पठाउने गजबको धन्दा
फस्टाएको छ त्यहाँ | त्यो गिरोहको धन्दा फस्टाउँदै गर्दा यता भने कति गरिब
नेपालीहरुको घरखेत सखाप भएको छ र कतिको ज्यानै गएको छ, कसैसँग हिसाबकिताब छैन |
समाधान के त ?
प्युठान जिल्ला अस्पतालमा कार्यरत डा.
समीर लामालाई हामी धेरैले चिन्छौं | उहाँले कुनै त्यस्तो गम्भीर प्रकृतिको बिरामी
काठमाडौं रेफर गर्नुपर्यो भने सामाजिक संजालका माध्यमबाट स्वयंसेवा (volunteering)
का लागि आह्वान गर्नुहुन्छ | काठमाडौंको बसपार्कदेखि
सो बिरामीलाई लिने, अस्पतालसम्म पुर्याउने र अस्पतालमा सम्बन्धित डाक्टरको जिम्मा
लाउनेसम्मको काम त्यो स्वयंसेवकले गर्छ | डा. लामाले नै त्यो अस्पतालका चिनजानका
डाक्टरसँग पहिल्यै सम्पर्क गरी फलानो बिरामी पठाउँदैछु भनी उसको रोगको विस्तृत
विवरण पनि भनिसक्नुभएको हुन्छ | खर्चका मामलामा उहाँले आफ्नै पहलमा ‘विपन्न बिरामी
सहयोग कोष’ खडा गर्नुभएको छ जुन प्रयोग गर्नुहुन्छ यस्ता बिरामीहरुको हकमा | यति
गरिसक्दा भने डा. लामाको बिरामीले ढुक्कका साथ ‘म बम्बै होइन, काठमाडौं जान्छु
डाक्टरसाब्’ भनेर भन्नसक्छ होला | यस्तो पवित्र कार्यका लागि डा. समीर धन्यवादका
पात्र हुनुहुन्छ | उहाँले थुप्रै बिरामीहरुको आशीर्वाद पाइरहनुभएको छ | तर
व्यक्तिगत प्रयासका सीमितताहरु छन् | यही कुरा संस्थागत प्रयासमा ढाल्न सकियो र
थिति बसालेर अघि बढियो भने झन् कति राम्रो परिणाम आउँथ्यो होला? जोकोही बिरामी ठूला
अस्पतालमा रेफर हुँदा ‘म त त्यहाँ कसरी पुग्न सकुँला र, त्यहाँ मेरो पहुँच नै छैन,
कुर्ने मान्छे छैनन्, त्यहाँसम्म जान लाग्ने गाडीभाडा छैन’ जस्ता प्रश्नहरु
उठ्छन्; यी प्रश्नहरुको राज्यले हल खोज्नैपर्छ | बम्बैतिरको यात्रामा ब्रेक लगाउने
र बिरामी ठगिने प्रक्रिया रोक्नका लागि यति नगरी धरै छैन | हुनत केही जिल्लाहरुबाट
शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले यो मुद्दालाई सम्बोधन गरेको पनि छ केही
हदसम्म |
सँगसँगै सीमाक्षेत्रमा ‘उपचारका लागि
जाँदै हुनुहुन्छ? सावधान, कतै मृगौला तस्करहरुको फन्दामा पर्नुहोला’ भन्नेजस्ता सन्देश
लेखिएका होर्डिंगबोर्डहरु पो लगाउने हो कि? कंचनपुर र कैलालीका जिल्ला जनस्वास्थ्य
कार्यालयहरुले यो काममा तदारुकता देखाइहाल्नुपर्ने आवश्यकता देखिन्छ | स्थानीय
एफएमबाट पनि अब नेपालमै हरेकजसो रोगहरुको गुणस्तरीय उपचार सम्भव छ भन्ने किसिमका
सन्देश प्रशारणमा जोड दिँदा बेस | आखिर सोझासिधा नेपाली बिरामीहरुलाई कतिञ्जेल
ठगहरुको हातमा सुम्पिरहने ?
0 comments:
Post a Comment