बाहिरबाट हेर्दा प्रचण्ड र किरण पक्षबीच पुर्नै नसकिने सैद्धान्तिक खाडल छ जस्तो देखिन्छ । तर विवादको भित्री चुरो सत्ता र पदको लेनदेन नै हो भन्ने बुझ्न कुनै घागडान विश्लेषक भइरहन पर्दैन । प्रचण्डले अध्यक्ष छाड्नुपर्छ भन्ने हारगुहार अनि बाबुरामलाई गलहत्याइपाउँ भनी केपी ओलीकहां गएर गरिने नम्र निवेदन कुन रातो किताबको सूत्र अन्तर्गत पर्छ, त्यो उनै जानुन् । तर जनवादी संविधान र साम्यवादको रुमानी सपना देख्ने, देखाउने उनको सनातनी व्यवसाय अब धेरै दिन टिक्नेवाला छैन । पद, पैसा र शक्तिलाई केन्द्रमा राखेर भइराखेको कलहलाई वैचारिक जामा पहिर्याउने जतिसुकै दुष्प्रयास गरे पनि वैद्यहरूले बुझ्नुपर्ने हो-तिनीहरूका बासी विचारका पछाडि जनता कुद्नेवाला छैनन् । हिम्मत भए मतसर्वेक्षण गरेर हेरे हुन्छ, जनताका आँखामा सबैभन्दा बढी बिझाएका नेताहरू वैद्य खेमाकै हुन् ।
वास्तवमा वैचारिक मतभिन्नता भनी प्रचार गरिएको त चुनवाङ बैठकदेखि नै हो, तर यत्रो वर्षसम्म ती विवाद ज्युँकात्युँ रहँदा पनि कुन धातुले यिनीहरूलाई एउटै पार्टीमा टाँसेर राख्न सक्यो रु त्यो चिज के थियो, जसले जतिसुकै पुत्लादहन गरे पनि प्रचण्ड बाबुरामकै शीतल छहारीमुनि उफ्रिरहन अह्रायो रु त्यो अरु केही होइन, प्रचण्डबाट निःशृत हुने शक्तिको आश र लोभ हो । त्यसैले जतिसुकै बाघ गर्जन गरे पनि वैद्य खेमाले अहिले नै पार्टी फुटाउने जोखिम सम्भवतः मोल्ने छैन । यद्यपि कृत्रिम एकताभन्दा फुट नै जाती हुन्छ । माओवादीभित्रको यो बखेडाले राष्ट्रिय राजनीतिलाई नै प्रभावित गरिरहेको सन्दर्भमा बरु संस्थापन पक्ष नै अघि सरेर वैद्य खेमामाथि अनुशासनको डन्डा बजार्नु उचित हुन्छ । आखिर पार्टी भनेको विपरीत ध्रुवीय विचार बीचको कृत्रिम एकता होइन, नत आफ्नै नेताको पुत्लादहन गर्ने अराजक झुन्डको समूह नै हो । जसरी पनि मिल्नैपर्छ भन्ने यान्त्रिक सोचले पार्टी चल्दैन, किनभने पार्टी चल्नका निम्ति कमसेकम एउटा स्पष्ट वैचारिक र सांगठनिक आधार हुनैपर्छ ।
0 comments:
Post a Comment