........................................................................with words, with issues!!!

Apr 9, 2013

इतिहासको उत्खनन्



ग्याब्रियल गार्सिया मार्खेजले '२० औं शताब्दीका महानतम् कवि' ठहर्याएका चिलीका विश्वविख्यात कवि पाब्लो नेरुदाको शवको केही दिन अघिमात्रै अवशेष उत्खनन गरियो, मृत्युको चालिस वर्षपछि।  सन् १९७३ मा तानाशाह अगस्टो पिनोसेले सैनिक ‘कू’ गरी सत्ता हत्याउनु र साहित्यतर्फको नोबेल पुरस्कार जित्ने वामपन्थी कवि नेरूदा अनि समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको मृत्यु संगसंगै हुनु संयोग मात्र होइन भन्दै मृत्यु (वा हत्या ?) बारे थप अनुसन्धान गर्न शव उत्खनन गरिएको थियो।  मरेको २ महिनासम्म पनि शवयात्रा गर्न आलटाल गरेको पिनोसेको सत्ता नै उनको हत्यारा थियो भन्ने आमआशंकालाई शव उत्खनन कार्यले केही हदसम्म सम्बोधन गर्नेछ । करिब २ वर्षअघि एलेन्डेको पनि शव उत्खनन गरी उनको मृत्युबारे निष्कर्ष निकाल्दै भनिएको थियो कि- उनले आत्महत्या गरेका थिए ।

संदिग्ध मृत्यु बेहोरेका अर्का नोबेल पुरस्कार विजेता प्यालेस्टानी नेता यासेर अराफतको पनि केही महिनापहिले शव उत्खनन गरी फरेन्सिक विशेषज्ञहरुले अनुसन्धान गरिरहेका छन् जसको रिपोर्ट बाहिर आउन अझै केही महिना कुर्नुपर्ने बताइएको छ । उनका व्यक्तिगत सामानहरुमा रेडियोएक्टिभ तत्व पोलोनियम-२१० को मात्रा पाइएपछि इजरायलले विष खुवाएर मारेको ‘कन्सपिरेसी थ्योरी’ ले बढी बजार पिटेको थियो ।

त्यस्तै, ५० वर्ष भैसक्यो, जोन एफ. केनेडीको हत्याले पनि एउटा खास टुंगो पाउन सकेको छैन । हत्यालगत्तै गठन गरिएको ‘वारेन कमिशन’ ले लि हार्वे ओस्वाल्डलाई हत्यारा ठहर गरेपनि बहुमत अमेरिकी जनता त्यसलाई एउटा व्यक्तिको लहड नभई ठुलै षड्यन्त्र ठान्दछन् । अरु त अरु, २ शताव्दीअघिका नेपोलियन बोनापार्टको मृत्युबारे पनि बाझिने मतहरु थिए, जुन लामो समयको अनुसन्धानपछि बल्लतल्ल टुंगिएजस्तो देखिएको छ । पेटको क्यान्सरलाई नै उनको मृत्युको आधिकारिक कारण मानिएको छ अब ।

यी विषय उठाउनुको कारण के भने जति नै समय लागेपनि इतिहासको गर्भभित्रका रहस्यहरु एक न एक दिन खुल्छन् नै । बस् त्यसका आन्द्राभुँडी केलाउनेगरी गम्भीर अनुसन्धान र छानबिन हुनुपर्यो। तर भनिरहनु पर्दैन, ‘गम्भीर अनुसन्धान र छानबिन’ भनेको कुन चरीको नामझैँ हो नेपालमा । विडम्वना, रहस्यका अनेकौं पोका-पन्तुराले भरिएका घटनाहरु यहीँ छन् बग्रेल्ती। धेरै पर किन जानु, जेठ १९ को दरबार हत्याकाण्ड नै लिउँ न। इतिहासमा त्यत्रो महत्व राख्ने त्यस घटनाबारे छानबिन गर्न आजसम्म तारानाथ रानाभाटको ‘भटटटट’ आयोगबाहेक कुनै अर्थपूर्ण आयोग बनेन र आएनन् त्यसैले कुनै राय र ठहर सहितका तार्किक रिपोर्ट पनि। न त बने कुनै फिल्म वा वृतचित्र जसले समातेका होउन् कुरोको चुरो। त्यसैले सबैसबैजना कि त गनिनसक्नुका विरोधाभाषले ग्रस्त उही ‘भटटटट’ प्रतिवेदनमा भर पर्नुपर्यो, होइन भने बजारमा जति पनि पाइने ‘कन्सपिरेसी थ्योरी’ जिन्दावाद ! बचेको विकल्प एउटै छ – फेरि अनुसन्धान, अनुसन्धान, अनुसन्धान। पहिलेको जस्तो नाममात्रको अनुसन्धान होइन, जसले उत्तर दिनुको साटो छोडेको थियो थुप्रै प्रश्नका चांगहरु जो अद्यापि अनुत्तरित छन् ।

प्रविधिको अभूतपूर्व विकासले शताव्दीऔं पुराना पहेली त सुल्झाउन सकिन्छ भने यो त जाबो एक दसक पहिलेको कुरा न हो । पोस्टमार्टम नगरिएको, हतारहतारमा लास जलाइएकोले गर्दा त्योबेला सही अनुसन्धान गर्ने नियत त थिएन नै, भविष्यमा हुनसक्ने अनुसन्धानमा पनि तगाराहरु बिछ्याइएका थिए । झन् पछि त्रिभुवन सदन पनि भत्क्याएकाले  स्पष्ट छ –अनुसन्धान गर्ने आँट भएकाका लागि पनि फलामको च्युरा चपाउनुसरह नै हुनेछ।  तर त्यो नै अनुसन्धान नगर्ने बहाना हुनसक्दैन। आखिर राजतन्त्र मिल्किएको अवस्था छ, यसर्थ वातावरण सहज र अनुकुल छ छानविनका निम्ति। प्रत्यक्षदर्शीहरु जिवितै छन् । ‘वीरेन्द्रसँग हाम्रो कार्यगत एकता थियो’ भन्दै भावुक हुने प्रचण्ड र ‘नयाँ कोतपर्वलाई मान्यता दिनु हुदैन’ भनेर लेख लेख्ने बाबुरामहरु सरकारमा आउँदा यसबारे केही ठोस पहलकदमी लिन्छन् कि भन्ने आशाको त्यान्द्रो थियो, मर्यो। बरा प्रचण्ड कमरेड, भ्रष्टाचारमा आफैँमाथि छानविन होला भन्ने पिरले लोकमानको बुई चढ्दैछन्, त्यो मूला जेठ १९ को लीलामाथि छानविनको टन्टा किन लिउन् ! तर, जेहोस् ‘द ग्रेटर नेपाल’ र ‘दासढुंगा’ जस्ता ऐतिहासिक सिनेमा बनाउने जुझारु फिल्मकर्मी मनोज पण्डितले नै जेठ १९ का बारे पनि फिल्म बनाउने समाचारहरु बाहिर आएका छन्।  यो सकारात्मक कुरो हो ।

अर्को नसुल्झिएको पहेंली छ –दासढुंगा काण्ड। विडम्बना के छ भने ऊबेला सडकमा अहिलेको वैद्यलाई उछिन्ने गरी उफ्रिने एमाले त्यसयता थुप्रोपटक सत्ताको तर चाख्न भ्याइसक्यो, तर निकाल्न सकेन कहिल्यै फुर्सद दासढुंगा सम्झन। जेठ ३ का दिन कर्मकाण्ड पुर्याउन चाहिँ फूलमालासहित हाजिर भएकै हुन्छ त्यहाँ । आफ्ना अग्रज विचारकलाई सम्झने भनेकै यस्तै कर्मकाण्ड न हो उसका निम्ति। तर एमालेलाई मतलव भएन भन्दैमा अरुले पनि दासढुंगालाई बिर्सन मिल्दैन। मदन भण्डारी वामपन्थी शक्तिहरुलाई मूलधारमा ल्याउने देशभक्त चिन्तक भएकाले मात्रै होइन, घटना इतिहासको महत्वपूर्ण अध्याय भएको नाताले पनि यसको घनिभूत खोजबीन हुनुपर्छ। दासढुंगा दुर्घटना मात्रै हो कि नियोजित षड्यन्त्र ? त्यसबेला बनेका अनेक आयोगहरुमध्ये तुलाधर आयोग र ओली आयोगले षड्यन्त्र ठहर गर्यो, बाँकी केहीले दुर्घटना। चालक अमर लामाले पनि दुर्घटनै भने । तर पछि दिनदहाडै उनको पनि हत्या भएपछि दासढुंगा अरु रहस्यमय बन्यो ।अनुमानको खेती गर्नेहरुले औंलो सी.आई.ए सम्म सोझ्याए। तर जनता नामको जन्तु कुहिरोको कागै बनेर रूमल्लिरहेको छ आजपर्यन्त। किनकि राप र तापका बेला ‘दासढुंगा हत्याकाण्डको छानवीन गर’ भन्दै मान्छेका ज्यान लिनेगरी चलाइएका आन्दोलनहरु आजकाल धेरै भो, ‘मलाई कुर्सी दे’ तिर सोझिएका छन् ।अनि त्यसबेला बनेका अनेकौं आयोगहरुका प्रतिवेदन नजाने कुन कुनामा धुलो र माकुरोको गाता ओढेर बसेका छन् वा कुन परलोक पुर्याइसकिएका छन् !

यसबीचमा छानविन प्रतिवेदनहरुमै आधारित मनोज पण्डित निर्देशित ‘दासढुंगा’ नामको डकुड्रामाले केही बहस र छलफल निम्त्यायो । मजस्ता नयाँ पुस्ताका ठिटाठिटीलाई नयाँ शिराबाट घटनालाई बुझ्न मद्दत गर्यो । यस्ता प्रयासहरु टिठलाग्दो पाराले एकाध मात्र भएका छन् । जतिसक्दो प्रोत्साहन गर्दै फैल्याउनुपर्छ इतिहास खोतल्ने यस्ता सत्प्रयासहरु ।

जेहोस्, माथि दिइएका अन्य देशका दृष्टान्तबाट पनि प्रस्ट हुन्छ – इच्छाशक्ति हुने हो भने दशकौंअघि गाडेका लाशका अवशेष उत्खनन् गरेर भएपनि इतिहासमाथि न्याय गर्न सकिन्छ । हाम्रोमा लाश जलाइन्छन्, त्यसैले अप्ठ्याराहरू होलान्। तर फेरि पनि मुख्य कुरो अनुसन्धान गर्ने इच्छाशक्ति नै हो। यदि त्यो नै छैन भने अवशेष त के, लाशै ज्यूँदेर किटानी जाहेरी दिएपनि केही फरक पर्नेवाला छैन !
     
                 
Read More

Mar 15, 2013

The Metamorphosis


Yesterday, the helmsman of the judiciary woke up to find himself metamorphosed into the helmsman of the executive. It reminded me of Kafka’s ‘The Metamorphosis’, but where it differs from that of our CJ episode is that this was not an overnight process, rather a result of a month-long brainstorming of our leaders (do our leaders really have brains is entirely a different question). Unable to sort out their differences and reach a common point, the parties have taken this untrodden path, but is this path that smoother as expected and will it lead to new elections is a million-dollar question.
Arjundrishti on Elections

Opinions are sharply divided across the political spectrum but one thing is for sure- we had very limited options and however unconstitutional this may be, this was the best among the worst. After all, the interim constitution’s violation was not started yesterday; it was long back that parties started this business of interpreting and amending laws on their whims and caprices. Everyone knows- no sooner do they face a hurdle in their roadmap, they are used to resorting to develop a ‘Rastriya Sahamati’ and clear the way.

As citizens, periodic elections, the oxygen to democracy, is what we cherish. But the widespread sentiment across the nation echoes Jay Leno: “If God had wanted us to vote, He would have given us candidates”. Resentment to the politicos is at its all-time high and given that the same bunch of leaders will come to battle in the election field; this new election setup has failed to inspire any enthusiasm in its voters. However, there are some who believe – a non-politico like KhilRaj should take this as an opportunity and go the ‘Nayak’ way. Nab all the corrupt and criminal leaders and develop the nation overnight with a magic wand. I understand the inherent frustrations, but let’s be clear: It’s foolishness on our part to expect substantial results from the new government. Let us not pin high hopes on this technocratic government just because this doesn’t contain the tainted faces of the discredited leaders.  As evident from the outgoing BRB’s government, it’s extremely excruciating when your hopes are dashed. At the moment, we can just hope that it’ll be able to deliver on its election promise at the least by this year and pave way for a new course (or who knows, way for maybe the same old endless wrangling of post 2008 CA period!). Only that and nothing more. In fact, that alone is a herculean task. In a nation which cannot even ensure a fair SLC exam, rooting for free and fair elections may be asking too much. But, much of the CJ cum PM’s credibility now rests upon his ability to do just that. He should do all he can in order to free this election from the influence of muscle, money and clout. On other fronts, if he becomes able to just prevent further downslide and maintain the situation in status quo, that’ll be feathers added in his cap.

This is primarily an election government comprising of former bureaucrats and a new experiment in our political history. It was earlier reported that Mr. Regmi refused to toe the big four’s line during the negotiations that preceded his ascent to this thorny chair. But, it’s unclear, to how much extent will these parties have a say in the state affairs and the state coffers. Equally interesting will it be to see the leadership acumen of this new PM to tame the unrestrained leaders and cadres of the political outfits.

 Should it succeed in conducting this very thing with which it is entrusted, it will go down in history as one of the most successful cabinets of recent times. Challenging as it is, given the formidable opposition in the streets, media and elsewhere. However, even more challenging is the task to draft that common document called ‘constitution’ from that fractured elected body. For now, I can just wish Khilraj all the best to be able to metamorphose back into CJ a clean and competent man in a few months’ time.

Read More

Dec 28, 2012

मरणीदेवीदेखि बिन्दूकुमारीसम्म : नेपाली नारीको सकस


           

 वि.सं २०५८ ताका महोत्तरीकी मरणीदेवी साहलाई बोक्सीको आरोपमा मरणासन्न हुनेगरी भकुरियो । जबर्जस्ती मलमूत्र ख्वाउने, जिउँदै जलाउने, मुखमा एसिड हुत्याइदिनेजस्ता आततायी घटनाहरु यो मुलुकमा २०५८ सालयता मात्रै हुन शुरु गरेका होइनन् । तर अघिका त्यस्ता घटिया घटनाहरुलाई कुनै खास घटना होइन, एउटा स्वाभाविक नियति मानिन्थ्यो । गाउँको कुनै ठूलोठालुका आँखामा कोही आईमाई बिझायो भने बोक्सीको बात लगाइदियो...टन्टा खलास् । ठालूले बोलेपछि बोल्यो बोल्यो, सारा गाउँ जुरुक्क उचालिएर त्यो बिचरीलाई तातै निल्न आउँथ्यो । ती निरीह प्राणी भावीले छैंठीमा आफ्नो ललाटमा यस्तै कोरिदिएको सोच्दै बोक्सीको उपमा चुपचाप सकारिदिन्थिन् । तर पछिल्लो दशकमा भएको आमसंचार र जनचेतनाको विकासले बोक्सीका नाममा मध्ययुगीन अत्याचार गर्ने अधिकारबाट ठालूहरुलाई अलिकति भएपनि वञ्चित गरिदिएको छ । मरणीदेवीको केस मिडियामा आयो, जागरुक नागरिकहरु त्यसविरुद्ध आँधी भएर उठे र ढिलै भएपनि सही, उनलाई बोक्सी भन्नेहरु हच्किए । ती अदालतका फन्दामा परे । मरणीदेवी काठमाडौं खाल्डो आइन्, नारी वेदना र नारी संघर्षको प्रतिरुप बनिन् र पारिजात संघर्षशील पुरस्कारबाट सम्मानित भइन् ।


त्यसयता एउटा सिंगो दशक गुज्रिसक्यो । तर महिला हिंसाका सर्वथा नयाँ कलेवरमा नयाँ नयाँ मरणीदेवीहरु जन्मन रोकिएका छैनन् । हामीले मरणीदेवीलाई सम्मान गरेर नारी हिंसाका ती अँध्यारा पाटाहरुबाट बाहिर निस्क्यौं भनेको त झनै डरलाग्दा रुपरंगका अन्याय अत्याचारमा पो लिप्त हुँदैगएछौं । शिक्षाको विकासले पितृसत्तात्मक सामाजिक संरचनाको जगमा रहेको नारीप्रतिको अनूदार दृष्टिकोण बदल्यौं भनेको त झनै जरा गाड्दै पो रहेछौं । शिक्षित हुँदैमा मानिस विवेकी हुँदोरहेनछ । होइन भने, प्रहरी जवान सुन्तली धामी आफ्नै अफिसरहरुबाट दिनदहाडै प्रहरी कार्यलयमै त्यसरी पाशविक रुपमा बलात्कृत हुनुनपर्ने हो । मैना सुनुवारलाई सेनाले त्यस्तो बर्बर ढंगले यातना दिईदिई, तड्पाईतड्पाई, चरम यौन शोषण गर्दै नमार्नुपर्ने हो । मानवतालाई नै कलंकित पार्ने सोच्नैनसकिने घटनाहरु धमाधम घटेकोघट्यै नहुनुपर्ने हो । यो सबका पछाडिको जड कारणमा हाम्रो सामूहिक सोचाईपद्धति छ, जुन हाम्रै समाजले हामीलाई दिएको स्कुलिंगको उपज हो ।

नारी हामी सबैकी जननी हुन्, उनको पूजा गर्नुपर्छ भनेर मुखले जति फलाकेपनि व्यवहारतः हरेकले घरघरमा लैंगिक भेदभावको चित्र बच्चैदेखि पहिल्याउन थाल्छन् । सकीनसकी छोरोलाई बोर्डिंग भर्ना गरिदिने बाउआमाले 'अर्काको घर जाने जात' की छोरीलाई सानैदेखि घरगृहस्थी स्याहार्न सिकाउँछन् । एउटै कोखबाट जन्मेको एउटा आँगनमा मदमत्त खेल्दै हुन्छ, अर्की विचरी कि त भाइ खेलाउँदै होली, कि भने घरधन्दा गर्दै । भाइले केही विराम गर्दा पुल्पुल्याइ पाउँछ, उसले पाउँछे गाली । ‘तँ नकच्चरीलाई गाउँगाउँ डुल्दै हिंड्नुपर्छ ? लाजसरम केही नभाकी’- आमाको टोकाइले ऊ लाज के हो थाहा नपाउँदै आफ्नो लाजको रक्षार्थ जेहाद छेड्दै हिंड्नुपर्छ । विवाह के चीज हो अथ्र्याउनसक्ने नहुँदै दुलाहा छिनोफानो भइसक्छ । अथाहा औडाहा हुन्छ हुर्केकी छोरी घरमा हुने बाउआमाका मनमा । अलिकति बुझ्ने हुँदैगर्दा भाइले थाहा पाइसक्छ- दिदीभन्दा  त म ठूलो हुँ, घरमूली मै हुँ, घरको जेठोबाठो मै हुँ, शेषपछिको खाने मै हुँ । संस्कार दिंदा ठूलाबडाको सम्मान गर्नुपर्छ, छोरा- भनिन्छ तर नारीको सम्मान गर्नुपर्छ भनेर कहींकतै सिकाइँदैन । फलतः उसमा पुरुष अहं चढ्छ, नारीप्रति सम्मानभाव चढ्दैन । सहरबजारमा पनि मात्रा फरक होला, तर समस्याको चूरो त्यही नै हो । यो बराबरी व्यवहार गर्ननसक्नु बाउआमाको दोष होइन, हाम्रो सामाजिक-आर्थिक संरचनाको निर्माण भुइँतहदेखि उपरीतहसम्म नै त्यसहिसाबले भएको छ ।

पतिको जुठोपूरो र गोडा धोएको पानी पिउनुपर्ने नियम बसाल्ने समाजमा नारी स्वाभिमान कहिल्यै उँचो हुनसक्दैन । लोग्नेको खुट्टा मिच्दै अनि सासूका वचनवाण सहँदै बुहारी-जीवन गुजार्नुपर्ने गाउँहरुले नारीजातिलाई सधैं दबदबामै रहेको देख्न चाहन्छन् । मानौं नारी कुनै प्राणी होइन, भोग गर्ने मेसिन हो । रंकदेखि राजासम्मैको रीत यही हो । कोही सुन्दर तरुणी देख्नैनहुने, देख्यो कि त भोग्या बनाएर दरबार छिराइहाल्ने रणबहादुरको पालाका किस्साहरु जगदीश घिमिरेकृत ‘सकस’ मा पढ्दा निस्सासिएको थिएँ । बाहिर सज्जन र भलाद्मीको मास्क भिर्नेहरु नै भित्रभित्र कतिसम्म दुर्जन हुन्छन, सबैले देखेभोगेकै कुरा हो । महिलाअधिकारको साइनबोर्ड राखेर पसल खोलेकाहरु नै महिला हिंसाको साझेदार रहेका घटनाहरु नसुनिएका होइनन् ।

यो लेख्दैगर्दा दिल्ली अझैं आन्दोलित छ । दुई साता पहिले एक २३ वर्षीय किशोरीमाथि भएको जघन्य अपराधको विरोधमा सारा भारत स्वतःस्फूर्त रुपमा उठेको छ । वास्तवमा, सामूहिक बलात्कारमात्रै किमार्थ थिएन त्यो । बलात्कारले नमेटिएको प्यास मेटाउन आततायीहरुले फलामे रड घुसाए योनीभित्र । आन्द्रासम्म त्यसको असर पुग्यो र आखिर त्यो अपरेशन गरेर काटी फाल्नुपर्यो । दामिनी, निर्भय र अमानतजस्ता नामबाट पुकार्दैछन् मान्छेहरु उनलाई, जो अहिले जीवन र मरणको दोंसाधमा सफ्दरजंग अस्पतालबाट सिंगापुर लगिएकी छिन् [अपडेटः उनले भर्खरै जीवनसँगको संघर्ष हारिन् तर उनको मृत्युले उठाएका मुद्धाहरुले यी वीरांगनालाई अमर बनाएको छ ।]  धेरै भन्दैछन्- ती नरपिशाचहरुलाई क्यास्ट्रेट गर्नुपर्छ, झुण्ड्याउनुपर्छ । हो, कडाभन्दा कडा सजाय दिएर एउटा नजिर बसाल्नैपर्छ, ताकि आइन्दा यस्तो गर्नुअघि हरेक मान्छेले दशपटक सोच्नुपरोस् । तर दण्ड र विधिविधानमा मात्रै अल्झिएर बस्नुभन्दा हाम्रो सामाजिक प्रणालीमा नारीलाई हेर्ने दृष्टिकोणमा रहेको गम्भीर खोट सच्याउनेतर्फ पनि कम्मर कस्नुपर्ने हो । रेप क्यापिटल कहलिन थालेको दिल्लीले यसपटक अभूतपूर्व प्रतिरोध गर्यो, सायद घटनाको अतिशय गम्भीरताले पनि होला । यता हाम्रोमा लगभग दिनदिनैजसो बलात्कार र जिउँदै जलाइएका घटनाहरु बाहिर आउँदा पनि आक्कलझुक्कल धर्नाबाहेक कुनै प्रतिरोध हुननसक्नु दुखलाग्दो कुरा हो । बर्दियाकी १६ वर्षीय शिवा हसमी आफूसँग भाग्न नमानेको निहूँमा एउटा नरपिशाचबाट जिउँदै जलिन् र उपचारका क्रममा स्वर्गे भइन् । त्यति ग्ल्यामरस थिएन सायद यो विषय मिडियाबाजीका निम्ति, घटना त्यत्तिकै थामथुम भो । पिडकहरु थप हौसिए र अस्ति मात्रै बाराकी बिन्दूकुमारी ठाकुरको नियति पनि शिवाकै जस्तोगरी अन्त्य भयो । मान्छेहरु सोध्दैछन्- खै कहाँ हरायो मानवता ? कता हरायो, सायद कसैलाई थाहा छैन । तर यसैगरि मान्छेहरु यस्ता बर्बर उन्मादहरुप्रति आँखा चिम्लदै जाने हो भने, निश्चित छ- हराएको यो मानवता कहिल्यै भेट्टिनेछैन ।

हातमुख जोर्नैका लागि वैदेशिक रोजगारमा गएका महिलाहरुका आफ्नै कहर छन् । खाडी मुलुकहरु महिलाप्रति झनै कट्टर छन् र बुझ्ने कुरा हो- जहाँ कट्टरता हुन्छ, त्यहाँ नारी अस्मिता झनै खतरामा हुन्छ । तर अहिलेलाई त्यो पाटो बिर्सिदिउँ । यहाँ त बरु उताबाट सकुशलै फर्किएला, आफ्नै देशको सिमाना टेकेपछि चाहिं के हुने हो भन्ने भय देखियो । हाम्रो एकमात्र अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागद्धारा महिनादिनअघि भोजपुरकी एक महिला खाइनखाई कत्रो दुखजेलो गरी कमाएर ल्याएको पैसासहित सर्वस्व लुटिएको समाचार आउनु के राष्ट्रिय लज्जाको विषय होइन ? त्यसमाथि एक महिनापछि मात्रै घटना बाहिर आउनु थप लज्जास्पद कुरा हो । आखिर बलात्कार गर्ने पुरुषको कुनै इज्जत नजाने तर बलात्कृत नारी चाहिं जीवनैभरि घोसेमुन्टो लाउँदै अपहेलित भएर बाँच्नुपर्ने समाजमा कति यस्ता घटनाहरु कार्पेटमुनि लुकाइएका होलान्, कसलाई फुर्सद अन्दाज लगाउन ? सरकारकै पुलिस र कर्मचारीहरुको मिलीभगतमा यस्ता घटना हुनथालेपछि प्रश्न उब्जिएको छ- अब कहाँ छन् सुरक्षित चेलीबेटीहरु ? के आफ्नो जीउको रक्षा गर्नैका निम्ति बन्दूक बोकेर हिंड्नुपर्ने समय आएको हो ?

दाइजोका नाममा हुने महिला हिंसा त्यत्तिकै पीडादायी छन्, बम्बईका दलालबाट बेचिने चेलीहरुका कथा उस्तै दर्दनाक छन् र छन् उत्तिकै हृदयविदारक महिनावारीका बेला दशबाह्र दिन गोठको बास झेल्नुपर्ने सुदुरपश्चिमेली महिलाका छाउपडी व्यथाहरु । नेपाली नारीहरुको यो अग्निपरीक्षा आखिर कहिलेसम्म हो ? शिक्षा, चेतना र संचारको द्रुत विकास भएको यो एक्काइसौं शताब्दीमा पनि कसरी दिल्लीको वा बाराको जस्तो पाशविक र अमानवीय घटनाहरु भइरहेका छन् ? केबल भोग गर्ने शरीरका रुपमा मात्रै नारीलाई हेर्ने सनातनकालदेखिकै लेन्समा किन परिवर्तन हुनसकेको छैन ? मुखमा ‘यत्र नायस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ र बगलीमा छुराको व्यवहार किन दोहोरिरहेको छ ? समाजसामु तेर्सिएका यी गम्भीर प्रश्नहरुको उत्तर खोज्न र तदनुरुपको बाटोमा समाजलाई हिंडाउन जति ढिला हुँदै गर्छ, नयाँनयाँ कलेवरमा नयाँ नयाँ मरणीदेवीहरु, नयाँ नयाँ दामिनीहरु क्रूरताका सबैखाले पराकाष्टाहरु नाघ्दै यो समाजले जन्माइरहने पक्का छ ।            
         

Read More

Dec 6, 2012

अम्बेडकरका तीन कुरा



               संदर्भ: ५७औं अम्बेडकर पुण्यतिथि 

सन् १९४९ नोभेम्बर २५ । भारतीय संविधानका जनक भीमराव अम्बेडकर तत्कालिन संविधानसभालाई आफ्नो अन्तिम सम्बोधन गर्दै थिए । त्यस अवसरमा उनले गरेका थुप्रै अर्थपूर्ण कुराहरुमध्ये मुख्यतः तीन कुराहरुको चर्चा लामो समयसम्म भइरहेको र भइरहने छ । आजको नेपालमा धेरै अघिका ती अम्बेडकर कुराहरु झन् बढी प्रासांगिक बनीआएका छन् ।


पहिलो, उनले हिंसात्मक राजनीतिलाई परित्याग गर्न आह्वान गरे । फिरंगीहरुको उपनिवेश बनेर रहनुपर्दा सडकमा निस्कने हाम्रो अधिकार थियो, अम्बेडकरले भनेथे, सायद बन्दूकै भिर्नु पनि हाम्रो अधिकार थियो । तर आज जमाना फेरिएको छ । स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक आजको भारतमा कुनै पनि गैरसंवैधानिक बाटाहरु सर्वथा अस्वीकार्य छन् । न्यायका निम्ति कानूनका बाटाहरु चौडा भएका बेला कानून हातमा लिन खोज्नु अराजकता हो, स्वतन्त्रता होइन- उनले स्पष्ट भनिदिए । अरुन्धती रोयहरुलाई असहमति जनाउने ठाउँ जति पनि छ । जमाना फेरिएको हाम्रोमा पनि उहिल्यै हो । तर तरुण दल, स्वयंसेवक ब्यूरो र यूथ फोर्सजस्ता अर्धसैनिक दस्ताहरु उमार्न हाम्रा नागरिक दलहरुलाई भ्याईनभ्याई छ । छापामा तिनका हर्कतहरु आजभोलि धेरै भो छापिएका छैनन् र ती सुस्ताएका झैं सुनिन्छन्, तर ढुक्क भए हुन्छ तिनका हर्कतहरु मिडियाका आँखामा छारो हाल्दै अविराम जारी छन् । मूल राजनीतिक नेतृत्वले नै हिंसालाई आफू फैलने अस्त्र बनाएर गुण्डाराज स्थापना गर्नपट्टि लागेपछि 'नयाँ नेपाल' जन्मेको हो । कुनै टाउके नेता छैन यहाँ, जसको उठबस कुनै डनसँग नहोस्, कुनै हतियार माफियासँग नहोस्, कुनै तस्कर गिरोहसँग नहोस् । परिणाम छोटा राजनहरुको क्रिडाभूमि बनेको छ मुलुक । मिलन चक्रे र दिपक मनांगेहरुको गोजीमा अटाएको छ सुरक्षा संयन्त्र । जोरी खोज्यो कि त रमेश खरेलको हाल ।

अम्बेडकरको दोस्रो घतलाग्दो कुरो थियोः व्यक्तिपूजाको । धर्मकर्ममा लागेकाहरुले त मूर्तिपूजा गर्छन्, आआफ्ना भगवानलाई ढोग्छन्; यो धर्ती छोडेपछि मोक्ष प्राप्त गर्ने लालसा हुन्छ उनेरुको । अम्बेडकर भन्छन्- तर राजनीतिमा भक्ति भनेको पतनको बाटो हो जसले अन्ततः अधिनायकवादमा पुर्याउँछ । यति भनिसक्दा नेपाली राजनीतिका शक्तिपुरुष प्रचण्डको याद किन नआओस् । उनको जति देवत्वकरण सायदै अरु कसैको भएको होला यो मुलुकमा । एक त कम्युनिष्ट पार्टीको लेपन, त्यसमाथि 'भूमिगत काल' भन्दै नेतृत्वको केन्द्रीकरणका नाममा हुनुसम्मको प्रचण्डपूजा गर्न लगाइयो त्यहाँ । जुनसुकै कार्यक्रम होस्, माक्र्स, लेनिनकै तहमा प्रचण्डको फोटो झुण्ड्याउनुपर्ने, लेख लेख्दा पनि प्रचण्डको कोटेसन उद्धरण गर्नुपर्नेदेखि लिएर मार्गनिर्देशक सिद्धान्तका रुपमा प्रचण्डपथ बनाउनुपर्नेसम्मका घटनाहरु प्रचण्डको उग्रव्यक्तिवादका द्योतक  हुन् । खुला राजनीतिमा आइसकेपछि त झन् प्रचण्डको सत्ता र शक्तिमोह बच्चाले पनि बुझेको कुरा हो । भैंसीपूजा गर्ने 'नास्तिक' प्रचण्डले आफूलाई हरतरहमा देवताका रुपमा प्रोजेक्ट गर्न रहर गर्नु उनले समातेको पतनको बाटो हो । जेरीझैं जेलिएको राजनीतिका गाँठा सुल्झाउन उनको भूमिकाको केन्द्रियतालाई नकार्न सकिन्न, तर हरेक संगीन मुद्धालाई आफ्नो व्यक्तिगत नाफाघाटाको आलोकमा हेर्ने प्रचण्ड चस्मा चाँडै नफेरिने हो भने त्यो अन्ततः सर्वहाराको अधिनायकत्वका नाममा प्रचण्डको हिटलरीकरण हुने असफल प्रयत्नमा टुंगिने छ । युद्धको ज्वालामुखीबाट निस्केको प्रचण्डले त्यो हदको मूर्खता गर्लान् भनेर मलाई पत्याउन भने मन लाग्दैन । बाबुराम भट्टराइको देवत्वकरणले सिकाएको पाठ प्रचण्डले मात्रै किन, हामी सबैले आत्मसात गर्नुछ ।

अम्बेडकरको अन्तिम कुरा थियो: राजनीतिक प्रजातन्त्रको आधार भनेकै सामाजिक प्रजातन्त्र हो । अर्थात् सामाजिक प्रजातन्त्रको बलियो जगबिना राजनीतिक प्रजातन्त्रको जग बलियो हुनसक्दैन । आजको नेपालमा पनि भोट हाल्न पाउने, बोल्नलेख्न पाउने राजनीतिक प्रजातन्त्र त छ । तर जनतामैत्री सामाजिक प्रजातन्त्र छैन । स्क्यान्डिनेभियन मोडेलको लोककल्याणकारी राज्य त परैको कुरा भो, बीपीले परिकल्पना गरेको 'प्रत्येक नेपालीलाई कम्तीमा आफ्नोजत्तिको हैसियतमा पुर्याउने' सपना पनि मेलम्चीजस्तै अलपत्र पर्यो । भारतमै पनि अकबेडकरको भाषणले ६ दशक कटाइसक्दा पनि सामाजिक प्रजातन्त्रको जग बस्न सकेको छैन । आर्थिक विकास चरमचुलीमा पुगिसक्दापनि नक्सलवादीहरु घटेका छैनन् । बेलाबेला दन्तेवाडाहरु जलिरहेका छन्, जन्तरमन्तरले आक्रोस पोख्न छाडेको छैन । नेहरु र बीपीको  समाजवाद विश्वबैंकसँग सट्टापट्टा भएको छ । औपचारिक प्रजातन्त्र फस्टाएको छ, त्यसको ठेक्का लिएका टाउकेहरुलाई हिउँदमा पनि दशैं नै लागेको छ । उता सामाजिक प्रजातन्त्र भने खोक्रिएको खोक्रिएकै छ, निम्न र मध्यमवर्गीय गरिखानेहरु ख्याउटिएको ख्याउटियै छन् ।  
     


Read More

Dec 4, 2012

पुष्पा मामुका नाममा



भताभुंग राजनीतिका कारण चारैतिर विरक्तिमात्रै छाएका बेला पुष्पा बस्नेतले सीएनएन हिरोको उपाधि जितेको सम्बन्धी समाचार पढ्न पाउनु गौरवको विषय हो । विविध कारणवश कारागारमा परेका आफ्ना बाबु वा आमासँगै जेलको कष्टकर जीवन भोग्न बाध्य पारिएका निरापराध केटाकेटीहरुलाई त्यहाँबाट निकालेर सहारा र माया दिदैं हुर्काउनेबढाउने पुष्पाको कामको जति नै तारिफ गरेपनि कमै हुन्छ । सधैं नकारात्मक खबरहरु सुन्न अभ्यस्त हाम्रालागि देशमा केही पनि राम्रा कामहरु भएकै छैनन् भन्ने लाग्छ तर धिमा गतिमै सही, यहाँ थुप्रै नेपालीहरु छन् जो चुपचाप आ-आफ्नो कर्मक्षेत्रमा निस्वार्थ तवरले दत्तचित्त भई खटिरहेका छन् । यसअघि पनि मानव बेचबिखनका विरुद्ध क्रियाशील अनुराधा कोइरालाले सोही उपाधि पाउँदा अन्र्तराष्ट्रिय मञ्चमा नेपालको शीर ठडिएको थियो । अहिले पनि अर्की चेलीले नेपालको नाम चम्काउँदैगर्दा भन्न मन लागेको छ -गतिला मान्छेहरु पनि प्रशस्तै छन् यो देशमा । जतिखेरसुकै राजनीतिलाई सत्तोसराप गरेर ‘यो देशमा कहिल्यै केही हुनेवाला छैन’ भनेर बम्कनुभन्दा आफ्नो क्षेत्रबाट जेजति सकिन्छ, इमान्दारीपूर्ण ढंगले गर्ने हो भने ‘गरेर के हुँदैन र’ भन्ने कुराको ज्वलन्त प्रमाण बनेकी छिन् पुष्पा ।
आफ्नो व्यक्तिगत लाभहानीको हिसाबकिताब नगरी अप्ठ्यारामा परेकाहरुको सेवामा जुट्नुजत्तिको पुण्य अरु केही छैन । पुष्पाले यही पुण्य कमाइन् । मात्र २१ वर्षकै खाउँखाउँ लाउँलाउँको उमेरमा उनले समाजसेवाको यो पवित्र क्षेत्रमा हामफालिन् । उनको जस्तो असाधारण निष्ठा, त्याग र लगन हामीजस्ता साधारण मनुवाहरुमा भेट्न गाह्रै होला, तैपनि जुन ढंगबाट संभव हुन्छ, आफू थोरै रित्तिएर अभावमा पिल्सिएकाहरुको भाँडो भरिदिन हामी तम्तयार हुनैपर्छ । ऐयासी जीवन जिउनसक्ने हैसियत भएको पारिवारिक पृष्टभूमिबाट आएका अनुराधा कोइराला वा पुष्पा बस्नेतहरु त्यसप्रकारको मोजमस्ती त्यागेर बिचल्लीमा परेका दीनदुखी मानिसहरुको सेवामा होमिन आइपुग्छन् भने हामी पनि आफूले सकेजति अरुको सेवामा आफूलाई पोख्न किन नसक्ने ? खाँचो छ त केबल इच्छाशक्तिको ।


सीएनएन हिरोका रुपमा उनले पाएको प्रसिद्धिले उनको कामको संसारैभरि प्रचार मात्रै भएको छैन, उनको बाटो पछ्याउन चाहनेहरुलाई पनि पुठ मिलेको छ । पुरस्कारस्वरुप उनले पाएको ठूलो रकमले उनको काममा पनि थप टेवा पुग्नेछ । अरु धेरै नानीहरु जेलको अन्धकारबाट पुष्पा मामुको उज्यालो छहारीमा भविष्य कोर्न आउनेछन् । यस मानेमा हामी सबै नेपालीहरु, जसजसले भोट गरेर पुष्पा मामुलाई सीएनएन हिरोको उपाधि चुम्न सघायौं, पनि बधाईका पात्र बनेका छौं । यो खुशीको पलमा यत्ति कामना गरौं- पुष्पा मामुको सेवाभाव टाढाटाढासम्म फैलिरहोस् ।        

Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong