किताबको अगाडिपट्टिको गातामा छ- ठाँटसित कुर्सीमा बसेको, जाँच दिइरहेको विधार्थीझैँ कापीकलमसित पोज मिलाइरहेको अलि गम्भीर भावमुद्राको हरिवंश । हरिबहादुरलाई चिन्ने आम नेपालीले यो आवरणचित्रसँग त्यो हरिबहादुरलाई ‘रिलेट’ गर्न गाह्रै पर्छ । तर किताबको ब्याककभरमा आइपुग्दा जेन्टलम्यान हरिवंशलाई उट्पट्यांग हरिबहादुरले प्रतिस्थापित गरिदिएको छ । र नै उही लुगा, उही लोकेसन र उही समयमा खिचेको भएपनि ब्याककभरको फोटोमा त्यही एलियन लाग्ने जेन्टलम्यान सबै नेपालीले अपनत्व महसुस गर्नसक्ने छट्टु नम्बर एकमा कायाकल्प भएको छ । तर रिल लाइफका उरण्ठेउला चरित्रहरुको जबर्जस्त छापले गर्दा जतिखेरसुकै उनीबाट उरण्ठेउलोपन मात्रै खोज्ने हामी दर्शकहरुले रियल लाइफमा उनी कति जेन्टलम्यान छन् र हाँसोको वरदान पाएर पनि जीवनमा कति पिडाहरु पिएका छन् भन्ने थाहा पाउन एकचोटी उनको पाठक पनि बनेर यो आत्मकथालाई पर्गेल्नैपर्छ ।
चिना खोज्दै ब्लगर |
के के मात्रै चरित्र निभाएनन् उनले । बूढी आमादेखि लिएर बूढा बा, तन्नेरी आवारादेखि अधबैसें गोज्यांग्रो, नामुद ठगदेखि गम्भीर युवा- सायदै त्यस्तो रोल होला जसमा हरिवंश फिट नभएका होउन् । रोलहरुमा भरमार विविधता भएपनि समानता एउटै थियो- उनले हँसाउन चाँहि फिटिक्कै छोडेनन् । जुनसुकै भूमिकामा पनि जमेर खेल्नसक्ने यही भर्सटाइल चरित्रले गर्दा नै हो- पुस्तकप्रति उतिसाह्रो लगाव नराख्नेहरू पनि हरिवंशको आत्मकथा भनेपछि नपढीरहन सकेनन् ।
यो आत्मकथामा उनले आफ्नो जीवनका उकालीओरालीहरुको रेखांकन गरेका छन् । पढ्नलाई मज्जा आउनेगरी आफू बालखै हुँदादेखिका अनेकौं किस्साहरू गजबले जोडेका छन् । सानैमा बाउआमा गुमाएको एउटा बालकको अनाथ हुनुको पिडा कहेका छन्, अभिभावकत्व हराउँदा बढेको उपद्र्याईको फेहरिस्त प्रस्तुत गरेका छन् र उतारेका छन् अर्काको दुरुस्तै नक्कल गर्नसक्ने खुबी प्रयोग गर्दै रंगमञ्चमा छिर्दाको संघर्षगाथा । भलै उनको व्यक्तिगत जीवनमा आरोहअवरोहहरु आइनै रहे, तर तीसको दशकमा रंगमञ्च पसेदेखि कलाकारका रुपमा उनको आरोह मात्रै भएको छ । अवरोह कस्तो हुन्छ, उनलाई थाहा छैन किनकि त्यसबेलादेखि नै आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । एउटा कलाकारका रुपमा यो नै उनले जितेको सबैभन्दा ठूलो तक्मा हो ।
विभिन्न नाटक, प्रहसन, फिल्म र टेलिफिल्महरु बनाउँदा अनि खेल्दाका रोचक संस्मरणहरु उनीसंग जति पनि हुनुपर्ने हो । तर किताबमा तिनलाई पस्कन कन्जुस्याइँ गरेझैं लाग्छ । चरित्रहरु तयार पार्दा कसरी आफ्नै वरिपरीका मान्छेहरुका अलिकति असामान्य लाग्ने हाउभाउ र बोलीचालीको सिको गर्थे भन्ने चाहिँ खुलाएका छन् । चारखाल अड्डाको चौरमा भेटिएका ‘है है है’ भन्दै विचित्रसँग हाँस्ने एकजना कर्कस आवजधारी ख्याउटे मान्छेबाट ‘वनपाले’ को त्यो साधुराम सुकुम्बासी, पहिलो पुस्ताका हाँस्यअभिनेता ओस्ताद भैरवबहादुर थापाको हाउभाउ, बोल्ने तरिका र आँखा सापटी लिएर बनेको ‘कान्तिपुर’ को वडाध्यक्ष अनि भक्भकाएर बोल्ने गुठी संस्थानको कर्मचारीमा गुच्चा खेल्ने साथीको ‘उस् उस् उस्’ फ्युजन गराएर तयार ‘लालपुर्जा’को ध्रुबराम आदिलाई उदाहरणका रुपमा राख्दै ती हाँसउठ्दा चरित्रहरु कतै शुन्यबाट फुत्त झरेका थिएनन्, हाम्रै समाजबाट टिपिएका थिए भन्ने प्रस्ट्याएका छन् । साधारण भाषामा हाँस्यरस घोलेर लेखेकाले पढ्दा आनन्द आउँछ, जसरी उनले सामाजिक सन्देशमुलक टेलिफिल्महरु पनि हाँस्यरसले सुगरकोट गर्दा हेर्नेहरुको दिलखुस हुन्छ । कुष्टरोग, क्षयरोग, एच.आइ.भी, मधुमेहजस्ता रोगहरु अनि भ्रष्टाचार, संविधानसभा र वातावरणजस्ता मुद्धाहरुमा हाँस्यरसले सुगरकोट गरेका उनका प्रस्तुतिहरुले समाजमा पारेको सकारात्मक असरहरुको विवरण पढ्दा पनि मन पुलकित हुन्छ । आजभोलि खुबै सुनिने ‘कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी’ कर्पोरेट संस्थाहरुले कति बहन गरेका छन्, छैनन्- उनीहरु नै जानून्, तर ‘मह सोसल रेस्पोन्सिबिलिटी’ मा चाहिँ यो जोडी खरो उत्रेको पढ्दा दिल गार्डेन गार्डेन नभई मान्दैमान्दैन । हरिवंश राम्रो कलाकार मात्रै होइन, असल मानिस पनि हो भन्ने आमबुझाइलाई पुस्तकले थप बलियो बनाएको छ ।
पुस्तकको पछिल्लो खण्ड मीरा आचार्यसँगको वियोग अनि रमिला पाठकसँगको मिलनमा केन्द्रित छ । यो भोगाई भोग्नेले मात्रै अनुभूत गर्नसक्ने कुरा हो । सायद पत्नीवियोगको यही दुखद घडीमा लेखेकाले होला, धेरै प्रसंगहरु छुटेको भान हुन्छ । नरमाइलो ह्यांगओभरबाट विस्तारै उत्रिंदै गरेका हरिवंश आउने संस्करणमा छुटेका कुराहरु थपथाप गर्दै अझ बेजोड ढंगले आउनेछन् भन्ने आश गर्न सकिन्छ । महजोडीको यतिलामो सहकार्यले इतिहास रचेको बेला महको बारे विस्तारमा कुराहरु राखून् भन्ने पाठकीय अपेक्षा अस्वाभाविक होइन । त्यस्तै ‘बलिदान’ जस्तो ऐतिहासिक फिल्मको मुख्य पात्रका नाताले त्यस फिल्म निर्माणका दौरान भएका घटनाहरु जोड्न सकेको भए अझै राम्रो खुराक हुन सक्थ्यो पुस्तक । भाषिक शुद्धतामा पनि जोड दिनुपर्नेछ अर्को संस्करणमा ।
कलामा अलिकति पनि रुची राख्ने हरेक नेपाली हरिबहादुरको फ्यान हो र फ्यानलाई आफ्नो स्टारको आत्मकथा पढ्न कुनै समीक्षकले नानावली प्रशंसाका बुट्टा भरेर रेकमेण्ड गरिरहनु पर्दैन । ‘चिना हराएको मान्छे’ पनि रिभ्युतिर आँखा नलाईकनै फ्यानहरुले कतै मुख मिठ्याउँदै, कतै अमिल्याउँदै रित्याइसकेका छन् ।