........................................................................with words, with issues!!!

Mar 31, 2015

अब पनि ऐक्यबद्धता नजनाउने हो भने...

First appeared in SwasthyaKhabar 

मेडिकल कलेजमा सँगै पढ्दाताका एकदमै ‘ब्राइट’ विद्यार्थीमा गनिने एकजना साथीले केहीअघि आफ्नो भावी योजना सुनायो- “अब नेपालमै ल्याङल्याङ गरिरहेर केही प्रगति हुनेवाला छैन यार् ! यता बरालिएर आफ्नो भविष्य अनिश्चित पार्नुभन्दा झट्टपट्ट ‘युएसएमएलइ’ गरेर अमेरिकाको बाटो तताउने हो ! तैंले पनि बेलैमा सोच्, नत्र पछि बेकारमा पछुताउनुपर्ला !”
त्यो साथी मात्रै किन, एमबीबीएस पास गरिसक्दानसक्दै अधिकांश त्यस्ता ‘ब्राइट’ डाक्टरको दिमागमा घुम्ने एउटै कुरा यही हो- युएसएमएलइ नामको लाइसेन्सिङ परीक्षा पास गर्ने र अमेरिकाको ढोका उघार्ने ! आखिर अमेरिका भनेपछि किन यसरी दुईहात उफ्रन्छन् त डाक्टरहरु ? धेरै दिमाग खियाइरहनै पर्दैन – सपनाको नगरी अमेरिकामा डाक्टरलाई दिइने तलब हेरे पुग्छ ! एमडी/एमएस गर्नको निम्ति संसारैभरबाट अमेरिकाकै मेडिकल स्कुलमा भर्ना हुन किन मरिहत्ते गर्छन् त डाक्टरहरु ? बस्, त्यहाँ दिइने शिक्षाको स्तर अन्तको सँग दाँजे पुग्छ | तर के नभुलौं भने त्यही अमेरिका हो, जहाँ ठ्याक्कै एक सय वर्षअघि नेपालको भन्दापनि गएगुज्रेको थियो मेडिकल शिक्षा | अपितु छोटो समयमै त्यसले कायापलट गर्न सक्यो र हिजोको नेपालभन्दा तन्नम क्षेत्र आजको ‘मेडिकल हब’ बन्यो | मेडिकल शिक्षाका तमाम विकृतिलाई बढार्न श्रद्धेय गुरु डा. गोविन्द केसी आमरण अनसन बसिरहनुभएको यो पृष्ठभूमिमा अमेरिकाले कसरी यो छलाङ हान्न सफल भयो, बुझ्नु सान्दर्भिक हुनेछ |

फ्लेक्स्नर रिपोर्ट

दोहोर्याएर भनौं- २० औं शताब्दीको शुरुतिर अमेरिकाको मेडिकल शिक्षा यहाँको भन्दा बढी भद्रगोल थियो | त्यसबेला देशभर जम्माजम्मी १५५ वटा मेडिकल स्कुल भनिने कारखानाहरु संचालनमा थिए जसबाट जन्मिनेलाई आवरणमा त डाक्टर भनिन्थ्यो तर आचरणमा हुन्थे पक्का कसाइ | विद्यार्थी हुल्न तिनलाई न कुनै विश्वविद्यालयसँग सम्बन्धन चाहिन्थ्यो, न पढाउनलाई कुनै स्पष्ट तोकिएको पाठ्यक्रम | विद्यार्थीलाई पनि त्यत्तिकै हाइसन्चो- न कुनै सीप सिक्नुपर्ने झन्झट, न ठेलीका ठेली किताब पढ्नुपर्ने झ्याउलो | १-२ वटा धनाढ्य डाक्टरको लगानीमा खुलेका त्यस्ता मेडिकल स्कुलमा २ वर्ष हल्लिनु मात्रै पर्यो, डाक्टरको डिग्री हातहातै पाइने पूर्ण ग्यारेण्टी हुन्थ्यो | यसरी ‘क्वाक’हरुले त्यहाँको स्वास्थ्यबजार कब्जा गरेपछि नीतिनिर्माताहरुका बीच ठूलै हल्लीखल्ली मच्चिन पुग्यो | परिणामत: १९०८ मा अब्राहम फ्लेक्स्नर नामका एक शिक्षाविद्लाई यससम्बन्धी वस्तुस्थितिको अध्ययन गर्न खटाइयो | ठूलो जिम्मेवारी बोकेर फ्लेक्स्नर निस्के, १५५ वटै मेडिकल स्कुल घुमे, एकएक कुराको निरीक्षण गरे, गहिरो अध्ययन गरे, रिपोर्ट तयार पारे र अन्ततः १९१० मा सरकारलाई रिपोर्ट सुम्पिदिए | रिपोर्टमा उनले लेखे- “शिक्षक भनिने पण्डितहरु विद्यार्थीलाई पढाउँदैनन्, पुराण सुनाउँछन् | बिरामी देखाउँदैनन्, उही बासी पुराण भट्याउँछन् | भाग्यवस् कुनै दिन अस्पताल छिराएछन् भने पनि त्यहाँ बिरामीलाई छुने, सिक्ने होइन, बस् ट्वाँ परेर हेरिरहन मात्रै अर्हाउँछन् |” त्यही रिपोर्टमा उनले मेडिकल शिक्षाको कायापलट गर्न नगरीनहुने केही कुराहरु भन्दै बुँदागत रुपमा सुझाव दिएका छन् | जस्तै:
१. मेडिकल स्कुलको भर्ना-क्राइटेरिया लर्तरो पाराको नहोस्; यति कडा क्राइटेरिया होओस् कि साँच्चिकै जेहेन्दार विद्यार्थीले मात्रै चिकित्सा क्षेत्रमा प्रवेश पाओस् | पैसा छ भन्दैमा जुनसुकै झार, पात र पत्कर पनि डाक्टर बनिहाल्ने प्रवृतिको अन्त्य होस् |    
२. विशुद्ध नाफाका लागि मात्रै भएभरका मेडिकल स्कुलहरु खोलिएकाले चिकित्सा शिक्षाको गुणस्तरमा सोच्नै नसकिने ह्रास आएको र यो कुरा सच्याउनका निम्ति मेडिकल स्कुलहरुको संख्या भारी मात्राले घटाइयोस् |   
३. मेडिकल लाइसेन्सलाई मोटरसाइकलको लाइसेन्सजसरी जथाभावी ढंगले नबाँडियोस् |
४. पुराण सुनाउने पार्ट-टाइम पण्डाहरु होइन, सीप सिकाउने फुल-टाइम प्रोफेसरहरु राखियोस् |
५. मेडिकल स्कुल भनेको प्राज्ञिक थलो हो | यसर्थ, फ्याकल्टीलाई पुराण भट्याउने कर्मकाण्डमा सीमित नराखी रिसर्चमा पनि लगाइयोस्, वैज्ञानिक ढंगको प्राक्टिसका निम्ति प्रोत्साहित गरियोस् |
मेडिकल शिक्षा सुधार अभियानमा कस्सेर लागेको त्यहाँको सरकारले त्यसपछि दायाँबायाँ कतै हेरेन, सिर्फ फ्लेक्स्नर रिपोर्टले देखाएको बाटोमा अघि बढ्ने निर्णय गर्यो | रिपोर्टले तय गरेको मापदण्डमा तौलिंदा अधिकांश मेडिकल स्कुलहरु झुर निस्के | परिणाम, कि त ती बन्द भए कि अरुसँग ‘मर्ज’ ! १५५ बाट घटेर एक्कासी ३१ पुग्यो अमेरिकाको चिकित्साशास्त्र पढाइने स्कुलको संख्या | जसै फ्लेक्स्नर रिपोर्टका सुझावहरु कार्यन्वयनमा ढल्दै गए, चर्को बद्नामी खेपेको स्वास्थ्यक्षेत्र पनि एकाएक सबैले आदर गर्ने प्रोफेसनमा बदलिँदै गयो | आज विश्वका एकसेएक मेडिकल स्कुल त्यहीं छन्, एकसेएक रिसर्चहरु त्यहीं हुन्छन्, विश्वकै गुणस्तरीय स्वास्थ्यसेवा त्यहीं पाइन्छ |

र गोविन्द केसी सर  

आइओएमबाट प्राक्टिकलको जाँच लिन आउनुभएका एकजना प्राध्यापकले भन्नुभएको थियो- “जाँचकै सिलसिलामा म जति पनि कलेजहरु गएँ, त्यहाँका नेपाली विद्यार्थीहरु उत्तरहरु त खरररै भन्छन्, तर त्यही भनेको कुरालाई गर्न लगायो, फिटिक्कै जान्दैनन् | नयाँ पुस्ताका डाक्टरहरु सीप सिक्ने कुरामा पछाडि छन् |” यस्तो कसरी हुन गयो त ? र आगामी वर्षहरुमा झन् के हुँदैछ ? च्याउसरी मेडिकल कलेजहरु उमार्ने, क्षमताभन्दा तेब्बर बढी विद्यार्थी हुल्ने, फ्याकल्टी नराख्ने, पठनपाठन र प्राज्ञिक वातावरण नबनाउने गरेपछि कसरी ती प्राध्यापकले चाहेजस्ता अब्बल डाक्टर निस्किउन् त ? सिस्नु रोपेको ठाउँमा तुलसी उम्रेन भनेर रोइलो गर्दैमा हुन्छ र ?  
हो, यिनै कुरालाई उठाएर गोविन्द केसी सर पाँचैपटक अनसनमा बस्नुभएको हो | मेडिकल शिक्षाको गुणस्तर राम्रो नहुँदासम्म देशको स्वास्थ्य क्षेत्रमा सुधार आउँदैन भनेर उहाँ निरन्तर लागिपर्नु भएको छ | जसरी अब्राहम फ्लेक्स्नर अमेरिकाको मेडिकल शिक्षामा एउटा ‘गेम-चेन्जर’ बने, झन्डैझन्डै त्यही बेहाल हुन थालेको हाम्रो मेडिकल शिक्षालाई सत्याग्रहको हतियारले अहिलेसम्म जोगाइराखेर डा. गोविन्द केसी पनि ‘गेम-चेन्जर’ कै भूमिकामा देखा पर्नुभएको छ | फरक के भने त्यहाँको सरकार आफैं प्रतिबद्ध थियो; फ्लेक्स्नरले यसोयसो गर भनेर भनेका मात्रै के थिए, सरकार खुरुखुरु मान्दै गयो | यहाँ भने यति चाम्रो सरकार छ कि पूरा देशले मानेको गोविन्द केसीजस्तो एउटा डाक्टर आफ्नो ज्यानको बाजी थापेर पाँचपाँचपटक आमरण अनशन बस्दा पनि कानमा तेल हालेर बस्छ | धोकाधडी गर्न पल्केको यहाँको सरकारलाई ‘क्वाक’ हरुले स्वास्थ्यबजार कब्जा गरेर मान्छेको जीवनसँग खेलबाड गरे के, कसाइहरुले अपरेसन गर्न थाले के ! भोलि ३ करोड जनताले कस्ता डाक्टरको हातमा आफूलाई सुम्पेर कस्तो जोखिम मोल्दैछन्, उसलाई रत्ति फिक्री छैन |
 केसी सरकै दबाबमा सही, सरकारले प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा स्वास्थ्य शिक्षा नीति तर्जुमा गर्न एउटा उच्चस्तरीय समिति गठन गरेको थियो | माथेमा समितिका लागि फ्लेक्स्नर रिपोर्ट पनि एउटा गतिलो अध्ययन सामग्री हुनसक्छ | त्यो रिपोर्टले जमानामा दिएका ती सुझावहरु आज पनि यो समितिले मनन नगरी नहुने खालका छन् | केन्द्रिय चिकित्सा विश्वविद्यालयको निर्माण, भौतिक पूर्वाधार, जनशक्ति अनि भौगोलिक मापदण्डका आधारमा नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन, विदेश पढ्न जाने विद्यार्थीको हकमा पनि उचित नियमन, स्नातक तथा स्नातकोत्तर दुवै तहका निम्ति लिन सकिने अधिकतम शुल्कको निर्धारण, चिकित्सकहरुले पाउने सरकारी सेवा-सुविधामा समयानुकूल परिमार्जन आदि यस्ता विषयहरु हुन् जो माथेमा समितिले सही ढंगले निर्क्यौल गरेमा नेपालको मेडिकल क्षेत्रले पनि त्योबेलाको अमेरिकाले झैं काँचुली फेर्न समय लाग्नेछैन |
अन्यथा, ‘ब्राइट’ डाक्टरहरु जति ‘युएसएमएलइ’को पुच्छर समातेर अमेरिका भासिने अनि यहाँका जनता चाँहि ‘क्वेक’ को रामभरोसामा बाँचिरहनुपर्ने विडम्बना नै हाम्रो सधैंको नियति बन्नेछ | त्यो भयावह अवस्था नआओस् भन्नका लागि जरुरी छ- सबै क्षेत्रबाट केसी सरको यो सत्याग्रहप्रति आ-आफ्नो ठाउँबाट ऐक्यबद्धता | किन भने अब पनि ऐक्यबद्धता जनाउन ढिलो गर्ने हो भने भोलि तपाईं-हाम्रा धेरै कुराहरु बाँकी रहनेछैनन् |



Read More

Mar 13, 2015

बनाउनु नपरोस् 'नेपाल्स डटर' !


संचारमाध्यममा निरन्तर ‘इन्डिया साइनिङ’ का लोमहर्षक कथाहरु छाइरहँदा बेलाबेला प्रकाशमा आउँछन्- २०१२ को डिसेम्बरमा दिल्लीमा भएजस्ता नृशंस घटना पनि | यिनले संसारकै ठूलो लोकतन्त्रको अर्को पाटो उजागर गर्ने गरेका छन् | दिल्लीको सार्वजनिक बसमा एउटी २३ वर्षीया छात्रामाथि भएको उक्त विभत्स सामूहिक बलात्कार तथा हत्याका विषयमाथि हालै ‘इन्डियाज डटर’ नामक एउटा डकुमेन्ट्री त बन्यो तर प्रदर्शनमा नआउँदै प्रतिबन्ध झेल्न पुग्यो | भारत सरकार भन्छ- चार बलात्कारीहरु मध्येका एक मुकेश सिंहले यसमा महिलाहरुका बारेमा बोलेका कुराहरु घोर आपत्तिजनक छन्, त्यसैले यसलाई रोक्नुपर्छ | हुनत हाम्रो सरकारले जस्तो लाज नपचाइसकेको भए पक्कै पनि भारतीय सरकारले विश्वमंचमा यो डकुमेन्ट्रीबाट लज्जित महशुस गरेको होला | तर फेरि पनि यो डकुमेन्ट्री भारत र नेपालजस्ता देशको ऐना हो | समाजले एउटी नारीलाई कसरी हेर्छ- चिहाउने आँखीझ्याल हो यो | यसमा तपाईं-हाम्रै प्रतिविम्ब देख्न सकिन्छ | तर के त्यो ऐनाले हाम्रो अनुहार कुरूप देखायो भन्दैमा ऐना नै फोड्दिने ? निश्चय पनि बलात्कारीद्वारा गरिएका आपत्तिजनक कुराहरु त्यहाँ छन् | तर तिनलाई कान थापेर नसुनेसम्म समस्याको गहिराईमा हामी पुग्नसक्नेछैनौं | बरु ‘सबै ठीकठाक छ’ भनेर बस्नेछौं र आखिरमा जुध्न सक्नेछैनौं समस्यासँग | 

महिलाप्रति बलात्कारीको दृष्टिकोण मात्रै बुझ्न त डकुमेन्ट्री नै हेरिरहनुपर्ने आवश्यकता किन पर्थ्यो र ? तर समाजका कतिपय शिक्षित भनाउँदाहरुको सोचाइको स्तर चाँहि कहाँ छ, घामझैं प्रष्ट हुनेगरी थाहा पाउनुछ भने एकचोटि अवश्यै हेर्नुपर्छ | बलात्कारीका पक्षमा बहस गरेका तिनका वकिलहरुको कुरागराइ हेर्दा लाग्छ- हामी अझैं पनि सत्रौ-अठारौँ शताब्दीतिरै छौं | तर त्यहाँको सरकार भने यसको उपचार खोज्न नलागेर रोग लुकाउने काममा तल्लीन छ | परेवाको बथानमा एउटा बिरालो छिराइदिने हो भने जम्मै परेवाले आँखा चिम्लिन्छन् रे | मैले देखिन भने बिरालोले पनि मलाई देख्नन सक्दैन भन्ने सोच्दाहुन् बिचरा परेवा | तर बिरालोले आँखा चिम्लिदैन र पुरै परेवाहरु खाइदिन्छ | त्यसैले गरी सरकारले पनि ‘आँखा चिम्लिन्छु र पो बलात्कारले पनि आँखा चिम्लेला’ भन्ने परेवा सोच राख्ने हो भने सामूहिक बलात्कारको यो बिरालोले एकदिन पुरै समाज खाइदिनेछ | यसर्थ, डकुमेन्ट्रीले भन्दा बरु डकुमेन्ट्रीमाथि प्रतिबन्ध लगाउने कामले भारतको छविलाई बढी विद्रूप बनाएको छ | 

नेपालमा पनि यस्ता घटनाहरुको कुनै कमी छैन |  पूजा बोहरा नेपालकी त्यस्तै प्रतिनिधि छोरी हुन् | फरक के भने उता भारतमा बलात्कारीलाई मृत्युदण्डको सजाय सुनाइयो तर यता पुनरावेदन अदालत महेन्द्रनगरले बलात्कारीलाई सफाई दियो | कानुनमन्त्री नरहरि आचार्यलाई सम्बोधन गर्दै ‘मेरो जीवन निमोठ्नेहरु निर्दोष हुन्?’ भन्दै कान्तिपुर दैनिकमा पत्र लेखेपछि मात्रै यो केस राष्ट्रिय मुद्दा बन्यो | उनको भोगाइ यति मार्मिक थियो कि पूरै देशले केही बेरसम्म विश्वासै गर्न सकेन | अहिले बिर्सिसकेका भए बेग्लै कुरा, नत्र मन्त्रीज्यूले पनि ‘तपाईंलाई न्याय दिलाउँछु’ भन्दै जवाफी पत्र लेखेको धेरै भएको छैन | तर अफसोच, अहिले आएर सर्वोच्च अदालतले उनको मुद्धा नै स्थगित गरिदिएको छ | न्यायको एकपटक फेरि बलात्कार भएको छ | थप अन्याय गर्नका लागि अब केही बाँकी छैन |
सबैथोक उल्टो चलिरहेका बेला यही अन्याय नै न्यायमन्त्रीले भनेको न्याय होला | पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘तिम्रो न्यायका लागि म लड्छु’ भनेको पनि यही नै होला | तर न्यायलयलाई हेक्का रहोस्- बलात्कारी छाती खोलेर हिंड्ने, बलात्कृत लुकीलुकी हिंड्ने स्थितिको निर्माणमा अदालतका यस्तै फैसलाहरु जिम्मेवार छन् | न्यायमुर्तिहरुलाई ज्ञात होस्- यस्तो अदालत न्यायलयका नाममा कलंक हो भनेर भन्न अब हामीलाई रत्ति संकोच छैन | आखिर, सर्वोच्च अदालतभन्दा माथि पनि एउटा अदालत हुन्छ- जनताको विवेकको अदालत | र बहुसंख्यक नेपालीहरुको विवेकको अदालतले फैसला गरिसकेको छ- को को हुन् दोषी भनेर |

हुन त सोच्नै नसकिनेगरी बढेको बलात्कारको घटनामा को दोषी भनेर देखाउनलाई एकथरी पुरातनवादीहरुसँग लामै लिस्ट छ | तिनका वकिलसँग जति पनि कुतर्कहरु आविष्कार गर्न सक्ने बेजोडको प्रतिभा छ | तिनका आँखामा कहिले छोटा कपडा दोषी देखिन्छन्, कहिले त्यो केटीको चरित्र | तिनका विचारमा केटीमान्छे भएर जन्मिसकेपछि घरबाट रातविरात एक्लैदुक्लै निस्किनु बलात्कारलाई आमन्त्रण गर्नु हो | त्यसमा केटाको कुनै गल्ती हुँदैन, जम्मै दोषको भागीदार त्यही केटी हो | तिनका विचारमा कुनै केटाले बलात्कार गर्दैछ भने केटीले कि त चुपचाप त्यो बलात्कारमा सरिक भइदिनुपर्छ, नभए निर्भयाको नियतिका लागि तयार रहनुपर्छ | ती सोच्छन्- ‘मात्तेकी’, ‘संस्कार बिर्सेकी’ केटीहरुलाई बलात्कार गरेर पाठ सिकाइएको हो | ती ठान्छन्- ‘नैतिकता’ र ‘मर्यादा’ को सम्पूर्ण ठेक्का स्वास्नीमान्छेले लिएर आफूहरुलाई फुक्काफाल छोडिनुपर्छ | समाजमा जबर्जस्त जकडिएर रहेका यस्ता मान्यता एउटा-दुइटा डकुमेन्ट्री वा एक दुई हप्ताको मैनबत्ती जुलुसले समाप्त नहोला, तर केही परिवर्तन चाँहि जरुर हुन्छ | 


तीतो सत्य के हो भने न त निर्भया बलात्कार काण्ड भारतका निम्ति अन्तिम हुन सक्यो, न त पूजा बोहराको केस नै नेपालको अन्तिम | दैनिकजसो समाचारहरु आएकै छन्, कहिले ६० वर्षीय हजुरबाद्वारा १५ वर्षीया नातिनीको बलात्कार भनेर त कहिले स्वयं बुवाद्वारा छोरीको करणी भनेर | सुन्दै आङ जिरिंग पार्छन् यस्ता घटनाले | त्यतिले नपुगेर उल्टै बलात्कृतमाथि नै दोष थुपार्छ समाज | प्रहरीले अनुसन्धान गर्ने कुरा त परै छोड्दिउँ, मुद्दा दर्ता गर्नै आनाकानी गर्छ | बलात्कारीसँग बिहे गर्न बाध्य पार्छ परिवार र प्रशासन | कति त कलंकको भारी बोक्न नसकी आत्महत्या रोज्छन् | ‘नेपाल्स डटर’ बनाउनु नपरोस् भनेर जति नै चोखो कामना गरे पनि यसरी अन्यायको नाङ्गो नाच चलिरहँदा बाँकी संसार चाँहि मूकदर्शक भएर हेरिरहन मिल्छ र ?   
Read More

Mar 5, 2015

भेंडाबाख्राझैं हुलिने भविष्यका डाक्टरहरु


First published in Setopati 

सेतोपाटीमा प्रकाशित गोविन्द केसी सरको लेख ‘मेडिकल शिक्षामा मनपरी, क्षमता ४० सीट, पढाउने १५० जना?’ पढिसकेपछि त्यो दिनभरजसो म आत्मविस्मृतितर्फ तानिइरहें | सानो छँदाताका मैले पढेको स्कुल, त्यसका कक्षाकोठा, गुरु-गुरुआमाहरु, साथीभाइहरु झल्झली याद आइरहे | मनमनै सोचिरहें- साँच्ची, मैले पढ्ने स्कुलमा एउटा कक्षामा अधिकतम कतिजनासम्म विद्यार्थीहरु हुन्थे ? सर र मिस/म्याडमहरुले कत्तिको लगाव र अभिरुचिका साथ पढाउनुहुन्थ्यो ? अनि फेरि मनमनै एक दशकपछिको समयमा हाम फालें र आफूले पढेको मेडिकल कलेजको कक्षासँग त्यो कक्षा दाँज्न पुगें | अहो, कत्रो गहिरो खाडल, जसलाई अनुभव मात्र गर्दा पनि बडो अनौठो लागिरह्यो |

त्यो स्कुले कक्षामा जम्माजम्मी ८० जना विद्यार्थी हुन्थ्यौं | एउटा कक्षामा बढीमा ४० जनाको मान्यताअनुसार दुइटा सेक्सनमा बाँडिएका थियौं हामी | हरेक विषयका निम्ति उत्तिकै दक्ष र अनुभवी गुरुहरु हुनुहुन्थ्यो | हामीले बुझ्यौं/बुझेनौं, जान्यौं/जानेनौं, सोधखोज गर्नुहुन्थ्यो अनि बुझेको रहेछौं भने मात्रै अगाडिको पाठमा बढ्नुहुन्थ्यो | कुनै पिरियड पनि सर नभएर वा सर नआइदिएर खाली जाँदैनथ्यो | समयमै पाठ्यक्रम पढाएर सक्काइन्थ्यो | बरु भौतिक पूर्वाधार राम्रो थिएन | स्कुलको आफ्नै भवनसम्म थिएन, बाल मन्दिरको भवनलाई भाडामा लिएर चलाइरहेको थियो | तर पठनपाठनमा कुनै सम्झौता थिएन | र पो पढाइ प्रभावकारी हुन्थ्यो | हुनत मैले मीनबहादुर विष्टको कवितामा वर्णित ‘गाउँको पाठशाला’ पनि देखेको छैन, राजधानीको ग्यालेक्सी र रातो बंगाला पनि भोगेको छैन | यसकारण मेरो स्कुलको अनुभवसँग अरु धेरैका अनुभव नमिल्लान् | तर एउटा औसत मध्यमवर्गीय परिवारको सन्तानले पढ्ने स्कुलबाट आएकाहरुको कक्षाको चित्र मोटामोटी यस्तै हो | सबै ८० जना विद्यार्थीहरु एउटै कक्षामा हुलेको भए चाँहि के हुँदो हो; मैले कल्पना पनि गरेको थिइन | तर त्यही कल्पना पनि नगरेको कुरा कालान्तरमा भोग्नु रहेछ |

मेडिकल कलेजको ‘लेक्चर हल’ छिरेको पहिलो दिन यो कुन सेक्सन होला भनेर ठूलै असमन्जसमा परेको थिएँ म | सुनेको थिएँ, एउटा ब्याचमा जम्मा विद्यार्थीको संख्या १५० हुनेछ | यसैअनुसार स्कुल र प्लस टु बेलाकै हिसाबले पनि कम्तीमा ३ वटा सेक्सन त जरुर हुनेछ भनेर मनमनै हिसाब लगाएको थिएँ | आफू कुन सेक्सनमा परिएछ भनेर मनमा कौतुहलता थियो | तर त्यही दिन नै थाहा भयो- मेडिकल कलेज भनेको कुनै स्कुल-प्लस टु होइन रहेछ, जहाँ निश्चित संख्याभन्दा बढी विद्यार्थी भए सेक्सन छुट्याइयोस् | एउटा बडेमाको हल बनाइदिएको छ, सबैजना त्यसमै अटाउने अनि पढ्न मन भए पढ्ने नभए नपढ्ने- त्यो रहेछ त्यहाँको पवित्र संहिता | अरे बाबा, १५० जनाको भीड एउटै हलमा कोच्चिंदा त्यहाँ कसरी पढाई होला, कसरी अन्तर्क्रिया होला, बुझ्न नसकेर पहिलो दिन नै मेरो दिमाग अन्यौल र बेचैनीको कुहिरोमा हराएको थियो | हुनत कहाँ कखरा पढाउने त्यो स्कुल, कहाँ डाक्टर उत्पादन गर्ने यो मेडिकल कलेज ! तर पनि भेंडाबाख्रालाई झैं हुलेको देख्दा त्यही कखरा सिकाउने स्कुल नै मेरा निम्ति प्रिय भयो | त्यो सानो स्कुल सम्झेर नै गौरव लाग्यो जबकि यी भयानक भवनहरु देख्दा टिठ मात्रै |

अहिले सम्झेर ल्याउँदा लाग्छ, त्यत्रो हुलमुलमा पढाएको कुरा कसरी सुन्यौं र बुझ्यौं होला ? एक दिन बिराएर बिग्रिरहने माइकका त कुरै नगरौं | अनि केहीगरी सुनिहालेछौं भने  पनि नबुझेको कुरा कसरी सोध्यौं होला ? पछाडिका बेन्चमा बस्नेमाथि सरका आँखाहरु कसोगरी परे होलान् ? प्राक्टिकल कक्षाहरुमा त्यत्रो हुललाई कसले कसरी सिकायो होला ? हुनपनि लावालस्करै लिएर प्राक्टिकल कक्षा छिर्थ्यौं हामी | साइडमा उभिएर रमिता हेर्थ्यौं वा प्राक्टिकल गर्थ्यौं, मैले भुलिसकें | भनिरहनु पर्दैन, नजानेको, नबुझेको कुरा त्यतिबेलै सोध्न सकिएन भने के हुन्छ | अनि एकचोटि पछि परियो भने झन् पछि पर्दै गइन्छ र कतै शुन्यमा हराइन्छ |

अहिले त्रिवीअन्तर्गतका कलेजहरुमा एमबीबीएस अन्तिम वर्षको प्राक्टिकल परीक्षा चल्दैछ | एउटा कलेजमा १९० जना सम्म विद्यार्थीहरु सम्मिलित छन् | त्यत्रा विद्यार्थीका लागि कहाँबाट बिरामी जुटाउने, सम्बन्धित विषयका सम्बन्धित सरहरुलाई अहिले चिन्ताले पिरोलेको छ | उसो त मान्छे खेर्ने आइडिया फुराउनु खासै गाह्रो काम होइन | फ्री ओपिडी र फ्री बेडचार्जजस्ता उपहार-योजनाहरु खोलिएका छन् | यतिले नपुगेर गाउँगाउँमा सर्वत्र प्रचारप्रसार गरिएको छ- सबै कुराहरु निशुल्क छ | निशुल्कभित्र कति शुल्क पर्छ भन्ने कुरो त हप्तौंपछि डिस्चार्ज हुनेबेला मात्रै त्यो विचरो बिरामीले बुझ्ला | यसरी ‘खडेबाबा’ भन्ने शब्दले बजार पिटेको यो बेला कतिपय मेडिकल कलेजहरुमा ‘खडेबिरामी’ हरुको पनि बिगबिगी नै छ | न त मेडिकल काउन्सिल यसबाट अनभिज्ञ छ, न त विश्वविद्यालय नै | तर ‘काले काले मिलेर खाउँ भाले’ नै सबैको मार्गनिर्देशक सिद्धान्त भएपछि अनुगमन नामका नौटंकीहरुको कुनै अर्थ रहँदैन | यसमा प्राइभेट मेडिकल कलेजका मालिकलाई दोष लाउने ठाउँ पनि कमै छ | किनकि निजी क्षेत्रलाई बेलगाम खुला छोड्दिँदा निस्कने परिणति यस्तै हो | आफूले झ्यालढोका चाँहि खुलै छोड्दिने, अनि चोर पस्यो भनेर कराएर हुन्छ ? चोरको धर्मै चोर्नु हो, उसले चोर्यो त के बिरायो ? ढोका थुन्नुपर्दैन ? उसलाई त सिर्फ बढीभन्दा बढी नाफा कमाउनु छ; आफ्ना प्रोडक्टहरु राम्रा डाक्टर बनेर निस्कून्/ ननिस्कून् उसलाई यत्रैसित्ति |

त्यसैले मेडिकल कलेजका भवनमाथि भवन ठड्याउन लागिपरेका छन् उनीहरु | हरेकजसोले ‘एमडी/ एमएस’ कार्यक्रम चलाइरहेका छन्, तर पूरै हचुवाका भरमा | प्राध्यापकहरु कति छन्, उनीहरुलाई टिकाइराख्न दिनुपर्ने सेवासुविधाहरु केकति हुन्, विद्यार्थीका चासोहरू केके हुन्, रत्ति मतलब छैन | पूर्वजानकारी दिएर आउने ‘अनुगमन’ का बेला प्रोफेसरका नाममा खडेबाबा देखाउन पाए पुगिगो | प्राक्टिकलको जाँच लिन काठमाण्डौंदेखि आउनुभएका एकजना सरले सुनाउनु भएथ्यो- “कति मेडिकल कलेजहरु यस्ता पनि छन् जहाँ पढाउनका लागि एउटा पनि ‘फ्याकल्टी’ छैन | जबजब प्राक्टिकलको जाँच लिन काठमाण्डौबाट उहाँहरु त्यहाँ पुग्नुहुन्छ, बर्डरपारिबाट खडेबाबाहरु पनि टुप्लुक्क आइपुग्छन् ! जसै उहाँहरु काठमाण्डौ फर्कनुहुन्छ, उनीहरुले चाँहि बर्डर क्रस गरिसकेका हुन्छन् |” केही साताअघि मात्रै ६ महिनासम्म अस्पताल बन्द तथा पढाइ अवरुद्द भएपछि जानकी मेडिकल कलेजका विद्यार्थीहरु विचल्लीमा परेको खबर छापाहरुमै आएको थियो | “पहिलो वर्षमा तीन महिना अध्ययन गर्न पाएका थियौं, दोश्रो वर्ष झन् दुई महिना | तेश्रो वर्ष त एक महिना पनि पढाइ भएन | तेश्रो वर्षमा अस्पताल पोस्टिंग हुनुपर्ने, त्यो पनि हुनसकेको छैन |” यस्तो भयावह अवस्थाको जानकारी गराएका थिए, जानकी मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले एउटा स्वास्थ्य खबरपत्रिकामार्फत | के यस्तो अवस्थामा तिनलाई परीक्षामा बसाएपछि पास हुनलाई चिट चोर्नेबाहेक अर्को कुनै बाटो छ ? 


हाल चलिरहेका अधिकांश निजी मेडिकल कलेजहरुको यो दुर्गति आँखैसामुन्ने देखिरहेको विश्वविद्यालयलाई भने यिनमा कसरी सुधार ल्याउने भन्नेतिर अलिकति पनि चासो छैन | बरु यति दुर्गतिले नपुगेर थप दुर्गतिका निम्ति नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन ऊ आतुर छ | तर श्रद्धेय गुरु डा. केसीले ‘म चुप लागेर बस्दिन’ भनेर भन्नुभएझैं हामी पनि चुप लागेर नबस्ने हो भने चाँहि थप दुर्गति निम्त्याउन चाहनेहरु अवश्यै पराजित हुनेछन् भनेर आश गर्न सकिन्छ |
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong