........................................................................with words, with issues!!!

Nov 20, 2012

उर्गेनको घोडाबाट उत्रिसक्दा


               

लेखकलाई पाठकले चिन्ने मूलत: उसका शब्दहरुबाटै हो । युग पाठकलाई मैले कान्तिपुरबाट चिनें । संविधानसभाको चुनाव भर्खरै सकिएको थियो, पूरै आधा पेज ढाकिने गरी ‘इतिहासको गति रोक्ने प्रयास’ शीर्षकमा लामो पाठकपत्र छापियो कान्तिपुरमा । यिनै पाठकले लेखेको त्यो पाठकपत्र मलाई त्यतिबेला असाध्यै शक्तिशाली लाग्यो । नारायण वाग्ले सम्पादक थिए तीनताक र अहिलको हिमाल मिडियाझैं त्यसबेला कान्तिपुर लागेको थियो माओवादीको तेजोवध गर्ने अभियानमा, मिसन पत्रकारिताको झल्को दिने गरी । बलिदानी संघर्षको भट्टीबाट खारिएर आएको माओवादीप्रति जनताको अधिक आशा र विश्वास रहेको त्यो बेला जनमत निर्माणमा ठूलो भूमिका खेल्ने कान्तिपुरजस्तो पत्रिकाले जनताले जिताएको त्यही शक्तिका पछि हात धोएर लागेको स्थिति मलाई एकरत्ति चित्त बुझेको थिएन । यही पृष्ठभूमिमा ‘कान्तिपुरका पाठक यसैकारण ध्रुवीकृत हुँदैछौँ, तपाईंलाई ज्ञात रहोस्’ भन्दै सम्पादकका नाममा युग पाठकले लेखेको त्यो पत्रले मेरो आफ्नै भावना बोलेको सुनें, मलाई भित्रैदेखि हल्लाउन सफल भयो त्यो । १८ वर्षे भर्खरको ठिटो हुनुको नाताले पनि होला, म्हेन्दोलाई उर्गेनको सेतो घोडाले उत्पात उद्धेलित बनाएझैं, अहिले सम्झँदा अचम्म लाग्छ, भयंकर रुपमा उद्धेलित बनाइरह्यो कैयौंदिन । कम्तीमा पनि ८-१० चोटि त पढेंहुँला त्यसदिन मात्र त्यो पत्र ।
खगेन्द्र संग्रौलाको शब्द खेलाउने शिल्प र कृष्णज्वाला देवकोटाको आक्रामक लेखनशैलीको फ्यान रहेको मेरो फ्यानलिस्टमा त्यसपछि नै थपिएका हुन्- युग पाठक । तर विडम्वना, म उनको यस्तो गजबको फ्यान भएको छु जसलाई उनको पहिलो उपन्यास पढ्न नै बल्ल समय जुरेको छ, प्रकाशित भएकै अढाई वर्ष गुज्रिसकेपछि  । युग सोच्दा हुन्- यस्ता स्वघोषित फ्यान पनि छन् हाम्रो नेपालमा । तर क्यार्नु युग सर, मेडिकल विद्यार्थी हुनुको पीडै यही हो । भो, गन्थन नलम्ब्याइकन अब म विषयमा अर्थात् भर्खरै पढिभ्याएको ‘उर्गेनको घोडा’ भित्र प्रवेश गर्न चाहन्छु ।
नेपाली समाजले भोगेको दशक लामो रक्तरञ्जित जनयुद्धका बारे पछिल्लो समय व्यापक साहित्य लेखिएका छन् । तीमध्ये कतिले जनयुद्धको महिमागान र गौरवगाथा मात्रै गाएका छन् भने कतिले यसलाई फगत नृशंस हत्याहिंसाको ताण्डवनृत्यसँग जोडी घृणागीत रचेका छन् । एकथरि लेखकहरुको कित्ता छ जो स्वीकार्नै चाहन्न कि नेपाली जनयुद्ध यसका नेताहरुको मनोगत लहडबाजीका भरमा नभई यहाँको समाजमा विद्यमान चरम शोषण अनि असमानताले जन्माएको तीव्र आक्रोशले सञ्चालित थियो । यो कित्ता आफूलाई निरपेक्ष शान्तिवादीका रुपमा प्रोजेक्ट गर्ने हठ गर्दै यथास्थितिकै पक्षपोषणमा रमाउँछ र समाजको गर्भमा रहेको गहिरो असन्तुलन सच्याउने कुरामा गम्भीर विमति राख्दछ । अनि यहीं छ अर्कोथरि लेखकहरुको कित्ता, जो सोच्दछ युद्ध र बलिदानको कीर्तिमान खडा गर्नसक्नु नै सबथोक हो । धरातलीय यथार्थ के छ, शक्तिसन्तुलनको स्थिति कस्तो छ, विश्व परिदृश्य कसरी अघि बढ्दैछ, यी कुरासँग कुनै लिनुदिनु छैन । बस् सगरमाथाको चुचुरोमा लालझण्डा गाड्ने अमूर्त लिंढेढिपीमा रमाउनु नै यो कित्ताको चारित्रिक विशेषता रहीआएको छ । ‘पल्पसा क्याफे’ मा नारायण वाग्लेले पहाड बिथोलिएको एकोहोरो रटान दिने तर बिथोलिनुका पछाडिको स्वभाविक कारणहरु समेत खनिखोतल्ने लेठो नगर्नुले उनको कृति हलुका पारिदिएको थियो । भलै युवापुस्तामाझ पल्पसा क्याफेजत्तिको लोकप्रिय कृति यो दशकभरि नै अर्को हुन सकेन । युवापुस्ताको दिल छुने भाषाशैली, मध्यमवर्गीय पात्रहरुको बाहुल्यता अनि युद्धविभिषिकाले जर्जर मानसिकताको चिरफार आदिले गर्दा यो कृतिको महत्व भने रहन गयो । नेपालीमात्रले भोग्नुपरेको त्यो कठिन कालखण्डको दस्तावेजका रुपमा आकाशगंगाको तीरैतीर, छापामारको छोरो, सुकरातका पाइलालगायतका अरु कृतिहरु पनि आए । मूलत: तिनमा मानवीय संवेदनाको पाटो बढी हावी हुन्थ्यो, हत्याहिंसाको भयानक त्रासदी पोतिनुका अलावा मर्नेमार्ने त्यस विभत्स खेलको कडा निन्दा अनि भत्सर्ना हुन्थ्यो । अपितू एकदुइटा पिछडिएका धुलौरे गाउँबाट बीस-तीसजना सिंगाने केटाकेटीले सल्काएको आगो दुईचार वर्षमै पूरा देशै लपेट्ने गरी डढेलोसरी फैलनुका पछाडिको पहेंली सुल्झाउनतर्फ भने यी कृतिहरुले कुनै भूमिका खेल्न सकेनन् । फलत: अन्यायी व्यवस्थाका विरुद्ध समतामूलक समाज निर्माणको यज्ञमा विद्रोहीहरु होमिएका बेला युद्धका एजेण्डाप्रति निरपेक्ष बस्दै मूर्दा शान्तिको राग अलापेर मात्रै त्यत्रो दुर्दान्त समस्याको समाधान हुन्थेन, भएन । आखिर, अन्यायविहीन अवस्थाको नाम पो शान्ति हो न कि युद्धविहीन अवस्था ।
 त्यसैसमय ऋषिराज बराल, आहूतिलगायतका माओवादी या कतिपय अन्य वामपन्थी लेखकहरु भने जनयुद्धको अतिरञ्जनापूर्ण बखान गर्ने कर्ममा लागिपरे । उनीहरुलाई पढ्दा यस्तो लाग्थ्यो, मानौं गरिबी बरदान हो; अनन्तकालसम्म सशस्त्र संघर्षमा होमिइरहनु नै जीवनको सौन्दर्य हो र धनीहरुजति जम्मै जालीफटाहा हुन्, तिनीहरुको छाला काढ्नुपर्छ ।  समाजमा रहेका माथिल्लो वर्गका मानिसप्रति घृणाभाव फैल्याउने होइन, बरु भूइँतहका मान्छेलाई माथि उचालेर उनीहरुको समस्तरमा पुर्याउने हो; त्यसैका निम्ति पुरानो व्यवस्था भत्काएर नयाँ थिति बसाल्न क्रान्तिको बिगुल फुक्नुपरेको हो भन्नेसम्ममा पनि स्पष्ट थिएनन् उनीहरु ।
भन्नेहरुले युग पाठक पनि जनयुद्धलाई अति रोमान्टिसाइज गर्ने उही ड्यांगको मूला न हो भन्ने टिप्पणी नगरेका होइनन् । तर उनका प्रशस्त फुटकर लेखहरु र एउटा सिंगै उपन्यास भ्याइसकेको नाताले भन्दा कम्तीमा मलाईं चाहिं उनी शास्त्रीय संकीर्ण वामपन्थका अन्ध उपासक लागेनन् । साधनभन्दा पनि साध्य पवित्र हुनुपर्छ भन्ने स्कुलबाट आएकाले ‘उर्गेनको घोडा’ ले जनयुद्धभित्र लडिएको वर्गीय अनि पहिचानको लडाईंको धुँवादार समर्थन त गरेको छ नै । तथापि, माडी घटनाको उल्लेख गरेर होस् या नश्लवादले प्रेरित भएर छापामारको एउटा समूह छुट्टै जातीय सेना बनाउने नाममा टुक्रिएको प्रसंग झिकेर होस्, लेखकले बर्बर युद्धउन्माद अनि साम्प्रदायिक विग्रहका पक्षमा कतैपनि सहीछाप गरेका छैनन् ।
वर्गीय मुक्ति अनि इतिहासले ठगेर पाखा पारेका जातजातीहरुको पहिचानको एजेण्डा बोकेको जनयुद्धसँग उपन्यासको प्रष्ट पक्षधरता झल्कन्छ । मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवातिर बढी संख्यामा रहेका तामांगहरुको कथा छ, उपन्यासको केन्द्रीय प्लटमा । सम्पूर्ण शासनसत्ताको बागडोर सम्हालेको राजधानीको आँगनैमा थातथलो भएर पनि तामांग जाति सीमान्तकृत छ । भेंडो जातिको उपमा पाएको छ । भोटेका नाममा अपहेलित छ । भरिया, हुक्के, बैठके र खेताला हुनुभन्दा बढी उद्देश्य नै राख्नसकेको छैन । छोराजतिको लेखान्त शंखदरबारबाट निलिनु छ भने छोरी जति इन्डियाका कोठी र सर्कसमा बेचिन अभिशप्त छन् । यतिसम्म पिछडिएको छ कि नुवाकोटमा एउटा यस्तो गाउँ पनि रहेछ जहाँ एउटै घर छैन किड्नी नबेचेको । नभएका होइनन्, यो देशमा मधेशीका आफ्नै दःखका पोकाहरु छन्, दलितका आफ्नै वेदनाका आँशुहरु छन् र छन् सुदुरपश्चिमसँग आफ्नै गुनासोका थैलीहरु । उपन्यासमा प्रस्तुत तामांगको कथा पनि वास्तवमा कथा होइन, कटु यथार्थ हो । विभिन्न मिथक, किंवदन्ती र कथाकुथुंग्रीलाई आधार बनाउँदै तामांग जाति इतिहासमा लडाकू र सम्पन्न जाति रहेको तर अनेकौं जालझेल र कपट गरेर खसहरुले धकेल्दै धकेल्दै अनकन्टार पहाडी खोप्चा र भीरपहराहरुमा सीमित पारिदिएको कुरा उपन्यासमा उल्लेख छ । अत्यन्तै विकट र कष्टकर भूगोलमा खुम्चिसकेपछि उनीहरु त्यस्तै जीवनशैलीमा अभ्यस्त हुँदै जान्छन् र शिक्षाको अभावमा आफ्नो गौरवशाली अतित खोतल्ने सामथ्र्य गुमाउँदै गएर आफ्नो सम्भाव्य उज्यालो भविष्यको ढोकामा पूर्ण रुपले चुकुल लगाउन पुग्दछन् । कालान्तरमा रुपचन्द्र विष्ट पुग्छन् गाउँका कुनाकाप्चा चाहार्दै र खोज्न अह्राउँछन् आफ्नो पुर्खाको इतिहास र सभ्यता । रुप्चनकै जनजागरणले जन्माउँछ उपन्यासकी नायिका म्हेन्दोलाई । म्हेन्दो नै नाम गरेकी तामांग पात्रमाथि उहिल्यै नै महाकवि देवकोटाले कविता लेखिसकेको भन्ने सुनेको हुँ। त्यसबाहेक तामांग जातिको नायकत्वमा लेखिएको सम्भवतः यो नै प्रमुख कृति हो । पहिचानको लडाईंमा राजनीति बल्झिएको यो बेला यो कृतिको यसकारण पनि अतिरिक्त महत्व छ ।
तामांगहरुको प्राचीन सभ्यतामा रहेको उर्गेन नामधारी अनन्य साहस भएको वीर योद्धा र उसको हिउँझैं सेतो घोडाले उपन्यासभरि नै एउटा विचित्रको रोमाञ्चकता पैदा गरिरहन्छ । जनयुद्धको भंगालोमा म्हेन्दो यसकारण हेलिन्छे कि उर्गेनको अतृप्त आत्मालाई शान्ति दिलाउन ऊसामु अर्को विकल्प छैन । युद्धका दौरान उसको मानसपटलमा खेल्न आइरहने त्यही घोडाको विम्बले गर्दा नै उच्चस्तरको रणकौशल देखाउन सक्षम हुन्छे ऊ । याम्बु हमलाका क्रममा गोली लागेर मर्दैगर्दा ट्वाल्ल सेता घोडाहरुको फौज देखिरहेका उसका आँखा भन्छन्: “उर्गेन! ताम्सालिंग आदिभूमिको स्वाभिमान जोगाएँ मैले, हेर म बहादुरीका साथ लडें र मृत्युलाई बहादुरीका साथ स्वीकार गरें ।”
ताम्सालिंगको नाम उल्लेख गर्नेबित्तिकै ‘ए! यो त जातिवादी, देश टुक्रयाउने विचारको मान्छे रहेछ’ भन्ने आरोपहरुको बाढी खेप्नुपर्ने बेला हो यो । मगरात, थरुहट, लिम्बूवानजस्ता नाममै एकल जातीय आधिपत्यको भूत देखेर ऐतिहासिक संविधानसभाको हत्या गरिएको समय हो यो । कम्तीमा विषयवस्तुलाई सम्पूर्णतामा नबुझिकनै यस्तो हाउगुजीमा सामेल भएकाहरुलाई यो उपन्यासले विषयवस्तु बुझ्न थोरै भएपनि मद्दत गर्नेछ । निःसन्देह मुख्य सवाल वर्गीय असमानताकै हो, यद्यपि वर्गीय असमानताको वृहत समस्याभित्र जातीय असमानता पनि समस्याको एक अंश हो भन्ने कुरा स्वीकार गर्न जति ढिला हुँदै जान्छ, समस्याको आयातन उति चौडा हुँदै जानेछ, खुम्चिने बिल्कुल छैन । आर्थिक हैसियतका आधारमा दलितहरु जति पिछडा बाहुनहरु पनि अवश्यै छन् तर कुरोको चुरो के भने दलित भएकै कारण उनीहरु अतिरिक्त दलनमा परेका छन् । जातकै कारण अतिरिक्त दलनमा पर्नुपर्ने यो अन्यायी व्यवस्थाको अन्त्य गर्नेतिर सबै जुट्नसके राष्ट्रिय अखण्डताका मौसमी नाराहरु बेला न कुबेला उरालिरहने दुःख बिसाउनुपर्थेन कि ?
अन्तिममा एउटा गुनासो: पुस्तकले चौथो संस्करण छिचोलिसक्दा पनि शुद्धाशुद्धीहरु नसुध्रिंदा भने खिन्न भएँ । पढ्दै जाँदा भेटिएका प्रशस्त व्याकरणिक त्रुटिहरुले नेपाली साहित्यमा खड्किएको कुशल सम्पादकको अभावलाई अझ टड्कारोसँग महसुस गरियो ।

 

         

       

0 comments:

Post a Comment

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong