टप टेन प्लस-टूहरुको सूची निकालेर अखबार र म्यागेजिनहरुले भर्खरै फुर्सद पाएको बेला मलाई भने तिनै अखबारमा कलम दौडाउने कलमजीवी हस्तीहरुको सूची निकाल्ने सकसक लाग्यो । तर, यो कुनै सरकारी वा गैरसरकारी संस्थाबाट जनमत सर्वेक्षण गरेर प्रकाशित लिस्ट भने होइन है, नितान्त व्यक्तिगत लहडमा निकालिएको टप फाइब सूची हो ।
१. सौरभ:
पछिल्लोचोटि उनी ‘साहित्य मेरालागि रछ्यान’ भनेर चर्चामा आए । २०३८ मा साहित्यसँग सम्बन्ध तोडेयता एक अक्षर साहित्य पढेको छैन भनेर सगर्व घोषणा गर्ने सौरभलाई नेपाली साहित्यको निन्दा गर्ने अधिकार कहाँबाट आयो भनेर प्रश्न गर्नेहरु थुप्रो निस्किए । जेहोस्, कुनै जमानामा दिनको १६ घण्टा पढ्ने गरेको दाबी गर्ने यी घागडान पढैयामा निहित प्रखर विश्लेषकीय क्षमताले उनलाई नम्बर एक अखबारी लेखकको पगरी गुथाइदिन कुनै आइतबार कुरिरहनु पर्दैन ।
२. सीके लाल:
देश डुबिसक्यो, बर्बाद भयो भनेर हुने दिनहुँको कोकोहोलोका माझपनि सीके लाल भनिरहेका हुन्छन्- “प्रशव बेदनाका बेला अप्ठ्यारो त अवश्य भैहाल्छ नि, आतिनुहुदैन । कि त यो झमेलाको बाटो भो भनेर सिजारियन गर्नुपर्यो, होइन राम्रो स्वस्थ बच्चा जन्माउनु छ भने अलिकति असजिलो त झेल्नैपर्छ ।” उनका लेखसितको मेरो साइनो अलि पुरानै हो । २०५८ ताकाको ‘हिमाल’ देखि उनलाई पढ्न थालेको म त्यसयता नागरिक, रिपब्लिका, नेपाली टाइम्स देखि हिमाल साउथ एसियासम्म डुलें लालको लेखनी चाख्न । नेपाली र अंग्रेजी दुवैमा उत्तिकै दख्खल राख्ने थोरै लेखकहरुमा उनी अग्रपंक्तिमा आउँछन् । उनका लेखहरु पनि राष्ट्रिय, अन्तराष्ट्रिय ‘रेफरेन्स’ हरुले भरिपूर्ण हुन्छन् र लेखको सन्दर्भलाई बुझाउन र तर्कलाई पुष्टि गर्न सहायकसिद्द हुन्छन् । बेलाबेला यो कस्तो ताइं न तुइंको ‘रेफरेन्स’ राखेको होला जस्तो पनि नलाग्ने होइन, तर पृष्ठभूमिमा ऐतिहासिक सन्दर्भहरु जोडेर घटना-परिघटनालाई हेर्ने उनको लेखकीय शैली रोचकै छ । तत्कालको राजनीतिलाई विश्लेषण गर्नेहरुमाथि कैले कोसँग नजिक भएको भनेर बात लाग्छ त कैले कोसँग भनेर । लाललाई पनि माओवादी र मधेशवादीहरुको पुच्छर भन्नेहरु थुप्रै निस्कन्छन् । काठमाण्डौको मध्यमवर्गीय ‘एक्टिभिस्ट’ को समुहलाई परिवर्तन नरुचाउने, ब्रान्डेड सामान चलाउने सेतो टिसर्टधारी जमात भनेर होच्याऊंदा थुप्रै युवाहरुको तारो बनेका थिए उनी । सामाजिक संजालहरुमा उनी कतै देखा पर्दैनन्, नत्र भने उनी भारतमा अरुन्धती रोयकै स्तरमा यहाँको पनि पोलराइजिंग लेखक नं ओन हुनेमा कुनै शंका थिएन ।
३. कृष्णज्वाला देवकोटा:
आक्रामक लेखनका अग्ला मानक भन्छु म नयाँपत्रिकाका यी सम्पादकलाई । कान्तिपुरमा ‘फरक मत’ स्तम्भ लेख्दा जति आक्रामक हुन्थ्यो उनको लेखाइ, नयाँपत्रिकामा यदाकदा छापिने उनका लेखहरुसम्म आइपुग्दा पनि त्यो विद्रोहीचेतको पारो अरु बढेको होला, घटेको फिटिक्कै छैन । लाल र सौरभले जति भएभरका अन्तराष्ट्रिय सन्दर्भहरु पस्केर पाठकको आइक्यु र जिके जाँच्ने काम यिनले नगरेपनि कुनै रोचक ऐतिहासिक सन्दर्भबाट विषय उठान गर्नु उनको लेखकीय शैली हो । ‘सुकिला सरहरुलाई एउटा ज्ञापनपत्र’ शीर्षकमा “सरहरू ‘विधि’को कुरा गरिसिन्छ तर एउटा प्रधान सेनापतिको उमेरसम्बन्धि मुद्धामा तीन वर्षसम्म फैसला गर्न नसक्ने अदालत न्यायालयका नाममा कलंक हो भन्न सरहरूसँग जिब्रो छैन । सरहरू ‘सिस्टम’ का पक्षपाती होइसिन्छ तर आर्थिक अभावका कारण आफ्ना बच्चाको उपचार गर्न नसकेर पहिले बच्चालाई मार्ने अनि आत्महत्या गर्ने मधेशकी विपन्न आमाको आत्महत्या सिस्टमको आत्महत्या हो भन्ने स्वीकार गर्न सरहरूसँग छाती छैन । सरहरूले बनाइदिएका विधि र सिस्टमका मानक असफल भइसके, सर । सरहरू राष्ट्रपतिलाई शिखन्डी बनाएर वाण हानिसियोस्, सेनापतिको बर्दीमुनि लुकेर छिर्के मारिसियोस्, दूतावासहरूका ढोकामा लाम लागिसियोस् तर अब मैलो मान्छेले आफ्ना विधि र सिस्टमको मानक आफैं बनाउनेछ । मधेश हेरिसियोस्, थारु हेरिसियोस्, कर्णाली हेरिसियोस्, मजदूर हेरिसियोस् र भनिसियोस्, अब सरहरूको कमान्ड कहाँ छ र ?” लेख्ने देवकोटा आफैमा कत्तिका ‘सुकिला सर’ हुन् वा होइनन्, ‘हाइपोकृट’ हुन् वा होइनन्, मैले जान्ने कुरा भएन । तर इमान्दार लेखक हुन् भने उनले कोरेका यी शब्दसँग विमति जनाउनुपर्ने कारनै के छ र ? भन्नैपर्दैन, उनका ‘हाइ भोल्टेज’ लेखहरु विशेषत: युवावयका ‘क्रान्तिकारी’ हरुमा बेग्लै उत्तेजनाको संचार गराउन सफल छन् । शासकीय प्रणाली कस्तो हुने भन्ने बहस गरमागरम भैरहेको एकबेला उनले माथि ‘सर’ भनेकाहरुलाई नै ‘प्रचण्ड नबने कार्यकारी राष्ट्रपति हुन्छर ?’ भनी प्रश्न गर्दै लेखेका थिए- “प्रचण्डकै कारण कार्यकारी राष्ट्रपतिमा जान हुँदैन भन्ने कुतर्कले प्रचण्डलाई कुनै घाटा छैन । चुनावअघि नै यस्तो विचित्र ‘वाक्ओभर’ इतिहासमै अन्यत्र कतै देखिँदैन । मतदानअघि पहिल्यै हार र आत्मसमर्पणको यति नांगो उदाहरण सायदै भेटिएला । राजनीतिमा कसैलाई घृणाको केन्द्र बनाइरहनु र निरन्तर आक्रमण गरिरहनु उसलाई अझ बलियो बनाउनु हो भन्ने राणाकालदेखिका भारदारहरूले बुझेका छैनन् । सवाल भावी राष्ट्रपति को बन्नुपर्छ वा बन्न सक्छ भन्ने होइन । सवाल शासकीय प्रणालीको हो । सवाल सक्षम प्रान्त र सबल केन्द्र हो । शासकीय प्रणालीको यो जटिल बहसलाई व्यक्तित्वको बहसमा बदलेर केही चतुरेहरू संसदीय व्यवस्थाको सिनोमा भन्किएका माखा धपाइरहेका छन् ।”
‘नयाँपत्रिका’ मार्फत ट्याब्लोइड पत्रकारिताको सफल परीक्षण गरेका देवकोटाले अखबारी लेखनमा पनि बेग्लै छाप छोड्न सफल छन् ।
४. विष्णु सापकोटा:
कुरा नचपाइकन प्रष्ट विचार पोख्ने ‘स्ट्रेटफरवार्ड’ लेखकका रुपमा चिन्छु म उनलाई । धेरै गोलमटोल कुरा नलेख्ने, एउटा खास विषय उठाउने, अनि सुरुमै यो आलेखले यो विषयलाई केलाउनेछ भन्दै त्यही खास मुद्धाका वरिपरी आफ्ना तर्कहरु घुमाउने ‘टू द प्वाइन्ट’ सापकोटा शैली पनि मज्जाको छ । विदेशी हस्तक्षेपको डरलाग्दो चित्र पोत्ने अरु लेखकहरुभन्दा यस अर्थमा भिन्न छन् कि उनी यो हाउगुजीलाई हाम्रो हीन मानसिकताको प्रतिविम्बभन्दा ज्यादा केही ठान्दैनन् । “चीन र भारतको नेपालमा आ-आफ्नै प्रकारका स्वार्थ होलान्, संघीय प्रदेशहरू कस्ता र कतिवटा बनाउँदा ती देशका आ-आफ्ना सामाजिक र राजनीतिक रणनीतिहरूलाई सहयोग पुग्छ भन्ने आधारमा उनीहरूले दाहाललाई प्रभाव पार्न खोज्लान् । यतिसम्म सबैले बुझ्ने नै कुरा हो । तर समस्या कहाँनेर गएर सुरु हुन्छ भने जब एकथरी विश्लेषकहरू कस्सिएर लेख्न-बोल्न थाल्नेछन् कि अब संघीय प्रदेश यस हिसाबले बन्नेछन्, किनभने चीनले यस्तो भनेको छ वा भारतले यस्तो भन्दैछ । यस्तो हीनतावादी चिन्तन एक प्रकारको बौद्धिक रूपमा उपनिवेश नै भएको ठानेको मनोवैज्ञानिक स्थितिले गर्दा पनि हो”- कान्तिपुरमा धेरैचोटि लेखेका छन् उनले आफ्नो यो थेसिस पुष्टि गर्न । आफ्ना आलेखमा रोगको ‘डायग्नोसिस’ मात्रै होइन, ‘प्रेसक्रिप्सन’ पनि साथै लेखेर समाधान सुझाउने लेखकका रुपमा यी स्थापित छन् ।
५. कनकमणि दीक्षित:
अंग्रेजी र नेपाली दुवैमा उत्तिकै पकड भएका यी अर्का उम्दा लेखक हुन् । भक्तप्रसाद भ्यागुताको नेपालयात्रा समेटिएको ‘धुमधामको घुमघाम’ नामक रोचक र जानकारीमूलक बालकिताब पढेर यिनीबारे पहिलोपटक जानेको हुँ । दोश्रो जनाअन्दोलनका बेला नागरिक समाजको तर्फबाट जनउभार ल्याउन महत्वपूर्ण भूमिका खेलेका दीक्षित त्यसयता चाहिँ माओवादीहरुको कट्टर विरोधीका रुपमा चर्चित छन् । बाबुराम भट्टराईले त ट्वीटरमा लेखे नै: "Quite amusing to read jitters of ex-royal courtiers like KMD in TKP. No doubt, republicanism and federalism are indigestible for royalists"। हुनत माओवादी सम्बद्ध एउटा अखबारले उनलाई जनदुश्मन भनेर घोसनै गरेको पृष्टभूमिमा यस्ता ट्वीटलाई सामान्य नै मान्नुपर्ला । वास्तवमा दीक्षितले जतिसुकै सोचनीय कुरा गरेपनि मानिसहरु उनका लेखको ‘कन्टेन्ट’ मा कम बहस गर्छन् र ज्यादातर समय उनीमाथि ‘डलरमणि’, ‘सम्भ्रान्त’, ‘ज्ञानेन्द्रको संचारमन्त्रीको आकांक्षी’ जस्ता आरोपहरु तेर्स्याएर व्यक्तिगत चरित्रहत्या गर्नपट्टि मजा मान्छन् ।
कानूनीराज, लोकतन्त्र, बहुलवादका एजेन्डा बोकेर उनी माओवादीविरुद्ध निरन्तर खनिइरहेका छन् । पुकदाको व्यक्तिगत लाभका निम्ति कार्यकारी राष्ट्रपति स्वीकार्ने महाभूल गर्नुहुन्न भनेर निरन्तर लेखेका उनले संघीयताको सवालमा पनि पहिचानभन्दा महत्वपूर्ण कुरा सामर्थ्य हो र उत्तरदक्षिण मोडेलको प्रदेशले मात्रै हामीले चाहेको समृद्धिको ग्यारेन्टी गर्नसक्छ भनेर लेखिरहेका छन् । भारतको ‘द हिन्दुस्तान टाइम्स’ मा पनि बेलाबखत लेख्ने गरेका दीक्षितको ‘अन्तराष्ट्रिय प्रभाव’ व्यापक छ भनिन्छ, जसको प्रयोगद्वारा बान कि मुनको गतवर्षको नेपाल भ्रमण रद्द भएको थियो । धेरैले यसलाई केटौले कामको संज्ञा दिंदै राष्ट्रिय छविलाई झनै कमजोर पारेको भनेर आलोचना गरे, तर पुकदाको निमन्त्रणामा पुकदाका रक्तरंजित हातहरु धोइपखाली गरिदिन उनी आउनलागेकाले भ्रमण रोक्नैपर्थ्यो भन्दै दीक्षितले ‘डिफेन्ड’ गरिरहे ।
साझा यातायातको पुनःसंचालन हुँदा पत्रकार दिनेश वाग्लेले यिनका बारे एउटा व्यक्तिचित्र लेखेका थिए जसमा उनको भर्साटिलिटीका बारे भनिएको थियो: “एउटा मान्छेले जिन्दगीमा कति सम्म या मात्र गर्न सक्छ ? न्युजरूममा रिपोर्टरहरूलाइ आकास मुनी र माथिका समेत विषयबारे उत्तिकै सूसुचित ढंगमा स्टोरी आइडिया दिनेदेखि विदेशी उर्दू कविहरूका सिर्जनामाथि बहस गराउने, दक्षिण एसियाली बृत्तचित्र महोत्सव काठमान्डूमा गराएर मुलुकमै त्यो माध्यमबारे चेतना फैलाउने, सर्वोच्चले अपराधी ठहर्याएका हत्यारालाइ जेल सजाय हुनुपर्यो भन्दै मानवअधिकारबादी अभियान चलाउने, अनि न्याय माग्दै दैलेख पनि पुग्न भ्याइहाल्ने, नेपालको एउटा प्रमुख म्यागेजिन निकाल्ने, दक्षिण एसियामै सम्मानित अर्को म्यागेजिन सम्पादन गर्ने, काठमान्डुकै उत्कृष्ठ मध्येको एउटा स्कुल खोल्ने, नेपाली समाज र राजनीतिबारे कितावहरू अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा लेख लेखिरहने, नेपालका प्रधानमन्त्रीले विदेशी राजधानीमा दिने औपचारिक भाषण ड्राफ्ट गर्नेदेखि र ब्लगहरू पढेर तिनमा प्रतिकृया पनि दिन भ्याउने, दक्षिण एसियाली सहरहरूबीच च्यारीटी कार यात्रा पनि गरिहाल्ने । अनि अब आएर बससेवा पनि चलाउने । ” मलाई लाग्छ, दीक्षितको बहुआयामिकताका बारेमा यो भन्दा ज्यादा टिप्पणी गरिरहनु पर्दैन ।
र, यी पनि:
खगेन्द्र संग्रौला:
कुन्सांग काकाका रुपमा एकताका सबैका प्यारा रहेका संग्रौला अहिले धेरैका आँखामा बिझाउने लेखकमा दर्ज छन् । दरबार हत्याकाण्डलगत्तै ‘भतिज दीपेन्द्र, मलाई माफ गर’ जस्तो साहसिक लेख लेखेर वाहवाही बटुलेका संग्रौला पछिल्लो समय बढी नै एकपक्षीय देखिएपछि पाठकमंचका पानाहरु उनीप्रति विषबमनले भरिएका हुन्थे । आजभोलि त सायद पाठकहरुले वास्तै गर्न छाडेर हो वा किन हो, जमानाका सुपरहिट यी कलमबाजका लेखमा प्रतिकृयाहरु पनि उतिसारो आउंदैनन् । यिनका रचनाका मुख्य विषय सिमान्तकृत समुदायका दुखपीरहरु नै हुन् । तर लेख्दालेख्दै स्वैरकाल्पनिक कथा रच्दै भद्दा व्यक्तिगत गालीगलौजमा उत्रिने उनको ‘गालीशिरोमणि शैली’ रोचक त हुन छोडेको छ नै, बेलाबेला अपाच्य पनि लाग्छ । शब्द खेलाउने शिल्पमा उनी नं वानै हुन् । शैली पनि यति पृथक छ कि लेखमा उनको नामै छुटेछ भनेपनि पाठकले यो संग्रौलाले लेखेको हो भनेर सजिलै खुट्याउन सक्छ । तिखा शब्दवाण हानेर विरोधीहरुको हुर्मत लिन माहिर यिनलाई निर्भिकताका निम्ति भने सम्झिरहनुपर्छ ।
0 comments:
Post a Comment