........................................................................with words, with issues!!!

May 18, 2013

हरिबहादुरको चिना पर्गेल्दा


         
किताबको अगाडिपट्टिको गातामा छ- ठाँटसित कुर्सीमा बसेको, जाँच दिइरहेको विधार्थीझैँ कापीकलमसित पोज मिलाइरहेको अलि गम्भीर भावमुद्राको हरिवंश । हरिबहादुरलाई चिन्ने आम नेपालीले यो आवरणचित्रसँग त्यो हरिबहादुरलाई ‘रिलेट’ गर्न गाह्रै पर्छ । तर किताबको ब्याककभरमा आइपुग्दा जेन्टलम्यान हरिवंशलाई उट्पट्यांग हरिबहादुरले प्रतिस्थापित गरिदिएको छ । र नै उही लुगा, उही लोकेसन र उही समयमा खिचेको भएपनि ब्याककभरको फोटोमा त्यही एलियन लाग्ने जेन्टलम्यान सबै नेपालीले अपनत्व महसुस गर्नसक्ने छट्टु नम्बर एकमा कायाकल्प भएको छ । तर रिल लाइफका उरण्ठेउला चरित्रहरुको जबर्जस्त छापले गर्दा जतिखेरसुकै उनीबाट उरण्ठेउलोपन मात्रै खोज्ने हामी दर्शकहरुले रियल लाइफमा उनी कति जेन्टलम्यान छन् र हाँसोको वरदान पाएर पनि जीवनमा कति पिडाहरु पिएका छन् भन्ने थाहा पाउन एकचोटी उनको पाठक पनि बनेर यो आत्मकथालाई पर्गेल्नैपर्छ ।

चिना खोज्दै ब्लगर
आजको दिनमा आइपुग्दा हाँस्यकलाकारहरु गनिसाध्य छैनन् । जानीनजानी शरीर अलिकति बंग्याएर, नानाथरीका थेगोहरु ओकलेर, हाउभाउ बिगारेर हाँस्यव्यंग्यको व्यापार गर्नेहरु टेलिभिजनमा च्याउसरि उम्रेका छन् । तर, विडम्बना यो छ कि प्रस्तुतिमा हाँस्य रस होला, व्यंग्यचेत फिटिक्कै हुँदैन; अथवा व्यंग्य गर्ने चिजहरुको कुनै सर्टेज नभएको यो बेला थोरबहुत घोचपेच पाइएला, तर हाँस्यरसको ‘ह’ पनि भेट्टिदैन । त्यसैले होला, फालाफाल कलाकारहरु भएको यो बेला पनि त्यो भिडमा सर्लक्कै चिनिन्छन् अग्ला कदका हरिवंश । किताबहरुको अतिवृष्टिको यो बेला पनि हारालुछ हुन्छ एकजना गैरसाहित्यकारको किताब । मान्छेहरुको यतिविधि माया पाइरहनुमा जस्तोसुकै अभिनय पनि मज्जाले गर्नसक्ने उनको अद्वितीय प्रतिभाले नै काम गरेको हो, त्यो पनि अरुलाई पेट मिचिमिचि, खित्का छोडिछोडि हसाउँदै ।

के के मात्रै चरित्र निभाएनन् उनले । बूढी आमादेखि लिएर बूढा बा, तन्नेरी आवारादेखि अधबैसें गोज्यांग्रो, नामुद ठगदेखि गम्भीर युवा- सायदै त्यस्तो रोल होला जसमा हरिवंश फिट नभएका होउन् । रोलहरुमा भरमार विविधता भएपनि समानता एउटै थियो- उनले हँसाउन चाँहि फिटिक्कै छोडेनन् ।  जुनसुकै भूमिकामा पनि जमेर खेल्नसक्ने यही भर्सटाइल चरित्रले गर्दा नै हो- पुस्तकप्रति उतिसाह्रो लगाव नराख्नेहरू पनि हरिवंशको आत्मकथा भनेपछि नपढीरहन सकेनन् ।

यो आत्मकथामा उनले आफ्नो जीवनका उकालीओरालीहरुको रेखांकन गरेका छन् ।  पढ्नलाई मज्जा आउनेगरी आफू बालखै हुँदादेखिका अनेकौं किस्साहरू गजबले जोडेका छन् ।  सानैमा बाउआमा गुमाएको एउटा बालकको अनाथ हुनुको पिडा कहेका छन्, अभिभावकत्व हराउँदा बढेको उपद्र्याईको फेहरिस्त प्रस्तुत गरेका छन् र उतारेका छन् अर्काको दुरुस्तै नक्कल गर्नसक्ने खुबी प्रयोग गर्दै रंगमञ्चमा छिर्दाको संघर्षगाथा । भलै उनको व्यक्तिगत जीवनमा आरोहअवरोहहरु आइनै रहे, तर तीसको दशकमा रंगमञ्च पसेदेखि कलाकारका रुपमा उनको आरोह मात्रै भएको छ ।  अवरोह कस्तो हुन्छ, उनलाई थाहा छैन किनकि त्यसबेलादेखि नै आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।  एउटा कलाकारका रुपमा यो नै उनले जितेको सबैभन्दा ठूलो तक्मा हो ।

विभिन्न नाटक, प्रहसन, फिल्म र टेलिफिल्महरु बनाउँदा अनि खेल्दाका रोचक संस्मरणहरु उनीसंग जति पनि हुनुपर्ने हो ।  तर किताबमा तिनलाई पस्कन कन्जुस्याइँ गरेझैं लाग्छ ।  चरित्रहरु तयार पार्दा कसरी आफ्नै वरिपरीका मान्छेहरुका अलिकति असामान्य लाग्ने हाउभाउ र बोलीचालीको सिको गर्थे भन्ने चाहिँ खुलाएका छन् । चारखाल अड्डाको चौरमा भेटिएका ‘है है है’ भन्दै विचित्रसँग हाँस्ने एकजना कर्कस आवजधारी ख्याउटे मान्छेबाट ‘वनपाले’ को त्यो साधुराम सुकुम्बासी, पहिलो पुस्ताका हाँस्यअभिनेता ओस्ताद भैरवबहादुर थापाको हाउभाउ, बोल्ने तरिका र आँखा सापटी लिएर बनेको ‘कान्तिपुर’ को वडाध्यक्ष अनि भक्भकाएर बोल्ने गुठी संस्थानको कर्मचारीमा गुच्चा खेल्ने साथीको ‘उस् उस् उस्’ फ्युजन गराएर तयार ‘लालपुर्जा’को ध्रुबराम आदिलाई उदाहरणका रुपमा राख्दै ती हाँसउठ्दा चरित्रहरु कतै शुन्यबाट फुत्त झरेका थिएनन्, हाम्रै समाजबाट टिपिएका थिए भन्ने प्रस्ट्याएका छन् । साधारण भाषामा हाँस्यरस घोलेर लेखेकाले पढ्दा आनन्द आउँछ, जसरी उनले सामाजिक सन्देशमुलक टेलिफिल्महरु पनि हाँस्यरसले सुगरकोट गर्दा हेर्नेहरुको दिलखुस हुन्छ । कुष्टरोग, क्षयरोग, एच.आइ.भी, मधुमेहजस्ता रोगहरु अनि भ्रष्टाचार, संविधानसभा र वातावरणजस्ता मुद्धाहरुमा हाँस्यरसले सुगरकोट गरेका उनका प्रस्तुतिहरुले समाजमा पारेको सकारात्मक असरहरुको विवरण पढ्दा पनि मन पुलकित हुन्छ । आजभोलि खुबै सुनिने ‘कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी’ कर्पोरेट संस्थाहरुले कति बहन गरेका छन्, छैनन्- उनीहरु नै जानून्, तर ‘मह सोसल रेस्पोन्सिबिलिटी’ मा चाहिँ यो जोडी खरो उत्रेको पढ्दा दिल गार्डेन गार्डेन नभई मान्दैमान्दैन । हरिवंश राम्रो कलाकार मात्रै होइन, असल मानिस पनि हो भन्ने आमबुझाइलाई पुस्तकले थप बलियो बनाएको छ ।

पुस्तकको पछिल्लो खण्ड मीरा आचार्यसँगको वियोग अनि रमिला पाठकसँगको मिलनमा केन्द्रित छ । यो भोगाई भोग्नेले मात्रै अनुभूत गर्नसक्ने कुरा हो । सायद पत्नीवियोगको यही दुखद घडीमा लेखेकाले होला, धेरै प्रसंगहरु छुटेको भान हुन्छ । नरमाइलो ह्यांगओभरबाट विस्तारै उत्रिंदै गरेका हरिवंश आउने संस्करणमा छुटेका कुराहरु थपथाप गर्दै अझ बेजोड ढंगले आउनेछन् भन्ने आश गर्न सकिन्छ । महजोडीको यतिलामो सहकार्यले इतिहास रचेको बेला महको बारे विस्तारमा कुराहरु राखून् भन्ने पाठकीय अपेक्षा अस्वाभाविक होइन । त्यस्तै ‘बलिदान’ जस्तो ऐतिहासिक फिल्मको मुख्य पात्रका नाताले त्यस फिल्म निर्माणका दौरान भएका घटनाहरु जोड्न सकेको भए अझै राम्रो खुराक हुन सक्थ्यो पुस्तक । भाषिक शुद्धतामा पनि जोड दिनुपर्नेछ अर्को संस्करणमा ।

कलामा अलिकति पनि रुची राख्ने हरेक नेपाली हरिबहादुरको फ्यान हो र फ्यानलाई आफ्नो स्टारको आत्मकथा पढ्न कुनै समीक्षकले  नानावली प्रशंसाका बुट्टा भरेर रेकमेण्ड गरिरहनु पर्दैन । ‘चिना हराएको मान्छे’ पनि रिभ्युतिर आँखा नलाईकनै फ्यानहरुले कतै मुख मिठ्याउँदै, कतै अमिल्याउँदै रित्याइसकेका छन् ।

Read More

May 6, 2013

ट्वीटे र फेसबूकेका नाममा लोकमानको खुलापत्र


ट्विटर र फेसबुकका आलाकाँचा ठिटाठिटी हो,

केही दिनदेखि तिमेरु मसित बेस्कनै ठुस्केका छौ । म बुझ्छु तिमेरुका मनोभावना । चौबीसैघण्टा प्रविधिसित खेल्ने तिमेरुको पुस्ता नै यो देशको भविष्य हो भन्ने कुरामा मलाई कत्ति पनि शंका छैन, त्यसैले त तिमेरुको यो जुझारु पुस्तासँग मलाई निरन्तर communicate गरिरहन मन लाग्छ । विचार आदानप्रदान गरिरहन रहर लाग्छ । तर आजकाल तिमेरु मसँग अलि बढी नै आक्रोशित छौ झैँ लाग्यो । ट्विटर र फेसबुकका टाइमलाइनहरु हेर्दा थाहा पाएँ । बडो नमज्जा लाग्यो र नै भ्रम निवारणका निम्ति यो पत्र कोर्दैछु ।

तिमेरु मलाई आरोप लगाउछौ होइन, जनआन्दोलनको दोषी भनेर! मलाई पत्यार लाग्दैन, रातविरात इन्टरनेटमा खेल्नेहरुको पुस्ताको आरोप हो यो भनेर । वास्तवमा तिमेरु एजेण्डा होइन, एउटा व्यक्तिको पक्ष-विपक्षमा मिडियाबाजी गर्नेहरुको सम्मोहनमा पर्यौ । कान्तिपुर र सेतोपाटीजस्ता पीतपत्रकारिता गर्नेहरुले जे छाप्छन्, त्यसलाई तिमेरुजस्तो skeptic र critical mass ले बिना कुनै सोचविचार face value मा लेउला भन्ने मलाई एकरत्ति लागेको थिएन । विश्वसनीयतामा निखारिएको पत्रिका त लोकमानपूर्ण पोस्ट पो हो । सायद तिमेरुले त्यो पढ्न भ्याएनौ र कान्तिपुरको लहलहैमा आएर मविरुद्ध तथानाम अनर्गल प्रचारबाजीमा उत्रियौ । अलेक्जेन्डर पोपले लेखेको ‘A little learning is a dangerous thing’ सम्झेर आइन्दादेखि हरेक इस्स्युमा आफ्नो अपिनियन बनाउनुअघि लोकमानपूर्ण पोस्टका गहकिला समाचार टिप्पणीहरु पढ्न तिमेरुले नभ्याउने छैनौ भन्ने विश्वास लिएको छु । अहिले म अख्तियारको हाकिम भाको विषयमा पनि तिमेरुले कान्तिपुरलाई लात मारेर लोकमानपूर्ण पोस्टतिर डेरा सर्यौ भने सबै कुरा छर्लंग हुनेछ । म कति निर्दोष रहेछु, कति उच्च नैतिकवान रहेछु, तिमेरुले पत्तो पाउनेछौ । सर्वोच्च अदालतका न्यायाधीश माननीय श्रीमान गिरिशचन्द्रलालले त्यो कान्तिपुरे ठिटोलाई अदालतबाटै गलहत्याउनु भाको हो कि होइन भन त ? तिमेरु त न्यायपालिकाको सर्वोच्चता चाहनेहरुको उदात्त पुस्ता! अदालतले नै गलहत्याएको पत्रिका पढेर भ्रष्टाचारविरुद्द आधिबेहेरी ल्याउन तम्तयार भएर बसेको एउटा राष्ट्रसेवकमाथि यति निर्मम ढंगले प्रहार गर्न सुहाउँछ तिमेरुलाई ? ए, भन त सुहाउँछ तिमेरुलाई ? हो, हन्ड्रेड पर्सेन्ट सुहाउँदैन र त म बारम्बार रेकमेण्ड गरिरहेछु- तिमीहरुलाई सुहाउँदो पत्रिका लोकमानपूर्ण पोस्ट नै हो भनेर । तिमेरुका खेर जाने ट्वीट पनि फोकटमै छाप्छ क्यारे त्यसले । खैर, सबै कुरा तिमेरुले लोकमानपूर्ण पोस्ट सविस्तार पढेपछि बुझ्ने नै छौ, अहिलेलाई भने म छोटकरीमा तिमेरुका आरोपमा केन्द्रित हुन चाहन्छु ।
    
आरोप नम्बर एक: उही महान जनआन्दोलनको दोषी, होइन त ? ओए जनआन्दोलनका निर्दोषीहरु हो, तिमेरुको जनआन्दोलनको धोति फुस्केको आज हो र ? जनआन्दोलन, जनआन्दोलन भन्दै फुइँ लाउन छोडे हुन्छ । लोकतन्त्र र गणतन्त्रका राग अलाप्न अब त लाज माने पनि हुने हो । परिवर्तन परिवर्तन भन्दै घोक्रो सुकेन्जी चिच्याएर जीउलाई दुख दिन पनि कति मजा आको हो ? तिमी मुर्खहरु !! बिनाकामको जनआन्दोलनको घाँडो देशमा भित्र्याएर कति न ठूलो पल्टेका !  के थाहा छैन तिमीहरुलाई कति ठूलो मूल्य चुकाइरहेछ देशले त्यो बाह्रबुँदे नामको खोस्टाबाट ? देखेका छैनौ कि नदेखेको स्वांग पारिरहेछौ ए केटा हो, यो नाङ्गो विदेशी प्रभुहरुको रासलीला ? लुटतन्त्र, भ्रष्टतन्त्र र भागबण्डातन्त्र नै लोकतन्त्र हो भन्ने तिमेरुको बुझाइ हो कि के हो ? होइन भने त मजस्तो उच्च नैतिकवान, जोकसैसंग पनि सहकार्य गरेर अघि बढ्न सक्ने, पंचायत र प्रजातन्त्र दुवै कालखण्डको प्रचुर अनुभव संगालेको अनि यो सबै भद्रगोलबाट पार लगाउन अख्तियार प्रमुख भएको मान्छेलाई यसरी विवादमा तान्ने दुस्साहस तिमेरुबाट नहुनुपर्ने हो । खासमा जनआन्दोलनका दोषी त यी दलहरु पो हुन् । खोई, कुरो बुझ्या ? यिनेरुकै महान जनआन्दोलन होइन, यो सबै भाँडभैलोको जननी ? म विचरोले त सकुन्जी यसलाई avert गर्नै खोजेको हो नि । त्यो पाजी रायमाझी कि केजाते आयोगले डाम्यो भन्दैमा यत्रो कोकोहोलो गर्नु कहाँको न्याय हो, हँ फेसबुके र ट्वीटे हो ? के हैसियत छ यार त्यसको ? मल्लिक आयोगले केही लछार्न सकेन भने रायामाझी आयोगले जोरी खोज्न मिल्छ, त्यैमाथि लोकमानजस्तो सबैले बोक्नुपर्ने मान्छेसित ?

My dear Tweeples, पितपत्रिकासितको साँठगाँठमा तिमेरुले लाको आरोप नम्बर दुई: सुनकाण्डमा मुछिएको, होइन त ? अरे बाबा, यसमा पनि त तत्कालिन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले २०५६ सालमै म निर्दोष भएको फैसला सुनाइसकेका छन् नि यार् । हुन त फैसला भाको समय भनेको तिमेरु केटाकेटी हुदै हो, त्यैभएर तिमेरुलाई थाहा नभाको हुन सक्छ । त्यैभएर मैले अघि quote गरेको 'A little learning is a dangerous thing'।  फेरि गोयबल्सजस्ता सयचोटि दोहोर्याएर सफेद झुटलाई पनि सत्य बनाउने पितपत्रिकाहरुको फन्दामा छौ तिमेरु । तर अब आशा छ, समष्टिगत रुपमा कुरो बुझिसकेपछि मात्रै तिमेरुले ट्वीटनेछौ, फेसबुक्नेछौ ।

तिमेरुका ट्वीट र स्टाटस पढ्दा आरोप नम्बर ३ मैले भेटिन । स्वाभाविकै हो, किनकि पितपत्रिकाले प्रचार गरेकै यी दुइटा कुरा हुन् । प्रचार पनि यसरी गरेका छन्, मानौँ तिनेरुको गीता ‘रायमाझी प्रतिवेदन’ ले डामेको भयङ्कर अपराधी मैमात्र हुँ । राजु बस्नेतजस्तो जण्ड आर्मी अफिसरको बढुवा हुँदा पित्कोजति पनि नदुखेको तिनीहरुको लोकतन्त्र एउटा लोकमानको नियुक्ति हुँदा कसरी सामूहिक बलात्कारमा पर्यो, मैले जति दिमाग लाउँदा पनि बुझ्न सकेको छैन । कसैले बुझेको भए बुझाइदिने कष्ट गर्नू ल । अनि, काण्डमा मुछिने बित्तिकै अयोग्य ठहरिने भए त त्यो सुनकाण्डको बेला विमानस्थल भन्सारको प्रमुख भगवती काफ्ले थिए । मुछ्न त उनी पनि मुछिए तर पछि अख्तियारको सचिव हुन रोक्यो र कसैले उनलाई ? अरे बाबा, ठुलोबडो मान्छे भएपछि यस्ता काण्डसाण्डमा त routinely मुछिरहिन्छ नि । ठुलोबडो हुनुको अर्थ के हो, माने के हो, महत्व के हो, केही नबुझेका स्वाँठहरुको हालीमुहाली भएको पितपत्रिकाहरु के बुझुन यस्ता कुरा ?

१४० अक्षरमा ट्वीट्न बानी परेकाहरुलाई यत्रो लम्बेतान पत्र देखेर बोर लागिसक्यो होला । तर, फेसबुकेहरुका नाममा पनि यो पत्र लक्षित रहेकाले थप केही कुरा राख्न चाहन्छु । कसरी केही कुरामा मिल्न नसक्ने, कुकुरबिराला झैँ झगडा गरिरहने दलहरु मेरो कुरामा चैं एकजुट हुनसके भन्ने खुल्दुली होला तिमेरुका मनमा । तर यत्ति जाबो बुझ्न कुनै सिके लाल भैरहनुपर्दैन । बुझ्नेलाई कुरो सरल छ- जहाँ स्वार्थहरुको मिलन हुन्छ, त्यहाँ बाँकी सब खुद्रा विमतीहरु आफैँ पाखा लाग्छन् । सबै दललाई आफूले गरेका भयानक भ्रष्टाचार समाजसामू ओपन सेक्रेटका रुपमा रहेको छ भन्ने थाहा छ । तर लोकलाज नभएपनि जेपी गुप्ता वा खुमबहादुरहरुको हाल हुने हो कि भन्ने थोरै त्रास चैं छ । त्यसैले अख्तियार नपसोस् भन्ने हेतुले उनीहरु मलाई त्यहाँ लग्न हतारिएका हुन् । म पनि परें एउटा गौप्राणी, एउटा उच्च नैतिकवान्, सबैसँग सहकार्य गरेर अघि बढ्न सक्ने मिलनसार, सबैलाई रिझाउन सक्ने सर्वस्वीकार्य पात्र । सबैले हात जोडेर विन्ती गरेपछि नाइँ भन्न सकिन । यसमा मेरो के दोष, ट्वीटेगण ?

तर मेरो अगाडिको रोडम्याप बडा क्लिएर छ । मलाई यी दलहरुसँग कृतज्ञ हुनुछैन । भ्रष्टाचारविरोधी जेहाद छेड्नकै निम्ति मैले यो अख्तियार रोजेको हुँ । मेरो नियुक्तिसंगै यसको सुरुवात भएको छ । तिमेरु हेर्दै जाओ, अब कोको जान्छन् मामाघर ? मैले मुद्दा चलाउनेछु, सम्माननीय न्यायाधिस श्रीमान गिरीशचन्द्रलाल तु फैसला गर्दै जाक्नुहुनेछ सालाहरुलाई । पितपत्रकारिता गर्ने कान्तिपुरबाट यसको श्रीगणेश हुनेछ । मलाई विश्वास छ, भ्रष्टाचारमुक्त देश बनाउने मेरो यो पहलकदमीमा तिमी ट्वीटे र फेसबुकेहरुबाट अभूतपूर्व सहयोग हुनेछ । मेरो यो सन्देशलाई आफ्ना ट्वीट र स्टाटसबाट संसारैभरि फेलाओ केटा हो !

श्री लोकमानले तिमीहरु सबैको रक्षा गर्नेछन् !        


Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong