हालैका दिनमा केही विदेशी संचारमाध्यमहरुले एकजना बेलायती लेखकको प्रकाशोन्मुख कृतिको हवाला दिंदै सगरमाथाको चुचुरोमा तेन्जिंग नोर्गे नभई हिलारीले पहिले पाइला राखेका थिए भनी समाचार प्रकाशित गरेपछि ‘को पहिले’ भन्ने निरर्थक विवाद फेरि ब्युंतिएको छ । कृतिका अनुसार तत्कालिन समयमा नेपालमा बढ्दो औपनिवेशवादविरोधी भावनालाई साम्य पार्न मात्र तेन्जिंगलाई हिलारीको समकक्षमा उभ्याइएको हो । यसबाट तेन्जिंगको योगदानको नजरअन्दाज त भएको छ नै, ठुलो जोखिम मोलेर विदेशी पर्वतारोहीहरुलाई साथ-सहयोग दिने गरेका शेर्पाहरुप्रतिको पूर्वाग्रही दृष्टिकोण पनि प्रकट भएको छ ।
वास्तवमा, संसारकै सर्वोच्च शिखरमा टेकेर मानव विजयको झण्डा फहराउन यी दुवैजना सन् १९५३ मा जोन हन्ट नेतृत्वको आरोहण दलमा संगै सरिक भए र संगै पाइला टेके । उनीहरुका लागि त्यो ऐतिहासिक आरोहण पहिलो, दोस्रो वा तेस्रो हुनका लागि खेलिएको दौड प्रतियोगिताजस्तो थिएन, त्यसैकारण पत्रकारहरुले सोधेर कहिल्यै नअघाएको त्यही ‘को पहिले’ भन्ने प्रश्न उनीहरुले सकेसम्म पन्छाइरहे । एउटा टीमका रुपमा त्यो हाम्रो संयुक्त आरोहण थियो भनेर दुवैजनाले भनिरहे, तर मान्छेहरुले जिज्ञासा राख्न नछाडेपछि अन्तत: तेन्जिंगले मुख फोरे-मभन्दा अगाडि हिलारी थिए । त्यो बहसको अन्त्य त्यहीं हुनुपथ्र्यो, तर आजसम्म पनि मान्छेहरुलाई त्यही विषय उचालिरहन मन पर्छ ।
आखिर, दुई चार सेकेण्ड अन्तरालको त्यो विषयका पछाडि हात धोएर लाग्नुभन्दा तेन्जिंगको बारेमा सही सूचना सम्प्रेषण गर्नतिर मिडिया लाग्नुपर्ने हो । बाहिरी जगत्मा सगरमाथा भन्ने बित्तिकै हिलारीलाई नै सम्झने गरिन्छ, तेन्जिंगबारे कि त उनीहरुलाई थाहै हुंदैन, थाहा भइहाले पनि एउटा शेर्पा भरियाका रुपमा मात्र लिने गर्छन् उनीहरु । उत्तिकै हकदार हुंदाहुंदै पनि हिलारी र जोन हन्टलाई मात्र बेलायती महारानीबाट नाइटहुड प्रदान गर्ने काम भयो, तेन्जिंग यसबाट वञ्चित भए । नेपालले पनि उनलाई सम्मान दिएर यहां राख्न सकेन । उल्टो भारतीयहरुले हाम्रो तेन्जिंग भन्दै गर्व गरे, प्रशस्त सुविधाहरु दिएर त्यतै राखे र अन्त्यमा तेन्जिंग भारतका जस्तै भए ।
हामीले तेन्जिंगलाई आफ्नो बनाउन त सकेनौं, कम्तीमा उनको योगदानको अवमूल्यन गर्न खोज्ने हर्कतहरु त रोक्नसक्छौं । तेन्जिंगका साथै यहांका अन्य साहसी शेर्पाहरुलाई सहयात्री नभई भरिया र गाइड मात्र ठान्ने मनोवृतिलाई झापड त दिन सक्छौं ।
0 comments:
Post a Comment