काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं देश गहिरो राजनीतिक र संवैधानिक जटिलतामा अल्झेका बेला प्रधानमन्त्रीले भने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा जान मरिहत्ते गरेका छन् । शीतयुद्धको उत्कर्षका बेला जन्मेको असंलग्न आन्दोलनको यो समयमा कुनै उपादेयता छैन भन्ने जान्दाजान्दै पनि त्यहां जान जिद्धी गर्नुले उनीमाथि थप प्रश्नहरु उब्जाएका छन् । के एकसमयको ‘जनताको हिरो’ यतिसम्म गैरजिम्मेवार भइसक्यो कि उसलाई लथालिंग घरको एकरत्ति पनि मतलब छैन ? के मनमोहन सिंहको दर्शन पाउने मोहले नै हो त उनलाई तेहरान डोर्याएको ?
वास्तवमा असंलग्न आन्दोलनले आफ्नो औचित्य गुमाएको उहिल्यै हो । एकातिर सोभियत संघको एउटा ध्रुव र अर्कातिर संयुक्त राज्य अमेरिकाको अर्को ध्रुवमा विभक्त तत्कालीन विश्वमा उपनिवेशवादको जोडदार विरोध गर्दै राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षार्थ यसको गठन भएको थियो । दुई महाशक्तिमध्ये कुनैको पनि पिछलग्गु नबन्ने बरु पञ्चशीलको सिद्धान्तअनुरुप प्रत्येक राष्ट्रले परराष्ट्र नीति तर्जुमा गर्दै अघि बढ्ने यसको घोषित लक्ष्य थियो । तर शीतयुद्ध सकिएकै दुई दशकभन्दा बढी भइसकेको छ र यसबीचमा विश्व परिस्थितिले ठूलै कोल्टो फेरेको छ । आन्तरिक राष्ट्रियता सुदृढ नभइकन बाह्य राष्ट्रियता मजबुत हुनसक्दैन भनी यिनै प्रमले कान्तिपुरमा लेखेको केही साताअघि मात्रै हो । तसर्थ, आफ्नो सान्दर्भिकता जोगाइराख्ने हो भने असंलग्न आन्दोलनले आफ्ना विकाससील र कम विकसित सदस्य राष्ट्रहरुको आर्थिक सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने हो तर दुर्भाग्यवश शक्ति राष्ट्रहरुले जुहारी खेल्ने अखडा बनेको छ यो । इरान र इजरायलबीच हाल चलिरहेको ‘एकले अर्काको अस्तित्व सखाप पारिदिने’ धम्कीहरुको पृष्टभूमिमा हुन गइरहेको यो सम्मेलन पूरै इरानमाथि केन्द्रित हुनेछ । गरिबीले थिलथिलो बनेका नेपालजस्ता देशहरुलाई इरानको आणविक कार्यक्रममाथिको दोहोरी सुन्न केको चासो छ ? जसरी भारत पाकिस्तानबीचको तनावले सार्क आफ्ना उद्देश्यहरुमा निष्प्रभावी सावित भएको छ, ठीक त्यसैगरी शक्ति राष्ट्रहरुको दबदबाले असंलग्न आन्दोलन पनि गन्तव्यविहीन बनेको छ । नेपालजस्ता विकाससील देशहरु पनि यसका सदस्य हुन् र यिनीहरुका हितमा पनि कामहरु हुनुपर्छ भन्ने मान्ने हो भने असंलग्न आन्दोलनका प्राथमिकताहरु फेरिनैपर्छ । शीतयुद्धकालीन एजेण्डाबाट एक्काइसौं शताब्दीको अर्थ-राजनीति हांक्न सकिंदैन ।
यसर्थ देशको संकटलाई निकास दिन घोत्लिनुपर्ने बेला बिनाकाममा कहिले ब्राजिल त कहिले इरान शयर गर्न विद्धान प्रमलाई नसुहाउनुपर्ने हो, तर भन्नेहरु भन्छन् - त्यही एउटा लाज नै हराइसकेपछि जे पनि सुहाउन थाल्छ ।
0 comments:
Post a Comment