सञ्चारमाध्यममा निरन्तर नालायकी, निरीहता
र निकम्मापन नै सुशील कोइरालाको प्रतिकसरह छाइरहेका बेला अमित ढकाललगायतका केही
सञ्चारकर्मीहरुले कोइरालाको व्यक्तित्वको विनिर्माण गर्ने प्रयास गरेका छन् | ‘जस्तोसुकै
होस् तर एक थान संविधान अब आउने नै भयो’ भन्ने आशा सञ्चार हुँदै गरेको यो बेला
भइरहेको यो प्रयासलाई भद्दा गुणगान गाएको भनेर कतिपयले गरेको आलोचनाभन्दा फराकिलो
फ्रेममा हेरिनुपर्छ |
सुरुदेखि नै कोइरालाको छवि एउटा कमजोर
नेताका रुपमा बनाइयो | तर अहिले आएर प्रष्टसँग भन्न सकिन्छ- दिल्लीका देउता
नगुहारिकनै स्वदेशी तागतका भरमा संविधान निर्माणमा निर्णायक सहमति गर्नसक्ने नेतालाई
कमजोर अनि नेतृत्वक्षमता नभएको नेताका रुपमा परिभाषा गरिन्छ भने उनी कमजोरै नेता
हुन् | हुनत २०६९ जेठमा पहिलो संविधानसभा विघटनको वरिपरी भएको एसडी मेहता
प्रकरणताका नै भारतीय राजदूतलाई झपारेर परेको बेला निर्णय लिनसक्ने आँट उनले देखाइसकेका
थिए | तर हामी भने मिडियाले निर्माण गरेको उनको छविबाट यति वशीभूत भयौं कि ‘निर्णय
नलिनु पनि त निर्णय नै हो’ भन्दै उनलाई लगातार गिज्याइरह्यौं | हामीले बडो आरामदायी
ढंगले यो पनि भुल्यौं कि उनकै नेतृव एवं व्यवस्थापनमा काङ्ग्रेस देशको सबैभन्दा
ठूलो दल बन्न सफल भयो |
उनको सादगीपूर्ण जिन्दगी र पदप्रतिको अनाशक्ति पहिल्यैदेखि प्रचारमा त थियो तर त्यसलाई उनको फगत व्यक्तिगत गुण ठानेर सफल नेतृत्वका लागि त्यो गौण पक्ष रहेकोमा जोड दिइयो | सन्तनेता किसुनजीको सादगीपनको चर्चा हुँदा छाता, सुराही र ट्यांका सम्झिने नेपालीहरु सुशीलदाको स्मरण गर्दा तीनवटा मोबाइल सेट सम्झन थालेका थिए | तैपनि मानिसहरु भन्थे- सादा जीवन भएर मात्रै के गर्नु, देश चलाउने कुनै विचार र भिजन नै छैन | तर आज आएर देखियो- संविधान लेखिसकेपछि छोडिदिन्छु भनेर आफैंले सीमा तोक्दै बालुवाटार छिरेका कोइरालाको यही गुण नै सहमतिको वातावरण तयार गर्ने प्रधान पक्ष बन्यो | ‘क्रोनिक किड्नी डिजिज’ का बिरामी केपी ओलीलाई सिंहदरबारमा फोटो झुन्ड्याउने रहर पूरा गर्ने हतारो जो थियो |
संसदीय कालका दिव्य बाह्र वर्षमा सांसद
किनबेच र प्राडो-पजेरोका हदै बदनाम अभ्यास देखेका जनतामा प्रत्यक्ष निर्वाचित
कार्यकारीप्रतिको आकर्षण बुझ्न सकिने कुरा हो | तर संसदीय प्रणालीको सम्पूर्ण
शक्ति संसदभित्र भ्यागुताको धार्नी पुर्याउनैमा ठीक्क हुने कुरा भलिभाँती
देखेभोगेका कोइराला संसदीय प्रणालीको सबैभन्दा उग्र पक्षधर रहिरहे | उसो त उनलाई
वामपन्थीहरुले गर्नेजस्तो दर्शन र सिद्धान्तका लम्बेतान व्याख्याहरुमा कुनै रुचि
छैन | तर संसदीय व्यवस्था नै लोकतन्त्रको मुटु हो भनेजसरी उनी त्यसका पक्षमा
सतिसालझैं ठिंग उभिइरहे | फेरि चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित
प्रधानमन्त्री लेखेर जनतासित भोट मागेको एमालेले यो मुद्धा छोडिसकेको र एमाओवादीले
पनि शासनप्रणालीभन्दा संघीयतामा मोलमोलाई गर्ने इच्छा देखाएपछि न त जनतासँग कुनै
विकल्प बाँकी रह्यो, न त सुशील कोइरालाले आफ्नो त्यो आस्थाका लागि लड्नु नै पर्यो
| उसै पनि माओवादीहरुले बाँडेका आकर्षक आश्वासनहरु फोस्रा ठहरिएपछि जन्मिएको
विकर्षण र विरक्तिले जनतालाई यो वा त्यो शासनप्रणाली भनेर भिडिराख्न खासै जाँगर
चलेन | यही परिस्थितिलाई ‘क्यास’ गर्दै संविधानमा पुरानै असफल व्यवस्था थोपरेर
सहमति गर्न उनी सफल भएका हुन् | संघीयताको सवालमा भने यो धेरैलाई अब घाँडो नै
लागेको भएपनि यसलाई तिलाञ्जली नै दिने साहस भने भावी प्रधानमन्त्री केपी ओलीले पनि
गर्न सक्दैनन् | अन्तरिम संविधानमा उल्लेखित संघीयतालाई संस्थागत गरेर कोइरालाले स्पष्ट
सन्देश दिइसके- त्रिशुली अब भैरवकुण्डतिर फर्किन सक्दैन |
खानदानी रोगका रुपमा गुटबन्दी भएको दलमा
उनीमाथि लगाइएको फत्तुर थियो- भोजनमण्डली र भजनमण्डलीको घेराभन्दा माथि उठ्न यी
कहिल्यै सकेनन् | आज उनको मन्त्रीमण्डलका काङ्ग्रेसी अनुहारहरु हेरिसक्दा पनि त्यो
फत्तुरमाथि हामीले पुनर्विचार सम्म गर्न सक्दैनौं भने अरु थप केही नसोचौं,
मिडियाले निर्माण गरिदिएको छविलाई नै बोकेर हिंडिराखौं |
संसदीय कालमा हदै बदनाम भएका गिरिजाप्रसाद
कोइरालालाई भावी पुस्ताले भने अनेकौं जोखिम मोलेर ऐतिहासिक शान्तिप्रक्रियाको
थालनी गर्ने र देशलाई गणतन्त्रमा लैजाने ऐतिहासिक नेताका रुपमा उच्च मुल्यांकन
गर्ने निश्चित छ | तिनै गिरिजाप्रसादको छत्रछाँयामा हुर्केका सुशील कोइराला पनि
संविधान लेखनको महत्वपूर्ण कार्यभार पूरा गर्ने नेताका रुपमा इतिहासमा अब सम्झिइरहने
छन् | भनिरहनु परोइन, इतिहासको अदालत ऐतिहासिक काम फत्ते गर्ने नेताहरुका
कमी-कमजोरी केलाउनपट्टि खासै रुचि राख्दैन | नरेन्द्र मोदी, नितिश कुमार, ली क्वान
यु वा देङ सियाओ पिङजस्तो ‘विकास पुरुष’ बन्न अरु कोही आउला/नआउला, तर भीमराव
अम्बेडकरकै तहमा ‘संविधान पुरुष’ मा भने उक्लिसके उनी |
अक्सर परिस्थिति निर्णायक हुने भएपनि
पात्रको भूमिकाले केही प्रभाव पारेन भन्नु आफैंले आफैंलाई ढाँट्नु मात्रै हो |
भुकम्पपछिको वातावरणमा सुशील कोइरालाको राजनीतिक परिपक्वताले सहमति सम्भव भएको हो
भनेर भन्न केही कालका लागि विसंगत सुनिएपनि अब लजाउनु भने फिटिक्कै पर्दैन | हो,
प्रचण्डले पनि त्याग गरेकै हुन्, उनको भूमिकालाई कम आँक्न पक्कै मिल्दैन |
निष्ठा, त्याग र समर्पण मात्रै सुशीलदाका
पुँजी होइनन् भन्ने कुरा सायद हामीले आज पहिलोपटक विचार गर्दैछौं | खासमा उनको
क्षमता परिक्षण नहुँदै ‘कमजोर’ को पगरी गुथाइदिन हामीले हतारो गरेछौं | जुन
पृष्ठभूमिमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए, त्यसले उनलाई स्पष्ट कार्यादेश
दिएको थियो | हलिउडको हिरो हुने सपना बुनेका यिनले रत्ति बाटो नबिराई
अर्जुनदृष्टिका साथ लागे र त डेढ वर्ष नहुँदै संविधान निर्माणका हिरो भएर निस्कन
सके | यसबाट उनको बाहिर बनेको व्यक्तित्वले यथार्थसँग कति मेल खाँदो रहेछ भन्ने
कुरा घामभन्दा पनि छर्लंग भएको छ |
राज्यसञ्चालनमा कहिल्यै कुनै भूमिका
नखेलेका सुशीलले पहिलोचोटिमै देखाएको ‘खतरनाक पर्फर्मेन्स’ लाई सलाम नगरी सुखै छैन
| र यो पनि नसोची सुख छैन कि वृद्ध र अशक्त
नेताले यति गर्न सक्छ भने गगन थापा र उज्ज्वल थापाजस्ता लायकका युवाहरुबाट झन् कति
हुनसक्ला ?
अरु कुराहरु जति नै लुकाएपनि
राजनीतिज्ञहरुले आफ्नो ‘पोलिटिकल एम्बिसन’ भने हम्मेसी लुकाएर राख्न सक्दैनन् |
केपी ओली अबको प्रधानमन्त्री बन्ने दाउमा छन् | बाबुराम भट्टराईका आँखा
पुनर्निर्माण प्राधिकरणतिर सोझिएका छन् | प्रचण्ड जसरी भएपनि आफ्नो पार्टीलाई
सरकारमा छिराउन लागिपरेका छन् | विजय गच्छदार सधैंझैं उपप्रधानमन्त्री त मेरै हो
भनेर मुख बाउँदै बसेका छन् | संविधानमा जुटेको सहमतिका पछिल्तिर सबैका
स्वार्थहरुको यही मिलन पनि एउटा कारण थियो | तर सुशील कोइरालाका लागि चाँहि के छ त
? के फाइदा देखेर उनी सहमतितिर लम्किए ? सुशीलको विनिर्माण गर्ने प्रयासलाई
चाटुकारिता देख्नेहरुबाट उत्तरको अपेक्षा छ |