झण्डै एक वर्षअघि नेपाल आएका बेला विख्यात भारतीय अभिनेता नसिरुद्दिन शाहले भनेका थिए- नेपाली फिल्म कस्ता बन्छन् भन्ने कुरा उसको पोस्टर हेरेरै थाहा हुन्छ । अब भने इन्टरनेटमा राखिएका प्रोमोहरु हेरेरै स्तर निर्धारण गर्न मिल्ने भएको छ नेपाली फिल्महरुको । पछिल्लो समयका फिल्महरुको प्रोमो हेर्ने हो भने कलिउड अब चांडै नै पोर्नशालामा परिणत हुंदै गरेको भान हुन्छ । यौन फिल्ममा बर्जितै हुनुपर्छ भन्ने होइन । यौनलाई विषयवस्तु बनाएका थुप्रै उच्चकोटीका फिल्महरु हलिउड र अन्य फिल्म उद्योगमा बग्रेल्ती छन् । तर तिनमा यौनलाई उत्तेजना फैलाउने सपाट यौनक्रियाका रुपमा नभई प्रचुर मात्रामा सिर्जनात्मक र कलात्मक आकार दिइएको हुन्छ । हाम्रो फिल्मउद्योगमा भने फिल्म भनेको बुद्धिको भांडोमा बिर्को लगाएर लिइने दुईपैसे मनोरञ्जन हो भन्नेहरुको हालीमुहाली छ । फिल्म भनेपछि त्यसमा कला हुनुपर्छ । यहां भने जे बढी बिक्छ, त्यही बनाउनुपर्छ भन्दै कुदिरहेका छन् फिल्मकर्मीहरु । यस्ता बज्रस्वांठहरुको पकडबाट बाहिर नफुत्किदासम्म नेपाली फिल्मउद्योगबाट धेरै आश गर्नु नै बेकार छ ।
नयां पुस्ताका केही जुझारु फिल्मकर्मीहरुले लुट, दासढुंगा, आचार्यजस्ता गर्व गर्नलायक फिल्म नबनाएका होइनन् । तर मूलधार भनिने बाटोमा यिनीहरु समाविष्ट छैनन्, जसकारण एटीएमजस्ता फिल्महरुले नै बजार पिटेका छन् । वास्तवमा गतिलो कथावस्तु, सशक्त अभिनय, मिलेको पटकथा, पात्र सुहाउंदा संवाद आदि हुने हो भने यौनमात्रै किन जुनसुकै विषयमाथि फिल्म बनाए पनि त्यो पाच्य हुन्छ । हाम्रोजस्तो देशमा कथाको खडेरी छ भन्ने मलाई लाग्दैन । तर स्वरैकाल्पनिक प्लट, लद्दु अभिनय अनि गएगुज्रको संवाद र संवाद सम्प्रेषण भएका फिल्ममा पनि यौनलीलाका दृश्यहरु समावेश गरिदिनेबित्तिकै आफ्नो लगानी उठ्ने मात्रै होइन, मालामालै भइन्छ भन्ने सोचाइ हावी हुनु नै हाम्रो दुर्भाग्य हो । यौन बेचेर सजिलोसंग आम्दानी गर्ने बाटो बनिरहेको कलिउडलाई पोर्नशालामा परिणत हुन नदिने जिम्मेवारी हामी दर्शकको पनि हो । यसर्थ, बुद्धिहीन स्वांठहरुले बनाएका कलाविहीन फोहोरी फिल्महरुलाई बहिष्कार गरी नयां पुस्ताका सिर्जनात्मक सोच भएका फिल्मकर्मीहरुलाई प्रोत्साहन गरौं ।
0 comments:
Post a Comment