Jan 18, 2015
प्रिय लेखकहरु, उपग्रह नै रहिरहने हो ?
कुनै पनि मुद्धामा बुद्धिजीविहरुबाट धेरैथरि मत आउनु, मत बाझिनु र बहस-छलफल हुनु एउटा गतिशील लोकतन्त्रका निम्ति राम्रै कुरा हो | मिडियामार्फत पाठक/दर्शकले धेरैथरि परस्परविरोधी दृष्टिकोणहरु पढ्नबुझ्न पायो भने नै उसलाई निष्कर्ष निकाल्न सजिलो हुने हो | त्यैभएर हामी पत्रिकाका विचार-पृष्ठ चाहार्छौं, टेलिभिजनका बहस-अन्तर्क्रियाहरु सुन्छौं अनि अनलाइन पत्रिकाका लेखहरु पढ्छौं | तर समस्या यहींबाट शुरु हुन्छ |
“फलानोको लेख पढेको? थाहा छैन? त्यो त फलानो पार्टीको लेखनदास हो नि!” अधिकांश लेखकका बारे सुनिने टिप्पणी यस्तै हुन्छन् | मिडियामा नियमित लेख्ने स्तम्भकारहरु हाम्रामा धेरै छैनन्, त्यसैले को कता ढल्कुवा भन्ने कुरो ‘ओपन सेक्रेट’ जस्तै छ | वामपन्थी होउन् वा गैरवामपन्थी, अधिकांश लेखकका हकमा ‘चीज’ यही नै हो | एकथरि प्रचण्डको भजन गाएर कहिल्यै नथाक्ने, अर्कोथरि प्रचण्डको दानवीकरण गरेर कहिल्यै नअघाउने |
ढकालले लेखेजस्तै ‘कटवाललाई हटाउनु आत्मघाती हुन्छ’ भनेर कुनै वामलेखकले लेखेन त्यसबेला | उल्टो उक्साउने कर्ममा लागे सबैजना | अहिले आएर बरु प्रचण्ड आफैंले त्यसलाई ‘ठूलो गल्ती’ मानिसके, तर ती लेखकहरु समीक्षा गर्न तयार छैनन् | मानौं पार्टीले तत्कालिन समयमा जे नीति लिन्छ, त्यसैको अन्धसमर्थन गर्नु नै उनीहरुको धर्म हो | बुद्धिजीविको भेष पहिरिसकेपछि त पार्टीको हित के गर्दा हुन्छ, त्यतातिर सुझाव दिनू, आलोचना गर्नू; तर अहँ, ती त बुद्धिको भाँडोमा बिर्को लाउँछन् अनि पार्टीले जे वकालत गर्छ, त्यसैको बस् एकोहोरो प्रचारप्रसारमा मग्न हुन्छन् | हरि रोका र श्याम श्रेष्ठजस्ता कहलिएका बुद्धिजीविहरुलाई पार्टीले सभासद बनायो | त्यसैले उनीहरुको जस्तै लेख्यो भने सभासद हुन पाइएला भने लोभले हो वा केले हो; ती आफ्नो अन्तरात्माबाट आएको कुरा लेख्दैनन्, पार्टीको भजन लेख्छन् |
अख्तियार प्रमुखका रुपमा लोकमानसिंह कार्कीलाई ल्याउँदा एउटा सामान्य जनताले ‘चोरलाई चौतारो’ का रुपमा बुझ्यो र ‘लोकतन्त्रमाथिको भद्दा मजाक’ का रुपमा विरोध जनायो | यही मेसोमा गैरवामपन्थी लेखकहरु पनि मिसिए र ‘लोकमानसिंहलाई किन ल्याउनुहुन्न’ भनेर तर्क दिइरहे | तर अचम्मसित वामलेखकहरु भने कि त मौन रहन रुचाए, कि चाँहि हाकाहाकी लोकमानकै पक्षमा उभिएर आफ्नो धर्म निभाए | उदाहरणका लागि लेखक युग पाठकले ‘लोकमान प्रहसन’ शीर्षकमा लोकमानविरोधी जनमतलाई ‘मास हिस्टेरिया’, ‘प्रचण्डविरोधी जनमत’ देखि ‘एलिट हठ’ सम्म भन्न भ्याए | लोकमानको काँध थापिदिने पात्र प्रचण्ड भएकै कारणले युग पाठकलाई लोकमानसिंह पनि सर्वस्वीकार्य लाग्यो | कुन दिन प्रचण्डले ‘लोकमानसिंह काण्ड’ लाई पनि आफ्नो जीवनको अर्को गल्ती बताउने छन्, तर हाम्रा जवाफदेही हुनुनपर्ने लेखकहरु चाँहि मौनधारणमै बसिरहनेछन् |
सबैका आ-आफ्नै अजेण्डा हुन्छन् | यसप्रकार हाम्रा वामलेखकसित पनि हुनुपर्ने हो | तर आश्चर्य के छ भने उनीहरुसँग कुनै मौलिक अजेण्डा छैनन्, पार्टीका तत्कालिन अजेण्डाहरु झोलामा बोकेर कुदिरहेछन् | यतिसम्म कि आफ्नो पार्टीले गरेको रहेछ भने नेपालबन्दको विरोध गर्नेसम्म पनि हुति छैन | बरु बन्दको पक्षमा बनिबनाउ तर्कहरु छन् उनीहरुसँग | आफ्ना विश्लेषणमा नयाँनयाँ शब्दहरु हाल्न पनि माहिर छन् उनीहरु | अघिल्लो निर्वाचन परिणाम जनादेश हुने तर झन् ताजा परिणाम चाँहि मतादेश हुने गजबको विश्लेषण हुन्छ उनीहरुको |
वामलेखकहरुले आफ्नो विश्व-दृष्टिकोण, मान्यता, पक्षधरतालाई लेखहरुमा लुकाइराख्नु पर्दैन; पाठकले त्यो कोणबाट पनि ‘चीज’ हरुलाई हेर्नु/बुझ्नु जरुरी छ | तर कमसेकम इमान्दारिता त हुनुपर्यो | आग्रह-पूर्वाग्रहको चस्मा त उतार्नुपर्यो | स्पष्ट देखिने जनादेशको अपव्याख्या त हुनुभएन | ‘बन्दको विरोध गर्नेहरु भिजिलान्ते’ भनेर कुनै नेता कुर्लंदा ‘के हो नेताज्यू’ भनेर औँलो ठड्याउन त सक्नुपर्यो | जनमत कतातिर छ, सही आँकलन गर्न त सक्नुपर्यो | पाठक भलै असहमत होस्, तर ‘यसको कुरा पढ्नुपर्छ है’ भन्ने छवि बनाउन सक्नुपर्छ जुनसुकै लेखकले पनि |
अन्यथा, उपग्रह नै रहिरहने हो भने त यसको उपचार पनि पाठकसितै छ | पाठकका माझ तपाईंहरुको सान्दर्भिकता समाप्त हुँदै जानेछ | तपाईंका लेखहरु तपाईंको पार्टी-मुखपत्रका सीमित पाठकहरुमाझ होहल्ला गर्न मात्र काम लाग्नेछन् |
Subscribe to:
Posts (Atom)