........................................................................with words, with issues!!!

Dec 28, 2012

मरणीदेवीदेखि बिन्दूकुमारीसम्म : नेपाली नारीको सकस


           

 वि.सं २०५८ ताका महोत्तरीकी मरणीदेवी साहलाई बोक्सीको आरोपमा मरणासन्न हुनेगरी भकुरियो । जबर्जस्ती मलमूत्र ख्वाउने, जिउँदै जलाउने, मुखमा एसिड हुत्याइदिनेजस्ता आततायी घटनाहरु यो मुलुकमा २०५८ सालयता मात्रै हुन शुरु गरेका होइनन् । तर अघिका त्यस्ता घटिया घटनाहरुलाई कुनै खास घटना होइन, एउटा स्वाभाविक नियति मानिन्थ्यो । गाउँको कुनै ठूलोठालुका आँखामा कोही आईमाई बिझायो भने बोक्सीको बात लगाइदियो...टन्टा खलास् । ठालूले बोलेपछि बोल्यो बोल्यो, सारा गाउँ जुरुक्क उचालिएर त्यो बिचरीलाई तातै निल्न आउँथ्यो । ती निरीह प्राणी भावीले छैंठीमा आफ्नो ललाटमा यस्तै कोरिदिएको सोच्दै बोक्सीको उपमा चुपचाप सकारिदिन्थिन् । तर पछिल्लो दशकमा भएको आमसंचार र जनचेतनाको विकासले बोक्सीका नाममा मध्ययुगीन अत्याचार गर्ने अधिकारबाट ठालूहरुलाई अलिकति भएपनि वञ्चित गरिदिएको छ । मरणीदेवीको केस मिडियामा आयो, जागरुक नागरिकहरु त्यसविरुद्ध आँधी भएर उठे र ढिलै भएपनि सही, उनलाई बोक्सी भन्नेहरु हच्किए । ती अदालतका फन्दामा परे । मरणीदेवी काठमाडौं खाल्डो आइन्, नारी वेदना र नारी संघर्षको प्रतिरुप बनिन् र पारिजात संघर्षशील पुरस्कारबाट सम्मानित भइन् ।


त्यसयता एउटा सिंगो दशक गुज्रिसक्यो । तर महिला हिंसाका सर्वथा नयाँ कलेवरमा नयाँ नयाँ मरणीदेवीहरु जन्मन रोकिएका छैनन् । हामीले मरणीदेवीलाई सम्मान गरेर नारी हिंसाका ती अँध्यारा पाटाहरुबाट बाहिर निस्क्यौं भनेको त झनै डरलाग्दा रुपरंगका अन्याय अत्याचारमा पो लिप्त हुँदैगएछौं । शिक्षाको विकासले पितृसत्तात्मक सामाजिक संरचनाको जगमा रहेको नारीप्रतिको अनूदार दृष्टिकोण बदल्यौं भनेको त झनै जरा गाड्दै पो रहेछौं । शिक्षित हुँदैमा मानिस विवेकी हुँदोरहेनछ । होइन भने, प्रहरी जवान सुन्तली धामी आफ्नै अफिसरहरुबाट दिनदहाडै प्रहरी कार्यलयमै त्यसरी पाशविक रुपमा बलात्कृत हुनुनपर्ने हो । मैना सुनुवारलाई सेनाले त्यस्तो बर्बर ढंगले यातना दिईदिई, तड्पाईतड्पाई, चरम यौन शोषण गर्दै नमार्नुपर्ने हो । मानवतालाई नै कलंकित पार्ने सोच्नैनसकिने घटनाहरु धमाधम घटेकोघट्यै नहुनुपर्ने हो । यो सबका पछाडिको जड कारणमा हाम्रो सामूहिक सोचाईपद्धति छ, जुन हाम्रै समाजले हामीलाई दिएको स्कुलिंगको उपज हो ।

नारी हामी सबैकी जननी हुन्, उनको पूजा गर्नुपर्छ भनेर मुखले जति फलाकेपनि व्यवहारतः हरेकले घरघरमा लैंगिक भेदभावको चित्र बच्चैदेखि पहिल्याउन थाल्छन् । सकीनसकी छोरोलाई बोर्डिंग भर्ना गरिदिने बाउआमाले 'अर्काको घर जाने जात' की छोरीलाई सानैदेखि घरगृहस्थी स्याहार्न सिकाउँछन् । एउटै कोखबाट जन्मेको एउटा आँगनमा मदमत्त खेल्दै हुन्छ, अर्की विचरी कि त भाइ खेलाउँदै होली, कि भने घरधन्दा गर्दै । भाइले केही विराम गर्दा पुल्पुल्याइ पाउँछ, उसले पाउँछे गाली । ‘तँ नकच्चरीलाई गाउँगाउँ डुल्दै हिंड्नुपर्छ ? लाजसरम केही नभाकी’- आमाको टोकाइले ऊ लाज के हो थाहा नपाउँदै आफ्नो लाजको रक्षार्थ जेहाद छेड्दै हिंड्नुपर्छ । विवाह के चीज हो अथ्र्याउनसक्ने नहुँदै दुलाहा छिनोफानो भइसक्छ । अथाहा औडाहा हुन्छ हुर्केकी छोरी घरमा हुने बाउआमाका मनमा । अलिकति बुझ्ने हुँदैगर्दा भाइले थाहा पाइसक्छ- दिदीभन्दा  त म ठूलो हुँ, घरमूली मै हुँ, घरको जेठोबाठो मै हुँ, शेषपछिको खाने मै हुँ । संस्कार दिंदा ठूलाबडाको सम्मान गर्नुपर्छ, छोरा- भनिन्छ तर नारीको सम्मान गर्नुपर्छ भनेर कहींकतै सिकाइँदैन । फलतः उसमा पुरुष अहं चढ्छ, नारीप्रति सम्मानभाव चढ्दैन । सहरबजारमा पनि मात्रा फरक होला, तर समस्याको चूरो त्यही नै हो । यो बराबरी व्यवहार गर्ननसक्नु बाउआमाको दोष होइन, हाम्रो सामाजिक-आर्थिक संरचनाको निर्माण भुइँतहदेखि उपरीतहसम्म नै त्यसहिसाबले भएको छ ।

पतिको जुठोपूरो र गोडा धोएको पानी पिउनुपर्ने नियम बसाल्ने समाजमा नारी स्वाभिमान कहिल्यै उँचो हुनसक्दैन । लोग्नेको खुट्टा मिच्दै अनि सासूका वचनवाण सहँदै बुहारी-जीवन गुजार्नुपर्ने गाउँहरुले नारीजातिलाई सधैं दबदबामै रहेको देख्न चाहन्छन् । मानौं नारी कुनै प्राणी होइन, भोग गर्ने मेसिन हो । रंकदेखि राजासम्मैको रीत यही हो । कोही सुन्दर तरुणी देख्नैनहुने, देख्यो कि त भोग्या बनाएर दरबार छिराइहाल्ने रणबहादुरको पालाका किस्साहरु जगदीश घिमिरेकृत ‘सकस’ मा पढ्दा निस्सासिएको थिएँ । बाहिर सज्जन र भलाद्मीको मास्क भिर्नेहरु नै भित्रभित्र कतिसम्म दुर्जन हुन्छन, सबैले देखेभोगेकै कुरा हो । महिलाअधिकारको साइनबोर्ड राखेर पसल खोलेकाहरु नै महिला हिंसाको साझेदार रहेका घटनाहरु नसुनिएका होइनन् ।

यो लेख्दैगर्दा दिल्ली अझैं आन्दोलित छ । दुई साता पहिले एक २३ वर्षीय किशोरीमाथि भएको जघन्य अपराधको विरोधमा सारा भारत स्वतःस्फूर्त रुपमा उठेको छ । वास्तवमा, सामूहिक बलात्कारमात्रै किमार्थ थिएन त्यो । बलात्कारले नमेटिएको प्यास मेटाउन आततायीहरुले फलामे रड घुसाए योनीभित्र । आन्द्रासम्म त्यसको असर पुग्यो र आखिर त्यो अपरेशन गरेर काटी फाल्नुपर्यो । दामिनी, निर्भय र अमानतजस्ता नामबाट पुकार्दैछन् मान्छेहरु उनलाई, जो अहिले जीवन र मरणको दोंसाधमा सफ्दरजंग अस्पतालबाट सिंगापुर लगिएकी छिन् [अपडेटः उनले भर्खरै जीवनसँगको संघर्ष हारिन् तर उनको मृत्युले उठाएका मुद्धाहरुले यी वीरांगनालाई अमर बनाएको छ ।]  धेरै भन्दैछन्- ती नरपिशाचहरुलाई क्यास्ट्रेट गर्नुपर्छ, झुण्ड्याउनुपर्छ । हो, कडाभन्दा कडा सजाय दिएर एउटा नजिर बसाल्नैपर्छ, ताकि आइन्दा यस्तो गर्नुअघि हरेक मान्छेले दशपटक सोच्नुपरोस् । तर दण्ड र विधिविधानमा मात्रै अल्झिएर बस्नुभन्दा हाम्रो सामाजिक प्रणालीमा नारीलाई हेर्ने दृष्टिकोणमा रहेको गम्भीर खोट सच्याउनेतर्फ पनि कम्मर कस्नुपर्ने हो । रेप क्यापिटल कहलिन थालेको दिल्लीले यसपटक अभूतपूर्व प्रतिरोध गर्यो, सायद घटनाको अतिशय गम्भीरताले पनि होला । यता हाम्रोमा लगभग दिनदिनैजसो बलात्कार र जिउँदै जलाइएका घटनाहरु बाहिर आउँदा पनि आक्कलझुक्कल धर्नाबाहेक कुनै प्रतिरोध हुननसक्नु दुखलाग्दो कुरा हो । बर्दियाकी १६ वर्षीय शिवा हसमी आफूसँग भाग्न नमानेको निहूँमा एउटा नरपिशाचबाट जिउँदै जलिन् र उपचारका क्रममा स्वर्गे भइन् । त्यति ग्ल्यामरस थिएन सायद यो विषय मिडियाबाजीका निम्ति, घटना त्यत्तिकै थामथुम भो । पिडकहरु थप हौसिए र अस्ति मात्रै बाराकी बिन्दूकुमारी ठाकुरको नियति पनि शिवाकै जस्तोगरी अन्त्य भयो । मान्छेहरु सोध्दैछन्- खै कहाँ हरायो मानवता ? कता हरायो, सायद कसैलाई थाहा छैन । तर यसैगरि मान्छेहरु यस्ता बर्बर उन्मादहरुप्रति आँखा चिम्लदै जाने हो भने, निश्चित छ- हराएको यो मानवता कहिल्यै भेट्टिनेछैन ।

हातमुख जोर्नैका लागि वैदेशिक रोजगारमा गएका महिलाहरुका आफ्नै कहर छन् । खाडी मुलुकहरु महिलाप्रति झनै कट्टर छन् र बुझ्ने कुरा हो- जहाँ कट्टरता हुन्छ, त्यहाँ नारी अस्मिता झनै खतरामा हुन्छ । तर अहिलेलाई त्यो पाटो बिर्सिदिउँ । यहाँ त बरु उताबाट सकुशलै फर्किएला, आफ्नै देशको सिमाना टेकेपछि चाहिं के हुने हो भन्ने भय देखियो । हाम्रो एकमात्र अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागद्धारा महिनादिनअघि भोजपुरकी एक महिला खाइनखाई कत्रो दुखजेलो गरी कमाएर ल्याएको पैसासहित सर्वस्व लुटिएको समाचार आउनु के राष्ट्रिय लज्जाको विषय होइन ? त्यसमाथि एक महिनापछि मात्रै घटना बाहिर आउनु थप लज्जास्पद कुरा हो । आखिर बलात्कार गर्ने पुरुषको कुनै इज्जत नजाने तर बलात्कृत नारी चाहिं जीवनैभरि घोसेमुन्टो लाउँदै अपहेलित भएर बाँच्नुपर्ने समाजमा कति यस्ता घटनाहरु कार्पेटमुनि लुकाइएका होलान्, कसलाई फुर्सद अन्दाज लगाउन ? सरकारकै पुलिस र कर्मचारीहरुको मिलीभगतमा यस्ता घटना हुनथालेपछि प्रश्न उब्जिएको छ- अब कहाँ छन् सुरक्षित चेलीबेटीहरु ? के आफ्नो जीउको रक्षा गर्नैका निम्ति बन्दूक बोकेर हिंड्नुपर्ने समय आएको हो ?

दाइजोका नाममा हुने महिला हिंसा त्यत्तिकै पीडादायी छन्, बम्बईका दलालबाट बेचिने चेलीहरुका कथा उस्तै दर्दनाक छन् र छन् उत्तिकै हृदयविदारक महिनावारीका बेला दशबाह्र दिन गोठको बास झेल्नुपर्ने सुदुरपश्चिमेली महिलाका छाउपडी व्यथाहरु । नेपाली नारीहरुको यो अग्निपरीक्षा आखिर कहिलेसम्म हो ? शिक्षा, चेतना र संचारको द्रुत विकास भएको यो एक्काइसौं शताब्दीमा पनि कसरी दिल्लीको वा बाराको जस्तो पाशविक र अमानवीय घटनाहरु भइरहेका छन् ? केबल भोग गर्ने शरीरका रुपमा मात्रै नारीलाई हेर्ने सनातनकालदेखिकै लेन्समा किन परिवर्तन हुनसकेको छैन ? मुखमा ‘यत्र नायस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ र बगलीमा छुराको व्यवहार किन दोहोरिरहेको छ ? समाजसामु तेर्सिएका यी गम्भीर प्रश्नहरुको उत्तर खोज्न र तदनुरुपको बाटोमा समाजलाई हिंडाउन जति ढिला हुँदै गर्छ, नयाँनयाँ कलेवरमा नयाँ नयाँ मरणीदेवीहरु, नयाँ नयाँ दामिनीहरु क्रूरताका सबैखाले पराकाष्टाहरु नाघ्दै यो समाजले जन्माइरहने पक्का छ ।            
         

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong