Jan 18, 2015
प्रिय लेखकहरु, उपग्रह नै रहिरहने हो ?
कुनै पनि मुद्धामा बुद्धिजीविहरुबाट धेरैथरि मत आउनु, मत बाझिनु र बहस-छलफल हुनु एउटा गतिशील लोकतन्त्रका निम्ति राम्रै कुरा हो | मिडियामार्फत पाठक/दर्शकले धेरैथरि परस्परविरोधी दृष्टिकोणहरु पढ्नबुझ्न पायो भने नै उसलाई निष्कर्ष निकाल्न सजिलो हुने हो | त्यैभएर हामी पत्रिकाका विचार-पृष्ठ चाहार्छौं, टेलिभिजनका बहस-अन्तर्क्रियाहरु सुन्छौं अनि अनलाइन पत्रिकाका लेखहरु पढ्छौं | तर समस्या यहींबाट शुरु हुन्छ |
“फलानोको लेख पढेको? थाहा छैन? त्यो त फलानो पार्टीको लेखनदास हो नि!” अधिकांश लेखकका बारे सुनिने टिप्पणी यस्तै हुन्छन् | मिडियामा नियमित लेख्ने स्तम्भकारहरु हाम्रामा धेरै छैनन्, त्यसैले को कता ढल्कुवा भन्ने कुरो ‘ओपन सेक्रेट’ जस्तै छ | वामपन्थी होउन् वा गैरवामपन्थी, अधिकांश लेखकका हकमा ‘चीज’ यही नै हो | एकथरि प्रचण्डको भजन गाएर कहिल्यै नथाक्ने, अर्कोथरि प्रचण्डको दानवीकरण गरेर कहिल्यै नअघाउने |
ढकालले लेखेजस्तै ‘कटवाललाई हटाउनु आत्मघाती हुन्छ’ भनेर कुनै वामलेखकले लेखेन त्यसबेला | उल्टो उक्साउने कर्ममा लागे सबैजना | अहिले आएर बरु प्रचण्ड आफैंले त्यसलाई ‘ठूलो गल्ती’ मानिसके, तर ती लेखकहरु समीक्षा गर्न तयार छैनन् | मानौं पार्टीले तत्कालिन समयमा जे नीति लिन्छ, त्यसैको अन्धसमर्थन गर्नु नै उनीहरुको धर्म हो | बुद्धिजीविको भेष पहिरिसकेपछि त पार्टीको हित के गर्दा हुन्छ, त्यतातिर सुझाव दिनू, आलोचना गर्नू; तर अहँ, ती त बुद्धिको भाँडोमा बिर्को लाउँछन् अनि पार्टीले जे वकालत गर्छ, त्यसैको बस् एकोहोरो प्रचारप्रसारमा मग्न हुन्छन् | हरि रोका र श्याम श्रेष्ठजस्ता कहलिएका बुद्धिजीविहरुलाई पार्टीले सभासद बनायो | त्यसैले उनीहरुको जस्तै लेख्यो भने सभासद हुन पाइएला भने लोभले हो वा केले हो; ती आफ्नो अन्तरात्माबाट आएको कुरा लेख्दैनन्, पार्टीको भजन लेख्छन् |
अख्तियार प्रमुखका रुपमा लोकमानसिंह कार्कीलाई ल्याउँदा एउटा सामान्य जनताले ‘चोरलाई चौतारो’ का रुपमा बुझ्यो र ‘लोकतन्त्रमाथिको भद्दा मजाक’ का रुपमा विरोध जनायो | यही मेसोमा गैरवामपन्थी लेखकहरु पनि मिसिए र ‘लोकमानसिंहलाई किन ल्याउनुहुन्न’ भनेर तर्क दिइरहे | तर अचम्मसित वामलेखकहरु भने कि त मौन रहन रुचाए, कि चाँहि हाकाहाकी लोकमानकै पक्षमा उभिएर आफ्नो धर्म निभाए | उदाहरणका लागि लेखक युग पाठकले ‘लोकमान प्रहसन’ शीर्षकमा लोकमानविरोधी जनमतलाई ‘मास हिस्टेरिया’, ‘प्रचण्डविरोधी जनमत’ देखि ‘एलिट हठ’ सम्म भन्न भ्याए | लोकमानको काँध थापिदिने पात्र प्रचण्ड भएकै कारणले युग पाठकलाई लोकमानसिंह पनि सर्वस्वीकार्य लाग्यो | कुन दिन प्रचण्डले ‘लोकमानसिंह काण्ड’ लाई पनि आफ्नो जीवनको अर्को गल्ती बताउने छन्, तर हाम्रा जवाफदेही हुनुनपर्ने लेखकहरु चाँहि मौनधारणमै बसिरहनेछन् |
सबैका आ-आफ्नै अजेण्डा हुन्छन् | यसप्रकार हाम्रा वामलेखकसित पनि हुनुपर्ने हो | तर आश्चर्य के छ भने उनीहरुसँग कुनै मौलिक अजेण्डा छैनन्, पार्टीका तत्कालिन अजेण्डाहरु झोलामा बोकेर कुदिरहेछन् | यतिसम्म कि आफ्नो पार्टीले गरेको रहेछ भने नेपालबन्दको विरोध गर्नेसम्म पनि हुति छैन | बरु बन्दको पक्षमा बनिबनाउ तर्कहरु छन् उनीहरुसँग | आफ्ना विश्लेषणमा नयाँनयाँ शब्दहरु हाल्न पनि माहिर छन् उनीहरु | अघिल्लो निर्वाचन परिणाम जनादेश हुने तर झन् ताजा परिणाम चाँहि मतादेश हुने गजबको विश्लेषण हुन्छ उनीहरुको |
वामलेखकहरुले आफ्नो विश्व-दृष्टिकोण, मान्यता, पक्षधरतालाई लेखहरुमा लुकाइराख्नु पर्दैन; पाठकले त्यो कोणबाट पनि ‘चीज’ हरुलाई हेर्नु/बुझ्नु जरुरी छ | तर कमसेकम इमान्दारिता त हुनुपर्यो | आग्रह-पूर्वाग्रहको चस्मा त उतार्नुपर्यो | स्पष्ट देखिने जनादेशको अपव्याख्या त हुनुभएन | ‘बन्दको विरोध गर्नेहरु भिजिलान्ते’ भनेर कुनै नेता कुर्लंदा ‘के हो नेताज्यू’ भनेर औँलो ठड्याउन त सक्नुपर्यो | जनमत कतातिर छ, सही आँकलन गर्न त सक्नुपर्यो | पाठक भलै असहमत होस्, तर ‘यसको कुरा पढ्नुपर्छ है’ भन्ने छवि बनाउन सक्नुपर्छ जुनसुकै लेखकले पनि |
अन्यथा, उपग्रह नै रहिरहने हो भने त यसको उपचार पनि पाठकसितै छ | पाठकका माझ तपाईंहरुको सान्दर्भिकता समाप्त हुँदै जानेछ | तपाईंका लेखहरु तपाईंको पार्टी-मुखपत्रका सीमित पाठकहरुमाझ होहल्ला गर्न मात्र काम लाग्नेछन् |
Jan 12, 2015
कमरेड ओलीका नाममा नेपाली फुकुयामाको पत्र
कमरेड केपी शर्मा ओली,
सर्वप्रथम त लाखलाख बधाई छ | जतिजति माघ ८
को साइत नजिकिंदै छ, त्यतित्यति दिन दुइगुना, रात चौगुनाको दरले हजुरको ख्यातिको
ग्राफ जो उक्लँदै छ | पछिल्लोपटक ‘जानुस्, युपी/बिहार पनि मधेसमै मिसाउनुस्’ भनेर मधेशीका
गालामा दह्रो झापु हान्स्यो | त्यसको झट्काले कृतकृत हुँदै यो चिठी नलेखी बस्नै
सकिनँ |
ओली कमरेड, एमाले आज आएर बल्ल एउटा
निर्णायक पार्टी बन्न सकेको छ | माकुने र झलनाथको पालामा जहिले पनि मान्छेहरु
‘ढुलमुले’ र ‘पेन्डुलम’ भनेर बिल्ला गर्थे | त्यसको कुनै प्रत्युत्तर मसँग हुन्थेन
| पार्टी भनेको त कि काङ्ग्रेस हो कि चाँहि माओवादी नै हो- जुनसुकै चियापसल र
भट्टीपसल पुग्दा पनि मान्छेहरु यही भट्ट्याउँथे | एमाले भनेको त सिर्फ पुच्छर हो-
कहिले कसको पछि कहिले कसको पछि | एकमनले सोच्थें- ठीकै भन्दैछन् मान्छेहरु |
कमसेकम आफ्नो एउटा ‘स्ट्याण्ड’ त हुनुपर्छ | ‘मध्यमार्गी’ भनेर माकुनेले जति बचाव
गर्दापनि मेरो चित्त बुझ्थेन | हो, त्यसैबेला लागेको हो मलाई- एमालेमा जे हो,
कमरेड खड्गप्रसाद ओली नै हो | मेरो अनुमान आज सत्य सावित भएको छ | लौ हेर्स्योस्,
आज देशको निर्णायक शक्ति बनेर उभिएको छ एमाले | कांग्रेसलाई समेत भित्तैमा
धकेल्सेको छ हजुरले |
कोही माइकालालको हिम्मत छ आज एमालेलाई
ढुलमुले भन्न ? सक्छ कसैले हिंजडा भन्न ? म गर्वसाथ ठोकेर भन्छु- पार्टी अध्यक्षमा
हजुरको आशनग्रहणसँगै एमाले मर्दहरुको पार्टी भएको छ | एमाले चट्टानी अडान भएको
पार्टीमा फेरिएको छ | आज ढुलमुले कोही छ भने त्यो सिर्फ कांग्रेस हो, माकुनेको
पुरानो एमालेभन्दा पनि ढुलमुले | हजुरले जे भनिसिन्छ, सुको बा ले त्यसैमा खुरुखुरु
सही धस्दिनुहुन्छ | जे अर्हाउनुहुन्छ, लुरुलुरु आज्ञा शिरोपर गरिदिनुहुन्छ | अनि प्रचण्डलाई
भेट्दा उता पनि त्यसैगरी टाउको हल्लाउँदै ‘विन विन हुनुपर्छ’ भन्छन् रे बूढा | तर
ढुक्क होइसियोस्, कांग्रेस हाम्रै गोजीभित्र छ | अब देशको एकल सत्ता र भविष्य
एमाले नै हो र त्यो एमालेको एकल निर्विकल्प नेता हजुर मात्रै हो |
ओली कमरेड, भर्खरै मैले बजारको सानोतिनो
सर्भे गरेको थिएँ | पत्तो के लाग्यो भने बजारलाई ‘पहिचान’ शब्दसित एलर्जी छ र
‘पृथ्वीनारायण’ सँग चाँहि भयङ्कर प्यार छ | अब भन्स्योस्, ओली ब्राण्डको
राष्ट्रियता बिक्नलाई योजस्तो अनुकुल बजार अरु केही हुन्छ र कमरेड ? संविधानसभा- १
को म्यान्डेटलाई भाग २ को म्यान्डेटले पुरै ‘डाइल्युट’ गरिसकेको छ, माओवादी र
मधेशवादीजस्ता बादीहरु यो जुनीभरि उठ्नै नसक्नेगरी पछारिएका छन् | भन्ने नै हो भने
यो त हाम्रो स्वर्णयुग हो | फेरि सहरका युवा तान्ने सुत्र ज्यादै सजिलो छ कमरेड |
पृथ्वीनारायण शाहको गुणगान गाइदिनुस्, पृथ्वीनारायणमाथि औँलो ठड्याउनेहरु ठाडै
विखण्डनकारी हुन् भनेर आफ्नो ट्रेडमार्क शैलीमा उखान-टुक्का मिलाउँदै लय हालेर
भनिदिनुस्, एकछिनलाई भएपनि दौरा-सुरुवाल र ढाकाटोपी भिरेर हामी नेपाली हौँ भनेर
गीत गाइदिनुस्, बस् | फेसबुक र ट्विटरका भित्ताहरु हजुरको जयजयकारले रंगीएनछन् भने
मलाई भन्नुहोला | सारा सहर उर्लेर
थपडी बजाएनछ भने मलाई भन्नुहोला |
अब हजुरले अरु केही गर्नैपर्दैन, माघ ८
गते पेलेरै संविधानको किताब विमोचन गर्दिनुपर्छ | यहाँको एलिट वर्ग, जो हजुरको
जबर्जस्त फ्यान हो, संविधानको तिर्खाले काकाकुल छ | उसलाई पहिचान चाहिएको छैन, अल्पसंख्यकको
अधिकार उसको मुद्दा होइन, समावेशितासँग उसको सरोकारै छैन | उसलाई त सिर्फ माघ ८ मै
त्यो किताब चाहिएको छ | संविधानका ऋचाहरु, धारा-उपधाराहरु, त्यसका अक्षर, व्याकरण
र भावार्थ होइन, संविधान भन्ने किताबको खोल चाहिएको छ | जब हाम्रो ‘कोर
कन्स्टिच्युन्सी’ लाई नै बाल-मतलब छ भने त्यस्ता जैरे अन्तर्वस्तुका विषयमा हुने
वार्तामा किन गैसिन्छ हजुर ? ओठ-तालु सुकेको भोको जनता नै हाम्रो ‘कन्स्टिच्युन्सी’
हो जसरी नदुखेको कपाल किन दुखाइसिन्छ कमरेड ? त्यो भोको जनतालाई त खासमा मतलब पनि
छैन | उसलाई हजुर आए के, त्यो प्रचण्ड आए के | संविधान आए के, नआए के | ऊ त आखिर
भोकै जोतिने, भोकै खाने अनि भोकै सुत्ने जन्तु न हो | बस् आज खान पाए भोलिको छाक
कसरी टार्ने- तिनीहरुको चिन्ता त्यत्तिवरिपरी छ | त्यसैले आफ्नो ‘कोर
कन्स्टिच्युन्सी’ को चिन्तालाई सुन्स्योस् | उसलाई ‘डिक्टेटर’ सँग लगाव छ र हजुरको
अनुहारमा त्यो ‘डिक्टेटर’ खोज्दै छ | आशा छ, हजुर ‘रेडी’ होइसिन्छ |
सेना लगाएर माघ ८ गते त्यो किताब विमोचन गर्स्यो भने नि:सन्देह, जनताले सुकोलाई होइन हजुरलाई ‘क्रेडिट’ दिनेछन् | त्यसको भोलिपल्टै हजुरले बालुवाटारमा कालो बोको ढाले हुन्छ | अनि जो जो त्यो किताब जलाउने अक्षम्य अपराध गर्न आउँछन्, ती सबलाई जाक्न महेन्द्र पुलिस क्लब छँदैछ | उठेका मुट्ठीहरुलाई कसरी हत्कडी लगाउनुपर्छ, म बबुरोले सिकाइराख्नुपर्ने कुरो होइन | विस्तारै मुट्ठीहरु झर्नेछन् र सब आफसेआफ ठीक हुनेछ | हजुर त्यसपछि ‘डिक्टेटर’ नै होइबक्सिनुपर्छ, धरोधर्म |
जसरी सन् १९९० वरिपरी विश्व समाजवादी
धुरीमा आँधीबेहरी आयो, हजुरको शानदार आगमनसँगै यहाँका समाजवादीहरुमा पनि ठूलै
सुनामी आएको छ कमरेड | ‘यो इतिहासको अन्त्य हो’ भनेर घोषणा गर्नका निम्ति
फुकुयामाको भेषमा मै छँदैछु क्यारे, कि कसो कमरेड ? हाम्रो राजनीतिको ‘मेन हिरो’
आखिरमा कमरेड ओली नै हो भन्ने तत्वबोध आजका मितिसम्म आइपुग्दा सबैलाई भैसक्यो | हुनपनि
यस्तो कुनै ओली-डायलग छैन बजारमा जसले हिट नखाएको होस् | पहिलो संविधानसभा किन
विफल भएको थियो, जनताले बल्ल पत्तो पाउँदै छ | आखिर त्यहाँ यही हिरोको अभाव थियो |
हिरोबिनाको फिल्म सफल हुन्थेन, भएन | हिरोलाई हराएर भिलेनलाई जिताउँदाको दण्डस्वरूप
यत्रो वर्षसम्म संविधानको तिर्खाले छट्पटिनु पर्यो जनताले | बल्ल चेत फिरेको छ यो
ग्वाँच जनताको |
सुन्दैछु, बादीहरु आजकल सडक तताउँदैछन् के
के जाति मागेर | स्वाँठहरु बुझ्दैनन् कि ओली कमरेडको रजगजका बेला सडकमा उफ्रेर
केही हुनेवाला छैन | एक-तिहाई पनि नभएकाहरु बाटामा जति कराए कराउन्, हजुरको रौँ
पनि हल्लिनेवाला छैन | बाघसित झिंगाले टक्कर लिन खोजेर पनि कहीं हुन्छ र कमरेड ?
माफ गर्सिएला, हजुरलाई टुक्कामा भन्न खोज्नु इन्द्रका अगाडि स्वर्गको बयान जस्तै
हो, त्यैपनि आफूलाई रोक्न सकिएन |
वास्तवमा त्यो किताब-विमोचनको अधैर्य
प्रतिक्षा गरिरहेको हाम्रो कन्स्टिच्युन्सीले प्रतिक्षा गरिरहेको अर्को कुरा पनि
छ- माघ ८ पछि हजुरको बालुवाटार-प्रवेश | एमालेको कमाण्ड लिएको वर्षदिन नपुग्दै एमालेलाई
निर्णायक शक्ति बनाइदिने हजुरजस्तो बेजोडको राष्ट्रवादी अनि विरलाकोटी हिरोले पुरा
देशैको कमाण्ड सम्हालेपछि झन् यो देशलाई कहाँ पुर्याइसिने होला- सम्झेर मात्रै पनि
उनीहरु उत्तेजित छन् | सबैका आ-आफ्नै अपेक्षा होलान्, मेरो चाँहि यतिमात्र छ कि
कमरेड, कालो बोको ढालेपछि बालुवाटारबाट पहिलो काम मनमोहन मेडिकल कलेजलाई सम्बन्धन
दिने हुनुपर्छ | बहुलाहरु अनसन बस्लान् भनेर त पुरानो ढुलमुले एमाले डराउँथ्यो,
नयाँ एमाले डराउनुहुँदैन | आखिर अधिकारी बूढा अनसन बस्दाबस्दै जिप्टिए, आकाश खस्यो
र कतै ? त्यसैले कमरेड, मनमोहन मेडिकल कलेजमार्फत स्वास्थ्यक्षेत्रमा क्रान्ति
ल्याउनुपर्छ | बहुसंख्यक जनतालाई त्यहाँ पढ्न र उपचार गर्न लगाएर मुलुककै कायापलट
गर्नुपर्छ |
बितेको दशकमा भयानक दुर्घटनाहरु घटे कमरेड-
हजुर राजनीतिको ब्याकबेन्चमा बस्दिनाले | गणतन्त्र रे, संघीयता रे, समावेशिता रे,
शक्तिको केन्द्र सार्ने कुरा रे, धर्मनिरपेक्षता रे ! धत्, हजुरले उतिखेरै एमाले
हाँक्न पाइसेको भए यस्ता उट्पट्याङ चीज केही हुन्थेनन् | देशको ‘ड्राइभिङ सीट’ मा हजुर भइदिएको भए न त २०५२ मा गुलेली खेल्ने
केटाहरुले बन्दुक उठाउने दुस्साहस गर्थे, न त २०६३ मा बेकारको ‘वसन्त क्रान्ति’ नै
हुन्थ्यो | न २०६४ मा धुले-सिँगानेहरुले चुनाव जित्नसक्ने धृष्टता नै गर्न सक्थे |
माकुने र झल्लुप्रसादहरुले जङ्गलबाट आएका बादी अनि मधेशका बादीहरुलाई
पुल्पुल्याउनु पुल्पुल्याए | हो कमरेड, धेरैथोक बर्बाद भएको छ यसबीच | तर चिन्ता
नलिस्योस्, मधेशीहरुलाई युपी/बिहारसित जोडेर चीजहरुलाई ‘ब्याक’ गर्ने साहसिक कदम
थालिस्याछ | धेरै सहरियाहरुले भन्न चाहेको तर नसकेको मनको कुरालाई फ्याट्टै वाणी
दिएर उनीहरुको वाहवाही लुटिस्याछ | गर्नुपर्ने कुराहरु धेरै छन् | बस्, एकपटक
सत्ताको लगाम त हातमा आओस् ! दुलाबाट फुत्त निस्केर आफैंले आफैंलाई तिलस्मी नेता
ठानेका प्रचण्ड त सिर्फ एउटा जोकर हुन्, अबको भावी प्रधानमन्त्री हजुर नै हो, कम्तिमा
आगामी एक दशकसम्म |
Dec 24, 2014
लाहुर
[First published in Yougbodh ]
गाउँभरि लोके दाइ एकाएक ‘सेलिब्रेटी’ भएका थिए | हरेकका मुखमा लोके दाइ नै झुन्डिएका हुन्थे | चौतारोमा गएर नेताजी स्टाइलमा गफ छाँट्नु लोके दाइको दैनिकी जस्तै भएको थियो | बाफरे बाफ, तिनलाई सुन्ने भीड पनि कत्रो हो ! लंगौटिया यार नरेसँगै भीडको रमिते बन्न म पनि चौतारोमै कैयौंपटक हाजिर भएँ | हुन पनि चिनिंदै नचिनिने भएर फर्केका थिए लाहुरबाट | टाउकामा क्यापटोपी, जीउमा जिन्सको पाइन्ट र लाम्बाहुले रातो सर्ट, काँधमा गीत बज्ने रेडियो, नाडीमा सिको फाइब अनि गोडामा गोल्डस्टार ! उनलाई देख्नेमध्ये छक नखाने कोही थिएन | कहाँका जानेबेलाका तिनी झुत्रे लोके, कहाँका यिनी झिलिमतोर लोके ! सुनाउनलाई उनीसँग जतिपनि किस्सा थिए- कालापारका, बम्बैका, लाहुरका, लखनउका | साबुन, मिठाई, बिजुली, घर, गाडी, रेल, फिलिम, हिरो, हिरोनीका बयान गरेर उनी कहिल्यै थाकेनन् | उनी सुनाउँदै जान्थे, हामी कल्पिंदै जान्थ्यौं | आखिर धक्कु लगाउनलाई उनीसित संसार थियो, हामीसित शुन्ना | नरे भन्थ्यो- बुझिस्, एकदिन हामी पनि लाहुर जानुपर्छ |
गाउँभरि लोके दाइ एकाएक ‘सेलिब्रेटी’ भएका थिए | हरेकका मुखमा लोके दाइ नै झुन्डिएका हुन्थे | चौतारोमा गएर नेताजी स्टाइलमा गफ छाँट्नु लोके दाइको दैनिकी जस्तै भएको थियो | बाफरे बाफ, तिनलाई सुन्ने भीड पनि कत्रो हो ! लंगौटिया यार नरेसँगै भीडको रमिते बन्न म पनि चौतारोमै कैयौंपटक हाजिर भएँ | हुन पनि चिनिंदै नचिनिने भएर फर्केका थिए लाहुरबाट | टाउकामा क्यापटोपी, जीउमा जिन्सको पाइन्ट र लाम्बाहुले रातो सर्ट, काँधमा गीत बज्ने रेडियो, नाडीमा सिको फाइब अनि गोडामा गोल्डस्टार ! उनलाई देख्नेमध्ये छक नखाने कोही थिएन | कहाँका जानेबेलाका तिनी झुत्रे लोके, कहाँका यिनी झिलिमतोर लोके ! सुनाउनलाई उनीसँग जतिपनि किस्सा थिए- कालापारका, बम्बैका, लाहुरका, लखनउका | साबुन, मिठाई, बिजुली, घर, गाडी, रेल, फिलिम, हिरो, हिरोनीका बयान गरेर उनी कहिल्यै थाकेनन् | उनी सुनाउँदै जान्थे, हामी कल्पिंदै जान्थ्यौं | आखिर धक्कु लगाउनलाई उनीसित संसार थियो, हामीसित शुन्ना | नरे भन्थ्यो- बुझिस्, एकदिन हामी पनि लाहुर जानुपर्छ |
गाउँका बुज्रुकहरू चाँहि लोकेदाइ अनि
ठिटाहरुले गरेको उनको वाहवाहीले खिन्न थिए | “प-पाँच वर्षसम्म अर्काको देशमा गएर
जुठा भाडा माँझ्नु छ, गोरुझैं जोतिनु छ, वचन सहनु छ अनि घर आउने बेला पैसाको नाममा
नाथे डेढ हजार ! अझ उसकै फूर्ति ज्यादा ! यतै केही नोकरी खोजेको भए आजसम्म कति
प्रगति हुँदो हो !”- पल्लाघरे काकाले एकदिन बासँग गफैगफमा भनेको सुनेको थिएँ | लोकेदाइ
त जम्मा पन्ध्र दिनको छुट्टीमा आएका थिए, फर्किहाले | तर उनको चर्चा भने गाउँमा
लामै समय चलिरह्यो | नरे घरीघरी भन्थ्यो- बुझिस्, फिलिममा खेल्ने हिरोहरु ठ्याक्कै
यस्तै हुन्छन्; दुरुस्तै हाम्रा लोकेदाइजस्ता |
“हेर् केटा हो ! त्यहाँ त नूनबिनाको तिहुन
पनि नुनिलै हुन्छ | छोड्दे यस्ता खेतबारी जोत्न !”- लोकेदाइले गरेका कुराले सपनामा
पनि पछ्याउन थालेका थिए | हुन पनि गाउँमा दिक्दार लाइसकेको थियो | सधैंको त्यही दालभात,
त्यही तिउन, त्यही गोरस ! मेरो स्वादे जिब्रो वाक्कै भएको थियो | ग्वाला गयो, खेत
जोत्यो, खोलामा माछा मार्यो, गाउँ चाहार्यो, किस्सा खत्तम ! उही लयमा बिहान
हुन्थ्यो, उही तालमा साँझ बित्थ्यो | गोठका वस्तुभाउ हुर्काउँदैमा आफू त कहिले
हुर्किसकेछु, पत्तै भएनछ | पढाइ हापेको पनि वर्षदिन भइसकेको थियो | दुई-दुई घण्टाको
उकालो हिंडेर पनि को स्कुल जाँदो हो ? त्यो पनि बिनाकारण मुर्गा बनाउने बाउँठा
सरहरु भएको स्कुल ! बाह्रखरी कण्ठै थियो, त्योभन्दा बढ्ता जानेर के नै नापिन्थ्यो र
? हात्ती थोडै पढेर ठूलो भाको हो ?
एकदिनको कुरा हो, एक्कासी हनहनी ज्वरो आयो
| दिनभरि घरमै सुतें | आमै माइत गएकी थिइन्, बा पनि घोडामा अलि टाढै जानुभाथ्यो |
सुत्दासुत्दै मनमा नानावली कुरा खेल्न थाले- साला, यस्तो चुत्थो जिन्नगी पनि के
जिन्नगी ! तीनचार दिनसम्म त्यस्तै भइरह्यो- अर्थात् अथाह औडाहा | न राम्रोसँग
भोकप्यास लाग्यो, न गतिलो निद्रै पर्यो | बेचैनीसंगै मुटुको धड्कन पनि एकतमासले
बढेको थियो | एककिसिमले होपलेस भइसकेको थिएँ म | त्यसैत्यसै आलस्य लागेर आउँथ्यो,
केही गर्ने जाँगर चल्दैनथ्यो | उता दिमागमा मिठाई, बिस्कुट, चाउचाउ, फिलिम, हिरो,
हिरोनी, लोके खेल्थे, यता मुखभरि पानी रसाइरहन्थ्यो | कुनै ‘साइकियाट्रिस्ट’ कहाँ
लगेको भए ‘डिप्रेसन’ भन्दिदो हो |
बा-आमा फर्किंदा ज्वरो त ह्वात्तै घटेको
थियो; तर बेचैनीको पारो चाँहि उक्लेको उक्ल्यै थियो | कसलाई सुनाउनु यो छटपटीको
पीडा ? बासँग भन्न आँट थिएन | आमैलाई भनूँ, उल्टै उनलाई पनि पीर बोकाउनु मात्रै हो
| साना भाइबहिनीलाई भनेर झन् के काम ? आखिरमा नरेकै शरण पर्ने निधो गरियो | तर
उसलाई मेरो कुरा सुनाउनुअघि नै ऊ मेरो घर आयो र सुस्तरी भन्यो- तसँग एउटा जरुरी
कुरा गर्नुछ | कुरा त तसँग पनि मैले जरुरी नै गर्नुथ्यो, ठीकै छ पैले तैं सूना-
मैले भनें | साँझपख राम्दी खोलाकिनारमा जरुरी बैठक रहेको र त्यहाँ म आउनैपर्ने
उर्दी जारी गरेर ऊ टाप कस्यो | के, किन, कसरी कुनै सवाल गर्ने मौकै दिएन बज्याले |
केही जरुरी चीज नै होला भन्ठानी भनेकै टाइममा भनेकै ठाउँ पुगें | मलाई नै कुरेर बसिरहेको
थियो नरे | हत्त न पत्त दुईजनाको संयुक्त बैठक बस्यो, गोप्यरुपमा | हुनत यस्ता
बैठक हामी बेलाबेला बसी नै रहन्थ्यौं तर यो बैठक अलि गम्भीर हुँदैथियो | नरेले अति
गम्भीर प्रस्ताव फ्याँकेको थियो- लोकेदाइ बन्ने अर्थात् लाहुर जाने |
प्रस्ताव सुन्नासाथ के जादू भयो कुन्नि,
अघिसम्मको त्यो मेरो बेचैनी, हैरानी, छटपटी सबै आफसेआफ गायब भए | प्रस्तावमा बिना
कुनै छलफल मैले लालमोहर लगाइदिएँ | एकहिसाबमा मैले ‘डिप्रेसन’ बाट ‘मेनिया’ मा
छलांग हानिसकेको थिएँ | गाउँबाट फरार हुने योजना सर्वसम्मतले पारित भइसकेको थियो |
आखिरमा मेरो बिमारीको ओखती भेट्टिएको थियो | म खुशीको चरम उन्मादमा थिएँ |
सम्हालिन आग्रह गर्दै नरेले भन्यो- धेरै नफुर्की, बरु योजना सफल पार्न रणनीति तय
गर् ! मैले एकै सासमा भनें- धन्दा नमान्, दुइटैले घरबाट एकएक हजार चोर्ने !
भोलिपल्टै रणनीति कार्यन्वयन गर्ने एकबुँदे सहमति गर्दै बैठक सक्कियो |
मेनियाकै तालमा ‘कर्डन एण्ड सर्च’ अपरेसन
थालियो भोलिपल्ट | घरका दराज, खोपा, बाकस- अहँ खानतलासी लिनलाई कहीं बाँकी राखिएन
| जहाँ जति भेट्टियो, टिपीहाल्ने नीति थियो ! पाँचपैसे ढ्याकदेखि पचास रूप्पेसम्म
मिलाएर गन्दा आखिरमा एक हजार चार रूप्पे पुर्याएरै छाडें | उता नरेले नौ सय पचासी पुर्याएछ |
बिहान चार बजे झिसमिसेमै टाप कस्यौं | गफ
लडाउँदालडाउँदै बाटो कटेको पत्तै भएन | तुलसीपुर बजार आइपुग्दा पूरै रात परिसकेको
थियो | तुलसीपुर अर्थात् गाडीहरुको बजार, पसलहरुको बजार, मान्छेहरुको बजार | बसका
हेडलाइट र ब्याकलाइटका रङ्गीविरंगी प्रकाशले राति पनि उज्यालै देखिन्थ्यो | कहाँको
सम्साँझै चकमन्न अँध्यारो हुने त्यो गाउँ, कहाँको मध्यरातमा पनि उज्यालै हुने यो
ठाउँ |
रात त काट्नै पर्थ्यो | अप्ठ्यारो नाउँ
गरेको एउटा लजमा छिर्यौँ | हो यहीं हो मैले पहिलोपल्ट कुखुराको मासु मुखमा हालेको
| खान्की त काइदाको थियो तर पुरेतको छोराले जात फालेको यो काण्ड थाहा पाए घरमा
बाले के गर्दा हुन् ? आमै कति रुँदीहुन् ? घर छोडेपछि पहिलोपल्ट झल्झली घर
सम्झिँदै थिएँ | सायद यतिन्जेल त हामी बेपत्ता भएको खबर पनि गाउँभरि फैलिसक्यो
होला | आमैले कति खोजिरहेकी होलिन् !
भोलिपल्ट सबेरैदेखि बजारमा गर्नुसम्म
मस्ती गरियो | ओम हलमा शिव श्रेष्ठको ठुल्दाईको भव्य प्रदर्शन भइरहेको कुरा त गाउँका
बच्चाबच्चालाई थाहा थियो | बिहानीको ‘शो’ संगै मस्तीयात्राको शुरुवात यही हलबाट
गरियो | पेटमा हुल्न बिर्सेर आँखामा सिनेमा हुल्न थाल्यौं | शिव श्रेष्ठले हानेको
कुनै पनि फाइटमा सिट्ठी मार्न बिर्सेनौं | भन्ने नै हो भने प्रत्येक सेकेन्ड ‘फुल इन्जोय’
गरियो | फिल्म सक्किसक्दा ३ घण्टा बितिसकेछ, नरे चाँहि बेस्कन कराउँदै थियो- बाइ
गड, ३ मिनेट पनि भाछैन; साला हलवालाले सिधै ठग्दियो | उसोभए अर्को शो पनि हेरम् न
त- मैले प्रस्ताव राखें | छोड्दे, दुईचोटि एउटै फिल्म हेर्न त झुरै हुन्छ- उसले
सिधै अस्वीकार गर्दियो | नचाहँदा नचाहँदै पनि हलबाट निस्कनु त छँदै थियो | त्यहाँबाट
निस्केर हिंडियो बजार घुम्न | पूरै तीन राउण्ड मार्यौं | ठेलाका चटपटे, चाट, बरफ,
कुल्फी, समोसा केही बाँकी राखेनौं | लाग्दैथ्यो- हाम्रो भुँडीजति इलास्टिक संसारमै
अरु कसैको छैन | हसुर्नु हसुरिसकेपछि नरेले अर्को आइडिया फुरायो | भन्यो- बुझिस्,
हिरो हुनलाई ‘मेकअप’ मा पनि ध्यान दिनुपर्छ | अनि यसप्रकार उसको पछिपछि लाग्दै
तुलसीपुरको एकमात्र सैलुन छिरियो, जहाँ सलमान खानदेखि सन्नी देवलसम्मका हेयरकटहरु
सर्वत्र उपलब्ध थिए |
लोकेपथ भएर लाहुर हिंडेका हामी तुलसीपुरमा
धेरैबेर अल्झिनु ठीक थिएन | फटाफट बसपार्क गएर दुइटा टिकट किन्यौं | बस छुट्न अझैं
सवा एक घण्टा बाँकी थियो | गफ मार्दै प्रतिक्षालयमा कुरीबस्यौं | छेउमा थिए, केही
न केहीको प्रतीक्षामा कुरिबसेका हामीजस्तै अरु ठिटाहरु | ‘ओइ जेठा’- पछाडिबाट
चिरपरिचित आवाज आयो | आबुई, काका पो रैछन् | मेरो सातोपुत्लो उड्यो | अब के भन्ने
हुन् भन्ने डरले हंस ठाउँमा थिएन | तर निन्याउरो अनुहार लगाउँदै काकाले मुख फोरे-
‘तेरी आमै सिकिस्त छिन्, जेठा ! तैंले घर छाडेदेखि बेहोस भएकी, अहिलेसम्म होस
फिरेको छैन | बेलाबेला जेठा, जेठा भन्दै बर्बराउँछिन् | अन्न त परै जाओस्, मुखमा
एक थोपा पानी पनि परेको छैन | जसरी हुन्छ एकचोटिलाई फर्के, जेठा | तेरी आमै
सिकिस्त छिन् |’ म छाँगाबाट खसेजस्तै भएँ | धेरै बेरसम्म ट्वाँ परिरहें, केही
सोच्नै सकिरहेको थिइनँ | एक्कासी सुनें- मैले टिकट काटेको बसले लगातार हर्न
बजाइरहेको छ | सवा एक घण्टा बितिसकेछ | आँखा पिलपिल पार्दै नरेले भन्यो- ‘तँ काकासित
घर फर्के, दोस्त ! आमैलाई राम्ररी स्याहारसुसार गरेस् | म त नगइ हुन्न | २-४
वर्षपछि लोकेदाइ बनेर आउँला |’
म केही बोल्नसक्ने अवस्थामा थिइनँ | आँखाबाट
एकतमासले आँसु चुहिरहेका थिए | थाहा छैन, आमैको शोकमा ती आँसु झरेका थिए वा मेरो
लाहुर-सपनाको हत्या भएकामा |
Dec 5, 2014
बरियापुरमाथि एउटा अर्को बकवास
[सौरभ भर्सेज संजीव: एक प्यारोडी]
१८ मङ्सिरको अंकमा पंक्तिकारले ‘बरियापुर:
पश्चिमाको बकवास’ लेखेलगत्तै ट्वीटर संसारका स्वघोषित एक विद्वतशिरोमणिले ‘बकवास-
तर कसको’ शीर्षकमा रिज्वाइन्डर ठेलेकाले आवश्यकताको सिद्धान्तले उत्प्रेरित हुँदै
यो टिपोट लेख्ने कष्ट गर्नुपरेको हो |
ट्वेल्भ इयर्स अ स्लेभ
यो नाम २०१३ को एउटा पश्चिमा सिनेमाको हो
| यसमा छ- सोलोमन नर्थअप नाम गरेको एउटा मुक्त कालेको सत्यकथा | मुक्त भएर पनि ऊ
अपहरित हुन्छ र १२ वर्षसम्म एकपछि अर्को मालिककोमा कमारा बनेर दासताको चक्रमा
फनफनी घुमिरहन्छ | नभन्दै १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने नेपाली आहान बनेको
ठ्याक्कै १२०० वर्षपछि सोलोमन स्वतन्त्र हुन्छ र घर फर्केर आत्मकथा कोर्दछ | दासत्वको
कथामा पश्चिमाहरुले बनाएको यो सिनेमा फुर्कीफुर्की हेर्नेहरु, मजा लुट्नेहरु तर
आफ्नै घरआँगनमा मजासित दासप्रथा र सतीप्रथा चल्दा उन्मुलनको माग गर्छन्, तिनै
पश्चिमा र तिनका पिट्ठुहरुको इशारामा, बिल्कुलै निर्लज्जतापूर्वक | उसै पनि स्वदेशी
स्याउभन्दा विदेशी नासपाती मिठो मान्नेहरुको जमात ज्यादा छ यहाँ | त्यो सिनेमामा
देखाइएको सामग्रीको ठूलो हिस्सा छ- कसरी दासिनीलाई रेप गरिन्छ, दिनमा १०० केजी
कपास टिप्न नसक्दा कसरी बेहिसाब पाता फर्काइन्छ र गोली दाग्दै मासु चोक्टा-चोक्टा
पारिन्छ | अर्थात् पश्चिमा सोचाइको जिउँदोजाग्दो प्रतिविम्ब हो यो सिनेमा | हामीले
त्यही सिनेमा बनाए धेरै सम्भव छ- हामी देखाउथ्यौं, कसरी आइमाईहरु बैंसमै आगोमा
हामफालेर सती जान्थे, कसरी थरुनीहरु जमिन्दारका घरमा कमलहरी बस्थे र कसरी
बाउबाजेको ऋण चुक्ता गर्न दलितहरु हलिया बस्थे | उन्नाइसौं शताब्दीको कथालाई टिपेर
सिनेमा बनाउने पश्चिमाहरु एक्काइसौं शताब्दीको ओस्कार थाप्दैछन् | जबकि यस्ता
कथाको प्रमाण नेपालमा एघारौँ शताब्दीमै पाइन्छ | त्यसमाथि सती प्रथामाथि बनेको ‘झोला’
छँदैछ | यी त साना उदाहरणहरु मात्रै हुन्, पंक्तिकारले झट्ट सम्झेका | इन्टरनेटमा
सर्च गरे हुन्छ इच्छुकहरुले | तर यति कुरा चाँहि अहिल्यै बुझे राम्रो- १९८२ मा
चन्द्र शमशेरलाई दासप्रथा हटाउन बाध्य बनाउनेहरुकै रेप्लिका हुन् अहिलेका बरियापुर
विरोधीहरु, अपितु यो पालि कुनै पनि हालतमा यिनीहरु सफल हुनेछैनन् | योहाना
लुम्लेको औँलो समातेर परम्परागत मान्यतामाथि औँलो ठड्याउँदै विद्वान कहलिने फेसन
सम्वत् २०६३ पछि ह्वात्तै बढेको छ तर साधारण नेपालीहरुको चेतना यिनीहरुको दाँजोमा
कहाँ हो कहाँ पुगिसकेको छ | जेएनयुका उत्पादनहरु पश्चिमाका चेलाचपेटामा ‘मेटामर्फोज’
भएको सबैले देखेकै हुन्, तर बहुसंख्यकले पढ्ने त्रिवी बिकेको कसैले सुनेको छ
आजसम्म ?
ऐतिहासिक गाथा
पश्चिमको ‘गड’ नेपालीको
‘गढीमाई’ को अपभ्रंश हो | भलै त्यसलाई १६०० वर्षअघि जर्मनहरुले शुरु गरेको दाबी
चलिरहोस् | आदियुगदेखि बरियापुरमा खडा रहिरहेको यो गढीमाईको ख्याती र सौन्दर्य
मानदेवकै पालामा चारैतिर फैलिसकेको कुरा त कालिकोटका योगी नरहरिनाथले ३६ वर्ष
लगाएर लेखेको ‘बाराको प्रमाणिक इतिहास’ मा उहिल्यै उल्लेख भइसकेकै हो | पछि राजा
गणेश्वर सिंहका पालामा महाकवि विद्यापतिले हाल मन्दिर रहेकै ठाउँमा मैथिली भाषाको
कवितागोष्ठी गराए, भक्तिधाराका कविताहरु समेटेर भन्ने पनि भनाइ छ | अनि यही ठाउँ
हो, जहाँ भनाइ छ- साक्षात् गढीमाई देवी प्रकट भएर भन्नुभयो- मलाई पाँचपाँच वर्षमा
पशुबली चाहिन्छ, पाँच लाख घटीले चल्नेवाला छैन | ‘बरियापुरियन्स आर एनिमल एडिक्टस’-
एक समकालिन पश्चिमाले त कतै लेखेकै छन् | फेरि, पश्चिमासँग किन तुलना गर्छौ,
बरियापुर त निरपेक्ष हो भनेर लेख्नुअघि यी शिरोमणिले कमसेकम एकपटक उनकै गुरु
चैतन्य मिश्रलाई सम्झिदेको मात्रै भएपनि यो टिपोटको जरुरी हुन्थेन | ऐतिहासिक
चेतको कुरा गर्दै मिश्रले आफ्नो ‘डक्टरल डिजर्टेसन’ मा लेखेका छन्- नेपालको
इतिहासशास्त्र लगायत राजनीति समष्टिभन्दा धेरै बढी व्यष्टि, विश्वकीय र क्षेत्रीयभन्दा धेरै बढी राष्ट्रिय र
स्थानिक, जगत् र समाजका विशिष्टताभन्दा धेरै बढी व्यक्तिका
विशिष्टता र ऐतिहासिक प्रवाह र सम्पूर्ण संरचनाका विशिष्टताभन्दा धेरै बढी कर्ताको
विशिष्टतामा केन्दि्रत हुनपुगेको हो | आफ्नै गुरुको कुरा नपढ्ने यो कस्तो विद्वान
हो, बुझिनसक्नु छ | धेरैको हाल यही छ |
अरुन्धती र दीपा मेहता
यी ती दुई नामहरु हुन्
जसलाई ‘कोट’ गर्न भ्याएका छन् विद्वतशिरोमणिले आफ्नो रिजोइन्डरमा | अरुले माने
भन्दैमा बलिप्रथा, सतीप्रथा, दासप्रथा नेपालले मान्न जरुरी छैन भने यो जोडी चाँहि भारतीय
भएर मात्रै हामीले तिनका ‘कोट’ लाई मान्दिनुपर्ने हो ? शिरोमणिको विवेकलाई
पंक्तिकारको खुलाप्रश्न हो यो | नभन्दै तथ्यांक बोल्छ- यतिखेर १५ हजार नेपालीहरु
भारतीय ‘पेरोल’ मा छन् | चिनियाँहरू भन्छन् रे नै, 'तिम्रो देशमा कोचाहिँ बिकेको छैन ? कोसँग सहकार्य
गर्ने ?' निश्चय नै, बरियापुरमाथि धावा बोल्नेहरुको
फ्रन्टलाइनमा पश्चिमाहरु छन् | तर तिनै गोरा छालाले संचालन गरेको एउटा भारतीय
‘ग्यांग अफ फोर’ यसपाला बरियापुरमा खुल्लमखुल्ला क्रियाशील थियो | माथिका
पंक्तिहरु पढिसकेपछि बुझ्नेले बुझ्लान् नै- औपनिवेशिक सोच र नमिठो लघुताभाष भनेको
के हो !
रिप्लेज बिलिभ इट अर नट
जसले अति पुरानो नेपाल बुझेका छन्, तिनले २६औं शताब्दीमा टेकेको पनि ५८ वर्ष भयो | जसले आधुनिक नेपाल बुझेका छन्, तिनले २१औं शताब्दीमा टेकेको पनि ७२ वर्ष भयो | तर २१औं शताब्दीमा टेकेको भर्खर १४ वर्षमात्र भएका यी नवकिशोरहरु अहिलेको युगमा आएर पनि संस्कृति र परम्पराको बचाउ गर्ने ? भनेर थाक्दैनन् | हामी शुद्ध मांसाहारी हौँ भनेर पटकपटक 'कन्फेस' गरिरहन पनि यी बरियापुर विरोधी नवकिशोरहरु फिटिक्कै लजाउँदैनन् | रिप्लेको 'बिलिभ इट अर नट' मा उल्लेख गर्नलायक यस्तै विसंगतिलाई सायद हामी बेलाबेला नियति भन्ने गर्छौं | खासमा बरियापुर विरोधीहरुको खास तारो के हो, विरोधीहरु स्वयम्मै प्रष्ट छैनन् | आफू बाहेक अरु सबलाई मासु घिच्न प्रतिबन्ध लगाउनुपर्ने माग हो कि, बरियापुरमा बफ काट्दा काठमाण्डौमा म:मको अभाव हुन्छ भनेर हो कि ? वा मेलास्थल बरियापुरबाट काठमाण्डौ स्थानान्तरण गर्नुपर्ने हो कि, पा-पाँच वर्षलाई लम्ब्याएर बीस वर्ष बनाउनुपर्ने हो कि बलि दिइने पाँच हजार राँगालाई पाँच सयमा झार्नुपर्ने हो कि ? अरु किसिमले भन्न नसकेर मेला व्यवस्थापनका गन्जागोल नारा भट्टयाउनेहरु पनि भेट्टिए- प्रगतिशीलताको खोल ओढेका केही बुज्रुकहरु | इयू, डेनमार्क, नेदरल्याण्ड, नर्वेलगायत भ्याटिकन र प्रोटेस्टेन्टहरुले आफ्नो धर्मविस्तारका लागि हिन्दूधर्मभित्रको एउटा अनन्य प्रथामाथि यसरी धावा बोल्दा पनि अरुहरु मुखमा टेप टालेर बस्छन् भने बसून्, यो पंक्तिकार बस्दैन | आदियुगदेखि बरियापुरमा चलिआएको गढीमाई पर्व यथार्थमा धर्म नै होइन, प्रकृतिसम्बद्ध जीवनपद्धति र दर्शन हो |
पुछार-१
योपालि रामबहादुर बम्जन
स्टेजमा कतै देखा परेनन् तर मोदीको नेपाल भ्रमणका बेला पशुपतिनाथ नजान अनुरोध
गर्ने स्वामी अग्निवेश चाँहि अपेक्षितरुपमै बरियापुर विरोधीहरुको फ्रन्टलाइनमा थिए
| नेपाली जनताको हृदयमा पशुपतिनाथ र बरियापुर किन प्रिय छन्, यी गेरुवस्त्रधारीले
नबुझ्ने कुरा थिएन | सुनियोजित रुपमा मेलास्थलमै अनसन बस्न खोज्दा मेला भर्न आएका लाखौँ
श्रद्धालुहरुले लखेट्नु लखेटे यिनलाई | जुन दिन बाँकी बरियापुर विरोधी झुण्डहरुको
पनि पश्चिमा कनेक्सन सप्रमाण सडकमा छरपस्टिन्छ, तिनको हाडखोर अवश्यै रहनेछैन |
पुछार-२
नभन्दै पशुबलिको भोलिपल्टै
मन्त्रिपरिषद्को बैठकले बरियापुर गाविसलाई महागढीमाई नगरपालिकामा ‘प्रमोसन’
गरिदिएको छ |
Dec 3, 2014
True religion
First appeared in The Kathmandu Post, 2009-03-17
At a time when the original meanings and significance of things are eroding at an ever increasing pace, the fate of religion has been no different. Observe closely around you and you'll have to wait for no Sunday to find the self-styled religious men and women. Yes, they wake up early in the morning, take baths, go to temples, perform prayers and meditation, but my question is: Do these alone suffice for one to be an truly religious person? Are karmakandas and rituals sole prerequisites to certify oneself as a religious being? Certainly not, and if you further scrutinise our self-styled religious fellows, you'll find that they are vain, boastful and have no qualms promoting deplorable social evils like untouchability, gender discrimination and a host of other ills falsely associated with religion. They are not interested in following the good that their religion teaches.
Little wonder, then, the the youths of today are exhibiting the legacy they got from the older generation, especially during festivals like Shivaratri and Holi. The festivals are supposed to be an occasion when all enmity is forgiven and forgotten and friendship is renewed, but the modern day youths behave the other way round. They take these occasions to take ganja and bhang and tease young girls, which consequently lead to brawls and gang-fights. What is the point of celebrating festivals if it is only to trouble others and end up spoiling your own mood?
Indeed, there is no need to visit temples and pay lip-service to god, for god is within you if you have the ability to feel it. God is, as William Blake says, in a grain of sand and in a flower. And as S. Radhakrishnan puts it in another context, "Religion is seeing God face to face. If anyone achieves that, he is an authentically religious man." But in order to achieve that, or say, to catch a glimpse of that Supreme Being, one has to go through self purification and sacrifice. Prayer and meditation may be necessary at one point, but they should not be merely for outward display, as is the case with us today. It ought to rather serve to discipline our body, mind and heart. Above all, we must learn to discard the vile deeds we commit in the name of religion.
I want to plead one and all to follow what Paulo Coelho says, that religion is a way of having discipline and collective worship with persons who share the same mystery. Let us all embrace true religion by strengthening our spirit and learning to love and forgive those around us.
At a time when the original meanings and significance of things are eroding at an ever increasing pace, the fate of religion has been no different. Observe closely around you and you'll have to wait for no Sunday to find the self-styled religious men and women. Yes, they wake up early in the morning, take baths, go to temples, perform prayers and meditation, but my question is: Do these alone suffice for one to be an truly religious person? Are karmakandas and rituals sole prerequisites to certify oneself as a religious being? Certainly not, and if you further scrutinise our self-styled religious fellows, you'll find that they are vain, boastful and have no qualms promoting deplorable social evils like untouchability, gender discrimination and a host of other ills falsely associated with religion. They are not interested in following the good that their religion teaches.
Little wonder, then, the the youths of today are exhibiting the legacy they got from the older generation, especially during festivals like Shivaratri and Holi. The festivals are supposed to be an occasion when all enmity is forgiven and forgotten and friendship is renewed, but the modern day youths behave the other way round. They take these occasions to take ganja and bhang and tease young girls, which consequently lead to brawls and gang-fights. What is the point of celebrating festivals if it is only to trouble others and end up spoiling your own mood?
Indeed, there is no need to visit temples and pay lip-service to god, for god is within you if you have the ability to feel it. God is, as William Blake says, in a grain of sand and in a flower. And as S. Radhakrishnan puts it in another context, "Religion is seeing God face to face. If anyone achieves that, he is an authentically religious man." But in order to achieve that, or say, to catch a glimpse of that Supreme Being, one has to go through self purification and sacrifice. Prayer and meditation may be necessary at one point, but they should not be merely for outward display, as is the case with us today. It ought to rather serve to discipline our body, mind and heart. Above all, we must learn to discard the vile deeds we commit in the name of religion.
I want to plead one and all to follow what Paulo Coelho says, that religion is a way of having discipline and collective worship with persons who share the same mystery. Let us all embrace true religion by strengthening our spirit and learning to love and forgive those around us.
Subscribe to:
Posts (Atom)
