........................................................................with words, with issues!!!

Aug 28, 2012

काम कुरो एकातिर कुम्लो बोकी इरानतिर




                       
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं देश गहिरो राजनीतिक र संवैधानिक जटिलतामा अल्झेका बेला प्रधानमन्त्रीले भने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा जान मरिहत्ते गरेका छन् । शीतयुद्धको उत्कर्षका बेला जन्मेको असंलग्न आन्दोलनको यो समयमा कुनै उपादेयता छैन भन्ने जान्दाजान्दै पनि त्यहां जान जिद्धी गर्नुले उनीमाथि थप प्रश्नहरु उब्जाएका छन् ।  के एकसमयको ‘जनताको हिरो’ यतिसम्म गैरजिम्मेवार भइसक्यो कि उसलाई लथालिंग घरको एकरत्ति पनि मतलब छैन ? के मनमोहन सिंहको दर्शन पाउने मोहले नै हो त उनलाई तेहरान डोर्याएको ?
वास्तवमा असंलग्न आन्दोलनले आफ्नो औचित्य गुमाएको उहिल्यै हो । एकातिर सोभियत संघको एउटा ध्रुव र अर्कातिर संयुक्त राज्य अमेरिकाको अर्को ध्रुवमा विभक्त तत्कालीन विश्वमा उपनिवेशवादको जोडदार विरोध गर्दै राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षार्थ यसको गठन भएको थियो । दुई महाशक्तिमध्ये कुनैको पनि पिछलग्गु नबन्ने बरु पञ्चशीलको सिद्धान्तअनुरुप प्रत्येक राष्ट्रले परराष्ट्र नीति तर्जुमा गर्दै अघि बढ्ने यसको घोषित लक्ष्य थियो । तर शीतयुद्ध सकिएकै दुई दशकभन्दा बढी भइसकेको छ र यसबीचमा विश्व परिस्थितिले ठूलै कोल्टो फेरेको छ । आन्तरिक राष्ट्रियता सुदृढ नभइकन बाह्य राष्ट्रियता मजबुत हुनसक्दैन भनी यिनै प्रमले कान्तिपुरमा लेखेको केही साताअघि मात्रै हो । तसर्थ, आफ्नो सान्दर्भिकता जोगाइराख्ने हो भने असंलग्न आन्दोलनले आफ्ना विकाससील र कम विकसित सदस्य राष्ट्रहरुको आर्थिक सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने हो तर दुर्भाग्यवश शक्ति राष्ट्रहरुले जुहारी खेल्ने अखडा बनेको छ यो । इरान र इजरायलबीच हाल चलिरहेको ‘एकले अर्काको अस्तित्व सखाप पारिदिने’ धम्कीहरुको पृष्टभूमिमा हुन गइरहेको यो सम्मेलन पूरै इरानमाथि केन्द्रित हुनेछ । गरिबीले थिलथिलो बनेका नेपालजस्ता देशहरुलाई इरानको आणविक कार्यक्रममाथिको दोहोरी सुन्न केको चासो छ ? जसरी भारत पाकिस्तानबीचको तनावले सार्क आफ्ना उद्देश्यहरुमा निष्प्रभावी सावित भएको छ, ठीक त्यसैगरी शक्ति राष्ट्रहरुको दबदबाले असंलग्न आन्दोलन पनि गन्तव्यविहीन बनेको छ । नेपालजस्ता विकाससील देशहरु पनि यसका सदस्य हुन् र यिनीहरुका हितमा पनि कामहरु हुनुपर्छ भन्ने मान्ने हो भने असंलग्न आन्दोलनका प्राथमिकताहरु फेरिनैपर्छ । शीतयुद्धकालीन एजेण्डाबाट एक्काइसौं शताब्दीको अर्थ-राजनीति हांक्न सकिंदैन ।
यसर्थ देशको संकटलाई निकास दिन घोत्लिनुपर्ने बेला बिनाकाममा कहिले ब्राजिल त कहिले इरान शयर गर्न विद्धान प्रमलाई नसुहाउनुपर्ने हो, तर भन्नेहरु भन्छन् - त्यही एउटा लाज नै हराइसकेपछि जे पनि सुहाउन थाल्छ ।
                                                 
                               
                       

Read More

Aug 9, 2012

सलाम डा. गोविन्द केसी


                        
गत साता कान्तिपुर टेलिभिजनमा प्रसारित दिशानिर्देश कार्यक्रममा डा. गोविन्द केसीलाई सुनिसकेपछि मनमा विभिन्न किसिमका तरंगहरु सृजना भए । लाग्यो, आजको युगमा पनि यस्ता मान्छेहरु रहेछन् जसले कहिल्यै पनि आफ्नो केही भनेन बरु हरदम अरुकै लागि खटिरह्यो । बिरामीहरुको निस्वार्थ सेवामा जति आत्मसन्तुष्टि अरु केहीमा हुंदैन चिकित्सकहरुका निम्ति । तथापि अक्सर चिकित्सकहरुका निम्ति सन्तुष्टिको अन्त्य त्यहीं हुंदैन । मिठो खाने, राम्रो लाउने, आफ्नो बारेमा पनि सोच्ने, सक्दो मोजमस्ती गर्ने यी सबै सन्तुष्टिका अरु स्रोतहरु हुन् । यस मानेमा डा. केसी अरुभन्दा भिन्न छन् किनकि उनको जीवनदर्शन नै भिन्न छ । बिहान भालेको डाकोसंगै बिरामीको सेवामा हाजिर हुनु र निष्पट्ट रात नपर्दासम्म अविराम डटिरहनु उनको दैनिकी हो र यसैमा उनलाई गहिरो आत्मसन्तुष्टि छ । आइप्याड र आइफोनमा अभ्यस्त आजको पुस्तालाई पत्याउनै मुस्किल पर्छ, उनीसंग एउटा सामान्य मोबाइल पनि छैन । महिनैपिच्छे सपिंग मल चाहारिरहनुपर्ने यो समयमा उनी पांच वर्ष पुरानो सर्ट प्यान्टले काम चलाइरहेका छन् । सादा जीवन उच्च विचार भनेर हामीले पढ्यौं मात्र, उनले चरितार्थ गरेर देखाइदिए । विजयकुमारसंगको त्यो कार्यक्रममा छर्लंगिएको उनको नम्रता, विनयशीलता, सादापन अनि सेवाभाव देखेर कोही पनि प्रभावित नभइरहन सक्दैन । उनी क्लिीनिक धाउंदैनन्, बरु वर्षको दुईपटक जिल्ला दौडाहामा निस्कन्छन् र जिल्लाका गरिब गुरुवाहरुको जांचपड्ताल र उपचार गर्छन् । त्यहांका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने र आफ्नो ज्ञान बांड्ने काम पनि त्यसैबेला गर्छन् उनी । कतै बाढीपहिरो वा भूकम्प आउन पाएको हुंदैन, उनी दौडिहाल्छन् र स्वयंसेवी बनेर पीडितहरुको घाउमा मल्हम लगाइदिन्छन् । पैसालाई नै सबथोक ठान्ने हाम्रो समाजमा उनी यस्ता अपवाद हुन् जसले जीवनभर अरुको निस्वार्थभावले सेवा गरेरै जिन्दगीको मजा लुट्न जानेको छ । तर दुखको कुरा यस्ता निस्वार्थी, कर्मठ रहेको त्रिवी शिक्षण अस्पताल भने सीमित लोभीपापीहरुको कारण भद्रगोल अवस्थामा छ । जनताको सेवामा होइन, पैसाको बिटोमा विश्वास राख्ने नेताहरुले अन्य क्षेत्रहरुमाझैं त्रिवी शिक्षण अस्पतालमा पनि राजनीतिक भागबण्डाको कुसंस्कार छिराएर यसलाई थिलथिलो बनाइसकेका छन् । राजनीतिक भागबण्डाको यही घृणित संस्कारको अन्त्य गर्नका लागि केहीअघि डा. केसी अनसन पनि बसेका थिए । उनीजस्तो स्वच्छ छवि र अग्लो कद भएको मानिस नै आमरण अनसन बसेपछि बल्लतल्ल सरकारले वरिष्ठताका आधारमा नयां डीन नियुक्त गरेको हो । 
                                             डा. केसी जसको अनसनले अन्तत: झुक्यो त्रिवी

जेहोस्, डा. केसी कतिपयका लागि मिथक लाग्नसक्छन् । तर पनि उनको व्यक्तित्वको थोरै अंश मात्रै पनि अनुशरण गर्न सके हाम्रो जीवन धेरै सार्थक हुनेथियो । भीआइपीका नाममा कानूनै बनाएर जीवनपर्यन्त भएभरका सुविधा हसुर्न खोज्ने नेताहरु भएको देशमा डा. गोविन्द केसीजस्ता मान्छे पनि छन्- गर्व गर्न लायक कुरा हो यो । सलाम डा. गोविन्द केसीलाई ।

                                                   

Read More

Jun 12, 2012

फोहोरी फिल्म


               
झण्डै एक वर्षअघि नेपाल आएका बेला विख्यात भारतीय अभिनेता नसिरुद्दिन शाहले भनेका थिए- नेपाली फिल्म कस्ता बन्छन् भन्ने कुरा उसको पोस्टर हेरेरै थाहा हुन्छ । अब भने इन्टरनेटमा राखिएका प्रोमोहरु हेरेरै स्तर निर्धारण गर्न मिल्ने भएको छ नेपाली फिल्महरुको । पछिल्लो समयका फिल्महरुको प्रोमो हेर्ने हो भने कलिउड अब चांडै नै पोर्नशालामा परिणत हुंदै गरेको भान हुन्छ । यौन फिल्ममा बर्जितै हुनुपर्छ भन्ने होइन । यौनलाई विषयवस्तु बनाएका थुप्रै उच्चकोटीका फिल्महरु हलिउड र अन्य फिल्म उद्योगमा बग्रेल्ती छन् । तर तिनमा यौनलाई उत्तेजना फैलाउने सपाट यौनक्रियाका रुपमा नभई प्रचुर मात्रामा सिर्जनात्मक र कलात्मक आकार दिइएको हुन्छ । हाम्रो फिल्मउद्योगमा भने फिल्म भनेको बुद्धिको भांडोमा बिर्को लगाएर लिइने दुईपैसे मनोरञ्जन हो भन्नेहरुको हालीमुहाली छ । फिल्म भनेपछि त्यसमा कला हुनुपर्छ । यहां भने जे बढी बिक्छ, त्यही बनाउनुपर्छ भन्दै कुदिरहेका छन् फिल्मकर्मीहरु । यस्ता बज्रस्वांठहरुको पकडबाट बाहिर नफुत्किदासम्म नेपाली फिल्मउद्योगबाट धेरै आश गर्नु नै बेकार छ ।
नयां पुस्ताका केही जुझारु फिल्मकर्मीहरुले लुट, दासढुंगा, आचार्यजस्ता गर्व गर्नलायक फिल्म नबनाएका होइनन् । तर मूलधार भनिने बाटोमा यिनीहरु समाविष्ट छैनन्, जसकारण एटीएमजस्ता फिल्महरुले नै बजार पिटेका छन् । वास्तवमा गतिलो कथावस्तु, सशक्त अभिनय, मिलेको पटकथा, पात्र सुहाउंदा संवाद आदि हुने हो भने यौनमात्रै किन जुनसुकै विषयमाथि फिल्म बनाए पनि त्यो पाच्य हुन्छ । हाम्रोजस्तो देशमा कथाको खडेरी छ भन्ने मलाई लाग्दैन । तर स्वरैकाल्पनिक प्लट, लद्दु अभिनय अनि गएगुज्रको संवाद र संवाद सम्प्रेषण भएका फिल्ममा पनि यौनलीलाका दृश्यहरु समावेश गरिदिनेबित्तिकै आफ्नो लगानी उठ्ने मात्रै होइन, मालामालै भइन्छ भन्ने सोचाइ हावी हुनु नै हाम्रो दुर्भाग्य हो । यौन बेचेर सजिलोसंग आम्दानी गर्ने बाटो बनिरहेको कलिउडलाई पोर्नशालामा परिणत हुन नदिने जिम्मेवारी हामी दर्शकको पनि हो । यसर्थ, बुद्धिहीन स्वांठहरुले बनाएका कलाविहीन फोहोरी फिल्महरुलाई बहिष्कार गरी नयां पुस्ताका सिर्जनात्मक सोच भएका फिल्मकर्मीहरुलाई प्रोत्साहन गरौं ।
Read More

Jun 6, 2012

फुट्नुमै भलो छ


                 

बाहिरबाट हेर्दा प्रचण्ड र किरण पक्षबीच पुर्नै नसकिने सैद्धान्तिक खाडल छ  जस्तो देखिन्छ । तर विवादको भित्री चुरो सत्ता र पदको लेनदेन नै हो भन्ने बुझ्न कुनै घागडान विश्लेषक भइरहन पर्दैन । प्रचण्डले अध्यक्ष छाड्नुपर्छ भन्ने हारगुहार अनि बाबुरामलाई गलहत्याइपाउँ   भनी केपी ओलीकहां गएर गरिने नम्र निवेदन कुन रातो किताबको सूत्र अन्तर्गत पर्छ, त्यो उनै जानुन् । तर जनवादी संविधान र साम्यवादको रुमानी सपना देख्ने, देखाउने उनको सनातनी व्यवसाय अब धेरै दिन टिक्नेवाला छैन । पद, पैसा र शक्तिलाई केन्द्रमा राखेर भइराखेको कलहलाई वैचारिक जामा पहिर्‍याउने जतिसुकै दुष्प्रयास गरे पनि वैद्यहरूले बुझ्नुपर्ने हो-तिनीहरूका बासी विचारका पछाडि जनता कुद्नेवाला छैनन् । हिम्मत भए मतसर्वेक्षण गरेर हेरे हुन्छ, जनताका आँखामा सबैभन्दा बढी बिझाएका नेताहरू वैद्य खेमाकै हुन् ।

वास्तवमा वैचारिक मतभिन्नता भनी प्रचार गरिएको त चुनवाङ बैठकदेखि नै हो, तर यत्रो वर्षसम्म ती विवाद ज्युँकात्युँ रहँदा पनि कुन धातुले यिनीहरूलाई एउटै पार्टीमा टाँसेर राख्न सक्यो रु त्यो चिज के थियो, जसले जतिसुकै पुत्लादहन गरे पनि प्रचण्ड बाबुरामकै शीतल छहारीमुनि उफ्रिरहन अह्रायो रु त्यो अरु केही होइन, प्रचण्डबाट निःशृत हुने शक्तिको आश र लोभ हो । त्यसैले जतिसुकै बाघ गर्जन गरे पनि वैद्य खेमाले अहिले नै पार्टी फुटाउने जोखिम सम्भवतः मोल्ने छैन । यद्यपि कृत्रिम एकताभन्दा फुट नै जाती हुन्छ । माओवादीभित्रको यो बखेडाले राष्ट्रिय राजनीतिलाई नै प्रभावित गरिरहेको सन्दर्भमा बरु संस्थापन पक्ष नै अघि सरेर वैद्य खेमामाथि अनुशासनको डन्डा बजार्नु उचित हुन्छ । आखिर पार्टी भनेको विपरीत ध्रुवीय विचार बीचको कृत्रिम एकता होइन, नत आफ्नै नेताको पुत्लादहन गर्ने अराजक झुन्डको समूह नै हो । जसरी पनि मिल्नैपर्छ भन्ने यान्त्रिक सोचले पार्टी चल्दैन, किनभने पार्टी चल्नका निम्ति कमसेकम एउटा स्पष्ट वैचारिक र सांगठनिक आधार हुनैपर्छ ।
Read More

Jun 1, 2012

औचित्य छैन नयां चुनावको





     
२००७ सालदेखि थांती रहेको नेपाली जनताको सपना हो संविधानसभा, नेताहरु भन्थे, यहांका जनताका युगीन पीडाहरुको अचूक ओखती हो यो । आफ्नो भाग्यरेखा आफैं कोर्ने, आफ्नो संविधान आफैं बनाउने - अहो, कति सजिलै पत्याएका हामीले ती चिल्ला शब्दजालहरु । संविधानसभाको हामी आमा हौं, यो बच्चोलाई बरु हामी आफू मरेरै भएपनि बचाउंछौं भन्नेहरुबाटै त्यो सपनाको हत्या भएर त्यसको मलामी जांदैगर्दा सोचिरहेको छु - भयो के आखिर यो चार वर्षमा ? आफूले चुनेर पठाएका प्रतिनिधिमार्फत संविधान निर्माण प्रक्रियामा स्वामित्व ग्रहण गर्न हामी कति सफल रह्यौ ? धेरैभन्दा धेरै समुदायले यो प्रक्रियाप्रति अपनत्व महसुस गर्न सकून् भन्ने संविधानसभाको सिद्धान्त कति कामयावी हुन सक्यो ? यी प्रश्नहरुको उत्तर खाज्ने लेठो नगरिकनै नयां चुनावको कुरा गर्नु दुर्भाग्यपूर्ण छ । वास्तवमा संविधानसभाको सर्वोच्चतालाई लत्याएर होटल, रिसोर्ट र बंगलाका वातानुकुलित कक्षहरुमा गुपचुप लेनदेन गर्दै संविधान लेख्ने अभ्यास गर्नेहरु को हुन् दुनियांलाई थाहा छ । फगत रबरस्ट्याम्पमा सीमित पारेर जनप्रतिनिधि संस्थाको हुर्मत लिने अनि निर्णयजति जम्मै टाउकेहरुले गर्दैजाने वा निर्णय लिन नसके भंग गर्ने यही विकृत परम्परा कायम राखिराख्ने हो भने नयां संविधानसभाको बोझ किन उठाउने जनताले ?
भंग भएको यो संविधानसभाका लागि अर्बौं रुपैंया, अमूल्य समय अनि कीर्तिमानी बलिदानको मूल्य चुकाइएको छ । अभूतपूर्व आशा गरिएको यस्तो संस्था नै जब सीमित नेताहरुको व्यक्तिगत, जातिगत र पार्टीगत स्वार्थको टकरावमा परेर टुक्राटुक्रा हुन्छ, तब स्वाभाविक छ राजनीति र यसका संचालकहरु जनताको घृणा र वितृष्णाको केन्द्र बन्छन् । त्यसैले चार वर्षअघि चुनाव हुंदाताकाको उत्साह, सपना अनि विश्वासलाई अबको चुनावमा फ्रस्ट्र्रेसनले प्रतिस्थापित गर्ने निश्चित छ । बाबुरामजस्ता केही गर्छु भन्ने हुटहुटी भएका र चारैतिरबाट आश गरिएका मान्छेको त यो हविगत हुन्छ भने गर्ने कसले यो देशमा - चौतर्फी यही चरम निराशा व्याप्त छ । अन्यौलताको यो विषाक्त वातावरणमा फेरि अर्को ६०१को जम्बोरी खडा गरेर देशलाई नै सिजोफ्रेनिकहरुको भर्तीकेन्द्र बनाउन किन खोज्दैछन् हुतीहाराहरु रु नालायक नेताहरुका कारण संविधानसभाको प्रयोग यो देशमा असफल भएको देखियो । यसर्थ, २०४७ सालकोझैं बुद्धिजिवी सम्मिलित संविधान निर्माण आयोग गठन गरेर संविधान जारी गर्नु नै अहिलेको समाधान हुनसक्छ ।

Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong